Wednesday, November 29, 2023

युगयुगको आगो !

 जेठ १०, २०७७ शनिबार ९:३४:०

डा. माधवप्रसाद पोखरेल


सिद्धिचरण श्रेष्ठ मूलतः ‘शारदा’ कालीन कवि हुन्। उनले जुद्धशमसेरका पाला (१९९१ साल) देखि राजा वीरेन्द्रका पाला (२०४९) सम्म कविता लेखे, तर पनि उनका कवितामा व्यक्त भएका क्रान्तिकारी विचार नेपालमा सधैँझैँ अहिले पनि सान्दर्भिक देखिन्छन्। यति बेला भारतले नेपाललाई हेपेर अंग्रेजसँग भएको सुगौली सन्धिलाई लत्याएर लिम्पियाधुरासम्मको नेपालको सिमानाको बेवास्ता गरेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएको छ र नेपाली राष्ट्रियता घाइते भएको छ। सिद्धिचरणका कविता यति बेलाकै नेपालका समस्या सम्झँदा पनि काम लाग्ने देखिन्छन्। सक्कली कविताको विशेषतै के हो भने, त्यो कविता भूगोलको जुनसुकै कुनाको भए पनि, इतिहासको जुनसुकै खण्डमा रचिएको भए पनि पाठकलाई त्यो ताजा लाग्नुपर्छ। 

नेपालीहरूले इतिहासमा गरेका क्रान्तिहरू सधैँ खेर गइरहे जस्तो जनतालाई लागिरहेको सिद्धिचरण यसरी लेख्छन् : 

१.    खेर गएको क्रान्ति (‘मङ्गलमान’, २०४९)

क.    माछो माछो भ्यागुतो भो, यत्न भयो व्यर्थ। देश मात्र ठगिँदै गो लाखौँ लाखौँ पल्ट।।
ख.    मन्त्रीमण्डल फेरिँदै गो, फेरिएन देश। मेटिएन दुःख कष्ट, मेटिएन क्लेश।।
ग.    बनाउँछु देश भनी ढोङ खुबै गर्थिस्। मन्त्री भएपछि तँ ता पशु जस्तै बनिस्।। थुक्क पशु ! घाँस खा जा ! छैन तँलाई लाज ? तँ जस्ताले बनाएर बन्दैन समाज।।
घ.    परिवर्तन भयो तर सुख भेटिएन।...जस्तातस्तै देख्छु म त कैले देश बन्छ। ठूलो कुर्सी पाएको त्यो साथी मक्खै थियो।। मङ्गलमानलाई उल्टै उपदेश दियो, ‘हडबड गरी हुन्न क्यै समय

लाग्छ। जादू छडी हुन्न साथी ! धैर्य गर्नुपर्छ।।’
यो देशमा भएका दामी वस्तु लुट्न अनि फुट र सामाजिक दुर्भाव फैलाउन झ्याङ्गिरहेको साम्राज्यवादीहरूको बिगबिगी सिद्धिचरण यसरी ओकल्छन्

२.    

घुम्छन् बाज समान माथि नभमा साम्राज्यवादीहरू...। हाम्रो देशमहाँ सरापसरिका व्याधाहरू यी सब ...। उर्लेको भल झैँ फिरङ्गीहरूले ढाक्तै थिए एसिया। मान्छेको अधिकारको हननका फैलाउँदै दुष्क्रिया (‘भीमसेन थापा, २०६०)।।
देश भित्रका कहिल्यै ननिख्रिने भ्रष्टाचार, अन्याय, शोषण, दुर्दिन र भावी अनिष्ट सिद्धिचरण यसरी सम्झिन्छन् (‘कुहिरो र घाम’ २०४५),

३.  

 क. अन्याय भन्ने, शोषण भन्ने लाम्किरा अजङ्गका। यहाँ छन् बैनी, फुंकार विषले भरेका।। 

ख.    आजको दिन पनि कुनै अजिङ्गर जस्तो भएर। अन्धकारको दुलो भित्र पस्न लागिरहेछ।।
सक्कली देशभक्तहरूको हालत र देशमा मौलाई रहेको फटाहाहरूको उन्नति कवि यसरी देखाउँछन्, 
क.    मकैका साथ घट्टमा पिँधिएका कीरा जस्तै। रात र दिनको चक्कीमा मलाई पिँध्दै।। मेरा दिनहरू हाँसिरहेछन्।
ख.    विषको पोका काखी च्यापी हिँड्न तिमीले जानेमा। तिम्रो हात आइपर्दछ, बल वैभव धाम बढेमा।।
अचेल नेपालीहरू कोही अन्यायमा पर्‍यो र कसैले अर्घेल्याइँ गरिदियो भने पनि हक्की भएर बोल्न छोडे। यसले गर्दा जुन निर्धाहरूका लागि भविष्यका सहिदहरूले दुःख पाउँछन्, तिनै देशभक्तहरूमाथि भएको अन्यायमा पनि सर्वसाधारण चुप लाग्ने प्रवृत्तिले सिद्धिचरण यसरी विरक्त हुन्छन् ः 

४.    लाछीको निन्दा 

क.    अपमान पाएँ मैले मान तिम्रो राख्न। नाङ्गो भई हिँड्नु पर्‍यो आङ तिम्रो ढाक्न।। ...भोक, रोग सही मरेँ, छैन मेरो कोही। तिमी पनि चूप बस्छौ लाज छैन केही (‘मङ्गलमान’)।।
ख.    नेपाली जन चूप छौ तिमिहरू अन्याय यस्तो सही। बोल्दैनौ किन न्यायका दुइ कुरा हा प्राण लुछ्ता पनि (‘मङ्गलमान’)।। 
ग.    जसले आफ्नो घर, खेत, गोठ क्यै जानेन। स्वदेशको काम गर्‍यो, तर क्यै मागेन।। आज उही स्वर्गे हुँदा देशै चुपचाप। यस्तो गर्दा सबैलाई लाग्दैन र पाप (‘मङ्गलमान’)??
घ.    यो कस्तो जडता विदीर्ण दिलको यो प्राणघाती व्यथा। यो देख्ता पनि चुप्पचाप रहने यो मर्मघाती कथा।। साँच्चै घोर अनर्थ पो हुन गयो, के देख्नु यस्तो पर्‍यो। भाँचू लाग्छ मलाई यो कलम नै के लेख्नु यस्तो पर्‍यो (‘भीमसेन थापा’)।। 
सिद्धिचरण आफ्ना कवितामा सामाजिक विषमता अनि दलित, निर्धा र सीमान्तहरूका हकमा यस्तो लेख्छन्,

५.    दलित र सीमान्तको आवाज 

क.    देश हो यो साझा भन्छन्, तर खोइ त साझा ? बलियाकै थिचोमिचो नित्य यहाँ ताजा (‘मङ्गलमान’)।। 
ख.    जातभात तल्लो अनि माथिल्लोको भेद। विषमता पर्खाल यो जताततै छेद।। ...जातिपाती विभेद नै प्रगतिको फूलो (‘मङ्गलमान’)। 
ग.    अछूतको यस्तो कथा अन्त्य गर्नुपर्छ। मान्छे-मान्छे बराबर ज्यून सिक्नुपर्छ (‘मङ्गलमान’)। 
घ.    तल्लो सानो, ठूलो चाहिँ उपल्लो रे सुन। बाहुन, क्षेत्री, वैश्य, शूद्र बनाएको किन (‘मङ्गलमान’)? 
ङ.    खिचेर भिन्नता डोरी, यसको, उसको भनी। टुक्य्राई देश औ जाति हुन्न कल्याण विश्वको। (बालिवध)
च.    पाप भण्डाफोर गर्दै, हुन्छ जे होस् गाउनेछु। ती गलितको, ती दलितको हक गुमेको बोलनेछु (‘आँसु, २०७३)।।
राष्ट्रमा जनताभन्दा माथि कोही पनि हुँदैन, त्यसैले जनताको हक कुण्ठित भयो भने, विरोध, आन्दोलन, सङ्घर्ष र क्रान्ति चाहिन्छ भन्ने सिद्धिचरणको बोली कवितामा यसरी अभिव्यक्त हुन्छ, 

६.    जनताको सर्वोच्चता र विरोधको खाँचो

क.    जनताको हक नासो राजामाथि हुन्छ। जनताले मागेपछि फिर्ता दिनु पर्छ (‘मङ्गलमान’)।। 
ख.    हक आफ्नो खुशीसाथ हुँदैन है प्राप्ति। गर्नुपर्छ जनताले आन्दोलन क्रान्ति।। आन्दोलन क्रान्तिबाटै मिल्छ अधिकार। इतिहास सारा गर्छन् यै कुरा स्वीकार (‘मङ्गलमान’)।। 
ग.    समाजमारा राक्षसहरूसित जुध्नका निमित्त। ...पाखुरामा बल भर्नु छ (‘कुहिरो र घाम’)।।
घ.    स्वदेशी भनी खालि। नमारूँ के म कीरालाई? (?)
ङ.    शोषकहरूको यस्तै चड्का, अत्याचारी लात र धड्का। पाई बाको यो प्रिय छोरो, बाँचिरहोस्, अझ बाँचिरहोस् !! भाग अरूको लुट्नेहरूको नीद उखेल्ने हुरी बनोस् ! छलले बलले     ठूलाहरूको, सपना चिर्ने छुरी बनोस् ( ‘कारागारका सम्झना’१९९७)!!
च.    सायद रगतको मसीले प्राणको अक्षरले। मेरो यो मातृभूमिको वन्दना पूर्ण हुने हो कि (‘कुहिरो र घाम’)?
छ.    बाटो मेरो छेकिरहेको अजङ्गको साँढेलाई। लौरो लिइकन दूर लघारेँ, मैले कविता लेखेँ (‘कुहिरो र घाम’, २०४५)।। 
देशमा भ्रष्टहरू ठूला मान्छे ठहरिएर मान पाएको देख्ता कवि यसरी आक्रोश पोख्छन् ः

७.    नैतिकता

ठूलोबडो हुन चाहिँ अरूलाई ठग्नु। इन्साफको ढोका थुनी भोटे ताल्चा मार्नु (मङ्गलमान)।।
गरिब देशका नेता, हाकिम र ठालुहरूको विलासी जीवन प्रति कवि यसरी असहमति प्रकट गर्छन्,
 

८.    विद्रोह

मनुजकै पूजा लिएर, अप्सरालाई नचाई। देवताको स्वर्ग घुम्ने, हक छ के पृथ्वी रुवाई (२०५०, ‘आँसु’)?
    सहिदहरूका विषयमा कवि यसरी श्रद्धाञ्जलि चढाउँछन्,
 

९.    सहिद

क.    यौटा देह निमित्त दुर्ग्ति सही के वीरले ज्यूँदछ? आफ्नो मान र शान राख्न उसले मृत्यु स्वयं रोज्दछ (भीमसेन थापा)।।
ख.    जो मान्छे जन कार्यमा रत भई यो जिन्दगी मर्दछ। त्यो मान्छे जनतामहाँ अमरता ओढी सधैँ बाँच्तछ (भीमसेन थापा)।।
ग.    रोई रोई बाँच्न पुग्यो अब हाँसी हाँसी मर्न सिकूँ। रुखमा झुन्डिनलाई डोरी ओठ गरमले चुम्न सकूँ (‘मूल बाटो’)।। 
जनताको हक लुट्ने र थिच्नेहरूको विरोध र उछित्तो काढ्न निडर भएर फटाहाहरूविरुद्ध आन्दोलन, सङ्घर्ष र क्रान्तिका लागि देशभक्तहरूले सधैँ भविष्यको सहिद हुन सधैँ तम्तयार हुनुपर्छ भन्ने अद्वितीय विचार नेपाली कवितामा सर्वप्रथम प्रखर रूपमा व्यक्त गर्ने ‘युगकवि’ सिद्धिचरणलाई उनको १०९ औँ जन्मदिन (जेठ ९ गते) मा श्रद्धा सुमन !

https://annapurnapost.com/story/156620/


विशिष्ट विद्वान‍्‍को दृष्टिदोष

 पुष २६, २०७६ शनिबार १५:२९:०

डा. नयनाथ पौडेल

हाम्रो देशको प्राचीन इतिहास, भाषा, संस्कृति एवं सभ्यताको विषयमा अध्ययन अनुसन्धान गर्न प्रमुख आधार तात्कालिक अभिलेखहरू नै हुन्छन्। यिनै अभिलेखहरूको अध्ययनको आधारमा नै हामी हाम्रो देशको इतिहास एवं संस्कृतिसम्बन्धी विविध विषयमा अनुसन्धानात्मक ग्रन्थहरूको सिर्जना गर्न सक्षम हुन्छौं। यस्ता प्राचीन लिपिमा लेखिएका अभिलेखहरूको पाठ पढ्दा प्राचीन लिपिविशेषज्ञहरूले शब्द-शब्दमा, अक्षर-अक्षरमा अझ भनौं भने मात्रा-मात्रामा सूक्ष्म तरिकाले दृष्टि पुर्‍याउनुपर्ने हुन्छ। यस लेखमा यस्तै किसिमको लिच्छवि लिपिमा लेखिएको रेफसहितको वर्णको आकार-मात्राको पाठ-पढाइमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ।

विषयवस्तुमा प्रवेश गर्नुअघि यस सम्बन्धमा एक प्रसंग जोड्नु उपयुक्त नै हुने देखिन्छ। कुरा के भने राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त विद्वान् मित्रवर डा. महेशराज पन्तले २०७६ भदौ ३० गते एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिनुभएको रहेछ। त्यहाँ इतिहाससम्बन्धी शास्त्रचर्चा हुँदै गर्दा डा. पन्तले नामोल्लेख गर्नुभएका सीमित व्यक्तिमध्ये मेरो पनि नामोच्चारण भएको सुन्न पाउँदा मलाई रमाइलो लागेको छ। त्यसमा डा. पन्तले मलाई ‘कायर’ शब्दले सम्बोधन गर्नुभएको पनि सुन्न पाइयो। किन यसो भन्नुभएको रहेछ त भन्दा मेरा भाइछोराहरूले डा. पन्तको नाम लिएर पत्रिकाहरूमा सम्पादकलाई चिठी लेखेकोमा डा. पन्त रिसाउनुभएको रहेछ। उनीहरूलाई मैले लेख्न लगाएको भन्ने उहाँलाई परेछ। के उनीहरूले आफ्नो अभिव्यक्ति दिनै नपाउने ? पत्रिकामा सम्पादकलाई चिठी लेख्नै नपाउने ? कुन जमानाको कुरा होला यो ?

मैले एक पटक डा. पन्तको लेखमा देखिएको अशुद्धिलाई संशोधन गर्दै यस्तो लेखेको थिएँ, ‘संशोधनको कुरा आइसकेपछि यस्ता विद्वान्ले ठीक भए ठीक, बेठीक भए बेठीक त भनिदिनुपर्ने हो। अहिले त अचम्म ! “शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि” भन्ने यो सिद्धान्त पनि अरूहरूको संशोधन आफूले गर्दा लागू हुने, आफ्नो संशोधन अरूले गरेमा चाहिँ लागू नहुने हो कि भन्ने शंका पैदा भएको छ। डा.पन्त जस्ता विशिष्ट विद्वान्लाई यो कुरा सुहाउला र ? (रचना १५५, पृ. ७०)।’

यो लेखाइले डा. पन्तलाई छोएछ कि ? उहाँले मेरा लेखहरूको कुनै जवाफचाहिँ दिनुभएको छैन। अहिलेको अन्तर्वार्तामा यसैको प्रतिक्रिया देखिएको पो हो कि ?

अब लागौं विषयवस्तुतर्फ- पाटन मंगलबजारबाट पूर्वपट्टिको सडकमा केही अगाडि बढेपछि ह :खागल्ली आउँछ। यस गल्लीबाट दायाँपट्टि लागेपछि चक्रबहाल नपुग्दै गणेशस्थान पुगिन्छ। त्यही गणेशमन्दिरमा भगवान् गणेशको मूर्तिको तलतिर लिच्छविकालको एउटा शिलालेख रहेको छ।

सर्वप्रथम यस शिलालेखलाई श्री श्यामसुन्दर राजवंशीले रोलम्ब पत्रिकाको वर्ष १८ अंक १ (२०५४ वि.संं) मा छपाउनुभएको थियो। त्यसको १७ वर्षपछि यस अभिलेखलाई परिमार्जित पाठ, अनुवाद एवं विस्तृत व्याख्यासहित डा. श्री महेशराज पन्तले पूर्णिमा पूर्णांक १४१ (वि.सं.२०७१ चैत्र) मा छपाउनुभएको छ।

‘पूर्णिमा’ पत्रिका पारिवारिक भयो भन्नेहरूलाई जवाफ दिन हो कि किन हो, धेरै अंकदेखि पूर्णिमा पत्रिकामा डा. महेशराज पन्त एक जनाको मात्र लेखहरू छापिँदै आइरहेकोमा यस लेखमा चाहिँ प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठहरूका नाम पनि सहायकका रूपमा देखिएका छन्। पूर्णिमा पत्रिकामा लेख छाप्नका लागि बाहिरिया विद्वान्हरूको लेख नछाप्ने, केवल संशोधन मण्डलका सदस्यहरूको मात्र लेख छाप्ने परम्परा रहिआएकोमा निजहरूको समेत यस लेखमा नाम छापिएको देख्दा अब प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठहरू पनि संशोधन मण्डलको सदस्य भइसकेका देखिन्छन्।

विद्वान् लेखकले परि श्रमपूर्वक पूर्वसूरिको पाठलाई समेत परिमार्जन गरी यस शिलालेखको अनुवादसहित प्रकाशन गराउनुभएको भए पनि कतिपय विषयमा संशोधन मण्डलको पत्रिकाको पनि संशोधन गर्नुपर्ने अवस्था आइपरेको हुँदा यस पंक्तिकारद्वारा ‘एउटा लेख’ सन्दर्भ श्री पत्रिकाको वर्ष १६ अंक १ (२०७२ वि.सं.) मा प्रकाशित गरिएको थियो।

हाल उक्त अभिलेखको पाठलाई सूक्ष्मेक्षिकाले हेर्दा पुन : त्रुटि फेला परेको र संशोधन मण्डल जस्तो संस्थाबाट प्रकाशित पत्रिकामा अशुद्धि रहिरहनु उपयुक्त हुने नदेखिएकाले यस विषयसम्बन्धी विद्वान्हरूको जानकारीका लागि यो लेख लेख्ने धृष्टता गरिएको छ।

लिच्छविकालका अभिलेखहरूमा उत्कीर्ण अक्षरहरूमा ‘जलतुम्बिकान्यायेन रेफस्योद्ध्र्वगमनं भवति’ अर्थात् पानीमा तुम्बालाई फालिदिएपछि जसरी पानीको सतहमाथि त्यो तुम्बा टक्रक्क तैरिएर बस्छ, त्यसै गरी रेफ पनि वर्णहरूको शिरोरेखाभन्दा माथि टुक्रुक्क बस्छ भन्ने मान्यता रहेको पाइन्छ। यही परम्परालाई अनुसरण गर्दै धेरै शदीपछि अहिलेको देवनागरी लिपिमा आइपुग्दासम्म पनि रेफलाई वर्णको शिरोरेखाभन्दा माथि राख्ने प्रचलन चलिरहेकै देखिन्छ।

लिच्छवि कालका अक्षरमा संयुक्त वर्ण लेख्दा पहिलो वर्णमा संयुक्त रूपले लगाइने वर्णहरू लम्ब रूपमा तल जाने हुन्थे। यसैले धेरैजसो ठाउँमा संयुक्त वर्णमा लगाइने मात्राहरू संयुक्त वर्णको पहिलो अक्षरमा नै लगाइने गरिन्थ्यो। यसरी मात्रा लगाइँदा वर्णको शिरोरेखाकै दायाँ, बायाँ, माथि लगाइन्थ्यो। परन्तु रेफ-संयुक्त वर्णमा मात्रा लगाउँदाचाहिँ रेफ नै वर्णको शिरोरेखामा बस्ने हुँदा मात्राहरू पनि शिरोरेखाभन्दा माथि रेफमा नै लगाउने प्रचलन रहेको देखिन्छ।

नेपालको लिच्छविकालका अभिलेखहरूको पाठ पढी प्रकाशित गर्ने इ.शि बाबुराम आचार्य, श्रीगुरु पं. नयराज पन्त, गुरु धनवज्र वज्राचार्य लगायतका स्वदेशी विद्वान्हरू र भगवानलाल इन्द्रजी, सेसिल बेन्डाल, सिल्भाँ लेभी तथा रेनिइरो नोली लगायतका विदेशी विद्वान्हरूले यसै गरी रेफ-संयुक्त वर्णमा लगाइएका मात्राहरूको पाठ पढ्नुभएको पाइन्छ।

स्रोत  : लिच्छविकालका अभिलेखका शब्दहरूको प्रतिच्छवि डा. डिल्लीरमण रेग्मीको ‘इन्स्क्रिप्सन्स् अव् एन्सिन्ट’ नेपाल भाग ३ बाट लिइएका हुन्।

अब जाऊँ, ह :खागल्लीको लिच्छवि कालको शिलालेखतर्फ- उक्त शिलालेखको लिपिको रेफसहितको वर्णको आकार मात्राको पाठ-पढाइ निम्नबमोजिम रहेको देखिन्छ-

अब हेरौं- संयुक्त य्य वर्णमा लगाइएको रेफको चिह्नमाथिको आकार-मात्रा तर्फ-

रेफको चिह्न

यताबाट संयुक्त य्य वर्णमा य को बीचको दण्डमाथि रेफ लगाइएको र त्यसमाथि दायाँतिर थोरै तानिएको आकारको मात्रा-चिह्न प्रस्ट देखिन्छ।

आकारको मात्राचिह्न नभएको रेफ-चिह्न र आकारको मात्राचिह्न भएको रेफ-चिह्नका विषयमा यही शिलालेखको दोस्रो पंक्तिमा दुइटैको उदाहरण पाइन्छ। यताबाट रेफमा आकार लगाइएको छ वा छैन भन्ने स्पष्टसँग थाहा पाउन सकिन्छ। यसको प्रतिच्छवि हेरौं-

१. भगवताय्र्यावलोकित (रेफको चिह्नमाथि आकारको मात्रा चिह्न लगाइएको)

यसमा य्य संयुक्त वर्ण लेखी सोको शिरमा रेफ-चिह्न दिएर अनि रेफबाट दायाँपछि सानो रेखा तानी आकारको मात्राचिह्न लगाइएको छ।

२. विजिरगुप्ताय्र्यभिक्षुणी- (रेफको चिह्न भएको, आकारको मात्राचिह्न नलगाइएको)

यसमा संयुक्त य्य वर्ण लेखी सोको शिरमा लम्ब रूपमा सानो रेफचिह्न दिइएको छ। यसमा आकारको मात्रा-चिह्न लगाइएको छैन।

यसैले एउटै शिलालेखको एकै पंक्तिमा संयुक्त य्य वर्णमा रेफ लगाएर आकारको मात्राचिह्न लगाइएको उदाहरण पाइन्छ भने सोही पंक्तिमा संयुक्त य्य वर्णमा रेफको चिह्न लगाइएको, त्यसमा आकारको मात्रा-चिह्नचाहिँ नलगाइएको समेत दुवै उदाहरण पाइन्छन्। यसबाट संशय हुनुपर्ने अवस्था नै देखिँदैन। दुवै उदाहरण एकै पंक्तिमा स्पष्टसँग उल्लेख गरिएका छन्।

यसैले यस अभिलेखको २ पंक्तिमा भगवताय्र्यावलोकित, ३ पंक्तिमा पञ्चभिम्र्मान्या, ३ पंक्तिमा पुष्पधूपदीपस्तृभिर्मान्या एवं ४ पंक्तिमा भगवताय्र्यावलोकितश्वर नै शुद्ध पाठ हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ। (ह :खा गल्लीको लिच्छविकालको अभिलेखको प्रतिच्छवि पूर्णिमा १४१ बाट लिइएको हो।)

यस लेखको अलि नरमाइलो पक्षचाहिँ के छ भने यस अभिलेखका सम्बन्धमा डा. पन्तले यसरी टिप्पणी गर्नुभएको छ, ‘यस शिलालेखको भाषा कहीं लिपिबद्ध गर्नेको र कहीं कुँद्नेको कमजोरीले गर्दा त्यति शुद्ध छैन। यसको उदाहरणको लागि समस्त पदमा भगवदाय्र्यावलोकितेश्वरमुद्दिश्य हुनुपर्नेमा भगताय्र्यवलोकतश्वरमुद्दिश्य (मूलको ४ पंक्ति) लेखिएकोलाई देखाए मात्र पनि पुग्ला। आय्र्याको य्र्यामा कान्दानी छुटेकोचाहिँ कुँद्नेको गल्ती हो।” (पूर्णिमा १४१ पृ. ७)

माथिको छलफलबाट यो स्पष्ट भइसकेको छ कि आय्र्याको य्र्यामा कान्दानी छुटेकै छैन। अभिलेखको पाठ पढ्ने विद्वान्ले नै नपढिदिएपछि कसको के लाग्छ ?

‘यहाँ झूटो गुण अथवा दोष नलाइदिनुहोला’ भनेर आफ्नो सम्पूर्ण जीवन अध्ययन-अध्यवसायमै समर्पण गरेर विद्यार्जनमा लागिरहनुभएका यस्ता विशिष्ट विद्वान्ले शिलापत्र कुँद्नेको गल्ती नभएको अवस्थामा पनि आफूले राम्रोसँग नपढी ‘आय्र्याको य्र्यामा कान्दानी छुटेको चाहिँ कुद्नेको गल्ती हो’ भनी ठोकुवा गरी कलाकारलाई दोष लगाएको देख्दाचाहिँ नरमाइलो लाग्ने रहेछ।

यसैले माथिको छलफलबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लिच्छवि लिपिको रेफसहितको वर्णको आकार-मात्राको पाठ-पढाइमा संशोधन मण्डलका हस्ती डा. महेशराज पन्तले संशोधन गरी पढ्नुभएको पाठ, जो छ सो, अशुद्ध छ भन्ने कुरा ठोकेरै भन्न सकिन्छ।

https://annapurnapost.com/story/145245/

स्वाँ माःला स्वाँ !

 शिशिर वैद्य

फुल बेच्न पसेकाहरूका आवाज सहर सुगन्धित बनाउन पर्याप्त हुन्थ्यो कुनै बेला । फूल बेच्नेहरू ठूलो आवाजमा भनिरहेका हुन्थे– स्वाँ माःला स्वाँ...(फूल आयो फूल) ! कान्तिपुर नगरी यस्तै आवाजले ब्युँझिन्थ्यो । सिजनअनुसारका मू स्वाँ, तफ्व स्वाँ, ग्वँग चुली स्वाँ, ह्याँगु स्वाँ, लालुपात्या स्वाँ, लाहुरे स्वाँ, पंखा स्वाँ, अजू स्वाँ, सिन्ह स्वाँ बोकेर गथुहरू सहर पस्थे । अनि घरघर डुल्दै कराउँथे– ‘स्वाँ माला स्वाँ ।’

स्वाँ माःला स्वाँ !

मन्दिरैमन्दिरको सहर हो– कान्तिपुर । जात्रा सहरको नशा नशामा छ । कसलाई थाहा होला स्वाँको महत्त्व, यो सहरलाई भन्दा बढी ? हल्च्वः (हलचोक) पश्चिम इचंगु गाउँ स्वाँका लागि प्रसिद्ध थियो । इचंगुको आफ्नो प्रसिद्धि विलुप्त भएको छ । स्वाँ क्यबहरू मासिएर घर फलेका छन् अहिले । तथ्यांक भन्छ– फूलको व्यापार बढेको छ, तर उत्पादन कम छ । सहरको माग कोलकाताको फूलले धानेको छ ।

त्यो जमाना अर्कै थियो, जब दाउरेहरूलाई जिस्क्याउँदै गीत गाइन्थ्यो—

कल्चा सिं,

मान्चा जाकी

छँके वया खैला हजुर....

कसलाई याद होला यि गीत ? उपत्यका वरिपरिका जंगलबाट दाउरा बटुलेर स–सानो कलीदेखि ठूलाठूला दलिन बोकेर सहरमा बेच्न आउँथे दाउरेहरू । माटोको घर, माटोकै चुल्हो, कुरो त्यो जमानाको पो हो त । दलिन र दाउरा दुवै अपरिहार्य हुन्थ्यो । घर चलाउन पनि बनाउन पनि ।

‘भाले आयो हजुर भाले’ ढाक्रे डोकामा कुखुरा बेच्न सहर डुल्दै गरेका व्यापारीहरू कुन गाउँबाट सहर पस्थे सहरलाई के मतलब हुथ्यो ! पसिनाले लपक्क भिजेर टलक्क मैल टल्किएको टोपी अनि धूलो टाँसिएको धोती । कुखुरा कुखुरा बास आउँथे ती व्यापारीहरू । अर्धनग्न बालबालिकाहरू भाले जिस्क्याउँदै पछि लाग्थे । कुखुरी काँ बासी भात खाँ... ! ती बालबालिकालाई के थाहा कुखुरा बेच्न सहर पसेका गाउँले व्यापारीका व्यथा ! महाबौद्धमा कुखुरा व्यापारीहरूको हाट लाग्थ्यो । गाउँले व्यापारी र सहरी बिचौलियाबीच मोलमोलाई चल्थ्यो । जसले जसलाई निचोर्न सक्थ्यो ऊ फाइदामा हुन्थ्यो । सहरका व्यापारीको चलाखीअघि गाउँले सोझा व्यापारी लाचार हुन्थे । एक–एक कुखुरा बेचेर सहरमा महँगो बास बस्ने कि एकमुस्ट बेचेर गाउँ फर्किने ? उनीहरू दोस्रो उपाए रोज्थे । सहरमा दाना खुवाएर कुखुरा पाल्न कसरी सक्थे र गाउँलेहरू ?

महाबौद्ध परिसरभित्र अर्कै मेला लागिरहन्थ्यो । चिउराका बोराहरूले महाबौद्ध चोक भरिएका हुन्थे । जुटका बोरामा बेच्न राखिएका हुन्थे थरीथरीका चिउरा । मगमग बास्नाले नै पेट भरिन्थ्यो । सालु बजी, ख्वाटु बजी, टाइचिन बजी, ह्याँगु बजी सहरमा अनेकथरी बजीका सोखिन थिए, छन् अझै । बजी आजभोलि प्याकेटमा आउन थालेको छ । नत्र बोरामा आउँथे । बोराको जमाना सकिएको छ । ब्रान्डिङको जमाना जो छ । जमाना जस्तोसुकै भए पनि परम्परा धान्ने व्यापारी अझै छन् सहरमा । खर्पनमा तरकारी बेच्नेहरू उहिले ठिमीदेखि हिँडेरै आउँथे । एक खर्पन तरकारी बेच्न कम्ता दुःख थिएन त्यसबेला । गाउँ–गाउँ पुगेका सडक र यातायातको विकासले किसानलाई सजिलो बनाएको छ । खर्पन ठिमीदेखि बोक्नु पर्दैन आजभोलि ।

बेसारले शिरदेखि पाउसम्म पहेंलिएको मानिस देख्नुभएको छ ? यस्ता मानिस देखेर जन्डिसका कीटाणु पनि भाग्दो हो । गाउँको शुद्ध बेसार बोकेर सहर पस्दा व्यपारीको रूप यस्तै हुन्छ । गाउँमा मिल थिएनन् ऊबेला । मिल सहरमा हुन्थे, बेसार गाउँमा । बेसार बेच्ने पहेंलिनुमा के आश्चर्य ? सहर पस्ने, बेसार बेच्ने, अनि गाउँ फर्किने । एवंरीतले चलेको उसको दिनचर्यामा उसले सायद आफ्नो असली रूप बिर्सिसकेको होला । बेसार अझै पनि गाउँमै फल्छ । फरक यत्ति हो मिलहरू गाउँ पसेका छन् । बेसार बेच्न आजभोलि सहरका गल्ली–गल्ली धाउनु पर्दैन व्यापारीहरूलाई । मिलहरूले पोका पार्ने मिसिन पनि छन् गाउँमै । तर, गाउँका बेसार रोप्ने, सुकाउने किसान कतार, साउदीतिर मरुभूमि जोत्दै छन् । काभ्रेको खुवादेखि लेलेका दाउरा, छैमलेको नास्पाती र आरु, रसुवाको हिमाली जडीबुटी, खोकनाको तेल, दाउरादेखि दलिनसम्म के बिक्दैनथ्यो सहरमा ? हो, सहरमा के बिक्दैन ? प्रश्न गम्भीर छ । कान्तिपुरलाई यस मानेमा खपतपुरभन्दा पनि हुन्छ । उहिले गाउँका उत्पादन खपत गर्थ्यो, आजभोलि गाउँका मानिस खपत गरिरहेछ, उत्पादन भने चीनको । कन्टेनर भरिएर आउने चिनियाँ सामान उपत्यकामा खन्याएर बेतोड कुद्ने ट्रकहरूले राजमार्गमा तहल्कै मच्चाउँछ बेलाबेला । चिनियाँ मालको डम्पिङ साइट बनेको छ कान्तिपुर ।

गाउँको मुहार फेरिएकाले होला सहरको रूप पनि फेरिएको छ आजभोलि । महाबौद्धमा न चिउराको हाट लाग्छ, न कुखुराको । न खोकनामा तोरी फल्छ, न तोरी बेच्नेहरू सहर पस्छन् । आयातित तोरी पेलेर परम्परा धानेका खोकनावासीलाई के भन्नु र खै ? कान्तिपुर सहरका चिकंमुगः, ध्वखाडोल तेलका सुपरिचित नाम हुन् । लाय्कुसाःले कान्तिपुरको तेल परम्परा धानेको छ । ती पनि आयातित तोरीमै निर्भर भइसके । सुनाकोठीको दहिको प्रख्याति केही बूढापाकालाई भन्दा बढी कसलाई याद होला अब ? नालाका आलुबारीहरूमा ठडिएका पार्टी प्यालेसहरू आयातित आलु तासेर फ्रेन्च फ्राइज सर्भ गरिरहेछन् । दोलखाको मुडे आलुका लागि प्रसिद्ध छ । बजारमा मुडेको आलुको माग उच्च छ । तर, उत्पादन थोरै । पत्ता लगाउनुस कान्तिपुरका बजारमा छ्यापछ्याप्ती पाइने ‘मुडेका आलु’ कहाँका होलान् ?

मरु, मखं, वंघः, असं, न्यत, त्यरलगायतका त्वाहरू बँ पसः राख्नेहरूले ढाकिन्थ्यो उहिले । घरघर नधाउने व्यापारीहरू सहरका प्रमुख चोकहरूमा यस्ता पसः थापेर बस्थे । आफ्नो सामान पसार्थे । सहरको अंग थियो बँ पसः । संस्कृति नै भनिहाल्दा कति विद्हरू रिसाउलान् । तर, बँ पसःलाई कान्तिपुर सहरको सामाजिक रीतिरिवाजबाट हटाएर हेर्दा कहाँ भेटिएला बजी, बेसार, स्वाँ, तुफी र जडीबुटीहरू ? गाउँ र काँठका किसान आफ्ना उत्फादन बित्री गर्न कान्तिपुरका सडकमा ग्राहक कुर्थे । सहर तिनै बँ पसःमा खरिददारी गर्थ्यो । बँ पसः सहरको सामाजिक आवश्यकता थियो । गाउँले व्यापारीको रोजीरोटीको आधार ।

समय बदलिएको छ । महानगरलाई घाँडो बनेको छ– बँ पसः । सहरका फुटपाथ, मठमन्दिरका पेटी, फल्चा, दबु, चुक, ननी, बहाः, बहीलगायतका सम्पदा सबैतिर छन् बँ पसः राख्नेहरू । बँ पसः विश्वमा सबैतिर छन्, स्थानीय निकायले ती बँ पसःलाई निश्चित् समय र स्थान तोकेर बस्न दिन्छन् । बँ पसः राख्नेहरू समस्यामा परेरै सम्भावनाका खोजीमा फुटपाथ र सडकमा पसल थाप्न बसेका हुन् । महानगरले उनीहरूलाई लखेट्न पाउँदैन । बँ पसः को व्यवस्थापन गर्ने जिम्मा महानगरकै हो । असलमा कान्तिपुर नगरी सम्भावना र समस्याको एब्स्ट्राक्ट कोलाज हो, जसले जसरी व्याख्या गरे पनि हुने । जसले जसरी बुझे पनि हुने ।

https://ekantipur.com/koseli/2022/09/10/166278365769611808.html

निवर्तमान ‘देवीदेवता’

 सुरेश किरण

जीवित बालिकालाई कुमारी मानेर पूजा–आराधना गर्ने चलन अरु नगरमा पनि छ । तर, जीवित बालकलाई श्री गणेश र श्री भैरवका रुपमा पूजा गर्ने परम्परा काठमाडौंमा मात्रै छ ।

एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) ।

निवर्तमान ‘देवीदेवता’

नेसं ८०८ तिर काठमाडौंबाट भागेर भक्तपुर लुक्न गएका भारदार भागिराम काजीलाई ‘सुपुर्दगी गर’ भनी पाटन र काठमाडौंका काजीहरूले भक्तपुरलाई अनुरोध गरे । तर, भक्तपुरले सुपुर्दगी गरेन । त्यसैले भागिरामलाई पक्रिन पाटन र काठमाडौंका काजीहरूले भक्तपुरमा आक्रमण गरे । युद्ध भइरहेकै बेला इन्द्रजात्रा सुरु भयो । काठमाडौं र पाटनका काजीहरू युद्ध स्थगित गरी काठमाडौं फर्किए र धुमधामसँग इन्द्रजात्रा मनाए । अनि जात्रा सकेपछि फेरि आक्रमण गर्न गए र भागिरामलाई फिर्ता लिएर आए (पं. देवीप्रसाद लम्साल, भाषा वंशावली (दृतीय भाग), विसं २०२३) ।

नेपाली इतिहासमा मल्लकालीन राजाहरूका लागि इन्द्रजात्रा कति महत्त्वपूर्ण पर्व रहेछ ? माथिका दुई दृष्टान्तले नै सविस्तार वर्णन गर्छन् । मल्लकालमा इन्द्रजात्रा अत्यन्तै महत्त्वसाथ मनाउने गरिन्थ्यो भन्ने कुरा त्यस समयका थुप्रै अभिलेखमा इन्द्रजात्राबारे उल्लेख गरिएबाटै थाहा हुन्छ । मल्लकालीन नेपालका धेरै स्थानमा त्यस्ता धेरै शिलापत्र प्राप्त भएका छन्, जसमा इन्द्रजात्रा मनाउन जग्गा आयस्ता राखी गुठीको समेत व्यवस्था गरिएको छ (डा. अजयक्रान्ति शाक्य, सुरेश किरण मानन्धर, इन्द्रजात्रा, विसं २०७७) ।

मल्लकालमा इन्द्रजात्रा भव्यतापूर्वक मनाउने क्रम अन्तिम मल्ल राजा जयप्रकाशको समयसम्मै जारी रह्यो । जयप्रकाशले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो– जीवित देवी श्री कुमारीको रथयात्रा । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । रथयात्राको अघि–अघि जीवित देवताहरू श्री गणेश र श्री भैरवको रथ पनि तानिन्छ । जीवित बालिकालाई कुमारीका रूपमा पूजा–आराधना गर्ने चलन काठमाडौंलगायत पाटन, भक्तपुर र अन्य नगरमा पनि छ । तर, जीवित बालकहरूलाई श्री गणेश र श्री भैरवका रूपमा पूजा गर्ने परम्परा भने काठमाडौंमा मात्रै छ । यो परम्परा स्थापना पनि जयप्रकाश मल्लले नै गरेका थिए ।

जीवित देवी श्री कुमारी काठमाडौंका शाक्य कुलपुत्रीमध्येबाट छनोट गरिएजस्तै श्री गणेश र श्री भैरव पनि काठमाडौंका शाक्य कुलपुत्रमध्येबाटै छानिन्छ । श्री कुमारी बस्ने छुट्टै आवास (कुमारी घर) को व्यवस्था छ, तर श्री गणेश र श्री भैरव भने आ–आफ्नै घरमा बस्छन् । आफ्नै घरमा बसे पनि उनीहरूले विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । जस्तो ः देवता भइरहुन्जेल कपाल काट्नु हुँदैन, गणेशले सेतो जामा र भैरवले नीलो जामाबाहेक अर्को पोसाक लगाउनु हुँदैन, विद्यालय जाँदा पनि त्यही पोसाक लगाएर जानुपर्छ, जुठो खानु हुँदैन, खोला तर्नु हुँदैन, आफ्नोबाहेक अरूको घरमा रात काट्नु हुँदैन, भोज जानु हुँदैन, शरीरमा रगत आउने गरी घाउ–चोटपटक लगाउनु हुँदैन ।

एकपटक छनोट भइसकेपछि करिब १०–११ वर्षसम्म उनीहरू ‘देवता’ कै आसनमा विराजमान हुन्छन् । ‘देवता’ रहुन्जेल प्रत्येक वर्ष इन्द्रजात्राका तीन दिन रथयात्रा गराइन्छ । मानिसहरू उनीहरूलाई द्यः मय्जु वा द्यः भाजु भनी ढोग्न आउँछन् । पैसा चढाउँछन् । पूजा पनि गर्छन् । देवताकै रूपमा सम्मान गर्छन् ।

अनि देवताको आसनबाट झरिसकेपछि के हुन्छ ? दुई वर्षअघि मात्रै ‘देवता’ बाट निवृत्त भएका निवर्तमान गणेश संवेग शाक्य भन्छन्, ‘त्यसपछि त इजी लाइफमा जाने हो । देवता हुँदा नियममा बस्न गाह्रो छ । अहिले त्यस्तो छैन ।’

उनीसँगै निवृत्त भएका निवर्तमान भैरव रुजन शाक्य भने ‘देवता’ को आसनमा नरहेपछि लाइफ इजी भए पनि पाइरहेको सम्मान भने गुमेको महसुस गर्छन् । भन्छन्, ‘पहिले बाटामा हिँड्दा मानिसहरू हामीलाई पोसाकले नै चिन्दथे । हातमा पैसा राखेर ढोग्न आउँथे । छुट्टै पर्सनालिटी हुन्थ्यो । अहिले बाटो हिँड्दा कसैले चिन्दा पनि चिन्दैन, वास्ता पनि गर्दैन ।’

अहिले दुवै निवर्तमान ‘देवता’ घर–परिवार र टोल–छिमेकमा घुलमिल हुँदै सार्वजनिक जीवन जिउने प्रयासमा छन् । दुई वर्षअघिसम्म आजका दिन यी दुवै ‘देवता’ लाई रथयात्राको तयारीमा भ्याईनभ्याई भइरहन्थ्यो । यसपालि यी ‘देवता’ हरूले वसन्तपुरकै कुनै घरको आँखिझ्याल वा छतमा बसेर श्री कुमारीको रथयात्रा अवलोकन गर्नेछन्, सर्वसाधारणसरह ।

उनीहरूसँगै कुमारीको आसनमा पुगेकी निवर्तमान कुमारी मतिना शाक्य भने आजभन्दा ५ वर्षअघि नै ‘देवी’ आसनबाट निवृत्त भइसकेकी थिइन् । कुमारी रहुन्जेल उनी सधैं कुमारी घरमा थिइन् । त्यसैले सार्वजनिक जीवनमा आउन उनलाई अलिकति गाह्रो भएको थियो । काठमाडौंका टोलहरूको नामसमेत उनलाई थाहा थिएन । तर, परिवार, स्कुल र अन्य आफन्तको सहयोगले उनको त्यो अप्ठ्यारो लामो समय रहेन । अहिले उनी सामान्य भइसकिन् ।

संयोग नै भन्नुपर्छ, हालैको गुँला पर्वमा यी तीनै निवर्तमान देवीदेवता परम्परागत धाः बाजा र बाँसुरी बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्दै गरेका भेटिए । प्रत्येक वर्ष श्रावण महिनाभरि उपत्यकाका बौद्ध नेवारहरू स्वयम्भू महाचैत्यलगायत विभिन्न बौद्ध स्मारक गई स्तोत्र पाठ गर्छन् । र, धाः बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन्, जसलाई गुँला पर्व भनिन्छ । यस वर्ष गुँला पर्वमा यी तीनै जना निवर्तमान देवी–देवता आ–आफ्ना परम्परागत बहाःको बाजा खलःमा सम्मिलित भई स्वयम्भू महाचैत्य परिक्रमा गर्न भेला भएका थिए । मतिना बाँसुरीमा पोख्त थिइन् भने संवेग र रुजन धाः बाजामा निपुण थिए । तीनै जनाले आ–आफ्नै बहाःको गुठीले प्रदान गरेको प्रशिक्षणमा ती बाजा सिकेका थिए ।

संवेग त गितारमा पनि उतिकै सिपालु छन् । ‘देवता’ रहेकै बेला उनले घरमा गितार सिकेका थिए भने एकपटक सिटी सेन्टरमा भएको सांगीतिक कार्यक्रम पनि हेर्न पुगेका थिए । ‘देवता–देवी’ आसनबाट निवृत्त भई सार्वजनिक जीवनमा पदार्पण हुनेबित्तिकै यी तीनै जना सार्वजनिक क्रियाकलापमा पनि अभ्यस्त हुँदै छन् । उनीहरूको सहभागिताले सम्बन्धित बहाःको बाजा खलःको पनि शोभा बढेको बताउँछन् इतुम्बहालका अभियन्ता प्रतापमान शाक्य ।

यी निवर्तमान देवी–देवताको सवालमा एउटा साझा विषय के पनि भइदियो उनीहरू तीनै जना अहिले १७ वर्षका भए । तीनै जना १२ कक्षा पढिरहेका छन् । र, तीनै जनाको मूल विषय कम्प्युटर साइन्स हो ।

निवर्तमान गणेश संवेग शाक्यको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । निवर्तमान भैरव रुजन शाक्य ग्राफिक्स डिजाइनर बन्छु भन्छन् । निवर्तमान कुमारी मतिना शाक्य भने सबै क्षेत्रमा कम्प्युटर अनिवार्यजस्तै भइसकेकाले कम्प्युटर साइन्सलाई सीमित क्षेत्रमा राखेर नहेर्ने बताउँछिन् । कुमारीको आसनबाट झरिसक्दा पनि उनी अक्सर कुमारी घर पुगिरहेकै हुन्छिन् । सबै पूर्वकुमारीलाई कुमारी घरमा छोरीको रूपमा सम्मान दिइन्छ । चाडपर्वहरूमा पूर्वकुमारीलाई छोरीसरह नख्त्या बोलाउने गरिन्छ ।

हाल कुमारी घर रहेकी वर्तमान कुमारीसँग पनि निकै राम्रो घुलमिल भएकाले मतिना अक्सर उनीसँग खेल्नैका लागि कुमारी घर पुगिरहेकी हुन्छिन् । वर्तमान कुमारी मतिनालाई ‘द्यःतता (देवी दिदी)’ भनेर सम्बोधन गर्छिन् । हाल मतिना शाक्यसमेत गरी ९ जना पूर्वकुमारी जीवित छन् । पूर्वगणेश ७ जना र पूर्वभैरव ८ जना जीवित छन् । काठमाडौं महानगरपालिकाले जीवित पूर्वकुमारीलाई मासिक १५ हजार रुपैयाँ र जीवित पूर्वगणेश एवं पूर्वभैरवलाई मासिक १२ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।

https://ekantipur.com/koseli/2022/09/10/166278353570026715.html


हराएका मूर्ति, फेला परेका मूर्ति

 मल्ल के. सुन्दर

काठमाडौं उपत्यका संसारकै सम्पन्न एक विशाल खुला संग्रहालय हो । तर, मन्दिर, गुम्बा, चैत्यबाट हाम्रा सम्पदा हराउँदै गए र राज्य केवल मुकदर्शक बनिरह्यो ।

मूर्ति चोरी – आरम्भिककाल
चिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज ।

हराएका मूर्ति, फेला परेका मूर्ति

प्राचीनकालदेखि नै साँखुमा एउटा प्रचलन थियो– केही आपत्ति आइहाले सहयोग–सतर्कताका लागि नगरको उच्च भागको बज्रयोगिनी मन्दिरको घण्ट बजाउने ! छिनमै पूरै सहर जागा भयो । घर–घरबाट निस्केर नगरवासीहरू बज्रयोगिनीको डाँडातिर लम्के । बिजुलीको सुविधा थिएन, तर मानिसका हातमा मसाल र परालको मुस्लो थियो । थली, भद्रावास, डाँछी र चाँगुदेखि मानिसको ताँती लाग्यो । आगोको लामले यस्तो लाग्थ्यो, मानौं सिंगो सहर अँध्यारोमै कुनै मोर्चामा लम्केको छ ।

असुरक्षित भएको अनुभव हुनासाथ एक डफ्फा अपराधी मन्दिरबाट उठाएर ल्याएको मूर्ति जंगलमै छाडेर भाग्न खोजे । तर, स्थानीयले लखेटे । अपराधीले गोली चलाए । साँखुका तीन जना गम्भीर घाइते भए । घाइतेमध्ये एक साँखु धुँलाटोल निवासी सूर्यमान श्रेष्ठ हालसम्मै जीवित छन् । बज्रयोगिनी मन्दिरमा अवस्थित सबैभन्दा मूल्यवान् र प्राचीन अवलोकितेश्वरको अति कलात्मक मूर्ति चोरीको घटना थियो त्यो । ६ फिट उचाइको धातुको त्यो मूर्ति चोर्ने प्रयास भएको साल थियो– २०२६ !

केहीलाई पक्राउ गरियो, केही रिहा भए । सोधपुछ क्रममा थाहा भयो– त्यस घटनाको सम्बन्धको जरो राजदरबारसम्मै थियो । पछि प्रहरीले त्यसबाट हात झिके । तर, चोरहरूको कठालो समाउन साहस गर्ने साँखु धुँलाटोलका कृष्ण श्रेष्ठलाई त्यही गिरोहले केही दिनपछि ठमेल, सातघुम्तेमा गोली हानी हत्या गर्‍यो ।

बज्रयोगिनीको त्यस घटना उपत्यकाकै अत्यन्तै चर्चित र खतरनाक थियो । नेपालमण्डलभित्रको मूर्त सम्पदा लुप्त पार्ने संगठित आपराधिक कार्यको सम्भवतः यो प्रारम्भिक चरण थियो ।

पुरातत्त्व विभागका अनुसार, मुलुकभित्र योजनाबद्ध ढंगले मूल्यवान् मूर्तिहरू चोरिने क्रम सन् सत्तरीको दशकबाट सुरु भएको हो । र, असीको दशकमा एक प्रकारले मूर्ति चोरीको आतंक नै मच्चियो ।

खुला सम्पदा संग्रहालय

प्रत्येक चोक, चौबाटो, वस्ती, टोल, जहाँ पाइलैपिच्छे कुनै–कुनै मूर्त सम्पदा छन् । ठूल्ठूला बहाल, मन्दिर, चैत्य, स्तूप मात्रै होइन, प्रत्येक गल्ली–मोडमा साना–ठूला कलात्मक मूर्त सम्पदा पनि भेटिने नगर सभ्यताको केन्द्र हो– काठमाडौं उपत्यका । अगाध आस्थाको प्रतीकका रूपमा बस्तीहरूमा सजाइएका ती सम्पदा शैव, बौद्ध, वैष्णव, शाक्त र तान्त्रिक मूल्य मान्यताका अभिव्यक्ति थिए । अर्कोतिर ती स्मारक थिए– प्रस्तर, धातु, काष्ठ अनि मृतिका आदि सामग्रीबाट निर्मित हाम्रा पुर्खाका सांस्कृतिक–कलात्मक चेतका अनुपम कृति । हाम्रो गौरव र इतिहासका चिनो मात्र नभई ती थिए– राष्ट्रिय पहिचानका महत्त्वपूर्ण आधार ।

पाश्चात्य जगत्मा सुरक्षा घेराभित्रका म्युजियम वा धनी वर्गका निजी संकलनमा मात्रै हेर्न पाइने यस्ता कलात्मक कृति नेपालमण्डलभित्र खुला आकाशमुनि सहज पहुँचमा भेटिँदा विदेशी अध्येताहरू आश्चर्यले भरिन्छन् । जर्मनीका कलाप्रेमी युर्गेन स्किकले आफ्नो पुस्तकमा लेखेका छन्, ‘काठमाडौं उपत्यकालाई संसारकै सुन्दर र सम्पन्न एक विशाल खुला संग्रहालय भन्न सकिन्छ ।’

सन् सत्तरीको दशकमा नेपालमा राजाको सक्रिय शासनकाल थियो । त्यस संवैधानिक हिन्दु राजतन्त्रमा राजालाई विष्णुको अवतार भनिन्थ्यो अर्थात् राजा थिए– धर्मका संरक्षक । तर, तिनै धर्मभीरु शासकको छत्रछायामा धर्म, संस्कृति र आस्थाका प्रतीक एकपछि अर्को गर्दै मन्दिर, गुम्बा, चैत्य, सम्पदा क्षेत्रबाट हराउँदै गए । फेरि पनि राज्यसंयन्त्र बनेको थियो केवल मुकदर्शक ।

आतंकका ती दिन

पाटन सौगलको सूर्यमूर्ति दुई कोणबाट महत्त्वपूर्ण थियो । पहिलो, दसौं शताब्दीतिर कुँदिएको त्यो थियो– एक कलात्मक मूर्ति । दोस्रो, त्यस मूर्ति मानवाकृत उभिएको अवस्थामा थियो । चोरीको बिगबिगी बढेपछि सुरक्षाका लागि स्थानीयले मूर्तिलाई चारैतिर फलामे पाताले कसे । वैशाखको एक रात ०४३ सालतिर हातहतियारसहित आएको एक समूहले त्यो मूर्ति उखेलेरै लिएर गयो ।

इन्द्रजात्रामा काठमाडौंका टोलटोलमा भैरवका मूर्तिहरू सार्वजनिक ठाउँमा सजाएर पूजा गरिने, एक सातासम्मै खुला स्थानमा मूर्ति प्रदर्शन गर्ने प्रचलन थियो । तर, ०४३ को इन्द्रजात्रामा एकै रात काठमाडौं भित्री सहरका नघल, थँहिटी, त्यौड र न्ह्योखाबाट चारवटा भैरवका मूर्ति हराए । वर्ष त्यही थियो, पुुस ३० को राति केही अज्ञात मान्छेले कीर्तिपुरको भित्री बस्तीमा ठाउँठाउँका सम्पदा क्षेत्रका मूर्ति उखेल्दै थिए, त्यो पनि प्रहरीकै बर्दीमा । स्थानीयले थानामा पुगेर उजुरी गरे । स्थानीयलाई प्रहरी हाकिमले झपारे ।

२०४४ साल । तिहारलगत्तैको ढल्दै गरेको एक रात । छेउमै नीलो रङको प्रहरी भ्यान तैनाथ थियो । कमान्डो ड्रेस लगाएका पाँच–छ जना मान्छे बांगेमुढास्थित नारायणको मन्दिरभित्रबाट मूर्ति उखेलेर बाहिर घिसार्दै थिए । स्थानीयले चाल पाएपछि झ्याल–झ्यालैबाट चिच्याउन थाले– ‘चोर ! चोर ! चोर !’ त्यसपछि मूर्ति त्यतै छाडेर मानिसहरू भागे ।

ललितपुर बुङ्मती मन्दिरपरिसरको एउटा महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा हो– भैरवको मूर्ति । रातो मच्छिन्द्रनाथजत्तिकै प्राचीन र कलात्मक वुङ्मलोकेश्वरलाई अज्ञात समूहले उठाएर लग्यो । लगत्तै त्यहाँबाट एकपछि अर्को मूर्ति हराउन थाले । मान्छेहरूले त्यहाँको तोरण पनि उठाएर लगे । चर्को असुरक्षा र आतंकबाट आत्तिएका त्यहाँका पुजारी–पाँजुहरू सामूहिक रूपमा निवेदन बोकी गुठी संस्थान पुगे । रातो मच्छिन्द्रनाथको मूर्ति कुनै पनि बेला चोरिन सक्ने र मन्दिरमा बस्ने पुजारीहरूको ज्यान पनि असुरक्षित भएकाले पूजा र मन्दिरको जिम्मा गुठी संस्थानले लिनुपर्ने माग पुजारी–पाँजुको थियो । तर, गुठी संस्थान चुप बस्यो ।

ललितपुर, पुल्चोक डाँडामाथिको आकाशयोगिनीको मूर्ति चोरीको पनि प्रयास भयो । फलामे ढोका थियो, त्यसैले चोरहरूले त्यो फुटाउन सकेनन् र भागे । पछि नियमित भजन गर्ने मण्डली डीएसपी कार्यालय पुग्यो, घटनाको जाहेरी दिएर सुरक्षाको माग गर्‍यो । तर, डीएसपीको उत्तर थियो– अबउप्रान्त मूर्ति चोरीको घटनासम्बन्धी उजुरी गर्न मकहाँ नआउनू ।

भक्तपुर, पच्चपन्नझ्याले दरबारअघि उभिएको शिलास्तम्भमाथिको राजा भूपतिन्द्र मल्लको आकर्षक प्रतिमूर्तिबारे मानिसहरू जानकार छन् । सुनको मोलम्बासहित धातुको त्यो मूर्ति कलाकृतिका दृष्टिकोणबाट अनुपम छ । २०४१, चैत २८ को मध्यरात भीमकाय क्रेनसहित अपराधीको एक जमातले त्यो मूर्ति उखेल्न निकै प्रयत्न गर्‍यो । प्रहरी नायब उपरीक्षकको कार्यालय दरबार स्क्वायर परिसरमै थियो । केही जवानसहित डीएसपी रूपकराज शर्मा त्यहाँ आइपुगे । ‘माथिको आदेशबाट आएका हामी,’ क्रेन चलाउनेहरूको स्पष्टोक्ति थियो । त्यो ‘माथि’ को संकेत थियो– नारायणहिटी राजदरबार । तर, डीएसपी रूपकले कुनै कुरै सुनेनन् र त्यहाँ अप्रिय घटना हुन दिएनन् । क्रेन लिएर आएकाहरू फर्के । भूपतिन्द्र मल्लको सालिक उखेलेर लैजाने त्यो योजनामा सफल भएनन् । तर, अवरोध गर्ने डीएसपी रूपक केही दिनपछि नै सर्लाही सरुवा गरिए । र, गोविन्द थापा नयाँ डीएसपी भएर खटिए ।

चोरिएका मूर्तिहरूमा पशुपति बच्छलेश्वरी अवस्थित तेस्रो शताब्दीको नारीशक्ति, पशुपति भुवनेश्वरीकै पाँचौं शताब्दीको विष्णुको मूर्ति र चाबहिलको सातौं शताब्दीको नागराजका मूर्ति सबैभन्दा प्राचीन थिए ।

लैनसिंह बाङ्देलको किताब ‘द स्टोलन इमेजेज अफ नेपाल’ मा त्यस कालखण्डमा चोरिएका २२७ मूर्ति संख्या सचित्र उल्लेख गरिएका छन् । जर्मनीका युर्गेन स्किकले आफ्नो किताब ‘द गड्स आर लिभिङ द कन्ट्री’ मा चोरिएका प्रस्तर मूर्ति र १८० तोरणको चर्चा गरेका छन् । पुरातत्त्व विभागका अधिकारीको अनुमानमा लगभग पाँच सय मूर्ति नेपालबाट हराएका छन् । निजी स्वामित्वमा रहेका ससाना धातुमूर्ति तथा पौभा, थाङ्का चित्र अनि हस्तलिखित ग्रन्थ हराएका अलग्गै कथा छन् ।

फिर्ता भएका चोरिएका मूर्ति

युनेस्कोको महातहतमा सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात–निर्यात र स्थानान्तरणको निषेध तथा रोकथामसम्बन्धी महासन्धि– १९७० क्रियाशील भएयता अन्तर्राष्ट्रिय तहमा नौलो परिस्थिति सिर्जना भयो । विशेषतः नेपालबाट हराएका पुरातात्त्विक–कलात्मक मूर्तिहरू फिर्ताका लागि त्यो महासन्धि बलियो कानुनी आधार बन्यो । स्विडेनकी कलाकार जोय लियन डाभिजको ‘रिमेम्बरिङ द स्कल्पचर अफ काठमाडौं’ परियोजनाका रूपमा अघि बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट हराएका अनेकन् कलाकृतिसम्बन्धी सचेतना जगाउन यसले अभियानको रूप लियो । अर्कोतिर ‘लस्ट आर्ट अफ नेपाल’, ‘स्टोलन आर्ट्स अफ नेपाल’ का तर्फबाट नेपालबाट हराएका मूर्ति खोज्न संस्थागत प्रयत्न सुरु गरियो । त्योमध्ये ‘पिपुल्स फर द लस्ट आटर््स अफ नेपाल’ सामाजिक सञ्जाल समूह निकै प्रभावकारी देखियो ।

सत्यमोहन जोशीको संरक्षकत्वमा रहेको ‘सम्पदा पुनःस्थापना अभियान’ को भूमिका पनि उल्लेखनीय रह्यो । काठमाडौं उपत्यका संरक्षण गुथिअन्तर्गतको ‘रिमेम्बरिङ द लस्ट स्कल्पचरस अफ काठमाडौं’ पनि यसै अभियानमा थपिएको छ ।

सामाजिक स्तरमा अभियन्ताहरूले देखाएका सरोकारले देशबाट हराएका महत्त्वपूर्ण मूर्तिहरू फर्काइने क्रम सुरु भएको छ । टेक्सास डल्लास, अमेरिकाबाट फर्काइएको ललितपुरको वासुदेव–कमलाज यस क्रमको सबैभन्दा पछिल्लो उपलब्धि हो । डोल्पाको यत्सेर जाङ्गचुयली गुम्बाबाट चोरिएका बौद्ध मूर्तिहरू (जुन ल्हासा पुर्‍याइएका थिए) कुल २८ थिए । हालसम्म स्वदेश फर्काइएका मूर्तिमा त्यो नै ठूलो संख्या हो ।

पुरातत्त्व विभागका अनुसार, हालसम्म संयुक्त राज्य अमेरिकाबाट २३, बेलायतबाट १९, भारत कलकत्ताबाट १३, अस्ट्रिया र जर्मनीबाट एक–एकवटा मूर्ति तथा पुरातात्त्विक वस्तु नेपाल फर्काइएको छ । अझै नेपाल फर्काइनुपर्ने हाम्रा अरू महत्त्वपूर्ण सम्पदा कति छन्, कहाँ छन्् ? थाहा छैन ।

पर्दापछाडिका हातहरू

पुर्खाका श्रम र सिर्जनाबाट निर्मित मानव सभ्यताकै ती धरोहर (जुन नेपालीको पहिचान र गर्वका आधार हुन्) लाई संगठित रूपमा लुप्त पार्ने अदृश्य शक्ति के थियो होला ? पर्दापछाडिका शक्तिहरू को थिए होलान् ?

पाटन दरबार सुन्दरी चोक, धारामा सजाइएका मूर्तिहरू एकपछि अर्को हराए । हनुमानढोका दरबारपरिसरको दिगु तलेजुभित्रका मूर्ति ०२६ सालमा चोरिए । केही समयपछि तलेजु भवानीको शिरमा चढाइएको चाँदीको किकिंपा बेपत्ता भयो । ०९० को भूकम्पमा भत्किएको भक्तपुरको हरिशंकर मन्दिरको सुनको गजुर सुरक्षाका लागि भक्तपुर दरबारभित्र राखियो ।

दस जना मानिसले पनि उचाल्न नसक्ने र मूलढोकाबाट नछिर्ने त्यो बोझिलो पुरातात्त्विक सामान पछि त्यहाँबाट हरायो ।

पाटन, भक्तपुर र हनुमानढोका दरबारका सम्पूर्ण जिम्मेवारी दरबार हेरचाह अड्डाको हुन्थ्यो, जुन प्रत्यक्ष नारायणहिटी राजदरबारअन्तर्गत सञ्चालित थियो । ती प्राचीन दरबारहरूका परिसरमै शाही सेनाको टुकडी बस्थ्यो । सुरक्षा उनीहरूकै हुन्थ्यो ? स्वाभाविक प्रश्न हो– यस्ता भौतिक संरचना र सुरक्षाभित्रबाट पुरातात्त्विक महत्त्वका ती सामान हराउन कसरी सम्भव भयो ?

अमेरिकामा रहेकी पत्रकार श्वेता ज्ञानु बानियाँले हालै ट्वीटरमा सार्वजनिक गरेपछि सिकागो म्युजियममा सार्वजनिक प्रदर्शनमा राखिएको काठमाडौं तलेजु मन्दिरबाट हराएको पुरातात्त्विक हार कहाँ, कुन अवस्था रहेछ भन्ने जानकारी प्राप्त भयो । राजा प्रताप मल्लले तलेजु भवानीलाई चढाएको चाँदीमा सुनको मोलम्बा लगाएको, अष्टमातृका आकृति कुँदिएको मूर्तिसहितको त्यो हार नेपालकै हो भन्ने हाल सालै भेटिएको एक लगतबाट पुष्टि भयो । राजदरबारकै निर्देशनमा ०२७ सालमा तलेजुको सम्पत्तिको लगत राख्न राजदरबारका प्रतिनिधि, अञ्चलाधीशसहितको उच्चस्तरीय समिति बन्यो । पुजारी उद्धव कर्माचार्यका अनुसार, तयार गरिएको लगतसहित तलेजुको त्यस हार र अरू थुप्रै पुरातात्त्विक सामान त्यसै बेला राजदरबारमार्फत गुठी संस्थानको जिम्मा लगाइएको थियो । अहिले त्यो सिकागो म्युजिममा कसरी फेला पर्‍यो ?

जनकपुर जानकी मन्दिरको गरगहना र पुरातात्त्विक सामग्रीका सम्बन्धमा पनि समान कथा छ । महन्त रामशरण दासका अनुसार, २०२० साउन, १२ गते सुरक्षाका लागि भनेर मन्दिरभित्रका हीरामोती र मूल्यवान् पत्थर जडेका सुनका ५६ थान गरगहना अनि ७७ थान चाँदीका पुरातात्त्विक सामान गुठी संस्थानमार्फत दरबारमा बुझाइयो, अहिले त्यसको कुनै अत्तोपत्तो छैन । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको अस्ट्रेलियन महिला सरले म्याकफरेन्ससँगको प्रेम प्रसंग सार्वजनिक भएपछि राजदरबारले ०४५ मंसिर, २८ का दिन विज्ञप्ति जारी गरी धीरेन्द्रको अधिराजकुमार पदवी च्युत गर्‍यो । लगत्तै राजाका एडीसी भरत गुरुङ र आईजीपी डीबी लामा पक्राउ परे ।

तत्पश्चात् राजपरिवारको संरक्षण र निर्देशनमा लामो समयदेखि नेपालभित्र लागूपदार्थको तस्करी र मूर्ति चोरीका गतिविधि हुँदै गरेका घटना उदांगिए ।

नेपाली सेनाका पूर्वरथी तथा राजाका एडीसी कृष्णनारायण सिंह थापाले लेखेका ‘समय सम्झना’ किताबको एक खण्डमा त्यसबखत राजदरकारबाट विदेश पठाइएका सामानका बक्साभित्र चरेस हुन्थे । परराष्ट्रसचिव पद्मबहादुर खत्रीको निर्देशनमा सञ्चालित गोप्य मिसनअन्तर्गत वासिङ्टनको एयरपोर्टमा राजदरबारबाट फिल्मका ३२ वटा रिलका डब्बाभित्र नसालु पदार्थ पठाइएको र त्यो आफैंले खोलेर हेरेको उल्लेख गरेका छन् । हालै योहो टीभीमा अन्तर्वार्ता दिँदै रथी थापाले चोरिएका मूर्ति र नसालु पदार्थको कारोबार राजदरबारबाटै हुने गरेको खुलासा गरेका छन् ।

पत्रकार पद्म ठकुराठीले एक अनलाइनसँग कुराकानी गर्दै त्यस बेला नेपालबाट मूर्तिको तस्करी र नसालु पदार्थको कारोबार राजदरबारबाटै गर्ने/गराउने गरेको ठोकुवा गरेका छन् । त्यस बेला उनी एक साप्ताहिक पत्रिकाको सम्पादन गर्थे र पत्रिकाबाट भूमिगत गिरोहका नाउँमा रहेका एकथरी दरबारिया शक्तिको भण्डाफोर गरिरहेका थिए । मूर्ति चोरी र नसालु पदार्थको तस्करीविरुद्ध पत्रिकामार्फत अभियान नै चलाएका थिए । त्यसै बेला जगत गौचन भन्ने मान्छेले ठकुराठीमाथि गोली चलाए, लामो उपचारपछि उनको ज्यान जोगियो । ठकुराठीको खुला आरोप छ, आफूलाई मार्ने षड्यन्त्र ज्ञानेन्द्र्रकै निर्देशनमा भएको थियो । मूर्ति र नसालु पदार्थको तस्करीमा राजदरबार प्रत्यक्ष संलग्न थियो र त्यसका मुख्य मानिस ज्ञानेन्द्र–धीरेन्द्र नै हुन् भन्ने सार्वजनिक दाबी छ ठकुराठीको ।

राष्ट्रकै पहिचान ती अमूल्य सम्पदा विलुप्त पार्ने विगतका यावत् घटना न कपोलकल्पित थियो, न कसैमाथिको आग्रहपूर्ण आक्षेप नै । मूर्ति चोरीका जेजति घटना भए– ती यथार्थ थिए, जुन निन्दनीय र अपराधजन्य हुन् । हिजोआज सम्पदा संरक्षणमा नागरिकस्तरमै विघ्न सरोकार देखिएको छ । यस्तो बेला विगतमा यस सम्बन्धमा जघन्य अपराध गर्नेलाई आजसम्मै उन्मुक्ति किन होला ? उत्तर कहाँबाट खोज्ने ?

https://ekantipur.com/koseli/2022/08/06/165975076569666144.html

गुप्तबासमा देउता

 प्रशान्त माली

यही साउन १० देखि ठेचोमा नवदुर्गा नाचको १२ वर्षे जात्रा सुरु हुनेछ । जात्रा अवधिभर बस्तीमा बिहे, भोजभतेर, व्रतबन्ध गर्न निषेध गरिनेछ । नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजा, घण्ट, सिठ्ठी, ताली बजाउन पाइनेछैन । राती हिँडडुल गर्न, खुट्टा झुन्ड्याएर बस्न र घरमा रात बस्ने गरी पाहुना बोलाउन पनि पाइनेछैन । र, यो निषेध चैतसम्मै रहनेछ ।

यही साउन १० देखि गथामुग चह्रे (घण्टाकर्ण चतुदर्शी) बाट ठेचोको नवदुर्गा गुठीको १२ वर्षे जात्रा विधिवत् आरम्भ हुनेछ । गोदावरी नगरपालिकाभित्रको ठेचोमा जात्रा सुरु भएसँगै मान्छेका केही दैनिकी निषेधमा पर्नेछन् । जस्तै : नवदुर्गा गुठीको बाजाबाहेक बस्तीमा अन्य बाजा, घण्ट, सिठ्ठी, ताली बजाउन पाइनेछैन । बिहे, भोजभतेर, व्रतबन्ध गर्न पाइनेछैन । खुट्टा झुन्ड्याएर बस्न, राति ९ देखि बिहान ४ बजेसम्म हिँडडुल गर्न र रात बस्ने गरी घरमा पाहुना बोलाउन पाइनेछैन । १२ वर्षे जात्राकै बेला मात्रै यिनमा बन्देज लगाइन्छ । यो बन्देजलाई मान्छेहरूले वर्षैभरि पालना गर्नुपर्ने नियम छ । र, नवदुर्गाको धुखः नाचपछि (यो नाच फागुन/चैतमा नाचिन्छ) मात्रै निषेध फुकुवा हुनेछ ।

गुप्तबासमा देउता

निषेधबारे बस्तीमा ‘नाय खिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइनेछ । सूचना पनि टाँसिनेछ । यो निषेध किन ? गुठीनाइके भक्तलाल माली भन्छन्, ‘देउता गुप्तबासमा अर्थात् दुःखमा बस्ने भएकाले देश (ठेचो) मा खुसियाली मनाउन नहुने र विभिन्न शक्तिपीठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्छ । त्यसैले परपूर्वकालदेखि नै राति हिँडडुल गर्न निषेध गरिएको हो ।’ स्थानीयहरू यस्तो निषेधबाट दुःखी हुँदैनन् । निषेधलाई सहजै स्विर्काछन् ।

गठेमंगलमा ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु भएको मानिन्छ । त्यसपछि नवदुर्गा गुठियारहरू राष्ट्रप्रमुखलाई सुपारी चढाउँछन् । मन्दिरमा १२ वर्षे जात्रामा एक पटक मात्रै ताल्चा लगाइन्छ । नत्र ३ सय ६५ दिनै मन्दिर खुला रहन्छ ।

ठेचोको नवदुर्गा नाचमा १३ देवगण छन्– भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । गणेश बन्ने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । देवगणको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुन्छ । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । १२ वर्षमा एक पटक मात्रै श्वेतभैरवको नृत्य गराइन्छ ।


इन्द्रायणी देवीको नृत्य–कथा विषेश छ । नवदुर्गालार्ई शक्ति–देवीका रूपमा पुजिन्छ  । किंवदन्ती भन्छ– इन्द्रायणी देवगण बनेर नृत्य गर्ने हरेक गुठियारको मृत्यु हुन थाल्यो । कालान्तरमा इन्द्रायणी देवीको भेषमा नृत्य गर्न सबै डराए । र, अहिलेसम्म त्यो नृत्य गर्ने आँट कसैको छैन ।

१२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिन्छ । यसमा ६० वटा पशु–बलि आवश्यक पर्छ । पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ । जात्राभरि आँग सिं अर्थात् स्वः सि (चापको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ ।

विभिन्न स्थानमा हुने नाचमध्ये पाटन दरबारको नाचको विशेष आकर्षण छ । ठेचोमा नवदुर्गा देवीलाई ‘शिवद्यःचाः’ वा ‘शिभिल द्यःचाः’ नामले सम्बोधन गरिन्छ । शिवद्यःचाः र पाटन दरबारको लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवीबीच मीत साइनो थियो भनिन्छ । मनमानेश्वरी देवीलाई भगवतीका रूपमा पुजिन्छ । सत्ययुगमा भगवतीले शिवद्यःचाको साथ लिई असत्यमाथि विजय प्राप्त गरेको विश्वास छ । यो जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिन्छ ।

...

भाषा वंशावलीमा उल्लेख भएअनुसार, पाटन दरबार क्षेत्रकेन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको छ । नवदुर्गा नाचलाई खड्ग जात्राको रूपमा पनि लिइन्छ । वंशावलीमा लेखिएको छ, ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त माली जात प्रख्यात गरेको... ।’ राजा मानदेवको पालामा मू छेँ आँगमघर स्थापना गरी खड्ग जात्रा चलाएको वंशावलीमा लेखिएको छ ।

जात्राको मुख्य आर्कषण सुनाकोठीको कुल्पी यज्ञ पनि हो । रातैभरि यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गमा तन्त्र साधना गरी देउता प्रतिष्ठापन गरिन्छ ।

नवदुर्गा नाचमा मालीबाहेक नेवारभित्रकै अन्य जातिलाई प्रवेशनिषेध छ । तर, कुल्पी यज्ञ सम्पन्न भइसकेपछि मन्दिरसम्म ल्याउँदा सिंहिनी देवगणलाई ठेचोको महर्जन समुदायका न्हुछें गुठीका मूल थकालीले बाटो देखाएर ल्याइन्छ । त्यस दिन न्हुछें गुठीका थकालीले पनि नवदुर्गा नाचमा सहभागी हुन अनुमति पाउनुको पछि विशेष कथा छ ।

तस्बिर : विकास खड्गी

किंवदन्तीअनुसार, उबेला नवदुर्गा नाच महर्जन समुदायका न्हुछें गुठीका गुठीयारले सञ्चालन गर्थे । प्रत्येक १२ वर्षे जात्रामा नरबलि दिने चलन थियो । न्हुछें गुठीयारले जात्रा अवलोकनमा आएका खोकनाका एक जना पुरुषको बलि चढाए । बलि चढाइएका व्यक्ति आफ्नै ज्वाइँ भएको गुठियारले थाहा पाए । र, गुठियारकी छोरीले दिएको श्रापपछि नाचबाट न्हुछेंहरू पछि हटे । अनि तन्त्रविद्यामा निपुण माली समुदायलाई यो नाच हस्तान्तरण गरियो । र, १२ वर्षे जात्रामा सिंहिनी देवगणलाई न्हुछें गुठीका थकालीले बाटो देखाउने चलन चल्यो । बाटो देखाउँदा सिंहिनीलाई आफ्नो गुठीमा प्रवेश गराउन सके नवदुर्गा नाच न्हुछें गुठियारले नै सञ्चालन गर्न पाउने किंवदन्ती छ । त्यो बलिको कथाले अझै मान्छेहरू १२ वर्षे जात्रामा ठेचो आउन डराउँछन् । अभिलेखहरूमा भेटिन्छ, अंशुवर्मा (सातौं शताब्दी) भन्दा पहिलाका राजा शिवदेवले चैतको कुनै दिन वत्सला देवीलाई प्रत्येक वर्ष नरबलि दिने चलन चलाएका थिए । र, सूर्यवंशी राजा शिवदेवका पालामा सर्वप्रथम नवदुर्गा पूजामा नरबलिको चलन चल्यो ।

भद्रकाली खड्ग सिद्धि नाच, पचली भैरव, नरदेवी, दी प्याँख (देवी नाच), कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको नीलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी, खोकनाको रुद्रायणीमा नाचकै १२ वर्षे जात्रा मनाइन्छ । उपत्यकाका अधिकांश देवी नाच मालीहरूले नै सञ्चालन गर्छन् ।

https://ekantipur.com/koseli/2022/07/23/16585430519088996.html


काठमाडौंको ‘कोर’ कथा

 सुरेश किरण

काठमाडौंको ‘कोर सिटी’ कुन हो ? नगरको दक्षिणतिर भीमसेनथानस्थित विष्णुमती नदीदेखि भित्र र ताम्सीपाखामा विष्णुमतीवारि, उत्तरतिर भोटाहिटीदेखि भित्र, पूर्वतिर टेकुदेखि भित्र र पश्चिमतिर ठहिटीदेखि भित्रको एउटा गिजिमिजी क्षेत्र नै कोर सिटी हो । 
स्थानीय बौद्ध धर्मावलम्बीले काठमान्डुको कोर मानेका छन्– थथुपुइँ (माथि ठहिटीदेखि असनचोकसम्म), दथुपुइँ (असनदेखि मखन टोलसम्म), लाय्कूपुइँ (मखनदेखि काष्ठमण्डप भएको क्षेत्रसम्म) र क्वपुपुइँ (काष्ठमण्डपबाट तल यंगाल–लगन टोलसम्म) लाई ।

यो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा निकै बोलिएको–सुनिएको शब्द हो– कोर–सिटी । मतगणनाको सुरुवात जुन लयमा अघि बढिरहेको थियो, ‘कोर सिटी’ मा पुगेपछि त्यो खलबलिनेछ भन्ने थुप्रैको अनुमानपश्चात् सोधखोज हुन थालेको थियो– आखिर यो ‘कोर सिटी’ के हो ?

काठमाडौंको ‘कोर’ कथा 

सम्बोधनबाटै बुझिन्छ, यो काठमाडौंको सबैभन्दा भित्री क्षेत्र हो । क्षेत्रफल नाप्ने हो भने यो अत्यन्तै सानो एक टुक्रा भूमि मात्रै हो । काठमाडौं महानगरपालिकामा हाल भित्री क्षेत्रमा पर्ने ११ वटा वडालाई ‘कोर सिटी’ भनेर बुझ्ने गरिन्छ (वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७) । आकारमा यी वडा यति साना छन् कि यी सबै जोड्दा पनि कुल क्षेत्रफल २.५२ वर्ग किलोमिटर मात्रै हुन आउँछ (स्थानीय जनप्रतिनिधि २०७४, मदरल्यान्ड पब्लिकेसन प्रालि) । यो कुल क्षेत्रफलै पनि अत्यन्त सानो हो, कति सानोभन्दा काठमाडौंको यही महानगरपालिकाभित्र ११ वडाको कुल क्षेत्रफलभन्दा ठूलो आकारका अर्को ६ वटा सिङ्गो वडा छन् ।

तर, आकारमा सानो भए पनि काठमाडौंको यही ‘कोर सिट’ ले सम्पूर्ण नेपालकै पहिचान र गरिमालाई शिरमा बोकेको छ । काठमाडौंभित्र जो यथार्थमा काठमाडौं हो, त्यो मूलतः यही ‘कोर सिटी’ हो । पृथ्वीनारायण शाहले आक्रमण गर्नुपहिले काठमाडौंलाई नै नेपाल भन्ने गरिन्थ्यो । वास्तवमा त्यतिबेला नेपाल नामले जति भूभागलाई सम्बोधन गरिन्थ्यो, त्यो भनेको यही ‘कोर सिटी’ मात्रै हो । यो भू–भागभित्र छिरेपछि मात्रै ‘नेपाल गएको’ मानिन्थ्यो ।

त्यसताकाको परिभाषाअनुसार, सहरको एक प्रमुख अंग ‘मण्डप’ पनि हुन्थ्यो । ‘मण्डप’ सभा भवनको विशिष्ट रूपमा पनि हुन सक्छ अथवा डबलीका रूपमा साधारण पनि । यहाँ जो मण्डप थियो, त्यसको नाउँ काष्ठमण्डप थियो, यही मण्डपको नाउँले सहर नै ‘काष्ठमण्डप’ कहलिन पुग्यो (धनवज्र वज्राचार्य, ‘गोपालराजवंशावलीको ऐतिहासिक विवेचना’ ।) जुन काष्ठमण्डपले ‘काठमाडौं’ भन्ने नामको जन्म गरायो, त्यो यही कोर सिटीभित्रै विद्यमान छ । अतः काष्ठमण्डपलाई कोर सिटीको पनि सबैभन्दा कोर स्मारक भन्न सकिन्छ ।

किराँतकालीन नेपालको राजधानी कहाँ थियो, त्यो पत्ता लागेको छैन । लिच्छविकालीन नेपालको राजधानीचाहिँ काठमाडौं नै थियो । हालको हाँडीगाउँमा तत्कालीन दरवार थियो । इतिहासकार देवीचन्द्र श्रेष्ठका अनुसार, लिच्छविहरूको शासन विशालनगर भेगतिर थियो । तर, राजा जयदेव (द्वितीय) पछि एक्कासि यो शासन केन्द्र हराउँछ र हाम्रो इतिहासको मल्लकाल पुग्दा ‘भक्तपुर’ मा पो नेपालको राजधानी हामी भेट्टाउँछौं । (देवीचन्द्र श्रेष्ठ, ‘रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल’ ।)

तर, सुरुको मल्लकालमा राजधानी भक्तपुर भए पनि कान्तिपुरको शक्ति भने मजबुत थियो । यहाँको व्यापार व्यवसाय सञ्चालन गर्न स्थानीय व्यापारीलाई महापात्रको रूपमा नियुक्त गरिएको हुन्थ्यो । तर, व्यापार बढ्दै गर्दा ती महापात्रहरूले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी पनि नियुक्त गर्न थाले । पछि राजनीतिमा पनि कब्जा जमाउन थाले । यसरी काठमाडौंले राजधानी भक्तपुरको त्रिपुर दरबारलाई समेत चुनौती दिन थाल्यो । उनीहरूलाई निगरानी गर्न तत्कालीन राजा यक्ष मल्लले आफ्ना छोरा राय मल्ललाई काठमाडौं खटाएका थिए । (देवीचन्द्र श्रेष्ठ, ‘रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल’ ।)

यक्ष मल्लको मृत्युपछि उनका अर्का छोरा रत्न मल्लले नेसं ६०४ (विसं १५४१) मा काठमाडौं कब्जा गरी यहीँ शासन चलाउन थाले । शासन चलाएको मात्र होइन, तत्कालीन नेपालमण्डलको राजधानी पनि कान्तिपुरलाई नै बनाउने प्रयत्न गरे (देवीचन्द्र श्रेष्ठ, ‘रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल’) । रत्न मल्लको शासन सुरु भएपछि काठमाडौं पुनः आफ्नो पुरानै शौर्यमा फर्कन थाल्यो । त्यसपछि भने यो नगरले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । बरु अघि बढिरहेको छ निरन्तर ।

त्यसताका नेपाल राज्य मुख्य रूपमा दुई भागमा विभक्त थियो– केन्द्रबाट सोझै शासन गरिने प्रदेश र सामन्तद्वारा शासन गरिने प्रदेश (धनवज्र वज्राचार्य, ‘गोपालराजवंशावलीको ऐतिहासिक विवेचना) । काठमाडौं आकारले हालको ‘कोर सिटी’ मात्रै भए पनि यसको प्रशासनिक फैलावट भने हाँडीगाउँ, देवपत्तन र एक पटक त बनेपासम्म पनि फैलिएको थियो ।

त्यतिबेलाको काठमाडौंको आकारबारे चर्चा गर्दै विसं १८५० मा नेपाल आएका कर्णेल कर्कप्याट्रिकले आफ्नो भ्रमण वृत्तान्त ‘एन अकाउन्ट अफ द किंगडम अफ नेपाल’ मा लेखेका छन्, ‘...काठमाडौं सहरको लम्बाइ एक माइल र चौडाइ कतै आधा माइल छ त कतै चौथाइ माइल जति मात्रै छ ।’ पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दासम्म यो ठाउँमा करिब पाँच हजार घर र ५० हजारभन्दा कम जनसंख्या भएको अनुमान गरिएको छ (डा. साफल्य अमात्य, ‘काठमाडौं नगरायण) ।

भाषा वंशावलीमा भने कान्तिपुर नगरको स्थापना सन् ९८३ ताका लिच्छवि राजा गुणकामदेवले गरेको र त्यतिबेला यहाँ दैनिक १ लाखको व्यापार हुने एवं १८ हजार घर भएको उल्लेख छ । राजा गुणकामदेवले उतिबेला खड्ग आकारमा आठ कुनामा आठै मातृका स्थापना गरी यो नगर निर्माण गरेको भनिए पनि इतिहासकारहरू भने गुणकामदेवले पहिल्यै स्थापना भइसकेको नगरलाई व्यवस्थित शहरीकरण मात्रै गरेको हो भन्छन् ।

सानो आकार भए पनि यो ‘कोर सिटी’ लाई भौगोलिक, सांस्कृतिक दृष्टिकोणले विभक्त गरी व्यवस्थापन गरिएको थियो । भौगोलिक हिसाबले यसलाई यम्बु (माथिल्लो भेग), यंग्ल (तल्लो भेग) र स्वकम्बु (बीचको भेग) गरी तीन खण्डमा विभाजित गरिएको थियो । संस्कृतमा माथिल्लो भेगलाई कोलिग्राम र तल्लो भेगलाई दक्षिण कोलिग्राम नाम दिइएको थियो । यो दुई क्षेत्र सांस्कृतिक रूपले फेरि चार खण्डमा विभाजित छ । स्थानीय बौद्ध धर्मावलम्बीहरूले यसलाई थथुपुइँ (माथि ठहिटीदेखि असनचोकसम्म), दथुपुइँ (असनदेखि मखन टोलसम्म), लाय्कुपुइँ (मखनदेखि काष्ठमण्डप भएको क्षेत्रसम्म) र क्वपुपुइँ (काष्ठमण्डपबाट तल यंगाल–लगन टोलसम्म) नामले क्षेत्र विभाजन गरेको थियो (डा. साफल्य अमात्य, ‘काठमाडौं नगरायण) ।

व्यवस्थित सहर निर्माण गर्न यसलाई विभिन्न भेगमा विभाजन गर्नुपर्ने हुन्छ । राजा महेन्द्र मल्ल (सन् १५६०–१५७४) ले यो क्षेत्रलाई २४ वटा इलाकामा बाँडेका थिए । पछि यही २४ इलाका पनि विभक्त भएर ३२ वटा बन्यो । यो ३२ इलाका पछि ३२ वटा टोलमा रूपान्तरण भयो । भनिन्छ, यो ३२ वटै टोलमा प्रवेश गर्ने छुट्टाछुट्टै द्वारहरू पनि बनाइएका थिए ।

टोल मात्र होइन, त्यतिबेला काठमाडौंको यो नगर प्रवेश गर्न पनि सिमानाहरूमा विभिन्न द्वार बनाइएका थिए । यस्ता द्वारहरू भोटाहिटी, सुन्धारा, भीमसेनस्थान, ताम्सीपाखा, मरु टोल आदि स्थानमा थिए । यी द्वारहरू खासगरी काठमाडौं नगरको सुरक्षा गर्न बनाइएको थियो । केही इतिहासकारले काठमाडौंलाई घेर्ने गरी अग्ला पर्खाल पनि बनाइएको उल्लेख गरेका छन् । तर, पुरातात्त्विक अन्वेषणहरूले त्यस्तो पर्खालको कुनै अवशेष भने भेट्टाएको छैन । तथापि नगर प्रवेश गर्ने ठूला द्वारको अवशेष कतै भने भेटिएका छन् । द्वारकै कारण काठमाडौंका कतिपय टोलको नामकरणसमेत भएको छ, जस्तो ध्वाखाबहाः, मरुढोका, हनुमानढोका आदि । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा यहीँभित्रकै कुनै मानिसले त्यो द्वार खोलिदिएको र त्यहीँबाट गोर्खाली सेना नगर प्रवेश गरेको बताइन्छ । यस्ता द्वारभित्रको क्षेत्रलाई ‘देशभित्र’ र द्वारबाहिरको क्षेत्रलाई ‘देशबाहिर’ भन्ने चलन राणाकालसम्म पनि चलेको थियो । त्यतिबेला ‘देशबाहिर’ पनि पातलो वस्ती त थियो, तर तिनीहरू ‘देशभित्र’ अछुत मानिन्थे ।

हरेक वर्ष इन्द्रजात्राको पहिलो दिन काठमाडौंवासीहरू आफ्ना दिवंगत आफन्तका नाममा नगर परिक्रमा गर्छन् । यो परम्परालाई ‘उपाकू वनेगु’ भनिन्छ । नगर परिक्रमा गर्दा काठमाडौंको यही पुरानो सिमानालाई नै प्रदक्षिणा गरिने विश्वास गरिन्छ, जसलाई फटाफट पार गर्ने हो भने दुई घण्टा पनि लाग्दैन ।

अहिले नेपालको संस्कृति भनी प्रचार गरिएका सबैजसो काठमाडौंली–संस्कृति आयोजना गरिने मूल थलो पनि यही ‘कोर सिटी’ नै हो । इन्द्रजात्रा, पाहाँचःर्‍हे, सेतो मछिन्द्रनाथको जात्रा, गाईजात्रा, सम्यक, पञ्चदान आदि पर्व यही क्षेत्रमा आयोजना गरिन्छ । राजनीतिक रूपले पनि यो क्षेत्र सुरुदेखि नै सचेत छ । २००७ सालको क्रान्ति हुँदा आयोजना गरिने सबैजसो सभा सम्मेलनहरू यही क्षेत्रका इटुम्बहाल, यट्खा बहाल, असन चोक, इन्द्रचोक आदि ठाउँमा सम्पन्न हुन्थे । १९९७ सालमा फाँसी दिइएका चार सहिदमध्ये तीन जना यही क्षेत्रका वासिन्दा थिए ।

अहिले काठमाडौं विस्तार भइसकेको छ । हालको काठमाडौं महानगरपालिका नै पनि यो ‘कोर सिटी’ को सम्पूर्ण क्षेत्रभन्दा करिब ५० गुणा ठूलो छ । तर, काठमाडौंको कुनै पनि सामाजिक, सांस्कृतिक अवधारणा भने यही क्षेत्रको मनोविज्ञानले निर्माण गर्छ । तीन वर्षअघि उर्लिएको गुठी विधेयकविरुद्धको आन्दोलनमा सम्पूर्ण उपत्यकावासी सहभागी भएको भए पनि त्यो आन्दोलनको पृष्ठभूमि यही ‘कोर सिटी’ को मनोविज्ञानले तयार पारेको थियो । कोर सिटीभित्रका स्थानीयवासी अहिले विभिन्न कारणले पुरानो ठाउँ छोड्दै अन्यत्र बसोबास गरिरहेका छन् । तर, भौतिक बसाइँ–सराइ अन्यत्र गरिहाले पनि उनीहरूले मनोवैज्ञानिक आवास भने कोर सिटीभन्दा बाहिर लैजान सकेका छैनन् । त्यसैले त गुठी आन्दोलन हुँदा सबै जना पुनः ‘कोर सिटी’ के गुरुत्वाकर्षणले तानिए ।

कोर सिटी मूलतः सांस्कृतिक नेपालको केन्द्र नै हो । यसलाई ‘स्थानीय’ बनाउने पहिलो कार्य भने विसं १९७६ को पौष २ गते तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले गरेका थिए । सो दिन यहाँको फोहोर सफाइ गर्न उनले एउटा ‘सफाइ अड्डा’ स्थापनाको घोषणा गरेका थिए । त्यो अड्डा हालको धर्मपथमा राखिएको थियो । २००३ फागुन २ गते श्री ३ पद्मशमशेरले त्यसलाई ‘म्युनिसपालिटी’ बनाए । विभिन्न २१ इलाकाबाट २१ जना प्रतिनिधि निर्वाचित पनि भए । तर, त्यसले कुनै काम गर्न सकेको थिएन । २०१० मा अर्को चुनाव भयो । त्यतिबेला २१ इलाकालाई घटाएर १८ वटा वडा बनाइयो । साथै ‘म्युनिसपालिटी’ भन्ने नाम हटाएर ‘काठमाडौं नगरपालिका’ राखियो । त्यही काठमाडौं नगरपालिका विसं २०५२ मंसिर २९ गते ‘काठमाडौं महानगरपालिका’ घोषित भयो (भुवनलाल प्रधान, ‘काठमाडौं उपत्यकाका सांस्कृतिक छिर्कामिर्का’) ।

अहिले ‘कोर सिटी’ मा मात्र काठमाडौं छैन । तर, कोर सिटीबिनाको काठमाडौं भने काठमाडौं हुने छैन । कोर सिटी आकारले सानो भए पनि यसको सांस्कृतिक गुरुत्व अति सघन छ । यदि यो सानो भूमिको टुक्रोलाई काठमाडौंबाट झिक्ने हो भने त्यहाँ ‘काठमाडौं’ रहने छैन । यो साढे दुई वर्गकिलोमिटर क्षेत्रफल भएको भूमिको टुक्रो नै एउटा यस्तो भूमि हो, जहाँ गएको ४ हजार वर्षअघि नै सहर बसिसकेको थियो । नयाँ बनेका सहरहरूले आकारमा, भव्यतामा, भौतिक सुविधामा जित्न सक्लान्, तर इतिहासमा जित्न सक्दैनन् । काठमाडौंको कोर सिटी इतिहासको त्यही जित्न नसकिने भूमिको एक टुक्रो हो ।

https://ekantipur.com/koseli/2022/05/28/165370315853125502.html