Sunday, March 31, 2024

युगकविको काव्यिक चेतना

डिल्लीराम मिश्र ‘कलमजीवी’

पुष २८, २०८० शनिबार १२:१३:३६


 नेपाली साहित्यमा नयाँ चेतनाको गन्तव्य देखाउने युगकवि सिद्घिचरण श्रेष्ठ जसले आफ्नो सर्वस्व त्यागे, तर साहित्य त्याग गर्न सकेनन्।

तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षःस्थलमा
यो कविको शैशवकाल बित्यो

हाँस्यो खेल्यो वन कुञ्ज घुम्यो
मेरो पियारो ओखलढुंगा !

युगकवि सिद्धिचरण श्रेष्ठ

नेपाली काव्यक जगत्मा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट र ओजस्वी स्थान छ। नेपाली साहित्यजगत्का सुविख्यात् कविमध्ये सिद्धिचरण एक हुन्। उनको कविताशिल्पको अन्तिम खोज भनेकै मानव हो। सिद्धिचरणका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ। समाज सुधार्ने सामथ्र्य र उर्जत्व छ। उनका कवितामा देशप्रेम र चरम राष्ट्रभक्ति छ। उनका कवितामा प्रकृतिको जति उपासना र आराधना छ, त्यति नै राजनीतिक चेतना र संवेदनाको सहज धारा–प्रवाह र गूढ वेदना जीवन्त छ। उनी ज्यादै गहिरो आन्तरिक कल्पनामा डुबेर असीम आकाशमा उड्न पुग्छन्।

प्रकृतिको चित्रणतिर दृष्टि दिएर पनि रहस्यवादी बन्छन्। आशावादी भएर पनि भित्री दर्दको मधुर–धारा ओकल्न सक्नु एवं अतृप्त पिपासुहरूलाई तृप्त गराउन सक्नु उनको कवित्व प्रतिभाको अविनाशी क्षमता हो। वेदनात्मक भावना सुन्दर शैलीबाट प्रकाश गर्नुमै उनको बैशिष्ट्य छ। त्यसैले उनी छन्दको पर्खाललाई नाघेर मुक्तक छन्दको मैदानमा पुग्छन्। काव्यिक माध्यमद्वारा समाजलाई माथि उठ्ने चेतना दिनु उनको अर्को वैशिष्ट्य हो। यसकारण सिद्धिचरणका कवितामा विरोधाभाष छैन, परन्तु सामाञ्जस्य छ। प्रकृतिको अत्यन्त सरलचित्रण गर्नु तथा राष्ट्र र समाजलाई उठ्न चेतना प्रवाह दिनु उनको लेखनकलाशिल्पको वैशिष्ट्य हो।

नेपाली साहित्य समाजमा चेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृतिकवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी सर्जक तथा युगकविका रूपमा अमर अजर छन्। नेपाली काव्यसाधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उनका समकालीन सर्जक–स्रष्टाभन्दा धेरै पृथक् छ। मानवमात्रका लागि बन्दनीय व्यक्तित्व सिद्धिचरणले आधुनिक नेपाली भाषासाहित्यको प्रवद्र्धनमा ऐतिहासिक योगदान पुर्‍याएका छन्। उनका कवितामा क्रान्तिचेतना मात्र हैन, काव्यपरम्परामा प्रकृतिको प्रयोग र स्वकीयता बढी बुलन्द छ। त्यसैले कवितात्मक शैलीमा सिद्धिचरण युगको आवश्यकता थिए।

नेपाली साहित्यमा नयाँ चेतनाको गन्तव्य देखाउने सिद्धिचरण जसले आफ्नो सर्वस्व त्यागे, तर साहित्य त्याग गर्न सकेनन्। किनकि साहित्य राजनीतिभन्दा दर्जनौं गुनामाथि छ। कुनै पनि मुलुकको राजनीति त्यहाँको साहित्य र संस्कृतिमार्फत निर्देशित हुनेगर्छ। यस अर्थमा सिद्धिचरण नेपाली साहित्यमा सिर्जनशीलताको प्रतीक मानिन्छन्। उनको अत्यन्तै लोकप्रिय, सर्वप्रिय र कर्णप्रिय गीतिकविता मेरो प्यारो ओखलढुंगा एक कालजयी सिर्जना हो।

नेपाली शोककाव्य जगत्मा कविवर माधवप्रसाद घिमिरेको जीवन्त सिर्जना गौरीको जुन स्थान र परिचय छ, देशभक्तिको भावनामा सिद्धिचरणकोे ओखलढुंगा कविताको त्यही स्थान छ। केही वर्षअघि युगकवि सिद्धिचरण पुरस्कार समर्पण समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा मेरो प्यारो नेपाल हो भन्ने मर्मस्पर्शी उद्गार व्यक्त गरेका थिए, जसबाट सिंगो राष्ट्रको आत्म बोल्छ। नेपाली राष्ट्रप्रेमप्रति मार्मिक चेतना–प्रवाहमा रहेको उनको एक कवितांश –
    क्यारुँ म यो देश निमित्त क्यारुँ
    नाचु कि गाउँ कि गला मिलाऊँ !
    सहर्ष काटी शिर नै चढाऊँ 
    या श्वास जम्मै यसमै मिसाऊँ !

नेपाली भाषासाहित्यको क्षेत्रमा १९५१ सालदेखि २००० सम्म अर्थात् यो आधा शताब्दीबीच देशमा जति पनि कविलेखक, साहित्यकार एवं वाङ्मयिक साधक सर्जकको जन्म भएबाट यस युगलाई स्वर्ण युग मानिएको छ। युगकवि सिद्धिचरण यसै युगका एक कालजयी प्रतिमूर्ति हुन्। त्यसैले प्रतिभा जन्मनु संयोगको कुरा हो सारको हैन। यसकारण त्यहाँदेखि यहाँसम्म आइपुग्दा दर्जनौं दर्जन उत्कृष्ट प्रतिभाको जमघट त्यस युगमा भएको छ। गुणात्मक र संख्यात्मक दुवै दृष्टिकोणबाट पनि यसलाई अत्यन्त सम्पन्न र वैभवशाली समय मानिएको छ।

यसै युगको बीचतिर १९६९ जेठ ९ गते पूर्वी नेपालको रमणीय जिल्ला ओखलढुंगामा सिद्धिचरणको जन्म भएको हो। उनले सर्वप्रथम १९९१ सालमा गोरखापत्रमा भुइँचालो शीर्षकृत कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका हुन्। राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्ने उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा सुन्दर साहित्यचेतना– प्रवाह गरेको छ। उनका कवितामा एकातर्फ प्रकृतिप्रेम र मानवीय संवेदना प्रतिबिम्बित छ भने अर्कोतर्फ समाज सुधारको पक्ष पनि दरो रूपमा मौलाएको छ।

सफल प्रकृति चित्रण र समाजलाई युगबोध चेतनातर्फ अभिप्रेरित गर्नु कविको वैशिष्ट्य कर्मसाधना हो। उनी कर्मसाधनालाई पूजा गर्छन् र सम्मान पनि। मुलुकभित्र नेपाली समाजमा जनचेतना र जागरण अभिवृद्धि गर्ने कार्यमा अन्य साहित्यिकहरूले जस्तै उनले पनि गहन भूमिका खेलेका छन्। तत्कालीन राजनीति र साहित्यिक जगत्मा विद्रोह र नवक्रान्तिको शंखघोष गर्ने प्रातः स्मरणीय विशिष्ट प्रतिभा युगकविले कविताको माध्यमद्वारा युगचेतना र जागरणको आन्दोलन आरम्भ गरेका हुन्। नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखरपुरुष गणेशमान सिंहलाई गणेशमान बनाउन सिद्धिचरणको स्तुत्य भूमिका रहेको तथ्य स्वयंले स्वीकार गरेका छन्।

नेपाली साहित्यको समालोचना क्षेत्रमा अधिकतम् सन्तुलित, स्पष्ट र दिशानिर्देश दृष्टिकोण क्षमता राख्न सक्ने विशिष्ट विद्वान् समालोचक यदुनाथ खनाल हुन्। उनले सिद्धिचरणको काव्यकारितालाई लिएर लेखेका छन्– बीसौं शताब्दीको तेस्रो दशकतिर सूर्यविक्रम ज्ञवालीले उनका कवितामा रहेका उल्लेखनीय गुणप्रति ध्यान आकर्षण गरेपछि लगातार उनी हाम्रो साहित्यिक रंगमञ्चमा पहिलो पंक्तिमा छन्। यसकारण उनलाई बुझ्ने र सम्झने तथा सम्भवतः उनलाई कविको रूपमा मूल्यांकनसमेत गर्ने ध्येयले केही वर्षसम्म चिन्तन गरें। उनका कविताहरूमा विशेष गरेर मेरो प्रतिबिम्ब भन्ने संग्रह र लामो उर्वशी खण्डकाव्य दोहर्‍याइ–दोहर्‍याइ पढें। रत्नध्वज जोशी र विजयबहादुर मल्ललगायतले उनको विषयमा लेखेका आलोचनात्मक लेखहरू पनि पढें।

लाग्छ, अझै बुझ्न सकेको छैन। उनी सधैं केही अलग र दूर रहेकाजस्ता छन्। सिद्धिचरणप्रति यदुनाथद्वारा गरिएको यो गम्भीर समालोचकीय मूल्यांकन पनि हो। नेपाली साहित्यका विशिष्ट प्रतिभा समजस्तै सिद्धिचरण पनि एक उत्कृष्ट मानवतावादी कवि हुन्। उनको कविताको अन्तिम खोज मानव नै हो। सिद्धिचरणको साहित्यिक पेरिफेरिमा घुलमेल हुने संवाहक उर्जत्वलाई लिएर यदुनाथ पुनः लेख्छन्– उनको जीवनव्यापी कविताको उपासना छर्लंगिने इमानदारी, प्रतीकको अपरिचितता र अर्थको क्लिष्टतासँगको अधैर्य जीवनको वाजीमा पस्ने व्यक्तित्व, सुधारतर्फ प्रवृत्ति, स्वतन्त्रताप्रति गम्भीर संलग्नता– यी सबै गुणले उनको कविताले नेपाली कविताका सबै प्रेमीलाई चिरकालसम्म मुग्ध गर्न सक्छ।

आफूले जाने, भोगेको विषयमा उनी जुन तीव्र विश्वासका साथ लेख्छन्, त्यसलाई बिरलैले उछिन्न सक्छन्। उनको विषय आफैं नै हो, उनको अनुभव विशिष्ट पनि छ। मूल्यावान् पनि छ, जसले गर्दा हामी उनको कवितातिर ढल्कन्छौं। उनको कवितामा सार्वजनिनता छ। मानिसले जाग्नुपर्छ र दुःख अनुभव गर्नुपर्छ, यो उनको कविताको सन्देश हो। यस क्रममा उनको मेरो प्रतिबिम्ब कविताका यी पंक्ति–
आकृति हो तर रूपविहीन
भाषाको तर भावविहीन् !
 

नेपाली साहित्यमा महाकवि देवकोटाजस्तै स्वच्छन्दतावादी कवि सिद्धिचरणले कविता लेखनसँगै कवितामा क्रान्ति शव्दको प्रयोग गरेपछि राणा सरकारले उनलाई कैद सजाय र सर्वस्वहरणको घोषणा गरेको थियो। १९९५ माघमा वर्षा शीर्षकको कविता लेखेकाले सर्वस्वहरणसहित २० वर्ष कैद सजाय तोकी राणाहरूले उनलाई जेल पठाए। तर उनी २००२ सालमै जेलमुक्त भए। राणाशासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान पुर्‍याए। यस क्षेत्रमा विशिष्ट योगदान गरेका युगकविले नेपाली र नेवारी भाषामा झन्डै दुई दर्जन कृति साहित्य भण्डारलाई अर्पण गरेका छन्।

नेपाली साहित्य समाजमा चेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी सर्जक तथा युगकविका रूपमा अमर अजर छन्।

झन्डै सात दशकको सक्रिय जीवनकालमा भाषासाहित्य, कलासंस्कृति, सामाजिक एवं राजनीतिक चेतनाका संवाहक रहँदै ८० वर्षको दीर्घायु जीवन भोग गरे। २०४९ जेठ २२ गते जन्मेकै महिनामा शिक्षण अस्पतालमा उनको देहावसान भयो। स्वाध्याय सम्पन्न जन्मजात प्रतिभा सिद्धिचरणले २०४४ वैशाखमा भनेका थिए– अब ८/९ दिनमा म ७६ वर्षमा प्रवेश गर्न लागिरहेको छु। बेलाबेलामा केही लेखियो ती सबै रचनाहरूलाई छाडेर म अब कति दिन रहन्छु ? जीवनमा यस्तै हुँदा रहेछ भन्दै गर्दा त्यसको पाँच वर्षपछि उनको स्वर्गारोहण भयो।

सिद्धिचरणको चर्चित उर्वशी, कोपिला, मेरो प्रतिबिम्ब, कुहिरो र घाम, बाँचिरहेको आवाज, सिद्धिचरणका प्रतिनिधि कविता, तिरमिरे तारा र आँसु तथा सिस्वाँ र फुस्वाँजस्ता नेवारी काव्य उनका मौलिक कृति हुन्। उनको निधनपश्चात् छोरा रविचरणले सिद्धिचरणका छरिएर रहेका रचनाहरूको सम्पादन एवं पुनः लेखन गरेर एक दर्जन पुस्तक प्रकाशित गरे। उनले बाबुले गरेको साहित्यिक योगदानलाई नेपाली साहित्य समाज समक्ष सार्वजनिक गरेका छन्। नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य रहेका सिद्धिचरणले मदन पुरस्कार गुठीसँग संलग्न रहेर भाषासाहित्यको सेवा गरे। सिद्धिचरणले स्वदेशलगायत विश्वका आधा दर्जन मुलुकको भ्रमण गरेका थिए।

नेपाली कविता र काव्य क्षेत्रमा विशिष्ट योगदान गरेबापत् सिद्धिचरणले दर्जन पुरस्कार सम्मान प्राप्त गरेका छन्। तत्कालीन युगको संवेदनालाई युगबोधको रूपमा आफ्ना काव्यमा अभिव्यक्त गरी एउटा धारा नै प्रवाहित गरे। सोबापत प्रज्ञा–प्रतिष्ठानद्वारा सिद्धिचरणलाई २०२७ सालको त्रिभुवन पुरस्कार प्रदान गरियो। उनलाई यो पुरस्कार कवि म.वी.वि.शाहद्वारा प्रदान गरिएको हो। यस्तै युगको आधा शताब्दीभन्दा बढी समयदेखि नेपाली कविता र काव्यद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउनमा विशिष्ट योगदान गरेबापत सिद्धिचरणलाई २०४५ सालको पृथ्वी प्रज्ञा–पुरस्कार प्रदान गरिएको थियो। जसको राशि दुई लाख रुपैयाँ थियो। २०४५ सालमा रविचरणको सक्रियतामा युगकवि सिद्धिचरण प्रतिष्ठानको स्थापना गरिएको छ।

https://annapurnapost.com/story/450148/


No comments: