Tuesday, December 19, 2023

सिसीभित्र मन्दिर

 प्रशान्त माली

सिसीभित्रका मन्दिरहरू, चैत्य, घर देखेर निकै बेर घोरिन्छन् मान्छे । सिसी–कलाका कलाकार हुन्– ठेचोका राजीव महर्जन । उनले हालसम्म ५० वटाभन्दा बढी सिसीभित्र कला सिर्जेका छन् । 


बोतलभित्र उनले चैत्य, कृष्ण मन्दिर, पाँचतले मन्दिर, बज्रबाराही, धरहरा, रानीपोखरी, सिंहदरबार, राजदरबार, पशुपतिनाथ, जनकी मन्दिर, काष्ठमण्डप, तलेजु भवानीका आकृति बनाएका छन् । सिसीभित्रको त्यो कला जीवन्त देखिन्छ । सिसीभित्र उनले बनाएको स्वयम्भू चैत्यलाई टेबुल ल्याम्पका रूपमा पनि प्रयोग गर्न मिल्छ । भन्छन्, ‘बोटलभित्र आकृति मात्रै छ भने त्यो शो पिस मात्रै भयो । ल्याम्पमा जोडेपछि टु इन वान बन्यो । यसले बत्तीको पनि काम गर्ने भयो ।’

बोटल–आर्टबाट खासै कमाइ छैन, तर उनी खुसी छन् । पाटन कुलिमटोलमा सानो आर्ट ग्यालरी पनि खोलेका छन् उनले । भन्छन्, ‘कोभिडअघिसम्म अर्डरहरू आइरहन्थे । अहिले खासै छैन । साताअघि एक ग्राहकले मत्स्येन्द्रनाथको मूर्ति अर्डर गर्नुभएको थियो ।’ सिसीभित्र कला भर्न मेहनत र प्रशस्त समय लाग्छ, एउटा बोटल–आर्ट गर्न कम्तीमा १५ देखि २० दिनसम्म ! साइज अनुसार कलाको मूल्य तोक्छन् उनी– एक हजारदेखि २५–३० हजार रुपैयाँसम्म । ललितकला क्याम्पसबाट फाइन आर्टमा बीए गरेका महर्जनले बोटल आर्ट गर्न थालेको १० वर्ष भयो ।

कसरी बन्छ सिसीभित्रको कला ? सुरुमा सिसीको नाँपचाँच गरिन्छ र अट्ने वस्तुको अनुमान ! वस्तुको डिजाइन तयार पारिन्छ र त्यसलाई स–सानो टुक्रामा विभाजन गरिन्छ । चिम्टाको सहायताले त्यो वस्तुलाई सिसीभित्र पठाइन्छ । गमले बेसदेखि नै जोड्दै लगिन्छ । यसरी एउटा कला तयार हुन्छ ।

उनी अब सिसीभित्र नेवारी चोक, चोकको मन्दिर, इनार र परम्परागत घरहरू बनाउने सोचमा छन् । उनका यी बोटल–आर्ट उपहारका रूपमा चीन, थाइल्यान्ड, अमेरिका, जापान, स्पेन, जर्मनी, बंगलादेश, भारत, कोरियासम्म पुगेका छन् ।

https://ekantipur.com/koseli/2023/12/09/temple-inside-sissy-45-07.html

No comments: