Showing posts with label Heritage. Show all posts
Showing posts with label Heritage. Show all posts

Sunday, March 31, 2024

पनौतीका भित्तेचित्र

 

२० साउन २०८०, शनिबार


काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका, खोपासीमा भएको लिच्छवि संवत् ५२० को अभिलेखमा शिवदेव र अंशु बर्माले द्वारोद्घाटन र कैलाश यात्राका समयमा खोपासी क्षेत्रबाट जनैपिच्छे पचास वटा सेता जातका माटो अर्थात् कमेरो केन्द्रमा पु-याउनुपर्ने थिति बसालेका थिए । कमेरो सेतो रङको माटो हो, विभिन्न मन्दिर देवस्थल तथा घर रङ्गाउन, सिँगार्न यसको उपयोग गरिन्थ्यो । लिच्छविकालका विभिन्न अभिलेखमा रङका बारेमा उल्लेख भएको पाइन्छ ।

संवत् ५२० को यो अभिलेख पनौती क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो । यस अभिलेखमा रेखाद्वारा निर्मित फूलहरूले सिँगारिएको धर्मचक्रको कलात्मक चित्र अङ्कित भएको छ । यस अभिलेखबाट चित्र, रङ र रङसित सम्बन्धित विषयको उपयोग पनौती क्षेत्रमा प्राचीन समयदेखि नै थियो भन्न सकिन्छ । साथै साँढे अङ्कित चित्र भएको लिच्छविकालीन मुद्रा पनि खोपासी र लायकुमा भेटिएको छ । 

मल्लकालमा पनौती क्षेत्र भक्तपुर राज्य अन्तर्गत पर्दथ्यो । भक्तपुरको विभिन्न मठ, मन्दिर, दरबारका भित्तामा विभिन्न देवदेवी तथा धर्म परम्परा समेटिएको भित्तेचित्र थिए र छन् । १८ इन्च उचाइ, कम्मरको भाग ९.५ इन्च र कम्मरको गोलाइ १५ इन्च भएको चार हजार वर्ष पुरानो प्राचीन नारी मूर्ति पनौती क्षेत्रमा विसं २०७७ सालमा फेला परेको थियो । हाल राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा यस मूर्तिलाई राखिएको छ ।आर्ष वाङ्मय र लिपि विकासको महत्व नामक स्तम्भमा अर्जुन विरक्ति लेख्नुहुन्छ, “आर्ष वाङ्मय उत्तरापन्थ नेपालबाटै वैदिक चिह्न स्वर र लिपिहरू संसारमा चलेका छन् । सम्पूर्ण चिह्न, लिपि, सङ्केतादि सम्पूर्ण भाषा आदिको उत्थान हुनुले वैदिक चिह्न र सङ्केत स्वरबाट ब्रह्माण्डको नेतृत्व भएको छ ।” यसले नेपाली रेखा र रेखाचित्रको प्राचीनताको जानकारी दिलाउँछ । यसकै डोबमा पनौती लम्केको देखिन्छ ।

हरेक माघ महिना पनौतीमा साँखु र भक्तपुरबाट माधवनारायण लाने प्रचलन छ । माधवनारायणले ताःस्वां (१०८ थरिका फूल) लिन यात्रा गराइएको मानिन्छ । १०८ थरिका फूलले रङ्गीन पनौतीको सङ्केत गर्दछ । पनौती विविध जातजाति र बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको नगर हो । विविध जातजातिले आ–आफ्नो पर्व र उत्सवमा चित्रहरू लेख्ने वा कोर्ने वा रङ भर्ने गरिएको पाइन्छ । विभिन्न देवस्थल, सतल र घरमा हाल पनि चित्र अङ्कित रहेको पाइन्छ । जनकलाल शर्माद्वारा लिखित ललित–कला र साहित्य नामक पुस्तकको भूमिकामा सूर्यविक्रम ज्ञवालीले “घरका विविध भागमा नेवार सिकर्मीले काठको जो अङ्कन गरेको हुन्छ, त्यसको प्रशंसा जति गरे पनि थोरै हुन्छ । घरको मूलढोकामा अङ्कन गर्ने चलन थिएन । त्यसका दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा नाना धार्मिक चित्र लेखाउने चलन थियो” भनी उल्लेख गर्नुभएको छ । साँच्चै दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा चित्र लेखाउने प्रचलन पनौतीमा जीवन्त देख्न सकिन्छ ।

लेखक रत्नप्रसाद अनामणि श्रेष्ठका अनुसार “निजी घर, भवन, पाटी, सतल, मन्दिर तथा विहारहरूमा सुन्दर कलात्मक विभिन्न देवी देवताका चित्र प्राकृतिक रङले कोरिएको पाइन्छ ।” पनौतीका निजी घर, भवन, सतल र मन्दिरमा रङले पोतिएको चित्र भेट्न र हेर्न सकिन्छ । मुकेश मल्ल र ज्ञानेन्द्र विवश, नेपाली परम्परागत शिल्पकला (सङ्गोष्ठी प्रतिवेदन) प्रतिवेदनमा उल्लेख गर्नुहुन्छ, “अनेक जातजातिका मौलिक पहिचानका रूपमा रहेका पहिरन, गरगहनामा शिल्पकलाको पक्ष अत्यन्त प्रबल रहेको पाइन्छ । तिनमा देख्न सकिने वा रहँदै आइरहेका सूक्ष्म बुट्टा–बनोटका रङ, रेखा, लता–लहरा अनेकौँ सुन्दर अनि सन्तुलित आकृतिहरू हेर्दा लाग्छ, हाम्रा पुर्खा शिल्पकलामा साँच्चै साह्रै नै धनी थिए ।” 

चित्ताकर्षक पनौती र यस वरपर देखिएका, भेटिएका शिल्पकला नियाल्दा यहाँको पुर्खाले कलाकारितामय पनौती बनाउन सफल भएको सहजै भन्न सकिन्छ । पनौतीको इतिहासको चित्र यी कलाकर्मले अँध्यारोमा ज्योति झैँ छर्लङ्ग देखाउँछ । ऐतिहासिक र प्राकृतिक गन्धमाला पर्वत अर्थात् कुञ्ज पर्वतको फेदीमा पवित्र शचीतीर्थ छ । उक्त तीर्थमा लीलावती र रुद्रवती नदीको सङ्गममा कलाकारिताले भरिएको एउटै ढुङ्गामाथि अवस्थित पुरातात्त्विक  पनौती अश्मनगरलाई नियाल्दा सौन्दर्योपासकको मन उद्वेलित हुन पुग्दछ । मन्दिरै मन्दिरले शोभयमान देखिने यो नगरमा अष्टमातृका र अष्टभैरवका मूर्तिले सजिएको आकर्षक टुँडालहरूले सोन्दर्य थपिरहेको छत्रशैलीमा निर्मित ब्रह्माणी (ब्रह्मायणी) मन्दिर छ ।

मातृसत्तात्मक नेपालको प्राचीनताको प्रतीक अजिमा र कुमारीले सिँगारिएको पनौती चित्रमय इतिहासमा उच्च स्थानमा छ । पनौतीमा मनाइने पर्व र विभिन्न जात्रामा चित्रात्मक शैली प्रयोग हुने गरेको पाइन्छ । चाइनाको ‘हन्ड्रेड केभ’ नामक गुफामा पनौतीको नमबुद्ध (नमोबुद्ध) को चित्र बनाएर सजाई राखिएको छ । यो गुफा विश्वविख्यात छ । यस चित्रले पनौती र नमबुद्धलाई संसारभर चिनाउन मद्दत गरेको छ । 

इन्द्रेश्वर, भालेश्वर र धनेश्वर तीन वटा किराँतकालीन चौँसट्ठी ज्योर्तिलिङ्ग पनौती भेगमा छन् । यी ज्योर्तिलिङ्गको आसन कमलको फूलको रहेको छ । शिलामा कुँदिएको कमलको फूलको चित्र र जललहरीमा भएको नागको चित्र पनौतीको महìवपूर्ण शिलाचित्र हुन् । विद्यालय निर्माण गर्न २०÷२५ फिटको थुम्को सम्याउँदा कुशादेवी विहारमा भेटिएको माटाको थाली र उक्त थालीमा कोरिएको चित्र अति प्राचीन भएको पुरातत्वका कर्मचारी बताउँछन् । पनौती इन्द्रेश्वर प्राङ्गणको सङ्ग्रहालयमा रहेको मध्यकालीन समयको तन्त्रका ग्रन्थमा विभिन्न पक्षलाई उजगार गर्ने चित्र छन् । कलाविद् मीनबहादुर शाक्यको भनाइ अनुसार सन् ९९८ का नेपाली शासक नरेन्द्रदेवको पालादेखि नै नेपालमा ग्रन्थचित्रको सुरुवात भइसकेको थियो । लिच्छविकालीन र मध्यकालीन समयका हितीहरूमा पनि कलात्मक चित्र पनौती क्षेत्रमा पाइन्छन् । पनौतीमा पाइएका ६५ वटा शिलालेखमा चित्रकलाको भरपूर उपयोग भएको पाइन्छ । पनौती भेगमा रहेका काठ, धातु र प्रस्तरमा भएको विभिन्न समयका चित्रात्मक कला नेपाली कलाका उच्चतम नमुना हुन् ।

बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डेबेँसी, बल्थली, ललितपुर, भक्तपुर आदिले घेरिएर रहेको महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो पनौती । सातौँ शताब्दीतिर हुयनसाङले नेपाली घरका भित्तामा चित्र रहेको उल्लेख गरेका छन् । पनौतीका कैयौँ घरका भित्तामा चित्र अङ्कित भएको वर्तमानमा पनि देख्न सकिन्छ । विभिन्न सामाजिक उद्देश्य दर्साउन भित्तामा चित्र लेख्ने प्रचलन पनौतीको प्राचीन कलाकारिता हो ।

चन्द्रागिरि सतुङ्गलको वैष्णवी मन्दिर, काठमाडौँ कुमारीघरका भित्तेचित्र, भक्तपुरको तलेजु मन्दिर, भक्तपुरको ब्रह्मायणी मन्दिर, बनेपाको चण्डेश्वरी, पशुपतिको जयवागेश्वरी मन्दिर, स्वयम्भूको शान्तिपुरको भित्तेचित्र, उग्रचण्डी नालाको भित्तेचित्र, मुस्ताङको झोङ गुफा, मेरापिक हिमालको ड्रागनको चित्र, नृसिंह मठ खोपासी, पनौतीकै त्रिवेणी घाट सतलका जस्तै पनौती ब्रह्मायणी मन्दिरको भित्तेचित्र अनुसन्धानकर्ता र पारखीका लागि विशेष स्वाद हुन् ।

भारत ‘कटक स्टेट’ की राजकन्या जङ्गबहादुर कुँवर राणाकी चौथो महारानी जसलाई गङ्गा महारानी भनेर चिनिन्छ । उनै महारानीद्वारा निर्मित त्रिवेणीघाटको सत्तल र सत्तलमा रहेको दस अवतार र कृष्णलीलाका चित्रले पनि पनौतीलाई शोभायमान बनाइरहेको छ । शैव भूमिमा वैष्णव प्रकृतिका चित्रकलाको उपयोग हुनु धार्मिक सहिष्णुताको मनोरम नमुना हो । यस चित्रकलाले पनौतीको विगतका सामाजिक पक्षलाई सहजै बुझाउँछ । 

ब्रह्मायणी मन्दिरमा क्रमशः संवत् ८१८, संवत् ८२०, संवत् ८३६, संवत् ८४१, संवत् ८९७ र संवत् ९५० का शिलालेख पाइएका छन् । मिति नखुलेका अभिलेख र तोरण पनि मन्दिरमा छन् । ती शिलालेखमा ब्रह्मायणी देवीको गुणगान गाउनुका साथै मन्दिरमा चढाइएका सामग्री अनि देवल निर्माणका वर्णन पाइन्छन् । पनौती क्षेत्रको ऐतिहासिक अवस्थितिबारे शिलालेखले जोडदार बोलेको छ । मन्दिरभित्र त्रैलोक्य मल्लको समयकालको नेस ७८९ को अभिलेखको अधिकांश भाग खण्डित रहेको छ । इतिहासकार केदारनाथ प्रधानका अनुसार “मध्यकालीन संस्कृति र कलाकौशलको दृष्टिमा भक्तपुरपछि पूर्वतिरका बस्तीहरूमा पनौतीलाई अग्रणी मान्न सकिन्छ ।” यो अग्रणी स्थानमा ब्रह्मायणी देवी विराजमान हुनुहुन्छ । शैव आदर्शमा जीवन्त रहेको यो देवीको जात्रा कहिलेदेखि चल्न थाल्यो भन्न सकिन्न तर प्रत्येक ज्येष्ठ पूर्णिमाको दिन पनौतीको जात्रा हुने गर्दछ । ज्यापुन्ही जात्राका रूपमा चिनिएको यस जात्राको सांस्कृतिक महत्व विशेष रहेको छ । द्वादशी, त्रयोदशी, चतुर्दशी र ज्येष्ठ पूर्णिमासम्म चल्ने यस जात्राको महत्वपूर्ण देवी ब्रह्मायणी हुन् । यस कारण यस जात्रालाई ब्रह्मायणी जात्रा पनि भनिन्छ । 

जात्रा आफैँ एक कला हो । कलामा कलाकारिताको प्रयोग अनिवार्य हुन्छ । त्यसकै प्रतीकका रूपमा ब्रह्मायणी मन्दिरमा चित्रकलाको प्रयोग भएको पाइन्छ । मन्दिरमा भएको भित्ते चित्रले धार्मिक, सांस्कृतिक पक्षको उजागर गरेको छ । मध्यकालीन पनौतीको कलात्मक विशेषता भित्ते चित्रले दर्साएको छ । पमारी टोलमा रहेको द्येःछे (ब्रह्मायणीको घर) का भित्तामा (ब्रह्माणी, महेश्वरी, कौमारी, वाराही, वैष्णवी, इन्द्राणी, नारसिंही र महालक्ष्मी) मातृका गणको चित्रले शोभयमान गराएको छ ।

महेश्वरी महेश्वरकी शक्ति, कौमारी स्वामी कार्तिकेयकी शक्ति, वैष्णवी विष्णुकी शक्ति, बाराही बराहकी शक्ति, नारसिंही नृसिंहकी शक्ति, इन्द्राणी इन्द्रकी शक्ति र ब्रह्माणी ब्रह्माकी शक्ति मान्ने गरिन्छ । मातृका गणद्वारा मानिसका विभिन्न अङ्ग प्रत्यङ्गको रक्षा गर्ने तान्त्रिक मत रहेको हुनाले लोकमा पूजनीय भएका हुन सक्छन् । 

मातृकाको द्वारपाल सिंहिनी र ब्याघ्रिनी, अष्टभैरव, भैरवी, बेताल र तिनले प्रयोग गर्ने आयुधहरूका चित्र छन् । चित्र जीर्ण भए पनि यस चित्रले पनौतीको आधुनिक चित्रकलामा आफ्नो छाप छोड्न सफल भएको छ । घरको भित्ताको आधार मान्ने हो भने यो चित्र राणाकालीन समयको हो । न्यु आर्ट सर्कलका उपाध्यक्ष तथा चित्रकार नरेश सैँजूका अनुसार “त्रिवेणीघाट ब्रह्मायणी पीठभित्र भित्तामा रहेको ब्रह्मायणीको चित्र ११ औँ देखि १३ औँ शताब्दीको हो । यो चित्र भक्तपुरको ब्रह्मायणी पीठको चित्रभन्दा पुरानो शैलीको छ । यसको उचित प्रसार गर्न सकिएन ।” मातृका गणका टुँडालले सजिएको यो मन्दिर तीन तले नेपाली शैलीमा छ । बिनाजग नै यो मन्दिर ठडिएको जनविश्वास छ । ब्रह्मायणी पीठमा भएको चित्रको समयसीमाबारे मतहरू फरक फरक छन् । भक्तपुरको ब्रह्मायणी पीठमा भक्तपुरवासीले नयाँ बनाएको नवदुर्गाको मुकुण्डोहरूको दर्शन गर्ने परम्परा छ । 

आषाढ कृष्ण अष्टमीको दिन मुकुण्डोलाई सेतो कपडामा बेरी ब्रह्मायणी मन्दिरमा लाने र मुकुण्डोको अन्तिम दाहसंस्कार गरिन्छ । “पनौतीको ब्रह्मायणी जात्रा र भक्तपुरको ब्रह्मायणी जात्रामा केही समानता भेटिए पनि स्थान परिवेशका आधारमा केही फरक हुन पुगेको छ” भनी स्थानीय संस्कृतिविद् शिव जङ्गम बताउनुहुन्छ ।

ब्रह्माणी अर्थात् ब्रह्मायणी ब्रह्माको शक्ति हुन् । कमण्डलु बोकेको हाँसमाथि बसेको गरगहनाले शोभित भएकी देवीले रक्षा गरून् । ‘ब्राह्मी हंसमारुढा सर्वाभरणभूषिता’ भनी कोमल चण्डीमा उल्लेख छ । ‘शुक्तं ब्रह्माणी ! मे रक्षेच्छाया’ हे ब्रह्माणी ! तिमीले मेरो वीर्यको रक्षा गर ।यस्तै भद्रकालीले घाँटी, वाराहीले आयु, वैष्णवीले धर्म, इन्द्राणीले गोत्र र कुलक, महालक्ष्मीले छोराछोरी, भैरवीले मेरी पत्नीको रक्षा गरून् भनी कोमल चण्डीमा उल्लेख छ । यी र यस्ता विशेषता बोकेका कारण मातृका गण पुजिए र सम्मान स्वरूप चित्रहरू बनाउने कार्य भयो । ब्रह्माणीले आफ्नो कमण्डलुको जल छर्केर शत्रुको बल र पराक्रम नष्ट गर्ने गर्छिन् । 

अनादिकालदेखि मातृका गण, देवी वा स्त्री तत्वलाई प्रधानता मान्ने प्रचलन वर्तमानसम्म पनि यथावत् रहेको पाइन्छ । शाक्य सम्प्रदाय वा धर्मका रूपमा यस प्रचलनलाई लिने गरिन्छ । वर्तमान समाज मातृसत्ताबाट नै विकास भएको प्रतीकका कारण देवी, स्त्री, माता आदिलाई शक्तिका रूपमा पुज्ने प्रणालीको विकास भएको हुनु पर्छ । सिन्धुघाँटीको सभ्यतामा अनेक स्त्रीका मूर्ति प्राप्त भएका छन् । देवीहरूलाई उग्रदेवी, सम्यमदेवी र कामदेवीका रूपमा चित्रण गरिएको पाइन्छ । “तन्त्रशास्त्रमा शक्तिको महिमालाई सर्वोपरि मानिएको छ । तान्त्रिक उपासनामा यन्त्र र मन्त्रको प्रचुरता पाइन्छ । यन्त्र देवताको शरीर र मन्त्र आत्मा हुन्” (कल्पना श्रेष्ठ, काठमाडौँ उपत्यकाको सांस्कृतिक परम्परा) । 

श्रीयन्त्र जडित पनौतीको ब्रह्मायणी पीठ काठमाडौँ, कमलादीको पासिको अजिमा (ब्रह्मायणी), ललितपुर सानेपाको ब्रह्मायणी, भक्तपुर तौलाछेँको ब्रह्मायणीभन्दा पद्धति र प्रणालीमा फरक छ । महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये ब्रह्मायणीलाई महासरस्वतीका रूपमा लिइन्छ । पनौतीको सांस्कृतिक वैभवमा चित्रकलाले थप योगदान थपेको छ । 

https://gorkhapatraonline.com/news/73663

नेवार जातिको मौलिक चित्रकला ‘पौभा’

 सनम महर्जन

५ साउन २०७९, बिहिबार

काठमाडौं, साउन ५ गते। ‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ। ‘पौभा’ चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्र बनाउने गरिन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाको अध्ययन गरेर तिनलाई प्रतिकको रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ।  सानैदेखि विभिन्न नेवारी संस्कृति र परम्परा अंगाल्दै हुर्किनुभएका कलाकार राजप्रकाश तुलाधरका अनुसार पौभा चित्र धर्म संस्कृतिसँग जोडिएको कला हो। “पौभा चित्र बनाउन गहन अध्ययन र विचार र धार्मिक नियम हुन्छ। सबै बुझेर जानेर धैर्यतापूर्वक कोर्नु पर्ने हुँदा यो कला बनाउन धेरै समय लाग्छ,” कलाकार तुलाधरले भन्नुभयो। 

कलाकार तुलाधरका अनुसार धेरै वर्ष पहिले धार्मिक प्रयोजनका लागि कोरिएका चित्र प्राकृतिक रंगबाट बनेका हुन्छन्। तर, अहिले विभिन्न रंगको प्रयोग गर्न पाइन्छ जस कारण पौभा कोर्न सजिलो भएको उहाँको अनुभव छ। “व्यापारिक रुपमा लगानीको अर्थ हुँदैन, कलाकारका कलाको भाउ हुँदैन”, उहाँ भन्नुहुन्छ, “कलालाई बुझ्ने र मनपराउने व्यक्तिले कलाको महत्त्व बुझेको हुन्छ।” 

'पौभा’ चित्रकलाका विषय धेरै हुन्छन्। तुलाधरका अनुसार धार्मिक आस्थाबाट आरम्भ भएको ‘पौभा’ अहिले आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन। तर, खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू कम भएको उहाँको अनुभव छ।  

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ 

https://gorkhapatraonline.com/news/19630



Wednesday, November 29, 2023

हिति खोज्दै जाँदा...

 असार १८, २०७९ शनिबार ११:४९:०

तारा चापागाईं


ललितपुर महानगर नजिक पहिला ठूलो पोखरी थियो नागगाः पोखरी पुखु। अहिले त्यहाँ व्यापार प्रवर्द्धन केन्द्र ठडिएको छ। काठमाडौंको केन्द्रबिन्दुमा एउटा प्रख्यात ठाउँ छ– भोटाहिटी (ति)। त्यहाँ अहिले हिति छैन। जहाँ अहिले साझाको भवन रहेको छ। 

हिति र पोखरी उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय र प्रवाह गर्ने थलो हुन्। वातावरणीय सन्तुलनका आधार हुन्। तर, ती संकटोन्मुख छन्। तिनको खोजीनीति हुन सकेको छैन। त्यसैलाई ध्यान दिएर सहरी विकासविद् पद्मसुन्दर जोशीले गहन अनुसन्धान गरेका छन्। त्यसको सँगालोस्वरूप पुस्तक तयार पारेका छन्– ‘हिति प्रणाली।’ त्यसमा राजधानीका पुराना हितिको इतिहासदेखि अवस्थासम्म केलाइएको छ। 

काठमाडौं उपत्यकामा खानेपानी मुख्य स्रोत नै ढुंगेधारा (हिति)हरू हुन्थे। तर पछिल्लो समय खानेपानीका पानी मुख्य स्रोत रहेका हितिहरू केही नासिए भने केही नासिने अवस्थामा छन्। बजारीकरणले खानेपानीको माग बढेको छ भने हितिहरू संरक्षण अभावले सुक्दैछन्। अव्यवस्थित र अनियन्त्रित सहरीकरणले हिति सम्पदा नासिँदै गएका छन्। यहाँका हितिहरू विश्व प्रसिद्ध पनि छन् तर पनि यी सम्पदाहरू संरक्षणको अभावले मासिँदै गएका छन्।

हिति भनेको हामी केवल ढुंगेधारा भन्ने ठान्छौं तर त्यो होइन। हिति प्रणालीमा राजकुलो, पोखरी, भूमिगत जलभण्डार, नाभीमण्डल, हितिधुम, हितिगाँ, हितिमंगद र निकासी प्रणाली गरी ८ वटा भाग हुन्छ भने कतिपय हितिमा पोखरी बनाइएको हुन्छ। यसरी बनेका हिति उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय र प्रवाह गर्ने थलो हुन्। वातावरणीय सन्तुलनका आधार हुन् तर ती संकटोन्मुख छन्। तिनको खोजीनीति भने हुन सकेको छैन।

ऐतिहासिक मानिएका हितिहरूकै संरक्षण सरकारले गर्न सकेको छैन। जसबाट पानी बग्न छोडेका छन्। कतिपय हिति मासेर उक्त ठाउँमा संरचना बनिसकेका छन्। तत्कालीन समयका राजकुलोहरू अहिले सडकमा परिणत भएका छन्। ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा काठमाडौंमा ५० वटा बस्ती छन्। जसलाई किराँतकालबाटै बस्ती बसालिएको थियो। जुन लिच्छविकाल हुँदै मल्लकालमा फैलिँदै गएको इतिहास छ।

पूर्वजले पर्यावरणको ख्याल गरेको पाइन्छ। तत्कालीन समयमा बस्ती बसाउँदा उनीहरूले पर्यावरणको निकै ख्याल गर्ने गरेको पाइन्छ। मानव व्बस्ती, खेतीयोग्य जमिन, पानीको व्यवस्थापन गरी हिति प्रणालीको आविष्कार हुने गरेको पाइन्छ। लिच्छविकालबाटै काठमाडौंमा सहरीकरण भएको इतिहास छ। हिति भनेका के हुन् ? यसबाट के फाइदा छ ? भन्ने विषयमा धेरै नागरिक अनविज्ञ छन्। खासगरी यसमा सतहको मूलको पानीसँगै वर्षात्को पानी उपभोग हुने गर्छ।

सबैभन्दा पुरानो हिति 

हितिको विषयमा पद्मसुन्दर जोशीले हिति प्रणालीको गहिरो अध्ययन गरेका छन्। उनका अनुसार सबैभन्दा पुरानो हिति मंगलबजारको मंगः हिति हो जुन ईस्वी संवत् ५७० मा बनाइएको थियो। १५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएका इतिहासमा उल्लेख छ। तत्कालीन समयमा उपत्यकामा पानी ल्याउने बूढानीलकण्ठ, बागेश्वरी र टीकाभैरव तीन वटा ठूला सिस्टम थिए। जसमा राजकुलोमार्फत पानी ल्याउने गरिन्थ्यो। थहिति, कोहिति र मरुहिति गरी तीन हिति छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ। 

१० नगरपालिकामा ५६३ हिति

काठमाडौंका १० वटा नगरपालिकामा ५ सय ६३ हिति रहेको लेखक जोशीको भनाइ छ। जसमा २ सय ३३ परम्परागत पोखरी रहेको तथ्यांक छ। काठमाडौ महानगरपालिकामा मात्र १ सय ७५ हिति छन्। भन्छन्, हिति भनेको हामी केवल ढुंगेधारा भन्ने ठान्छौं तर त्यो होइन। हिति प्रणालीमा राजकुलो, पोखरी, भूमिगत जलभण्डार, नाभीमण्डल, हितिधुम, हितिगाँ, हितिमंगद र निकासी प्रणाली गरी आठ वटा भाग हुन्छ भने कतिपय हितिमा पोखरी बनाइएको हुन्छ। उनी भन्छन्, हिति बनाउन सजिलो छैन, त्यसका लागि भगीरथ प्रयास चाहिन्छ।

पुर्खाले निकै ठूलो प्रयास र योगदानले बनाएको हिति मासिनु दुःखद् कुरा हो। उनका अनुसार जुरौहरू पनि बेहाल अवस्थामा छन्। अहिले मिनरल वाटरले बजार पिटेको छ। जारको पानीका कारण हितिहरू संरक्षणको अभावमा छन्। काठमाडौं उपत्यकामा बन्दै गएका संरचना र बसाइँसराइले हितिलाई असर गरेको स्पष्ट देखिन्छ। बाह्य स्थानबाट बसाइँसराइ आउने जग्गाजमिन बिक्री वितरण गर्ने कामले पनि यसमा असर गरेको अनुमान विज्ञको छ। खेतीयोग्य जमिनमा ठूला घर बन्नु, राजकुलो भएका स्थानमा सडक बन्नु  र खाली स्थानमा संरचना बन्नुको प्रभाव हितिहरूमा परेको देख्न सकिन्छ।

किन आवश्यक छ पोखरी 

पोखरीको काम वर्षात्मा बस्ती माथि वा वरिपरिको भेललाई रोक्ने र सो क्षेत्र सुरक्षित गर्नु पनि हो। जोशी भन्छन्, ‘लगनखेलमा पोखरी नहुने हो भने लगनखेलको भेलले मंगल बजार जलमग्न हुन्छ।’ पोखरीको काम पानी रिचार्ज गर्नु मात्र होइन, पानी होल्ड गर्नु पनि हो। उनी थप्छन्, ‘त्यसैले रणनीतिक पोखरी भन्छु म।’ उनी बस्तीबीचको पानी संकलन गर्ने ससाना पोखरीको पनि उत्तिकै महत्त्व भएको बताउँछन्।

थहिति, कोहिति र मरुहिति गरी तीन हिति छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ।

हिति संरक्षणले सहरका गरिब मानिसलाई पनि राहत हुने अनुमान गर्न सकिन्छ। जोशी भन्छन्, ‘यो गरिब नागरिकको पानीको आधार पनि बनेको छ। सहरिया गरिबलाई पानीको स्रोत के त ? ट्र्याक्टरको पानी किनेर जीविकोपार्जन गर्न गरिबलाई समस्या छ। जुन ठाउँमा हिति छ, त्यहाँ धेरै गरिब नागरिकले पानी उपयोग गरेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यसले जलवायु असरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

हितिहरूबाट उपलब्ध खानेपानीको स्रोतहरू हराउनु र मासिँदै जानु भविष्यमा मानव जातिलाई असर गर्नेमा कुनै शंका छैन। हिति संरक्षणमा पुर्खाको आफ्नै नियम थियो। पानीको स्रोतलाई पूजा गर्ने मुहान फोहोर गर्न नहुने, पानीको स्रोतलाई संरक्षणका लागि प्रकृतिको पूजा गर्ने लगायतका आफ्नै नियम थिए।

पुस्तान्तरणमा हिति र यसको स्वामित्व

हिति पुस्तान्तरण गर्न यिनको जगेर्ना गर्नु आवश्यक छ। जोशी भन्छन्, ‘हितिको स्वामित्व कसले लिने भन्ने कुरामा प्रष्टता छैन। परम्परागत व्यवस्थापन प्रणाली पनि हराउँदै गयो। विकल्पमा हामीले यसको संरक्षण गर्ने विषयमा सोचेनौं। जसका लागि हितिलाई राष्ट्रिय सम्पदा भनेर घोषणा गर्ने हो भने कानुनी रूपमा संरक्षण गर्ने आधार बन्छ।’ केही समाधानका लागि भइरहेको पोखरीको संरक्षणसँगै खुला ठाउँमा पोखरी बनाउनु पर्छ। वातावरणीय, सामाजिक र आर्थिक हिसाबले पोखरी बनाउन उपयुक्त हुने उनको भनाइ छ।

हिति पुनर्जीवन दिन ब्युँत्याएर प्राकृतिक रूपमै सबै हितिमा पानी ल्याउनु पर्नेमा उनको जोड छ। यसका लागि सरकारले ठोस योजना ल्याउन आवश्यक छ। हितिभित्रको पानीमा भ्यागुता, सर्पलगायत जलस्रोतसँगै जीवको बासस्थान पनि मासिँदै गएको एक अध्ययनले देखाएको उनी बताउँछन्। उपत्यकाको अस्तित्व जोगाउन र खानेपानीको समस्या समाधान गर्न पनि हितिको संरक्षण आवश्यक रहेको उनको भनाइ छ।
ऐतिहासिक हितिलाई पुनर्जीवन दिन आवश्यक छ। यो हाम्रो मात्र होइन, विश्वकै जीवित सभ्यता र सम्पदा हो। यसको दायित्व स्थानीय सरकारको लिनुपर्ने सरोकारवालाको बुझाइ छ। उनीहरू यी हिति स्थानीय

सरकारको सम्पत्ति भए पनि त्यसरी हेर्न र बुझ्न अनि स्वामित्व ग्रहण गर्न नसकेको बताउँछन्। पछिल्लो समय केही नगरपालिका र युवा जमात हिति बचाउमा लागि परेका। भन्छन्, हिति संरक्षण गर्नुपर्छ भन्ने जमात छ। स्थानीय सरकार र स्थानीयवासीको साथ रहेमा सबै ठाउँमा हितिको संरक्षण हुनेमा दुई मत छैन। विकासको नाममा सम्पदा मास्ने सोचलाई सबैले परिवर्तन गर्नुपर्ने जोशीको भनाइ छ।

हिति प्रणालीको अध्ययन पुस्तक 

हिति प्रणाली पुस्तकका लेखक पद्मसुन्दर जोशीले हितिको विशेषमा विस्तृत अध्ययन गरेका छन्। आउँदो साता सार्वजनिक हुन लागेको उक्त पुस्तकमा हिति इतिहास, वर्तमान र भविष्यका विषयमा अध्ययन गरिएको छ। जसमा पुर्खाले हिति बनाउँदा गरिएको एतिहासिक एवं प्राविधिक पक्षदेखि सामाजिक पक्षका कुरा र भविष्यको बाटोबारे उल्लेख गरिएको छ। पुर्खाले बनाएका पुराताŒिवक हितिलाई मासिँदै जानु र जोगाउन सकिने आधार बताइएको छ। पुस्तकमा पुर्खाले बनाएको हितिको इतिहासको कुरा उल्लेख गरिएको छ। प्राविधिक रूपमा हिति कसरी बनाए वा भन्ने कुरालाई विस्तृत रूपमा बताउन खोजिएको छ।

हितिको सामाजिक पक्षमा जोड दिइएको छ। त्यसको व्यवस्थापन पक्ष संस्कृति, रीतिरिवाज र चाडवर्षको महत्त्वसँग जोडिएको हितिका सन्दर्भ पनि समेटिएका छन्। परम्परासँग जोडिएको कुरा टीकाभैरव राजकुलोसँगै ललितपुरको हिति प्रणालीको विषयमा विस्तृत रूपमा प्रस्तुत गरिएको छ। कहाँबाट राजकुलो बग्थ्यो ? कहाँकहाँ पोखरीहरू थिए ? कुनकुन हितिहरू थिए ? साथै के कुराले विनाश भयो ? कहिले विनाश भयो ? यसको विनाशको कारण के हो ? भन्ने समेत उल्लेख छ। योसँगै पुस्तकमा ललितपुरमा पानीका लागि आन्दोलन किन, कहिले र कसरी भयो भन्ने कुरा उल्लेख छ।

झन्डै डेढ दशकको अनुसन्धानपछि तयार पारिएको हितिबारेमा लिखित पुस्तकमा तीन पक्ष समेटिएका छन्, प्रविधिक, सामाजिक र सांस्कृतिक। पुस्तकमा पछिल्लो पुस्ताले हिति के हो र यो किन आवश्यक छ ? अध्ययन गर्न पाउनेछन् हिति जोगाउनु किन आवश्यक छ र यसले के के कुरामा फाइदा पुग्छ भन्ने पनि पुस्तकले स्पष्ट पार्नेमा लेखक विश्वस्त छन्।

https://annapurnapost.com/story/207555/

पुरातात्त्विक पनौती

 फागुन १४, २०७८ शनिबार ११:५३:०

प्रा.डा. सुमनराज ताम्राकार


२०६१ देखि २०७२ सम्ममा गरी पनौती लाय्कुमा पटकपटक गरी उत्खनन भयो। यसले अझै पूर्णता पाएको छैन। धेरै जानकारी प्राप्त हुने क्रममा छ। अझ धेरै रहस्य निराकरण गर्न बाँकी छ।

सानो छँदा शरद यामका स्कुलका फुर्सदिला क्षणहरू धान भित्र्याउनमा बिताइन्थ्यो। त्यो बेला सिमेन्टेड घर अर्थात् ठूल्ठूला कौसी भएका घर हुन्नथे। छाना झिंगटीका हुन्थे। त्यसो भएर धान सुकाउन खलोमै भर पर्नुपथ्र्यो। खासमा त्यो बेला हाम्रो खलो पनौती बसपार्क पारि हालको गुराँसचौरमा पथ्र्यो।

कहिलेकाहीँ मात्र पनौती लाय्कुको चउरमा ठाउँ पाउन्थ्यौं। चउर यस मानेमा पनौतीको लाय्कुले गर्भमा यस्ता पुरातात्त्विक संरचना बोकेर बसेको होला भनेर कल्पनै गर्न सकिन्नथ्यो। किनकि त्यो बेला दिमाग कलिलै थियो। त्यसबेलाको महेन्द्र मालाको पछिल्लो पेजमा रहेको ‘हामी धेरै साना छौं...’ कक्षागत गीत जस्तै। पेन्डुलम सरी जीउलाई अगाडि पछाडि गरी कक्षागत गीत गाउने समय थियो त्यो।
खलोमा रातिराति कुर्नुपर्ने हुन्थ्यो, सँुगुर आई भसक्कै पार्ने डर हुन्थ्यो। अनि खलोमा राति कुर्न पकुचा (स–साना छाप्रा) बनाइएका हुन्थे। खलोमा कुर्न जाने हामीजस्ता बालकका साथै एक पिँढी अग्रज पनि हुन्थे। खलो कुर्ने काम रमाइलोसँगै डर र जोखिमले भरिपूर्ण हुन्थ्यो। एकातिर बसपार्कछेउको गुराँसचौर नजिकै रहेको सतीवनको डरलाग्दा कथाले जिउ नै सिरिङ बनाउँथ्यो। अर्कोतिर सम्साँझै स्यालको 
हुइँयाले मुटुको चाललाई ढ्याङ्ग्रोसरि बनाउँथ्यो। फर्किउँ पनौती लाय्कुतिर।
एक रात बेलुकी सदाझैं पकुचामा सुतिरहेको थिएँ। एक्कासि ‘महाराजको जय होस्, महाराजको जय होस्’ भन्ने करतल ध्वनिका साथ लावालस्कर निस्किन लागेको देखें। रामवद्र्धन परिवारका महासामन्त अनेकरामले इन्द्रेश्वर मन्दिरमा सुनको छाना चढाउने, आफ्नो तौलबराबरको सुन दान दिने अभिप्रायले लाय्कु दरबारबाट सवारी चलाउन लागेको रहेछ। लाय्कुमुनि घोडचढीहरू तम्तयार अवस्थामा थिए, अहा ऽऽ ! कति राम्रोसँग सजाइएका घोडाहरू, अनि त्यत्तिकै आकर्षक तवरले सजाइएका हात्तीहरू पनि।
लाय्कुपरिसर हात्ताी बाँध्ने ठाउँ 
लाय्कुबाट इन्द्रेश्वर महादेव मन्दिरको दूरी कति नै छ र ? हदै भए ५० मिटर। तर पनि महासामन्त अनेकरामले अगलबगलमा आफ्नो प्रभुत्व र रवाफ जो देखाउनु थियो। कति चिटिक्क परेको तीनतले दरबार, पूरै नेवारी कलाशिल्पले परिपूर्ण, कलात्मक तवरले कुँदिएका काठका झ्याल र ढोकाहरू। तोरण उत्तिकै राम्रा, मनमोहक। हेरुँ रहुँ जस्तो लाग्ने। फेरि ‘महाराजको जय होस् महाराजको जय होस्’ भनी गगनभेदी जयजयकार गुञ्जायमान हुन थाल्यो। महाराजया सवारी न्ह्याईकिन स्ववा, स्वावा मथां (महाराजको सवारी चलाउनै लाग्यो क्यार ? हेर्न आउँ, हेर्न आउँ, छिटो।) होइन, मैले महाराजको अनुहार किन प्रष्ट देख्न सकिरहेको छैन।
विभिन्न आभूषण, गरगहना, रंगीचंगी वस्त्रले सुसज्जित महाराजको दर्शन मात्र पाएँ पनि धन्य हुने थिएँ नि। सपना पो देखिरहेको रहेछु, तन्द्रामै लाठी लिएर साथीसँग सुँगुर धपाउन लागें। बुवाले त भन्नुहुन्थ्यो, यो पनौतीको लाय्कुपरिसरको नाम किसीगल (हात्ती बाँध्ने ठाउँ) हो। परापूर्वकालमा यहाँ दरबार थियो। भाइ भारदारका आआफ्नै भवन थिए। त्यसैले पछिसम्म पनि कतिपय रात घोडाहरू हिन्हिनाएको र घोडाको तापको आवाज सुनिन्थ्यो। त्यो सुन्दा जीउ त अजिंगर जस्तै फुल्थ्यो। त्यसो भएर एक्लै एक्लै राति किसीगलमा जानु हुन्न भनिन्थ्यो। घर त बगलमै थियो। तर पनि पकुचामै त्यो रात अनिँदो रात कटाएँ।

पनौती लाय्कु क्षेत्रको उत्खनन क्रममा भेटिएका गोलहरूको कार्बन डेटिङ गर्न सकेको खण्डमा ती संरचनाहरूका प्राचीनताको वैधता पुष्टि हुन्थ्यो। पनौती लाय्कु क्षेत्रबाट निकै सावधानीपूर्वक संकलित नमुनाहरू पुरातत्तव विभागमा संरक्षण/भण्डारण गरि राखिएको छ।

बुवा थप्नु हुन्थ्यो, ‘हाम्रा पुर्खा त्यही दरबार बनाउने क्रममा गजुर तथा तोरणहरूमा सुन लेपिएका कलात्मक सिर्जनार्थ पाटनबाट झिकाइएका थिए रे। कलाशिल्प देखेर रानी खुसी भएर हामी तमोटहरूलाई दरबारको अगलबगलमै घरघडेरी बनाएर गरिखाओस् भनेर जग्गाजमिन दिइएको रे।’ सानो बेला दिमागमा बुवाका ती कुरा अनि पकुचामा देखेको सपना धुमिँलिँदै गयो। समयकालमा यी सबै कुरा बिर्सिसकेको पनि थिएँ।

पनौतीबाट उपत्यकाको शासन
रामवद्र्धन परिवारका ज्योतिरामदेखि शक्ति सिंहरामसम्म शासकहरूले बेलाबखतका उतारचढाव झेली नेपाल मण्डल एवं अगलबगलमा करिब एक शतक राज गरे। यस अवधिमा अनेकराम (वि.सं. १३८९–१४१२) र जय सिंहराम (वि.सं. १४१७–१४५७) तुलनात्मक रूपमा नायक साबित भए। रामवद्र्धनको परिवार पनौतीकै थियो कि यता शासन मात्र गरेका थिए भन्ने विवाद अझै छ। १४औं तथा 
१५औं शताब्दीमा रामवद्र्धनको परिवारले पनौती भेगमा मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

त्यसबेला बनेपा वरपरका भू–भागमा यिनीहरूकै हालिमुहाली थियो। १४५२ सालमा स्थिति मल्लको मृत्युपश्चात् रामवद्र्धन परिवार झनै शक्तिशाली बन्यो। यसरी रुद्र मल्लको अवसान (वि.सं. १३८३) देखि उदाएका रामवद्र्धन खलक यक्ष मल्लको उदय (वि.सं. १४८५) सँगै विलीन हुन पुगे। चिनियाँ वृत्तान्तमा १४८४ सालसम्मका शक्ति सिंहरामका क्रियाकलाप उल्लेखित छ।

एउटै शिलामा अडेको सहर
‘वा पुता छन्ता जिं चिंक बुइके, थौं घ्य चाकुसल्हुँ खुन्हु निबाले च्वङ चिकं बुसा दाछी तक चिकु जुईमखु।’ (आऊ नाति, आज म तिम्रो शरीरमा तेल लगाइदिन्छु, माघेसंक्रान्तिको दिन घाममा बसी तेल घसे वर्षदिन जाडो हुँदैन।) यसरी अजी (हजुरआमा)ले न्हुबहाल (राजकुमार महासत्वका पूर्वजहरूको दरबार रहेको विश्वास गरिएको चोक)को सानो चैत्यको आडैमा सुकुल बिच्छ्याएर मलाई तेल लगाउन थाल्नु भयो।
अजीका हातका कतिपय औंला थिएनन्। अजीलाई ती औंलाहरू खोइ भनेर त्यो बेला बालसुलभ तरिकाले सोध्दा एक पटक रक्सी पार्दै गर्दा मृगी (छारेरोग)ले छोपेको बेला आगोमा औंला परेर झरेको रे। अहिले विगत सम्झिँदा कठै अहिले भएको भए (चिकित्सक भएको नाताले) छारेरोग, पोलाइको दुवै उपचार गराउँथे होला। फर्किउँ माघीकै दिन।

माघीको न्यानो घाममा तकातगु प्वाकलं (कपास हालिएको भोटो), लं (चोलो), सुरुवाल फुकालेर अजीले तेल घस्ने कार्यसँगै पनौती सहर एउटै ढुंगामाथि बसेको कथा हाल्न थाल्नुभयो। नजिकै मेरो बाज्या रत्नबहादुर पनि घाममै बसी लाहामा अड्याएको लगनको सुनको तिलहरीमा काठको कमलो हथौडाले ट्वाक ट्वाक... टुक टुक... गर्दै बुट्टा हाल्दै हुनुहुन्थ्यो। अस्तिका दिन पो पनौतीका किंवदन्तीहरू अंग्रेजीमा लिपिबद्ध गर्ने बेलामा पनौती कसरी उत्पत्ति भयो भन्ने कथा पढें।

कथाअनुसार, नागका आमा कद्रु र गरुडका आमा विनिताका कथा, स्वर्गलोकबाट अमृत चोरिएको वृत्तान्त, अमृत भेट्टाएर स्वर्ग फिर्ता लगेको अनि अमृतका केही अंश लागेको ढुंगा पनि फर्काएर ल्याउन देवराज इन्द्रको आदेश दिएको थाहा भयो। अनि गौतम ऋषिले ती ढुंगा फर्काउन आवश्यक नरहेको र अबदेखि आफू अहल्यासहित यहीँ ध्यान जप गर्न थाल्ने र यस ठाउँ उत्तर प्रयागको रूपमा प्रसिद्ध हुने 
किंवदन्ती रहेछ। त्यसपछि पो अजीका त्यो बेलाका कुरामा सत्यता रहेछ भन्ने बुझें।

अजीले सुनाउनु भएको अस्म नगर (एउटै शिलामा अडेको सहर) कथासँगै १९९० सालको भूकम्पमा छानोको एउटा झिँगटीसम्म पनि नखसेको कथा पनि थाहा थियो। त्यसपछि त म लोलाउन थालेछु। मलाई घोप्टो पारेर तेल लगाउने क्रममा मेरो दायाँ कान जमिनमै टाँसिएको थियो। जमिनमुनि त मैले के के सुन्न थालें, के के ? जोडजोडले चिच्याएको, रोइकराई गरेको रोदन मिश्रित कुराहरू पो सुन्न थालें। राजकुमार महासत्वले निर्वाण प्राप्त गरेको खबर महारथको दरबारमा आइपुगेलगत्तै कोलाहल, रुवावासी मच्चिएको रहेछ।

पनौती अर्थात् ‘पाञ्चाल देश’
बौद्ध कथनअनुसार पनौतीलाई ‘पाञ्चाल देश’ भनिन्थ्यो। जहाँ बुद्धका ३२औं अवतार मानिएका पनौतीका राजकुमार महासत्वको जन्म भयो। पाञ्चाल राज्यका राजा दिर्गरथका नाति राजा महारथका तीन छोरामध्ये कान्छो राजकुमार महासत्व एक दिन 
सिकार खेल्न निस्किए। पनौतीबाट करिब १० किलोमिटर पूर्वस्थित गन्धकुट पर्वत (नमोबुद्ध)मा सुत्केरी बघिनीको हृदयविदारक अवस्था देखे। आफ्नै शरीरको मासु काटेर बघिनीलाई खुवाई निर्वाण प्राप्त गरे। करिब ६ सय वर्षपछि बुद्ध तपस्या गर्न नतमस्तक हुनु परेकाले उक्त स्थानको नाम ‘नमोबुद्ध’ रहेको पुस्तकमा पाइन्छ।

पनौतीको लाय्कु परिसरको नाम किसीगल (हात्ती बाँध्ने ठाउँ) हो। परापूर्वकालमा यहाँ दरबार थियो। भाइ भारदारहरूका आआफ्नै भवन थिए। त्यसैले पछिसम्म पनि कतिपय रात घोडाहरू हिन्हिनाएको र घोडाको तापको आवाज सुनिन्थ्यो।

महारानी एवं राजपरिवारका अन्य सदस्यको रोइकराइसँगै सुतिरहेकै अवस्थामा म पनि हिक्क हिक्क गरी रोएछु। त्यो देखेर ‘हाय् पुता, हाय् पुता, कुलाय्, कुलाय्’ अर्थात् नातिको सातो गए जस्तो गरी दुवैतिर कान फुकी मेरो सातो फर्काउन लाग्नु भयो। यसै मेसोमा मेरो बाज्या रत्नबहादुर पनि दौडेर आउन भ्याइसक्नु भएको रहेछ। महासत्वका हजुरबुवा रोशीको किंवदन्तीसँग जोडिएका उही दिर्घरथ त हो नि। धेरै वर्षअगाडि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेकाले पनौतीका राजा दिर्घरथ र पाटनका राजा सत्यवर फूलचोकी माईसँग पानी माग्न गए। जसले पहिला सुन र चाँदीको फूल चढाउन ल्याउँछ, त्यहाँ पानी पठाउने वचन फूलचोकी माईले  दिइन्।

पनौतीका राजाले मन्त्री, भाइ–भारदारहरूको सल्लाह मुताविक सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मुलाको फूल फूलचोकी माईलाई चढाएछन्। कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नु परेको बिन्ती चढाएपछि फूलचोकी माई प्रसन्न भएर नदी सृष्टी गरी पनौतीतर्पm पठाइन्। जसलाई आज भोलि लीलावती (रोशी) भनिन्छ। 

पछि पाटनका राजाले साँच्चिकै सुन र चाँदीको फूल लिएर गए पनि पनौतीमा पानी पठाइसकेको कुरा थाहा पाए। आफूलाई पनि वरदान मिल्नुपर्ने जिकिर गरेपछि फूलचोकी माईले अलिकति पानी पाटनतर्पm पठाइदिइन्। जुन नदी गोदावरीको नामले चिनिन्छ। त्यसो भएर प्रत्येक ६ वर्षको अन्तरालमा गोदावरीमा साउनमा र पनौतीमा माघमा बाह्रवर्षे मेला लाग्ने गरेको जनविश्वास छ।

किसिगलको गर्तमा पुरातात्तिवक सामग्री
समयक्रममा रोशी र पुण्यमातामा धेरै पानी बग्यो। अजी, बाज्याको अवशान भयो। चिकित्सक बन्ने धुनमा १४ वर्ष वनवास गएसरह यताउती समय व्यतित भयो मेरो। बुवाहरूकै पहलमा तमोटहरूको गुठीले पुनर्जीवन पायो। बुवाकै संयोजकत्वमा गुठीघर बनाउने भयो। पनौतीमा घर संरचना बनाउँदा देश ल्हों (ढुंगा) नभेटेसम्म जग खन्ने क्रम जारी नै राख्नुपर्छ भनिन्छ। तर, लाय्कु परिसरमा देशल्हों भेटिनुअघि लुम्बिनीमा देखेजस्ता चिटिक्क परेका गाह्राका निशानहरू भेटिन्थे।

यसै मेसोमा किसिगलमा पुरातत्त्व विभागबाट उत्खनन गर्ने घोषणा भयो। समय लागे पनि उत्खनन गर्न थाल्यो विभागले। किसिगलको गर्तमा लुकिरहेका नानाथरीका पुरातात्त्विक सामानहरू भेटिए। पकुचामा देखेको सपना, किसिगलसम्बन्धी बुवाका कहावतहरू र अजीका बाखं (कथा)हरू  मानसपटलमा सजीव हुन थाल्यो। तर विशेषज्ञ चिकित्सक बन्ने हुटहुटीले दक्षिण भारतको कर्णाटक राज्यस्थित मणिपाल पुगें।
सिम्रौनगढबाट लखेटिएका कर्णाटकवंशी हरिसिंहदेव यही बाटो हुँदै काठमाडौं उपत्यकामा शरण लिन आउने क्रममा यही किसिगलमा एक रात बास बसेको थाहा भयो। योसँगै तलेजुको स्थापना भएको कथा पनि सुन्दै हुर्केको अनि त्यही तलेजु मन्दिरको आडैमा रहेको घरमै जन्मिएको म दक्षिण भारतको कर्णाटकमै गई प्रसूति रोग दक्षता हासिल गर्न जानु पर्नाको कनेक्सन के रहेछ ? सोच्दा मात्र पनि रोमाञ्चित हुन्छु।

लाय्कु उत्खननमा घोडा बाँध्ने तबेला
मध्यकालका ऐतिहासिक सामग्रीहरूमा दरबारलाई लाय्कु, राजकुर, लालकुल, लाजकुट शब्दहरू प्रयोग भएको पाइन्छ। यी शब्दहरू राजदरबार बुझाउने संस्कृत शब्द राजकुलकै अपभ्रंश हुन्। २०६१ देखि २०७२ सम्ममा गरी पनौती लाय्कुमा पटकपटक गरी उत्खनन भयो। यसले अझै पूर्णता पाएको छैन। तर धेरै जानकारी प्राप्त हुने क्रममा छ। अझ कति धेरै रहस्य निराकरण गर्न बाँकी नै छ। मध्यकालीन लाय्कुमा विभिन्न प्रयोजनका लागि चोकहरू बनाइन्थ्यो। पनौती लाय्कुमा पनि नौवटा चोक रहेको विश्वास गरिन्छ।

हालसम्म चारवटा चोकका निसानीहरू मात्र भेटिएका छन्। उत्खननकै क्रममा दची अपाबाट निर्मित मन्दिरको भग्नावशेष फेला परेको छ। यसै मन्दिरको जगमाथि हालसम्म पनि दसैंको अवसरमा पनौती देशका तर्पmबाट जमरा राख्ने तलेजुको मन्दिर नै हो। त्यसैगरी इनार दुईटा भेटिएका छन्। न्हुबहालसँगै अन्य दुईटा अझै पनि भएकाले सायद त्यो बेला इनार पनि नौवटै थिए। एउटा सानो पोखरीको भग्नावशेष पाइएको छ। त्योबेला दरबारको चारै कुनामा सुरक्षाका लागि सुरक्षाकर्मी राख्ने प्रचलन थियो। हालसम्म एउटा सुरक्षाचौकीको संरचना भेटिएको छ। उत्तर पश्चिम कुनामा भान्छाघरसहितको बस्ने कोठाको संरचना पाइएको छ।

एउटा प्रस्तर स्तम्भ भेटिएको छ। घोडा बाँध्ने तबेलाका ६/७ वटा अवशेष भेटिएका छन्। यस ठाउँको नाम रैथाने नेवारीमा किसिगल भनिने गरेकाले हात्ती बाँध्ने ठाउँ पनि हुनुपर्छ। बलि दिएका राँगो राख्नेजस्ता ठाडा ९ वटा इँटाहरू राखेर बनाइएका विशेष चिह्न भेटिएको छ। केही भाग टुटफुट भएको यन्त्राकार प्रस्तर भेटिएको छ। कर्माचार्य पुजारीहरूका अनुसार उक्त यन्त्र तलेजुसँग सम्बन्धित छ।

प्रस्तरकै देवीको जस्तो देखिने सानो वरद् मुद्राको मूर्ति भेटिएको छ। पशुपतिको चित्रअंकित लिच्छविकालीन मुद्राहरूका साथै शाहकालका मुद्राहरू पनि भेटिएका छन्। नवपाषाण युगका हतियारका अंशहरू भेटिएका छन्। लोहोरो भेटिएको छ। माटाले बनाएका घरायसी सामानहरूका अंशहरू पनि उत्खननमा फेला परेका छन्। अहिले पनौती लाय्कु क्षेत्रको ड्रोन भ्यु वा बर्ड आई भ्यु हेर्ने हो भने लुम्बिनी वा तिलौराकोटकै 
सानो अंश पनौती सहरको बीच थपक्कै ल्याएर राखेको जस्तो भान हुन्छ।

भेटिए नवपाषाण युगका हतियार
अझै पनि ती संरचनाहरू कति वर्ष पुराना ठ्याक्कै भन्न सकिने अवस्थामा पुगिसकेको छैन विभाग। प्रमाणित गर्ने प्रयास जारी छ। नवपाषाण युग (करिब ७ हजार वर्ष पुराना) हतियारका अंश भेटिए पनि कहीँबाट ल्याएर राखेको जस्तो देखिन्छ। त्यहाँ भेट्टिएका लिच्छविकालीन सिक्काहरूले ती संरचना लिच्छविकाल हुन् भन्ने प्रमाणित गर्ने नभई जग हाल्ने बेला अन्य पूजा सामग्रीसँगै राखेका प्रतीत हुन्छ।

पनौती लाय्कु उत्खननको क्रममा फर्पिङ एवं काठमाडौं उपत्यकामा भेटिएका तेह्रौं, चौधौं शताब्दीकालीन पोलिएका इँटाहरू छन्। साथै पछि भूपतिन्द्र मल्लले जीर्णोद्धार गर्न लगाउँदा ताकाको इँटाहरू पनि भेटिए। उत्खननको क्रममा भेटिएका अन्य पुरातात्विक सामग्रीहरूको प्रारम्भिक विश्लेषणबाट यो दरबार पनि मध्यकालीन समयको हो कि भन्ने प्रमाण बलियो हुँदै गएको छ। ती संरचनाहरू कम्तीमा रामवद्र्धनकालीन (बाह्रौं, तेह्रौं शताब्दी)का हुन् भन्नेमा अब दुई मत रहेन। तर त्योभन्दा पुराना लिच्छविकाल, किराँतकाल, पाषाणकालका हुन् कि भन्नेमा खोज बाँकी नै छ।
अब के छ उपाय उद्धव सर ?
संक्षिप्त उत्तर– कार्बन डेटिङ।

पनौती लाय्कु क्षेत्रको उत्खनन क्रममा भेटिएका गोलहरूको कार्बन डेटिङ गर्न सकेको खण्डमा ती संरचनाहरूका प्राचीनताको वैधता पुष्टि हुन्थ्यो। सामान्यतः कार्बन डेटिङका लागि संकलित मानिसको हातले छुनु हुँदैन। पनौती लाय्कु क्षेत्रबाट निकै सावधानीपूर्वक संकलित नमुनाहरू पुरातत्त्व विभागमा संरक्षण/भण्डारण गरिराखेको छ।

कार्बन डेटिङको महत्त्व थाहा पाएपछि यससम्बन्धी जानकारीको भोक निमिट्यान्न पार्न धुईंपत्ताल गुगल गर्न थालें। कार्बन डेटिङका लागि काठ, छाला, बीउबिजन, माटो, कपाल, हड्डी, भाँडाकुँडालगायतका सामग्री उपयुक्त हुने रहेछ। कुनै पनि सामग्रीमा रहेको कार्बन तत्त्वको क्षयीकरणको अध्ययनसँगै उक्त सामग्रीको आयु पत्ता लगाउन सकिने रहेछ।

लाय्कुका प्रमाणहरू रामवर्द्धनकालीन
हालसम्म पनौती लाय्कुका प्रमाणहरू रामवद्र्धनकालीन हुन् भन्ने अनुमान लगाइयो। तर पनि पनौती लाय्कु परिसरमा महोसत्व अनि उनका पूर्वजहरूको दरबार रहेको थियो भन्ने हो भने कम्तीमा २६ सय वर्ष हुनुपर्ने (किनकि पछिल्लो पटक हामीले २५६५औं बुद्ध जयन्ती मनाएका थियौं भने भगवान् बुद्ध घुम्दै फिर्दै यस क्षेत्रमा आई महासत्वको योगदान थाहा पाई नतमस्तक भएका कारण नमोबुद्धको स्थापना भएको किंवदन्ती छ।) हो।

छोटकरीमा, रामवद्र्धनकालीन हो कि महासत्वका पूर्वजकालीन हो कसरी प्रमाणीकरण गर्ने ? के कार्बन डेटिङ नै अचुक अस्त्र हो ? अनि वस्तुहरूको कार्बन डेटिङ र प्राणीहरूको डीएनए म्यापिङ उस्तैउस्तै हुन् ? तिनीहरूबीच के अन्तर–सम्बन्ध छ ? विज्ञानमा पढेअनुसार कुनै पनि इनर्जी (शक्ति) को क्षय हुँदैन, केवल रूप मात्र फेरिने हो। यसमा सत्यता छ भने आकाशमण्डलमा हालसम्म यत्रतत्र भड्किरहेको अर्थात् सञ्चित साउन्ड इनर्जी (पूर्वजहरूकै पनि) कुनै बेला ट्यापिङ गर्ने प्रविधि नआउला ? यसो हुन सक्यो भने पूर्वजहरूबाट नै पनौती लाय्कुको प्राचीनता अनि वास्तविकताबारे ‘फस्र्ट ह्यान्ड’ जानकारी पाइएला कि !

- चिकित्सक ताम्राकार पनौतीका सांस्कृतिक एवं पुरातात्विक अभियन्ता हुन्।

https://annapurnapost.com/story/197224/

कान्तिपुरी नगरी काष्ठकलाको अलकापुरी

 पुष १०, २०७८ शनिबार १३:१५:०

तेजेश्वरबाबु ग्वंगः


वैज्ञानिक प्रविधि, उपकरण र कलकारखानाका होडमा हाम्रा पौराणिक हस्तकलालाई यथावत् जगेर्ना गरिराख्न कठिन साध्य बनेको यथार्थ हो।

नेपाली काष्ठकारिगरी काठमाडौं उपत्यकाका तीनवटै सहरको गौरव मानिन्छन्। यी काष्ठकारिगरी खासगरि नेपाल र नेपालीका लागि गौरवशाली गरिमाका संवाहक पनि बनेका छन्। यस गरिमाको ऐतिहासिक पृष्ठभूमि लिच्छविकालीन सभ्यतासित जोडिएको पाइन्छ। यसको प्रत्यक्ष प्रामाणिक इतिहास विश्वविख्यात चाँगुनारायणको मन्दिर हो। जुन भक्तपुर जिल्लाको उत्तरपश्चिममा छ। यो मन्दिरमा जडित काष्ठकारीपूर्ण झ्यालढोका, टुँडाल र अनेक प्रकारका चित्रकारी आँखीझ्याल खासगरि बाह्य पर्यटकका आँखामा गढ्ने गरेका छन्।

नेपाली काष्ठकारिगरी सहरकै गौरवशाली गरिमाका संवाहक बनेको छ। यो गरिमाको ऐतिहासिक पृष्ठभूमि लिच्छविकालीन सभ्यतासित जोडिएको छ। यसको प्रत्यक्ष प्रामाणिक इतिहास भक्तपुर जिल्लाको उत्तरपश्चिममा रहेको विश्वविख्यात चाँगुनारायणको मन्दिर रहेको छ। यो मन्दिरमा जडित काष्ठकारीपूर्ण झ्यालढोका, टुँडाल, अनेक प्रकारको चित्रकारी आँखीझ्याल रहेका छन्। संस्कृत वाङ्मयमा चाँगुनारायणलाई चम्पक नारायण भनिन्छ। तत्कालीन अवस्थामा चाँगुनारायण स्थानमा चाँपको घना जंगल थियो। चम्पक वर्तमान नेपाली वाङमयमा चाँप नै हो। चाँप शब्द लिच्छवि भाषाबाटै हाम्रो वाङमङ नेपालीमा प्रवेश भएको थियो। 

भनिन्छ, चाँपको काठ नितान्त कमलो हुन्छ। काष्ठकारिगरी गर्नेका लागि अत्यन्त नै उपयुक्त आधार वस्तु। काष्ठकारिगरी भन्नु काठमा बुट्टा कुँदेर कलावस्तु बचाउनु नै त हुँदो हो। मात्र चाँपको काठलाई पानीले जोगाउन पर्नै हुन्छ। झरी पानीले यसलाई भसक्कै निमित्यान्न पार्दो हुन्छ। कमलो काठमा बुट्टागरी सुगम पर्दो हुन्छ। उत्तम वस्तु भएरै चाँपलाई काठका राजा भनिन्छ। मेरै जीवनकालमा भक्तपुर, ललितपुर, कान्तिपुरका मन्दिर र अरू कलावस्तु संग्रहालयमा चाँपका काष्ठकारिगरी यथावत् रहेका छन्। काष्ठकारीपूर्ण कलावस्तुहरू बनेपा, धुलिखेल, खोपासी, पनौती, डोटी, सिलगढी दार्जीलिङका मन्दिरहरूमा पनि देखेको हुँ। जंगबहादुरका भाइ धीरशमशेरले त झन्डै भक्तपुरका पाँचतले, ललितपुरको बगलामुखी जस्तै कलाकृतिपूर्ण भव्य मन्दिर धीरधामै बनाउन लगाएको रहेछ। नेपाली मौलिक कलाशैलीमा धीरधाम अझै अध्यावधिक तन्दुरुस्त छ। नेपाल राज्यको अमित सांस्कृतिक सीमा स्तम्भको प्रतिमूर्ति झैं लाग्छ हाम्रो सांस्कृतिक स्तम्भ समान त्यो। 

अचेल हाम्रा जीवन्त जमानाले बनेपा भन्ने गरेको काभ्रे जिल्लाको एक नगर लिच्छविकालका आधार भूमि रहेको थियो। त्यहाँ अचेल भरी चण्डेश्वरी माईको भव्य मेला लाग्छ। चण्डेश्वरी जात्रामा स्थानीय युवा पुस्ताले माईको रथ काँधमा बोकी झुलाउँछन्। झुलाउने अवसरमा जुरुकजुरुक उचाल्ने अवसरमा ‘ल्ह्वाकायो मायन ल्ह्वाकायो’ भन्ने प्रचलन छ। प्रफुल्ल उमंग अवस्थामा अनायासका उल्लास यो। चण्डेश्वरीका मन्दिर पीठमा चाँपको बोट थियो। त्यसै बोटको जरोमा चण्डेश्वरी माईको आगम रहेकाले चण्डेश्वरीको आवास गृह मान्छन्, अद्यावधिक बनेपाली बन्धुहरू।

लिच्छविकालीन नेपालको आधारभूमि सम्भवतः बनेपा थियो। चण्डेश्वरी माई मन्दिर परिसर पनि अति प्राचीन अवस्थाको काष्ठकारीपूर्ण रहेको छ। चण्डेश्वरी स्थलमा उसबेला चाँपको घना जंगल रहेको धारणा राख्दछन्। इतिहासको एक कालखण्डमा लुम्बिनी एकीकृत ग्रामीण विकास परियोजनाको परिकल्पना गरिएको थियो। जापानका विभिन्न प्रिफेक्चरमा स्थापित–निर्मित बुद्धका पावनस्थलहरू अवलोकन भ्रमणमा जाँदा बुत्सु बुत्सु पुकारेको सुनेथें। त्यहाँका पैगोडा शैलीमा निर्मित बुद्धस्थलका काष्ठकारी पनि आफ्नैपन झल्काउने खालका आकर्षण रहेथे। टोकियोको ‘आशाकुशा स्राइन’मा त भव्य हीरामोती नवरत्न जडित बुद्धको आकृति अवलोकन नितान्त आल्हादक रहेथ्यो।

स्राइनभित्रको बुत्सु दर्शनार्थ बनाईका ठूलाठूला ढोकाका गाह्रोमा सुनौलो यामानका सोनापत्र टाँगिएको पाएँ। मेरो पथप्रदर्शक महाशयसित जिज्ञासा राखें, ‘यो के हो ? मित्सुकी साँ ? उहाँले भन्नुभयो, ‘यसको पूर्ण जानकारी मसित पनि छैन। तपाईंहरू तिरबाटै आएको भनेकोसम्म सुनिजानेको छु।’ म ढुक्क भएँ अब यो हाम्रै नेपालको हो। यसलाई नेपाल भाषाको रञ्जना लिपिको कुत्ताक्षर भनिन्छ। रञ्जना लिपि संयुक्त राष्ट्रसंघमा दर्ता भएको नेपाल राष्ट्रकै मौलिक लिपि हो। स्वर्गीय राजा महेन्द्रका पालामा २०१३ सालमा संयुक्त राष्ट्र संघको सदस्यता निमित्त हाम्रा चलनचल्तीका देवनागरी लिपि उल्लेख गरेकोमा यो त भारतको हो। नेपालको हो भने त्यसपछि काठमाडौंमा विज्ञजनबीच साहुती गरियो। अनि नेपाल भाषाको सुन्दर कलात्मक रञ्जना लिपि संयुक्त राष्ट्रसंघमा दर्ता भएको थियो। रञ्जना लिपिमा अभिलिखित सोनापत्र, ताम्रापत्र आदि काष्ठकारिगरितापूर्ण मन्दिर, स्मारक स्थलहरूमा जडित पाइन्छन्। यत्रतत्र अझै।

भक्तपुरस्थित न्यातापोल मन्दिर

अन्तरमनले गुनगुनाए, ‘हाम्रामा पनि यति भव्य लिच्छवि र मल्लकालीन उत्कृष्ट प्रस्तर, काष्ठ, धातु मूर्तिहरू टुट्ने फुट्ने नगरी कुनै अत्याधुनिक आवरण दिएर सुरक्षित राख्नु परिष्कृत हुँदो हो। सरोकारी वर्गका ध्यानाकर्षण गर्ने चेष्टा जागिरहन्छ। यस्तो चेष्टा जाग्नुको अन्तर्य हाम्रा ती अनमोल कला–साधनाहरू वैज्ञानिक उपचारबिना लापरवाह यत्रतत्र परिरहेका छन्। त्यसो त हाम्रो प्राचीन–पौराणिक–तान्त्रिक विधिमा प्रस्तर मूर्तिहरूमा दूध, दही, सखर, मह, घिउ समानुपातिक मिसावट मिसाएर लेपन गर्ने प्रविधि नभएको होइन। यस विधिलाई पञ्चामृत लेपन विधि भनिन्छ।

काष्ठकारिगरीलाई घामपानीबाट जोगाउन प्राकृत जडीबुटीलाई बेसरी पकाएर लेपन गर्ने प्रविधि नभएको होइन। कालान्तरमा बार्नेस, इनामेल पोलिसिङले बजार पाएपछि हाम्रा मौलिक वस्तुगत प्रविधिहरू अन्तरध्यान हुन पुगेका हुन्। वैज्ञानिक प्रविधि, उपकरण र कलकारखानाका होडमा हाम्रा पौराणिक हस्तकलालाई यथावत् जगेर्ना गरिराख्न कठिन साध्य बनेको यथार्थ हो। २०१३ सालको फागुन बाह्रबिसे माथि फुलपिङ कट्टी पुग्दा वनस्पति जडीबुटीहरू ठूल्ठूला खर्खण्डोमा इनामेल जस्तै बनाइएको ग्रामीण परिपाटी प्रत्यक्ष दर्शन गर्न पाएथें।

जेसुकै भए पनि मौलिक काष्ठकारिगरी यति वैविध्य/विविधतापूर्ण छ यो छोटो प्रस्तुतिमा वर्णन गर्न साध्य हुन्न। यहाँ छोटो मिठो ढंगमा आँखेझ्यालको प्रसंग जोड्ने जमर्को गर्न चाहेको छु। आँखेझ्याल साना, ठूला, सादा, बुट्टेदारहरू छन्। भक्तपुर दत्तात्रय स्थानको पुजारी मठको पूर्व दिशाभिमुख मयूरझ्याल विश्वविख्यात छ। यति कलात्मक झ्याल मात्र त्यही नै रहेको छ। आँखीझ्यालको चारैतिर ससाना मयूरहरू झरर् उड्ला जस्तै जीवन्त ढाँचामा कुुँदिएका छन्। यति धेरै पर्यटकहरू आगमन भइरहन्छन् कि क्युरियो सामग्रीहरू, मृत्तिकाका मकुण्डोजडित पुतलीहरू आदि आकर्षण विन्दु बनेका छन्।

आँखेझ्याललाई नेपालभाषामा तिकिझ्याल, आङ्लोमा पिपिङ विन्दो/ल्यातिस भनिन्छ। केही नदेखिने भाव बोधक हुन्छ आलेख। यसले कोठाभित्रबाट बाहिर चियाउन मिल्ने अर्थबोध हुन्छ। बाहिरबाट भित्र केही नदेखिने भावबोधक यथार्थ बनेको छ। यसको प्रयोजन समय, युग, प्राकृतिक, सामाजिक, सांस्कृतिक पर्यावरण र संस्कार अनुरूप भएका छन्। समय युगानुकूल हुन्छ। युग प्रकृति र पर्यावरणमा चल्छ, चलेको हुन्छ। 

आँखेझ्याल कालखण्डमा प्राकृतिक परिवेश खुला चकमन्न अवस्थाको आविष्कार थियो। हावाको झोक्काको बेग अचेलको हुरी–बतास जस्तै बेगवान हुन्थ्यो। मेरो बाल्यकालको अवस्था र वर्तमान स्थिति एक समान छैन, भएन। सामाजिक परिवेश अहिले झैं खुला, स्वच्छन्द थिएन। मात्र प्राकृतिक परिवेश खुल्ला उन्मुक्त थियो। हाम्रो नेपाली काष्ठकला र सीप युगानुरूप विकसित भएर नैरन्तर्य चलिरहेका छन्। अब त विश्व पर्यटन र पर्यावरणका बहँदो छ्यानका कारण नेपाली काष्ठकारिगरी विश्वव्यापी फैलँदै छ। कतिपय अन्तर्राष्ट्रिय पर्यटकहरू हाम्रामा रुमलेर विश्वभरि फैलाइरहेका छन्। हाम्रा सबैसबै प्रकारका काष्ठकारिगरी फैलाउन सहयोग गरिरहेका छन्। हल्का फुल्का हलुँगा चाँपका काठ अहिले दुर्लभ भएर कालजयी काष्ठकारी साधना दुर्लभ छन्।

काष्ठकारिगरीका अनेक विधा छन्। तिनमध्ये अहिले तोरण कला साधनाका संक्षिप्त प्रसंग जोड्न चाहेँ। तोरण ढोका, झ्याल, आँखीझ्याल आदि माथि शोभायमान गरी जडेका यत्रतत्र देवालय, मठ, आँगम घरहरू आदिमा जडित देखिन्छन्। आँगम घर नेवारहरूका कुलायन देवीदेवताका पारिवारिक गोप्य घर हो। तोरण मन्दिर मठ, बौद्ध बिहारहरूमा सजाइने एक प्रकारका शृंगारिक वस्तु साधना हुन्। जुन देव–देवी, बुद्ध र महामानवालय आदिको मूल प्रवेशद्वार माथि जडिएका हुन्छन्। तिनका मुख्य बीच भागमा मूल देवता मूर्ति जडिएका हुन्छन्। तोरणका तिनैतिर ध्यान मुद्राहरू जडित हुन्छन्। तिनमा ध्यान मुद्राका तन्त्र मूर्ति साधना गरिएर स्थापित भएका छन्। यथार्थमा तोरण अर्ध अन्डाकार गोलाद्र्ध हुन्। अन्डाकार बीर्य सञ्चय कोष हुन्। बीर्य प्रजननका बिउ भण्डार हुन्। यो प्रतीकात्मकताभित्र शाश्वत सत्य निहित यथार्थ हो। 

भक्तपुरस्थित पचपन्न झ्याले दरबार 

यसैगरी प्राणी मात्रका मातृकोष/गर्भाशय पनि जीवनविज्ञानको शाश्वत सत्य हो। विश्व ब्रम्हाण्ड दार्शनिक भावधारायुक्त छ। अर्को शब्दमा यसभित्र सत्यार्थका प्रकाश अन्तनिहित छ। हाम्रा विवेक–ब्रह्ममा अटेसमटेस रहेका हुन्छन् यो ब्रह्म विवेक। अनन्त आविष्कारका अन्तर खानी यिनै विवेक ब्रह्म मान्नुपर्छ। काष्ठकारिगरीका छोटो विवेचनाले यहाँसम्म डोर्‍याइएछु। काष्ठकारिगरीकर्मीहरू पनि यस विधाका कुलायनधर्मी शिक्षाका अन्तरमुख दीक्षा मन्त्र दान गरिएका हुन्छन्। त्यस्ता कुलायन धर्मको मन्त्रदान पद्धतिलाई दीक्षा भनिएका छन्।

कुलायन धर्म हरएक कुलले पालना गर्ने साधनालाई कुलायन धर्म भनिएका छन्। यस दिशाउन्मुख तन्त्रलाई कुलायन तन्त्र साधना भनिएका छन्। यस दिशातिर उन्मुख उहिल्यै राणाकालीन शासन व्यवस्थाको ब्रिगेडिएर जनरल स्व. धनशमशेर जबराले कुलायन तन्त्रमा उल्लेख गरेका छन्। काष्ठकारिगरीका यी साधनाका साधकहरूले गरेका यी शिल्पकला मनखुसीका उपज होइनन्। मन्त्रतन्त्र साधनायुक्त छन्। काष्ठकारिगरीका महिमा अपरम्पार छन्। काष्ठकारिताका क्षेत्रफल यति विस्तृत छन्। यस छोटो रचनामा अँगाल्न सम्भव छैन। दत्तात्रयधाम परिसरमा रहेका मयूरझ्याल जस्तै काठमाडौं नरदेवी यटखाटोलको देशेमरु झ्याल, ललितपुर दरबारको सुनौलो झ्याल अत्यन्त उल्लेखनीय छन्। झ्यालकै प्रकरणका सम्बन्धमा चर्चा गर्दा यिनका विविध प्रकरण छन्। विमानझ्याल, फलेझ्याल, सूर्यझ्याल, पासुकाझ्याल साथै अरू धेरै किसिमहरू छन्।

पाटनस्थित मन्दिरको कलात्मक काष्ठकला । 

यसमै अर्को प्रसंग जोडेर रचना गर्नु उपयुक्त हुन्छ। अन्त्यमा संस्कृति र सांस्कृतिक सम्पदाले हाम्रा जीवनका आमूल क्षेत्र अँगालेका छन्। काष्ठकारिगरी पनि सांस्कृतिक सम्पदाका एक कवल एक फाँट अवश्य नै हो। झ्यालहरूको सिलसिलामा एक प्रकरण सँझ्याल हो। सँझ्यालको सन्र्दभमा प्रसंग जोड्दा दुई बिम्बात्मक अर्थ बोध हुन्छ। सँ को अर्थ जोड्ने हुन्छ। यस झ्यालका विभिन्न झ्यालहरू अनेक जोड्नीहरू जोडेर सिँगो आकार/स्वरूप बनाइएका हुन्छन्। दोस्रो अर्थमा नेपालभाषामा सँ भन्नाले भोट (तिब्बत) हुन्छ। भोटमा यस्तै किसिमका झ्यालहरू भएर सँ झ्याल भनिएका हुन्।

नेपाली काष्ठकला र सीप युगानुरूप विकसित भएर नैरन्तर्य चलिरहेका छन्। अब त विश्व पर्यटन र पर्यावरणका बहँदो छ्यानका कारण नेपाली काष्ठकारिगरी विश्वव्यापी फैलँदै छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले जितेन्द्र रसिकको ‘अलकापुरी भक्तपुर’ मा शुभेच्छा यसरी प्रकट गर्नुभएको छ, ‘मलाई राष्ट्रकविको उपाधि भक्तपुरकै सँझ्याभित्र सुसजित छ। सँझ्या नभए म अपूर्ण हुन्छु। भक्तपुर काठैकाठको अलकापुरी हो। यो कलाको महासागरभित्र रहेको सम्पदाबारे लेख्नु अति कठिन कार्य हो।’

राष्ट्रकविको यस्तो मार्मिक अभिव्यक्तिले विभोर बनें। सँझ्याको मर्म कोर्न मन पराएँ। राष्ट्रकविज्यूमा अर्पित राष्ट्रिय अभिनन्दन तिनमै सजाएर तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले समर्पेका हुन्। भक्तपुरको सांस्कृतिक सम्पदाका साना छेस्कै भए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूको इच्छापूर्तिमा उपहार बनाउन सघाउन पाउँदा अलकापुरी नगरी भक्तपुर गौरवान्वित ठान्छ।

भक्तपुरको नवदुर्गा मन्दिरको तोरण र झ्याल ।

तस्बिर : अशोक दुलाल

https://annapurnapost.com/story/192665/

टुँडालमा शृंगारिक कला

 असोज २, २०७८ शनिबार ९:१०:०

तेजेश्वरबाबु ग्वंगः


मूर्ति टुँडालमै कुँदिन्छन्। टुँडालहरू मन्दिरका छानोलाई थेग्छन्। नकुँदिएका टुँडाल नांगो हुन्छन्। देखिन्छन् वस्त्रविहीन शरीर जस्तो। सभ्यता नबुझे जस्तो। अलंकारको महत्तव नबुझे जस्तो।

कलात्मक टुँडाल ! टुँडालका यौन मूर्तिकला ! एकआपसमा परिपूरक। आपसमा परिपोषक पनि। एकको अभावमा अर्को झन्डै रित्तो प्रायः। टुँडालबाट बने बनाइएको आधार वस्तु। आधार वस्तु दुई प्रकारमा। मूर्ति टुँडालमै कुँदिन्छन्। टुँडालहरू मन्दिरका छानोलाई थेग्छन्। नकुँदिएका टुँडाल नांगो हुन्छन्। देखिन्छन् वस्त्रविहीन शरीर जस्तो। सभ्यता नबुझे जस्तो। अलंकारको महत्व नबुझे जस्तो।

सभ्यताले मानिसलाई अलंकार लाउन सिकाए। अलंकारले मानिसलाई सभ्य तुल्याए। कति अन्योन्याश्रित ! नङ र मासु जस्तै। प्रिय प्रियसी बराबर ! सायद, त्यसभन्दा बेसी बढी पनि ! यिनलाई हामीले नै विश्लेषण गर्नुछ; गरौं। आखिर हामी मानिस। मानिस हामी ! प्राकृत प्राणी सबैले कहाँ गर्छन् ? मानिस अवतारले जस्तै। आमाको छ्यान सन्तानले चुस्नु परुञ्जेल त हो... ! हुर्केपछि मातृ सम्बन्ध कताकता... जे पनि बन्न सक्छ। हुन सक्छ। कलात्मक टुँडाल... टुँडालका यौन मूर्तितुल्य !

लरखरिएझैं अलि; खलबलिएझैं अलि ! होस हराएझैं। चेत गुमाएझैं। पाइलाहरू चालमा नभएझैं ! नखरा बनेझैं, लाग्न थाल्यो लरखराएझैं ! आफूभित्र आफैं नभए जस्तो टुँडाल देवी चढेझैं ! मथिंगलभित्र कम्पन भरेझैं। घाट न घरको भएझैं। टुँडालमा कुँडिएका विलक्षणयुक्त नग्न यौन मूर्ति। न मूर्तिकार–सर्जक–काष्ठ कलाकारका नामांकन पाइन्छ त्यहाँ... ! केवल राजा यक्ष मल्लका...। पशुपतिनाथ मन्दिर यो। निर्माणकाल नेपाल सम्बत् ६०५। अहिले नेपाल सम्वत् ११४१। मन्दिर निर्माण यस वर्षमा घटाउँदा सर्लक्क अंकगणित ठ्याम्मै मिल्न पुग्छ।

मन्दिर निर्माणका पृष्ठभूमिमा आख्यानिक कथन छ। किंवदन्ती जस्तो लाग्दो। मन्दिर निर्माण हुनुपूर्व राजा यक्ष मल्ल दिनहुँ भक्तपुरबाट प्रातःकालै पैदल बागमती किनारका लिच्छविकालीन पशुपति मन्दिर धाउँथे। देवादीदेव महादेव दर्शन गरी भक्तपुर फर्कन्थे।
एक वर्षायाममा राजा यक्ष मल्ल मनहरा र बागमती नदीहरू बाढीको भेल बढ्नाले दिनभर नदी तर्न सकेनन्। मनमा नैराश्यका भारी बोकेर भक्तपुर फर्केछन्। त्यही रात सपनीमा पशुपतिनाथले सान्त्वना दिए। कि आइन्दा यस्तो बिजोग भोग्नु नपरोस्। दरबार परिसरमै अर्को उस्तै देवल निर्माण गराएको लोकवार्ता छ।

लोकवार्ता समयानुरूपका जनधारणा हो। लोकवार्ताले तत्कालीन समयको ऐतिहासिक स्थिति प्रक्षेपण गर्दछ। त्यसताकासम्म हाम्रोमा खासै मेसिन र मेकानिकल औजार प्रयोगका समय उदय भई नसकेको आभास हुन्छ। 
जेहोस् यस अभिलेखनको मूल उद्देश्य त्यही यक्षेश्वर महादेव मन्दिरका सेरोफेरो प्रयुक्त टुँडालका नग्न यौन मूर्तिकला छ। पहिलो प्रश्नवाचक जिज्ञासा मेरो। यत्रो भावभक्तिपूर्वक प्रातकालमै नरनारीहरू शिवजीको पूजा–अर्चनामा लाम लाग्छन्। सबैका दृष्टिमा पर्ने गरी टुँडालहरूमा यस्तो नग्न यौन मूर्ति कुँडिनुको प्रयोजन के र किन ? यिनै जिज्ञासाका साथै अन्य सरोकारी प्रसंगमा आदरणीय पाठक महानुभावसित सहयात्रा 
गर्न जमर्किंदै छु।
श्रद्धालु भक्तजनका भावभक्ति प्रदर्शन युगसापेक्ष प्रभातफेरी मान्नु पर्छ। निराहार देह, स्वच्छ मनमस्तिष्क ! स्वच्छ मनले निर्मल विचारहरू स्वस्थ र स्वच्छन्द संग्रह र आत्मसात् गर्छ। यो शारीरिक मनोविज्ञान; मनौवैज्ञानिक स्वास्थ्य साधना पनि ! प्रभातकालीन यौन मूर्तिकला दर्शनले प्रभातकिरण छर्कन्छ। मधुरो प्रभात किरणका मिठास मध्याह्नको उत्तेजिलो रापिलो उष्णले पाको रातमा उत्तेजना फैलाउँछ। निर्विबाद सांसारिक ध्रुवसत्य रहे, बनेको यो ! शाश्वत सत्य सदाबहार। सबै ऋतु ! युगान युग पर्यन्त... !

युगीन प्रथा र प्रचलनले युग बोध गराउँछ। युग बोधी अन्तर्यले संस्कार जन्माउँछ। हुर्काउँछ, फुलाउँछ, फलाउँछ। अरू सांसारिकता झरम्झुरम् झर्छ, बिलाउँछ। संस्कारमूलक संस्कृति सदाबहार बन्छ। संस्कृति यति तगडा जीवन तत्व बनेको छ; स्रष्टा सुस्ताउँछ। सांस्कृतिक सम्पदा सदाबहार... ! सांस्कृतिक सम्पदा सामाजिक, आर्थिक अनि अनेक भौतिक सम्पत्तिसित अतुल्य रहन्छ।
संंग्रहालय, म्युजियम, आर्काइभहरू युगीन युगहरूलाई जीवन्त बनाउने सम्पदा बन्छन्। रहेका हुन्छन् पनि। तिनैलाई उपयोग उपभोग गरेर हामी, हाम्रा युगहरू गौरवान्वित बनेका हुन्। बनिरहने छन् यत्तिकै। योभन्दा आधिकाधिक पनि ! सांस्कृतिक सम्पदा जति संवेदनापूर्ण सरोकार अरू छन् नै के र ? 

टुँडालहरूमा जडित यौन मूर्तिकला रहेको छ। मन्दिर मन्दिरमा त्यस्ता मूर्तिकला यत्रतत्र छरपष्ट छन्। टुँडाल मन्दिरका छाना थाम्ने मूलवस्तु हुन्। 

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्को विश्वभरकै सांस्कृतिक सम्पदा संरक्षण–सुरक्षणमा दत्तचित्त छ। भक्तपुर नगरपालिकाको आयोजनामा विश्व सम्पदा सुरक्षण संरक्षण अभियानमा युनेस्कोका तत्कालीन प्रतिनिधि डा. रिचार्ड इङ्लहायमसहित अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाविद्सहितको अन्तर्राष्ट्रिय सम्मेलन भएथ्यो। त्यहाँ सहभागी बन्ने अवसर पाएथें ! तत्कालीन सांसद नारायणमान बिजुक्छेँ, सुनील प्रजापतिलगायत अरू थुप्रै महानुभाव सबैतिरबाट भेला भएथे।

तत्कालीन मेयर प्रेम सुवालले ‘तेजेश्वर दाइ, तपाईंले एउटा काम गरी सहयोग गर्नुस्’ भन्नुभयो। ‘यहाँ सबैले अंग्रेजी बुझ्दैनन्। नेपाली भाषा विदेशीले बुझ्दैनन्। अंग्रेजीमा बोलेकोलाई नेपाली र नेपालीमा बोलेकोलाई अंग्रेजीमा रूपान्तरण गरी सहयोग पुर्‍याउनुस्।’ सहज काम सहजै तवरले भयो। यो सच्चा नागरिकको स्वयम्सेवा दायित्व सम्झेको छु।

केन्द्र विन्दुमा रहेको प्रसंग मन्दिरहरूका टुँडालहरूमा जडित यौन मूर्तिकला रहेको छ। मन्दिर मन्दिरमा त्यस्ता मूर्तिकला यत्रतत्र छरपष्ट छन्। टुँडाल मन्दिरका छाना थाम्ने मूलवस्तु हुन्। भित्ताभित्तामा त्यस्ता यौन मूर्तिकला टाँसिएको भए त्यसले उत्तेजक भूमिका पूरा गर्छन्। टुँडालहरूमा कुँडिएका भएर प्रत्यक्ष आरोपन भएन। यसको अप्रत्यक्ष प्रभाव भने छ, रहन्छ। यस्ता यौन मूर्तिकलाले सजिएका मन्दिर र टुँडालहरू सर्वत्र छरपस्त छन्। तर, तिनका तथ्यांक विवरण पुरातत्व विभागमा हुनु राम्रो हुँदो हो। 

परन्तु तथ्यांक विभाग केन्द्रीकृत शासन प्रणालीको अंग छ। अब त संघीय प्रणालीमा नेपाल प्रवेश भइसकेर शासन व्यवस्था संघीय (केन्द्रीय), प्रादेशिक र स्थानीय नगर, गाउँवडासम्मै संविधानतः नै विकेन्द्रित भएको छ। यसलाई अभ्यन्तरैदेखि सुदृढीकरण गर्दै अघि बढ्न विशेषज्ञीयताको खाँचो छ। चेतनास्तर वृद्धि साथै यसप्रति तीव्र चासो र मर्म बोध हुँदै जाँदो हो। भनुँ भनुँ लाग्छ वादेवादे जायते तत्वबोध संस्कृत श्लोक। कथै बादेबादे बर्बादे नभई जाऊन्। कामना गर्छु शुभ मंगल सुदृढीकरण... !

अब त राजनीतिक अलापविलाप, आरोप प्रत्यारोपभन्दा हामीले चर्चा गरेका बहस विषयक मन्दिरहरूका टुँडाल देवीहरूको अभिलेख, तथ्यांक सबै तहका स्थानीय सरकारहरूबाट चासो लिई संकलन गर्ने अभियान भर्दा समुन्नत, सुदृढ र सुखी नेपाल र नेपाली बन्ने ठान्छु। मन्दिरहरू देश संघ, प्रदेश र स्थानीय नगर, गाउँ, वडा तहमा निर्मित मन्दिरहरूमा रहेका यौन मूर्तिकलाका तिनै निकायहरूलाई यथा विदित हुने आधार सबल छ। 
यस विषयक प्रविधि प्रशोधन गर्ने कार्य संस्कृति मन्त्रालय छ। संस्कृति मन्त्रालय मातहतका विभाग र निकायहरूमार्फत तहगत स्थानीय सरकारहरूलाई मार्ग दर्शन, प्रशिक्षण, अनुगमन गरी मजबुत गर्न सकिन्छ। नअत्तालिकन अघि सर्नु हामी सबैको नागरिक दायित्व रहेको यथार्थ हो।

मध्यपुर थिमी नगरपालिकाको दक्षिण वाराही र बालकुमारी मन्दिरका महिमा तिनै टुँडालका नग्न यौन मूर्तिकला उत्तिकै शत्तिशाली भूमिका राख्दछ।

टुँडालका यौन मूर्तिकला केवल यक्षेश्वर महादेवको मन्दिरमै सीमित रहेको छैन। भक्तपुरकै अन्यान्यै मन्दिरहरूमा पनि छ्यापछ्याप्ती छन्। प्रसंगवश भक्तपुर नगरपालिका वडा नं ३ खौमा टोलस्थित इन्द्रायणी मन्दिरको दक्षिण पश्चिमका सानु मन्दिरको एक टुँडालमा हात्ती, कछुवा र अन्य जीवजन्तुका यौन मूर्ति कुँदिएको छ। सूक्ष्म दृष्टिपातमा छर्लंगिन्छ सबै। खौमा टोल आफू जन्मी, हुर्की बढेको स्थान बालापनदेखि मनग्य देख्दै बढेको स्थान ! मन्दिरका टुँडालमा यस्ता यौन मूर्तिकला सर्वत्र छ्यापछ्याती छन्। निर्वाध रूपमा अवलोकन गर्ने सबैलाई पर्याप्त छ अवसर। मात्र सम्बन्धित पालिका सरकारहरूले सूचीकृत गरी प्रक्षेपण गर्नु आवश्यक छ।

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा होस्, जुम्ला खलंगाको मष्टो मन्दिरमा पनि त्यस्तै छन्। काठमाडौं उत्तरबर्ती टुँडालदेवी मन्दिरमा जडित नग्न यौन मूर्तिकला विश्लेषण गर्न हत्ताकत्ता छँदै मलाई आमन्त्रण गरिएको झल्यासिएँ। सँगै खाना खाने गरी घरैमा आउन भनेकीले सशंकित मन मानेन। रसियन दूतावासकी सांस्कृतिक सहचारी महिला कुमारीलाई भक्तपुरको स्वर्णद्वार प्रवेश गराएथेँ। तोरणमाथिकी दुर्गा भवानीलाई शिरमाथि राखी प्रवेश गर्दै गरेको प्रसंग उल्लेख गर्दा उनी प्रफुल्लित भएकी बताइन्। यी प्रसंगहरू नारी महिमा गायन सिवाय अरू के नै थियो र... !

टुँडालदेवी मन्दिर लिच्छविकालीन शासन व्यवस्थाका स्वरूप चिन्ह/छाप रहेका छन्। विस्तृत विश्लेषण, विवेचना इतिहास र पुरातत्वविद् वर्गका थाप्लोको नाम्लो ठान्छु। अध्ययन अनुसन्धानद्वारा हामी यसतर्फ रुचिराख्ने, स्थानीय तथा संघीय निकायका सरोकारवाला सबैले मिलिजुली अघि बढ्नु छ। यसमा सामाजिक सञ्चारका मास मिडिया, छापावाल राष्ट्रिय दैनिक सबैले आपसमा सहमति जुटाई अग्रसर हुनु अपरिहार्य देख्छु।
देशका विभिन्न जिल्ला र अन्तर्गतका सदरमुकाम र पालिकामा निर्मित मन्दिरका टुँडालहरूमा पनि यस्ता यौन मूर्तिकलायुक्त सांस्कृतिक सम्पदाहरू अवलोकन गर्ने अवसर पाएको छु। डोटीको शैलेश्वरी मन्दिर, पोखराको तालवाराही मन्दिर, बिन्दुवासिनी मन्दिरका साथै अन्यत्र पनि छ्यापछ्याप्ती पाइन्छन्।

विन्ध्यवासिनी मन्दिरको नामकरण आफैंमा पूर्वीय जीवन दर्शनमूलक तान्त्रिक साधनायुक्त मान्त्रिक रहस्ययुक्त छ। बिन्दु एक सूक्ष्म स्थान/थलो हो। सामान्य/सर्वसाधारण जीवनमा उत्ति महत्वपूर्ण स्थान राखोइन। दार्शनिक तान्त्रिक दृष्टिमा जीवनवादी धारणाकै आधारशिला बनेको छ– विन्दु ! हाम्रा जीवन यात्राका प्रत्येक प्रारम्भ सानुभन्दा सानु अणु–परमाणुबाटै सिर्जना हुन्छ, भएको छ।

अन्तरिक्षका दृश्यमान, अदृश्यमान निबोलाहरू सबै बिन्दु नै हुन्। भन्नुको तात्पर्य हाम्रा जीवनका सार सूक्ष्म बिन्दुमै निर्वासित छन्। त्यसैले बिन्ध्यवासिनी माईका महिमा अपरम्पार छन्। 

टुँडालमा अंकन भएका नग्न यौनमूर्ति कलाका महिमा अपरम्पार लाग्छ। नजिकका देवता हेला। भक्तपुरकै मध्यपुर थिमी नगरपालिकाको दक्षिण वाराही र बालकुमारी मन्दिरका महिमा तिनै टुँडालका नग्न यौन मूर्तिकला उत्तिकै शक्तिशाली भूमिका राख्दछ।

भारतको दार्जिलिङ भ्रमण गर्दा त्यहाँ पनि हाम्रै कुम्भेश्वर मन्दिरसित मिल्दोजुल्दो मन्दिर अवलोकन गर्ने सुअवसर पाएथेँ। त्यस कलात्मक मन्दिर र परिसरको सुकीर्तिमान नामै धीरधाम रहेको छ। स्व. धीरशमशेर जबरा श्री ३ जंगबहादुर राणाका मनपर्ने कान्छो भाइ भनि अहिले सौहाद्र्र छिमेकी मित्र रहेका हेमन्तशमशेर जबराले बताए।

मन्दिर मन्दिरका टुँडालहरूमा यौन मूर्तिकलाका सम्पदाजडित हुनुको मूलभूत कारण रहेको छः तत्काल हाम्रो जन्मभूमि नेपाल राष्ट्रभरि नै जनशक्ति अत्यन्त पातलिएको सत्यतथ्य रहेको छ। त्यस मूलभूत खाँचो पूरा गर्दै लान सामयिक शिष्ट सांस्कृतिक यौन मूर्तिकला धार्मिक, सांस्कृतिक, सामाजिक, संरचनागत सम्पदाका उपाय अपनाएको आफ्नै चिन्तन चेत सौगात भर्दछु !

https://annapurnapost.com/story/186698/