Saturday, December 21, 2013

हस्तलिखित पुरानो पात्रो

नेवारी बस्तीमा मात्र नभएर नेपालको दुर्गम पहाडी भेगको एउटा ब्राह्मण बस्तीमा पनि ६० वर्षअगाडिसम्म नेपाल संवत्अनुसारको पात्रो प्रयोगमा आएको कुरा ब्राह्मणकै घरमा भेटिएको यो हस्तलिखित पात्रोले प्रमाणित गर्दछ।
old-nepali-patroपुराना कागजपत्र खोज्ने क्रममा खाँ ँडीको रुमालको पोको बेला–बेलामा फुकाइन्थ्यो तर चिनाजस्तो बेरेर राखिएको पुरानो नेपाली कागजमा खासै ध्यान गएको थिएन। एक दिन उत्सुकतावश सो बेरिएको कागज फुकाएर हेरें। त्यो त चिना नभई चान्द्रमासअनुसार तयार गरिएको ६० वर्ष जति अगाडिको हस्तलिखित पात्रो पो रहेछ।
यस पुरानो हस्तलिखित पात्रोमा चान्द्रमासअनुसार कार्तिक सुदि, कार्तिक वदि आदि भनेर शुक्ल र कृष्णपक्षका नाममा महिनाको नाम उल्लेख गरिएको छ। त्यसैले यसमा १ गतेबाट महिना शुरू भएको छैन, प्रतिपदा तिथिबाट महिना शुरू गरिएको छ। त्यसमा पनि तिथिलाई महत्त्व दिएर सबैभन्दा अगाडि तिथि नै लेखिएको छ भने त्यसपछि क्रमशः नक्षत्र, बार र गते लेखिएको छ। गतेलाई सबैभन्दा पछि राखेर कम प्राथमिकता दिएको देखिन्छ। शायद हाम्रा चाडपर्व, जन्म–मृत्यु संस्कार एवम् अन्य संस्कृतिहरू गतेअनुसार नभई तिथिअनुसार मनाइने गरिएकाले पनि यसरी तिथि र पक्षलाई बढी महत्त्व दिइएको हुनुपर्छ। नेपाल संवत्ले पनि तिथिलाई बढी प्राथमिकता दिएकाले यो पात्रो नेपाल संवत्अनुसारको क्यालेन्डर भएको पुष्टि हुन्छ।
वि.सं.को हिसाबले हेर्ने हो भने २०११ सालको यो पात्रो नेपाली कागजमा दुवैपट्टि लेखिएको छ। कागजको दुवैपट्टि लेखिएको भए पनि चिना बेरेझैं बेरेर राखिएकाले अहिलेसम्म सुरक्षित रहेको हुन सक्छ। नेपाल संवत् केवल नेवारी सम्प्रदायको मात्र हो भन्नेहरूका लागि गुणराज शर्माद्वारा रचना गरिएको यो हस्तलिखित पुरानो पात्रोले नेपाल संवत् नेवारको मात्र नभएर सम्पूर्ण नेपालीको हो भन्ने कुरालाई पुष्टि गरिदिएको छ।
हुन त त्यस बेला छापापात्रोको प्रचलन आइसकेको थियो तर दोलखा जिल्लाको दुर्गम गाउँ ँ हिलेपानीमा छापापात्रो कसले पुर्याउने ? त्यसैले स्थानीय ज्योतिषीहरू आफैं यस्तो पात्रो तयार पार्न बाध्य हुन्थे। त्यस ठाउँ ँका सबै जना यस्तै हस्तलिखित पात्रोअनुसार आ–आफ्ना जन्म–मृत्यु संस्कार, चाडपर्व, जात्रा मनाउने गर्थे।
चान्द्रमासलाई महत्त्व दिनु नेपाल संवत्को महत्त्वपूर्ण पक्ष हो। विक्रम संवत्अनुसार तयार गरिएको पात्रोमा चान्द्रमासको पाटोलाई छुटाइएको छ भन्न खोजिएकोचाहिँ ँ होइन, चान्द्रमासको पाटोलाई अलग्याउने हो भने पञ्चा· नै तयार हुन सक्दैन। अर्थात् पात्रोमा हुनुपर्ने मुख्य अंगहरू नै छुट्छन्। यति मात्र भन्न खोजिएको हो कि हाम्रा पूर्वजहरूले अंगिकार गरेको चान्द्रमासको पाटोलाई प्राथमिकता दिई सोही अनुसार तयार गरिएको पात्रोलाई किन तिरस्कृत गर्ने ?
नेवारी बस्तीमा मात्र नभएर नेपालको दुर्गम पहाडी भेगको एउटा ब्राह्मण बस्तीमा पनि ६० वर्षअगाडिसम्म नेपाल संवत्अनुसारको पात्रो प्रयोगमा आएको कुरा ब्राह्मणकै घरमा भेटिएको यो हस्तलिखित पात्रोले प्रमाणित गर्दछ।

Wednesday, December 18, 2013

किन मनाईन्छ योमरी पुन्ही ?

लक्ष्मी शाक्य/उज्यालो ।

त्यो सिं त्यो
बक सिं त्यो

‘लातापाता कुलिंचा जूछित्यो
योमरी च्वामु, उकी दुने हाकू
ब्यूसा माकू, मब्यूसा फाकू
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिबुरि....’

योमरी पुन्ही अर्थात धान्य पूर्णिमाका दिन साँझ टोलका केटाकेटीले घरघरमा गई गाउने गीत हो यो । पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । तर हिजोआज यो महत्वपूर्ण सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा छ ।
नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमी पुन्ही भनिन्छ । नेवार समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरी अर्थात सबैलाई मनपर्ने रोटी । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।
चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरुपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ ।
योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ । तर चाकुको प्रयोग हुने भएकाले मधुमेहका रोगीले भने योमरी नखानु नै राम्रो हुन्छ ।
यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।

नेवार संस्कृतिमा योमरीको महत्व

योमरी पुन्हीको दिनमा मात्र होइन अरु विशेष अवसरमा पनि योमरीको त्यतिकै महत्व रहेको पाइन्छ । नेवार समाजमा बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ ।
नेवार समुदायमा कसैले बच्चा २ र ४ वर्ष लाग्दा दुईपटक मात्र जन्म दिनमा योमरी बनाई पूजा गर्छन् भने कसैले १२ वर्षसम्मको जन्म दिनमा पनि योमरी बनाई पूजा गर्ने चलन छ । जन्मदिनमा बच्चालाई दुईवर्षमा दुईवटा, चारवर्षमा चारवटा यस्तै प्रकारले योमरीको माला लगाइदिने चलन छ । यसरी देउतालाई चढाईने र माला गाँस्नको लागि बनाइने योमरीको भित्र तिल र चाकुको सट्टा पञ्चतत्वको प्रतीकको रुपमा पाँचवटा अक्षता राख्ने चलन छ ।
त्यस्तै छोरीको गर्भास्थामा बच्चा जन्मिनु केहि समयअघि माइतीबाट दहीच्यूरा खुवाउन जाने चलन छ । यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा योमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ ।  
यसरी नेवार समाजमा योमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको पाइन्छ । तर नेवार समुदायभित्र पनि केही ठाउँमा योमरी पुन्हीको दिनमा योमरी पकाउनु पर्दैन वा चलन छैन । सात गाउँमा हुने न्हय्गां जात्रा मनाइने कीर्तिपूर, पाँगा, नगाउँ लगायतका क्षेत्रमा जात्रा लगत्तै पर्ने पर्व भएकोले योमरी पुन्हीलाई यस क्षेत्रका बासिन्दाले खासै महत्वपूर्ण पर्वको रुपमा लिने गरेको पाइदैन ।

ऐतिहासिक कथा

योमरी पुन्हीसँग सम्बन्धित एउटा ऐतिहासिक कथा पनि छ । मंसिर शुक्ल पूर्णिमाको दिन पांचल देशका सुचन्द्र महाजन दम्पत्ति कतिको भक्तालु रहेछन् भनि बुझ्न एकदिन कुवेर दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न जान्छन् । यो देखेर सुचन्द्रका पत्नीले उनको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिनुका साथै श्रद्धा गरेकाले प्रशन्न भई कुबेरले आफ्नो सक्कली रुप देखाइ ज्ञान प्रदान गरि अन्तध्र्यान हुन्छन् ।
कुवेरको वचन अनुसार उनले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (योमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राख्छिन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहि विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गर्छिन् । अनिअन्न, धन र योमरी दान पनि गर्छिन्  । त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुन थाल्छ र आम्दानी पनि बढ्न थाल्छ  । त्यसैले त्यही बेलादेखि यो दिनमा योमरी बनाएर पर्व मनाउने चलन चलेको मानिन्छ ।
योमरी पुन्हीका दिन बिभिन्न मठमन्दिरहरुमा मेला पनि लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।
धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । तर दान गर्ने ईच्छा हुँदाहुँदै योमरी माग्ने प्रचलन लोप हुँदै जाँदा दान गर्न नसक्ने अवस्था आएको छ । साथै यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने र व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
पहिले पहिले योमरी पुन्ही वा धान्य पूर्णिमाको दिन र विशेष अवसरमा मात्र पकाएर खाने योमरी हिजोआज भने सजिलै आफूलाई खान मन लागेको बेला किनेर पनि खान सकिन्छ । गैर नेवारहरु माझ पनि लोकप्रिय हुँदै गएको योमरी आजकल विभिन्न रेष्टुरेन्ट अनि होटल एवं खाजाघरमा पनि सजिलै पाउन सकिन्छ ।

Friday, December 13, 2013

Kantipur (December, 14, 2013)


Friday, December 6, 2013

नेपालका नेवारहरु एक विश्लेषण

Tuesday, 13 August, 2013 - नेपालपोर्तुगल डट् कम्

अशोकचन्द्र धुँजू श्रेष्ठ
नेपाल एशियाको माझमा हिमालयको काखमा विशाल चीन र भारतको बीचमा रहेको एक भूपरिवेष्ठित मुलुक हो । यो परापूर्वकालदेखि अस्तित्वमा रहेको एक प्राचीन मुलुक हो । अनेक जातजाति, भाषाभाषी र विविध धर्मावलम्बीहरुले निवास गरेको र उत्तर दक्षिण, पूर्वपश्चिमका बीच प्राचीनकालदेखि आवतजावत र लेनदेन चल्दै आएकोले ‘नेपाल’ शब्दको विभिन्न अर्थ विभिन्न धार्मिक दृष्टिले आ आफ्ना खालको व्याख्या र व्युत्पत्तिबारे अनेक मत मतान्तर देखिएका छन् । नेपाल शब्दलाई विद्वान्हरुले विशेषतः तिब्बती, नेवारी, लिम्बु, लेप्चा भाषाहरुको आधारमा अथ्र्याउँदै आएका छन् । नेवारी भाषामा नेपाललाई ‘नेपा’ भन्ने गरिन्छ । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’को अर्थ ‘देश’ हुन्छ । हिमाली श्रृंखलाको मध्य भागमा रहेको देश भएकोेले देशको नाम नेपाल भन्ने प्रचलन भएको हो भन्ने भनाई छ । ‘नेपाः’ शब्दमा ‘ल’ प्रत्यय थपिएर नेपाल हुन गएको हो । टामस यङ्गले र जार्ज ग्रियर्सकनको भनाई अनुसार नेवार र तामाङको रक्त मिश्रणबाट ‘न्यार्वा’ भन्ने जाति बनेको र त्यही न्यार्वा शब्दबाट नेवार बनेको अनि नेवारबाट नेपाल बनेको हो । ८०० वर्ष पुरानो एक रचनामा नेपालवासीलाई गिवाल (नेवार) भनिएको हो । यस अनुसार नेपालबाट नैपाल, णिवाक, निवार भई नेवार शब्द जन्मेको अर्को तर्क पनि छ । काठमाडौं खाल्डोमा मंगोलियाको गोबी नमूनाको ढुंगे उपकरण फेला परेबाट पाषाण युगका मंगोलहरु तिब्बत र हिमालय पार गरी नेपाल आइपुगेको र ईसाई पूर्व ३० हजार वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाडौं उपत्यकामा आवाद भएको अनुमान पुरातत्व र मानवशास्त्री जनकलाल शर्माले गर्नुभएको छ । यस अर्थले नेपालमा प्राथमिक रुपमा मंगोल मूलका विभिन्न प्रजातिहरुको सभ्यता थियो । नेवार पनि ती सभ्यतामध्ये एक मूल सभ्यता हो । यो हिन्दू आर्यहरु नेपाल प्रवेश गर्नुभन्दा धेरै पहिले हिमालय फेदमा विकसित भइसकेको थियो । पछि नेपाल खाल्डोमा लिच्छवी अनि विभिन्न समयमा अन्य हिन्दु आर्यहरु प्रवेश गरी नेवारहरुसँग घुलमिल हुँदै नेवार समाजलाई हिन्दूकरण, संस्कृतिकरण, मैथिलीकरण समेत गरेको देखिन्छ । यो खाल्डोमा बाहिरबाट आउनेले राज्य ग¥यो र नयाँ संस्कृति ल्यायो । तर खाल्डो पसेपछि त्यो नेवारी सभ्यताकै अंग बन्यो । बाहिरबाट आउनेहरुको घुलमिलले गर्दा नेवार जाति एक जाति नभई विभिन्न जातिको एक समूह बनेको हो । गैर नेवार हेर्दाले नेवारजाति एउटै जस्तो लाग्दछ । त्यस्तै एउटै भाषा, एउटै धर्म र एउटै संस्कृति जस्तो लाग्दछ होला तर त्यस्ते होइन । हाइमनड्रफका (१९६०) का अनुसार योभित्र २६ प्रकारका जातिहरु भित्रिएका छन् । भाषाको बोली ठाउँ अनुसार फरक देखिएको छ । धर्मको कुरामा नेवारहरु शैव, हिन्दू र बौद्ध आधा हुनसक्छ । त्यस्तै संस्कृति र संस्कारमा जाति अनुसार केही फरक हुन सक्छ । नेवारमा विभिन्न जातिको भाषा एउटै भए पनि जाति अनुसार धर्म र संस्कृति केही फरक हुनसक्दछ । त्यसो भएता पनि सबै जातिमा समन्वय र सहिष्णुता हुन्छ । यसको ज्वलन्त उदाहरण हो विभिन्न जातिले संयुक्त रुपमा मानी आएको विभिन्न जात्राहरु । त्यस्तै नेवार समुदाय एउटा विभिन्न जातिको समूह भएकोले आ आफ्ना फरक पहिचान र संस्कृतिहरु छन् । नेवार एउटा सुसंस्कृत सभ्य र उन्नत समुदाय हो । चाडपर्व मनाउनेदेखि रीतिथिती र संस्कार संस्कृतिमा आफ्नै अनुसारको मौलिकता छ । तर आधुनिकता र पाश्चात्य संस्कृतिको प्रभावले कतिको जाति विशेषको आफ्नो मौलिक पहिचान र संस्कृति छोडिँदै आएको छ । काठमाडौं उपत्यकामा नेवारहरु धेरै भएकोले र नेवारहरु भएको ठाउँमा नेवारहरुको संस्कृतिसँग जोडिएका चाडपर्वहरु मानि आउनु स्वभाविक हो । ती चाडपर्वहरु ऋतुको भरमा मानी आएका छन् । बौयागु ख्वाः स्वय्गु, मांयागु ख्वाः स्वय्गु, देगुपूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथाः, मोहनी, स्वन्ति, म्हःपूजा, पाहाँचह्रे, योमरी पुन्ही आदि नेवारहरुको मानी आएका चाडपर्वहरु हुन् । स्थानीय जात्राहरु पनि छन् । नेवार समाजमा विभिन्न नश्ल, धर्म, संस्कृति र परम्पराहरुको संयोजन छ । यसर्थ नेवार जाति होइन, राष्ट्रियता हो भनी इतिहासकार डिल्लीरमण रेग्मी भन्नुहुन्छ । जातिको उद्गम सम्बन्धमा विभिन्न मानिसको विभिन्न धारणाहरु छन् । अधिकांशको भनाईमा कुल, वर्ण र काम अनुसार नै जाति निस्केको हो । तर हिन्दूहरुको भनाइमा मतभेद छन् । केही विद्वान्ले त यो सामन्ती सोच भएका राजा ब्राह्मणहरुको आविष्कार भनेका छन् । तर जन्म व्यवसायको भरमा जाति व्यवस्था नेपाल र यो प्रायदीपमा मात्र होइन, पहिले फ्रान्स, रोम र जापानमा पनि प्रचलित थियो । त्यसपछि यो व्यवस्था हाम्रोमा आएको हो । यो व्यवस्था भारतमा बाहेक प्रायः अन्य ठाउँमा चलेको देखिँदैन । जयस्थिति मल्लले बनाएको जातीय वर्गीकरण भन्दा पहिले दुइटा मात्र जात थिए – भारो र भाबो । शासक वर्गलाई भारो भनिन्थ्यो भने बाँकी सम्पूर्ण वर्गलाई भावो भनिन्थ्यो । त्यसबेला ज्यापुहरुलाई भावो भनिन्थ्यो । पछि जातिको वर्गीकरणपछि भावो नै ज्यापु भएको हो । त्यसमा पनि कामको आधारमा यस जाति पनि विभिन्न थरमा वर्गीकरण हुन गयो, जस्तै कि महर्जन, डंगोल, सुवाल, सिं, प्रजापति आदि । भारो शब्दको अर्थ कहीँ श्रेष्ठ भनेर पनि प्रयोग गरेको छ । नेवार जातिमा श्रेष्ठ थर अधिक चर्चित छ । श्रीयन्त्रलाई इष्टदेव मान्ने नेवार भएकाले श्री–इष्ट श्रेष्ठ भनेको भन्ने भनाइ पनि छ । शारीरिक बल खर्च नगर्ने तर राज्यसत्तासँग नजिक रहेर व्यापार, उद्योग, राजनीति, प्रशासन र औषधी व्यापार आदि कार्य गर्ने नेवारहरुलाई मल्ल राजाको पालसम्म भारो भन्ने चलन छ । श्रेष्ठहरुको छ वटा जात र ६८ उपजात छन् भनी पुरातत्वविद् शंकरमान राजवंशीको भनाइ छ । मास्के, प्रधान, अमात्य, जोशी, राजभण्डारी, कर्माचार्य मूल श्रेष्ठ हुन् । नेवारजातिको यस श्रेष्ठ (स्यस्यः) समाजभित्र मंगोलियन नश्ल मात्र होइन, खस, ब्राह्मणदेखि लिएर मधेशमा बस्ने मधेशीहरु र हिमाली जातिकाका तामाङ सम्मको नश्लका अस्तित्व पनि छन् । जयस्थिति मल्लले यस नेवार जातिमाथि चार वर्ण छत्तिस जातको मनु महाराजको हिटलरी नीति नपकडाई दिएका भए पृथ्वीनारायण शाह पनि जातिवादी नभएका भए आजसम्म त्यही नेवार संस्कृति र राष्ट्रियता एक ढिक्को भएर बज्र झैं बलियो हुने थियो, दुर्भाग्य त्यो भएन भनी धर्मरत्न यमीले भनेको कुरा सान्दर्भिक छ । नेवारहरु जति पुराना छन्, त्यत्तिकै नेवारी भाषा (नेपालभाषा) पनि पुरानो छ । किराँतकालमा नेवारी भाषा जनभाषाको रुपमा प्रचलित भएको देखिन्छ । लिच्छवीकालदेखि शासक र पुरोहित वर्ग बाहिरबाट आएका र संस्कृतका पक्षपाती हुँदा लोकभाषा नेपाली भाषाले विकास गर्न पाएन । राजा जयस्थिति मल्लको शासनकालदेखि भने नेवारी भाषाले प्रश्रय पाउन थाल्यो । त्यसताका नेपालभाषा नामले देशभाषाका रुपमा नेवारी भाषाले सम्मान पाएको थियो । त्यस्तै सम्वत् नेपाल सम्वत् चलाइन्थ्यो । नेपाल सम्वत् मध्यकालीन समयमा नेपाल खाल्डोमा सीमित थिएन, भारत र चीनका शासकहरुले समेत चलाएको देखिन्छ । राजा सिंहप्रताप शाहको शासनकालमा नेपाल तिब्बत सन्धीपत्र समेत नेवारी भाषामा लेखिएको कुृराले के प्रष्ट हुन्छ भने राणाकाल अगाडि भाषागत भेदभाव महसुस गरिएको थिएन । राणाकालमा अन्य क्षेत्रमा जस्तै नेवारी भाषाप्रति दमनचक्र चल्न थाल्यो । सूर्यविक्रम ज्ञवालीको भनाइ अनुसार नेवारी भाषा पनि चिनियाँ, बर्मेली इत्यादि भाषा सहर एक मात्रिक भाषा हो । नेवारी भाषाका आफ्नै लिपिहरु छन् ः गोलमोल, रञ्जना, भूँजिमोल, कुमोल, क्वेँमोल, हिमोल, लितुमोल लिपि । यी लिपिमा लेखिएकालाई नेपाल लिपि भन्ने गरिएको छ । तिब्बती महायान्मा मन्त्रहरु नेवारी लिपिमा लेख्ने र गुम्बाहरुमा सजाउने काम मंगोलिया, रुस, चीन र भुटानमा समेत फैलियो । हाल यस भाषामा पनि सुगमताका लागि मुद्रणमा देवनागरी लिपिको प्रचलन हुन थाल्यो । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न भाषाभाषी जातजातिको बसोबास छ । नेपालको ७५ मध्ये ७३ जिल्लामा नेवारहरुको पनि बसोबास छ । उनीहरुले आफ्नो जातीय पहिचान झल्कने केही न केही कुरा चलनचल्तीमा राखेको देखिन्छ । जस्तै नेवारभाषा वा केही नेवार शब्दहरु, भेषभूषा, खाने परिकारहरु, चलनचल्तीको घरायसी सामानहरु, रोजगारीका सामानहरु, बाजागाजा, नाचगान, रीतिरिवाज, चाडपर्व आदि । नेवारको आदिभाग काठमाडौं उपत्यका हो । तर विभिन्न समयमा नेवारहरु काठमाडौं उपत्यकाबाट टाढा जाने काम भएको छ । नेपालको विभिन्न जिल्लामा मात्र होइन, नेपालबाट बाहिर जाने काम भएको छ । विशेष गरेर भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ आदि ठाउँहरुमा नेवारहरु प्रशस्त छन् । प्रवासमा भएका नेवारहरु अनेक जातका भएर पनि राजनीतिक, सामाजिक र सांस्कृतिक कारणले त्यस प्रकारका नेवारहरुले आफ्नो मौलिक जातलाई छोडेर सजिलोको रुपमा प्रधान भनेर लेख्ने चलन गरेको छ । नेवारी कला, संस्कृति, परम्परा अनि चाडपर्व आफ्नै विशेषताको छ । जुन हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत प्रचलित छ । संयुक्त राष्ट्रसंघमा सदस्य भएका सबै मुलुकहरुले आफ्नो लिपि राखेका छन् । नेपालको परिचयका लागि नेपालका नेवारीहरुको संस्कृति र कलाकारिताको मौलिक लिपिमा रञ्जना लिपि उल्लेख भएको छ । यो सबै राष्ट्रको गौरवको विषय हो । यसर्थ नेवार कला, संस्कृति, भाषा, साहित्य र सम्पदा नेवारहरुलाई एक ढिक्का बनाई राख्नु जरुरी छ । तर राज्यको तर्फबाट सयौं वर्षदेखि नेवारी समुदायप्रति नराम्रो नजरले हेर्ने जुन काम भएको छ, त्यो नेवार समुदायले गहिरो चोट पाएको अनुभव लिएको छ । अनि नेवार जातिमा छुवाछुत, पानी चल्ने, नचल्ने नियमहरु जुन कायम भएका छन्, त्यो आप्रवासी हिन्दु आर्यहरुको मनुस्मृति नियमका कारण भएको हुनाले त्यसलाई हटाउनु जरुरी छ, किनकि त्यो अति दुःखद पक्ष हो ।

http://newah.blogspot.com/2013/12/blog-post_296.html

सरल हृदयका चित्तधर

राजेन्द्र शाक्य/उज्यालो

काठमाडौ, साउन १९ – चित्तधर हृदय नेपालभाषा साहित्यका एक बहुआयामिक लेखक अनि थुप्रै अरू लेखकहरूका प्रेरणाका स्रोत ।

आफ्नो ७८ वर्षिय जीवनकालमा उहाँले कविता, गीत, खण्डकाव्य, महाकाव्य, कथा, नाटक, निबन्ध, व्याकरण र समालोचनाका झण्डै चारदर्जन उत्कृष्ट साहित्य सिर्जना गर्नुभयो।
उहाँकै प्रेरणाले अरु थुप्रै साहित्यकारहरूको रचनाले नेपालभाषा अनि नेपाली साहित्यको ढुकुटी भरिएका छन्।मृत्यूपर्यन्त आफ्नै घर पनि उहाँले साहित्यिक संस्था नेपालभाषा परिषद्लाई छोडेर जानुभयो ।
नेपाल संवत १०२६ बछलागा एकादशी विसं १९६३ जेठ ५ मा काठमाडौंको नरदेवीमा जन्मुनभएका चित्तधर तुलाधरले आफ्नो साहित्यिक यात्रामा विभिन्न उपनाम प्रयोग गर्नुभयो।
राणाकालको कठोर समयमा पनि निरन्तर भाषा साहित्यको सेवामा लागेका चित्तधरले बुद्धोपासक चित्तधर, चित्तधर उपासक, चित्त, हृदयु, रूपरत्न उपासक, हृद्‌दर्शन उपासक, सिडी उपासक, धर्मवीर, बुद्धिवज्र वज्राचार्य र मनमाया जस्ता उपनामले पनि कलम चलाउनुभयो। तर साहित्यिक क्षेत्रमा उहाँ चित्तधर हृदयबाट नै चिनिनुहुन्छ ।
आफ्नो जीवनकालमै विभिन्न विधामा तीनदर्जन जति पुस्तक प्रकाशित गरेका चित्तधरको पद्य निकुञ्जु र हृदय कुसुमु भारतको कालेम्पोङ्गमा छापियो। तर नेपाल ल्याउँदै गर्दा उहाँ यी दुवै कविता संग्रह चिसापानीगढीमा जफत भयो। तर उहाँ निरन्तर मातृभाषामा साहित्य रचना गर्दै रहनुभयो।
वि.सं. १९८६ सालमा लाइब्रेरीकाण्ड, विस १९८७ सालमा आडम्बरमत पर्व र विस १९९७ सालमा नेपालभाषामा पुस्तक छापेको आरोपमा उहाँ जेल पर्नुभयो।जेलमै पनि उहाँले साहित्य रचना गर्न छोड्नुभएन।
आफू लेख्ने मात्र नभर्इ जेलमै रहेका केदारमान व्यथित र धर्मरत्नक यमिु जस्ता धेरैलाई उहाँले लेख्ने प्रेरणा दिनुभयो। उहाँले जेलमै लेखेको सुगत सौरभु महाकाव्य उहाँको सबैभन्दा प्रख्यात कृति मानिन्छ। विभिन्न भाषामा अनुवाद भैसकेको सुगत सौरभुलाई पहिले तीर्थराज तुलाधरले अंग्रेजीमा अनुवाद गर्नुभएको थियो। पछि टड टी लेविस र सुवर्णमान तुलाधरले गरेको सुगत सौरभुको अंग्रेजी अनुवादलाई अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले सन् २०११को तोशिहिदा नुमाता बूक पुरस्कारु प्रदान गरेको थियो।
विस २००७ सालमा प्रजातन्त्रको स्थापनापछि उहाँले चित्तधर हृदयु नामबाट लेख्न सुरु गर्नुभयो। ने.सं. १०८८ मा प्रकाशित मिं मनस्पौ (नजलेको पत्र) पनि उहाँको अनुपम कृति मानिन्छ। ल्हासा व्यापारीको परिवारमा जन्मेका चित्तधरले ल्हासा व्यापारीको कथालाई समेटेर लेखेको उपन्यास आकारको पत्र मिं मनस्पौलाई केशरलाल श्रेष्ठले अंग्रेजीमा अनुवाद गर्नुभएको छ ।
वि.सं. २०१३ सालमा तत्कालिन राजा महेन्द्रले चित्तधरलाई कवि केशरी (कविहरूका सिंह)को उपाधीले सम्मानित गरे। संयोगवश ०६२र६३को जनआन्दोलन पछि कालिमाटीमा रहेको राजा महेन्द्रको शालिक रहेकै ठाउँमा २०६५ सालमा चित्तधरको पूर्णकदको शालिक रहन पुग्यो।
नेपालभाषा परिषद्लेत उहाँको नाममा हरेक वर्ष चित्तधर सिरपा पुरस्कार दिँदै आएको छ, जसबाट उज्यालो ९० नेटवर्कबाट प्रशारण हुने नेपालभाषाको कार्यक्रम लहनालाई ने.सं.११३२ मा सम्मानित गरिएको थियो।

चित्तधर हृदय स्मृति संग्रहालय

काठमाण्डुको रत्नपार्क, भोटाहिटीबाट असन हुँदै पश्चिमतिर जाँदा रक्तकाली भन्दा केही अघि नरदेवीको सडकैमा पर्ने चारतल्लेखाँट्टी नेवार शैलीको घरमा चित्तधरको जन्म भएको थियो।
पत्नी ज्ञानप्रभा र बहिनी मोतीलक्ष्मीका साथ यसै घरमा चित्तधरको जिन्दगी बित्यो। उहाँ पछिका साहित्यकारहरू फत्तेबहादुर सिंह, वैकुण्ठप्रसाद लाकौल, पूर्ण बहादुर वैद्य, प्रेमबहादुर कंसाकार, सत्यमोहन जोशी, पद्मरत्न, तुलाधर, रमापतीराज शर्मा, योगेन्द्र प्रधान, सुन्दर मधिकर्मि, पुष्पबहादुर चित्रकार जस्ता थुप्रै लेखकहरूले यही चित्तधर दाइया छेँ चित्तधर दाइको घर मासाहित्य रचनाका लागि प्रेरणा पाए।
उहाँको आयोजनामा यही घरमा हुने थुप्रै साहित्य गोष्ठीहरूमा चित्तधरसंगै उनीहरूले आ-आफ्नो साहित्य रचना पाठपनि गरे। पछि राणाशासन ढलेर प्रजातन्त्रको उदय भएलगत्तै उहाँकै अग्रसरतामा २००७ सालमा स्थापना भएको नेपालभाषा परिषद्‌को कार्यालय पनि बन्यो यो घर।
पत्नी ज्ञानप्रभाको निधनपछि पनि अनवरत रूपमा भाषा, साहित्य सेवामा लागिरहेका चित्तधरलाई पक्षघात भएपछि उहाँकी बहिनी मोतीलक्ष्मीले धेरै स्याहार गर्नुभयो। पछि बहिनी मोतीलक्ष्मी बाँचुञ्जेल बस्न दिने गरि आफ्नो घर चित्तधरले नेपालभाषा परिषद्‌का नाममा दान दिनुभयो।
नेस ११०२ तछलागा तृतीया विस २०३९ जेठ २६ का दिन चित्तधर हृदयुले संसार त्याग्नुभयो। त्यसपछि यो घरलाई सबैले मोती निनिया छेँ (मोती फुपूको घर)का रूपमा चिन्न थाले। र, नेस १११७ ९विस २०५३०मा मोतीलक्ष्मीको पनि निधनपछि यो ऐतिहासिक घरको स्वामित्व नेपालभाषा परिषद्‌मा आयो । त्यसको १६ वर्षपछि नेस ११३३ दिल्लाथ्व द्वादशी साउन ५, २०७० का दिन चित्तधर दाइया छेँ चित्तधर हृदयु स्मृति संग्रहालय बन्यो ।
नेपालको इतिहासमा विशुद्ध साहित्यकारको संग्रहालय बनेको यो पहिलो अवसर हो। राजनेताका रूपमा बढी चिनिने वीपी कोइरालाको संग्रहालय खुलिसकेको भएपनि विशुद्ध साहित्यकारको संग्रहालय यो नै पहिलो हो। केही वर्षअघि भारतीय राजदूतावासको सहयोगमा सो भवनको मर्मत गरिएको थियो। पुरानै स्वरूपमा मर्मत गरिसकेपछि नेपालभाषा परिषद्ले भवनलाई चित्तधर स्मृति संग्रहालयमा परिणत गर्ने काम थालेको थियो।
मर्मत पछि भवनलाई संग्रहालयमा परिणत गर्ने सोचले नै भारतीय राजदूतावासबाट आर्थिक सहयोग लिइएको थियो। ‘संग्रहालयमा परिणत गर्ने भनेकैले भारत सरकारबाट सहयोग प्राप्त भएको हो’ परिषद्का् सचिव नवीन चित्रकारले भन्नुभयो । भवन मर्मतका लागि आर्थिक सहयोग प्राप्त भएपनि संग्रहालय बनाउन भने कतैबाट पनि सहयोग नपाएको उहाँको भनाइ छ।
‘संग्रहालयका लागिं सबै खर्च परिषद्काभ कोषाध्यक्ष पनि रहेका चित्तधरका भाञ्जी डा। केशरीलक्ष्मी मानन्धरले व्यहोर्नुभएको हो’ चित्रकारले भन्नुभयो। झण्डै १६ लाख खर्च भैसकेको संग्रहालयका लागिं संस्कृति मन्त्रालयबाट तीनलाख रुपैंया र पंचवीरसिंह तुलाधरले एकलाख रुपैंया आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
भवनको पहिलो र दोस्रो तल्लामा संग्रहालय अवस्थित छ। तेस्रो तल्लामा सभाकक्ष र परिषद्कों कार्यालय छ। वरिष्ठ संग्रहालयविद् जलकृष्ण श्रेष्ठको अवधारणा अनुसार संग्रहालय तयार भएको हो। संस्कृति मन्त्रालयको सहसचिव पदबाट अवकास पाएका श्रेष्ठ भन्नुहुन्छ–‘यस संग्रहालयमा चित्तधरको जीवनकाललाई जीवन्तता दिने प्रयास गरेको छु। यहाँ आउने सबैले उनको जीवनकाललाई महशुस गर्नेछन् ।’ सयवर्ष भन्दा पुरानो यो भवन आफै एक इतिहास हो।
संग्रहालयको पहिलो तल्लामा चित्तधरले प्रयोग गरेका किताब र सामानहरू सहित उहाँको अन्नप्राशनमा प्रयोग भएको लुगा पनि राखिएको छ। उहाँको हस्तलिखित संग्रह, पत्र, उहाँलाई दिइएको सम्मानपत्र र विभिन्न समयमा खिचिएका तस्वीरहरू पनि रहेका छन् ।
उहाँले संग्रह गरेका विभिन्न साहित्यकारहरूको हस्तलिखीत पाण्डुलिपिहरू पनि यहाँ प्रदर्शित छन्। त्यस्तै उहाँलाई दरवारबाट तत्कालिन राजा महेन्द्र र चीन, भारत अनि अमेरिकाबाट आएका पत्रहरू पनि राखिएको छ। दोस्रो तल्लामा चित्तधरको शयनकक्ष रहेको छ ।
यहाँ उहाँले प्रयोग गरेका भाँडाकुँडा, कलम, रेडियो, चश्मा जस्ता वस्तु उहाँले राख्ने  गरेकै ठाउँमा राखिएका छन्। जेलमा रहँदा कलाकार चन्द्रमान मास्केले उहाँलाई चित्रकारिता सिकाउनुभएको थियो। सुगत सौरभ महाकाव्य र खुपु बाखंचा कृतिका लागि मास्केले आवश्यक थुप्रै चित्र तयार पार्नुभएको थियो। उहाँकै प्रेरणाले चित्तधरले तयार पारेका थुप्रै चित्रहरू पनि प्रदर्शनमा राखिएका छन्।
हरेक दिन दिउँसो १२:३० बजेदेखि ३:३० बजेसम्म खुल्ने यस संग्रहालयमा प्रवेश शुल्क तोकिएको छैन।‘न्यूनतम योगदान स्वरूप अवलोकनकर्ताले ईच्छानुसार पैसा तिरेर संग्रहालय हेर्न सक्नेछन्’ वरिष्ठ संग्रहालयविद् श्रेष्ठले भन्नुभयो–‘तर संग्रहालय भनेपछि भ्रमणका दृष्टिकोणले सर्वसाधारणको प्राथमिकतामा नपर्ने र अलि प्रचार प्रसारको कमीले गर्दा पनि अहिलेसम्म दैनिक ८/१० जना मात्रै संग्रहालय अवलोकन गर्न आउने गरेका छन्। त्यसमाथि नेपालीहरूमा संग्रहालय भ्रमण गर्ने संस्कृतिको विकास पनि भएको छैन ।’
परिषद्काल सचिव चित्रकार, कोषाध्यक्ष डा. मानन्धर र संग्रहालयविद् श्रेष्ठ सहितको समितिले संग्रहालयको व्यवस्थापन हेर्दै आइरहेको छ। चित्तधर हृदयु स्मृति संग्रहालय नेपालभाषाका एक बहुआयामिक साहित्यकारका नाममा समर्पित भए पनि यसलाई नेपालकै गौरवका रूपमा लिन सकिन्छ। विलियम शेक्सपियर र विलियम वर्ड्सवर्थ जस्ता साहित्यकारहरूको संग्रहालय खुले जस्तै नेपालमा पनि एक विशुद्ध साहित्यकारको संग्रहालय खुलेको छ।
आफ्नो जीवनकालमा चित्तधर हृदयु थुप्रै साहित्यकारका प्रेरणाका स्रोत रहनुभयो। उहाँ आफैं पत्रिका, किताब निकाल्नुहुन्थ्यो । अनि आफैं वितरण पनि गर्नुहुन्थ्यो।आशा गरौं उहाँको शेषपछि उहाँको संग्रहालय पनि त्यस्तै प्रेरणाका स्रोत बन्नेछ ।

१०१ स्कुलमा नेपालभाषा

काठमाडौ, असार ७ – पाटनढोकास्थित रातो बंगला स्कुलले यसै शैक्षिक सत्र २०७० देखि नेपालभाषा (नेवारी) लाई ऐच्छिक विषयका रूपमा समावेश गरेको छ । उसले कक्षा ४ मा पठनपाठनको लागू गरेको हो । त्यसैगरी सिद्धार्थ वनस्थली र मल्पी इन्टरनेसनल स्कुलले समेत लागू गरेका छन् । ‘नेवाः बस्ती, नेवाः स्कुल’ अभियानको अनुरोधमा यी विद्यालयले नेपालभाषा ऐच्छिक विषयका रूपमा लागू गरेका हुन् ।
यसो त यसै वर्ष ललितपुरको सोनगुथि नेवाः इ्रंग्लिस स्कुल स्थापना भएको छ । यहाँ नेपालभाषा माध्यमबाट पढाइन्छ । यीसमेत गरी देशभरिमा नेपालभाषा पठनपाठन हुने विद्यालयको संख्या १ सय १ पुगेको अभियानका संयोजक दीपक तुलाधरले जानकारी दिएका छन् । तीमध्ये नौवटा स्कुलमा पठनपाठनका निम्ति नेपालभाषालाई माध्यम भाषाका रूपमा अपनाइएको छ । यो अभियान दस वर्षदेखि सुचारु छ । नेपालभाषा संरक्षण तथा संस्कृति प्रवर्द्धन मात्र होइन, मातृभाषी बालबालिकाको सिकाइलाई प्रभावकारी बनाएको अभियन्ता बताउँछन् ।

रातो बंगला स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कृष्ण थापा विद्यार्थीलाई नेवार संस्कृतिबारे सिकाउने उल्लेख गर्दै यसै वर्षबाट ४ कक्षामा नेपालभाषाको पठनपाठन व्यवस्था गरिएको जनाए । ‘विद्यार्थीलाई नेवार गीत, जात्राजस्ता संस्कृतिबारे सिकाउने गरेको छौं, अरूको भन्दा नेवार संस्कृति बढी प्रभावकारी छ,’ स्थानीय बजारमा नेवार भाषामा व्यवहार हुने र पूजाआजा, जात्राको प्रभाव रहेको थापाले भने । ‘म्हःपूजा लगायत विशेष चाडवाड र समृद्ध संस्कृतिप्रति अन्य समुदायको ध्यानाकर्षण गराउन पनि नेवारभाषा पठनपाठनमा समावेश गर्न आवश्यक ठानेका हौं ।’ भाषा सिकाइमा विद्यार्थीको चासो मूल्यांकन तथा अभिभावक सुझाव लिएर अर्को वर्षदेखि थप कक्षामा समेत व्यवस्था गरिने उनले बताए ।
अभियानको पहिलो नमुना हो- मोर्डन नेवाः इंग्लिस स्कुल । यो स्कुल काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा रहेको छ । दशकदेखि यो स्कुल सुचारु छ । यहाँ शिशु कक्षादेखि यूकेजीसम्म ४ तह पढाइन्छ । बालबालिकादेखि शिक्षकशिक्षिका सबैले नेपालभाषामा कुराकानी गर्छन् । यद्यपि बालबालिका सबै नेवार छैनन् । यहाँ पढ्दै गरेका १ सय २ बालबालिकामध्ये २० प्रतिशत अन्य जातिको रहेको विद्यालयका निर्देशकसमेत रहेका तुलाधर जनाउँछन् । पारिवारिक पृष्ठभूमि नेपाली भाषा भएकालाई त्यसैअनुसार माध्यम भाषा अपनाइन्छ । हरेक बालबालिकालाई नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीन भाषामा शिक्षण गर्ने गरिएको छ ।

‘बालबालिका भर्ना गराउने चाप थामिनसक्नु हुन्छ तर सीमित भौतिक संरचना र शैक्षिक गुणस्तर कायम गर्न सीमित विद्यार्थी भर्ना लिन्छौं,’ शैक्षिक गुणस्तर महत्त्वपूर्ण हुने उल्लेख गर्दै अभियन्ता तुलाधरले भने, ‘नेपालभाषालाई माध्यम भाषाका रूपमा प्रयोग गर्दा गुणस्तर पनि कायम हुनुपर्छ भन्ने मान्यता राखेका छौं ।’
मोडर्न नेवाः स्कुलका अभिभावक विनय श्रेष्ठ घरमा मातृभाषामा व्यवहार हुने बालबालिकाको बुझाइ स्तर बढाउने प्रभावकारी रहेको बताउँछन् । ‘स्कुलमा सबै नेपालभाषामा मात्र पढाइने होइन, सम्पर्कको भाषा नेपालभाषामै हुने भएकोले बच्चालाई अपरिचित ठाउँमा छोडेजस्तो पनि हुन्न,’ असनका स्थानीयबासी श्रेष्ठ थप्छन् ।
- गणेश राई

एकल भाषा नीति र दुर्गति

  • मङ्गलबार २१ जेष्ठ, २०७०

  • कुनचाहिँ घटना खबर बन्छ, कुनचाहिँ खबर विश्लेषणको विषय हुन्छ, मिडियाको अर्थ–राजनीतिका पण्डितलाई समेत ठम्याउन हम्मेहम्मे हुन्छ। सामान्यतः राजनीतिक, आर्थिक र सांस्कृतिक सत्ता शक्तिमा जसको प्रभुत्व हुन्छ, उसको सरोफेरोका घटनाले समाचार बन्ने सौभाग्य पाउँछन् भने सत्ता शक्तिहीनले यस्ते अवसर कमै पाउँछन्। पछिल्लो चरणमा भाषिक र सांस्कृतिक समानताको आन्दोलनका घटना नेपाली मिडिया र राज्यको बेवास्ताको सिकार भएका छन्।
    आजभन्दा १४ वर्षअघि स्थानीय निकायमा विभिन्न मातृभाषा पनि कामकाजी भाषाका रूपमा प्रयोग गर्न नपाइने फैसला सर्वाेच्च अदालतले गरेको थियो। त्यसरी विभिन्न मातृभाषाको समानताको अधिकारविरुद्ध फैसला गरिएको दिनलाई विरोध दिवसको रूपमा मनाउने क्रममा जेठ १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिइएको थियो। सयौँ जना सहभागी त्यो धर्ना नेपाली मिडियामा खबर बनेन। न त सम्पादकीय वा टिप्पणीको विषय नै भयो। अतः सञ्चारकर्मीबाट भाषिक आन्दोलनकारी बनेका मल्ल के. सुन्दरले आरोप लगाए, २०६३ सालको जनआन्दोलनको सफलतापछि ठूला भनिएका मिडिया नेवारलगायत आदिवासी जनजातिप्रति निकै पूर्वाग्रही भएका छन्।
    बेवास्ताको अस्त्र
    यस पटकको बालुवाटार धर्ना पनि २०४७ सालको संविधानद्वारा 'राष्ट्रिय भाषा' मान्यता दिइएका विभिन्न मातृभाषालाई नेपाली भाषासरह नै कामकाजी भाषा बनाउने प्रयासलाई अदालतबाट २०५६ सालमा तुहाइएपछि भएको भाषिक विद्रोहको एक कडी हो। विगतमा त्यही भाषिक विद्रोह 'जनयुद्ध' र विभिन्न आन्दोलनपछि संघीयता, राज्य पुनर्संरचना र व्यापक मानवअधिकारको विषयमा फेरिए पनि राज्यको सत्ता शक्तिमा आसीनहरू खासै चेतेका छैनन्। उनीहरू भाषिक समानताको आन्दोलनलाई जातीय, जातिवादी, पृथकतावादी, साम्प्रदायिक वा सामाजिक सद्भावविरोधी संघर्षको आरोप थोपर्दै, यस्ता धर्ना र विरोधमा बेवास्ताको अस्त्र प्रयोगमा मग्न छन्। तर, भाषिक आन्दोलनकारी भने आन्तरिक छलफल, व्यापक गोलबन्दी अनि धर्नासँगै यसलाई 'नेवाः स्वायत्त प्रदेश'को प्राप्तिसम्म अगाडि बढाउन उद्यत छन्।
    उनीहरू भाषिक समानताको आन्दोलन उठाउन क्रियाशील रहेकै बेला एक आन्दोलनकारी तथा संस्कृतिकर्मी भने अस्पतालको शैयामा ढलिरहेका छन्। नेपालभाषा र नेपाली भाषामा साहित्यदेखि रंगमञ्च, टिभी र सिनेमामा क्रियाशील संस्कृतिकर्मी रामशेखर जीवनमरणको संघर्ष गर्दैछन्, आर्थिक अभाव झेल्दै। उनलाई अस्पतालको शैयाबाट उठाउन नेवार अगुवाहरू आर्थिक सहयोग जुटाउने र रोगसँग लड्ने मनोबल बढाउने प्रयास गर्दैछन्। यस्तो सराहनीय काम हुँदाहुँदै पनि नेपाली मिडिया र राज्यले उनीप्रति गरिरहेको बेवास्तालाई सहज र उचित ठान्न सकिँदैन। उनी आर्थिक, राजनीतिक र सांस्कृतिक संस्थानका सत्ता शक्तिसँग निकटस्थ भए यतिखेरसम्म उनको सिन्दुर जात्रा भइसक्थ्यो, उनी मान–सम्मान र पुरस्कार–पदवीले विभूषित भइसक्थे।
    यसरी बेवास्ताको सिकार भएका रामशेखर त विभिन्न खाले सत्ता–प्रतिष्ठानका पीठाधीशले अन्य समुदायलाई गर्दै आएको बेवास्ताको प्रतीक मात्रै हुन्। यो कुनै व्यक्ति विशेषमाथि भएको बेवास्ताको घटनामात्रै होइन। यस घटनामा मूलतः नेपाली भाषाभन्दा बाहिरका लेखक, कलाकार र समग्रमा विभिन्न मातृभाषाका संस्कृतिकर्मीप्रति राजकीय बेवास्ताको पुरानै प्रवृत्ति झल्किन्छ। यो प्रवृत्ति बालुवाटारमा धर्ना दिएका भाषिक समानताका आन्दोलनकारीप्रति नेपाली मिडिया र राजनीतिका प्रतिष्ठानले देखाएको बेवास्ताकै निरन्तरता र व्यापकताभन्दा भिन्न छैन। यस्ता बेवास्ता झट्ट हेर्दा नदेखिने हुन्छन् तर जीवनको अभावमा सुकेका त्यस्ता पातजस्तै हुन्छन्, जुन सानो झिल्कोले जंगलै डढाउनेगरी सल्किन सक्छन्। जात/जाति, भाषा, धर्म, संस्कृति, भेषभूषा र रंगमा समेत विविधता भएको नेपाली समाजमा हामी एकता, सद्भाव र समन्वयको आकर्षक नारा लगाउन र टिसर्टमा लेख्न निकै जान्ने भएका छौँ। विडम्बना, अनेकता, विविधता, बहुलतामाथि दमन वा उत्पीडन वा कुनै पनि खाले बेवास्ताले हामीले अपेक्षा गरेको एकता, सद्भाव र समन्वयको साटो अनीष्ट मात्रै निम्त्याउने तथ्यप्रति भने संवेदनशील हुन सकेका छैनौँ।

    भाषिक असंवेदनहीनता
    जीवन–मरणको संघर्षमा रहेका संस्कृतिकर्मी रामशेखरप्रति बेवास्ता वा नेवार समुदायले गरेको बालुवाटार धर्नाप्रति बेमतलब त नेपाली समाजमा रहेको भाषिक संवेदनहीनताका नमुनामात्रै हुन्। तर, बालुवाटार धर्ना हाम्रो समाजमा रहेको जातीय अनेकता, भाषिक विविधता र संास्कृतिक बहुलताप्रति बेवास्ताको प्रतिरोध हो। धर्नाकारीले २०५४ सालमा काठमाडौं महानगरपालिकामा नेपाली भाषासँगै नेपालभाषा पनि प्रयोग गर्दै द्वैभाषिक नीतिबाट भाषिक समानताको अभ्यास गर्न खोजेका थिए, नेपाली भाषालाई विस्थापित गर्न खोजेका थिएनन्। तत्कालीन मेयर केशव स्थापितको भाषामा, महानगरपालिकाभित्र छिनिने मुद्दामामिला र गरिने कामकारबाहीमा नेपालभाषामा निवेदन दिन र बोल्न पाउने वैकल्पिक सुविधासम्म दिन खोज्दा पनि सह्य भएन र २०५६ सालमा कानुनी संघर्षबाट भाषिक समानताको अधिकारलाई परास्त गरियो।
    विसं २०४७ सालको संविधानद्वारा 'राष्ट्रिय भाषा'को मान्यता दिइएका नेपालभाषा र मैथिली भाषालाई पनि कामकाजी भाषा बनाउन खोज्दा कामपादेखि ललितपुर, भक्तपुर, कीर्तिपुर, ठिमी र राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समिति नेपाली भाषाका साहित्यकार, कानुन व्यवसायी र न्यायाधीशहरूको कोपभाजन बने। सर्वाेच्च अदालतका न्यायाधीश त्रय हरिश्चन्द उपाध्याय, तोपबहादुर सिंह र कृष्णजंग रायमाझीले पनि संविधानमा अस्पष्ट रहेको 'राष्ट्रिय भाषा'को अधिकारबारे आफूले पुनर्व्याख्या गर्ने वा पुनर्व्याख्याका लागि विधायिकालाई प्रेरित गर्नुको साँटो संविधानमा कोरिएका अक्षरलाई भाषिक समानताविरुद्ध प्रयोग गरे। यस अर्थमा, द्वैभाषिक नीतिको वकालत गर्ने अधिवक्ता युवराज संग्रौलाले भनेझैँ, संविधानले नेपालका सबै भाषालाई राष्ट्रिय मान्यता दिएकाले ती भाषाको प्रयोग सबैले गर्न पाएको खण्डमा मात्र नेपाली राष्ट्रिय एकता दह्रो हुने' आशा लोकतान्त्रिक गणतन्त्रमा समेत पूरा भएको छैन। र, यस्तो आशा गर्नेहरू भाषिक समानताको अधिकार लागू गराउन अझै धर्ना बस्न बाध्य छन्।
    भाषाजस्तो अति संवेदनशील क्षेत्रमा एउटा गलत प्रयास र असहिष्णु निर्णयले कति ठूलो परिणाम निस्कन्छ भन्ने उदाहरण २०५६ सालको अदालती फैसलाविरुद्ध भएको भाषिक संघर्ष हो। जनजाति आन्दोलनमा सक्रिय समाजशास्त्री डा. कृष्ण भट्टचनका अनुसार फैसलाले भाषिक र अन्य अधिकारबारे सर्वसाधारणलाई जानकारी गराउने, विभिन्न मातृभाषीलाई एकै ठाउँमा ल्याउने र सुतेकालाई बिउँझाउने काम गरेको थियो। वास्तवमा बहुजातीय र बहुभाषिक मुलुकमा एकल जातिवादी र एकल भाषावादी राज्य र व्यक्तिका गलत प्रयास र असहिष्णु निर्णयका कारण विभिन्न मातृभाषाका माग र संघर्ष पनि एकपछि अर्काे तीव्र र सघन भएका छन्। नेपालका विविध बहुजातीय समूहका आकांक्षालाई बु‰न अस्वीकार गरिरहेका राज्यका सञ्चालकको प्रवृत्तिबारे इतिहासकार प्रयागराज शर्माको सटीक टिप्पणी छ :  उनीहरू ती जातीय समूहका आकांक्षालाई 'राष्ट्रिय एकीकरण'को ठूलो स्वरले मिच्न चाहन्छन्।
    'राष्ट्रिय एकीकरण'का नाममा
    सामन्ती शासनले अढाई शताब्दीअघि गर्न खोजेको 'राष्ट्रिय एकीकरण'का मूल आधारबारे शर्माले 'दी स्टेट एन्ड सोसाइटी इन् नेपाल'मा लेखेका छन्, 'पृथ्वीनारायण शाह र उनीपछिका सबै शासकले चार प्रमुख विचारलाई देशको एकीकरणका आधार बनाएका थिए :  गोरखाका हिन्दू राजाको निर्विवाद शासनाधिकार र शक्ति; राष्ट्रिय जीवनमा हिन्दू परम्परा र मूल्यको सर्वाेच्चता; जातीय विभाजन (कास्ट डिभिजन)मा आधारित सामाजिक व्यवस्थाका माध्यमबाट सामाजिक एकीकरण अनि सरकारी एवं प्रशासनिक कामकाज र पछि आएर शैक्षिक क्षेत्रमा पनि नेपाली भाषाको प्रचलन र मान्यता।'
    राष्ट्रिय एकीकरणको नाममा शासक वर्ग र समुदायको भाषाको नामाकरणलाई सम्मानजनक बनाउने मात्रै होइन, अरु भाषाको नामलाई समेत अनेपाली वा गैरनेपाली वा नेपाली–इतर भन्नुपर्नेगरी नेपालीभाषा राखिएको तथ्य स्मरणीय छ। हर्क गुरुङका अनुसार पूर्वी पहाडी, सिँजाली, खस कुरा, पर्वते, गोरखालीजस्ता विभिन्न काँचुली फेर्दै आएको नेपाली भाषालाई विशिष्ट ठाउँ दिइयो। तर, नेपालभित्रकै अन्य भाषालाई भने जंगली, असभ्य र अविकसित भाषा ठान्दै पहिलेदेखि नेपालभाषा कहलिएको भाषालाई पनि 'नेवारी'जस्तो अपमानजनक नामाकरण गरियो। एकतिर भानुभक्त आचार्यलाई 'आदिकवि'को पगरी गुथाउने र उनको रामायणले राजाहरूले थालेको भौगोलिक–राजनीतिक एकीकरणलाई भावनात्मक र सांस्कृतिक एकीकरणमार्फत मजबुत बनाएको प्रचारबाजी गरियो। अर्काेतिर, डा. केशवमान शाक्यका अनुसार, त्यहीबेला आचार्यकै समकालीन नेपालभाषाका कवि र साहित्यकारलाई भने मातृभाषामा लेखेबापत जेल त हालियो नै, उनीहरूका श्रीसम्पत्तिसमेत जफत गरियो। नेपालमा पहिलो पटक प्रिन्टिङ प्रेसबाट किताब छपाउने निष्ठानन्द बज्राचार्यदेखि चित्तधर हृदय, बैकुण्ठप्रसाद लाकौल, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, योगवीरसिंह कंसाकार, धर्मादित्य धर्माचार्य, फत्तेबहादुर सिंह नेपालभाषामा लेखेकै कारण एकल भाषावादी राज्यबाट शारीरिकरूपमा पनि प्रताडित भए, जेलनेल र सर्वस्वहरणको सजायसँगै। उनीहरूले मागेको भनेको आफ्नो मातृभाषामा पनि साहित्य लेख्ने र प्रकाशन गर्ने अधिकार मात्रै थियो। तर गोरखाली भाषालाई नेपाली भाषाका रूपमा, राष्ट्रभाषाका रूपमा उचो दर्जा दिन मरिमेटेको एकल भाषावादी राज्यलाई भने ती माग देशद्रोही लाग्यो।

    लोप हुनेछन् अरु भाषा
    नेपाली राज्य राणावंशबाट शाहवंशमा फर्कने र प्रजातन्त्र स्थापना हुने क्रममै अनेक संघर्ष भयो। त्यसपछि नेपालभाषा र हिन्दी भाषालाई पनि राज्यले साहित्यिक प्रकाशन गर्ने र रेडियो नेपालबाट समाचार वाचन गर्न दिने अनुमति दिएर केही हदसम्म राजकीय मान्यता दियो, अरु मातृभाषालाई त्यति पनि दिएन। राज्य मूलतः सन् १९५६ मा प्रकाशित राष्ट्रिय शिक्षा योजना आयोगको रिपोर्टअनुसारको एकल भाषा–नीति लागु गर्न लागिपरिरह्यो। त्यो एकल भाषा नीति हो, 'नेपाली भाषा अध्यापन गरिएमा अरु भाषा लोप भएर जानेछन्, जसले नेपालको राष्ट्रिय एकतालाई अझ बढी मजबुत बनाउनेछ।'
    अतः शाहवंशीय राजाले पनि राणा र त्यसअघि आफ्नै पुर्खाले लागु गरेको नीतिलाई निरन्तरता दिन पञ्चायतकालमा रेडियो नेपालमा नेपालभाषा र हिन्दी भाषामा प्रसारण हुँदै आएको १० मिनेटको समाचार बुलेटिन पनि बन्द गरेर एकल भाषावादी रूप देखाए। सरकारी, प्रशासनिक र शैक्षिक मात्रै होइन, सञ्चार–माध्यममा पनि एकल भाषा लाद्ने नीति र व्यवहारविरुद्ध नेपालभाषाका साहित्यकारहरूले साहित्यिक सडक संघर्ष चलाए। प्रेमबहादुर कंसाकारको नेतृत्वमा भएको संघर्षको क्रममा हितकरवीरसिंह कंसाकार र भिक्षु सुदर्शनजस्ता अगुवालाई जेलनेलसँगै यातनाको भागीदार बनाएर दमनलाई तेज पारियो। त्यही दमन र प्रतिरोधकै जगमा २०३६ सालदेखि उठेको नेपालभाषा मंकाः खलःको भाषिक संघर्ष र नेपाल संवत् आन्दोलनबाट पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ र मल्ल के. सुन्दरजस्ता अगुवा निर्माण भए। आज त्यही साहित्यिक र सांस्कृतिक संघर्षसँगै भएको भाषिक समानताको आन्दोलन नै अनेक खालका दमन र प्रतिरोधकै क्रममा विकसित हुँदै भाषिक समानता, जातीय स्वायत्तता र स्वशासन, एकल जातीय पहिचानका आधारमा संघीय प्रदेशको निर्माण र राज्य पुनर्संरचनाको माग स्थापित गर्ने हदसम्म पुगिसकेका छन्। यी मागलाई समयमै न्यायोचित ढंगले सम्बोधन गरिएन भने बालुवाटारको झिल्को दावानल हुन बेर छैन।

    बहुभाषिक राज्यनीति
    वास्तवमा राजनीतिशास्त्री कृष्ण खनालले भनेझँै एकल राज्यभाषा नीतिमा सीमित रहेर अबको नेपाली राज्यले जनतामा स्वामित्वको भावना दिन सक्तैन, न त राष्ट्रिय एकीकरण र जातजातिबीच एकता नै कायम गर्न सक्छ। एकल भाषा नीतिलाई लामो समयदेखि नेपाली राष्ट्रिय एकताको परिपूरकका रूपमा लिइनु र बहुभाषिकतालाई राज्य संरचनामा सम्मान दिइँदा राष्ट्रको विभाजन होइन, एकतालाई बलियो पार्छ भन्ने सोचाइलाई गौण बनाइनु बेठीक भएको ठम्याइसहित खनाल भन्छन्, भाषिक स्वतन्त्रतालाई अस्वीकार गर्दा विद्रोहले जन्म लिन सक्छ। अतः व्यावहारिक पक्षलाई समेत दृष्टिगत गरी अब बहुभाषिक राज्यनीति अपनाउनुर्छ।
    नेपाललाई नेपाली भाषाको मात्रै साम्राज्य ठानियो भने नेपालकै अन्य सबै भाषाभाषीमा पनि प्रतिरोधी भावना र संगठित हिंस्रक संघर्ष जन्मिन सक्ने खतरा टाल्न पनि संघीय राज्यको निर्माण र ती राज्यमा बाहुल्यमा रहेका दुई तीन प्रमुख राष्ट्रभाषालाई पनि नेपालीभाषासँगै कामकाजको भाषा बनाउनु, अड्डाअदालतमा पनि आफ्नो सफाइ र प्रतीक्षा गर्दा प्रयोग गर्न पाइने भाषाका रूपमा अँगीकार गर्नु बुद्धिमानी र दूरदर्शितापूर्ण हुनेछ।

    http://www.nagariknews.com/opinion/story/2318#disqus_thread


    Wednesday, December 4, 2013

    नेवारी संस्कृतिमा लाखामरी I

    नेवारी संस्कृतिमा लाखामरी I


    कार्तिक १५ ,

    सुनिल श्रेष्ठ : नेवार संस्कृतिमा लाखामरीलाई विशेष महत्त्व दिएको पाइन्छ। नेवार जातिको संस्कृतिमा थरिथरिका लाखामरी भिन्दाभिन्दै अवसरमा विशेष स्थान दिई विभिन्न कार्य गरिन्छ। लाखामरी पर्वमा मात्र नभई विवाहको अवसरमा त यस्ाको महत्त्व अझ बढी नै छ। विवाहको अवसरमा लाखामरी अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ। यी अवसरमा बनाउने लाखामरीको परिकारलाई विभिन्न आकारमा बनाई फरक-फरक नाम दिइएको पाइन्छ।

    लाखामरी एक किसिमको रोटी हो। यसमा खासगरी चामलको पीठो र मासको पीठो मिसाइ, घ्युमा पकाएर पाकिसकेपछि चास्नीमा डुबाइ पकाउने गरिन्छ। यसमध्ये कुनै-कुनै रोटी आँटा मात्र राखेर पनि बनाउने गरिन्छ। सबै किसिमका लाखामरी यही तरिकाले बनाइन्छ। खालि आकार मात्र फरक-फरक हुने गर्छ। यो खाँदा मीठो, स्वादमा गुलियो र झुरुमझुरुम जाने गर्छ र धेरै दिनसम्म राख्दा पनि खास समस्या पर्दैन।
    विभिन्न किसिमका छन््। यो पाउको हिसाबले बनाएको हुन्छ। जुन चार थरिको हुन्छ, झिँनिपः -१२ पाउ), झिपः -१० पाउ), च्यापः -८ पाउ), खुपः -६ पाउ)। यसबाहेक अर्को जिप्रसा, जोप्रस्था, मथ, अँय्था, नागबेली -नाग आकारको), भत्तु -सुगा), न्या -माछा), ब्याँ -भ्यागुतो), चिकंपा, गुलिमरी, अक्षतामरी आदि हुन्छ।


    विभिन्न अवसरमा प्रयोग गर्ने लाखामरी यसप्रकारका छन् ः विवाहको अवसरमा जोप्रस्था -ठूलो, सानो), जिप्रसा -ठूलो, सानो), मथ -ठूलो, सानो), चिकंपा -ठूलो, सानो), अँय्था -ठूलो, सानो), न्या, ब्याँ, भत्तु, नागबेली, गुलिमरी आदिको आवश्यकता पर्छ।

    हुन त पुरानो जमानामा लाखामरीलाई विवाहको अवसरमा निमन्त्रणाका रूपमा पनि प्रयोग गरेको पाइन्छ। पहिले-पहिले निमन्त्रणा दिँदा चिकंपा लाखामरी एक चौथाइ -चकंछी) दिँदा एकजना, आधा दियो भने माचाछी -श्रीमान्-श्रीमती र उनीहरूको छोरा-छोरी मात्र), सिङ्गै दियो भने सपरिवार भनी बुझ्नुपथ्र्यो। रोटीको किसिम आधा सिङ्गैका आधारमै दाइजो पनि दिइन्थ्यो। त्यस्तै, भोज खाइसकेर र्फकने बेला हातमा एउटा एउटा अँय्था रोटी दिएर पठाउने गरिन्छ। तर, यस किसिमको परम्परा हिजोआज धमाधम लोप हुँदै गएको देखिन्छ।

    माघमा स्वस्थानी कथा भन्ने बेला बाखंपा -नैवेद्य)का रूपमा गुलिमरी, अँय्था मरी वा अक्षतामरी राख्ने चलन छ। तर, स्वस्थानी परमेश्वरीको व्रत बस्दा अनिवार्य रूपमा अक्षतामरीको आवश्यकता पर्छ। स्वस्थानी व्रत हरेक वर्षको पौष शुक्ल पूणिर्मादेखि सुरु भएर माघ शुक्ल पूणिर्माको दिनमा एक सय आठ अक्षता रोटी राखेर देउता पूजा गरेर प्रसाद निकालेर आठवटा आˆनो श्रीमान्लाई दिएर सायवटा चाहिँ आफूले प्रसादका रूपमा खानुपर्छ। यो रोटी विशेषगरी यही अवसरमा मात्र बनाउने गरिन्छ।

    तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीको पूजा गर्दा ८४ व्यञ्जन, सगुन -अन्डा, बारा, माछा, मासु, रक्सी) आदिका साथै रोटी, फलफूल तथा मसला आदि पनि चढाउने गरिन्छ। यस अवसरमा लाखामरी पनि चढाइन्छ र चार दिनमा वा भाइटीकाको भोलिपल्ट प्रसादका रूपमा सपरिवारसाथै छोरीबेटीलाई समेत बोलाइ ख्वाउने प्रचलन छ।

    भाइटीकामा दिदीबहिनीले भाइपूजाका लागि पूजासामग्री साथै विभिन्न खाद्यसामग्री -कु) लिएर माइती जाने गर्छन्। त्यस्तै वैशाख कृष्ण औँशीको दिन आमाको मुख हेर्ने बेला र भाद्र कृष्ण औँशीको दिन बुवाको मुख हेर्न जाँदा छोरीहरूले कु -भारी) लैजाने गर्छन्। यही बेला अरू खाद्यवस्तुका साथै रोटी पनि राखेर लगिन्छ। थरिथरिका जिन्सी रोटी वा मिठाइका साथै लाखामरी पनि लिएर जाने गरिन्छ। यस अवसरमा भने लाखामरी नै लैजानुपर्ने अनिवार्य भने छैन। तर, लाखामरी किस्तीमा सजाउँदा राम्रो एवम् गहकिलो देखिने र धेरै दिन टिकाउ वा हतपती नबिग्रने भएकाले लाखामरीलाई महत्त्व दिएको पाइन्छ। यस किसिमको पर्वमा जिप्रसा, जोप्रस्था, मथ, अँय्था, गुलिमरी आदिमध्ये कुनै पनि रोटी राखेर लैजाने चलन छ। न्या, ब्याँ, भत्तु, नागबेली, गुलिमरी, चिकंपा, अक्षतामरीजस्ता रोटीहरू विशेष दिनमा बाहेक अरू पर्वमा बनाइँदैन।

    लाखामरी पर्वविशेषमा बाहेक अरू अवसरमा पनि प्रयोग गरेको पाइन्छ। परिवारको कुनै पनि सदस्य वा आफन्त वा साथीभाइ विदेश जाने बेला लाखामरी कोसेली दिएर पठाउने पनि चलन रहेको छ ।

    चथाः नेवार समुदायको ‘सानो दशैं’

    चथाः नेवार समुदायको ‘सानो दशैं’

    लक्ष्मी शाक्य/उज्यालो

    काठमाडौ, भदौ २४ – संस्कृतिमा धनी नेवार समुदायले वर्षभरी धेरै चाडपर्व मनाउने गर्छन् । दशैं आउन लागेको सन्देश दिने नेवार समुदायको एउटा महत्वपूर्ण चाड हो, चथाः ।

    यो चाड दशैंको ठीक एकमहिना अगाडि मनाइने गरिन्छ । यो पर्वलाई सानो दशैंको रुपमा लिइन्छ । यो पर्व राम्ररी मनाएमा दशै पनि राम्रो हुने जनविश्वास छ । त्यसैले नेवारी समाजमा चथाःलाई दशै‌ जस्तै महत्वका साथ मनाइने गरिन्छ ।
    हरेक वर्ष भाद्र शुक्ल चतुर्थी दिन यो पर्व मनाउने गरिन्छ । यस दिन चन्द्रमा हेरे चोरीको मिथ्या दोष लाग्छ भन्ने परम्परागत धारणाले वर्षभरि चोरीको मिथ्या दोष नलागोस् भन्ने कामना गर्दै नेवार समुदायले आफ्नो घर कौसीमा चन्द्रमा अर्थात चथाःद्यःको पूजा गर्ने चलन छ । चथाःद्यःलाई रातको समयमा मात्र पुजा गर्ने गरिन्छ ।
    रातीको समयमा घरका सबै सदस्य घरको कौसीमा जम्मा भएर एक कुनामा लिपपोत गरी कमलको पात (पला लप्ते)मा चथाः स्वां (करवीरको फूल), मोहनि स्वां(दशैंमा चढाउने फूल) र लक्ष्मीस्वाँ (लक्ष्मीपूजा गर्दा चढाइने फूल), अदुवाको बिरुवा, उखुको बिरुवा, नासपाति, केरा, बस्पति पु (आरुको बियाँ), काँक्रो, अम्बा, मकै, भटमास , चना, बकुला, केराउ लगायतका भुटेको गेडागुडी चढाएर पूजा गदर्छन् ।
    पूजा सकिएपछि समयबजि ( चिउरा, कालो भटमास, छोयला, अदुवा र रक्सी ) एवं नयाँ भित्रिएका मकै, भटमास, बकुला, चना, केराउ लगायतका गेडागुडीहरु बस्पति पु (आरुको बियाँ), काँक्रो, नासपाति, केरा, अम्बा फलफुल प्रसादको रुपमा खान्छन् ।
    धर्मशास्त्रमा उल्लेख भए अनुसार यस दिन चन्द्रमालाई हेर्यो भने चोरी गरेको मिथ्या दोष लाग्ने, अपवाद आउने भएकाले चन्द्रमा हेर्नु हुँदैन । यसैले पहिलेका बुढापाकाहरु आज चन्द्रमा उदाउनुअघि नै कोठामा लुकेर बस्ने चलन अहिले पनि केही ठाउँमा छ । त्यही कोठामा चथाःद्यःलाई पूजा गरि प्रसाद(भोज) खाएपछि राती अबेर मात्र कोठाबाट बाहिर निस्कने गरिन्छ । यो चलन हिजोआज निकै कम भैसकेपनि अझै बुढापाका भएका परिवारमा यस परम्परालाई निरन्तरता दिएको पाइन्छ ।
    परम्परागत मान्यता अनुसार भुँइचालो जाँदा अथवा चोर आउँदा जसरी कुकुरले एकैसाथ भुक्ने गर्छ, त्यसैगरी चथाःको दिन पनि रातिको एक समयमा कुकुरहरुले एकसाथ भुक्ने गर्छन् ।  अहिले पनि धेरै नेवार समुदायले  चथाः द्यःको आगमन भएको विश्वासका साथ चथाःद्यको पूजा गर्ने चलन चलिआएको संस्कृतिविद् डा.चुन्दा बज्राचार्य बताउनुहुन्छ ।

    धार्मिक मान्यता के छ ?

    ब्रम्हपुराणमा उल्लेख भएअनुसार परापूर्वकालमा चन्द्रमाले आफ्नी कान्छी श्रीमती रेवतीलाई अपमान गरे । आफ्नी छोरी रेवतीलाई हेलाँ र अपमान गरेको देखेपछि दक्ष प्रजापती रिसले चुर भई चन्द्रमालाई तेजहीन हुनुपर्ने श्राप दिए । जसले गर्दा चन्द्रमाको तेज नष्ट भयो । चन्द्रमा तेजहीन भएपछि उसले विष्णु कहाँ गई उद्धारका लागि प्रार्थना गरे र विष्णुले पूर्णिमाका दिनमा एक दिन पूर्ण तेजिलो हुने गरिदिए ।
    यस्तै स्वर्गमा एक दिन देवसभा भइरहेका बेला चन्द्रमाले गणेशलाई साह्रै अपमान गरेकाले गणेश रिसाई तिम्रो मुख हेर्ने सबैलाई चोरीको दोष लागोस् भनेर श्राप दिए । त्यस श्रापले गर्दा त्यसबेलादेखि चन्द्रमाको मुख हेर्ने सवै चोर भए र देवीदेवताले चन्द्रमाको मुख हेर्न छाडिदिए । पछि चन्द्रमाले गणेश र अन्य देवी देवतासँग माफी मागे ।
    चन्द्रमा क्षमा माग्न गएपछि गणेशले भाद्र शुक्ल चौथीको दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरेपनि चोरीको दोष नलाग्ने गरिदिए । यसै दिनदेखि गणेश र चन्द्रमाको पूजा गर्ने चलन चलेको हो ।
    भगवान बुद्धले भन्नुभएको छ, मानिस भएर जन्म भएपछि हरेक मानिसमा कुनै न कुनै प्रकारको नराम्रो बानी हुन्छ र मानिसले जीवनमा कुनै न कुनै प्रकारको चोरी गरेकै हुन्छ  । यो मानवीय स्वभाव हो । यसलाई यही रुपमा स्वीकार गर्नुपर्छ । यही मान्यताअनुसार वर्षभरी चोर दोष, अपवाद नलागोस् भनि आजको दिनमा (चोर देवता) चथाःद्यलाई पुजा गर्ने प्रचलन छ ।
    मंगल चौथी पनि भनिने आजको दिनमा गणेशको पूजा एवं व्रत वस्ने चलन छ । उपत्यकाका विभिन्न गणेशस्थानमा आज मेला लाग्ने गर्छ । उपत्यकाका सूर्यबिनायक, कार्यबिनायक, चन्द्रबिनायक, जलबिनायक लगायत काठमाडौको कमलादी गणेशमा मेला लाग्ने गर्छ ।
    कुनै पनि नयाँ काम शुरु गर्नु अगाडि गणेशको पूजा गरेमा कार्य सफल हुने विश्वासका साथ गणेशको पूजा गर्ने चलन छ । मंगल चौथीलाई गणेशको जन्मदिनको रुपमा पनि मनाइने गरिन्छ । शिवपुराण अनुसार आजको दिनमा भगवान गणेशको जन्म भएको हो ।

    जर्मनीमा संस्कृत र नेपाल भाषा

    Kantipur (November 16, 2013)


    नेवारी संगीतका गुरु

    नेवारी संगीतका गुरु


    काठमाडौँको पुरानो बस्ती यट्खामा काठका झ्यालढोका भएको एउटा प्राचीन शैलीको घर छ। त्यहाँबाट साँघुरा झ्याल, ढोका र बुइगल हुँदै बाहिरनिे धुनले हरेक साँझबिहान टोल नै संगीतमय हुन्छ। त्यही सांगीतिक जात्रामा रमाउँछन्, घरमालिक धर्म मुनिकार, ४५।

    बाँसुरी, धिमे, वय, धिं, कोंचखीं, पछिमा, मादललगायत प्राचीन नेवारी बाजागाजाले भरिएको छ, उनको कोठा। बाँसुरी मात्रै सानाठूला गरी दर्जनौँथरी छन्। पेसाले काठमाडौँ महानगरपालिकाका नायब सुब्बा यी धर्मसँग संगीतमा औपचारकि पढाइको प्रमाणपत्र छैन। तर, अनुभवले दिएको परपिक्वता यस्तो छ कि, ०५७ सालदेखि नियमित रूपमा नेवारी बाजा सिकाउँदै आएका छन्।

    बालबालिका र किशोर-किशोरीहरू नेवारी बाजा सिक्न उनको घरसम्मै आउँछन्। खुम्चिँदै गएको नेवारी बाजा, गायन र नाचलाई समेत केही तहसम्म उकासेका छन् उनले। खासगरी आधुनिक, पप हुँदै रक गीतमा एकोहोरिएको नेवार युवा पुस्ता आफ्नै लोकबाजातिर तानिएको छ।

    गुठीका केही गुरुले पनि विशेष चाड र जात्रामा मात्रै यस्ता बाजा देखाउँथे। यतिसम्म कि महिलाका लागि नेवारी बाजा सिकाउने चलन नै थिएन। धर्म भन्छन्, "गुठीका गुरुहरू यति संकुचित थिए कि अन्य समुदायका मान्छेलाई बाजा सिकाउन हुँदैन भन्ने परम्परामा सीमित थिए।"

    आफ्नै छोराछोरीको बिहेमा पनि नेवारी बाजा बजाउन छाडेर हिन्दी गीत घन्काउने चलनले नेवारी संगीत र वाद्यवादन संकुचित बन्दै गएको बुझेर उनले थानकोटदेखि भक्तपुरसम्म १ हजार १ सय जना त सांगीतिक चेला बनाइसकेका छन्। ती युवा ३८ वटा खलः वाद्य वादन समूह अन्तर्गत आबद्ध छन्। र, आफ्नै अध्यक्षतामा छाता संगठन पनि बनाएका छन्, नाशः सृष्टि कला खलः।

    यही समूहले हरेक वर्ष आकर्षक धनराशिसहित वाद्यवादनको प्रतिस्पर्धासमेत गराउँदै आएको छ। केहीअघि मात्रै उनकै पहलमा काठमाडौँमा बाँसुरी वादन प्रतियोगितामा २१ समूह प्रतिस्पर्धामा सहभागी भए, जहाँ पहिलो हुने समूहलाई ५० हजार रुपियाँ पुरस्कार थियो। अघिल्लो वर्ष मात्रै जनकपुर, बुटवल, चितवन, पोखरालगायत देशका ठूला सहरमा उनको टोलीले ८० ठाउँमा आफ्नो सांस्कृतिक प्रस्तुति दियो।

    धर्म मुनिकार आफैँ बाँसुरीका साधक हुन्। काठमाडौँका ३२ प्राचीन टोलमध्ये एक भोटाहिटीमा हुर्केका उनले आठ वर्षकै उमेरमा भव्य पूजा गरी विधि पुर्‍याएर बाँसुरी सिकेका रहेछन्। त्यसो त धिमे, खें, वय, मादल, पछिमा र कोचंखें पनि उनी कुशलताका साथ बजाउँछन् र सिकाउँछन्। उनले पहिलोपल्ट प्लास्टिकको बाँसुरी बनाएर प्रयोगमा ल्याएका रहेछन्।

    १२ वर्षदेखि निरन्तर नेवारी वाद्यवादन र संगीतको श्रीवृद्धिमा लागेका उनले कतिपय नेवारी गीत र संगीतका मौलिक बोललिपि र स्वरलिपिसमेत सिर्जना गरेका छन्। अझ नेवारी वाद्यवादनका लागि मौलिक शैलीको पाठ्यक्रम नै बनाएका छन्। भन्छन्, "सधैँभर ियसरी नै संगीतमा रमाउन पाऊँ।"