Sunday, October 8, 2017

कथाबाट सुरु भएको नेवार साहित्य

शनिबार, ०७ असोज २०७४
कथाबाट सुरु भएको नेवार साहित्य



प्रेमशान्ति तुलाधर



भूगोल कुनै पनि मुलुकको अस्थिपञ्जर हो भने, जनता प्राण । मुलुकको अस्थिपञ्जर र प्राणलाई जोडेर जीवन्त बनाउँछन्– भाषा, साहित्य, संस्कृति र परम्परालगायतले ।
करिब सवा सय जातजाति रहेको नेपालमा प्रायः सबैजसो जातजातिका आ–आफ्नै भाषा पनि छन् । कतिपय जातजातिका भाषामा आफ्नै साहित्य पनि छन् । नेपालको अस्थिपञ्जरलाई जीवन्त बनाउन धेरै तŒवमध्ये एक हो– यहाँ बोलिने विविध भाषा र तिनमा लेखिएको साहित्य । यस्तै यहाँको धर्म–संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको तथा लामो साहित्यिक इतिहास बोकेको एक भाषा नेवार समुदायले बोल्ने नेपालभाषा पनि हो ।
नेपालभाषा साहित्यको चर्चा गर्दा नेवार समुदायबारे जानकारी हुनु जरुरी छ । यस समुदायको उत्पत्तिबारे विद्वान्का भिन्नाभिन्नै राय भए पनि आजका नेवार कुनै जात वा रगत विशेषका होइनन् भन्नेमा सबै सहमत छन् । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार (हेर्नुस्, नेपाः नेवाः व नेवाः भाय्, नेसं १०८९) मंगोल नश्लका नेवाङ, नेवाहाङ वा नेवाः भनिने मानिस नै नेवारको आदिम पुर्खा हुन् । उनीहरूले बोल्ने भाषा नै नेपालभाषाको प्राचीनतम अस्तित्व हो र बाग्मती नदीवरपर रहेका उपत्यका नै नेवारको आदिम स्थल हुन् । प्राध्यापक माणिकलाल श्रेष्ठका अनुसार (हेर्नुस्, नेवार भाषासम्बन्धी केही तथ्य, २०३८) नेवारको बसोबास भएको यस क्षेत्रमा विभिन्न कालखण्डमा अनेक स्थानबाट विविध धर्म, संस्कृति र नश्लका मानिस आए । गोपाल, किरात, लिच्छवि, बर्मन, तिरहुत, मल्ल, शाक्य, कोलिएलगायत समुदायका मानिस यस क्षेत्रमा आइबसे र कालान्तरमा यहाँका आदिवासीसँग मिसिन गई नेवार बने । आज यिनीहरू बीचको साझा तŒव भनेकै भाषा हो । यस आधारमा नेवार भाषाबाट एकबद्ध भएको भाषिक समुदाय हो ।

नेपालभाषा साहित्य
तेजरत्न कंसाकारले ‘नेपालभाषा व भाषाविज्ञान’मा यो भाषालाई तिब्बती बर्मी (भोट बर्मेली) भाषा परिवार अन्तर्गत पर्ने लिखित परम्परा भएका ६ वटामध्ये एक भाषा मानेका छन् । लिखित परम्परा भएका भोट बर्मेली परिवारका भाषामा नेपाल, तिब्बती, बर्मेली, मणिपुरी, लिम्बू र लेप्चा पर्छन् । प्राचीन अभिलेखहरूमा यस भाषालाई नेपालभाषा भनेर नै सम्बोधन गरिएकोे छ । यस भाषा–साहित्यको इतिहासलाई तीन कालमा विभाजन गरी अध्ययन गर्न सकिन्छ– प्राचीन, माध्यमिक र आधुनिककाल ।

प्राचीन काल
नेपालभाषा साहित्यमा सन् ८७९ देखि १८४७ सम्मको कालखण्डलाई प्राचीन कालको रूपमा लिइन्छ । यसबेला लेखिएका विभिन्न प्राचीन अभिलेख र पुस्तकमा नेपाल भाषाको प्रयोग भएको पाइन्छ ।
नेपालमा अभिलेखको परम्परा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । त्यसबेलाका अभिलेखको भाषा मूलतः संस्कृत भए पनि कतिपय हालसम्म प्रचलित नेपालभाषाका शब्द पनि प्रयोग गरिएको पाइन्छ । यस आधारमा लिच्छविकाल अगाडि नै नेपालभाषा जनभाषाको रूपमा रहेको भाषा वैज्ञानिकको ठहर छ ।
१२औँ सदीमा आएर विभिन्न शिलापत्र, ताम्रपत्र, ताडपत्रलगायतमा नेपालभाषाको प्रयोग हुन थाल्यो । ललितपुरको उकुबहालस्थित सन् १११५ कोे ‘मणिधरजैव महाविहार आर्य संघको नियमसम्बन्धी गोष्ठीपत्र’ नेपालभाषाको पहिलो लिखितपत्र हो । उत्कीर्ण पत्रमा भने सन् ११७३ को साँखु बज्रयोगिनीस्थित ‘राजा रुद्रदेवको स्तम्भाभिलेख’मा यसको प्रयोग भएको छ ।
१४ औँ शताब्दी अर्थात् राजा जयस्थिति मल्लको शासनकालदेखि तत्कालीन आवश्यकता तथा शासकहरूको अभिरुचिअनुसार संस्कृतका प्रचलित ग्रन्थलाई नेपालभाषाबाट टीका, अनुवाद गर्ने परम्पराको थालनी भयो । यस्ता ग्रन्थ सबै हस्त लिखित रूपमा छन् ।
त्यसबेला नेपालभाषामा टीका, अनुवाद भएका चिकित्सासम्बन्धी ग्रन्थमध्ये ‘विचित्र कौटुक’ (१३७३), ‘हरमेखला’ (१३७४), ‘औषध सर्वस्व’आदि प्रमुख हुन् ।
सन् १३७९ मा ‘नारद संहिता’लाई नेपाल भाषामा अनुवाद गरिएको छ । यसबाहेक अरू पनि न्यायशास्त्रसम्बन्धी सानातिना ग्रन्थ नेपालभाषामा निस्किएका छन् । ‘नारद संहिता’लाई विश्वकै एक प्राचीन न्यायशास्त्रसम्बन्धी पुस्तक मानिन्छ ।
शब्दभण्डारअन्तर्गत भने नेपाल भाषामा सन् १३८० मा लेखिएको ‘अमरकोश’बाहेक १० वटा अन्य अमरकोशका टीका पनि फेला परेका छन् । नेपालभाषामा लेखिएका इतिहाससम्बन्धी प्राचीन ग्रन्थमध्ये सन् १३८८ तिर लेखिएको ‘गोपालराज वंशावली’लाई नेपालभाषाको पहिलो मौलिक ग्रन्थ मानिन्छ । त्यसबेला ज्योतिषसम्बन्धी ‘दशाफल’ (१३९८), ‘भास्वतीकरण’ (१४०७), ‘केरलीयशास्त्र’ (१४०३), ‘ज्योतिराजकर्ण’ (१४२७)लगायत पनि नेपाल भाषामा लेखिएका थिए ।
नेपालभाषाका अभिलेख ग्रन्थमध्ये सबैभन्दा बढी कर्मकाण्ड र पूजाविधिसम्बन्धी छन् । यिनीहरूमा ‘दशकर्म पद्धति’ (१४९७) प्रमुख रहेको छ । यसैगरी पशु चिकित्साबारे लेखिएको ‘अश्व आयुर्वेद शास्त्र’ (१७२९) ‘अश्व लक्षणम’् (१८०२), ‘अश्व वैद्यम् शास्त्र’ (१५९२)लगायतलाई पनि प्राचीनतम नेपालभाषा ग्रन्थ मानिन्छ ।
त्यसबेला लेखिएका वास्तुशास्त्रसम्बन्धी जति पनि पुस्तक भेटिएका छन्, सबैजसो मौलिक लेखन छन् । प्राचीनकालमै कामशास्त्र, संगीतशास्त्र, धनुशास्त्र, वाद्यशास्त्र, गणित, रत्नपरीक्षालगायत नेपालभाषामा लेखिएका धेरै ग्रन्थ फेला परेका छन् ।
जनकलाल वैद्यका अनुसार (हेर्नुस्, नेवारभाषाया काव्य सृजना प्रवृत्ति, ने सं ११०६) नेपालका प्राचीन ग्रन्थहरूमा संस्कृतपछि सबभन्दा बढी नेपालभाषामा लेखिएका ग्रन्थ फेला परेका छन् ।

नेपालभाषामा साहित्य
अभिलेख र वाङ्मय ग्रन्थ रचनामा प्रयोग भएको नेपाल भाषा १६औँ शताब्दीमा आएर विशुद्ध साहित्य सिर्जनामा पनि प्रयोग भएको पाइन्छ । सन् १५०५ मा रचित पाँच सय पेजको ‘भागवत पुराण’लाई नेपालभाषाको सबभन्दा पुरानो साहित्यिक कृति मानिन्छ । नेपालभाषा साहित्यलाई दुई कालमा विभाजन गर्न सकिन्छ– मल्लकाल र उत्तर मल्लकाल ।
इतिहासकारका अनुसार उपत्यकामा मल्लहरूको शासन रहेको सन् १५०५ देखि १७६८ सम्मलाई मल्लकाल मानिन्छ । नेपालभाषा साहित्यका लागि राजा जयस्थिति मल्लको (१४औँ शताब्दी) राज्यकालदेखि १७औँ शताब्दीसम्मको समयावधिलाई स्वर्ण युग मानिन्छ ।
राज्यको आर्थिक समृद्धि, राजनीतिक स्थिरता तथा साहित्य, संस्कृतिप्रति शासकको तन्मयता नै नेपालभाषा सम्मुन्नत हुनुको मूल कारण रहेको छ । यसबाहेक विद्यापति, जयदेवजस्ता महान् स्रष्टाको प्रभाव नेपालमण्डलमा पनि परिसकेको देखिन्छ । मल्लकालमा विशेषगरी कथा, काव्य र नाटक विधाको उदय भएको देखिन्छ ।
नेपालभाषा साहित्यमाथि हालसम्मका अध्ययनले कथालाई नेपालभाषाको पहिलो लिखित साहित्यका रूपमा देखाएका छन् । यस भाषामा लेखिएको ‘भागवत पुराण’ (१५०५)लाई पहिलो कथा साहित्य मानिन्छ । १६औँ शताब्दीमा नै नेपाल भाषामा कथा लेखन सुरु भए पनि १७औँ सदीमा मात्र कथा–साहित्यको विकास भएको पाइन्छ । प्राचीनकालमा लेखिएकामध्ये धेरैजसो कथा धार्मिक छन् भने नीतिपरक तथा लौकिक कथा पनि केही मात्रामा लेखिएका छन् । धार्मिकमा स्वस्थानी, विचित्रकर्णिकावदान, नीतिपरकमा तन्त्राख्यान, हितोपदेश र लौकिक कथामा बत्तीस पुतलिका, शुकबहत्तरी, वेताल पंचविंशति आदि प्रमुख छन् । धेरै कथाहरू अनुदित भए पनि नेपालमण्डलका सामाजिक र सांस्कृतिक परिवेशलाई मनन् गरी लेखिएका छन् ।
प्राचीनकालका काव्य विभिन्न राग र तालमा लेखिएका गीत नै हुन् । कान्तिपुरका राजा महेन्द्र मल्ल (१५६१–१५७४) लाई नेपालभाषाको पहिलो ज्ञात कवि मानिन्छ भने सन् १५७२ मा रचिएको ‘पनमति जुगपति’लाई पहिलो गीत मानिएको छ ।
यसबेलाका काव्य सर्जकमा राजाहरू प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, जगतप्रकाश मल्ल, जयप्रकाश मल्ल प्रमुख हुन् भने रानीहरूमा ऋद्धिलक्ष्मी, भुवनलक्ष्मी, वृिद्धलक्ष्मी प्रमुख छन् । जनसाधारण सर्जकमा जगतकेशरी, केशव उदासलगायतलाई प्रमुख मानिन्छ । धर्म, शृंगार र देशप्रेम प्राचीन नेपालभाषा काव्यका मूलभूत प्रवृत्ति हुन् ।
मल्लकालमा नाटकको पनि प्रशस्त विकास भएको पाइन्छ । स्वयं राजाहरू जगत्प्रकाश मल्ल, सिद्धिनरसिंह मल्ल, श्रीनिवासमल्ल, भूपतीन्द्र मल्ल, रणजित मल्ल, जयप्रकाश मल्ल लगायतले थुप्रै नाटक लेखेका छन् । ‘कार्तिक नाच’, ‘दशअवतार नाटक’ यसै समयमा रचिएका हुन् । सिद्धिनरसिंह मल्लको ‘एकादशीव्रत’ (१६३३) तथा जगतप्रकाश मल्लको ‘मूलदेवशशिदेवोपाख्यान ’(१६७०) क्रमशः नेपालभाषाका पहिला एकांकी र पूर्णाकी नाटक हुन् ।
नेपालभाषा साहित्यमा मल्लकालको अन्त्यपछि र राणाकालको सुरुवातपूर्व अर्थात् सन् १७६९ देखि १८४७ सम्मका अवधिलाई उत्तर मल्लकालीन अवधि मानिन्छ । मल्लशासनको अन्त्यसँगै नेपालभाषाको सट्टा खस नेपाली भाषा तथा नेपाल लिपिको सट्टा देवनागरी लिपिलाई प्रचलनमा ल्याइयो । यस समय पनि ज्ञातअज्ञात कविले पहिलेकै परम्परामा केही स्तुति, भजन, मुक्तक तथा गीतिकथा लेखेर नेपालभाषाको साहित्यिक गतिलाई निरन्तरता दिए । सुन्दरानन्द र अमृतानन्द यस समयमा देखापरेका ज्ञात कविहरू हुन् । नाटकमा राजेन्द्र विक्रमशाहद्वारा रचित ‘महासत्वपाख्यान’ तथा अमृतानन्द बन्देबाट रचित ‘हनुमान नाटक’ उल्लेख्य छन् भने कथामा पहिलेजस्तै जातक अवदान पुराणमा आधारित कथाको रचना भएको पाइन्छ ।

माध्यमिक काल
नेपालभाषा साहित्यको माध्यमिक काल भन्नाले जंगबहादुरको शासनकालदेखि १९९७ सालको राजनीतिक काण्डसम्मको समयावधि पर्न आउँछ । माध्यमिक काललाई पनि पूर्वपुनर्जागरण काल र पुनर्जागरण काल गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
सन् १८४८ देखि १९०८ सम्मलाई पूर्वपुनर्जागरण काल मानिन्छ । यस समयावधिमा नेपालभाषा साहित्यको मूलधार काव्य नै रह्यो । यस अवधिमा काव्य सिर्जना गर्ने ज्ञात कविहरूमा तत्कालीन भाइभारदार नै थिए । सन् १८४७ को भयानक कोतपर्वले तत्कालीन भाइभारदारमा डर, त्रास तथा आपसी वैमनस्यता उब्जायो । दरबारमा भएका सन्त महन्तहरूको प्रभावले उनीहरूलाई इहलोकको भन्दा परलोकको मुक्ति मोक्षतिर आशक्त बनायो । फलतः ती भाइभारदारबाट सन्त परम्पराका काव्य रचना भए । यस्ता काव्य सिर्जना गर्नेमा स्वामी अभयानन्द, हरिभक्त माथेमा, मानलाल मास्के, बखतबहादुर लगायत प्रमुख छन् ।
इन्द्रजात्रा, गाइजात्राजस्ता पर्वमा, प्रहसन र नाटक देखाउने प्रचलन रहे पनि तिनलाई लिखित रूपमा राख्ने चलन नहुँदा त्यस अवधिमा लेखिएका कुनै पनि नाटक फेलापरेका छैनन् । कथा विधामा पुरानै आख्यान, अवदान, पुराणको पुनरावृत्ति भएको पाइन्छ । तत्कालीन राजनीतिक परिस्थितिका कारण यस समयमा साहित्य सिर्जनामा एक प्रकारको उदासीनता रहेको पाइन्छ ।
सन् १९०९ देखि १९३९ सम्मलाई नेपालभाषा साहित्यको पुनर्जागरण काल मानिन्छ । यस समयावधिमा नेपालभाषाले प्रत्यक्ष रूपमै राज्यबाट दमन खेप्नुपरेको थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्दशमशेरले सन् १९०६ मा नेपालभाषाको प्रयोग अड्डा–अदालतमा अमान्य गरिदिए भने पुस्तक लेखन र प्रकाशनमा पनि प्रतिबन्ध लगाए । एकातिर राज्यबाट नेपालभाषा साहित्यलाई निष्क्रिय तुल्याउने काम भयो भने अर्कोतिर तत्कालीन ग्रन्थमा चलनचल्तीको भाषाको प्रयोग नभई पुरानै भाषा र लिपि प्रयोग हुँदा जनसमुदायबाट नेपालभाषा साहित्य टाढिँदै गएको थियो । त्यही विषम परिस्थितिमा नेपालभाषाको पुनर्जागरण अभियान सुरु भयो । तत्कालीन आर्य समाज प्रचार अभियान, लाइबे्ररी पर्व, दरबार स्कुलको स्थापनाजस्ता जागरणका क्रियाकलापले नेपाल मण्डलका युवालाई निकै प्रभाव पारेका थिए । भारतमा भारतेन्दु हरिश्चन्द्रको नेतृत्वमा भएको पुनर्जागरण अभियानले पनि युवामा आफ्नो मातृभूमि तथा मातृभाषाप्रति केही गर्नुपर्छ भन्ने भावना जगायो । फलतः यस्ता जागरण अभियानबाट अभिप्रेरित युवाले मरणान्त स्थितिमा रहेको नेपालभाषालाई ब्युँताउने काम गरे । पुनर्जागरण अभियानको अग्रपंक्तिका महापुरूषहरू हुन्, निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीर सिंह, शुक्रराज शास्त्री धर्मादित्य धर्माचार्य आदि । निष्ठानन्द बज्राचार्यले देवनागरी लिपिमा ‘एकविंशति प्रज्ञापारमिता’ (सन् १९०९) ग्रन्थ मुद्रित रूपमा प्रकाशित गरी मुद्रण परम्पराको थालनी गरे । ‘ललितविस्तर’ (सन् १९१४) जस्ता महायानी बौद्ध ग्रन्थ अनुवाद गरी बोलीचालीको भाषामा साहित्य रच्ने परम्पराको आरम्भ गरे । कवि सिद्धिदासले विविध विधा तथा विविध विषयका ५० भन्दा बढी पुस्तक लेखी नेपालभाषालाई संख्यात्मक तथा गुणात्मक रूपले समृद्ध गर्नमा सहयोग पु¥याए । आर्य समाजबाट प्रभावित योगवीर सिंहले सामाजिक, धार्मिक, आर्थिक, भाषिक सुधारका कविता लेखी समाजलाई सजग र सचेत तुल्याउने चेष्टा गरी नेपालभाषा पुनर्जागरणको शंखनाद गरे । मास्टर जगतसुन्दर मल्लले मातृभाषाको माध्यमबाट शिक्षाको शुभारम्भ हुनुपर्ने जिकिर मात्र नगरी, आफैँले स्कुल खोलेर यसको प्रयोग समेत गरे । धर्मादित्य धर्माचार्यले नेपालभाषामा ‘बुद्ध धर्म’ पत्रिका प्रकाशित गरी पत्रिका परम्पराको थालनी गरे । शुक्रराज शास्त्रीले ‘नेपालभाषा व्याकरण’ (सन् १९२८) लेखी नेपालभाषालाई स्तरीय बनाउने चेष्टा गरे ।
पुनर्जागरण कालमा सबभन्दा बढी विकास भएको विधा काव्य हो । सत्यसती, सज्जन हृदयाभरण, सिद्धिरामायण, योगसुधा, थुलिंचा यस समयावधिमा रचिएका काव्य हुन् । गद्य विधातर्फ ललित विस्तर, इसपं दय्कूगु बाखं, नेपालभाषा व्याकरण, नेपालभाषा वर्णमाला रहेका छन् । उपदेशनीति माध्यमिक कालको मूलभूत प्रवृत्ति रहेको छ ।

आधुनिक काल

सन् १९४० पछिको अवधिलाई नेपालभाषा साहित्यको आधुनिक काल मानिन्छ । यस अवधिमा नेपालभाषा साहित्यमा स्पष्ट रूपले नयाँ–नयाँ आयाम देखापरेका तथा नयाँ–नयाँ साहित्यिक विधा भित्रिएका हुनाले आधुनिक काल मानिएको हो । यस समयमा आएर नेपालभाषाका काव्य, कथा, नाटक आदिमा आधुनिक प्रवाह भित्रियो भने उपन्यास, निबन्ध, समालोचनाजस्ता नयाँ विधा पनि देखापर्न थाले । आधुनिक कालको साहित्यले पनि विभिन्न चरण पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले यसलाई पनि विभिन्न चरणमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ ।
सन् १९४० ताकाको नेपालभाषा साहित्यलाई संक्रमणकालीन साहित्य समेत भनिन्छ । त्यसबेला राणा शासकको दमन–शोषण तीव्र हुँदै गएको थियो भने तत्कालीन युवाले राणाविरोधी गतिविधि सञ्चालन गर्न नेपाल नागरिक समिति, प्रजापरिषद्जस्ता पार्टी भूमिगत रूपमा खोलेका थिए । फत्तेबहादुर सिंहले मातृभाषामाथि भएको शोषण–दमनको पर्दाफास गर्दै भाषा–सेवामा समर्पित हुन आह्वान् गरी भूमिका लेखिएको ‘नेपाली विहार’ जस्ता कवितासंग्रह प्रकाशित गरे । यसै संग्रहमा कवि सिद्धिचरणका वर्षा, गंगु खुसी जस्ता क्रान्तिकारी चेत भएका कविता छापिए । यस समयको मूलभूत साहित्यिक प्रवृत्ति छायावाद, स्वच्छन्दवाद रह्यो ।
सन् १९४१ देखि १९४५ सम्मको अवधिलाई जेलकाल तथा निर्वासन काल मानिन्छ । तत्कालीन राणा शासकले आफ्नो शासन सत्ता बचाउन राजनीतिमा संंलग्न युवालाई मात्र नभई शैक्षिक, साहित्यिक गतिविधिमा संलग्न सबै युवालाई जेल चलान गरे । यसै क्रममा कवि चित्तधर ‘हृदय’लगायत नेपाली विहार पुस्तकका सम्पादक फत्तेबहादुर सिंह तथा उक्त संग्रहमा कविता छापिएका कवि सिद्धिचरण श्रेष्ठ, योगवीर सिंह जेलमा परे । जेलमा परेका सर्जकले आफूहरूले मात्र लेख्ने गरेनन्, राजनीतिक कारण जेलमा परेका युवालाई समेत साहित्यतिर उन्मुख गराए । फलतः कारागार नेपालभाषाको निमित्त साहित्य साधनागार बन्यो । जेलकाल नेपालभाषा काव्यको अत्यन्त उर्वर काल मानिन्छ । छायावाद, स्वच्छन्दवाद यस समयको मूलभूत काव्य प्रवृत्ति रहेको छ ।
एकातिर साहित्यिक गतिविधिमा लागेका सर्जकलाई जेल यातना दिइयो भने अर्कोतिर किंदोल विहारमा आफ्नो मातृभाषाबाट धर्म देशना गर्ने आठ भिक्षुलाई सन् १९४४ मा देश निकाला गरियो । यी निष्काशित भिक्षुको सहयोगको निमित्त भारतको सारनाथमा धर्मोदय सभा (नेसं १०६५)को स्थापना भयो । यही संस्थामार्फत यी भिक्षुले धार्मिक पुस्तक लेख्नुका साथै धर्मोदय पत्रिका प्रकाशित गरी नेपालभाषाको आधुनिक साहित्य निमार्णमा ठूलो सहयोग पु¥याए ।
पूर्वप्रजातन्त्र काल (सन् १९४६–१९५०)को सबैभन्दा ठूलो उपलब्धि भनेको जेलमा रचिएका कृतिको प्रकाशन तथा नयाँ–नयाँ साहित्यिक विधाको सूत्रपात हो । चित्तधर ‘हृदय’को सुगत सौरभ, धर्मरत्न यमीको अर्हतनन्द जस्ता महाकाव्यको प्रकाशन भयो । आधुनिक कथा (मोर्डन सर्ट स्टोरी)को सूत्रपात चित्तधर ‘हृदय’ को ‘खुपु बाखंचा’बाट भयो । आधुनिक एकांकी नाटकको सुरुवात पनि चित्तधर ‘हृदय’को ‘शाक्यानी’बाट भयो । समालोचनाको शुभारम्भ रत्नध्वज जोशीको ‘धर्मोदयया कहानी’ नामक लेखबाट भयो भने उनकै ‘च्वय्गु छाय्’ जस्ता विचारप्रधान निबन्धबाट नेपालभाषामा पनि आधुनिक निबन्धको थालनी भयो ।
प्रजातन्त्रकाल (सन् १९५१–१९६४)का खुला वातावरणले लेखकमा जाँगर र उत्साह ल्यायो । उनीहरूलाई अरू देशका साहित्यसित परिचित हुने मौका दिलायो । भाषा साहित्य उत्थानका निमित्त च्वसापासा, नेपालभाषा परिषद्, साहित्य मन्दिरलगायत संघसंस्था स्थापना भए भने थौंकन्हे, नेपाल, पासाजस्ता पत्रपत्रिका प्रकाशनमा आए । फलतः साहित्यमा विविधता र व्यापकता देखियो ।

काव्य विधामा स्वच्छन्दवादी धाराको स्पष्ट रूपले विकास भयो । यस धाराको नेतृत्व कवि सिद्धिचरणले गरे । हरिकृष्ण श्रेष्ठ, नारायणदेवी, दुर्गालाल, चित्तरञ्जन नेपालीजस्ता स्रष्टाले यसलाई आत्मसात् गरे । स्वच्छन्दवादी धाराको अतिरिक्त बहिर्मुखी प्रवृत्ति समष्टिगत भावना उद्बोधन गर्ने केदारमान ‘व्यथित’को छ्वास, रेवतिरमणानन्दको मलख जस्ता काव्य देखापर्न थाले । धुस्वाँको मिसा (सन् १९५४) उपन्यासको प्रकाशनले नेपालभाषामा पनि उपन्यास विधाको पदार्पण भयो । यसै दशकमा हेमलाल जोशी, सुदर्शन श्रामणेर, सत्यमोहन जोशीले ऐतिहासिक नाटकको थालनी गरे भने ईश्वरानन्द श्रेष्ठाचार्यले इब्सनवादी नाटक लेखी नेपालभाषामा समस्यामूलक नाटकको आरम्भ गरे । गिरिजाप्रसाद जोशी, वासुशशी आदि यस विधामा कलम चलाउने अरु नाटककार हुन् ।
निबन्ध विधामा रत्नध्वजका विषयपरक निबन्धका पुस्तकबाहेक प्रेमबहादुरका न्हूपुखू जस्ता आत्मपरक निबन्धसंग्रह देखापरे । मोतिलक्ष्मी उपासिका, ठाकुरलाल मानन्धर, तेजेश्वर बाबु ग्वंगः, फणिन्द्ररत्न बज्राचार्य, तिलकप्रकाश कायस्थ, स्वयम्भुलाल श्रेष्ठ, कृष्णचन्द्रसिंह आदि यस समयका प्रमुख निबन्धकार हुन् ।

समालोचनामा माधवलाल कर्माचार्य, कमलप्रकाश मल्ल, माणिकलाल श्रेष्ठ, नर्वदेश्वर प्रधान जस्ता स्रष्टाले पाश्चात्य समीक्षा पद्धति नेपालभाषा साहित्यमा भिœयाउने काम गरे । कथामा पूर्ण पथिक, पूर्णदास श्रेष्ठ, माधवलाल कर्माचार्य, प्रकाशकुमारी, तीर्थलाल नघःभनि, आशाराम शाक्य, जस्ता कथाकारका आदर्शवादी, सामाजिक, मनोवैज्ञानिक यथार्थवादका कथा देखापर्न थाले ।
पञ्चायत काल (सन् १९६५–१९९०)मा राज्यले एक देश, एक भाषाको नीति अपनाई रेडियो नेपालबाट प्रसारण हुँदै आएको नेपालभाषाको समाचार, जीवन दबूजस्ता कार्यक्रम हटाइदियो । पुस्तक प्रकाशन तथा साहित्य सम्मेलन जस्ता कार्यक्रमलाई रोक लगाइयो । पञ्चायती शासनको दमनको विरोधमा नेवार समुदायले टोलटोलमा साहित्य सम्मेलन गरी भाषिक आन्दोलन सुरु गरे । यस्ता साहित्य सम्मेलनले नयाँ लेखक जन्मायो । पुरानालाई परिमार्जित हुने मौका दियो । फलतः नेपालभाषा साहित्य विद्रोही साहित्य (प्रोटेस्ट लिटेरेचर)को रूपमा झन् अगाडि बढ्न थाल्यो । आक्रोश र व्यंग्य नै तत्कालीन साहित्यको मूलभूत प्रवृत्ति बन्न पुग्यो ।

आधुनिक कविता तथा प्रगतिवादी प्रवाह यसै समयमा नेपालभाषामा पनि भित्रियो । पूर्ण वैद्य, आनन्द जोशी, बुद्ध साय्मि, योगेन्द्र प्रधान, श्यामसुन्दर सँैजु, रमेश मधु, सत्यभामा, नातिबज्र, नर्मदेश्वरप्रधान, भगतदास श्रेष्ठ, त्रिरत्न शाक्य आदि यस प्रवृत्तिका कवि हुन् ।
कथामा मथुराकृष्ण साय्मि, हितकरवीर सिंह, हरिकृष्ण रञ्जितकार, राजा शाक्य, सुवर्ण केशरी, श्यामदास प्रजापति, भूषणप्रसाद श्रेष्ठ, मोतिलक्ष्मी शाक्य, मंगलदेवी स्थापित, रेवती राजभण्डारी जस्ता कथाकार देखापर्न थाले । सामाजिक कुरीति, सुधारका सन्देश दिने कथा मात्र नभई मनोवैज्ञानिक चेतले प्रभावित कथा पनि देखिन थाले ।
लघुकथा, विम्बात्मक कथा पनि प्रचलनमा आए । उपन्यासमा पनि धुस्वाँ साय्मिका साथै धर्मरत्न यमि, ईश्वरानन्द श्रेष्ठाचार्य, जगदीश चित्रकार, रत्नबहादुर साय्मि, गिरिजाप्रसाद जोशी, चिनियालाल बज्राचार्य रामशेखर जस्ता स्रष्टा अग्रसर भए । प्रवृत्तिगत रूपले यस समयमा फ्रायडवाद, प्रगतिवाद मात्र नभई, विसंगतिवाद, अस्तित्ववाद दर्शनले प्रभावित उपन्यास पनि देखापर्न थाले । नाटकमा दुर्गालाल श्रेष्ठ, विजयबहादुर मल्ल, दिनेश भुजु, राजभाइ जकःमि, पुष्पबहादुर चित्रकार, गण्ोशराम लाछि आदि तथा निबन्धमा पद्मरत्न, पूर्णबहादुर वैद्य, मंगलप्रसाद स्यस्यः, रमेशकाजी स्थापित, जस्ता प्रगतिवादी स्रष्टा देखापरे । बालगोपाल श्रेष्ठ, मल्ल के सुन्दर, जुही सुवाल, सौरभ शाक्य, पूर्ण ताम्राकार आदि यस विधामा हात बढाउने अरु निबन्धकार हुन् । यस समयमा विकास भएको एक महŒवपूर्ण विधा हास्यव्यंग्य पनि हो । सूर्यबहादुर पिवाः, रामशेखर, पद्मरत्न तुलाधर, श्रीकृष्ण अणु, ध्रुवनारायण कायष्ठ, हृदयप्रसाद मिश्र, केशरत्न शाक्य आदि यस प्रवृत्तिका सर्जक हुन् ।
बहुदलीय व्यवस्थापछि (सन् १९९१ देखि हालसम्म) पश्चात् पनि पञ्चायत कालमा लादेको एक देश, एक भाषा नीतिमा कुनै परिवर्तन आएन । फलतः यस भाषामा पनि धेरै भाषिक विचलन देखापर्न थाल्यो । नयाँ पुस्ताले आफ्नो मातृभाषा नेपालभाषा बोल्न छाड्दै गए । यहीअनुरूप २००७ सालको प्रजातन्त्रपश्चात् नेवार समुदायमा आफ्नो भाषा साहित्य विकासका निमित्त जुन उत्साह र जोश तत्कालीन युवामा उब्जिएको थियो, त्यस्तो जोश र उत्साह पछिल्ला यी राजनीतिक परिवर्तनले उब्जाउन सकेनन् ।
बरु साइबर संस्कृतिको विकास तथा भूमण्डलीकरणको प्रभावले नेपालभाषा साहित्यको घेरालाई पहिलेभन्दा बृहत् र व्यापक बनाइदियो । यही अनुरूप उत्तरआधुनिकतावादको प्रभाव नेपालभाषा साहित्यमा यथेष्ट देखापर्न थाल्यो । फलतः नेपालभाषा साहित्य निश्चित समाजको निश्चित समस्यामा मात्र केन्द्रित नरही आजको नयाँ प्रविधि तथा परिवेशले ल्याएका समस्या जस्तैः बिदेसिने नेपालीको रेमिट्यान्सको सट्टा कफिन भित्रिने व्यथा, अनियन्त्रित बसोबासका कारण यहाँका आदिवासी आफ्नै आदि भूमिबाट विस्थापित हुनुपर्ने समस्या, आफ्नो सांस्कृतिक परम्पराबाट विचलन हुनुपर्ने आप्रवासीको पीडा, सहरीकरणको अनियन्त्रित बसोबासले काठमाडौंलाई कंक्रिटको जंगलमा परिणत हुने त्रास मात्र नभई टेस्टट्युब बेबी, सेरोगेसी, नीलहिरालगायत नयाँ–नयाँ विषय तथा समस्यालाई लिएर लेखिएका थुपै्र कविता, कथा, निबन्ध देखापर्न थाले । निबन्ध र कथा लेखनमा अन्तर विधात्मक सिद्धान्तको प्रयोग देखापर्न थाल्यो भने उपन्यासमा बहुनायकलाई समावेश गर्ने काम केदार सितुले स्वम्हम मनू उपन्यासमा गरे । मल्ल के सुन्दरले ‘व लँपु थ्व पलाः’ नामक उपन्यास लेखी बौद्ध दर्शन तथा माक्र्सवादी दर्शनजस्ता दुई विपरीत ध्रुवीय दर्शनलाई समन्वय गरेर देखाउने चेष्टा गरे । नेपालभाषामा पनि जासुसी उपन्यास भिœयाउने काम राज साय्मि जस्ता स्रष्टाबाट भए भने कथा विधामा सुलोचना मानन्धर, सरस्वती तुलाधर, लोचनतारा, रीना बनिया, शरद कसाः नारद बज्राचार्य, मनदेवि तन्दुकार, आदि जस्ता स्रष्टा देखापरे । एक भाषा, एक जाति, एक संस्कृति, एक धर्मले नकिच्नु सबै जाति, सबै भाषा, सबै संस्कृतिलाई उठ्न दिनू भन्ने बहुलवादी समावेशी तथा पहिचानको स्वर प्रत्येकजसो स्रष्टाको रचनामा घन्किन थाल्यो । यस्ता स्वर विशेषतः ०६२ सालको राजनीतिक परिवर्तनपछि अझ बुलन्द भएको छ भने विशेषतः काव्यमा उठ्ने गरेका छन् ।
श्रीराम श्रेष्ठ, सुधीर ख्ववि, नवीन चित्रकार, सुदन खुसः, मोहन दुवाल, नारद बज्राचार्य, सुुरेश किरण, शाक्य सुरेन, राजभाइ जकःमि, प्रतिसरा साय्मि, माधव मूल, पुष्पराज राजकर्णिकार, केशवमान शाक्य, वसन्त महर्जन, रजनी मिला, ईश्वरी मैयाँ, सुरेन्द्र तुलाधर, रामेश्वर जलन, अगिव बनेपाली आदि यस्ता स्वरका हिमायती कवि हुन् ।
निबन्धतर्फ यस समयमा आएर विशेषगरी नियात्रा बढी देखिन थाले । आर मानन्धर, लक्ष्मण राजवंशी, विमल प्रभा, सुलोचना मानन्धर, पुष्पराज राजकर्णिकार, घनश्याम राजकर्णिकार आदि यस प्रवृत्तिका निबन्धकार हुन् । पहिलेभन्दा यस समयमा नारी स्रष्टा पनि बढी देखापर्न थाले । उनीहरूले पनि आफ्नो कथा, कवितामार्फत पुरुषको दासता र अधिनायकताको विरोधमा नारी मुक्ति, नारी अस्मिता र नारी सशक्तीकरणका निमित्त स्वर बुलन्द पारेका छन् ।
अढाई वर्षअघिको महाभूकम्प तथा त्यसको केही महिनापछि भारतबाट भएको नाकाबन्दीले नेपाली जनतामा जुन त्रासदपूर्ण विपद ल्याएको थियो त्यस्ता अभिघातलाई बोध गराउने थुपै्र कविता, कथा, निबन्ध नेपालभाषामा पनि सिर्जना भए ।
बालसाहित्य क्षेत्रमा पनि शान्तदास मानन्धर, राजभाइ जकःमि, मीना बज्राचार्य, जलेश्वरी श्रेष्ठजस्ता स्रष्टाले अग्रसरता देखिए । उपन्यास र नाटक विधामा पुरुष लेखकको मात्र आधिपत्य रहेकामा शशिकला मानन्धर, अपर्णा प्रधान, प्रकाशकुमारीजस्ता नारी सर्जकले महिलाको उपस्थिति सशक्त रूपले देखाएका छन् । ज्ञानकाजी मानन्धरले प्राचीन आख्यान पुराणलाई नाटकका रूपमा उजागर गर्ने काम गरे । काव्यमा गजल, हाइकुलगायतको संख्यात्मक तथा गुणात्मक वृद्धि भएको छ । भूषणप्रसाद श्रेष्ठ गजल विधाका उलेख्य नाम हो । हाल लघुकथा लघुउपन्यासमा स्रष्टाको ध्यान बढी गएको छ । मथुराकृष्ण साय्मिको चार भागसम्म प्रकाशित माकुगु विष लघु उपन्यास तथा गोविन्द श्रेष्ठ, विमल ताम्रकार, कृष्णभक्त बोदेका लघुकथा यसका उदाहरण हुन् । त्यस्तैे साहित्यबाहेक नेवार समुदायका भाषा–धर्म, संस्कृति तथा कलासम्बन्धी सोच र खोजमूलक कृति पनि धेरै देखापर्न थाले भने नेपालभाषा साहित्यको इतिहास लेख्ने प्रयास पनि यसै कालमा भएको छ ।
आधुनिक कालमा आएर नेपालभाषा साहित्यमा नयाँ प्रयोग भित्रिनुका साथै नयाँ विधा र विषयले स्थान पाएका छन् । नेपालभाषामा एउटै विधामा प्रतिबद्ध भई कलम चलाउनेभन्दा सबै विधामा हात बढाउने स्रष्टा नै बढी छन् ।

(गत शनिबार पाटनमा सम्पन्न प्रथम नेपालभाषा साहित्य सम्मेलनका क्रममा प्राध्यापक तथा नेपालभाषा साहित्यको इतिहास लेखिका तुलाधरले दिएको मन्तव्यको सम्पादित रूप ।)

http://www.nagariknews.com/news/27616/

No comments: