Friday, December 6, 2013

नेपालका नेवारहरु एक विश्लेषण

Tuesday, 13 August, 2013 - नेपालपोर्तुगल डट् कम्

अशोकचन्द्र धुँजू श्रेष्ठ
नेपाल एशियाको माझमा हिमालयको काखमा विशाल चीन र भारतको बीचमा रहेको एक भूपरिवेष्ठित मुलुक हो । यो परापूर्वकालदेखि अस्तित्वमा रहेको एक प्राचीन मुलुक हो । अनेक जातजाति, भाषाभाषी र विविध धर्मावलम्बीहरुले निवास गरेको र उत्तर दक्षिण, पूर्वपश्चिमका बीच प्राचीनकालदेखि आवतजावत र लेनदेन चल्दै आएकोले ‘नेपाल’ शब्दको विभिन्न अर्थ विभिन्न धार्मिक दृष्टिले आ आफ्ना खालको व्याख्या र व्युत्पत्तिबारे अनेक मत मतान्तर देखिएका छन् । नेपाल शब्दलाई विद्वान्हरुले विशेषतः तिब्बती, नेवारी, लिम्बु, लेप्चा भाषाहरुको आधारमा अथ्र्याउँदै आएका छन् । नेवारी भाषामा नेपाललाई ‘नेपा’ भन्ने गरिन्छ । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’को अर्थ ‘देश’ हुन्छ । हिमाली श्रृंखलाको मध्य भागमा रहेको देश भएकोेले देशको नाम नेपाल भन्ने प्रचलन भएको हो भन्ने भनाई छ । ‘नेपाः’ शब्दमा ‘ल’ प्रत्यय थपिएर नेपाल हुन गएको हो । टामस यङ्गले र जार्ज ग्रियर्सकनको भनाई अनुसार नेवार र तामाङको रक्त मिश्रणबाट ‘न्यार्वा’ भन्ने जाति बनेको र त्यही न्यार्वा शब्दबाट नेवार बनेको अनि नेवारबाट नेपाल बनेको हो । ८०० वर्ष पुरानो एक रचनामा नेपालवासीलाई गिवाल (नेवार) भनिएको हो । यस अनुसार नेपालबाट नैपाल, णिवाक, निवार भई नेवार शब्द जन्मेको अर्को तर्क पनि छ । काठमाडौं खाल्डोमा मंगोलियाको गोबी नमूनाको ढुंगे उपकरण फेला परेबाट पाषाण युगका मंगोलहरु तिब्बत र हिमालय पार गरी नेपाल आइपुगेको र ईसाई पूर्व ३० हजार वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाडौं उपत्यकामा आवाद भएको अनुमान पुरातत्व र मानवशास्त्री जनकलाल शर्माले गर्नुभएको छ । यस अर्थले नेपालमा प्राथमिक रुपमा मंगोल मूलका विभिन्न प्रजातिहरुको सभ्यता थियो । नेवार पनि ती सभ्यतामध्ये एक मूल सभ्यता हो । यो हिन्दू आर्यहरु नेपाल प्रवेश गर्नुभन्दा धेरै पहिले हिमालय फेदमा विकसित भइसकेको थियो । पछि नेपाल खाल्डोमा लिच्छवी अनि विभिन्न समयमा अन्य हिन्दु आर्यहरु प्रवेश गरी नेवारहरुसँग घुलमिल हुँदै नेवार समाजलाई हिन्दूकरण, संस्कृतिकरण, मैथिलीकरण समेत गरेको देखिन्छ । यो खाल्डोमा बाहिरबाट आउनेले राज्य ग¥यो र नयाँ संस्कृति ल्यायो । तर खाल्डो पसेपछि त्यो नेवारी सभ्यताकै अंग बन्यो । बाहिरबाट आउनेहरुको घुलमिलले गर्दा नेवार जाति एक जाति नभई विभिन्न जातिको एक समूह बनेको हो । गैर नेवार हेर्दाले नेवारजाति एउटै जस्तो लाग्दछ । त्यस्तै एउटै भाषा, एउटै धर्म र एउटै संस्कृति जस्तो लाग्दछ होला तर त्यस्ते होइन । हाइमनड्रफका (१९६०) का अनुसार योभित्र २६ प्रकारका जातिहरु भित्रिएका छन् । भाषाको बोली ठाउँ अनुसार फरक देखिएको छ । धर्मको कुरामा नेवारहरु शैव, हिन्दू र बौद्ध आधा हुनसक्छ । त्यस्तै संस्कृति र संस्कारमा जाति अनुसार केही फरक हुन सक्छ । नेवारमा विभिन्न जातिको भाषा एउटै भए पनि जाति अनुसार धर्म र संस्कृति केही फरक हुनसक्दछ । त्यसो भएता पनि सबै जातिमा समन्वय र सहिष्णुता हुन्छ । यसको ज्वलन्त उदाहरण हो विभिन्न जातिले संयुक्त रुपमा मानी आएको विभिन्न जात्राहरु । त्यस्तै नेवार समुदाय एउटा विभिन्न जातिको समूह भएकोले आ आफ्ना फरक पहिचान र संस्कृतिहरु छन् । नेवार एउटा सुसंस्कृत सभ्य र उन्नत समुदाय हो । चाडपर्व मनाउनेदेखि रीतिथिती र संस्कार संस्कृतिमा आफ्नै अनुसारको मौलिकता छ । तर आधुनिकता र पाश्चात्य संस्कृतिको प्रभावले कतिको जाति विशेषको आफ्नो मौलिक पहिचान र संस्कृति छोडिँदै आएको छ । काठमाडौं उपत्यकामा नेवारहरु धेरै भएकोले र नेवारहरु भएको ठाउँमा नेवारहरुको संस्कृतिसँग जोडिएका चाडपर्वहरु मानि आउनु स्वभाविक हो । ती चाडपर्वहरु ऋतुको भरमा मानी आएका छन् । बौयागु ख्वाः स्वय्गु, मांयागु ख्वाः स्वय्गु, देगुपूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथाः, मोहनी, स्वन्ति, म्हःपूजा, पाहाँचह्रे, योमरी पुन्ही आदि नेवारहरुको मानी आएका चाडपर्वहरु हुन् । स्थानीय जात्राहरु पनि छन् । नेवार समाजमा विभिन्न नश्ल, धर्म, संस्कृति र परम्पराहरुको संयोजन छ । यसर्थ नेवार जाति होइन, राष्ट्रियता हो भनी इतिहासकार डिल्लीरमण रेग्मी भन्नुहुन्छ । जातिको उद्गम सम्बन्धमा विभिन्न मानिसको विभिन्न धारणाहरु छन् । अधिकांशको भनाईमा कुल, वर्ण र काम अनुसार नै जाति निस्केको हो । तर हिन्दूहरुको भनाइमा मतभेद छन् । केही विद्वान्ले त यो सामन्ती सोच भएका राजा ब्राह्मणहरुको आविष्कार भनेका छन् । तर जन्म व्यवसायको भरमा जाति व्यवस्था नेपाल र यो प्रायदीपमा मात्र होइन, पहिले फ्रान्स, रोम र जापानमा पनि प्रचलित थियो । त्यसपछि यो व्यवस्था हाम्रोमा आएको हो । यो व्यवस्था भारतमा बाहेक प्रायः अन्य ठाउँमा चलेको देखिँदैन । जयस्थिति मल्लले बनाएको जातीय वर्गीकरण भन्दा पहिले दुइटा मात्र जात थिए – भारो र भाबो । शासक वर्गलाई भारो भनिन्थ्यो भने बाँकी सम्पूर्ण वर्गलाई भावो भनिन्थ्यो । त्यसबेला ज्यापुहरुलाई भावो भनिन्थ्यो । पछि जातिको वर्गीकरणपछि भावो नै ज्यापु भएको हो । त्यसमा पनि कामको आधारमा यस जाति पनि विभिन्न थरमा वर्गीकरण हुन गयो, जस्तै कि महर्जन, डंगोल, सुवाल, सिं, प्रजापति आदि । भारो शब्दको अर्थ कहीँ श्रेष्ठ भनेर पनि प्रयोग गरेको छ । नेवार जातिमा श्रेष्ठ थर अधिक चर्चित छ । श्रीयन्त्रलाई इष्टदेव मान्ने नेवार भएकाले श्री–इष्ट श्रेष्ठ भनेको भन्ने भनाइ पनि छ । शारीरिक बल खर्च नगर्ने तर राज्यसत्तासँग नजिक रहेर व्यापार, उद्योग, राजनीति, प्रशासन र औषधी व्यापार आदि कार्य गर्ने नेवारहरुलाई मल्ल राजाको पालसम्म भारो भन्ने चलन छ । श्रेष्ठहरुको छ वटा जात र ६८ उपजात छन् भनी पुरातत्वविद् शंकरमान राजवंशीको भनाइ छ । मास्के, प्रधान, अमात्य, जोशी, राजभण्डारी, कर्माचार्य मूल श्रेष्ठ हुन् । नेवारजातिको यस श्रेष्ठ (स्यस्यः) समाजभित्र मंगोलियन नश्ल मात्र होइन, खस, ब्राह्मणदेखि लिएर मधेशमा बस्ने मधेशीहरु र हिमाली जातिकाका तामाङ सम्मको नश्लका अस्तित्व पनि छन् । जयस्थिति मल्लले यस नेवार जातिमाथि चार वर्ण छत्तिस जातको मनु महाराजको हिटलरी नीति नपकडाई दिएका भए पृथ्वीनारायण शाह पनि जातिवादी नभएका भए आजसम्म त्यही नेवार संस्कृति र राष्ट्रियता एक ढिक्को भएर बज्र झैं बलियो हुने थियो, दुर्भाग्य त्यो भएन भनी धर्मरत्न यमीले भनेको कुरा सान्दर्भिक छ । नेवारहरु जति पुराना छन्, त्यत्तिकै नेवारी भाषा (नेपालभाषा) पनि पुरानो छ । किराँतकालमा नेवारी भाषा जनभाषाको रुपमा प्रचलित भएको देखिन्छ । लिच्छवीकालदेखि शासक र पुरोहित वर्ग बाहिरबाट आएका र संस्कृतका पक्षपाती हुँदा लोकभाषा नेपाली भाषाले विकास गर्न पाएन । राजा जयस्थिति मल्लको शासनकालदेखि भने नेवारी भाषाले प्रश्रय पाउन थाल्यो । त्यसताका नेपालभाषा नामले देशभाषाका रुपमा नेवारी भाषाले सम्मान पाएको थियो । त्यस्तै सम्वत् नेपाल सम्वत् चलाइन्थ्यो । नेपाल सम्वत् मध्यकालीन समयमा नेपाल खाल्डोमा सीमित थिएन, भारत र चीनका शासकहरुले समेत चलाएको देखिन्छ । राजा सिंहप्रताप शाहको शासनकालमा नेपाल तिब्बत सन्धीपत्र समेत नेवारी भाषामा लेखिएको कुृराले के प्रष्ट हुन्छ भने राणाकाल अगाडि भाषागत भेदभाव महसुस गरिएको थिएन । राणाकालमा अन्य क्षेत्रमा जस्तै नेवारी भाषाप्रति दमनचक्र चल्न थाल्यो । सूर्यविक्रम ज्ञवालीको भनाइ अनुसार नेवारी भाषा पनि चिनियाँ, बर्मेली इत्यादि भाषा सहर एक मात्रिक भाषा हो । नेवारी भाषाका आफ्नै लिपिहरु छन् ः गोलमोल, रञ्जना, भूँजिमोल, कुमोल, क्वेँमोल, हिमोल, लितुमोल लिपि । यी लिपिमा लेखिएकालाई नेपाल लिपि भन्ने गरिएको छ । तिब्बती महायान्मा मन्त्रहरु नेवारी लिपिमा लेख्ने र गुम्बाहरुमा सजाउने काम मंगोलिया, रुस, चीन र भुटानमा समेत फैलियो । हाल यस भाषामा पनि सुगमताका लागि मुद्रणमा देवनागरी लिपिको प्रचलन हुन थाल्यो । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न भाषाभाषी जातजातिको बसोबास छ । नेपालको ७५ मध्ये ७३ जिल्लामा नेवारहरुको पनि बसोबास छ । उनीहरुले आफ्नो जातीय पहिचान झल्कने केही न केही कुरा चलनचल्तीमा राखेको देखिन्छ । जस्तै नेवारभाषा वा केही नेवार शब्दहरु, भेषभूषा, खाने परिकारहरु, चलनचल्तीको घरायसी सामानहरु, रोजगारीका सामानहरु, बाजागाजा, नाचगान, रीतिरिवाज, चाडपर्व आदि । नेवारको आदिभाग काठमाडौं उपत्यका हो । तर विभिन्न समयमा नेवारहरु काठमाडौं उपत्यकाबाट टाढा जाने काम भएको छ । नेपालको विभिन्न जिल्लामा मात्र होइन, नेपालबाट बाहिर जाने काम भएको छ । विशेष गरेर भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ आदि ठाउँहरुमा नेवारहरु प्रशस्त छन् । प्रवासमा भएका नेवारहरु अनेक जातका भएर पनि राजनीतिक, सामाजिक र सांस्कृतिक कारणले त्यस प्रकारका नेवारहरुले आफ्नो मौलिक जातलाई छोडेर सजिलोको रुपमा प्रधान भनेर लेख्ने चलन गरेको छ । नेवारी कला, संस्कृति, परम्परा अनि चाडपर्व आफ्नै विशेषताको छ । जुन हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत प्रचलित छ । संयुक्त राष्ट्रसंघमा सदस्य भएका सबै मुलुकहरुले आफ्नो लिपि राखेका छन् । नेपालको परिचयका लागि नेपालका नेवारीहरुको संस्कृति र कलाकारिताको मौलिक लिपिमा रञ्जना लिपि उल्लेख भएको छ । यो सबै राष्ट्रको गौरवको विषय हो । यसर्थ नेवार कला, संस्कृति, भाषा, साहित्य र सम्पदा नेवारहरुलाई एक ढिक्का बनाई राख्नु जरुरी छ । तर राज्यको तर्फबाट सयौं वर्षदेखि नेवारी समुदायप्रति नराम्रो नजरले हेर्ने जुन काम भएको छ, त्यो नेवार समुदायले गहिरो चोट पाएको अनुभव लिएको छ । अनि नेवार जातिमा छुवाछुत, पानी चल्ने, नचल्ने नियमहरु जुन कायम भएका छन्, त्यो आप्रवासी हिन्दु आर्यहरुको मनुस्मृति नियमका कारण भएको हुनाले त्यसलाई हटाउनु जरुरी छ, किनकि त्यो अति दुःखद पक्ष हो ।

http://newah.blogspot.com/2013/12/blog-post_296.html

No comments: