Sunday, January 22, 2017

जबर्जस्ती सडक बिस्तार



रक्तदान, दयावीरसिंह र परोपकार संस्था

हितकरवीरसिंह कंसकार सोमवार, असोज १०, २०७३

रक्तदान, दयावीरसिंह र परोपकार संस्था
नेपालमा पहिलोपटक रक्तदान गर्दै दयावीरसिंह कंसाकार ।

सन्दर्भ: 'परोपकार संस्था' को सत्तरीऔं स्थापना दिवस

दान आफैंमा महत्त्वपूर्ण हो । यसले मान्छेमा रहेको स्वार्थ त्यागको भावना प्रतिबिम्बित गर्छ । दान पनि धेरै किसिमका हुन सक्छन्- धनदान, अन्नदान, भूमिदान, नेत्रदान आदि । तर यी दानहरूभन्दा पनि अति उत्कृष्टतम् दान हो- रक्तदान । कुनै स्वस्थ व्यक्तिले रोगले ग्रस्त भएर रगतको कमी हुन गई मरणासन्न अवस्थामा पुगेका रोगीको जीवनको लागि आफ्नो शरीरको रगत दिने कार्य नै वास्तविक अर्थमा रक्तदान हो । रक्तदान मानव स्वास्थ्यसँग सम्बन्धित अति विशिष्ट सामाजिक सेवा हो । एकजना व्यक्तिबाट दिइएको एक थोपा रगतले अर्को एकजना व्यक्तिको जीवन संरक्षण हुने हुनाले नै रक्तदानलाई जीवनदान पनि भनिएको हो ।
नेपालमा रक्तदानको परम्पराको प्रारम्भ गर्ने पहिलो व्यक्ति अग्रणी समाजसेवी दयावीरसिंह कंसकार हुनुहुन्छ । उहाँले नै अर्काको लागि सर्वप्रथम रक्तदान गर्नुभएको हो । जतिखेर नेपालमा निरंकुश राणाशासन थियो, जनताको पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता दासताभित्र कैद थिए । सेवा, परोपकार, दया र करुणाजस्ता उच्च मानवीय भावना आफ्ना हृदयमा हुँदाहुँदै पनि मान्छेलाई बाहिरी व्यवहारमा प्रकट गर्न प्रतिबन्ध थियो ।
अनि जातभात, छुवाछूत, डर, त्रास र अन्धविश्वासको भावना समाजमा व्याप्त थियो । त्यस्तो बेलामा उहाँले अन्तरात्माबाट प्रेरित भएर स्वतस्फूर्तरूपमा रक्तदान गर्नुभएको थियो । यो घटना २००० सालको हो । त्यसबेला जुद्धशमशेर प्रधानमन्त्री थिए र वीर अस्पतालका सुपरिन्टेन्डेन्ट डा. देवव्रतदास गुप्ता थिए । रोगले सिकिस्त भएर भर्खर ल्हासाबाट फर्केर वीर अस्पतालमा भर्ना भएका रत्नकाजी तुलाधर रगतको कमीले मरणासन्न अवस्थामा थिए । आफ्नो छोराको रगतको कमीकै कारणले मृत्यु हुन लागेकोमा उनकी आमा छट्पटाइरहेकी थिइन्, रोइरहेकी थिइन् ।
त्यही समयमा दयावीससिंह कंसकार कामविशेषले साथी सुपरिटेन्डेन्ट डा. देवव्रतदास गुप्तालाई भेट्न वीर अस्पताल पुग्नुभएको थियो । बाटोको एक कुनामा एकजना अधबैंसे महिला रोइरहेको देखेपछि 'किन रुनुभएको आमै ? ' भनी उहाँले अनायास सोध्नुभएछ । उत्तरमा ती महिलाले रुँदै उनको सिकिस्त एक्लो छोरालाई जति सक्यो चाँडै रगत दिइएन भने बाँच्ने सम्भव छैन भनी डाक्टरले भनेको बताइन् । उहाँले उतिखेरै ती स्वस्थ शरीर भएकी मोटीघाटी र हृष्टपुष्ट आमालाई आफैंले रगत दिन प्रेरित गर्नुभयो ।
तर डर, त्रास र अन्धविश्वासका कारणले आफूलाई नै केही पो हुने हो कि भनेर उनी डराइन् र आफ्ना छोराको लागिसमेत रगत दिन तयार भइनन् । दयावीरले त्यो दृश्य टुलुटुलु हेरिरहन सक्नुभएन । उहाँले तत्काल आफ्नो रगत परीक्षण गराई रत्नकाजीको लागि चाहिनेजति रगत दिनुभयो र उनको जीवन बचाउनुभयो । यो स्वयंसेवामूलक कार्य नेपालको इतिहासमै अद्वितीय र अभूतपूर्व घटनाको रूपमा स्वर्णाक्षरमा अंकित छ ।
उहाँको यही उच्च मानवीय भावनायुक्त कार्यबाटै नेपालमा अन्धविश्वासका कारणले रगत दिन डराउने प्रवृत्तिमा परिवर्तन आयो । रगत दिँदा मर्नै लागेको मान्छे पनि बाँच्ने रहेछ र आफ्नो स्वास्थ्यलाई पनि कुनै असर पर्दो रहेनछ भन्ने प्रभाव र प्रेरणासमेत सम्पूर्ण युवायुवतीमा जागृत हुन थाल्यो । यसरी नेपालमा दयावीरसिंह कंसाकारको उत्कृष्ट स्वयंसेवामूलक कार्यबाट रक्तदानको परम्परा सुरु भएको हो र 'रक्तदान जीवनदान' भन्ने भावना विकास भएको हो ।
सर्वप्रथम व्यक्तिगत ढंगले स्वयंसेवामूलक रक्तदानको सुरुआत गर्नुभएका दयावीरसिंह कंसकारले नै संस्थागत स्वयंसेवामूलक रक्तदानको परम्परालाई पनि अगाडि बढाउनुभएको हो । २००० सालमा उहाँबाट भएको पहिलो रक्तदान कार्य र २००१÷२ सालतिर काठमाडौंमा महामारीका रूपमा फैलिएको हैजाको प्रकोपबाट पीडित बिरामीको सेवा र उपचारको लागि असंख्य युवायुवतीलाई स्वतः स्फूर्त रूपमा स्वयंसेवामा परिचालन गर्दै आफ्ना पवित्र स्वयंसेवालाई मूर्तरूप दिने क्रममा २००४ साल असोज १० गते स्थापना गर्नुभएको 'परोपकार औषधालय' २००७ सालपछि 'परोपकार संस्था' का रूपमा रूपान्तरण भई सेवाकार्यलाई व्यापकता दिइएको हो ।
राणा शासनकाल जस्तो निरंकुशताका बेलामा कुनै पनि संघसंस्थाको स्थापना हुनु अनौठो र अस्वाभाविकजस्तै थियो भने अझ धेरैभन्दा धेरै जनताको स्वास्थ्य सेवासँग सम्बन्धित 'परोपकार' जस्तो लोककल्याणकारी सामाजिक संस्थाको स्थापना हुनु त झनै असम्भव प्रायः नहुने कुरै थिएन । तर पनि उहाँका सेवा, समर्पण भाव र त्यसको संस्थागत विकासको लागि निरन्तर उहाँले गर्नुभएको संघर्षका कारणले 'परोपकार संस्था' विधिवत् स्थापना हुन सकेको कुरालाई बिर्सन सकिँदैन ।
यसरी 'परोपकार संस्था' को स्थापनासँगै नेपालमा स्वयंसेवामूलक रक्तदान आन्दोलनले संस्थागत रूप प्राप्त गर्‌यो ।
समाज सेवाका सुविख्यात शिखर पुरुष दयावीरसिंहले सुरु गर्नुभएको रक्तदानको पुनीत अभियानमा परोपकारका सयौं कर्मठ स्वयंसेवक कार्यकर्ताले आफूहरूलाई समेत सहभागी गराउनुभयो । 'परोपकार संस्था' ले निःशुल्क स्वास्थ्योपचार र औषधी वितरण, एम्बुलेन्स सेवाका साथै बिरामीका निमित्त आवश्यक रगत नियमित रूपमा उपलब्ध गराउने कार्य २०१७ सालपछि आन्दोलनकै रूपमा सञ्चालन गर्‌यो । यसको लागि 'परोपकार संस्था' ले हजारौं स्वयंसेवकहरूलाई व्यवस्थित रूपमा परिचालन गर्‌यो । गरिब र असहायले मात्र होइन, धनी र समृद्ध परिवारका व्यक्तिले पनि आवश्यकताअनुसार रगत नपाएर मर्न बाध्य हुनु परिरहेको बेलामा 'रक्तदान जीवनदान हो' भन्ने मानवीय भावना हृदयंगम गरी 'परोपकार संस्था' ले गरिब-धनी, ठूलो जात, सानो जात भन्ने कुनै भेदभाव नराखी रक्तदाता स्वयंसेवकहरूको व्यवस्था गरेको हो ।
सुरुमा वीर अस्पताल र शान्तभवन अस्पतालमा बिरामीहरूको लागि रगत चाहिनेबित्तिकै परोपकारका स्वयंसेवकहरू रक्तदान गर्न अस्पतालमै पुग्दथे । परोपकार संस्थाबाट २०१० सालमा शिलान्यास भई २०१६ सालमा 'परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृह' को स्थापना भएपछि त्यहाँ पनि आवश्यक रगत दिने कार्य परोपकारकै स्वयंसेवकहरूले गरेका हुन् । अस्पताल र बिरामीहरूबाट आग्रह हुनासाथ परोपकारले आफ्ना स्वयंसेवकहरूबाट निःशुल्क रक्तदान गर्ने व्यवस्था गरेको थियो ।
पछि विभिन्न समुदाय-समुदायमा गई सबैलाई रक्तदानको लागि संस्थाले प्रेरित गर्दा भरियाहरूसमेतलाई यथोचित पारि श्रमिक दिई व्यवस्था गर्न थालियो । तर ती भरियाहरूले भारी बोक्नुभन्दा बढी कमाउन सकिएपछि रगत दिइएको ६ महिना पनि नपुग्दै लुकीछिपी फेरि रक्तदान गर्न आउने गरेकाले उनीहरूको स्वास्थ्यस्थिति ख्याल गरी अभिलेखीय कार्ड दिने व्यवस्था गरिएको समेत यस क्षेत्रमा लागेका धेरैलाई ज्ञात हुनुपर्छ ।
'परोपकार संस्था' ले आफ्ना स्वयंसेवकहरूको रक्तसमूह परीक्षण गरी पहिचान गर्ने र अस्पतालबाट माग हुनासाथ आवश्यक समूहको रगत उपलब्ध हुने व्यवस्था पनि गरेको थियो । परोपकारका रक्तदाता स्वयंसेवकहरूमा पुरुषहरू मात्र होइन, महिलाहरू पनि थिए । यसरी 'परोपकार संस्था' बाट रक्तदान आन्दोलन सुरु भएको हो । परोपकारका हजारौं स्वयंसेवकले रक्तदान गरी यस आन्दोलनलाई ऐतिहासिक बनाएका हुन् भन्नेमा दुईमत छैन ।
परोपकारका पिता श्रद्धेय दयावीरसिंह कंसकारको उत्कृष्ट सेवा र सपनाअनुरूप 'परोपकार संस्था' ले स्थापना गरेको 'परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृह' मा २०२८ साल कात्तिक महिनामा एनिमा रोग लागेकी एकजना बालिकालाई पूरै रगत परिवर्तन गरी बचाएको कुरा पनि यहाँ विशेष उल्लेखनीय छ । निशाकेशरी नाम गरेकी ती बालिकाका पिताको रगत आर.एच ग्रुप ए पोजिटिभ र आमाको रगत ए नेगेटिभ भएकाले यी बालिका पहेंलो वर्णकी थिइन् ।
'परोपकार संस्था' अन्तर्गत परोपकारकै स्वयंसेवकहरू रक्तदानबाट प्रसूतिगृहका तत्कालीन अवैतनिक बालविशेषज्ञ डा. बद्रीराज पाण्डेले यो कार्य सफलतापूर्वक सम्पन्न गर्नुभएको हो र यो पनि नेपालमा सर्वप्रथम भएको ऐतिहासिक कार्य हो । यसप्रकार पुनर्जीवन प्राप्त गरेकी ती बालिका हामीलाई प्राप्त सूचनाका आधारमा बिहेवारी भई व्यवस्थित घरजम गरी बसिरहेको स्मरणीय छ ।
रक्तदानलाई महान् अभियानका रूपमा अस्पतालदेखि घरदैलोसम्म पुर्‌याउने 'परोपकार संस्था' ले 'परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृह' मा ब्लड बैंक स्थापना गर्ने निर्णय गरी कार्यक्रम तर्जुमासमेत गरेको थियो । तर २०२१ सालपछि स्थापना भएको नेपाल रेडक्रस सोसाइटीबाट यो कार्य गर्न लागेको थाहा पाएपछि त्यसमा हात नहालेको विशेष उल्लेखनीय छ ।
उदात्त विचार र पवित्र उद्देश्य बोकेका मानवतावादी व्यक्तित्व साना-तिना मान-अपमान, पुरस्कार-तिरस्कार र सफलता-असफलताबाट प्रभावित भइहाल्दैनन् । उनीहरूमा निहित मानवीय निष्ठा, त्याग, सेवा र समर्पणका अगाडि ती मामुली हुन पुग्छन् । यस सन्दर्भमा दयावीरले रक्तदानको आन्दोलन सञ्चालन गर्दा उहाँको जीवनमा घटेको एउटा विशिष्ट र अविस्मरणीय घटना यहाँ उल्लेख गर्नैपर्ने देख्छु ।
'परोपकार संस्था' र दयावीरसिंहको सक्रियतापूर्ण पवित्र सेवाभाव देखेर राणाशासनकालीन जर्नेल चन्द्रबहादुरले धेरै दुःख दिएका थिए । साथै लोकबहादुरले त झन् ईष्र्याले ग्रस्त भएर एकपटक दयावीरसिंह कंसकारलाई यस्तो भनेछन्, 'तँलाई नेल ठोकेर जेलमा हालेको यही आँखाले देख्न पाऊँ ।' तर दयावीर मुसुमुसु मात्रै हाँसी मानवीय सेवामै तल्लीन थिए, कुनै प्रतिक्रिया जनाउनुभएन । आफ्ना सेवा यात्रामा अविचल लागिरहनुभयो । त्यसको केही दिनपछि सेवाकार्यकै सिलसिलामा उहाँ वीर अस्पताल पुग्नुहुँदा त्यहाँ एकजना बिरामी खास्टो ओढेर बसेको उहाँले देख्नुभयो । 'तपाईंलाई चिनेजानेजस्तो लाग्छ, तपाईंलाई के भयो ? ' भनेर दयावीरले सोधेपछि उनी क्वाँ-क्वाँ रोएछन् ।
त्यसपछि आफूलाई देखेर किन रोएको भनी दयावीरले सोध्दा उनले आफ्नो नाम लोकबहादुर भएको र आफूलाई रगत चाहिएको बताए । रगत नपाए आफू मनुपर्ने समस्या पनि राखे । संयोगको कुरा, उनी पहिले दयावीरले गरेको पवित्र रक्तदान र मानव सेवाकार्यलाई सहन नसकी उहाँलाई 'नेल ठोकेर जेल हालेको हेर्न पाऊँ' भन्ने तिनै लोकबहादुर नै रहेछन् । तर पनि मानवीय सेवामा कहिल्यै शत्रु हुँदैन, मित्र मात्रै हुन्छन् भन्ठान्ने दयावीरले तुरुन्तै रगत दिई सेवा नै परम् धर्म हो भन्ने मानवीय भावनाबाट प्रेरित भएर उनलाई उपकार गर्नुभएको थियो ।
यस प्रकार २००० सालदेखि आजसम्म दयावीरसिंह र 'परोपकार संस्था' द्वारा गरिएको स्वयंसेवामूलक ऐतिहासिक रक्तदान कार्यले धेरै मानिसको जीवन रक्षा भएको छ भने धेरैलाई रक्तदान गर्ने असीम पे्ररणा प्राप्त भएको छ । त्यसैले रक्तदान परोपकारको मौन तपस्या र मानव कल्याणको जिउँदो प्रतीक बनेको छ । रक्तदान परोपकारको जीवनदान योजना बन्दै आएको छ र यस योजनाबाट असंख्य बिरामीहरूले जीवन पाएका छन् ।
दयावीरसिंह कंसाकार र 'परोपकार संस्था' ले रक्तदान कार्यको सुरुआत र विस्तार गर्दा रक्त परीक्षण गर्न आवश्यक पर्ने अहिलेका जस्ता वैज्ञानिक साधनस्रोत थिएनन् । तर आज नेपालमै 'ब्लड बैंक' को स्थापना भइसकेको छ र रक्तदान कार्य पनि सहज र व्यापक बन्दै गएको छ । त्यसबेला परोपकारबाटै स्वयंसेवी रक्तदाताहरूको संगठनको काम सम्हाल्थ्यो भने त्यसैको पृष्ठभूमिमा अहिल्यै 'ब्लड डोनर्स एसोसिएसन' को समेत गठन भइसकेको छ ।
तर आज मनुष्यमा एचआईभी एड्स हेपाटाइटिस बी र सी आदि जस्ता उपचार गर्नै गाह्रो हुने रोगहरू पनि देखा परिसकेका छन् । यस्तो अवस्थामा रगत दिँदा वा लिँदा अति सुरक्षित ढंगले रक्त परीक्षण गर्ने प्रणालीको समेत विकास भइसकेको छ । अनि सुई, सिरिन्ज आदिको प्रयोग गर्दा पनि सरसफाइमा ध्यान पुर्‌याउन सके मात्रै संक्रमित रगतबाट बच्न सकिन्छ र सुरक्षित रक्तदान गरेर रोगीहरूमा नयाँ जीवन सञ्चार गर्न सकिन्छ ।
-कंसाकार परोपकार संस्थाका अध्यक्ष हुन् ।
http://www.annapurnapost.com/news/56288

खरानीबाट उठेको एउटा कर्मवीर

शीतल दाहाल सोमवार, मंसिर ६, २०७३
खरानीबाट उठेको एउटा कर्मवीर

एउटा बच्चो काठमाडौंको पुरानो नेवार बस्ती मच्छिन्द्रटोलस्थित केलटोलमा १९७४ सालको मंसिर कृष्णपक्षको चिसो याममा जन्मियो । बच्चाका बाबु भाजुरत्न कंसाकार र आमा ज्ञानमाया कंसाकार केलटोलमै सामान्य दोकान गरेर बसेका थिए । सो बच्चो पाँच वर्षको उमेर हुँदा केलटोलमा आगलागी भयो । आगलागीमा भाजुरत्नका केही दाजुभाइका पसलसहित सबै सामान डढेर सखाप भयो । त्यसपछि बिरक्तिएर भाजुरत्न लागे भारतको कालिङपोङ ।
पाँच वर्षको बालक पनि सँगै लगियो कालिङपोङ । कालिङपोङमै स्कुले शिक्षा सक्यो त्यो बालकले र पछि कलकत्ता विश्वविद्यालयमा वाणिज्यमा स्नातक गर्‌यो । पछि गएर त्यो बच्चोले आफूलाई नेपालको नाम चलेका व्यापारीमा स्थापित गर्‌यो । उनी थिए मणिहर्ष ज्योति ।
मणिहर्षले स्थापना गरेको व्यापारिक घराना ज्योति समूह आज लोभलाग्दो व्यापारिक घरानाका रूपमा स्थापित छ, तर मणिहर्ष स्वयंको संघर्षको कथा भने आम न्यूनवर्गीय कुनै किसान वा गाउँलेको छोराको भन्दा फरक छैन । उद्योगपति स्वर्गीय हुलासचन्द गोल्छाले मणिहर्ष ज्योतिको स्मृतिग्रन्थमा नै उल्लेख गरेका छन्- मणिहर्ष दाइलाई थाहा थियो कि नपढी हुँदैन । पढाइले नै कुनै पनि काममा सफलता हासिल गर्न मद्दत गर्छ । त्यसैले उहाँले अर्काको घरमा खाना पकाउने काम गर्नुभएर पनि आफ्नो पढाइ चालू राख्नुभयो । यो मणिहर्षले कलकत्ता विश्वविद्यालयमा स्नातक पढ्दाताकको सन्दर्भ थियो ।
मणिहर्षका समकालीन सबै भन्छन्, 'उनी सरल थिए ।' भुइँदेखि संघर्ष गरेर उठेका उनले अनेक तरक्की गरे । १६ वर्षको उमेरमै बाबुको सबै ऋण तिरे । उनको व्यापारिक घरानामा काम गर्नेहरू भन्छन्, 'कसैको मन नदुखाउने मणिहर्ष सधैं हँसिला देखिन्थे । आफ्नो दैलोमा आएकालाई त्यसै फिर्ता पठाउँदैनथे । सबैको मन जितेर काम गर्ने उनको बानी थियो, कामदारलाई पनि निर्देशन होइन, सल्लाह र सुझाव दिएर कामलाई सम्पन्न गर्नु उनको ध्येय हुन्थ्यो ।'
मणिहर्षले ज्योति समूहलाई यहाँसम्म ल्याउनुअघि उनले उतिखेर तिब्बतको फारीको टक्सारमा निक्लेका बाइप्रोडक्टलाई कालिम्पोङ ल्याएर भाँडा बनाएर बेचेको इतिहाससम्म पुग्नुपर्ने हुन्छ । त्यहाँबाट उनी फलाम, पित्तल र तामाका टुक्रा घोडा र खच्चरमा लादेर कालिम्पोङसम्म ल्याउने गर्दथे । मणिहर्षले पछि तिब्बतमा पनि बाबुको नाममा दोकान खुलाए र त्यहींबाट आफ्नो व्यापारको ख्याति भारत, तिब्बत र नेपालसम्म पुर्‌याए ।
पछि मणि नै त्यो व्यक्ति बन्न पुगे, जसले नेपालमै पहिलोपटक फलामे डन्डी, बाल्टिन ढक, किला, काँटा, सिमेन्ट, अक्सिजन, धागो, उनको उत्पादन, प्रशोधन र बिक्रीवितरण गराए । यसबाट निर्माणलगायत अन्य सामग्रीमा विदेशी सामानको परनिर्भरता केही मात्रामा भए पनि घट्यो । कतिसम्म भने २०४५ सालमा भारतले लगाएको नाकाबन्दीको बेलामा समेत चीनबाट विभिन्न सामान नेपाल झिकाएर संकट पार लगाउन पर्याप्त कोसिस गरे उनले ।
मणिहर्षको बारेमा बढाइचढाई नभन्दा पनि उनी एक व्यक्ति तर अनेक व्यक्तित्व थिए । उनी सादगी जीवन जिउँथे । शुद्ध र शाकाहारी भोजन गर्थे र जीवन पनि उस्तै सरल जिउँथे । लेखक हेमचन्द्र पोखरेलले एकपटक मणिहर्षलाई भोटाहिटीबाट रत्नपार्कतर्फ आउँदै गरेको देखेछन् ।
दुईबीच रत्नपार्क बिसौनीमा नेवारी भाषामै कुराकानी भयो । कारण पोखरेल पनि नेवारी भाषा राम्रोसँग जान्दथे । सामान्य जुत्ता, साधारण कपडाको दौरा-सुरुवाल र खद्दरको कोटमा ठाँटिएका मणिहर्षलाई ठट्टा गर्दै पोखरेलले सोधेछन्, 'साहुजी, पचासौं मोटरकारको मालिक भएर यो पैदल भ्रमण किन ? ' उनले मुस्कानसाथ उत्तर दिएछन्, 'कार कति चढ्ने ? भगवान्ले बनाएका यी गोडा पनि त चलाउनुपर्छ, कार त आखिरमा बेकार हो ।'
उनी बौद्धमार्गी साधक भएकाले पनि भगवान् गौतमबुद्ध प्रतिपादित ध्यान विधि 'विपश्यना' लाई नेपालमा ल्याउन उनले अहं भूमिका खेले । उनकै विशेष पहल र प्रयत्नमा बर्मेली र भारतीय मूलका विपश्यना गुरु सत्यनारायण गोयन्कालाई नेपालमा ल्याइएको थियो । अहिले काठमाडौंको बुढानीलकण्ठमा स्वदेश तथा विदेशबाट 'धर्म श्रृंग' ध्यान केन्द्रमा सयौं ध्यानमार्गी निःशुल्क ध्यान गर्न आउँछन् । यो मणिहर्षको प्रयत्नमा भएको मानव र अध्यात्म उत्थानको उत्तम प्रयास थियो ।
हिंसात्मक हिंसानिकट हुन्छन् । शान्त स्वभावका शान्तिमार्गीहरूसँगै भेटिन्छन् । शान्तिबाट परिवर्तन सम्भव छ भन्ने उद्यमी मणिहर्ष कलकत्तामा पढ्दा त्यतिखेर मोहनदास करमचन्द गान्धीको नेतृत्वमा चलिरहेको भारतीय स्वतन्त्रता संग्राममा समेत सामेल भए । मणिहर्षको परिवार २००७ सालमा नेपालमा फर्केको थियो । आफ्नो भाषा, भेष र संस्कृतिको माया गर्ने उनले भारतमा रहँदासमेत नेपाल भाषाको उत्थानको लागि पहल गरेका थिए ।
उनले नेपाल भाषाको उत्थानका लागि धर्मोदय मासिक प्रकाशनमा गरेको सहयोगलाई कुनै पनि भाषाप्रेमीले भुलेका छैनन् । उनको भाषा भेषप्रतिको लगाव कतिसम्म भने केही अपवादबाहेक उनी सधैं कमिज, सुरुवाल र कोटमै सजिएर हिँड्ने गरे । उनलाई पश्चिमा सुट-पाइन्टले कहिल्यै तानेन ।
मणिहर्ष युगपुरुष हुन् । उनी बितेको १३ वर्ष नाघिसकेको छ । साधक, पौरखी पुरुष र स्वाभिमानी मणिहर्ष ज्योतिको 'ज्योति' लाई हामी सबैले अझ तेजिलो बनाउने प्रण गर्नुपरेको छ ।
भारतीय स्वतन्त्रता संग्राममा सहभागी बनेका मणिहर्षले राणाशासनकालमा नेपालबाट लखेटिएका भिक्षु र ज्ञानीजनलाई भारतमै हुँदा पनि पर्याप्त सहयोग गरे । तीमध्ये कतिपय भिक्षु २००७ सालपछिको सहज वातावरणमा नेपाल फर्किई धर्म जागरणमा लाग्न पाए । मणिहर्ष स्वतन्त्रता र लोकतन्त्रको मर्म सहज बुझ्न सक्थे । वाणिज्यमा स्नातक उनलाई खुला व्यवस्थामै अर्थतन्त्र फस्टाउँछ भन्ने राम्रोसँग थाहा थियो । सोही कारण उनले पञ्चायती व्यवस्थाविरुद्ध लागेका प्रजातन्त्रवादीलाई लुकेरै भए पनि आर्थिक सहयोग गरेका थिए ।
सानै उमेरमा आफ्नो परिवारको ऋण तिरेका उनले आफ्नो व्यवसाय बढाएर नेपालको ठूलो व्यापारिक घरानाका रूपमा मात्रै आफूलाई स्थापित गरेनन्, धनपति उनी उत्तिकै दानवीरका रूपमा समेत चर्चित भए । ४५ सालको भूकम्पका बेला होस् या ५० को दसकको बाढीको बेला होस्, मणिहर्ष परिवारले पीडितहरूका लागि पर्याप्त आर्थिक सहयोग गरे ।
धन हुनेले धनको सहयोग, मन हुनेले मनको भनिन्छ तर धनपति मणिहर्षले नेपालका सामाजिक संस्थामा आर्थिक मात्र सहयोग गरेका थिएनन्, नेपाल आँखा अस्पताल, नेत्रज्योति संघ, नेपाल कुष्ठरोग संघ, धर्मोदय सभा, लुम्बिनी विकास कोष, जनस्तरबाट बनेको नेपाल भाषा एकेडेमी जस्ता संस्थामा प्रत्यक्ष संलग्न भएर समाजसेवामा पर्याप्त योगदान दिए ।
मणिहर्षलाई उनका कनिष्ठहरू 'साहुबा' अथवा 'मणिहर्ष साहुबा' का नामले बोलाउँथे । नहाँसी कुरा नगर्ने साहुबा दानी त थिए नै, आफ्नो दानको दुरुपयोग नहोस् भन्नेमा सदैव सचेत । ज्योति समूहमा काम गर्ने धेरैले आज पनि उनको त्यो गुण भुलेका छैनन् । उनी माग्नेलाई पैसा दिँदैनथे बरु आफ्नो कुनै सहयोगीमार्फत भोकालाई भोजन गराउँथे ।
बाटो खर्च सकिएर अन्योलमा परें भन्दै उनीकहाँ धाउनेलाई उनी गाडीको टिकट काटिदिन्थे । शारीरिक रूपमा बलियो माग्ने आए त उनी त्यस्तोलाई केही नभनी उसै फर्काइदिन्थे । 'यसरी पैसा नदिँदा आत्मग्लानीले सो व्यक्तिले आफैं केही गर्ने र मागीखाने विचार परिवर्तन गर्छ' साहुबा भन्थे । यसर्थ, उनले सम्भव भएसम्म कहिले पनि माग्नेलाई हातमा पैसा थमाएर माग्ने धन्दाको प्रवद्र्धन गरेनन् ।
मणिहर्ष युगपुरुष हुन् । उनी बितेको आज १३ वर्ष नाघिसकेको छ । गत सालको भारतको नाकाबन्दीका कारण अहिले सर्वत्र आर्थिक, प्राविधिक र अन्य रूपमा पनि नेपाल स्वतन्त्र हुनुपर्ने बहस छेडिएको छ । यतिखेर साधक, पौरखी पुरुष र स्वाभिमानी मणिहर्ष ज्योतिको 'ज्योति' लाई हामीले अझ तेजिलो बनाउने प्रण गर्नुपरेको छ ।
http://www.annapurnapost.com/news/59219

Saturday, January 21, 2017

Encroachment by Nepal Government


Image may contain: outdoor
Image may contain: 1 person, outdoor
Image may contain: outdoor
Image may contain: text
Image may contain: one or more people, outdoor and text
Image may contain: outdoor
Image may contain: 1 person, standing and outdoor

एकादेशको नेवार ???

एकादेशको नेवार ???



रेशम चौधरी
सडक फराकिलो बनाउने बहानामा पुरातात्त्विक सतल पाटी पौवामाथी धावा बोल्नु भनेको स्थानीय मुलबासिको अस्तित्व र अस्मिता माथि नै धावा बोल्नु हो। नेपालको ऐतिहासिक पुरातात्त्विक संरचनाको जगेर्ना गर्ने पुरातत्त्व बिभाग कुन बाहुनबादको दाइजोको पोल्टोमा छ ?? संसारमा ऐतिहासिक पुरातात्त्विक संरचनाको सुरक्षाको निमित्त विकसित मुलुकले अर्बौं रुपैयाको बजेट छुट्टयाएका हुन्छन् तर हाम्रो मुलुकमा मुलबासिको इतिहास निमट्ट्यान्न पार्नका लागी सधैं सधैं बिकासको नाममा यस्तै दमनपुर्ण कार्यहरू हुन्छन्।

ऐतिहासिक पुरातात्त्विक संरक्षणका निमित्त बनाइएको थारुहरुको संग्राहलय जलाउँदा पनि मुकदर्शक भएर बस्ने यिनै ठुला दल भनाउँदाको सरकार हो। राजधानीको सडक चौडा गर्ने बहानामा अहिले नेवार समुदायलाइ बिस्थापित गर्ने षड्यन्त्रमुलक सुनयोजित योजनालाइ हामीले बेलैमा बुझ्नुपर्दछ। भक्तपुर,ललितपुर, बसन्तपुर हाम्रा ऐतिहासिक बस्ती हुन। सरकारले सके यिनै बस्तिलाइ भजाएर पर्यटनको बिकास गर्ने हो। तर बाटोको नाममा कसैको पुस्तौंदेखिको इतिहास नै निमट्यान्न पार्न खोज्नु फासिस्टबाद भन्दा चरम दमन शोषण हो। यस्तो बखतमा समेत नेवारी नेताको आवाज खोइ?? कहाँगए २०४६ को प्रजातान्त्रिक लडाइँमा बिजय दिलाउने नेवारहरु ?? कहाँगए ०६३ आन्दोलनका बिशाल नेवार मिश्रित हुलहरु??भोली बिकासको निहुमा बस्ती नै सारियोभने नवस्थापित बस्तीमा तपाईंको पहिचान पुनर्स्थापना हुनसक्छ???बन्नसक्छन,मल्लकालिन सत्तल,पाटी पौवाहरु?? के अब हामीले नेवारको झ्यालमा कालो शिसा र स्टिल देख्नुपर्नेभो?? नेवारको छोइला कचेला के अब सिजलर,बर्गरमा रुपान्तरित हुनेभो?? उठ! जाग!! नेवार समुदाय!!!तिम्रो चटामरिमा जुन स्वाद छ,त्यो आयातीत पिज्जामा कहिल्यै हुनसक्दैन। हामी नेवार समुदायको परम्परा र पहिचानमाथी गर्ब गर्छौ। भ्रष्टाचार मिसिएको फलामे छड्बाट निर्मित राजधानी अन्तै सार्दा केहि फरक पर्दैन तर काठले बनेका नेवारको पच्पन्न झ्याले दरबार नै हाम्रालागी एलिजाबेथले पहिरिने कोहिनुर हिरा भन्दा महङ्गो आभुषण हो।।

हिजो बिष्णुमति,बाग्मती,बल्खु खोलामा माछा पौडिन्थे आज आयातित मान्छेको मलमुत्र बग्छ।दशैँको नाममा आफ्ना कार्यकर्तालाइ करोडौं बाँड्ने सरकारले नेवारकी देबि कुमारिलाइ भने दुइचार हजारले टार्न खोज्छ। करोडपती नेता बिरामी हुँदा करोडौं खर्च गर्ने एकात्मक शासनका जल्लादहरुले नेवारी लिङ्गोको लागी दुइ लाख रकम पनि छुट्याउँदैनन्। के यो बिभेदको बारेमा नेवार समुदाय अन्जान छ ?? कहाँगए “काठमाडौमा नेवा ख:” भन्ने कृष्ण गोपालहरु?? सयौं बर्षदेखी संरक्षण गर्दैआएको पशुपतिनाथका पुजारी नेवार समुदायको भन्डारिहरुको उचित संरक्षण खोइ?? आफ्नो नातेदारको घरमा जन्मेको बच्चोलाइ राज्यकोषबाट करोडौं खर्चगरि अमेरिकामा उपचार मात्रै होईन अझै सवारका निमित्त करोड प्रदानगर्दा हाम्रो कुमारीको मापदण्ड के हो भनेर सोध्नुपर्दैन ??

म पनि नेवारको ज्वाँइ हो,मलाई आफ्नो ससुरालीको पहिचानको चिन्ता छ,तर ससुरालीको दाइजोमा राजधानीमा महल ठड्याउने कपुत ज्वाँइ साहेबलाइ नेवार समुदायले कहिले पहिचान गर्ने??? सांस्कृतिक परम्पराका अत्यन्तै धनी नेवार समुदायको खेत,पाखा सबै हडप्दा समेत चुप्प बसिरहनु यो कहाँ सम्मको दमन सहन हो?? म काठमाडौको भृकुटीमण्डप स्थित आर आर क्याम्पसमा रात्रीकक्षा पढ्दा पैदलमार्च बल्खु सम्मको डेरामा पुग्नुपर्थ्यो। त्यो बेला राति पैदल हिँड्दा स्यालले टोकेर चौधवटा सुइ लगाउने मै हुँ।आज उपत्यकाको बिशाल नेवारको खेतीयोग्य जमिन कंक्रीड्मा परिणत भइसक्यो। यस्को जिम्मेदार को हो?? नेवारको पुर्खौनी सम्पतिमा कुन सप्पन्न मान्छेको महल बन्यो ??- नेवार समुदायले खोज्नुपर्दैन?? कहाँ,कसरी हडपिए – मैतिदेबिका बिशाल फाँटहरु??? अनामनगरका फाँटबारी कता गए?? अझै कति दमन शोषण सहने नेवार समुदाय ???

राजनैतिक,सांस्कृतिक,भौगोलिक सबै परम्परामा धनी हुँदाहुँदै पनि यि सबैमा, सबैभन्दा बढी ठगीएको नेवार समुदाय हो। पुष्पलाल नेवारका चेलाहरुले पुष्पलाल माथी नै घात गरे। गणेशमानले रुँदै अन्त्यमा राजनैतिक सन्यास लिनुपर्‍यो। २००७ सालको महान क्रान्तिका तिनजना शहिद शुक्रराज,धर्मभक्त,गंगालाल नेवार समुदायकै थिए।खोइ?? तिनको सम्मान ??? आज तिनै नेवार सहिदको बलिदानिमा रजाइँ गर्नेहरुले नेवारको अपमान गर्न मिल्छ?? होसियार हौ नेवार समुदाय!!

आज सबैभन्दा बढी शोषित,पीडित,दमनको पिडा तपाईंहरु संगै छ। त्यसबेलाको शासक संगै लुक्दै नेवारको घरमा सरण लिनेहरुको आज मन्डिकाटार दरबार छ,लाजिम्पाट दरबार छ। लाखौं महल नेवारी भुमिमा ठडिए, तर एउटा मात्रै उदाहरण देखाउनुस – कुन नेवारले दरबार ठड्यायो??

मलाई पहिचान पक्षधरको नेता,लेखक जे भनेपनी हुन्छ। मैले त नेवार समुदाय माथिको दमन,अत्याचार सहन नसकेर मात्रै यो लेखेको हुँ।पहिचानको आवाज उठाउनेले यतिपनी लेखेन,बोलेनभने अन्याय हुन्छ। अहिले सडक बिस्तारका नाममा नेवार समुदाय माथिको ज्यादती म बाट सहन भएन। थारु समुदायको एक सचेत युवाले यत्ति गर्नसक्छ भने नेवार समुदायको पनि मुख,हात छन। चुपचाप बस्नुभयो भने एकदिन पहिचान बिरोधिले एकादेशको दन्त्यकथा आफ्ना सन्तानलाइ सुनाउने छन – “एकादेशमा तिम्रो बुढो मामा घर थियो, तिम्रो बज्यै र म त्यहाँ जान्थ्यौँ,तिम्रो मामाघरको बुढी बज्यैले हामिलाइ प्याँलामा वासा दिन्थिन। म छोइला कचेला संगै वासा मातिउन्जेल पिउँथे, तिम्रो बज्यै छेउको गुन्द्रीमा बसेर कुपुकुपु चटामरी खान्थिन। कति रमाइलो हुन्थ्यो ति दिनहरु?? बिचैमा पहिचान बिरोधिको नातिले प्रतिप्रश्न गर्नेछ- हामिलाइ कहिले लग्ने grand paa त्यहाँ ??? “छेउमा बसेकी बुढी बज्यैले तुरुक्क आँसु चुहाउँदै भन्नेछिन – अब त्यो मामाघर कहाँ रह्यो र!! न त वासा,चटामरी बनाउने बज्यै रहिन, न त त्यसबेलाको जस्तो मामाघर!!! हो,त्यसबेला सबै नेवार बुढाबुढिको आँखामा केवल आँसु मात्रै बाँकी रहनेछ,किनकि यसबेलाको सानो गल्तीले पहिचान एकादेशको दन्त्यकथा जस्तै हुनेछ।।।
पुस्तक “संयोग” बाट !!!
http://esamata.com/insight/%E0%A4%95%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0/

Gautam Vajracharya on Newa Heritage

Dr. Gautam Vajra Vajracharya is a Sanskritist with a deep interest in South Asian art and culture. He received a prestigious Rockefeller grant to work as a trainee at the Los Angeles County Museum of Art, and later earned a Masters degree in art history from the Claremont Graduate School, California, and a PhD on South Asian language and culture from the University of Wisconsin, Madison. He presently consults for the Rubin Museum of Art in New York.

Dr. Vajracharya was on a study visit to Nepal earlier this year, and he talked to us exclusively about the urgent need for documentation for preservation of our rapidly disappearing ancient national heritage.

https://vimeo.com/63493933