Showing posts with label Flower. Show all posts
Showing posts with label Flower. Show all posts

Wednesday, November 29, 2023

स्वाँ माःला स्वाँ !

 शिशिर वैद्य

फुल बेच्न पसेकाहरूका आवाज सहर सुगन्धित बनाउन पर्याप्त हुन्थ्यो कुनै बेला । फूल बेच्नेहरू ठूलो आवाजमा भनिरहेका हुन्थे– स्वाँ माःला स्वाँ...(फूल आयो फूल) ! कान्तिपुर नगरी यस्तै आवाजले ब्युँझिन्थ्यो । सिजनअनुसारका मू स्वाँ, तफ्व स्वाँ, ग्वँग चुली स्वाँ, ह्याँगु स्वाँ, लालुपात्या स्वाँ, लाहुरे स्वाँ, पंखा स्वाँ, अजू स्वाँ, सिन्ह स्वाँ बोकेर गथुहरू सहर पस्थे । अनि घरघर डुल्दै कराउँथे– ‘स्वाँ माला स्वाँ ।’

स्वाँ माःला स्वाँ !

मन्दिरैमन्दिरको सहर हो– कान्तिपुर । जात्रा सहरको नशा नशामा छ । कसलाई थाहा होला स्वाँको महत्त्व, यो सहरलाई भन्दा बढी ? हल्च्वः (हलचोक) पश्चिम इचंगु गाउँ स्वाँका लागि प्रसिद्ध थियो । इचंगुको आफ्नो प्रसिद्धि विलुप्त भएको छ । स्वाँ क्यबहरू मासिएर घर फलेका छन् अहिले । तथ्यांक भन्छ– फूलको व्यापार बढेको छ, तर उत्पादन कम छ । सहरको माग कोलकाताको फूलले धानेको छ ।

त्यो जमाना अर्कै थियो, जब दाउरेहरूलाई जिस्क्याउँदै गीत गाइन्थ्यो—

कल्चा सिं,

मान्चा जाकी

छँके वया खैला हजुर....

कसलाई याद होला यि गीत ? उपत्यका वरिपरिका जंगलबाट दाउरा बटुलेर स–सानो कलीदेखि ठूलाठूला दलिन बोकेर सहरमा बेच्न आउँथे दाउरेहरू । माटोको घर, माटोकै चुल्हो, कुरो त्यो जमानाको पो हो त । दलिन र दाउरा दुवै अपरिहार्य हुन्थ्यो । घर चलाउन पनि बनाउन पनि ।

‘भाले आयो हजुर भाले’ ढाक्रे डोकामा कुखुरा बेच्न सहर डुल्दै गरेका व्यापारीहरू कुन गाउँबाट सहर पस्थे सहरलाई के मतलब हुथ्यो ! पसिनाले लपक्क भिजेर टलक्क मैल टल्किएको टोपी अनि धूलो टाँसिएको धोती । कुखुरा कुखुरा बास आउँथे ती व्यापारीहरू । अर्धनग्न बालबालिकाहरू भाले जिस्क्याउँदै पछि लाग्थे । कुखुरी काँ बासी भात खाँ... ! ती बालबालिकालाई के थाहा कुखुरा बेच्न सहर पसेका गाउँले व्यापारीका व्यथा ! महाबौद्धमा कुखुरा व्यापारीहरूको हाट लाग्थ्यो । गाउँले व्यापारी र सहरी बिचौलियाबीच मोलमोलाई चल्थ्यो । जसले जसलाई निचोर्न सक्थ्यो ऊ फाइदामा हुन्थ्यो । सहरका व्यापारीको चलाखीअघि गाउँले सोझा व्यापारी लाचार हुन्थे । एक–एक कुखुरा बेचेर सहरमा महँगो बास बस्ने कि एकमुस्ट बेचेर गाउँ फर्किने ? उनीहरू दोस्रो उपाए रोज्थे । सहरमा दाना खुवाएर कुखुरा पाल्न कसरी सक्थे र गाउँलेहरू ?

महाबौद्ध परिसरभित्र अर्कै मेला लागिरहन्थ्यो । चिउराका बोराहरूले महाबौद्ध चोक भरिएका हुन्थे । जुटका बोरामा बेच्न राखिएका हुन्थे थरीथरीका चिउरा । मगमग बास्नाले नै पेट भरिन्थ्यो । सालु बजी, ख्वाटु बजी, टाइचिन बजी, ह्याँगु बजी सहरमा अनेकथरी बजीका सोखिन थिए, छन् अझै । बजी आजभोलि प्याकेटमा आउन थालेको छ । नत्र बोरामा आउँथे । बोराको जमाना सकिएको छ । ब्रान्डिङको जमाना जो छ । जमाना जस्तोसुकै भए पनि परम्परा धान्ने व्यापारी अझै छन् सहरमा । खर्पनमा तरकारी बेच्नेहरू उहिले ठिमीदेखि हिँडेरै आउँथे । एक खर्पन तरकारी बेच्न कम्ता दुःख थिएन त्यसबेला । गाउँ–गाउँ पुगेका सडक र यातायातको विकासले किसानलाई सजिलो बनाएको छ । खर्पन ठिमीदेखि बोक्नु पर्दैन आजभोलि ।

बेसारले शिरदेखि पाउसम्म पहेंलिएको मानिस देख्नुभएको छ ? यस्ता मानिस देखेर जन्डिसका कीटाणु पनि भाग्दो हो । गाउँको शुद्ध बेसार बोकेर सहर पस्दा व्यपारीको रूप यस्तै हुन्छ । गाउँमा मिल थिएनन् ऊबेला । मिल सहरमा हुन्थे, बेसार गाउँमा । बेसार बेच्ने पहेंलिनुमा के आश्चर्य ? सहर पस्ने, बेसार बेच्ने, अनि गाउँ फर्किने । एवंरीतले चलेको उसको दिनचर्यामा उसले सायद आफ्नो असली रूप बिर्सिसकेको होला । बेसार अझै पनि गाउँमै फल्छ । फरक यत्ति हो मिलहरू गाउँ पसेका छन् । बेसार बेच्न आजभोलि सहरका गल्ली–गल्ली धाउनु पर्दैन व्यापारीहरूलाई । मिलहरूले पोका पार्ने मिसिन पनि छन् गाउँमै । तर, गाउँका बेसार रोप्ने, सुकाउने किसान कतार, साउदीतिर मरुभूमि जोत्दै छन् । काभ्रेको खुवादेखि लेलेका दाउरा, छैमलेको नास्पाती र आरु, रसुवाको हिमाली जडीबुटी, खोकनाको तेल, दाउरादेखि दलिनसम्म के बिक्दैनथ्यो सहरमा ? हो, सहरमा के बिक्दैन ? प्रश्न गम्भीर छ । कान्तिपुरलाई यस मानेमा खपतपुरभन्दा पनि हुन्छ । उहिले गाउँका उत्पादन खपत गर्थ्यो, आजभोलि गाउँका मानिस खपत गरिरहेछ, उत्पादन भने चीनको । कन्टेनर भरिएर आउने चिनियाँ सामान उपत्यकामा खन्याएर बेतोड कुद्ने ट्रकहरूले राजमार्गमा तहल्कै मच्चाउँछ बेलाबेला । चिनियाँ मालको डम्पिङ साइट बनेको छ कान्तिपुर ।

गाउँको मुहार फेरिएकाले होला सहरको रूप पनि फेरिएको छ आजभोलि । महाबौद्धमा न चिउराको हाट लाग्छ, न कुखुराको । न खोकनामा तोरी फल्छ, न तोरी बेच्नेहरू सहर पस्छन् । आयातित तोरी पेलेर परम्परा धानेका खोकनावासीलाई के भन्नु र खै ? कान्तिपुर सहरका चिकंमुगः, ध्वखाडोल तेलका सुपरिचित नाम हुन् । लाय्कुसाःले कान्तिपुरको तेल परम्परा धानेको छ । ती पनि आयातित तोरीमै निर्भर भइसके । सुनाकोठीको दहिको प्रख्याति केही बूढापाकालाई भन्दा बढी कसलाई याद होला अब ? नालाका आलुबारीहरूमा ठडिएका पार्टी प्यालेसहरू आयातित आलु तासेर फ्रेन्च फ्राइज सर्भ गरिरहेछन् । दोलखाको मुडे आलुका लागि प्रसिद्ध छ । बजारमा मुडेको आलुको माग उच्च छ । तर, उत्पादन थोरै । पत्ता लगाउनुस कान्तिपुरका बजारमा छ्यापछ्याप्ती पाइने ‘मुडेका आलु’ कहाँका होलान् ?

मरु, मखं, वंघः, असं, न्यत, त्यरलगायतका त्वाहरू बँ पसः राख्नेहरूले ढाकिन्थ्यो उहिले । घरघर नधाउने व्यापारीहरू सहरका प्रमुख चोकहरूमा यस्ता पसः थापेर बस्थे । आफ्नो सामान पसार्थे । सहरको अंग थियो बँ पसः । संस्कृति नै भनिहाल्दा कति विद्हरू रिसाउलान् । तर, बँ पसःलाई कान्तिपुर सहरको सामाजिक रीतिरिवाजबाट हटाएर हेर्दा कहाँ भेटिएला बजी, बेसार, स्वाँ, तुफी र जडीबुटीहरू ? गाउँ र काँठका किसान आफ्ना उत्फादन बित्री गर्न कान्तिपुरका सडकमा ग्राहक कुर्थे । सहर तिनै बँ पसःमा खरिददारी गर्थ्यो । बँ पसः सहरको सामाजिक आवश्यकता थियो । गाउँले व्यापारीको रोजीरोटीको आधार ।

समय बदलिएको छ । महानगरलाई घाँडो बनेको छ– बँ पसः । सहरका फुटपाथ, मठमन्दिरका पेटी, फल्चा, दबु, चुक, ननी, बहाः, बहीलगायतका सम्पदा सबैतिर छन् बँ पसः राख्नेहरू । बँ पसः विश्वमा सबैतिर छन्, स्थानीय निकायले ती बँ पसःलाई निश्चित् समय र स्थान तोकेर बस्न दिन्छन् । बँ पसः राख्नेहरू समस्यामा परेरै सम्भावनाका खोजीमा फुटपाथ र सडकमा पसल थाप्न बसेका हुन् । महानगरले उनीहरूलाई लखेट्न पाउँदैन । बँ पसः को व्यवस्थापन गर्ने जिम्मा महानगरकै हो । असलमा कान्तिपुर नगरी सम्भावना र समस्याको एब्स्ट्राक्ट कोलाज हो, जसले जसरी व्याख्या गरे पनि हुने । जसले जसरी बुझे पनि हुने ।

https://ekantipur.com/koseli/2022/09/10/166278365769611808.html

Tuesday, November 28, 2023

पलि स्वां, अजू स्वां, च स्वां

 प्रशान्त माली

ललितपुर ठेचोमा नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा चलिरहेको छ । ०७९ सालभरि चल्ने जात्रा अवधिभरि विभिन्न २८ पर्वपूजा चलाउनुपर्छ । प्रत्येक पूजामा फूलको विशेष महत्त्व छ । यहाँ जात्रा, पर्व र फूलबीचको सम्बन्धमाथि प्रकाश पार्ने जमर्को गरिनेछ ।

पलि स्वां, अजू स्वां, च स्वां

विजयादशमीका दिन ठेचोको नवदुर्गा गण पाटन दरबार क्षेत्र पुग्छ । र, गणले लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पुरानो तलेजु) लाई भैरव, काली र बाराहीद्वारा नृत्यसहित फूलमाला चढाउँछ । उक्त माला खः तथा मूः नामक फूलबाट उनिन्छ, जुन लेले टीकाभैरवस्थित वनबाट ल्याइन्छ । त्यसरी खड्ग जात्राका दिन चढाएको फूल जनैपूर्णिमाका लागि विशेष मानिन्छ ।

कुम्भेश्वरका पुजारीहरू गणले चढाएको त्यो फूलमाला सुकाएर धूलो बनाउँछन् । र, जनैपूर्णिमा कुम्भेश्वरमा मेला भर्न आएका भक्तजनलाई पहेँलो, रातो कपडामा त्यो धूलो पोको पारेर जनैसँगै हातमा बाँधिदिन्छन् । त्यसदिन जनै बाँध्ने भक्तजनको घुइँचो लाग्छ ।

भनिन्छ, मनमानेश्वरी देवी भगवतीकी रूप हुन् अनि भगवतीले नवदुर्गा गणलाई साथै लिएर दैत्यमाथि विजय प्राप्त गरेकी हुन् । त्यसैले विजयदशमीका दिन भैरव, काली र बाराहीलाई फूलमाला चढाएर बधाई दिने गरिन्छ । कुम्भेश्वरका पुजारी माधवश्याम शर्मा भन्छन्, ‘प्राचीनकालमा उपत्यकाका माली जाति तन्त्रविद्यामा निपुण थिए । अहिले पनि ठेचो, धापाखेलमा तन्त्रविद्या जान्नेहरू बाँकी छन् । नेपाल भाषामा ‘गथु’ भनिने माली जातिलाई तान्त्रिक देवताका अंश मानिन्छ । यस जातिको शरीरमा चाँडै देवता चढ्ने मान्यता छ । त्यसैले नवदुर्गा देवगणहरूले उनेको माला तन्त्रसाधना गरी हातमा बाँधे दुःखकष्ट, रोगव्याधि, बाधा अड्चनबाट मुक्त हुने जनविश्वास छ ।’

नवदुर्गा नाच अहिलेसम्मै माली समुदायले नै सञ्चालन गर्दै आइरहेको छ ।

नवदुर्गा मन्दिरमा अक्षयतृतीया, गठेमंगल, पञ्चदान, दसैं, तिहार र योमरीपूर्णिमामा विशेष पूजा हुन्छ । प्रत्येक पूजामा छुट्टाछुट्टै प्रजातिका फूल राखिन्छ ।

अक्षयतृतीयामा अजू स्वां भनिने जाइफलको फूल चढाइन्छ । नेपाल भाषामा अजू स्वांलाई यसरी व्याख्या गरिएको छ, ‘चैत्र महिनानिसें जेठ महिना तक ह्वइगु गणेद्यःया अतिकं यःगु धयातःगु चिचीफ्वःगु छताजि स्वां ।’ अर्थात् चैतदेखि जेठसम्म फुल्ने गणेश देवतालाई अति नै मन पर्ने भनिएको स–साना आकारको एक प्रकारको फूल हो यो । यो फूल पहेँलो रङको हुन्छ । पात जहिल्यै हरियो हुन्छ । र, यो फूलको बोट २ देखि ४ मिटरसम्म अग्लो हुन्छ ।

गठेमंगल, पञ्चदान र घटस्थापनामा क्रमशः पलि स्वां, च स्वां र नल्चा स्वां (जमरा) चढाउनुपर्छ । पलि स्वां पोखरीमा फुल्ने कमलको फूल हो । च स्वां भनेको चमेली फूल हो । नेपाल भाषामा यो फूलबारे भनिएको छ, ‘तसकं ह्वालाह्वाला बास वइगु चिचीफ्वःचागु तुयूगु स्वां ।’ अर्थात् जाडोयाममा पुराना पात झर्ने यो वनस्पतिको धेरै बास्ना आउँछ ।

श्राद्धको अन्तिम बेला पितृको बिदा गर्दा यो फूल चढाइन्छ । यसलाई नाम लिन नहुने वनस्पति पनि भनिन्छ । यो फूल भीमरथारोहणका बेला पनि चढाइन्छ । म्हपूजा, कंगः अजिमाको पूजा र श्रद्धाञ्जली अर्पणमा पनि यो फूल चढ्दछ ।

योमरीपुन्ही जात्राका बेला चढाइने फूललाई लः स्वां भनिन्छ । नेपालीमा यसको नाम हो– लौठ सल्ला । रातो मत्स्येन्द्रनाथ, सेतो मत्स्येन्द्रनाथ, कीर्तिपुरको इन्द्रायणी देवी जात्रामा पनि यो फूल चढाउने परम्परा छ । ‘तान्त्रिक विधिपूर्वक पूजा गर्दा भूतप्रेत, ग्रहदशा पन्छाउन अनिवार्य रूपमा फूल राख्नुपर्ने धार्मिक मान्यता छ । नेपालमा पाइने कतिपय फूल पञ्चसुगन्ध (श्रीखण्ड, कस्तुरी, कुमकुम, केशरी, सुनपाती) आउने खालका पनि छन् । यी फूलले दिमागको नराम्रो तरङ्ग हटाउन मद्दत गर्छ,’ नवदुर्गा गुठीका नाइके भक्तलाल माली भन्छन्, ‘पुर्खाहरूले फूलको महत्त्व दर्साउन चाडपर्वसँग यसलाई जोडे । कतिपय वनस्पतिको नामसमेत अब त हराइसकेका छन् ।’

नवदुर्गा मन्दिरमा महाधूप बनाउन प्रयोग गरिने फूल, रातो मत्स्येन्द्रनाथ जात्रामा प्रयोग हुने मू स्वां (एक प्रकारको फूल) र पचली भैरव जात्रामा चढाइने कनाय् स्वां लोप हुने क्रममा छन् । ‘फूलको एउटा प्रजाति नै हराउनु भनेको केवल वनस्पति लोप हुनु होइन पुर्खाले हस्तान्तरण गरेर गएका संस्कृति–परम्परा पनि हराउनु हो । वनस्पतिमाथिका हाम्रा ज्ञान नाश हुनु हो,’ भक्तलाल भन्छन् ।

प्रत्येक १२ वर्षमा नाचिने काठमाडौंको भद्रकाली खड्गसिद्धि, पचलीभैरव, कीर्तिपुरको बाघभैरव र प्रत्येक वर्ष नचाइने भक्तपुरको नवदुर्गा नाचमा पनि अनेक प्रजातिका फूल चढाइन्छन् ।

https://ekantipur.com/koseli/2022/11/05/16676133561533799.html