Wednesday, December 4, 2013

चथाः नेवार समुदायको ‘सानो दशैं’

चथाः नेवार समुदायको ‘सानो दशैं’

लक्ष्मी शाक्य/उज्यालो

काठमाडौ, भदौ २४ – संस्कृतिमा धनी नेवार समुदायले वर्षभरी धेरै चाडपर्व मनाउने गर्छन् । दशैं आउन लागेको सन्देश दिने नेवार समुदायको एउटा महत्वपूर्ण चाड हो, चथाः ।

यो चाड दशैंको ठीक एकमहिना अगाडि मनाइने गरिन्छ । यो पर्वलाई सानो दशैंको रुपमा लिइन्छ । यो पर्व राम्ररी मनाएमा दशै पनि राम्रो हुने जनविश्वास छ । त्यसैले नेवारी समाजमा चथाःलाई दशै‌ जस्तै महत्वका साथ मनाइने गरिन्छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्थी दिन यो पर्व मनाउने गरिन्छ । यस दिन चन्द्रमा हेरे चोरीको मिथ्या दोष लाग्छ भन्ने परम्परागत धारणाले वर्षभरि चोरीको मिथ्या दोष नलागोस् भन्ने कामना गर्दै नेवार समुदायले आफ्नो घर कौसीमा चन्द्रमा अर्थात चथाःद्यःको पूजा गर्ने चलन छ । चथाःद्यःलाई रातको समयमा मात्र पुजा गर्ने गरिन्छ ।
रातीको समयमा घरका सबै सदस्य घरको कौसीमा जम्मा भएर एक कुनामा लिपपोत गरी कमलको पात (पला लप्ते)मा चथाः स्वां (करवीरको फूल), मोहनि स्वां(दशैंमा चढाउने फूल) र लक्ष्मीस्वाँ (लक्ष्मीपूजा गर्दा चढाइने फूल), अदुवाको बिरुवा, उखुको बिरुवा, नासपाति, केरा, बस्पति पु (आरुको बियाँ), काँक्रो, अम्बा, मकै, भटमास , चना, बकुला, केराउ लगायतका भुटेको गेडागुडी चढाएर पूजा गदर्छन् ।
पूजा सकिएपछि समयबजि ( चिउरा, कालो भटमास, छोयला, अदुवा र रक्सी ) एवं नयाँ भित्रिएका मकै, भटमास, बकुला, चना, केराउ लगायतका गेडागुडीहरु बस्पति पु (आरुको बियाँ), काँक्रो, नासपाति, केरा, अम्बा फलफुल प्रसादको रुपमा खान्छन् ।
धर्मशास्त्रमा उल्लेख भए अनुसार यस दिन चन्द्रमालाई हेर्यो भने चोरी गरेको मिथ्या दोष लाग्ने, अपवाद आउने भएकाले चन्द्रमा हेर्नु हुँदैन । यसैले पहिलेका बुढापाकाहरु आज चन्द्रमा उदाउनुअघि नै कोठामा लुकेर बस्ने चलन अहिले पनि केही ठाउँमा छ । त्यही कोठामा चथाःद्यःलाई पूजा गरि प्रसाद(भोज) खाएपछि राती अबेर मात्र कोठाबाट बाहिर निस्कने गरिन्छ । यो चलन हिजोआज निकै कम भैसकेपनि अझै बुढापाका भएका परिवारमा यस परम्परालाई निरन्तरता दिएको पाइन्छ ।
परम्परागत मान्यता अनुसार भुँइचालो जाँदा अथवा चोर आउँदा जसरी कुकुरले एकैसाथ भुक्ने गर्छ, त्यसैगरी चथाःको दिन पनि रातिको एक समयमा कुकुरहरुले एकसाथ भुक्ने गर्छन् ।  अहिले पनि धेरै नेवार समुदायले  चथाः द्यःको आगमन भएको विश्वासका साथ चथाःद्यको पूजा गर्ने चलन चलिआएको संस्कृतिविद् डा.चुन्दा बज्राचार्य बताउनुहुन्छ ।

धार्मिक मान्यता के छ ?

ब्रम्हपुराणमा उल्लेख भएअनुसार परापूर्वकालमा चन्द्रमाले आफ्नी कान्छी श्रीमती रेवतीलाई अपमान गरे । आफ्नी छोरी रेवतीलाई हेलाँ र अपमान गरेको देखेपछि दक्ष प्रजापती रिसले चुर भई चन्द्रमालाई तेजहीन हुनुपर्ने श्राप दिए । जसले गर्दा चन्द्रमाको तेज नष्ट भयो । चन्द्रमा तेजहीन भएपछि उसले विष्णु कहाँ गई उद्धारका लागि प्रार्थना गरे र विष्णुले पूर्णिमाका दिनमा एक दिन पूर्ण तेजिलो हुने गरिदिए ।
यस्तै स्वर्गमा एक दिन देवसभा भइरहेका बेला चन्द्रमाले गणेशलाई साह्रै अपमान गरेकाले गणेश रिसाई तिम्रो मुख हेर्ने सबैलाई चोरीको दोष लागोस् भनेर श्राप दिए । त्यस श्रापले गर्दा त्यसबेलादेखि चन्द्रमाको मुख हेर्ने सवै चोर भए र देवीदेवताले चन्द्रमाको मुख हेर्न छाडिदिए । पछि चन्द्रमाले गणेश र अन्य देवी देवतासँग माफी मागे ।
चन्द्रमा क्षमा माग्न गएपछि गणेशले भाद्र शुक्ल चौथीको दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरेपनि चोरीको दोष नलाग्ने गरिदिए । यसै दिनदेखि गणेश र चन्द्रमाको पूजा गर्ने चलन चलेको हो ।
भगवान बुद्धले भन्नुभएको छ, मानिस भएर जन्म भएपछि हरेक मानिसमा कुनै न कुनै प्रकारको नराम्रो बानी हुन्छ र मानिसले जीवनमा कुनै न कुनै प्रकारको चोरी गरेकै हुन्छ  । यो मानवीय स्वभाव हो । यसलाई यही रुपमा स्वीकार गर्नुपर्छ । यही मान्यताअनुसार वर्षभरी चोर दोष, अपवाद नलागोस् भनि आजको दिनमा (चोर देवता) चथाःद्यलाई पुजा गर्ने प्रचलन छ ।
मंगल चौथी पनि भनिने आजको दिनमा गणेशको पूजा एवं व्रत वस्ने चलन छ । उपत्यकाका विभिन्न गणेशस्थानमा आज मेला लाग्ने गर्छ । उपत्यकाका सूर्यबिनायक, कार्यबिनायक, चन्द्रबिनायक, जलबिनायक लगायत काठमाडौको कमलादी गणेशमा मेला लाग्ने गर्छ ।
कुनै पनि नयाँ काम शुरु गर्नु अगाडि गणेशको पूजा गरेमा कार्य सफल हुने विश्वासका साथ गणेशको पूजा गर्ने चलन छ । मंगल चौथीलाई गणेशको जन्मदिनको रुपमा पनि मनाइने गरिन्छ । शिवपुराण अनुसार आजको दिनमा भगवान गणेशको जन्म भएको हो ।

No comments: