Saturday, July 29, 2017

अझै गाइन्छन्, सिद्धिनरसिंहका गीत

शुक्रबार, ३० असार २०७४, ११ : २६ |  शिवहरि घिमिरे 
अझै गाइन्छन्, सिद्धिनरसिंहका गीत

‘कपु लपु वस म्हस नीर निचरण 
कियल ककन वि, धुच्छेगलि वसत ।।
बासस मुसानस गला गजि यस 
मोल माल हाल वस आभरन हेस ।।’
अर्थात् 
‘कपुरजस्तो शुद्ध वर्ण तिम्रो, 
हातमा नागको बाला, 
ओढ्छौ बाघको छाला
यही हो तिम्रो शरीरको वस्त्र 
गाँजा भाङ धतुरो सेवन गर्ने, 
मुण्ड माला तिम्रो अस्त्र ।’ 
‘कर्पुर गौरम् करुणा वतारम्...’ कै शैलीमा रचना गरिएको यो गीत नेपाल भाषाका कुनै आधुनिक कविले रचना गरेका होइनन्, न त कुनै नाम चलेका साहित्यकारकै सिर्जना हो । यो त मल्ल वंशीय राजा सिद्धिनरसिंहले रचेका हुन् ।
मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि शिवभक्तिमा उनले रचेको यो गीत पाटन क्षेत्रमा अझै गाइन्छ ।
 
 मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि शिवभक्तिमा सिद्धिनरसिंह मल्लले रचेका गीत पाटन क्षेत्रमा अझै गाइन्छन् । 
अहिले पनि उनका ती राग पाटन क्षेत्रमा जपिन्छन् । मल्ल राजाका राग जोगाउन पाटन मंगलबजार क्षेत्रका बूढापाका सक्रिय छन् । उनीहरू दरबारस्थित ‘कार्तिक डबली’ मा अहिले पनि समय–समयमा सिद्धिनरसिंहका गीत गुनगुनाउँछन्। 
पुराना रागलाई जोगाउन ७० वर्ष नाघेका वृद्ध भेला हुने गरेको कार्तिक नाच संरक्षण समिति अध्यक्ष किरण चित्रकार बताउँछन् । उनले मल्ल राजाका राग लोप होलान् भन्ने चिन्ता बूढापाकालाई भएको बताए । 
‘मल्ल राजाले रचेका राग नेवार समुदायको पाका पुस्ताले बेलाबेला धिमे बाजा र तबेलाको सहायतामा सांस्कृतिक कार्यक्रममा गुनगुनाउँछन्,’ उनले भने, ‘सिद्धिनरसिंह मल्लको गीत–संगीत जोगाउन बूढापाका वर्षैभरि सक्रिय रहन्छन् ।’
सिद्धिनरसिंह मल्लले रचेका रागमध्ये मेघ, मल्हा, मालोव, जयश्री, धनाश्रीलगायत राग अहिलेसम्म पनि अत्यन्तै लोकप्रिय छन् । मेघ राग गाउँदा पानी पर्ने किंवदन्ती छ । गुरुप्रथा अनुसार पाकाले सिकाउँदै आएकाले अहिलेसम्म यो परम्परा जीवित रहेको हो । सिद्धिनरसिंहले रचेका रागलाई ललितपुरको मंगलबजारस्थित चारनारायण मन्दिर प्रांगणस्थित कार्तिक डबलीमा प्रत्येक वर्ष मंसिरदेखि मञ्चन गर्ने चलन छ । 
सिद्धिनरसिंहले आफूले रचेका गीत–संगीतलाई संरक्षण गर्न असारलाई संगीत दिवसको नाम पनि दिएको पाटन मंगलबजारका बाबुराजा श्रेष्ठले बताए । उनी सिद्धिनरसिंहले रचेका गीत र रागले तत्कालीन नेपाली समाजको यथार्थ बोलेको बताउँछन् । ‘सिद्धिनरसिंह मल्लको रचनामा मौलिकता र गीत–संगीतमा हुनुपर्ने विशेष राग छ,’ उनले भने, ‘मल्लकालीन अवस्थालाई रचना भावले बोलेकाले त्यसको प्रवद्र्धन गर्नुपर्छ ।’ 
संस्कृतिविद् सत्यमोहन जोशीले सिद्धिनरसिंह मल्लका गीत र रागमा जति सुने पनि नपुग्ने गहिरो भाव लुकेको बताउँछन् । ‘उनका गीत–संगीतले उतिबेलाको इतिहास बोलेको छ,’ उनले भने, ‘भावी पुस्तालाई पुरानो संस्कृति र परम्परा नसिकाउँदा सबै लोप हुन थाले ।’ 
उनले रचेका ३२ मध्ये १५ राग लोप भइसकेका छन् । बाँकी राग संरक्षणका लागि कार्तिक नाच संरक्षण समितिले विभिन्न कार्यक्रम गर्दै आएको छ । खासगरी जेठ पूर्णिमाको दिन यस क्षेत्रका पाका पुस्ता सिद्धिनरसिंहका सबै रागमा स्वर भर्ने गरेका छन् । पुराना राग, गीत–संगीत संरक्षण गर्न ललितपुर संरक्षण केन्द्रले पनि समितिसँग सहकार्य गर्दै आएको छ ।
सिद्धिनरसिंहले यसरी रचेका थिए राग  
संस्कृति तथा इतिहासविद्का अनुसार सिद्धिनरसिंहले जेठ र असारमा विभिन्न गीत र संगीतको रचना गरेका थिए । प्रजा जति सबै खेती गर्न जाने भएकाले जेठ र असारमा दरबारमा राजालाई दिन कटाउन समेत मुस्किल हुने गथ्र्यो । त्यसबेला उनले गीत रचना गरेको उनीहरूको तर्क छ । 
सिद्धिनरसिंहले नयाँ राग रच्न पाटन दरबारको सिद्धिनरसिंह चोकअगाडि आफ्नो गद्दीमा कलाकारलाई डाके । करिब एक महिनाको समयमा राजाले ३२ राग सिर्जना गरे । आफूले असारमा ३२ वटा राग रचेकाले राजा सिद्धिनरसिंह मल्लले असारलाई संगीत दिवसको  महिना भनेर नेपाल सम्वत् ७४० मा सुरु गरेका थिए।
http://www.nagariknews.com/news/23672/

No comments: