Saturday, September 9, 2017

कल्चरल एक्सप्रेसन खोज्दै रिता


भाद्र १५, २०७४-संस्कृतिको प्रभावमा सबैमा पर्छ । चित्रकार रिता मानन्धर पनि सांस्कृतिक प्रभाव– सहित हुर्किइन् । यतिबेला उनी क्यानभासमा संस्कृतिको तिनै अनुभूतिलाई रंगमार्फत उतारिरहेकी छन् । बबरमलस्थित आर्ट काउन्सिलमा उनको ‘कल्चरल एक्सप्रेसन’ शीर्षकमा चौथो एकल चित्रकला प्रदर्शनी जारी छ ।

उनका चित्रमा नेवारी संस्कृतिको प्रभाव बढी भेटिन्छ । योमरी, गणेश, शंख, चक्र, मण्डला, मच्छिन्द्रनाथ, इन्द्रजात्रा, मन्दिर र स्तुपाजस्ता प्रतीकहरू उनका चित्रमा छन् । संस्कृति पस्किने क्रममा उनी आफूले भोगेका र देखेका दृश्यमा बढी केन्द्रित भएको पाइन्छ । क्यानसभामा पोतिएको रंगहरूमा हिन्दु धर्मको प्रभाव देखिन्छ । रातो र पहेंलो रंगले एकातिर ऊर्जाशीलता अनुभूति गराउँछ भने अर्कोतर्फ सांस्कृतिक सौन्दर्य । केही चित्रहरू अर्धमूर्त छ ।

उनको कलाको दृष्टिकोण अरूको भन्दा फरक छ । उनले सांस्कृतिक पक्ष झल्कने आकृतिमा जीवन्त महसुस गराउन केही नयाँ तरिका अपनाएकी छन् । मच्छिन्द्रनाथको रथको पांग्रा र शुभकार्यको संकेत मानिने गणेशको आकृतिमा उनको नयाँ काम झल्किन्छ । गणेशको सुँड र शरीरलाई उनले अत्यन्त सूक्ष्म ढंगले क्यानभासमा उतारेकी छन् । नेवारी समुदायमा घरको कोठादेखि ढोकासम्म देखिने सांस्कृतिक र धार्मिक आकृतिलाई पनि उनले क्यानभासमा उतारेकी छन् । संस्कृतिप्रतिको गर्व र यसको संरक्षणप्रतिको अभिप्रेरणा चित्रहरूम झल्किन्छ । प्रदर्शनीमा २२ चित्र छन् ।

प्रकाशित: भाद्र १५, २०७४

http://kantipur.ekantipur.com/news/2017-08-31/20170831081436.html

No comments: