Friday, December 6, 2013

१०१ स्कुलमा नेपालभाषा

काठमाडौ, असार ७ – पाटनढोकास्थित रातो बंगला स्कुलले यसै शैक्षिक सत्र २०७० देखि नेपालभाषा (नेवारी) लाई ऐच्छिक विषयका रूपमा समावेश गरेको छ । उसले कक्षा ४ मा पठनपाठनको लागू गरेको हो । त्यसैगरी सिद्धार्थ वनस्थली र मल्पी इन्टरनेसनल स्कुलले समेत लागू गरेका छन् । ‘नेवाः बस्ती, नेवाः स्कुल’ अभियानको अनुरोधमा यी विद्यालयले नेपालभाषा ऐच्छिक विषयका रूपमा लागू गरेका हुन् ।
यसो त यसै वर्ष ललितपुरको सोनगुथि नेवाः इ्रंग्लिस स्कुल स्थापना भएको छ । यहाँ नेपालभाषा माध्यमबाट पढाइन्छ । यीसमेत गरी देशभरिमा नेपालभाषा पठनपाठन हुने विद्यालयको संख्या १ सय १ पुगेको अभियानका संयोजक दीपक तुलाधरले जानकारी दिएका छन् । तीमध्ये नौवटा स्कुलमा पठनपाठनका निम्ति नेपालभाषालाई माध्यम भाषाका रूपमा अपनाइएको छ । यो अभियान दस वर्षदेखि सुचारु छ । नेपालभाषा संरक्षण तथा संस्कृति प्रवर्द्धन मात्र होइन, मातृभाषी बालबालिकाको सिकाइलाई प्रभावकारी बनाएको अभियन्ता बताउँछन् ।

रातो बंगला स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कृष्ण थापा विद्यार्थीलाई नेवार संस्कृतिबारे सिकाउने उल्लेख गर्दै यसै वर्षबाट ४ कक्षामा नेपालभाषाको पठनपाठन व्यवस्था गरिएको जनाए । ‘विद्यार्थीलाई नेवार गीत, जात्राजस्ता संस्कृतिबारे सिकाउने गरेको छौं, अरूको भन्दा नेवार संस्कृति बढी प्रभावकारी छ,’ स्थानीय बजारमा नेवार भाषामा व्यवहार हुने र पूजाआजा, जात्राको प्रभाव रहेको थापाले भने । ‘म्हःपूजा लगायत विशेष चाडवाड र समृद्ध संस्कृतिप्रति अन्य समुदायको ध्यानाकर्षण गराउन पनि नेवारभाषा पठनपाठनमा समावेश गर्न आवश्यक ठानेका हौं ।’ भाषा सिकाइमा विद्यार्थीको चासो मूल्यांकन तथा अभिभावक सुझाव लिएर अर्को वर्षदेखि थप कक्षामा समेत व्यवस्था गरिने उनले बताए ।
अभियानको पहिलो नमुना हो- मोर्डन नेवाः इंग्लिस स्कुल । यो स्कुल काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा रहेको छ । दशकदेखि यो स्कुल सुचारु छ । यहाँ शिशु कक्षादेखि यूकेजीसम्म ४ तह पढाइन्छ । बालबालिकादेखि शिक्षकशिक्षिका सबैले नेपालभाषामा कुराकानी गर्छन् । यद्यपि बालबालिका सबै नेवार छैनन् । यहाँ पढ्दै गरेका १ सय २ बालबालिकामध्ये २० प्रतिशत अन्य जातिको रहेको विद्यालयका निर्देशकसमेत रहेका तुलाधर जनाउँछन् । पारिवारिक पृष्ठभूमि नेपाली भाषा भएकालाई त्यसैअनुसार माध्यम भाषा अपनाइन्छ । हरेक बालबालिकालाई नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीन भाषामा शिक्षण गर्ने गरिएको छ ।

‘बालबालिका भर्ना गराउने चाप थामिनसक्नु हुन्छ तर सीमित भौतिक संरचना र शैक्षिक गुणस्तर कायम गर्न सीमित विद्यार्थी भर्ना लिन्छौं,’ शैक्षिक गुणस्तर महत्त्वपूर्ण हुने उल्लेख गर्दै अभियन्ता तुलाधरले भने, ‘नेपालभाषालाई माध्यम भाषाका रूपमा प्रयोग गर्दा गुणस्तर पनि कायम हुनुपर्छ भन्ने मान्यता राखेका छौं ।’
मोडर्न नेवाः स्कुलका अभिभावक विनय श्रेष्ठ घरमा मातृभाषामा व्यवहार हुने बालबालिकाको बुझाइ स्तर बढाउने प्रभावकारी रहेको बताउँछन् । ‘स्कुलमा सबै नेपालभाषामा मात्र पढाइने होइन, सम्पर्कको भाषा नेपालभाषामै हुने भएकोले बच्चालाई अपरिचित ठाउँमा छोडेजस्तो पनि हुन्न,’ असनका स्थानीयबासी श्रेष्ठ थप्छन् ।
- गणेश राई

No comments: