Thursday, December 22, 2016

संकटमा मेरो मातृभाषा

संकटमा मेरो मातृभाषा

अन्नपूर्ण आइतवार, असार १९, २०७३
संकटमा मेरो मातृभाषा

मेरो मातृभाषा नेपाल भाषा (नेवारी) हो । नेपाल भाषाको आफ्नै लिपी छ, रञ्जना । म त्यो जान्दिन । हुनत, रञ्जना संंयुक्त राष्ट्र संघमा दर्ता गरिएको नेपालको आधिकारिक लिपी नै हो । तथापि, त्यसको प्रयोग कामकाजमा लगभग शून्य छ । मलाई सामान्य नेपाल भाषा बोल्न आउँछ, बुझ्दछु, खासगरी काठमाडौं र ललितपुरमा बोलिने । कतिपय ठेट नेवारी शब्द त थाहै छैन । लाज नमानी भन्नु पर्दा औपचारिक शब्दहरूसमेत मलाई केही वर्षअघिसम्म पनि थाहा थिएन ।
जस्तै भिन्तुना (शुभकामना) नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सुरु भएको अभियानबाट जानेको हुँ । गैरनेवारले अहिले भिन्तुना भनेर कहिलेकाहीं जिस्क्याउँछन् पनि । ज्वजलपाः (नमस्कार÷अभिवादन) र सुभाय् (धन्यवाद), केही वर्षअघि मात्र जानेको हुँ । केही वर्षअघि नेपाः राष्ट्रिय पार्टीले एक पटक समसामयिक विषयमा छलफलका लागि निम्त्याउँदा पहिलो पटक ज्वजलपाः शब्द प्रयोग गरेको थिएँ । यही कुरा भन्दा छलफलमा उपस्थित सबै हाँसेका थिए । त्यसपछि प्रयोग गरेको छैन । सुभाय् त भन्नै आउँदैन, अझैसम्म कसैलाई भनेकै छैन ।
भक्तपुरमा बोलिने नेवारी प्रायः बुझ्छु, तर त्यही लवजमा बोल्न सक्दिन । कतिपय शब्दहरूसमेत बिलकुल फरक छन् । जस्तै पानीलाई मैले बोल्ने नेवारीमा ‘ल' भनिन्छ भने भक्तपुरमा ‘नाः' भन्छन् । ‘याकन' (चाँडो) लाई भक्तपुरमा ‘माथँ' भन्छन् । यस्ता धेरै अरू छन् । पहिलेपहिले भक्तपुरे लवजमा बोलेको सुन्दा ‘ख्वपे भाय्' भनेर हाँसो लाग्थ्यो, गिज्याइन्थ्यो । अहिले सुन्दा त्यसमा भएको विशिष्टता र मिठास अतुलनीय लाग्छ । काठमाडौं उपत्यकाबाहेक बाहिर बोलिने नेवारीको आआफ्नै लवज र विशेषता छन् । तीमध्ये दोलखामा बोलिने त त्यहींकाले मात्र बुझ्छन् । मैले सुनेको किम्बदन्तीअनुसार पञ्चपाण्डव गुप्तबास बस्दा अरू कसैले भेउ नपाओस् भनेर बोल्न विकास गरिएको भाषा रे !

म घरमा बच्चैदेखि नेवारी बोल्थेँ । बा, आमा, सानीआमा, अनि मेरा चार भाइहरू सबै नेवारी बोल्थे । हामी सबै भाइ स्कुल जान्थ्यौँ, स्कुलमा पढाइ सरकारी कामकाजको भाषा खस नेपालीमै हुन्थ्यो । त्यसबेला नेपालीलाई मात्रै राष्ट्रिय भाषा मानिन्थ्यो । अरू भाषालाई राष्ट्रिय भाषा भन्न थालेको त जनआन्दोलन १ र २ पछि न हो ।
अहिले आएर संविधानमै नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा भनेको छ । त्यसअघि पनि सबै भाषा राष्ट्रिय नै हुन् र खस नेपालीचाहिँ राष्ट्र भाषा अर्थात कामकाजका लागि सबैले साझारूपमा बोल्ने हो भनेर पनि अथ्र्याइन्थ्यो । यसबारे म खासै ज्ञान राख्दिन । मैले माथि भनेका कुरा गलत हो भने क्षमाप्रार्थी छु । प्रसंग फेरि जोडौं, हामी पाँच भाइ स्कुलमा नेपाली बोले पनि हामीलाई घरमा नेवारी बोल्न गाह्रो थिएन ।
हामी पाँचभाइमध्ये कान्छोबाहेक सबैको नेवार स्वःजातिमै बिहे भयो । मेरो श्रीमती र बुहारीहरू (कान्छो भाइको श्रीमतीबाहेक) सबै नेवारी नै बोल्छन् । जब हाम्रा बच्चाहरू भए, एक्कासी घरमा बोल्ने भाषामा परिवर्तन आउन थाल्यो । पहिला दुइटा बच्चाहरू अढाइ तीन वर्ष अर्थात नर्सरी नजाँदासम्म खासै फरक आएको थिएन ।
जब बच्चाहरू थपिँदै गए अनि नर्सरी हुँदै स्कुल जान थाले तिनीहरूसँग नेवारी लगभग टुट्यो नै । यही स्थिति नेवारी बोल्ने धेरैजसो नेवार समुदायको छ । नेवारी बोल्ने नेवार भनेर तोक्नुको कारण नेवारी नबोल्ने नेवार पनि छन् । यी भनेका खासगरी व्यापार, व्यवसायको सिलसिलामा अन्यत्र गएर बसोबास गरेकाहरू जो पुस्तौँपछि विस्तारै नेवारी बोल्न बिर्सेकाहरू हुन् । अहिले, अर्को एकथरी थपिएको छ, बाज्ये बज्यै, आमाबाबु नेवारी बोल्ने र छोराछोरी, बुहारी र नातिनातिनासँग खस नेपाली बोल्ने ।
जब बच्चाहरू थपिँदै गए अनि नर्सरी हुँदै स्कुल जान थाले तिनीहरूसँग नेवारी लगभग टुट्यो नै । यही स्थिति नेवारी बोल्ने धेरैजसो नेवार समुदायको छ । नेवारी बोल्ने नेवार भनेर तोक्नुको कारण नेवारी नबोल्ने नेवार पनि छन् ।
यस्तो हुनुमा दुइटा कारण छन् । पहिलो, परिवार स्वयंले आफ्नो मातृभाषाभन्दा खस नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा प्राथमिकता दिनु, जसको मुख्य अभिप्राय बच्चाहरूलाई स्कुलमा पढ्न लेख्न सजिलो होस् भन्ने हो । दोस्रो, बच्चाहरू शिशु अवस्थादेखि नै नर्सरी, किन्डरगार्टेनको नाममा घरपरिवारबाट दिनभरि छुट्टिए, जसको कारण सानैदेखि ती नेपालीमै अभ्यस्त हुनथाले र घरमा पनि नेपालीमै बोल्न सुबिस्ता माने । आमाबाबु अनि बाज्येबज्यै पनि बच्चाहरूसँग नेपाली भाषामा बोल्न रमाउन थाले । किनकि आफूबीच उनीहरू प्रायः नेवारी नै बोल्ने भएकाले बच्चाहरूसँग नेपालीमा बोल्नु तिनका लागि स्वाद फेर्नुजस्तै भयो ।
यिनै परिस्थिति मेरो परिवारमा पनि रह्यो । यसले मलाई केही पिरल्यो र घरमा बच्चाहरूलाई नेवारीमा बोल्न लगाउने कोशिस गरेँ । कम्तीमा मसँग बोल्दा नेवारीमै बोल्न बाध्य पार्ने चेष्टा गरेँ । तर मेरो उक्त प्रयासको विरोध नभए पनि त्यसमा अरू परिवारका सदस्यको खासै सहयोग रहेन । तिनका मनमा बेकारमा बच्चाहरूलाई गार्‌हो पारिरहेछ भन्ने लाग्थ्यो । त्यो म बुझ्थेँ । कहिलेकाहीँ भन्थे पनि पछि आफैं विस्तारै बोलिहाल्छ नि । म भन्थेँ, स्कुलमा त नेपाली नै बोल्छ नि, घरमा त नेवारी बोलोस् । मैले सक्दो प्रयास गरेँ ।
म स्वयं ती बच्चाहरू हुर्कंदै गर्दा अध्ययन अनुसन्धानको लागि विदेशमा भएकाले थप जोड गर्न पाइन । अहिले ती सबै हुर्किसके । ती सबैले नेवारी नबोले पनि बुझ्छन् र चाहेमा कामचलाउ बोल्छन् पनि । सबैभन्दा जेठीले राम्रै बोल्छिन् । छोरीहरू सबै (कान्छो भाइको बाहेक)को बिहे भइसक्यो, त्यो पनि नेवार परिवारमै । पाँचवटा सम्धी परिवारमध्ये तीन सम्धी परिवारका आमा बा र ज्वाईंहरूबीच नेवारीमै संवाद हुन्छ भने दुई सम्धी परिवार नेवारी बोल्दैनन् । रमाइलो भनौँ या नरमाइलो, नेवारी बोल्ने सम्धी परिवारमा पनि बुहारीहरूसँगको संवाद नेपालीमै हुन्छ । तिनका बच्चाहरूको कुरै भएन ।
मसँग तथ्यांक त छैन, तर मेरो हचुवा अनुमान अधिकांश नेवार परिवार खासगरी सहरियाहरूका नयाँ पुस्ता नेवारी बोल्दैनन् । यसको अर्थ अब नेवारी भाषा लोपोन्मुख हुँदैछ भन्ने नै हो । यसको जगेर्ना गर्ने कसले ? भन्नुपर्दा राज्यलाई दोष दिन सजिलो होला । पक्कै पनि राज्य दोषी छ । किनकि राज्य भाषामैत्री भएन । राज्यले विभेदपूर्ण व्यवहार गरेकै हो । सर्वोच्च अदालतले नेपालीबाहेक अन्य भाषालाई सरकारी प्रयोजनमा मान्यता नदिएर भाषाको प्रयोग र जगेर्नामा बाधक बनेकै हो । तथापि भाषा विभिन्नभाषी नागरिकले बोल्ने हुन् । जब तिनैले बोल्दैनन् भने दोष राज्यलाई मात्र दिएर भएन ।
कति बाँच्लान् र ती बाज्यबज्यै र बाबुआमा जसले आज पनि नेवारी बोल्छन् ? कठोर भएर भन्नुपर्दा तिनले बोल्ने नेवारी तिनैसँग चितामा खरानी हुँदै जानेछ । तिनका छोराछोरी नातिनातिनालाई केही फरक पर्ने छैन किनकि तिनले त आज पनि नेवारी बोल्दैनन् र भोलि तिनका सन्तानले बोल्छन् भन्ने अपेक्षा पनि राख्दैनन् ।
एउटा पुरानो याद, मेरो कार्यालयमा वरिष्ठ, कनिष्ठहरूमध्ये नेवारी बोल्ने र नेवारी बोल्न नजान्ने दुवैथरिका नेवार थिए । तीमध्ये नेवारी नजान्नेको त कुरै भएन । तर नेवारी बोल्नेले पनि कार्यालयमा नेवारी बोल्दैनथे । यतिसम्म कि दुइटा नेवारमात्र भएका बेला पनि नेवारी बोल्दैनथे । मैले मेरो वरिष्ठ (सबै होइनन्)सँग नेवारीमा बोल्दा नेपालीमा जवाफ पाउँथे । मानौँ, नेवारी बोल्दा कस्तो सोमत (म्यानर) नभएको जस्तो ठान्ने ।
मुखै फोडेर भनेका त होइनन्, तर तिनका हाउभाउले त्यही बुझिन्थ्यो । अर्थात, कार्यालयमा खस नेपालीबाहेक अरू स्वदेशी भाषा बर्जित नै भएको जस्तो । यो म स्वयंले काठमाडौंकै नेवार बोल्ने केही नेवार हाकिमबाट भोगेका कुरा हो । यसले के देखाउँछ भने खस नेपाली भाषाबाहेक अरू आफ्नै मातृभाषा पनि आफैंलाई दोस्रो दर्जाको लाग्नु हो । म पनि मान्छु समूहमा सबैले नबुझ्ने भाषा नबोल्नु राम्रै हो । तर आफ्नै मातृभाषी र बोल्न जान्नेबीच स्वाङ गर्नुको कुनै तुक छैन । एउटा प्रसंग, युरोपमा ‘स्कान्डिनेभियन' भनेर डेनमार्क, स्विडेन र नर्वे तीन मुलुकहरू छन् ।
तिनका आआफ्नै भाषा छन् तर एकले अर्कोको भाषा बुझ्छन् तर खासै बोल्दैनन् । रमाइलो के छ भने तिनीहरूबीच कुराकानी हुँदा डेनमार्ककाले डेनिसमै, स्विडेनकाले स्विडिसमै र नर्वेकाले नर्वेजियनमै बोल्छन् र आआफ्नै भाषामै जवाफ फर्काउँछन् । अर्थात आफू बोल्दा आफ्नै भाषामा र जवाफ सुन्दा अरूको भाषामा । यसलाई भनिन्छ, भाषामैत्री वातावरण ।
नेपालमा भाषासम्बन्धी समस्या सबैले बुझेका छन् । भाषाको सम्बन्धमा सबैको चेतना बढेको छ । सम्बन्धित भाषाविद् र अगुवाहरू यसको लागि आफ्नै किसिमले लागि परेका छन् । भाषासम्बन्धी अधिकारको माग गर्दा शिक्षा आआफ्नै मातृभाषामा हुनुपर्छ भन्ने एउटा पक्ष रहेको छ । किनकि मातृभाषामा सिकिने शिक्षा बढी बुझिने, व्यवहारिक र टिकाउ हुन्छ । यसका ज्वलन्त उदाहरण छन् । जापानी, चिनियाँ, कोरियन, रुसीलगायत विभिन्न युरोपियनहरूले आआफ्नै भाषामा शिक्षा लिएर विज्ञान र प्रविधिका क्षेत्रमा धेरै प्रगति र उत्कृष्ट नमुनाहरू पेस गरेका सबै सामु प्रष्ट छ ।

जसको जुन मातृभाषा छ, उसले कक्षा १२ सम्म त्यो भाषा अनिवार्य पढ्न/लेख्न पर्ने व्यवस्था हुनुपर्छ । स्कुलमा होइन, आआफ्नै घरघरमा । तिनका गुरु भनेका अविभावक हुन्छन् र आवश्यक परेमा घर छिमेकमै गुरुका व्यवस्था पनि गर्लान्/होलान् ।
जर्मन, फ्रान्सलगायतका धेरै युरोपेली मुलकमा अंग्रेजी बुझे पनि बोल्दैनन्, नबुझे झै गर्छन् । जापान चीन, कोरियालगायत कतिपय युरोपेली मुलुकका बहुसंख्यक मानिसले अंग्रेजी भाषा जान्दैनन् । यसमा समयकाल र भूराजनीतिबाट उत्पन्न स्वाभिमान र अहंकारको मि श्रण छ । माथि उल्लिखित मुलुकहरू आज समृद्ध छन्, समृद्ध हुँदै आए, तर अन्तर्राष्ट्रिय क्षेत्रमा भाषाकै कारण अलि पछि पनि परे । यो यथार्थ हो । अहिले तिनै मुलुकहरू अंग्रेजी भाषालाई प्राथमिकता दिइरहेका छन् । यसको अर्थ यो होइन कि तिनले आफ्नो भाषालाई छोडे ।
यस लेखमा मैले नेवारी भाषाको उदाहरण दिएँ जसको म र मेरो परिवार आफैं पात्र हुन् । नेपालमा सूचित १२७ भाषाहरूमध्ये अधिकांशको नियति लगभग यस्तै होला भन्ने अनुमानमात्र गर्न सक्छु । तीमध्ये कतिपय त लोपोन्मुखमात्र होइन, लगभग लोप नै भइसकेको अवस्थामा होलान् । हामी नेपालीको समुचित कुरा गर्दा खस भाषा नै मातृभाषा हुनेबाहेक अन्य सबैलाई तीनवटा भाषा अनिवार्य हुनुपर्छ भन्ने मेरो मान्यता हो । मातृभाषा, कामकाजको भाषा र बढी चलनचल्तीमा रहेको अन्तर्राष्ट्रिय भाषा अर्थात अंग्रेजी भाषा ।
यीबाहेक अरू धेरै भाषाहरू छन्, जो कसैले सिक्न सक्छन् सिक्नु लाभदायक छ । यसतर्फ सबै परिवारका अविभावक सजग रहनैपर्छ । आफ्नो भाषा सिकाउन गाह्रो र लाज मान्न हुँदैन ।
यही सन्दर्भमा राज्यलाई मेरो एउटा सुझाव छ । कामकाजको भाषा खस नेपाली अनिवार्य नै भो । त्यसमा कसैको दुई मत हुनै सक्दैन । (प्रादेशिक शासन कार्यान्वयनमा आएपछि प्रदेशको छुट्टै आधिकारिक भाषा हुनसक्छ, तर पनि सबै प्रदेशबीच खस नेपाली नै साझा भाषा हुनेछ ।) त्यस्तै अन्तर्राष्ट्रिय भाषाको रूपमा अंग्रेजी पनि अनिवार्य नै भो । अब अनिवार्य हुनुपर्‌यो, आआफ्नो मातृभाषा । सवा सयभन्दा बढी भाषा भएको मुलुकमा यो कसरी सम्भव होला भन्ने पक्कै लाग्ला । यो सम्भवमात्र होइन सरल पनि छ ।
जसको जुन मातृभाषा छ, उसले कक्षा १२ सम्म त्यो भाषा अनिवार्य पढ्न÷लेख्न पर्ने व्यवस्था हुनुपर्छ । स्कुलमा होइन, आआफ्नै घरघरमा । तिनका गुरु भनेका अविभावक हुन्छन् र आवश्यक परेमा घर छिमेकमै गुरुका व्यवस्था पनि गर्लान्÷होलान् । मेरो विचारमा यो एउटा उत्तम उपाय हुनसक्छ, किनकि कुनै पनि स्कुलमा सबै भाषाको पठनपाठन सम्भव छैन । (घरमै पढ्ने भन्नाले नौलो लाग्ला । अमेरिकामा करिब २० लाख केटाकेटी घर पाठशाला (होम स्कुल) कार्यक्रमअन्तर्गत घरमै पढ्छन्, स्कुल जान्नन् ।) यसमा राज्यले गर्नुपर्ने व्यवस्था भनेको सबै भाषाको पाठ्यक्रम बनाउने र स्कुलले परीक्षा र परीक्षकको व्यवस्था गर्ने ।
बन्न गइरहेको भाषा आयोगले यसमा प्राथमिक भूमिका निर्वाह गर्नसक्छ । परीक्षामा उतीर्ण वा अनुतीर्ण नगर्ने । निश्चित तोकिएको न्यूनतम अंकभन्दा जति बढी आउँछ वा पूरै प्राप्तांकलाई बोनसको रूपमा कुल प्राप्तांकमा थप गरेर जिपिए (ग्रेड प्वाइन्ट स्केल) बढाउनमा योगदान हुने व्यवस्था गर्ने । यो व्यवस्थाले घरघरमा सबै परिवारलाई मातृभाषा बोल्ने र सिक्ने वातावरणको सिर्जना हुन्छ । बोनस अंक पाइने भएपछि खस भाषा नै मातृभाषा हुनेका लागि के गर्ने ? तिनका त अरू मातृभाषा छैन । बोनस अंक त नपाइने भो । तिनका लागि स्वेच्छामा अरू कुनै पनि भाषा पढ्न पाउने गर्ने । यसले विभिन्न भाषीबीच सौहाद्रता ल्याउन मद्दत मिल्नेछ ।
http://www.annapurnapost.com/news/51453

No comments: