Wednesday, December 18, 2013

किन मनाईन्छ योमरी पुन्ही ?

लक्ष्मी शाक्य/उज्यालो ।

त्यो सिं त्यो
बक सिं त्यो

‘लातापाता कुलिंचा जूछित्यो
योमरी च्वामु, उकी दुने हाकू
ब्यूसा माकू, मब्यूसा फाकू
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिबुरि....’

योमरी पुन्ही अर्थात धान्य पूर्णिमाका दिन साँझ टोलका केटाकेटीले घरघरमा गई गाउने गीत हो यो । पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । तर हिजोआज यो महत्वपूर्ण सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा छ ।
नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमी पुन्ही भनिन्छ । नेवार समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरी अर्थात सबैलाई मनपर्ने रोटी । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।
चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरुपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ ।
योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ । तर चाकुको प्रयोग हुने भएकाले मधुमेहका रोगीले भने योमरी नखानु नै राम्रो हुन्छ ।
यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।

नेवार संस्कृतिमा योमरीको महत्व

योमरी पुन्हीको दिनमा मात्र होइन अरु विशेष अवसरमा पनि योमरीको त्यतिकै महत्व रहेको पाइन्छ । नेवार समाजमा बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ ।
नेवार समुदायमा कसैले बच्चा २ र ४ वर्ष लाग्दा दुईपटक मात्र जन्म दिनमा योमरी बनाई पूजा गर्छन् भने कसैले १२ वर्षसम्मको जन्म दिनमा पनि योमरी बनाई पूजा गर्ने चलन छ । जन्मदिनमा बच्चालाई दुईवर्षमा दुईवटा, चारवर्षमा चारवटा यस्तै प्रकारले योमरीको माला लगाइदिने चलन छ । यसरी देउतालाई चढाईने र माला गाँस्नको लागि बनाइने योमरीको भित्र तिल र चाकुको सट्टा पञ्चतत्वको प्रतीकको रुपमा पाँचवटा अक्षता राख्ने चलन छ ।
त्यस्तै छोरीको गर्भास्थामा बच्चा जन्मिनु केहि समयअघि माइतीबाट दहीच्यूरा खुवाउन जाने चलन छ । यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा योमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ ।  
यसरी नेवार समाजमा योमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको पाइन्छ । तर नेवार समुदायभित्र पनि केही ठाउँमा योमरी पुन्हीको दिनमा योमरी पकाउनु पर्दैन वा चलन छैन । सात गाउँमा हुने न्हय्गां जात्रा मनाइने कीर्तिपूर, पाँगा, नगाउँ लगायतका क्षेत्रमा जात्रा लगत्तै पर्ने पर्व भएकोले योमरी पुन्हीलाई यस क्षेत्रका बासिन्दाले खासै महत्वपूर्ण पर्वको रुपमा लिने गरेको पाइदैन ।

ऐतिहासिक कथा

योमरी पुन्हीसँग सम्बन्धित एउटा ऐतिहासिक कथा पनि छ । मंसिर शुक्ल पूर्णिमाको दिन पांचल देशका सुचन्द्र महाजन दम्पत्ति कतिको भक्तालु रहेछन् भनि बुझ्न एकदिन कुवेर दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न जान्छन् । यो देखेर सुचन्द्रका पत्नीले उनको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिनुका साथै श्रद्धा गरेकाले प्रशन्न भई कुबेरले आफ्नो सक्कली रुप देखाइ ज्ञान प्रदान गरि अन्तध्र्यान हुन्छन् ।
कुवेरको वचन अनुसार उनले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (योमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राख्छिन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहि विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गर्छिन् । अनिअन्न, धन र योमरी दान पनि गर्छिन्  । त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुन थाल्छ र आम्दानी पनि बढ्न थाल्छ  । त्यसैले त्यही बेलादेखि यो दिनमा योमरी बनाएर पर्व मनाउने चलन चलेको मानिन्छ ।
योमरी पुन्हीका दिन बिभिन्न मठमन्दिरहरुमा मेला पनि लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।
धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । तर दान गर्ने ईच्छा हुँदाहुँदै योमरी माग्ने प्रचलन लोप हुँदै जाँदा दान गर्न नसक्ने अवस्था आएको छ । साथै यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने र व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
पहिले पहिले योमरी पुन्ही वा धान्य पूर्णिमाको दिन र विशेष अवसरमा मात्र पकाएर खाने योमरी हिजोआज भने सजिलै आफूलाई खान मन लागेको बेला किनेर पनि खान सकिन्छ । गैर नेवारहरु माझ पनि लोकप्रिय हुँदै गएको योमरी आजकल विभिन्न रेष्टुरेन्ट अनि होटल एवं खाजाघरमा पनि सजिलै पाउन सकिन्छ ।

No comments: