Thursday, December 22, 2016

१२ दिने गुफा एक रातमै

१२ दिने गुफा एक रातमै

आइतबार, १९ मङि्सर २०७३, ०८ : २५ |  कृष्ण किसी


१२ दिने गुफा एक रातमै
भक्तपुर- मृत्यु संस्कार छोट्याउनुपर्ने आवाज उठिरहेका बेला यहाँ गुफा राख्ने चलन छोट्याउनेको संख्या बढ्न थालेको छ। १२ दिन राख्नुपर्ने गुफा छोट्याएर धेरै परिवारले एक रातमै सम्पन्न गर्न थालेका छन्। लामो संस्कारले धेरै समस्या भएको भन्दै उनीहरूले गुफा अवधि घटाउन थालेका हुन्।

नेवारी संस्कारमा कुनै पनि बालिका किशोरावस्थामा प्रवेशसँगै गुफा राख्नुपर्छ। बालिका महिनाबारी हुनु केही वर्षअघि नै घाम पनि नपस्ने अँध्यारा कोठामा १२ दिन गुफा राख्ने प्रचलन छ। यसलाई सूर्यसँग विवाहका रुपमा लिइन्छ। साथै यसलाई दोस्रो विवाह पनि मानिन्छ। यसभन्दा पहिले बालिकाको बेलविवाह गर्ने प्रचलन छ। बेलविवाहलाई पहिलो विवाह मानिन्छ।

लामो समय गुफा राख्ने प्रचलनले धेरै समस्या आएकालले एक रात बौद्ध विहारमा लगेर छोरी गुफा राखेको लक्ष्मीकेशरी हाकुदुवालले बताइन्। '१२ दिन गुफा राख्दा अध्ययनमा समेत असर पर्ने भएकाले छोट्याएर एकै रातमा छोरीको गुफा राख्ने काम सकेँ,' हाकुदुवालले नागरिकसँग भनिन्, 'अहिले म मात्र होइन, धेरै परिवार व्यस्तताले गर्दा मैलेजस्तै एक रात विहारमा गुफा राख्न थालेका छन्।'

१२ दिन गुफा राख्दा एक जना महिला कुरुवा अनिवार्य बस्नुपर्ने, गुफा सकेपछि भोज खुवाउनुपर्ने, गुफा राख्दा बिरामी भए बाहिर ल्याई उपचार गराउन नमिल्नेलगायत समस्याले गुफा राख्ने परम्परा एक रातमै सम्पन्न गर्न थालिएको उनको तर्क छ।

यसअघि शाक्य, बज्राचार्य थरका नेवार समुदायले मात्रै आफ्ना छोरीलाई विहारमा एक रात गुफा राख्ने गर्दै आएका थिए। तर हिजोआज शाक्य, बज्राचार्यबाहेक किसान नेवार समुदायले पनि १२ दिनको साटो विहारमा छोरीलाई एक रात गुफा राख्न थालेका हुन्।

भक्तपुरमा एक सयभन्दा बढी विहार छन्। टोलटोलमा रहेका तिनै विहारमा छोरीलाई १२ दिन गुफा राख्ने परम्परा छोट्याएर एक रात राखी परम्परा धान्नेको संख्या बढेको हो। गुफा राख्न साइत देखाएर उपयुक्त समयमा छोरी गुफा राखिन्छ। किशोरावस्थामा पुगेकी छोरीको अचानक महिनाबारी भए तुरुन्तै गुफा राखिन्छ।

संस्कृतिविद् ओम धौभडेल किशोरावस्थाका छोरीलाई यौन शिक्षा दिन गुफा राख्ने चलन चलेको सुनाउँछन्। १२ दिन दिनुपर्ने शिक्षा एक रातमै नसकिने भएकाले यसमा वैज्ञानिकता नभएको उनको जिकिर छ। वर्षेनी मंसिर, पुस र माघलगायत जाडो याममा गुफा राख्ने प्रचलन छ।

http://www.nagariknews.com/news/10027

No comments: