Sad to read that no one published his articles.
http://nagariknews.com/saturday/31332-2011-09-17-09-00-59.html
बुद्धाचार्य शाक्य
SATURDAY, 17 SEPTEMBER 2011 14:38 नागरिक
मनोज दाहाल- असारमा भोटो देखाउनु केही दिनअघि 'माइन्ड-बडी लाइब्रेरी'का कुमार श्रेष्ठले फोनमा निम्ता दिए, 'पाटनका एकजना वृद्ध संस्कतिविदले रातो मच्छिन्द्रनाथबारे किताब लेखेका छन्, रथ राखिरहेकै स्थानमा सार्वजनिक गर्ने कार्यक्रम छ, आउनू है!'
पाटनका वृद्ध संस्कृतिविदले मच्छिन्द्रनाथबारे लेखेको किताब रथ राखिरहेकै स्थानमा सार्वजनिक हुने थाहा पाएपछि लोभिएँ। तीनकुनेबाट हिँडेर महादेवस्थान हुँदै शंखमुलको पुल काटेर बगलामुखीको मन्दिरको बाटो पाटन दरबार स्क्वायर र त्यहाँबाट थतिटोल पुगेँ जहाँ मन्छिन्द्रनाथको रथ राखिएको थियो। केही दिनमै भोटो देखाउन रथ तानेर जावलाखेल पुर्याउने कार्यक्रम थियो।
लौ, त्यहाँ त किताब सार्वजनिक हुने कुनै छाँटकाँटै छैन।
वरिपरिको वातावरण भने रमाइलो थियो। म यसै रमाएँ। थतिटोलमा जात्राको उल्लास थियो। स्थानीय भजन गाइरहेका थिए। रथवरिपरि थुप्रै दियो बालिएका थिए। स्थानीय महिलापुरुष आएर दियोमा तेल थपिरहेका थिए। धूपबाती बालिरहेका थिए। रथमा भेटीप्रसाद चढाइरहेका थिए। पूजाआजा चलिरहेको थियो।
दियो, धूपबाती, फलफूल बेच्नेको भिड थियो। रमिते पनि थुप्रै थिए। यसै त पाटनका साँघुरा भित्री सडकमा जात्राको चटारोले जाम थियो।
रमाइलो हेर्दै गर्दा थतिटोलकै एउटा कुनामा 'माइन्ड-बडी लाइब्रेरी'का कुमार देखिए जसले मलाई यहाँ आउन निम्ता दिएका थिए। 'खै, कुनै सुरसार नै छैन त, कहाँ हुने हो कार्यक्रम?' मैले उनलाई सोधेँ।
उनले मेरो हात समाए र अर्को कुनातिर लगे जहाँ एकजना वृद्ध एउटा हातले घाम छेक्दै अर्को हातमा झोला बोकेर मच्छिन्द्रनाथको रथ हेर्दै थिए। कुमारले उनीसँग मेरो परिचय गराए। कान कम सुन्दा रहेछन्। मैले उनलाई आफ्नो नाम दुईतीन चोटि भन्नुपर्यो। साधारण सर्टप्यान्ट र प्लास्टिकको चप्पल लगाएका उनको अनुहारमा खासै चमक थिएन। चर्को गर्मीका कारण हो वा वृद्धावस्थाले, त्योचाहिँ मैले खुट्याउन सकिनँ।
रातो मच्छिन्द्रनाथको नालीबेली पुस्तकमा केलाएका पाटनका संस्कृतिविद, लेखक तथा पत्रकार बुद्धाचार्य शाक्य, ७२, सँग यसरी मेरो पहिलो भेट भएको थियो।
उनको नाम यसअघि पनि मैले सुनेको थिएँ। उनले 'निर्वाण'बारे विभिन्न धर्ममा उल्लेख गरिएका प्रसंगको व्याख्या गरेर नेवारीमा लेखेको किताबको नेपाली अनुवादको पाण्डुलिपि कुमारले मलाई देखाएका थिए। (कुमारसँग चाहिँ मेरो चिनजान शिवपुरी बाबाको समाधि दिवसमा गत माघमा धु्रवस्थलीमा भएको थियो।) त्यो किताब छापियो/छापिएन, थाहा भएन। सर्सर्ती पढ्दा निर्वाणबारे जान्न चाहनेका लागि उपयोगी नै होला भन्ने लागेको थियो।
एकैछिनमा रथको मुख्य भागअघिल्तिर 'पुस्तक विमोचन समारोह' लेखेको एउटा तुल टाँगियो। बुद्धाचार्य, कुमार र अरू एकदुई जना रथमै चढे। गातामा मच्छिन्द्रनाथको तस्बिर राखेको सानो किताब वरिपरिका मानिसलाई देखाए। दुईचार जनाले ताली पड्काए। कसैले एकदुई तस्बिर खिचे। बस्, कार्यक्रम सकियो।
मैले सोचेँ, अब जाँदा पनि त भयो!
कुमारलाई भनेँ, 'लौ, अब म जान्छु, पछि भेटौंला।'
उनले 'एकैछिन' भन्दै नजिकैको पाटीमा लगे जहाँ चिया खाने व्यवस्था रहेछ। चिया खाएँ। बुद्धाचार्यले हातमा कतैबाट आइपुगेको झुप्पोबाट एउटा लिची मलाई पनि दिए। आफैंले पनि एउटा लिचीको बोक्रा खोसलेर मुखमा क्वाप्प पारे।
कुमारले भर्खरै सार्वजनिक 'रातो मत्स्येन्द्रनाथ' शीर्षक किताब झोलाबाट निकाले र 'रिभ्यु कपी' लेखेर मलाई दिए। मैले त्यसमा बुद्धाचार्यको हस्ताक्षर गराएँ। उनले नेपाल भाषामा लेखेको 'बुंगद्य' शीर्षक किताब कसैले अनुवाद गरेको रहेछ र कुमारको संस्थाले छापेर यो रूपमा आएको रहेछ। किताबका पाना सरर्र पल्टाएँ। रातो मच्छिन्द्रनाथबारे प्रसस्त जानकारी थिए।
कुमारलाई भनेँ, 'आज त त्यस्तै भयो, एक दिन उहाँसँग भेटेर मजाले गफ गर्ने व्यवस्था मिलाउनुस् न!'
कुमारले 'हुन्छ' भन्ने संकेतमा टाउको हल्लाए।
मंगलबजारको बाटो पाटनढोका निस्केर काठमान्डु सुन्धारा आउँदै गर्दा सोचेको थिएँ, एकदुई दिनमै बुद्धाचार्य शाक्यसँग भेटेर रातो मच्छिन्द्रनाथको जात्राबारे थप कुरा गर्नुपर्ला र बल्ल उनी र किताबको परिचय पत्रिकामा छाप्नुपर्ला!
...
त्यत्तिकै भयो!
कुमारले पनि फोन गरेनन्, मैले पनि गरिनँ। बुद्धाचार्यको किताबबारे पत्रिकामा एकै शब्द लेखिएन। अरू पत्रपत्रिकामा पनि खासै समाचार आएको देखिनँ।
एक सातामै यो वर्षलाई मच्छिन्द्रनाथको जात्रा सकियो। किताब र्याकमा कतै थिचियो। मैले बुद्धाचार्य र किताब दुवैलाई लगभग बिर्सें।
महिना पनि बितिसकेपछि एक दिन थापाथलीमा अचानक कुमार भेट भए। मैले पनि झल्याँस्स बुद्धाचार्य र उनको किताब सम्झेँ। 'उहाँसँग भेट्ने टाइम मिलाउनुस् न!' मैले भनेँ।
कुमारले भने, 'जहिले भेटे पनि हुन्छ नि, तपाईंलाई कहिले फुर्सद छ?'
म एकछिन घोरिएँ र भनेँ, 'ल यो शुक्रबार मिलाउनुस् न!'
उनले भने, 'हुन्छ, हाम्रै अफिस (माइन्ड-बडी लाइब्रेरी) मा शुक्रबार एक बजे भेटौं न!'
'हुन्छ' भनेर म बाटो लागेँ।
...
चार साताअघि (भदौ २ गते शुक्रबार) कुमारको कार्यालय पुग्दा बुद्धाचार्य अघि नै आइवरि मलाई पर्खिरहेका रहेछन्। एक बजे भेट्ने वाचा गरे पनि डेढ बजिसकेको थियो।
हामीले पाटनको संस्कृति, विशेषगरी खानपान र रहनसहनबारे लामो कुरा गर्यौं।
उनले भ्याबर (मकैको रक्सी) बारे बताए।
'हाम्रो जमानामा भ्याबर खान कि तिखिदेवल, कि सातदोबाटो जानुपर्थ्यो। त्यहाँमात्र भट्टी थिए, त्यो पनि तामाङहरूले चलाएका,' खानपानका विषयमा कुरा गर्न उनलाई निकै चाख रहेछ, 'चार दिन भ्याबर खायो भने मान्छे तन्दुरुस्त हुन्थ्यो, त्यसबेलै एक मोहोर पर्थ्यो। नेवारले तामाङबाट सिकेर बल्ल भ्याबर बनाउन थालेका हुन्।'
ललितपुरका पूर्वदक्षिणी गाउँका तामाङहरूले पाटन वरिपरि भट्टी खोलेका रहेछन्। पाटनका युवा बुबाआमाको आँखा छलीछली भ्याबर र अरू जातका रक्सी खान त्यहाँ पुग्दा रहेछन्।
बुद्धाचार्य युवक छँदा पाटनका तीन पसल खानाका लागि प्रसिद्ध रहेछन्। पिरो आलु खान 'होनचाःको पसल', थ्वँ खान भौ छ्याकको पसल, छ्वय्ला खान ज्ञानमुनिको पसल। सबै अहिलेको पाटन दरबार स्क्वायर वरिपरि नै।
मानिसहरू काठमान्डु, भक्तपुरतिरबाट पनि आलु, थ्वँ, छ्वय्ला खान पाटन आउँथे। पाटनका त यसै भइहाले। होनचाः, भौ छ्याक र ज्ञानमुनिको पसलमा वर्षैभरि भिड लाग्थ्यो।
भौ छ्याक र ज्ञानमुनिको पसल त अहिले छैनन्। मासिएर गए। कृष्णमन्दिर पछाडि होनचाःको प्रसिद्ध आलुपसल भने अहिले पनि उसैगरी चलिरहेकै छ। आगोको रापले दलिन कालै भएको घरमा आलु पकाउन अहिले होनचाः छैनन्, उहिल्यै बितिसके। उनका ज्वाइँका छोरीहरूले अहिले उसबेला भौ छ्याकको पसलमा पाइने थ्वँ, ज्ञानमुनिकहाँ पाइने छ्वय्ला, जाडोयाममा मात्र खान पाइने बारा, चटामरीजस्ता नेवारी परिकार बाह्रै मास 'होनचाःको पसल' मा बेच्छन्।
उनले पुराना कुरा सुनाए- मासु खान दसैं आउनुपर्थ्यो, मासुपसल हुँदैन थिए, दसैंको बेला टोलमा राँगा काट्यो, सबैले भाग लगायो।
चटामरी खान देवाली नै आउनुपर्थ्यो।
एउटा हाँसको फुल खान कि ज्वाइँ हुनुपर्थ्यो, कि बिहेमा जानुपर्थ्यो, कि तिहार आउनुपर्थ्यो।
चाकु, मास, अरू दाल हालेर बनाउने योमरी रोटी त वर्षको एक दिनमात्र खान पाइन्थ्यो।
योमरी भनेकै 'सबैले मन पराउने रोटी' हो रे, वर्षमा एक दिन मिठामिठा चिजबिज हालेर बनाएको रोटी सबैले मन नपराउने कुरा पनि भएन।
उनले गाह्रोसँग जिउ तन्काउँदै भने, 'उसबेलाका खाना सबै औषधि हुन्थे, अहिले त सबै डाक्टरको औषधि खान्छन्, वैद्यको औषधि पनि काम नलाग्ने भइसक्यो।'
अलि बिरामी रहेछन्। पेटको समस्या छ, केही खानै हुँदैन, डायरिया भइहाल्छ भन्थे। 'पेट र यो कान नसुन्नेबाहेक अरू कुनै समस्या छैन,' बुद्धाचार्यमा जोस भने कायमै देखिन्थ्यो।
...
'बस्नु र खानु आफ्नो खुसीमा, रहनसहन अर्काको खुसीमा,' उनले समाजको मर्म केलाए, 'लिच्छिवीकालदेखिको प्रजातन्त्र भनेको यही हो।'
नेपालमा 'हिन्दु' भन्ने शब्द धेरै पछि भित्रिएको उनले बताए। सात सालको प्रजातन्त्रसम्म पनि नेपालमा तीन धर्ममात्र हुन्थ्यो रे- शैव, वैष्णव र बौद्ध। शैव पशुपतिनाथ जाने। वैष्णव नारायणस्थान। बौद्ध स्वयम्भु।
'२०१५ सालको संविधानमा राजा महेन्द्रले हिन्दु अधिराज्य लेखेपछि बल्ल नेपालमा 'हिन्दु धर्म' भन्न थालिएको हो। नत्र सनातन धर्म भन्ने चलन थियो- शैव सनातन, बौद्ध सनातन, वैष्णव सनातन,' उनले भने।
बुद्धाचार्यले मलाई नेवार संस्कृतिका थुप्रै राम्रा पक्ष सिकाए। सहिष्णुता, मौसम अनुसारको खानपान, जात्राबारे निकै बेर बताइरहे। 'लामो समयदेखि यी तीनवटा धर्म शैव, वैष्णव र बौद्धलाई मिलाएर ल्याएको नेवार संस्कृतिले हो,' उनले भने। पूजाआजा गर्दा नेवारहरूले वज्राचार्यलाई पुरेत मान्ने गरे पनि 'वज्राचार्यहरूको कट्टरता र जेमा पनि मासु चाहिने परम्पराले' अहिले बाहुनहरूले पूजाआजाको काममा उनीहरूलाई विस्थापित गरेको बुद्धाचार्यले सुनाए।
'नेवार संस्कृति एकदमै वैज्ञानिक र सम्पन्न छ,' बुद्धाचार्यले भने र म्हपूजाको उदाहरण दिए, 'तपाईंका लागि जीवनमा सबैभन्दा महŒवपूर्ण तपाईं आफैं होइन? अरूको पूजा गर्नुभन्दा पहिले आफ्नै पूजा गर्नुपर्छ किनभने पहिला आफैंलाई बचाउने हो, सुदृढ गर्ने हो, बल्ल तपाईंले अरूलाई बचाउन, सुदृढ गर्न सक्नुहुन्छ।'
त्यसैले पो नेपाल संवतको पहिलो दिन आफ्नो पूजा गरेरमात्र नेवारहरू अरू पूजा/काम गर्दा रहेछन्!
योगीहरू पनि त 'आत्मपूजा'लाई जीवनको प्राथमिक कर्म नै ठान्छन्। भन्छन्, आफूभित्र नछिरी, आफूलाई बलियो नपारी, आफूलाई नचिनी लोकको सेवा गर्न सकिँदैन, अरूबारे थाहा पाउन सकिँदैन।
त्यसैले पनि, मलाई बुद्धाचार्यका कुरा रमाइला लागे।
उनले भने, २०१४ सालअघि कृष्णमन्दिर पाटनबाहिर चर्चित थिएन। त्यो वर्ष राजा महेन्द्र कृष्णाष्टमीका दिन यहाँ आएर पूजा गरेपछि यसबारे रेडियाले फुक्यो, गोरखापत्रले लेख्यो, बल्ल यसले देशभरि चर्चा पायो, बाहिरबाट पनि मान्छे दर्शन गर्न आउन थाले।
२०३१ देखि २०४९ सालसम्म राष्ट्रिय समाचार समितिमा ललितपुर संवाददाताका रूपमा काम गरेर पाटन क्षेत्रका थुप्रै समाचार लेखेका बुद्धाचार्यसँग संस्कृति, परम्परा, इतिहास र सम्पदाबारे गहिरो ज्ञान रहेछ।
उनले पाटन क्षेत्रको धर्मसंस्कृतिबारे नेपाल भाषा र नेपाली भाषामा आधा दर्जनभन्दा बढी किताब लेखिसकेका रहेछन्। पाटन डबलीमा बर्सेनि हुने कात्तिकनाच ब्युँताउन पनि उनको भूमिका रहेछ।
ललितपुर उपमहानगरपालिका कार्यालयभन्दा झन्डै दुई सय मिटरभित्र पाटन श्रीबहालमा जन्मेका बुद्धाचार्यले आफ्नो टोललाई पहिला 'सिबहाल' भन्ने गरेको बताए। सि भनेको अन्तिम सिमाना, त्यसैले पाटनको पश्चिमी सिमानाको अन्तिम विन्दुवरपरलाई सिबहाल भनिएको रहेछ।
'२०१३ सालमा हामीले टोलमा 'शिक्षा मन्दिर' खोल्दा ठेगाना सबैले बु‰न सकुन् भनेर श्रीबहाल लेखिदियौं। त्यही बेलादेखि यो टोललाई श्रीबहाल भन्न थालियो,' यति भनेर उनले टोलमा पुस्तकालय खोल्दाका सास्तीबारे लामो कथा हाले।
हामीले कुरा गरेको दुई घन्टा भइसकेको थियो। गफमा स्वाद आइरहेकै थियो। उनको त साह्रै काम थिएन, मलाई भने अर्को मान्छे भेट्नु थियो। कुरा सक्दै गर्दा उनले पुरानो जमानामा उपत्यकामा चलेको एउटा सामाजिक तुक्का सुनाए-
पाटन बिग्र्यो प्रधानकाजीले
काठमान्डु बिग्र्यो रानीको नाठोले
भक्तपुुर बिग्र्यो थ्याः मथ्याःले
कुमारजीको 'माइन्ड-बडी लाइब्रेरी'मा चियाबिस्कुट खाँदै गर्दा मैले बुद्धाचार्यबाट यो तुक्काको सविस्तार व्याख्या सुनेँ। पृथ्वीनारायण शाहले कब्जा गर्नुअघि दाजुभाइमा भागबन्डा लागेर यसै कमजोर भइसकेका काठमान्डु उपत्यकाका तीनै सहर भित्रभित्रै कति खोक्रो भइसकेका थिए भन्ने बुझाउन यो तुक्का रचिएको रहेछ।
कुमार, लाइब्रेरीकी बहिनी र मैले चियाबिस्कुट खाँदै बुद्धाचार्यका कुरा सुनिरह्यौं। उनले भने तातोपानीमात्र खाए। भने, 'शरीरमा केही अडिँदैन, चिया पनि खानु हुँदैन अचेल।'
सोचेँ, 'पाटनको खाना परम्पराबारे यति विस्तार र रुचिपूर्वक बताउने बुद्धाचार्यको शरीरले भने अहिले एकदमै सादा र थोरै खानेकुरा मात्र स्वीकार गर्दोरहेछ।'
जीवनको लीला!
चियाबिस्कुट खाँदै गर्दा मैले मोबाइलमा उनका केही तस्बिर लिएँ।
...
थापाथलीको भिएस स्कुलनजिकैबाट म र बुद्धाचार्य हिँड्दै थापाथली चोकसम्म आयौं। मलाई अनामनगर जानुथियो, उनलाई घर- पाटन श्रीबहाल।
बाटोमा उनले भने, 'मलाई लेख्न रुचि छ, तर कहाँ पठाउने, अब त साह्रै भेउ पनि पाउँदिनँ।'
'धर्मसंस्कृति, पाटनको रहनसहनबारे राम्रो लेख लेखेर पठाउनुस् न, हामी छापौंला,' मैले आफ्नो इमेल ठेगाना भएको कार्ड उनलाई थमाउँदै भनेँ।
उनले खुसी हुँदै भने, 'मलाई त इमेल चलाउन आउँदैन, लेख लेखेर छोरालाई पठाउन भन्छु नि त!'
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ।
नभन्दै केही दिनपछि मेरो इमेलमा उनको लेख आयो। बुद्धधर्मबारे लेखिएको त्यो लेख खासै सान्दर्भिक हुने नठानेर मैले 'ओप एड ब्युरो'मा फरबार्ड पनि गरिनँ।
रातो मच्छिन्द्रनाथबारे उनले लेखेको किताबको पनि अहिले खासै सन्दर्भ थिएन, पत्रिकामा लेख्न। न्युजपेपरमा केही लेख्न त सन्दर्भ चाहियो नि!
कुनै बेला पाटनबारे केही लेखिहालियो भने उनको भर्सन कोट गर्नुपर्ला भन्ने लागेको थियो।
पच्चीस दिन यसै बितेर गए। बुद्धाचार्यलाई सम्झन मिल्ने कुनै सन्दर्भ आएन।
...
अस्ति बुधबार (भदौ २८) बिहानै पत्रिका खर्खर्ती पल्टाउँदै थिएँ। पत्रिकामा काम गर्ने भएर होला, आफूलाई बिहानै अधिकांश समाचार बासी लागिसकेको हुन्छ।
'रिपब्लिका' दोस्रो पृष्ठको 'इन ब्रिफ'मा आँखा पुगेँ- असी शब्दजतिको समाचारको हेडलाइन थियो, 'अथर शाक्य पासेज अवे।'
हेडलाइन पढ्दासम्म पनि बुद्धाचार्य शाक्य नै बितेका होलान् भन्ने कुनै कल्पना गर्न सकेको थिइनँ।
को लेखक बितेछ भन्ने उत्सुकताले समाचार पढेँ। लेखेको थियो, 'अथर, जर्नलिस्ट एन्ड प्रमोटर अफ ट्राडिसनल कल्चर बुद्धाचार्य शाक्य डाइड मन्डे इन ललितपुर, एज्ड सेभेन्टी टु।'
असाध्यै नरमाइलो लाग्यो- उनको किताब र उनीसँग गरिएको कुराकानीबारे त समाचार बनाउन पाइएन नै, निधनमा समेत दुई शब्द लेख्न भ्याइएन। रिपब्लिकामा समाचार आउँदा उनी बितेको तीन दिन भइसकेको रहेछ।
अब के समाचार लेख्ने? भित्री पृष्ठको समाचाररेखामा 'शाक्य रहेनन्' भनेर घुसाउने?
आधा घन्टाजति मैले उनीसँगका भेट र संवाद सम्झेँ। मोबाइलमा उनको तस्बिर हेरेँ। एकछिन टोलाएँ।
लौ, अब यही भयो- उनको समाचार, अन्तर्वार्ता वा श्रद्धाञ्जली जे भने पनि!
Newars
Saturday, September 17, 2011
Tuesday, January 5, 2010
Monday, August 10, 2009
Friday, July 24, 2009
Sunday, July 12, 2009
Thursday, July 9, 2009
Sad state of Nepal Bhasa Academy and Arniko Gallery
ग्यालरीमा अरनिकोका दुर्लभ सामग्री
आइतवार, 28 जून 2009 05:29 नागरिक
ओमआस्था राई- मूर्ति बनाउन चीन पुगेको एउटा कलिलो नेपाली ठिटो हेर्दै डरलाग्दो यूआनी राजासँग नडराई आँखा जुधाउँछ। राजा आश्चर्य मान्दै सोध्छ 'मेरो अगाडि टाउको ठड्याएर उभिन कोही सक्दैन तिमीलाई चाहिँ आँखा जुधाउँदा पनि डर लाग्दैन ' ठिटो भन्छ 'आफ्नै बुबासँग आँखा जुधाउन के को डर हामी त हाम्रा राजालाई आफ्नै बुबासरह मान्छौं।'
स्कुलमा बलबाहुको कथा पढ्नेहरु सम्भवतः यो प्रसंग आउँदा रोमान्चित हुन्थे। कथा छापिएको पानाको एकापट्टि कलिला बलबाहुको निर्दोष मुखाकृति हुन्थ्यो अर्कोपट्टि यूआनकालीन चीनका सम्राट कुब्ला खाँको रौद्र रुप। हातमा तलवार लिएर घोडामा बत्तिदै गरेका देखिने भीमकाय सम्राटका अगाडि बलबाहुले 'नेपाली टाउको' नझुकाएको रोमााचक किंवदन्ती पढेर एउटा सिंगै पुस्ता हुर्किएको छ अहिलेसम्म।
बलबाहु को थिए सजिलै उत्तर आउँछ एउटा नेपाली कलाकार जो १२ औं शताब्दीतिर चीन गई अरनिकोको नाउँले चिनिए। तर उनी कसरी चीन पुगे शाक्य विहारमा बसेर के-के बनाए उनले बनाएको विख्यात श्वेत चैत्यको रुपाकृति कस्तो छ यो स्तूपसँग गाँसिएको दर्शन के हो शून्यवाद र उनको सम्बन्ध के छ चिनियाँ साहित्यमा उनको कस्तो स्थान छ यी प्रश्नको उत्तर भेट्न चाहिँ गाह्रै छ।
शिलालेख सभ्यताको राम्रो विकास नभइसकेको युगमा चीन गएर उतै बसोबास गरेकाले अरनिकोसँग सम्बन्धित तथ्यगत विवरण अत्यन्तै कम भेटिन्छ। पुस्तकालय चाहर्दा होस् वा 'गुगल सर्च' गर्दा अरनिकोबारे थोरै जानकारी मात्रै पाइन्छ। बरु भ्रम भने प्रशस्तै छन्। राष्ट्रिय विभूतिसँग जोडिएका यी सबै भ्रम चिर्न र लुकॆर रहेका तथ्यको बिस्कुन फिजाउन स्थापित भएको छ अरनिको श्वेत चैत्य ग्यालरी।
कीर्तिपुरको 'सानो चक्रपथ' बाहिर हालसालै स्थापित यो ग्यालरीलाई अरनिको सङ्ग्रहालय भन्दा पनि फरक पर्दैन। नेपाल भाषा एकेडेमीको भवनभित्र रहेको यो ग्यालरीमा अरनिको र उनले बनाएका विभिन्न चैत्यका चित्र एवम् तस्बिर मात्रै छैनन् उनीबारे लेखिएका चिनियाँ कविता तिनका अनुवाद र सोधपत्र पनि छन्। र सबैभन्दा महŒवपूर्ण कुरा त्यहाँ सत्यमोहन जोशी छन् जो ८८ वर्षको उमेरमा पनि झर्को नमानी आगन्तुकलाई अरनिकोका अनुद्घाटित तथ्य र श्वेत चैत्यको दर्शनबारे व्याख्या गर्छन्।
काठमाडौंको नेवार समुदायले दुई वर्षअघि चन्दा उठाएर निर्माण गरेको एकेडेमी भवनभित्रको ग्यालरी भने सम्भवतः जोशीको एक्लो प्रयासमा बनेको हो। २०१७ सालको 'कु' पछि भएको कर्मचारी पजनीमा परेर पुरात्तत्व विभाग निर्देशकको जागिर गुमाएपछि चीन पुगेका जोशीले त्यहाँ नेपाली पढाउने क्रममा अरनिकोबारे खोजी गर्न थालेका थिए। नेपाल फर्किएपछि पनि उनको खोजी रोकिएन। 'मसँग अरनिकोबारे धेरै सामग्री जम्मा भयो जसलाई घरमै थुपार्नुभन्दा ग्यालरीमा राख्नु राम्रो ठानें' उनी भन्छन्।
सन् १२६० मा कोदारी हुँदै तातू हालको पेचिङ वा बेइजिङ पुगेका अरनिकोले बनाएको विश्वविख्यात श्वेत चैत्य पहिले कस्तो थियो जीर्णोद्वारपछि यसको रुपाकृति कस्तो देखियो यसको सन्देश के हो ग्यालरीले यसबारे विस्तृत जानकारी दिन्छ। यति मात्र होइन चिनियाँ कविहरु याङ श चशु ऊ को चन् थ्वी र सिये चेले अरनिकोबारे लेखेका कविता २०२९ सालमा प्रकाशित अरनिकोको हुलाक टिकट चीनका पत्रपत्रिकामा छापिएका अरनिकोबारेका समाचार र लेख अरनिकोको समाधिस्थल एवम् शिलालेख र चिनियाँ गुम्बाका बुद्ध मूर्ति र चित्र पनि ग्यालरीमा छन्।
बेइजिङको प्राचीन रुप यूआन सभ्यता र कुब्ला खाँको शासन व्यवस्थाको झलक पनि ग्यालरीले दिन्छ। जोशीद्वारा लिखित नाटक 'बाघभैरव' लाई माचमा उतार्ने रंगकर्मीका विभिन्न भाव र भंगिमाका तस्बिर हेर्दै दोस्रो तला उक्लिएपछि एउटा सानोतिनो पुस्तकालय पुगिन्छ जहाँ अरनिकोबारे लेखिएका थुप्रै शोधपत्र र पुस्तक छन्। ग्यालरीमा चिनियाँ राजा सिन लोङले आफ्नै हातले लेखेर श्वेत चैत्यलाई उपहार दिएको 'ह्दयसूत्र'को दुर्लभ तस्बिर पनि छ जसले शून्यवाद र दर्शनको बोध गराउँछ।
तर विडम्बना ! यति दुर्लभ चित्र मूर्ति र अनुद्घाटित तथ्यले भरिएको ग्यालरीबारे धेरैलाई जानकारी छैन। स्थापना भएयता मुस्किलले एक दर्जन आगन्तुकले ग्यालरी अवलोकन गरेका छन्। गैरनाफामूलक ग्यालरी भएकोले तलबी कर्मचारी राखिएका छैनन् तसर्थ यसको उचित स्याहार हुन सकेको छैन। थुप्रै तस्बिरका 'क्याप्सन' उप्किएका छन् जसले आगन्तुकलाई अल्मल्याउँछ। भुइँभरि धूलो छ। भित्ताका रोगन पनि मेटिन थालेको छ। ग्यालरीको यो दुर्दशाले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरी आफ्नो दायित्व पूरा भएको ठान्ने राज्यको सोंच र चरित्रलाई उदांगो पारेको छ।
अहिले नेपाल भाषा एकेडेमीका उपकुलपति रहेका जोशी हरेक दिन पाटनस्थित आफ्नो निवासबाट सार्वजनिक सवारी चढेर कीर्तिपुर जान्छन्। आफैं आफ्नो कार्यालयको ढोका खोल्छन्। र धूलो टक्टक्याउँदै कुर्चीमा बस्छन्। 'सहरभन्दा टाढा छौं बाहिरबाट कोही मान्छे आयो भने एक कप चिया खुवाउन पनि सक्दैनौं' उनी भन्छन् 'यही भएर पनि हामीले ग्यालरीको प्रचारमा खासै जोड दिएका छैनौं।' प्रचार नहुँदा कसैको आँखामा पर्न नसकेको ग्यालरी स्थापना भएको केही समयभित्रै आर्थिक अभावले थलिएको देखिन्छ।
http://www.nagariknews.com/ent/movies/2365-2009-06-28-05-45-41.html

Subscribe to:
Posts (Atom)