Friday, December 30, 2016

दबु प्याखँ

दबु प्याखँ

शनिबार, २० कार्तिक २०७३, १० : ५६ |  नागरिक

दबु प्याखँ

कृष्ण शाह यात्री
‘डबली’ नेपाली नाट्य परम्परासँग लामो समयदेखि जोडिएको शब्द हो यो । नाटक मञ्चन गरिने एक किसिमको स्टेज वा रगंमञ्च हो डबली । नेपालको इतिहास खोतल्दा मल्लकालदेखि डबलीमा नाटक मञ्चन हुन थालेको प्रामाणिक अभिलेखहरू भेटिन्छन् । त्यसैले पनि डबलीमा नाटक देखाउने चलन मल्लकालबाट नै सुरु भएको हो भन्ने विश्वास गरिए पनि डबलीको निर्माण लिच्छवीकालमा प्रारम्भ भएको मानिन्छ ।
 
डबलीको निर्माणसँग रंगमञ्च र नाटकको सम्बन्ध पनि जोडिएर आएको छ । यसमा लोकनाटक देखाइने परम्परा पनि चलेको देखिन्छ । विभिन्न कालमा डबली परम्परा जनस्तरसम्म फैलिएको छ । डबली नेपाली रंगमञ्चको विकासको एउटा महŒवपूर्ण कडीको रूपमा रहेको देखिन्छ । वास्तवमा डबली नेपाली रंगमञ्चको आरम्भकालीन स्वरूप हो । ‘दबु प्याखँ’ अर्थात् डबली नाटकको वैशिष्ट्यता र महŒव अझै पनि उत्तिकै छ ।
लिच्छवीकालका शिलापत्रबाट त्यस समयको उत्तराद्र्धतिर डबलीको प्रयोग हुन्थ्यो भन्ने कुरा थाहा लाग्छ । छिच्छवीकालमा डबलीको काम ‘मण्डपीका’बाट गरिन्थ्यो । कुनै पनि शुभकार्य, विवाह, ब्रतबन्ध, पुराण वाचन आदि गर्नका लागि चारैतिर बेरेर बनाइएको केही अग्लो ठाउँ नै मण्डपीका अर्थात् मण्डप हो । संस्कृतिविद् एवं नाटकार सत्यमोहन जोशीका अनुसार, लिच्छवीकालका डबलीका रूपमा हाँडीगाउँको डबली अहिले पनि अस्तित्वमा छ, तर त्यो डबली बेवारिसे अवस्थामा छ । यसैगरी, लिच्छवीकालकै डबलीका रूपमा नक्सालको डबलीलाई पनि लिने गरिन्छ । किराँतकाललाई हेर्दा भने ललितपुरको क्वालखुस्थित किराँत दरबार, सिद्धिलक्ष्मी मन्दिर परिसरमा रहेका किराँती देवता, तिखीदेवल र हात्तीवनस्थित किराँतीको आराध्यदेवको मन्दिरबाट पनि ललितपुरसँग किराँतको प्राचीन धार्मिक सम्बन्ध रहेको देखिन्छ । किराँतकालमा ललितपुरमा स्थापना भएका नाट्यश्वर शिवजीका मठमन्दिरहरूबाट त्यसबेला धार्मिक अवसरमा नाट्यकलाको केही काम भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । नाट्यकलाको आयोजना भएका प्रामाणिक इतिहास भने अहिलेसम्म फेला परेको छैन ।
यस लेखमा मल्लकालदेखिका डबली नाटकको सन्दर्भ प्रस्तुत गर्ने प्रयास गरिएको छ । विशेषगरी मल्लकालमा ललितपुर, कान्तिपुर र भक्तपुर राज्यमा धार्मिक प्रयोजनका निम्ति डबलीहरू निर्माण गरिएको पाइन्छ । मल्लकालमा निर्माण भएका विशाल मन्दिर र दरबारअगाडि बनाएका डबलीमा विभिन्न नृत्य, नाटक, सांस्कृतिक झाँकी र शुभकार्य गर्ने गरिन्थ्यो । डबलीलाई सुरुमा ‘दबुली’ भनिए पनि पछि यसलाई ‘दबली’, ‘दबु’ हुँदै ‘डबली’ भन्न थालिएको हो । नेवारी भाषाको ‘दबली’ र ‘दबु’ शब्दबाट नै नेपाली भाषामा ‘डबली’ बन्न गएको हो । नेवार समाजमा ‘दबु प्याखँ’ अझै प्रचलनमा रहेको पाइन्छ । नाट्यविद् मोहनहिमांशु थापाका अनुसार, ‘प्याखँ’ भन्नाले नाच मात्र होइन यसले नाटक र अभिनयलाई पनि बुझाउँछ । यसले पनि नेपालको नाट्यपरम्परामा डबलीको मौलिक र विशिष्ट स्थान रहेको देखाउँछ ।
डबलीको सम्बन्ध लिच्छवी र मल्लकाल हुँदै काठमाडौँ उपत्यकाका नेवारजातिसँग निरन्तर जोडिएर आएको छ । डबलीको निर्माण, विकास र संरक्षणका कार्य भने धेरैजसो मल्ल शासनकालमा नै भएको हो । मल्लकालमा नृत्य, नाटक, गीत, संगीत र सांस्कृतिक कार्यक्रम आयोजना प्रशस्त हुन्थ्यो भन्ने तथ्य त्यस समयमा निर्मित थुप्रै डबलीबाट पनि पुष्टि हुन्छ । विशेष गरी राज्यभिषेक, चाडपर्व, सभा, समारोह, गोष्ठी, ब्रतबन्धजस्ता उत्सव डबलीमै मनाइने भए पनि विशेष गरेर डबली रंगमञ्चको रूपमा बनेको मानिन्छ ।
भक्तपुर, ललितपुर र काठमाडौँ उपत्यकाका तीनै सहरमा मल्लकालमा बनेका धेरै डबली अहिले पनि सुरक्षित छन् । कतिपय डबली भने पछिल्ला समय, २०७२ सालको महाभूकम्पबाट मन्दिर भत्किएसँगै पुरिएको, चर्किएको र भत्किएको देखिन्छ । केही डबली सरकारी बेवास्ताका कारण जग्गा अतिक्रमण गर्ने मानिस र भूमाफियाका कारण पनि हराउँदै गएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नियुक्त भएपछि नाट्यकर्मी सरुभक्तले प्रतिष्ठानको आयोजनामा ‘डबली यात्रा’ नाम दिइ नाट्य एवं सांगीतिक गतिविधि बढाउँदै आएका छन् । विगत दुई वर्षयता मात्रै काठमाडौँ, भक्तपुर, ललितपुरका विभिन्न डबली, पोखरा, बन्दिपुरलगायतका डबलीमा स्थानीय समूहको सहभागितामा दर्जनभन्दा बढी नाटक मञ्चन गराएका छन् । सरुभक्त भन्छन्, ‘धेरै ठाउँमा डबली यात्राकै क्रममा पछिल्लो पटक पुगेँ । काठमाडौँबाहिरका धेरैजसो डबली लोपोन्मुख अवस्थामा पुगेका छन् । जीर्ण र संरक्षणविहीन पनि बनेका छन् कतिपय । सामाजिक एवं आर्थिक कारणले गर्दा डबलीको यो दूरवस्था भएको हो ।’
कान्तिपुर राज्य गोर्खालीले कब्जा गरेपछि काठमाडौँबाट अन्यत्र विस्थापित भएका र व्यापारको सिलसिलामा भोजपुर, दोलखा, धनकुटा, पोखरा, पाल्पालगायतका स्थानमा पुगेका नेवार समुदायका मानिसले आफ्नो संस्कार र परम्परालाई पनि साथै लिएर जाँदा ती ठाउँमा डबलीको निर्माण भएको हो । दोलखाका नाट्यकर्मी मदनदास श्रेष्ठका अनुसार यस्ता डबली दोलखाबजारको लिस्टोल (भीमेश्वर मन्दिर जाने बाटो), दुङ्गल टोल (नाट्यश्वरी मन्दिर अगाडि), नछे टोललगायतका ठाउँमा निर्माण गरिएका छन् । यसमा नेवार समुदायका मानिसले आफ्नो संस्कृतिअनुसारको हिलेजात्रा, गाईजात्रा, कुमारीजात्रा, लाखे नाच, अष्टमातृका नाच, खड्गजात्रा देखाउँदै आइरहेका छन् । मदनदास भन्छन्, ‘म यहीँको डबलीमा नाटक हेर्दै हुर्किएको हुँ । मलाई नाटकमा मोह जगाउने काम पनि दोलखाको लोकनाटक र डबली नाटकले गरेको हो । डबली नाटक हाम्रो मौलिक संस्कृति पनि हो ।’
काठमाडौँ उपत्यकामा डबलीको महŒव र अवधारणा बाहिरका जिल्लाभन्दा अलि बलियो छ । त्यसैले पनि काठमाडौँमा अन्य जिल्लाको तुलनामा डबलीहरू संरक्षित देखिन्छन् । संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तका अनुसार, अबको उनकोे बाँकी दुई वर्षे कार्यकालमा २–४ ओटा लोपोन्मुख र जीर्ण डबलीलाई संरक्षित गर्ने, डबलीको महŒव र यसको अवधारणा प्रचारप्रसार गर्ने रहेको छ । डबली नभएको स्थानमा समेत डबलीको अवधारणा लगेर नयाँ डबली निर्माणमा अग्रसर हुने उनी बताउँछन् ।
व्यवस्थितरूपमा र नाटककै निम्ति डबलीको निर्माण गरिएको इतिहास हेर्दा राजा भुपतिन्द्र मल्ल सबैभन्दा अगाडि देखिन्छन् । उनले डबलीमा कसरी नाटक प्रस्तुत गर्न सकिन्छ भन्ने जानकारी दिनका लागि एउटा अवधारणासहितको नक्सा नै सार्वजनिक गरेका थिए । कुन ठाउँमा अभिनय गर्ने ? कुन ठाउँमा दर्शक बस्ने जस्ता कुरा उक्त नक्सामा उल्लेख गरिएकोले त्यसबेला नाटकको लागि डबलीको राम्रैसँग प्रयोग हुने गथ्र्यो भन्ने पुष्टि हुन्छ । भुपतिन्द्र मल्ल आफैले बनाएको त्यो नक्साअनुसार डबलीमा धेरै नाटक पनि मञ्चन गराएका थिए ।
मल्लकालीन कान्तिपुरमा दरबारका लागि सम्पूर्ण नृत्य र नाटकको आयोजनाको स्थल नासलचोकमा रहेको डबली हो । ‘नासल’ शब्दको निर्माण नाट्यश्वरबाट भएको देखिन्छ । मल्लकालमा रहेको त्यस प्रकारको परम्परा निर्वाह शाहकालसम्म पनि भएको पाइन्छ । शुभराज्यभिषेकको उपलक्ष्यमा हनुमानढोका दरबारस्थित नासलचोकको डबलीमा आयोजित मूल समारोहको क्रममा डबलीमा राखिएको सिंहासनको उपयोग गरी मूल कार्य सम्पन्न हुन्छ ।
डबलीमा विभिन्न प्रकारको नाच गर्ने चलन त अहिले पनि प्रचलित नै छ । यस्ता नाच–नाटक लगातार कैयौँ दिनसम्म देखाइन्छ । कार्तिक नाच, हरिसिद्धिको नाच, श्वेतकालीको नाच आदि महिनौँ पूर्वाभ्यास गरेर डबलीमा प्रस्तुत गरिन्छ । डबलीमा गरिने अन्य विभिन्न धार्मिक प्रवृत्तिका नाचमा अभिनयले महŒवपूर्ण स्थान ओगटेको पाइन्छ ।
मल्लकालमा सुरु भएको ‘देवी नाच’ देखाउनका लागि भनेरै काठमाडौँको भित्री सहरको चार कुनामा चारवटा ठूल्ठूला सार्वजनिक डबली निर्माण गरिएका थिए । ती डबलीहरू क्रमशः जैसीदेवल (न्हूघः डबली), नरदेवी (किलाघः डबली), बांगेमूढा (नःघः डबली) र ४. इन्द्रचोक (वंघः डबली) हुन् । यहाँ उल्लिखित ‘घः’ को अर्थ घडा वा घैंटो हो । लिच्छवीकालमा काठमाडौँ राज्यको साँध–सीमा छुट्याउन नगरका विभिन्न कुनामा ढुंगाका घडा स्थापना गरिएका थियो । तिनै ‘घः’ (घडा) का नामले अहिले उक्त टोलकै नामकरण हुन गएको देखिन्छ । जस्तै, ‘किलाघः’, ‘वंघः’, ‘नःघः’, ‘न्हूघः’ आदि । यसरी राज्यको सिमाना छुट्याउने यिनै ‘घः’हरूसँगै स्थापित डबलीमा ‘देवीनाच’ देखाउन थालिएको हो । देवीनाच नचाइने यी चारवटा डबलीमा यही एउटा नाचबाहेक अर्को कुनै पनि सांस्कृतिक कार्यक्रम वा नाच देखाउने गरिँदैन । यही एउटा नाच देखाउन निर्माण गरिएका चार डबलीको बेग्लै महŒव रहेको छ । यसले ‘देवीनाच’को ऐतिहासिक महŒव झल्काउँछ । हरेक इन्द्रजात्राका बेला कुमारीको रथलाई यही चारवटा डबली भएको ठाउँबाटै तानेर परिक्रमा गराइन्छ । पहिलो दिन कुमारीको रथलाई काठमाडौँको तल्लो भाग जैसीदेवलतिर तानिन्छ । त्यो दिन जैसीदवल कै ‘न्हूघः डबली’मा देवीनाच देखाइन्छ । दोस्रो दिन काठमाडौँको माथिल्लो भाग बांगेमूढा, असन तथा इन्द्रचोकतिर रथ तानिन्छ । त्यो दिन बांगेमूढा र इन्द्रचोकको डबलीमा नाच देखाइन्छ । तेस्रो दिन माथिल्लो भागकै ‘किलाघः’तिर रथ तानिन्छ र ‘किलाघः डबली’मा नाच देखाइन्छ । यसलाई बोलिचालीमा ‘नाच’ भनिए पनि यो विशुद्ध नृत्यमात्र होइन । यो संगीतको तालमा नाच्दै देखाइने एउटा लोकनाटक हो । यो त डबलीसँग जोडिएको एउटा सन्दर्भमात्रै हो । यस्ता धेरै डबलीले आआफ्नै कथा र ऐतिहासिक महŒव बोकेका छन् ।
१९८२ सालमा काठमाडाँंको यङ्गाल टोलमा जन्मिएका कलाकार बेखानारायणले नाटक गर्न डबलीको उपयोग गरेको देखिन्छ । बेखानारायण महर्जन नेपाली रंगमञ्चमा ‘बेखानारायण’, ‘बेखाचा’ नामले प्रख्यात छन् । उनले आफ्नो निर्देशन र अभिनयमा काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न डबलीमा नाटक गरी ख्याति कमाएका थिए । सुकुलमा देखाइने ‘ज्यापू नाटक’लाई परिमार्जन गरी डबलीमा देखाउने परम्पराको थालनी गर्ने श्रेयसमेत उनैलाई जान्छ । बेखानारायणले गर्ने गरेका कतिपय नाटकलाई ‘खँ प्याखँ’ पनि भनिन्थ्यो । अग्लो ठाउँ बनाएर खट राखेर मञ्च बनाइ देखाइने नाटकलाई ‘खँ प्याखँ’ भनिन्छ । उनी काठमाडौँ, भक्तपुर र ललितपुर तीनै सहरका लोकप्रिय अभिनेता थिए । बेखानारयणले नाटक देखाउने भनेपछि मानिसहरू डबलीवरिवरिका घरका झ्यालहरू पैसा तिरेर ‘बुक’ गर्थे । रातरातभर बेखानारायणको डबली नाटक हेर्थे दर्शक । त्यसैकारण त्यसबेला डबलीसँग जोडेर उनको बारेमा यसो भन्ने गरिन्थ्यो– ‘डबली नबनी बेखा देखिँदैन, बेखा नउठी डबली उठ्दैन ।’ बेखानारायणले सबैभन्दा पहिले १९९७ सालमा भोटेबहालमा नेवारी भाषामा नाटक ‘राजकुमार विश्वन्तर’ मञ्चन गरेका थिए । यो नाटक काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न डबलीमा तीन महिनासम्म चल्यो । यो नाटकका वियोगान्त दृश्य हेर्न नसकेर झ्यालमा बसेर नाटक हेरिरहेका दर्शक झ्याल थुन्ने गर्थे । विश्वन्तरले आफ्नी श्रीमती र सन्तान दान दिएको त्यो कारुणिक दृश्य कतिपय मानिस हेर्न सक्तैनथे भनी बेखानारायणको भनाइ पाइन्छ । ‘शकुन्तला’, ‘चाँदनी’, ‘घनश्याम’, ‘सोहनी महिवाल’, ‘साजन’ आदि बेखानारायणले अभिनय र निर्देशन गरेका नाटक हुन् ।
राणाकालको पूर्वाद्र्धतिर भने डबलीको ठाउँ थिएटर (बन्द रंगमञ्चका नाटकघर) ले लियो । तीसको दशकदेखि काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानको डबली, वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार, भक्तपुर दरबार स्क्वायरको डबलीमा लोकनाटकका साथै आधुनिक नाटक र सडक नाटक मञ्चन हँुदै आएको छ । सत्यमोहन जोशी भन्छन्, ‘मल्लकालमा विशेषगरी राजदरबारहरूका चोकमा परम्परागत नृत्य, नाटक र धार्मिक कार्य गर्नका निम्ति डबली बनाइन्थे । यसको रंगमञ्चीय महŒव पनि ज्यादै छ । अहिले पनि डबलीमा विभिन्न लोकनाच र नाटक मञ्चन भइरहेको मैले देखेको छु ।’
साठीको दशकको आरम्भताका प्रज्ञा–प्रतिष्ठानको डबलीमा भएको एक रंगमञ्चीय कार्य पनि यहाँ उल्लेखनीय देखिन्छ । २०६२ सालमा सामूहिक रंगकर्म संयोजन समिति र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा डबलीमा ‘सामूहिक रंगकर्म अभियान २०६२’ अन्तर्गत दर्जनभन्दा बढी नाटक मञ्चन भए । प्रज्ञा–प्रतिष्ठान र राजधानीमा सक्रिय ६ वटा नाट्यसमूह ‘सान’, ‘मातृभूमि रंगमञ्च’, ‘ज्योतिपुञ्ज साइन थिएटर’, ‘ललित सांस्कृतिक कला समूह’, ‘किन्स थिएटर’ र ‘साथसाथ थिएटर’ सम्मिलित ‘सामूहिक रंगकर्म संयोजन समिति’ बाट हरेक महिनाको पहिलो शनिबार प्रज्ञा डबलीमा विभिन्न नाट्य संस्थाका नाटकहरू मञ्चन भए । ‘सामूहिक रंगकर्म अभियान २०६२’ अन्तर्गत विभिन्न महिनामा अशोक शिवाकोटीद्वारा निर्देशित ‘सूर’, हेमन्त गौतमको ‘हिङमाङको चौरी’, कमल गाउँलेको ‘हाम्रा स्वरहरू’, किशोर अनुरागको ‘क्रमशः कथाहरू’, नवराज बुढाथोकीको ‘क्रमशः’, मजोजबाबुु पन्तको ‘मान्छे प्रतियोगिता’, जे.बी. रूवालीको ‘अब इतिहास लेखिन्छ’, राजन उप्रेतीको ‘घिन्ताङ काका’, मीनबहादुर भामको ‘भुतलोकमा बहस’, जीवनसाथी बस्नेतको ‘क्यानभासका नउत्रिएको माया’, कृष्ण शाह यात्रीको ‘मृत्यु सम्पादन’, ‘बारूद शताब्दी’ आदि नाटक मञ्चन भए । प्रत्येक महिना तीन वटा नाटक मञ्चन हुनु, दर्शकको उल्लेख्य सहभागिता हुनु, रंगकर्मीहरूको नियमित भेटघाटको थलो बन्नु, प्रतिस्थापन कलालाई समेत नाटकसँग जोडेर प्रदर्शनी गर्नु, नयाँ आलेखलाई मात्र प्रस्तुत गरिनु, मञ्चित नाटकबारे राम्रै क्रिया–प्रतिक्रिया आउनु, सामूहिक रंगकर्ममा सुखद संकेत देखा पर्नु जस्ता कुरालाई यस अभियानका उपलब्धिका रूपमा लिन सकिन्छ । यसले पछिल्ला वर्षमा भने निरन्तरता पाउन सकेको छैन । रंगमञ्चीय गतिविधिका निम्ति बनेको प्रज्ञा–प्रतिष्ठानको डबलीको अहिले उचित संरक्षण र प्रयोग पनि हुन सकेको छैन ।
यसरी डबलीको निर्माणसँग रंगमञ्च र नाटकको सम्बन्ध पनि जोडिएर आएको छ । यसमा लोकनाटक देखाइने परम्परा पनि चलेको देखिन्छ । विभिन्न कालमा डबली परम्परा जनस्तरसम्म फैलिएको छ । डबली नेपाली रंगमञ्चको विकासको एउटा महŒवपूर्ण कडीको रूपमा रहेको देखिन्छ । वास्तवमा डबली नेपाली रंगमञ्चको आरम्भकालीन स्वरूप हो । ‘दबु प्याखँ’ अर्थात् डबली नाटकको वैशिष्ट्यता र महŒव अझै पनि उत्तिकै छ । यी हाम्रा मौलिक रंगमञ्चीय निधि पनि हुन् ।
http://www.nagariknews.com/news/8341

No comments: