Sunday, March 31, 2024

सत्यमार्गी सत्यमोहन

 १३ साउन २०८०, शनिबार


नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा सत्यमोहन जोशी एक अदभुत प्रतिभा हुनुहुन्छ । उहाँको व्यक्तित्वको रसायनिकी अत्यन्तै अनौठो गरी निर्मित भएको पाइन्छ । एकातिरबाट हेर्दा उहाँको कद निकै उँचो देखिन्छ भने अर्कातिरबाट हेर्दा फराकिलो । उहाँको साधनाको धरातल भने निकै गहिरो देखिन्छ । सत्यमोहन जोशी लेखक, अनुसन्धाता र प्रशासक हुनुहुन्छ । उहाँ बहुमुखी प्रतिभा हुनुहुन्छ । उहाँले नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ ।

जोशी जसरी नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान र जागरणमा लागिरहनु भयो, त्यसै गरी उहाँका बारेमा पनि विभिन्न ग्रन्थ निस्कने व्रmम जारी छ । विसं १९७७ को वैशाख ३० गते यस धर्तीमा आँखा खोल्नुभएका उहाँले विसं २०७९ असोज ३० गते आइतबार सदाका लागि आँखा चिम्लिनु भयो । उहाँको योगदानको कदर गर्दै जीवनकालमा मनग्य मानसम्मान र खातिरदारी नगरिएको होइन । उहाँको निधनपछि पनि उहाँका बारेमा लेखिने व्रmम बढ्दो छ । यसैको शृङ्खलामा लेखक, पत्रकार गोपीकृष्ण ढुङ्गानाले एउटा गतिलो ग्रन्थ सङ्कलित गर्नुभएको छ । ग्रन्थका नाम हो, ‘शब्दविम्बमा सत्यमोहन’ ।

सत्यमोहन आफ्नो जीवनकालमा कोही नपुगेको ठाउँमा पुग्नुभयो अनि कसैले गर्न नसकेको काम पनि गर्नुभयो । न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीका रूपमा इतिहासले उहाँलाई सम्झिने छ भने नेपालभित्रका विविध भाषा–संस्कृतिका अभ्यर्थकका रूपमा वाङ्मयले सम्झिने छ । कहिले कविताका अनुवादक भएर अनि कहिले नेपाली लोकलयका प्रवर्धक भएर उहाँले आफ्नो प्रतिभाको विराट स्वरूपको नमुना प्रस्तुत गर्नुभएको छ ।

शब्दविम्बमा सत्यमोहन किताबलाई विभिन्न खण्डमा विभक्त गरिएको छ । लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्क, समाचार, कविता र तस्बिर गरी सात खण्डमा सत्यमोहनप्रति समर्पित शब्दपुष्प उनिएका छन् । भैरव रिसाल, जगमान गुरुङ, गार्गी शर्मा, सीके लाल, गोविन्द टन्डन, रामभरोस कापडीलगायत गीता त्रिपाठी, श्रीओम श्रेष्ठ, रतन भण्डारी, अमृत भादगाउँले, जयदेव भट्टराईलगायत दर्जनौँ स्रष्टाले सत्यमोहनको योगदान र सत्कर्मको बखान गर्नुभएको छ । यति मात्र नभई धीरेन्द्र प्रेमर्षि, शीतल गिरी र माया ठकुरीका अनुभूतिहरू समेटिएका छन् । प्रत्येक खण्डमा अलग अलग विषय, सन्दर्भ र प्रस्तुति छन् । पुस्तकमा उनिएका विविध सामग्रीहरू केवल शब्दका गुजुल्टा मात्रै छैनन्, बरु सिर्जना, सम्झना र समर्पण भावका दसी पनि छन् ।

तिमी बाँच्यौ होसले एक शताब्दी

म बेहोसले बाँच्ने छु अनन्त शताब्दी 

सत्यमोहन !

सत्यमोहनका लागि सरुभक्तले बुनेका काव्यरूपी शब्दामृत हुन् यी । यस्ता अनेक स्मृतिका उदाहरण छन् किताबमा । सत्यमोहनले के गर्नुभएन ? ‘हाम्रो लोकसंस्कृति’ अनि ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यलाई उर्भर बनाउनु भयो । समालोचना, कविता, कथा, नाटक, खोज, संस्कृति, भाषा र निबन्धलगायत ४० भन्दा बढी पुस्तक लेख्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा गाईजात्रा महोत्सवलाई प्रभावकारी बनाउने काम मात्र गर्नुभएन कि नेपालभित्रका विभिन्न चौध भाषाको पर्यायवाची कोशको निर्माण गर्नुभयो ।

‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक कृति प्रकाशित गर्नुभयो । इतिहासको कालखण्डमा संसारकै सबैभन्दा सानो मुद्रा नेपालमा प्रचलनमा थियो भनी प्रमाणित गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गराउनु भयो । नेपालको सांस्कृतिक राजदूतसरह बनी विभिन्न मुलुकको भ्रमण गर्नुभयो । जहाँ पुग्दा पनि नेपाली टोपीको साथ छोड्नु भएन । यस पुस्तकमा उहाँका यस्तै कर्मको साक्षीका रूपमा विभिन्न स्रष्टाले आफ्नो अदबपूर्ण अभिमत अभिव्यक्त गरेका छन् ।सत्यमोहन जोशीलाई कतिपयले तीन/तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने भाग्यमानी स्रष्टाका रूपमा लिन्छन् । खासमा उहाँ भाग्यमानी होइनन्, कर्मशील हुनुहुन्छ । बुद्धले भन्नुभएको थियो, “तिम्रा हरेक दुःख र सुख तिम्रो आफ्नै कर्मको परिणाम हो ।” सत्यमोहनले पनि आफ्नै कर्मको बलमा आफ्नो ज्ञान र क्षमताको प्रकाशले नेपाली कला, साहित्य र संस्कृतिको आकाशलाई आलोकित पार्नुभयो । कस्तो हुन पुग्यो भने नेपालको कुनै इतिहास, संस्कृति र भाषाका बारेमा कोही अलमलमा प-यो भने त्यसलाई प्रामाणिक बनाउन सत्यमोहनले बोलेपछि सकियो । कसले भनेको भन्दा सत्यमोहनले भनेको । यस्तो हैसियत, यस्तो उचाइ र यस्तो विश्वास त्यत्तिकै आर्जन भएको होइन । उहाँले यसका लागि धेरै मेहनत र परिश्रम गर्नुभएको छ ।

यी सबै कुरालाई थप उजागर गर्न राष्ट्रकवि माधवप्रसाद घिमिरे, तेजेश्वरबाबु ग्वंगः, तुलसी दिवस, रामदयाल राकेश, खेम कोइराला बन्धु, डा.तीर्थबहादुर श्रेष्ठलगायत स्रष्टाका विचारले पुस्तक सुशोभित छ । पुस्तकको समग्र सम्पादन गरेपछि सम्पादक ढुङ्गानाले केही निचोड निकाल्नुभएको छ, निचोडभित्रको निचोड एक वाक्यमा लेख्नुभएको छ सम्पादकीय सम्प्रेषणको रूपमा– ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय ।’ ढुङ्गानाका सत्यमोहनबारेका धारणा यस्ता छन्, ‘सत्यमोहन अर्थात् शताब्दी लामो समयको प्रतिबिम्ब ।’ ‘जसरी बग्छ पानी त्यसरी नै बगे ‘सत्यमोहन’ पनि सार्वभौम बनेर ।’ ‘असत्यको पर्दामा गुम्सिएनन्, सत्यको सत्मार्गमै दौडिरहे ।’ ‘शालीनता भन्नु सत्यमोहन, सम्मोहनको अर्को नाम सत्यमोहन ।’ ‘संस्कृतिको पर्याय सत्यमोहन, साहित्यको संसारमा पनि सत्यमोहन ।’ ‘सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए ।’ ‘न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा ।’ आदि । उहाँको यो निष्कर्ष आमपाठक, लेखक र चिन्तकको पनि हो भन्दा दुईमत नहोला । 

भुँडीपुराण प्रकाशनले ४२६ पृष्ठमा छापेको यो पुस्तकमा मुलुकका गिनेचुनेका लेखक, साहित्यकार, पत्रकार र चिन्तकहरूका संस्मरण, धारणा र अनुभूतिहरू सङ्कलित छन् । सत्यमोहनको इहलीला २०७९ असोज ३० गते समाप्त भयो । कर्मशील मानिसहरू कहिल्यै मर्दैनन्, बरु अमर हुन्छन् । सरकारको सत्यमोहनलाई गरेको सम्मान हो, ‘वाङ्मय शताब्दी पुरुष’ अनि युनेस्कोले भन्यो, ‘जिउँदो मानव सम्पदा’ । महाविद्यावारिधिसमेत प्राप्त गर्नुभयो उहाँले । यी सबै पाउने महामानव कहलिनु भयो । नेपाली जनमानसले उहाँलाई सदा हृदयमा राख्ने छ ।

तेजेश्वरबाबु ग्वंग लेख्नुहुन्छ, ‘सत्यमोहन जोशी संस्कृतिविद्, साहित्यकार मात्रै हुनुहुन्नथ्यो । उहाँ महापुरुष हुनुहुन्थ्यो । उहाँ देशकै सम्पत्ति हो । राष्ट्रको धरोहर हो ।’ सत्यमोहनको प्रसंशा, स्तुति, चर्चा र वर्णनका लागि सायद शब्दहरू नै कम्ती लाग्न सक्छन् । यस्तो समयमा गोपीकृष्ण ढुङ्गानाको सम्पादकत्वमा प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ किताबले गहन अर्थ पक्कै राख्छ, जसले सत्यमोहनको सत्यमार्गको चर्चा गरेको छ ।

https://gorkhapatraonline.com/news/72799

No comments: