Sunday, February 21, 2016

परिकल्पना पिलाछेँ

स्थानीयको पहलमा सुरु भएको एउटा बस्तीको नमुना पुन:निर्माण


संस्कृति र परम्परामा मग्न नेवारी बस्ती । ऐतिहासिक सम्पदा, कला र संस्कृति अवलोकनका निम्ति पर्यटकको घुइँचो । चोकचोकमा सांस्कृतिक नाचगान र प्रस्तरलगायतका कलामा व्यस्त कालिगढ । सखारै संगीत वादन । बाँसुरीको मीठो धुन । सबै हिसाबले एउटा समृद्ध र सुखद बस्ती, बेल्जियमको ब्रुज र इटलीको टुरिनजस्तै ।
झट्ट पढ्दा यी विवरण पूरै काल्पनिक लाग्छन् । तर, यो कुनै कोरा सपना होइन । भनेजस्तो योजनाबद्ध ढंगले अघि बढेको खण्डमा अबको अढाइ वर्षपछि ललितपुर–७ को पिलाछेँ टोलको स्वरूप यस्तै आकर्षक र मनमोहक हुनेछ । 

१२ वैशाख ०७२ मा भूकम्पको धक्काका कारण यो टोलले ठूलो क्षति बेहोर्‍यो । यहाँका ८२ घरमध्ये अधिकांश बस्नै नहुने भए । यसै पनि धेरैको आर्थिक हैसियत कमजोर थियो । आफ्नै बुतामा घर ठड्याउने क्षमता एकाधको मात्र थियो । यो मल्लकालीन ऐतिहासिक बस्ती कला, संस्कृति र परम्परामा धनी भएर पनि समयको चाप पछ्याउन नसक्दा आधुनिकीकरणबाट ओझेलमा पर्‍यो । भूकम्पले त झन् धराशयी नै बनाइदियो । यो तीतो यथार्थसँग परिचित थिए व्यवसायी तथा समाजसेवी रमेश महर्जन । 

१२ वैशाखको दिउँसो टोलछेउकै एउटा पूजामा व्यस्त महर्जनले भूकम्पबाट पिलाछेँवासीका सामु निम्त्याउने संकट आकलन गरिसकेका थिए । तर, उनले यो प्राकृतिक विपत्लाई अवसरमा बदल्ने अठोट गरे र बुने, समृद्ध र सबल पिलाछेँ निर्माणको सपना । अनि, त्यसलाई साकार पार्न एउटा सोचका 
साथ अघि बढे । 



त्यही सोचले पिलाछेँ पुन:निर्माणको अवधारणा तयार भयो । त्यस अनुसार महर्जनलगायतका अगुवाहरूले पुन:निर्माणपछि जग्गा र घरको भाउ बढ्ने र आम्दानीका ढोका खुल्नेमा स्थानीयलाई आश्वस्त तुल्याए । र, पिलाछेँवासी यो अवधारणालाई मूर्त रूप दिन सहमत भए । महर्जन भन्छन्, “हिजो केही नभएको बेलामा त पुर्खाहरू आत्मनिर्भर भए भने हामी त भन् यस्ता अवसरहरू हुँदा हुँदै किन गर्न सक्दैनौँ भन्ने प्रश्न गरे । र, सुरु भयो पिलाछेँ पुन:निर्माण अभियान ।” राष्ट्रिय योजना आयोगले त भूकम्पपछिको पुन:निर्माण अन्तर्गत पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गरेपछि यहाँका बासिन्दा झनै खुसी भएका छन् । आयोगले पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गर्नुमा समुदायको अग्रसरताले प्रेरणा दिएको आयोगका पूर्वसदस्य स्वर्णिम वाग्ले बताउँछन् । भन्छन्, “समुदाय नै संगठित भएर आएको थियो । संस्कृति र परम्परा पनि एउटै । सबैभन्दा महत्त्वपूर्ण कुरा सबैमा गर्नुपर्छ भन्ने भावना थियो ।”

पिलाछँे पुन:निर्माण कार्ययोजना अनुसार यहाँका ८२ घरलाई नेवारी संस्कृति र कला झल्किने गरी भूकम्पप्रतिरोधी स्वरूप दिइनेछ । हरेक घरको भुइँतलामा घरधनीको आफ्नो व्यवसाय हुनेछ । पहिलो र दोस्रो तल्लामा होमस्टे सञ्चालन गरिनेछन् । तेस्रो र चौथो तलामा चाहिँ धरधनीहरू नै बस्नेछन् । यदि कोही घरधनी बस्न चाहँदैनन् भने बाँकी तल्ला पनि होमस्टेका लागि प्रयोग गरिनेछ । चोक (वहाल)हरूमा क्याफे, बस्ने ठाउँ रहनेछ । ती बहालमा नेवारी परम्परा र संस्कृतिको अवलोकन गर्न पाउनेछन् पर्यटकले । त्यहाँ सांगीतिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् । 

एक किसिमले भन्दा उद्यम, सेवा र सुरक्षित आवासको अवधारणा व्यवहारमा लागू हुनेछ पिलाछँेमा । पूरै जीवन्त हुनेछ यहाँको वातावरण । पुन:निर्माणमा सकभर परम्परागत र मौलिक निर्माण सामग्रीको प्रयोग गरिनेछ । महर्जन थप्छन्, “हाम्रा पुर्खाले जोगाइ राखेको परम्परा र संस्कृतिलाई व्यावसायिक ढंगले पर्यटक सामु पेस गरिनेछ, जसले गर्दा यहाँका सबैले रोजगारी पाउन र कोही पनि कमाउन बिदेसिनु नपरोस् । त्यसै गरी सीप भएकाहरूले पनि आफ्नो कला र क्षमता देखाउन पाउनेछन् ।” 



भूकम्पले क्षतिग्रस्त पिलाछेँ ऐतिहासिक र सांस्कृतिक दुवै हिसाबले सम्पन्न नेवारी बस्ती हो । यहाँ ४० वटा बहाल छ । पाँच रोपनीमा फैलिएको भिन्छे बहालमा प्रस्तर कलाका लागि संसारभर चिनिएका कलाकारहरू बस्छन् । छेउमै २७ रोपनीमा फैलिएको गुइटो डोमार छ । त्यसको बेग्लै इतिहास छ । पैदल दूरीभित्रै चारवटा अशोक चैत्य छन् । ज्यापु समुदायको रहनसहन, परम्परा र जीवनशैली बुझाउने जीवन्त ज्यापु संग्रहालय छ । छेउमै पाटन दरबार क्षेत्र छ । यहाँ प्राचीन र ऐतिहासिक शिलालेख र शिलापत्रहरू भेटिन्छन् । यी सबै ऐतिहासिक र सांस्कृतिक सम्पदाको केन्द्रमै पर्छ पिलाछेँ । जसको अवलोकनमै पनि पर्यटकहरूको महिनौ बित्न सक्छ । 

योजना आयोगले नमुना परियोजना भने पनि पिलाछेँवासीले आफ्नो पुन:निर्माणका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई अनुसरण गरेका छैनन् । र, त्यही अनुसार रकम जुटाउने रणनीति तय गरेका छन् । पुन:निर्माणका लागि करिब ४६ करोड रुपियाँ लाग्ने अनुमान छ । त्यसका लागि २५ प्रतिशत स्थानीय घरधनीबाट, २५ प्रतिशत भौतिक सामग्री र स्वयंसेवकको श्रमदान, २५ प्रतिशत अनुदान/सहयोग र बाँकी बैंकबाट ऋण लिइनेछ । 

तर, योजना आयोगको घोषणासँगै पिलाछेँ पुन:निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाउने क्रम सुरु भइसकेको छ । जस्तो : वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले तीलगंगा फाउन्डेसनका तर्फबाट चार करोड रुपियाँको सहयोग घोषणा गरेका छन् । त्यसमध्येको दुई करोड रुपियाँ त उनले हस्तान्तरण नै गरिसकेका छन् । च्वाइस नेपालले ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यसबाहेक निर्माण सामग्री उपलब्ध गराएर पुन:निर्माणमा सहयोगी बन्ने प्रतिबद्धता जनाउने क्रम पनि बढ्दो छ । व्यवसायी तीर्थलाल महर्जनले ५० हजार इँटा सहयोग गर्ने भएका छन् भने निर्माण सामग्री बिक्रेताहरूले सिमेन्टलगायतका निर्माण सामग्री उपलब्ध गराउनेछन् । नक्सा डिजाइन र इन्जिनियिरिङको जिम्मा सीई कन्स्ट्रक्सन र सीई सोलसुन्सले लिएको छ, त्यो पनि नि:शुल्क । लुम्बिनी बैंकले सहुलियत ऋणमा वित्तीय सहयोग गर्ने जनाइसकेको छ । 

२ माघमा औपचारिक रूपमा सुरु भएको यो परियोजना अबको साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । पहिलो नमुना घर भने विनाशकारी भूकम्प गएको वर्षदिन पुगेकै दिन अर्थात् १२ वैशाखभित्रै निर्माण गरिनेछ । पुन:निर्माणलाई सघाउन एक किसिमको प्रतिस्पर्धा नै सुरु भएको छ । ज्यापु समाजले मात्रै आफ्ना १० हजार स्वयंसेवक खटाउने निर्णय गरिसकेको छ । त्यसबाहेक स्थानीय युवा, पुस्तकालय, क्लबहरूले समेत नि:शुल्क श्रमदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् । 
पिलाछेँको पुन:निर्माण सफलतापूर्वक सम्पन्न भए त्यसको अनुसरण भक्तपुर, बुङमती, बारपाक र सिन्धुपाल्चोकलगायतका स्थानमा गर्न सकिन्छ । त्यसको पुष्टि ती ठाउँका अगुवाहरूले पिलाछेँको पुन:निर्माणमा देखाएको चासोले नै गर्छ । त्यसैले पिलाछेँ बस्ती पुन:निर्माणको मानक बन्ने निश्चित छ । महर्जन भन्छन्, “भूकम्पीय प्रतिरोधी आवास, जीविकोपार्जनको अवसर र संस्कृति तथा सम्पदाको जगेर्ना सबै हिसाबले पिलाछेँ आकर्षणको केन्द्र बन्नेमा म ढुक्क छु ।” 
प्रकाशित: फाल्गुन ४, २०७२

http://nepal.ekantipur.com/news/2016-02-16/20160216103513.html

No comments: