Wednesday, November 29, 2023

हिति खोज्दै जाँदा...

 असार १८, २०७९ शनिबार ११:४९:०

तारा चापागाईं


ललितपुर महानगर नजिक पहिला ठूलो पोखरी थियो नागगाः पोखरी पुखु। अहिले त्यहाँ व्यापार प्रवर्द्धन केन्द्र ठडिएको छ। काठमाडौंको केन्द्रबिन्दुमा एउटा प्रख्यात ठाउँ छ– भोटाहिटी (ति)। त्यहाँ अहिले हिति छैन। जहाँ अहिले साझाको भवन रहेको छ। 

हिति र पोखरी उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय र प्रवाह गर्ने थलो हुन्। वातावरणीय सन्तुलनका आधार हुन्। तर, ती संकटोन्मुख छन्। तिनको खोजीनीति हुन सकेको छैन। त्यसैलाई ध्यान दिएर सहरी विकासविद् पद्मसुन्दर जोशीले गहन अनुसन्धान गरेका छन्। त्यसको सँगालोस्वरूप पुस्तक तयार पारेका छन्– ‘हिति प्रणाली।’ त्यसमा राजधानीका पुराना हितिको इतिहासदेखि अवस्थासम्म केलाइएको छ। 

काठमाडौं उपत्यकामा खानेपानी मुख्य स्रोत नै ढुंगेधारा (हिति)हरू हुन्थे। तर पछिल्लो समय खानेपानीका पानी मुख्य स्रोत रहेका हितिहरू केही नासिए भने केही नासिने अवस्थामा छन्। बजारीकरणले खानेपानीको माग बढेको छ भने हितिहरू संरक्षण अभावले सुक्दैछन्। अव्यवस्थित र अनियन्त्रित सहरीकरणले हिति सम्पदा नासिँदै गएका छन्। यहाँका हितिहरू विश्व प्रसिद्ध पनि छन् तर पनि यी सम्पदाहरू संरक्षणको अभावले मासिँदै गएका छन्।

हिति भनेको हामी केवल ढुंगेधारा भन्ने ठान्छौं तर त्यो होइन। हिति प्रणालीमा राजकुलो, पोखरी, भूमिगत जलभण्डार, नाभीमण्डल, हितिधुम, हितिगाँ, हितिमंगद र निकासी प्रणाली गरी ८ वटा भाग हुन्छ भने कतिपय हितिमा पोखरी बनाइएको हुन्छ। यसरी बनेका हिति उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय र प्रवाह गर्ने थलो हुन्। वातावरणीय सन्तुलनका आधार हुन् तर ती संकटोन्मुख छन्। तिनको खोजीनीति भने हुन सकेको छैन।

ऐतिहासिक मानिएका हितिहरूकै संरक्षण सरकारले गर्न सकेको छैन। जसबाट पानी बग्न छोडेका छन्। कतिपय हिति मासेर उक्त ठाउँमा संरचना बनिसकेका छन्। तत्कालीन समयका राजकुलोहरू अहिले सडकमा परिणत भएका छन्। ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा काठमाडौंमा ५० वटा बस्ती छन्। जसलाई किराँतकालबाटै बस्ती बसालिएको थियो। जुन लिच्छविकाल हुँदै मल्लकालमा फैलिँदै गएको इतिहास छ।

पूर्वजले पर्यावरणको ख्याल गरेको पाइन्छ। तत्कालीन समयमा बस्ती बसाउँदा उनीहरूले पर्यावरणको निकै ख्याल गर्ने गरेको पाइन्छ। मानव व्बस्ती, खेतीयोग्य जमिन, पानीको व्यवस्थापन गरी हिति प्रणालीको आविष्कार हुने गरेको पाइन्छ। लिच्छविकालबाटै काठमाडौंमा सहरीकरण भएको इतिहास छ। हिति भनेका के हुन् ? यसबाट के फाइदा छ ? भन्ने विषयमा धेरै नागरिक अनविज्ञ छन्। खासगरी यसमा सतहको मूलको पानीसँगै वर्षात्को पानी उपभोग हुने गर्छ।

सबैभन्दा पुरानो हिति 

हितिको विषयमा पद्मसुन्दर जोशीले हिति प्रणालीको गहिरो अध्ययन गरेका छन्। उनका अनुसार सबैभन्दा पुरानो हिति मंगलबजारको मंगः हिति हो जुन ईस्वी संवत् ५७० मा बनाइएको थियो। १५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएका इतिहासमा उल्लेख छ। तत्कालीन समयमा उपत्यकामा पानी ल्याउने बूढानीलकण्ठ, बागेश्वरी र टीकाभैरव तीन वटा ठूला सिस्टम थिए। जसमा राजकुलोमार्फत पानी ल्याउने गरिन्थ्यो। थहिति, कोहिति र मरुहिति गरी तीन हिति छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ। 

१० नगरपालिकामा ५६३ हिति

काठमाडौंका १० वटा नगरपालिकामा ५ सय ६३ हिति रहेको लेखक जोशीको भनाइ छ। जसमा २ सय ३३ परम्परागत पोखरी रहेको तथ्यांक छ। काठमाडौ महानगरपालिकामा मात्र १ सय ७५ हिति छन्। भन्छन्, हिति भनेको हामी केवल ढुंगेधारा भन्ने ठान्छौं तर त्यो होइन। हिति प्रणालीमा राजकुलो, पोखरी, भूमिगत जलभण्डार, नाभीमण्डल, हितिधुम, हितिगाँ, हितिमंगद र निकासी प्रणाली गरी आठ वटा भाग हुन्छ भने कतिपय हितिमा पोखरी बनाइएको हुन्छ। उनी भन्छन्, हिति बनाउन सजिलो छैन, त्यसका लागि भगीरथ प्रयास चाहिन्छ।

पुर्खाले निकै ठूलो प्रयास र योगदानले बनाएको हिति मासिनु दुःखद् कुरा हो। उनका अनुसार जुरौहरू पनि बेहाल अवस्थामा छन्। अहिले मिनरल वाटरले बजार पिटेको छ। जारको पानीका कारण हितिहरू संरक्षणको अभावमा छन्। काठमाडौं उपत्यकामा बन्दै गएका संरचना र बसाइँसराइले हितिलाई असर गरेको स्पष्ट देखिन्छ। बाह्य स्थानबाट बसाइँसराइ आउने जग्गाजमिन बिक्री वितरण गर्ने कामले पनि यसमा असर गरेको अनुमान विज्ञको छ। खेतीयोग्य जमिनमा ठूला घर बन्नु, राजकुलो भएका स्थानमा सडक बन्नु  र खाली स्थानमा संरचना बन्नुको प्रभाव हितिहरूमा परेको देख्न सकिन्छ।

किन आवश्यक छ पोखरी 

पोखरीको काम वर्षात्मा बस्ती माथि वा वरिपरिको भेललाई रोक्ने र सो क्षेत्र सुरक्षित गर्नु पनि हो। जोशी भन्छन्, ‘लगनखेलमा पोखरी नहुने हो भने लगनखेलको भेलले मंगल बजार जलमग्न हुन्छ।’ पोखरीको काम पानी रिचार्ज गर्नु मात्र होइन, पानी होल्ड गर्नु पनि हो। उनी थप्छन्, ‘त्यसैले रणनीतिक पोखरी भन्छु म।’ उनी बस्तीबीचको पानी संकलन गर्ने ससाना पोखरीको पनि उत्तिकै महत्त्व भएको बताउँछन्।

थहिति, कोहिति र मरुहिति गरी तीन हिति छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ।

हिति संरक्षणले सहरका गरिब मानिसलाई पनि राहत हुने अनुमान गर्न सकिन्छ। जोशी भन्छन्, ‘यो गरिब नागरिकको पानीको आधार पनि बनेको छ। सहरिया गरिबलाई पानीको स्रोत के त ? ट्र्याक्टरको पानी किनेर जीविकोपार्जन गर्न गरिबलाई समस्या छ। जुन ठाउँमा हिति छ, त्यहाँ धेरै गरिब नागरिकले पानी उपयोग गरेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यसले जलवायु असरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

हितिहरूबाट उपलब्ध खानेपानीको स्रोतहरू हराउनु र मासिँदै जानु भविष्यमा मानव जातिलाई असर गर्नेमा कुनै शंका छैन। हिति संरक्षणमा पुर्खाको आफ्नै नियम थियो। पानीको स्रोतलाई पूजा गर्ने मुहान फोहोर गर्न नहुने, पानीको स्रोतलाई संरक्षणका लागि प्रकृतिको पूजा गर्ने लगायतका आफ्नै नियम थिए।

पुस्तान्तरणमा हिति र यसको स्वामित्व

हिति पुस्तान्तरण गर्न यिनको जगेर्ना गर्नु आवश्यक छ। जोशी भन्छन्, ‘हितिको स्वामित्व कसले लिने भन्ने कुरामा प्रष्टता छैन। परम्परागत व्यवस्थापन प्रणाली पनि हराउँदै गयो। विकल्पमा हामीले यसको संरक्षण गर्ने विषयमा सोचेनौं। जसका लागि हितिलाई राष्ट्रिय सम्पदा भनेर घोषणा गर्ने हो भने कानुनी रूपमा संरक्षण गर्ने आधार बन्छ।’ केही समाधानका लागि भइरहेको पोखरीको संरक्षणसँगै खुला ठाउँमा पोखरी बनाउनु पर्छ। वातावरणीय, सामाजिक र आर्थिक हिसाबले पोखरी बनाउन उपयुक्त हुने उनको भनाइ छ।

हिति पुनर्जीवन दिन ब्युँत्याएर प्राकृतिक रूपमै सबै हितिमा पानी ल्याउनु पर्नेमा उनको जोड छ। यसका लागि सरकारले ठोस योजना ल्याउन आवश्यक छ। हितिभित्रको पानीमा भ्यागुता, सर्पलगायत जलस्रोतसँगै जीवको बासस्थान पनि मासिँदै गएको एक अध्ययनले देखाएको उनी बताउँछन्। उपत्यकाको अस्तित्व जोगाउन र खानेपानीको समस्या समाधान गर्न पनि हितिको संरक्षण आवश्यक रहेको उनको भनाइ छ।
ऐतिहासिक हितिलाई पुनर्जीवन दिन आवश्यक छ। यो हाम्रो मात्र होइन, विश्वकै जीवित सभ्यता र सम्पदा हो। यसको दायित्व स्थानीय सरकारको लिनुपर्ने सरोकारवालाको बुझाइ छ। उनीहरू यी हिति स्थानीय

सरकारको सम्पत्ति भए पनि त्यसरी हेर्न र बुझ्न अनि स्वामित्व ग्रहण गर्न नसकेको बताउँछन्। पछिल्लो समय केही नगरपालिका र युवा जमात हिति बचाउमा लागि परेका। भन्छन्, हिति संरक्षण गर्नुपर्छ भन्ने जमात छ। स्थानीय सरकार र स्थानीयवासीको साथ रहेमा सबै ठाउँमा हितिको संरक्षण हुनेमा दुई मत छैन। विकासको नाममा सम्पदा मास्ने सोचलाई सबैले परिवर्तन गर्नुपर्ने जोशीको भनाइ छ।

हिति प्रणालीको अध्ययन पुस्तक 

हिति प्रणाली पुस्तकका लेखक पद्मसुन्दर जोशीले हितिको विशेषमा विस्तृत अध्ययन गरेका छन्। आउँदो साता सार्वजनिक हुन लागेको उक्त पुस्तकमा हिति इतिहास, वर्तमान र भविष्यका विषयमा अध्ययन गरिएको छ। जसमा पुर्खाले हिति बनाउँदा गरिएको एतिहासिक एवं प्राविधिक पक्षदेखि सामाजिक पक्षका कुरा र भविष्यको बाटोबारे उल्लेख गरिएको छ। पुर्खाले बनाएका पुराताŒिवक हितिलाई मासिँदै जानु र जोगाउन सकिने आधार बताइएको छ। पुस्तकमा पुर्खाले बनाएको हितिको इतिहासको कुरा उल्लेख गरिएको छ। प्राविधिक रूपमा हिति कसरी बनाए वा भन्ने कुरालाई विस्तृत रूपमा बताउन खोजिएको छ।

हितिको सामाजिक पक्षमा जोड दिइएको छ। त्यसको व्यवस्थापन पक्ष संस्कृति, रीतिरिवाज र चाडवर्षको महत्त्वसँग जोडिएको हितिका सन्दर्भ पनि समेटिएका छन्। परम्परासँग जोडिएको कुरा टीकाभैरव राजकुलोसँगै ललितपुरको हिति प्रणालीको विषयमा विस्तृत रूपमा प्रस्तुत गरिएको छ। कहाँबाट राजकुलो बग्थ्यो ? कहाँकहाँ पोखरीहरू थिए ? कुनकुन हितिहरू थिए ? साथै के कुराले विनाश भयो ? कहिले विनाश भयो ? यसको विनाशको कारण के हो ? भन्ने समेत उल्लेख छ। योसँगै पुस्तकमा ललितपुरमा पानीका लागि आन्दोलन किन, कहिले र कसरी भयो भन्ने कुरा उल्लेख छ।

झन्डै डेढ दशकको अनुसन्धानपछि तयार पारिएको हितिबारेमा लिखित पुस्तकमा तीन पक्ष समेटिएका छन्, प्रविधिक, सामाजिक र सांस्कृतिक। पुस्तकमा पछिल्लो पुस्ताले हिति के हो र यो किन आवश्यक छ ? अध्ययन गर्न पाउनेछन् हिति जोगाउनु किन आवश्यक छ र यसले के के कुरामा फाइदा पुग्छ भन्ने पनि पुस्तकले स्पष्ट पार्नेमा लेखक विश्वस्त छन्।

https://annapurnapost.com/story/207555/

No comments: