Saturday, April 2, 2016

काजीमानको योगदान

02 Apr 2016
२० चैत्र, २०७२
ओम धौभडेल
काजीमानको योगदान

भत्कपुरको माटोमा जन्मि कला, संस्कृति र सम्पदालाई अति माया गर्ने कलाकारको नाम हो काजीमान कर्माचार्य। आज हामी माझ उनी छैनन्, तरको उनको कला छन्।

बिसं १९२२ मा सुकुलढोकाको बखुँमला गल्लीमा भैरबसिंह र हिरामायाको जेष्ठ सुपुत्रका रुपमा जन्मेका थिए उनी। उनको परिवार जन्मजात तान्त्रिक कर्मकाण्ड गर्थ्यो। लिच्छवी कालमै फस्टाएको तान्त्रिक मतमा कर्माचार्य समुदायबाट महत्वपूर्ण भुमिका निवार्ह भएको देखिन्छ।

काजीमानसँग तन्त्र सिक्नेहरु आउँथे। भक्तपुरका तत्कालीन बडाहाकिम धन शम्शेर पनि उनका चेला थिए। कर्माचार्यबाट प्राप्त बिधा सदुपयोग गर्दै धन शम्शेरले बृहद् पुरहशर््चरण, कुलार्णव रहस्य जस्तो तान्त्रिक बिधाका पुस्तक लेखेका छन्।

काजीमानको अर्को खुबी चित्रकारिता पनि हो। तन्त्रमा चित्रको महत्व हुन्छ। तन्त्र एवं चित्र दुबै बिधाका लागि एकाग्रता, धैर्यता अनि लगन चाहिन्छ। उनी नामूद तान्त्रिकका साथ सिध्दहस्त चित्रकार बने। उनले बनाएका हरेक चित्र दुरुस्त छापा झैं देखिन्छन्।।

औपचारिक शिक्षा बिनै उनले बनाएका चित्र अब्बल रहे। तन्त्र भित्रका अनेकौ मुद्रा तथा यन्त्रलाई भन्दा बढि प्राथमिकता कला, संस्कृति, सम्पदा प्रति ध्यान केन्द्रित गरी उनले मन्दिर, दरवार र संस्कृतिका जीवन्त चित्र बनाए।

उनले भक्तपुरको न्यातापोल देवलदेखि जनकपुरको जानकी मन्दिरसम्म बनाए। चाँगुनारायण, भक्तपुर, काठमाडौं र पाटनको लायकु परिसर, बनेपाको चण्डेश्वरी मन्दिर, सांखुको बज्रयोगिनी मन्दिरका साथै जात्राका चित्र बनाएका छन्। धन शम्शेरले लेखे्को बृहद् पुरहर्श्चरण ग्रन्थका सबै चित्र उनैले बनाएका। उनको एउटा कृति सांखुको बज्रयोगिनी मन्दिर पनि हो। उक्त मन्दिर जिर्णोदार गर्दा उनको चित्रले सहयोगी बनेको थियो।

पोटे्रट कलामा समेत उनी निपुण थिए। मल्ल कालमा राजा महाराजाको ब्यक्ति चित्र बनाउने परम्परा थियो। मल्ल कालको उत्तरार्ध्दतिरका प्रताप मल्ल, भुपतिन्द्र मल्ल लगायत ब्यक्ति चित्रमा अधिक रुचि राख्थे। राजा भूपतिन्द्र मल्लका चित्र तलेजु भित्रको भैरब चोक ,पचपन्न झय्ाल दरबारको माटन तल्लाको कोठा भित्र बिश्वरुप र शिकारका दृश्यमा उनको मुहार देख्न सकिन्छ।

बिसं १९०३ को राजनैतिक परिवर्तन पछि ब्यक्ति चित्रको बिकास अघि बढ्यो। जंगबहादुरको बेलायत भ्मणसंगै कलाकार भाजुमान चित्रकारको उपस्थिती कोशेढूङ्गा साबित हुनपुग्यो। बिसं १८८९ मा कमाण्डर कर्णेल रणबीर सिंह थापाको ब्यक्ति चित्रबाट प्रभाबित भई जंगबहादुरले शुरु गरेको यो परम्परा प्रधानमन्त्री हुने अरु राणाले पनि बेलायतबाट चित्रकार झिकाइ पच्छाए।

जंगबहादुरले झै चन्द्र शम्शेरले पनि दिर्घमान माफर्त कयौं राणा एवं उनका पूर्खाको ब्यक्ति चित्र बनाए। बिसं २००७ सम्ममा नेपाली चित्रकलाले राजमान सिंह चित्रकार, भाजुमान चित्रकार, हनुमन्तसिंह चित्रकार, पूर्णमान चित्रकार,जीतनरसिंह चित्रकार, बखतमान चित्रकार, दिर्घमान चित्रकार, चन्द्रमानसिंह मास्के, तेज बहादुर चित्रकार, समर शम्शेर, चैते चित्रकार, सानु चित्रकार लगायतको नाम इतिहासमा उल्लेख गरेको छ। तर काजीमानको नाम कतै नआउनु दुःखको कुरा हो।

त्यसो त उनले राजामहाराजाका नभई आफ्नै र्पोटेट बनाएका छन्। उमेर ढल्केपछि फुर्सदमा ऐना अगाडि बसि आफ्नै अनुहार बनाए। ७४ बर्षका बुढाले ऐनामा अनुहार हेर्दै बनाउको चित्र अत्याधुनिक क्यामेराले खिचे जस्तै छ।

उनले नै ८२ बर्षको उमेरमा सोहि शैलीमा अर्को चित्र बनाए। उनको परिवारले त्यो प्रकाशमा ल्याएको छैन। मैले हेरेको छु। उनले अधिकांश पोटे्रट ७० देखि ८० बर्ष उमेरमा बनाएको देखिन्छ।

http://nagariknews.com/nagarik-sanibar/story/64069.html

Architecture of the Newars



महँगो भएकैले चाहेर पनि किन्न नसकेको एउटा पुस्तक छ, निल गुट्सोको ‘आर्किटेक्चर्स अफ द नेवार्स’ । बज्र बुक्समा मैले यो पुस्तकका लागि ३५ हजार रुपैँयासम्म दिएँ तर बिक्रेताले मानेनन्, ४० हजार भने । गुट्सोले ४० वर्षको अध्ययन लगाएर लेखेको पुस्तक हो यो । वास्तवमा, ‘स्कलरसिप’ भनेकै यही हो । विषयवस्तुमा चुर्लुम्मै डुब्ने । उनले नेपालको कला क्षेत्रमा गरेको ठूलो योगदान हो यो । उनलाई हाम्रो राज्यले कदर गर्नुपर्ने हो । भलै उनले यो अध्ययन पैसा र कुनै कदरका लागि गरेका थिएनन् । 

http://kantipur.ekantipur.com/printedition/news/2016-03-26/20160326103201.html

गोधूलिमा दुर्गालाल


- प्रभाकर गौतम
फाल्गुन १५, २०७२- दुर्गालाल श्रेष्ठ जन्मे हुर्केको टोल न्हैकन्तलाको छिमेकी टोल थाय्मदुका केटाहरूले न्हूबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली नाटकको तयारी गरिरहेका थिए । आफ्ना साथीहरूको साथमा दुर्गालाल पनि त्यहाँ गइरहन्थे । उनीहरूलाई अभ्यास कोठाभित्रै बसेर रिहर्सल हेर्न दिइन्थ्यो । तर एक दिन उनीहरूलाई रोकियो । ढोका ढक्ढक् गर्दा पनि खुलेन । भित्रको संवाद र गानाबाजाना बाहिरसम्म गुन्जिइरहेको थियो । दुर्गालालले ढोकाको प्वालबाट चिहाएर हेर्न के खोजेका थिए, उनको आँखामा भित्रबाट कसैको औंलाले घोचिदियो । घोचेको त आँखा मात्रै थियो, तर उनको मुटु नै बिझायो । उनको आत्मसम्मानमा बेस्सरी ठेस लाग्यो ।  

त्यो घटनाले दुर्गालालको जीवनमा अपमानको भावनामात्र जगाएन, प्रेरणाको स्रोत नै बन्यो । उनले आफैं नाटक लेख्ने अठोट गरे । उनका साथीहरूले पनि छिमेकी टोलका केटाहरूको अपमानको प्रतिशोध लिने यही नै उचित माध्यम ठाने । यसरी दुर्गालालले पहिलोपटक नाटक लेखे र खेले । नाटककै लागि गीत पनि लेखे । यहीबाट उनको कला र साहित्य यात्रा सुरु भयो । यो २००४ सालको कुरा हो, जतिबेला उनी बाह्र वर्षका थिए । नाटकको नाम थियो ‘प्रेमजीवन अन्धकार’ । उनको पहिलो नाटक नै हिट भयो । त्यसबेला नाटक क्षेत्रमा हिन्दी, उर्दू र फारसीको दबदबा कायमै थियो । नाटकका लागि गीत त नेपालीमै लेखे तर हिन्दीको लय चोरेर । नाटकमा संगीतज्ञ हुतराज शर्माले संगीत दिएका थिए । यसपछि लामो समयसम्म दुर्गालाल गाईजात्रे कलाकारका रूपमा सक्रिय भए र ख्याति पनि कमाए । 

सुरुआती दिनमा हिन्दी गीतको नक्कल गर्ने कलाकार कसरी जनकवि/जनगीतकार बने त ? दुर्गालाल भन्छन्, ‘यसको श्रेय खेत र खेतमा पसिना चुहाउने किसानलाई जान्छ ।’ कहिले कलाकार त कहिले कलाकार, कहिले भाषिक/सांस्कृतिक अभियन्ताका रूपमा किसानसँग नजिक भएपछि उनले खेतको महिमा बुझेका हुन् । अहिले काठमाडौं उपत्यकाका खेतसँगै लोकको ज्ञान, अनुभव र संस्कृति नै मर्दै गएकोमा उनी चिन्तित छन् । यस्तै चासो र चिन्ताकै कारण दुर्गालालले आफ्नो जीवनको ८ दशकको धेरै हिस्सा नेपाली भाषा तथा नेपाल भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि समर्पित गरे । यसैकारण उनले जगदम्बा पुरस्कारलगायतका अनेक सम्मान पाएका हुन् ।  

जनकवि हुनुअघि उनी प्रेमकवि पनि भए । थाय्मदु टोलमा एउटा फल्चा थियो । त्यहाँ श्रीमद्भागवतको कथा बाँचिन्थ्यो । तर, उनको ध्यान भने कथा सकिएपछि टीका लगाइदिने सुन्दर युवतीमा हुन्थ्यो । सधैं टीका लगाएको रात उनी जागराम बसेर प्रेमकविता फुराउँथे । त्यो टुकी बाल्ने जमाना थियो । बुबाले तेल खेर नजाओस् भनेर आफू सुत्ने बेला टुकी निभाइदिन्थे । उनी छोरोको चञ्चल मनको हालबाट बेखबर जो थिए । अँध्यारोको साम्राज्यमा मनको भाव बिसाउन उनी बुबाले पिउने फूलमार चुरोटको बट्टा च्याचुत पार्थे । दुर्गालाल भन्छन्, ‘जस्तै अँध्यारो भए पनि बिहान उठेर हेर्दा मेरा अक्षर सग्लै हुन्थे । यो अर्कै कुरा हो, ती अक्षरमा कहिले अर्थ भेट्थें र कहिले ती सबै निरर्थक लाग्थे ।’ यो उनको एकोहोरो प्रेम थियो ।  

दुर्गालालले जसरी नै उनलाई एकोहोरो प्रेम गर्ने एउटी युवती पनि रहिछन् । तिनले पनि दुर्गालालले जस्तै रातभर तारा हेर्दै कविता कोरिन् कि कोरिनन् थाहा छैन । तर उनका नाटकको प्रभावले गर्दा ती युवतीले नाटकका लागि चाहिने लुगा र गहना दिन थालिन् । यो क्रम केही समय चल्न नपाउँँदै एक दिन युवतीको दाइले थर्काएछन्, ‘ए तँ मेरो बहिनीलाई फकाएर लुगा गहना लिने †’  

राणा शासनविरुद्धको २००७ सालको आन्दोलन आसपास पुग्दा दुर्गालालको राजनीतिक चेतना खारिँदै गएको थियो । उनी पुष्पलाल श्रेष्ठ र शम्भुराम श्रेष्ठजस्ता कम्युनिस्ट नेताका संगतमा आइसकेका थिए । उन्नत समाज निर्माणका लागि वर्ग विभेदको खाडल पुर्नुपर्ने आवश्यकता बोध हँुँदै गर्दा २००९ मा उनले पहिलो प्रगतिशील नाटक कोरे ‘ग्राम्य जीवन’ । यसमा उनी आफूचाहिँ जमिनदारको भूमिकामा थिए भने गणेशप्रसाद श्रेष्ठ यसका संगीतकार थिए । परिवर्तनको पक्षमा रहेको जोशमा उनले नाटक सुरु गर्नुअघि देउताको आरधना गर्न गाइने मंगलाचरणको नियमसमेत तोडे । संयोगवश नाटककै अर्का कलाकार रत्नकमल वैद्यलाई ‘देउता लागे’ पछि सबै दुर्गालालमाथि खनिए । उनी दंग पर्दै भन्छन्, ‘मंगलाचरणमा देउताको भक्तिगानको साटो मैले नयाँ प्रयोग गरें । त्यो प्रयोग निकै लोकप्रिय भयो ।’ उनको मंगलाचरण यस्तो थियो :

झीं ज्यामि ज्यापू सारा 
शोषित व सर्वहारा 
सो देश झींगु ख्युंगु 
या लालस्वर्ग 
(हामी किसान मजदुर  
शोषित र सर्वहारा 
यो देशको अध्यारो  
वा लालस्वर्ग प्यारा ।) 

नेवार समुदायका आशु कवि र जनकवि दुवै हुन् दुर्गालाल । एउटा यस्तो पनि समय थियो, काठमाडौं उपत्यकाको तीनै सहरमा उनकै गीत बज्थ्यो । उनको यही ख्यातिले उनलाई नेपाल भाषा परिषद्ले जनकविको दर्जा दिलायो । दुर्गालालसँँगै २ वर्ष बिताएर थेसिस नै लेखेका आर मानन्धरका भन्छन्, ‘दुर्गालाल नेवार समुदायको मनोविज्ञान बुझेर आँसु र हासो, जात्रा र पर्व, विरोध र कुण्ठा सबै पक्षलाई सही र सरल रूपमा गीत, कविता, नाटकजस्ता विधामा व्यक्त गर्ने सर्जक हुन् । त्यसैले उनको स्थान उच्च छ ।’ नाटक, कविता वा गीत सबै दुर्गालालले सोचेर सम्झेर भन्दा मागबमोजिम लेखे । बालगीत, लोकलयमा आधारित गीत, क्रान्तिकारी गीत/कविता, आध्यात्मिक गीत/कविता र स्वागत गीतदेखि शोकगीतसम्म रचे । उनी ठाउको ठाउँमै कविता वा गीत जन्माउँथे । उनी लेखेर भन्दा वाचेर सिर्जना गर्ने कविका रूपमा पनि परिचित छन् । उनलाई लेख्नभन्दा अरूलाई रचना टिपाउन सहज लाग्छ ।  

दुर्गालाललाई लाग्छ, काठमाडौं उपत्यका विशिष्ट संस्कृतिको खानी हो अनि नेपाल भाषा त्यसको रत्न । तर त्यही संस्कृतिका धनी नेवार समुदायको मातृभाषा नेपाल भाषाप्रति पञ्चायती व्यवस्था अनुदार थियो । मातृभाषामा कविता वाचन गर्दै हिँडेकाले उनी सरकारी आँखामा बिझाए । २०१८ मा केही समयका लागि उनी भूमिगत हुनुपर्‍यो । २०२५ मा उनको प्रगतिशील गीतहरूको संग्रह ‘आकाशभन्दा धरती राँकिएको छ’ प्रकाशित भएपछि उनी पक्राउ समेत परे । पछि संग्रहका ४ कविता निकालेर छाप्ने अनुमति पाए ।  

कहिले नेवार समुदायको भाषिक अधिकार त कहिले समग्र नेपालीकै राजनीतिक अधिकार प्राप्तिको संघर्षमा उनी सडकमा उत्रिइरहे । २०३६, २०४६, २०६२/०६३ का सबै कठिन मोडमा उनी सडकमा उत्रिए । सत्ताको बन्दुकलाई उनका शब्दहरू हरेक चरणमा भारी पर्‍यो ।  उमेर र अनुभवले भुक्तमान बनाएको उनको स्मृतिमा अटाउनै नसक्ने सन्दर्भ र सम्झना हुनु अस्वाभाविक हैन । हुँदाहुँदा उनी आफ्नै कतिपय कृतिको नाम बिर्सदै छन्, मान्छेको नाम पनि भुल्दै गइरहेका छन् । ‘सयथरी बाजा एउटै ताल’ उनलाई आपैंmले लेखेको मध्ये मन पर्ने नेपाली गीत हो तर यो गीतमा स्वर दिने कलाकारहरूको नाम भने सम्झना छैन ।  

यो गीतजस्तै धेरै कुरा उनको विस्मृतिमा पुगिसक्यो । तर उनलाई याद छ, उनी पढाइमा निकै तेज थिए । त्योभन्दा बढी रुचिचाहिं कला, समाज र संस्कृतिमा थियो । त्यही भएर आईए दोस्रो वर्ष पढ्दापढ्दै औपचारिक शिक्षा छोडेर जीवन र दर्शनको स्वअध्ययनतिर लागे ।  उनलाई रजनीशले गहिरैसँग ताने । पढ्न त जे कृष्णमूर्ति पनि खुब पढे तर रजनीशको सरलताले तान्यो उनलाई । रजनीशका किताब र प्रवचनहरू बौद्ध दर्शनसम्म पुग्ने सोपान बन्यो । सरलता रुचाउने भएकैले दुर्गालालका कविता होस् या गीतमा जीवन दर्शनका गम्भीरभन्दा गम्भीर कुरा पनि सरल रुपमा अभिव्यक्त भएको पाइन्छ ।  

शब्दका कुशल कालीगढ दुर्गालालको क्षमता र योग्यता औपचारिक शिक्षाले मापन गर्ने कुरै थिएन । त्यसैले एकजना शुभचिन्तकको सल्लाह र सहयोगमा आईए पास नगरी उनले सरकारी मापदण्डभन्दा माथिल्लो तहका विद्यार्थीलाई पढाउने अवसर पाए । आफ्नो विद्यार्थी जीवन छोटो भए पनि उनले क्षेत्रपाटीस्थित कन्या मन्दिर हाइस्कुलमा झन्डै चौबीस वर्ष पढाए । अवकाश पाएपछि उनलाई स्कुलको नियमले पेन्सनचाहिं प्राथमिक तहका शिक्षकले पाउने जति मात्र दिने निर्णय भयो । उनलाई चित्त बुझ्ने कुरै थिएन, भन्दिए, ‘मेरो योग्यताभन्दा कम पेन्सन लिन्नँ ।’  

दुर्गालाललाई हेक्का छ, जिन्दगी र समयले गोधूलि नाघिसकेको छ । मनमा कुरा छिनमै आउँछ, छिनमै चँुडिन्छ । सहनै नसकिने गरी गोडा दुख्छ । कानले राम्ररी सुन्न छोडेको छ । तर उनलाई यो समय पनि मनमोहक लागिरहेको छ रे † भन्छन् ‘उमेरअनुसारका नयाँ–नयाँ अनुभव भोग्दैछु, जीवनप्रति गुनासो छैन ।’ उनलाई गुनासो छ त केवल राज्यप्रति जो मातृभाषामा पढ्न नपाउनेहरूको भावना र चाहना बुझ्न हरेक व्यवस्थामा आनाकानी गरिरहन्छ । भाषिक र सांस्कृतिक भेदभाव गरिरहन्छ ।      प्रकाशित: फाल्गुन १५, २०७२ 

http://kantipur.ekantipur.com/printedition/news/2016-02-27/20160227110834.html