Thursday, December 22, 2016

धुस्वाँको नेपथ्य

धुस्वाँको नेपथ्य
प्रकाश सायमी |
२०७१ पौष २६ शनिबार



कवि पाब्लो नेरुदाले आफ्नो संस्मरणमा एक यस्तो व्यक्तिको चर्चा गरेका छन्, जसले उनको कविता पढेर आत्महत्या गरेका थिए। 'रेसिदेंसिया एन ला तियेरा' अर्थात् 'पृथ्वीमा घर' नामक त्यो कवितासंग्रह एउटा रूखमुन्तिर उसको लासको छेउमा पाइएको थियो।

नेरुदालाई लाग्यो, मानौं त्यो पाठकको रगतको दाग उनको कविताहरूमाथि छ्यालब्याल भएर परेको छ। अनि त्यसपछि उनले हतासा, अन्धकार र मृत्युका कविता लेख्नै बन्द गरिदिए।

हिन्दी भाषाका सम्माननीय कवि डा. हरिवंश राय बच्चन (महाकवि होइनन् उनी, यहाँ धेरै स्वनामधन्यले महाकवि बनाएर भ्रम फैलाएका छन्) को जीवनमा पनि त्यस्तै घटना घटेको छ। उनको तज्जन्य आकर्षणबोध भएको कविता पढेर एउटा पाठकले रेलमुनि गएर आत्महत्या गरेका छन्।

त्यसपछि बच्चनले त्यस कविताका कारण वारम्बार क्षमा मागेर अन्य कविता लेखेका छन्। तर उनका कविताले फेरि पनि मान्छेलाई रुवाइ नै रह्यो, त्यो चाहे 'निशा निमन्त्रण' होस् वा 'मधुशाला'।

बच्चनले यस्तै रुँदै कवितावाचन गर्दै हिँड्ने क्रममा आफ्नो कविता सुनेर भावुक भएकी एक पाठक/श्रोता भेटे, तेजी सुरी। जो पछि उनकी पत्नी भइन् र आजका चर्चित फिल्मस्टार अमिताभ बच्चनकी आमा।
...
कविताले मान्छेको जीवनमा परिवर्तन ल्याउँछ, सन्दर्भ र समयअनुसार। ठाउँ र परिवेशअनुसार। तर कविताको तागत त्यो हुनु भएन जसले पाठकलाई जिउन होइन, मर्न प्रेरित गरोस्। नेपाली साहित्यमा ठीक त्यसको अपवादको रूपमा एउटा गज्जबको घटना घटेको छ, पाठक आफू प्रेरित भएर लेखकलाई पनि बदलेको।

कवि, उपन्यासकार धुस्वाँ सायमीको जीवनको कथा हो यो। उनको उपन्यास पढेर उनलाई उनकी एक पाठकले अनेकानेक पत्र, सुझाव र स्नेह दिन थालिन्। पछि स्रष्टा धुस्वाँ सायमीले त्यही पाठकलाई नै सम्बोधन गरेर एउटा उपन्यास नै लेखे।

धुस्वाँलाई अत्यन्त माया गर्ने दीपा उनकी यस्ती पाठक थिइन्, जसले धुस्वाँको जीवन र रचनाकर्मको धार नै बद्लिइदिइन्, तर धुस्वाँ बाचुञ्जेल उनी जति चर्चामा आइन्, त्यसपछि उनी स्वत: नेपथ्यमा हराइन्।

धुस्वाँलाई माया गर्ने ती पाठकसित भेट्ने वा देख्ने सौभाग्य एकाध नेपालीभाषी लेखकलाई पनि मिलेको छ, त्यसमाथि खुलेआम बहस पनि भएको छ।

'दीपा' त्यसै सिलसिलाको धुस्वाँको चर्चित उपन्यास हो। धुस्वाँले आफ्नो जीवनकालमा दीपाको नाममा पुरस्कार पनि स्थापना गरे।

यस्ता किंवदन्तीमा बाँच्ने धुस्वाँको लेखन महिला पात्रमाथि नै केन्द्रित भएर सुरु भएको थियो करिब ६० वर्षअघि।

नेपाल भाषामा लेखिएको उपन्यास 'मिसा' धुस्वाँको पहिलो उपन्यास मात्र नभई नेवार भाषाको पनि पहिलो उपन्यास मानियो। त्यसपछि उनी सर्वाधिक चर्चामा आए अर्को उपन्यास 'गं:की' मार्फत।

धुस्वाँको यो उपन्यास नछापिउञ्जेल नेपाली र नेपाल भाषाका साहित्यमा यौनमनोविज्ञानको चर्चा नै थिएन, यसलाई नै समालोचक डा. तारानाथ शर्माले फ्रायोडियन मनोविज्ञानको पहिलो पथगामी कृति भनेर घोषणा गरे। तर चर्चा र हल्लाखल्लाका दृष्टिकोणले झिनो सुनिए पनि यस कृतिले नेपाली समाजमा तहल्का मच्चाएको थियो।

यो उपन्यासपछि मात्र गोविन्दबहादुर मल्ल 'गोठाले'को 'पल्लो घरको झ्याल' छापिएको थियो। यद्यपि 'गं:की' लेख्न धुस्वाँलाई गोविन्दका भाइ विजय मल्लले नै प्रेरित गरेका थिए।

र, पछि यस उपन्यासलाई चित्तरञ्जन नेपालीले अनुवाद गरे। चित्तरञ्जन, विजय मल्ल, गोविन्द गोठाले, कृष्णचन्द्रसिंह प्रधान, फत्तेबहादुर सिंह, यी सब त्यो बबला धुस्वाँलाई केन्द्र बनाएर झोछेँमा भेटघाट गर्थे।

नेपाली साहित्यमा लेखकको ग्रुपिज्मको कुरा आयो कि चार कुराले प्रमुखता पाउँथ्यो, रक्सी, राजनीति, पुरस्कार र महिला।

इमानदारीपूर्वक हेर्ने हो भने यो समूह यी सबै कुराबाट अलग र अपरिभाषित रह्यो। सबै काठमाडौंका सुसंस्कृत नेवार परिवारका थिए, यिनको एउटै उद्देश्य भाषा सेवा र जातिजागरण। त्यसैले यो भीडको कुरा गर्दा बहुविवाह, अवैध सम्बन्ध, पार्टीगत द्वन्द्व अनि जिल्लावादी सोचका कुण्ठा कहिले आएन।
...
यी सबै एक समयका ती लेखकजस्तै थिए, आन्द्र जिद, हरमन बाह्र, हेनरी डे रेग्नेर, रेने बोयलेसिभ र हायनरिख भोन क्लेस्ट। उन्नाइसौं शताब्दीको अन्त्यमा यी पाँचैजनाले एकअर्कासित सल्लाह गरेर बीसौं शताब्दीका लागि नयाँ नयाँ कृति लेखे।

बीसौं शताब्दीको पहिलो कृतिको रूपमा जिदको 'दि इम्मारलिस्ट' सिग्मन्ड फ्रायडको 'दि इन्टरप्रिटेसन अफ ड्रिम' भन्दा केहीपछि आयो भने हरमनको बाह्रको 'भोम ट्राजिक्सेन' अर्थात् त्रासदीमाथि बजारमा आए, यी फरकफरक भाषामा लेख्थे तर आपसमा सेयर गर्थे।

यही परम्परा थियो, धुस्वाँ र उनका समवर्तीको पनि। चित्तरञ्जन नेपालीमा लेख्थे, धुस्वाँ नेवारी र हिन्दीमा। विजय मल्ल र गोविन्द गोठाले नेवारी, नेपाली दुवैमा लेख्थे।

समयले पछि यी सबैको पृथक्पृथक् बाटो बनायो, चित्तरञ्जन अध्यापनमै सीमित रहे, मल्ल बन्धु प्राज्ञ भएर शाही तबेला पसे। धुस्वाँ कूटनीतिज्ञको बाटोमा दिल्ली छिरे।

धुस्वाँको अध्ययन भारतीय सहरमा र पेसागत क्षेत्र पनि त्यतै भएको कारणले उनको लेखनको पहिलो एक्जिट हिन्दीमा भयो।

धुस्वाँ हिन्दीमा छापिनुभन्दा धेरै अघि कथाकार बीपी कोइराला प्रेमचन्द प्रकाशित 'हंश' मार्फत पाठकसमक्ष आइसकेका थिए भने मोतीराम भट्टको बनारसमा भारतेन्दु हरिश्चन्द्रसित गजलको मुकावलाको इतिहास बनिसकेको थियो।

तर धुस्वाँको नाम र लेखनशैली बदल्नमा हिन्दीका कवि रामदरश मिश्रको अतुलनीय योगदान छ।

मिश्रले भारतमा अध्ययनरत धुस्वाँ (जसको वास्तविक नाउँ गोविन्दबहादुर मानन्धर) लाई व्यंग्य गरेर कसरी नेपाली हुन सक्छौ? तिम्रो नाउँ त पूरै हिन्दीमयी छ भनेपछि गोविन्दबहादुरले धुस्वाँ अर्थात् धूलोको फूल बनाए भने थर मानन्धरलाई पनि नेवारीमा सायमी लेखे।

सायमी त्यसबेलासम्म पनि गालीवाचक वा हेय शैलीको थर मानिन्थ्यो। यद्यपि सायमी थर आफ्नो नाममा प्रयोग गर्ने पहिलो स्रष्टा धुस्वाँ भए पनि व्यक्तिका रूपमा धमना सायमीलाई सम्झन सकिन्छ।

राणाकालमा सानो दुर्घटनाका कारण सारा सायमीलाई श्री ३ महाराजले पानी नचल्ने बनाइदिएपछि धमना सायमीले आन्दोलन गरेर आफ्नो जातीय हक र अधिकार लिएर छाडेका थिए, उनैको सम्झनामा धुस्वाँले यसलाई ताजको रूपमा लिए।

 र धुँस्वाले इज्जतका साथ प्रयोग गरेपछि यो एक आदरणीय थर बन्न पुग्यो, आज कयौं कलाकार, काटुर्निस्ट, लेखक यही थर सायमी प्रयोग गरेर चर्चामा आएका छन्।
...
काठमाडौंसित निकटता भएका धुस्वाँको बाल्यकाल तराईको गौरमा बित्यो भने अध्ययन क्रम भारतमा। हिन्दीमा लेखन सुरु गरेर साहित्यमा प्रवेश गरेका धुस्वाँलाई विवाहपछि पत्नी वसुन्धराकै कारण मातृभाषामा लेख्ने अग्रसरता जुट्यो।

यसलाई विवाहपछिको ठूलो पुरस्कार नै मान्न सकिन्छ तर उनको पीडा जीवनभर एउटै रह्यो। उनी भन्थे,'तराईमा मलाई नेवार भन्थे, काठमाडौंमा मधिसे अनि भारतीय साहित्यकारले नेपाली भनेर होच्याउँथे तर म हो कुन भाषा र जातिको? सेवा त मैले सबै भाषाको बराबर नै गरेको छु।'

यसैको जवाफ उनी बाँचुन्जेल कसैले दिएनन्। यही कारणले पनि उनलाई प्रज्ञा प्रतिष्ठानको कुर्सीसम्म आउन ६० वर्षको उमेर कटाउनुप:यो, जबकि आजको परिस्थितिमा आफ्नो जिल्ला र जातको कुरा र बखान गरेको भरमा एक दर्जन कविता लेखेर थन्केका मान्छे पनि 'प्राज्ञ' भएका छन्।

धुस्वाँ सायमी र बीपी कोइरालाको लेखनका केही पक्ष मिल्दाजुल्दा छन्, पञ्चायतकालमा यी दुवै आआफ्नै कारणले भारतमा थिए, बीपी भाषणमा राजालाई गाली गर्थे धुस्वाँ कवितामा।

बीपीले हिन्दी भाषामा कथा लेखेर साहित्यमा प्रवेश गरे तर पछि हिन्दीमा लेख्न छोडिदिए तर धुस्वाँ पछिसम्म हिन्दी साहित्यमा सक्रिय उपन्यासकार रहे। उनको 'मैं सडक मै सराय', 'गं:की' हिन्दीका पाठकका पनि प्रिय कृति भए।

यहाँसम्म कि पञ्जाबी भाषाकी चर्चित लेखिका अमृता प्रितमले धुस्वाँलाई नायक बनाएर 'अदालत' नामको उपन्यास लेखे। यो उपन्यास प्रकाशनअघि विवादमय होला भनेर लेखिकाले पात्रलाई 'असमिया' बनाइदिए।

भारतकी सर्वाधिक चर्चित लेखिका अमृता प्रितमले आफ्नो आत्मकथा 'रसिदी टिकट' मा एकैजना नेपाली लेखकको बारेमा चर्चा गरेका छन्, ती हुन्, धुस्वाँ।

पद्म विभूषणले सम्मानित लेखिका अमृता प्रितमलाई भेट्न दिल्लीमा दार्जिलिङबाट उपन्यासकार विन्द्या सुब्बा भेट्न गएकी थिइन्। उपन्यासकार सुब्बालाई अमृता प्रितमले पहिलो प्रश्न नै धुस्वाँको बारेमा गरेपछि उनी चकित भइन्। र, आफूले नचिनेको भन्न लाज मानिन् र नचिनेकोमा पछुताएर फर्किन्।

उनी काठमाडौं आउँदा धुस्वाँ आफ्नो जीवनको अन्त्य बेलातिर थिए, शायद विन्द्या सुब्बाले आफ्ना अग्रज लेखकलाई जीवनभर नै भेट्न पाइनन्। आठ वर्षअघिको यो कुराले अहिले पनि नेपाली साहित्यको अवस्था दर्शाउँछ।
...
चेतनभगत पढ्ने हाम्रा पाठकले भुलेर भट्केर ध.च. गोतामे वा माया ठकुरीका जाज्वल्यमान लेखन पढेका वा देखेको होलान्। यो पाठकको मात्र होइन, हाम्रा गुटबन्दीमा फँसेका लेखकको पनि बाहेनियज्म चरित्रको प्रतिरूप हो।

अहिले पनि हाम्रा कवि लेखक आआफ्नो पार्टी, जिल्ला र अञ्चलका लेखक कविको धरहरासरह बयान गर्छन्, भला ! उनले भान्टाको जंगल नै लेखेको किन नहोस्।

भारतमा प्रसिद्ध भइसकेका धुस्वाँलाई चिन्न हामीलाई अमृता प्रितमको कलमको सहायता चाहियो। त्यो चाहे डायमनशमशेर नै किन नहोस्, जसलाई फ्रान्सले सम्मानित गरेपछि मात्र हामीले हाम्रा गौरव भनेर चिन्यौं।

कविता, कथा, निबन्ध, उपन्यासमा व्यापकता भएका धुस्वाँले हिन्दी, नेवारी, नेपालीबाहेक अंग्रेजीमा पनि किताब लेखेका छन्,'लोटस अफ नेपाल'। त्यस किताबको प्रकाशन सूचना विभागले गरेको थियो।

धुस्वाँ लेख्ने, पढ्ने र लेखेको कुरा सुनाउने अनि अरूको पनि सम्मानपूर्वक सुन्ने आफ्नो बानीका कायल थिए। उनी आफ्नो किताब जसले छापे पनि किताब छाप्न नसक्ने कवि लेखकका किताब आफू छापिदिन्थे।

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पहिलो पुस्तक छपाउन धुस्वाँले आर्थिक सहयोग गरेका थिए। यसबाहेक उनले नयाँ पुस्ताका धेरै कवि लेखकको कृति प्रकाशन गर्न सघाएका थिए।
...
धुस्वाँ किताब र कलमका सौखिन थिए ।

पहिले उनको घरमा पुस्तकालय थियो, पछि पुस्तकालय नै उनको घर भएर गयो। र, त्यो पुस्तकालय अब उनको देहावसानपछि नेपाल भाषा एकेडेमीलाई हस्तान्तरण गरिएको छ।

धुस्वाँ मूलत: कवि हुन्, कवि हृदयका कवि। उनको कवितामा दमित नेपालीको आवाज र पीडित नागरिकको वेदना सदैव गुञ्जिन्थ्यो। उनले सबैभन्दा पछि लेखेको कविताको एक अंश यस्तो पनि छ,

धेरै पटक देश बदलेर हेर्‍यौं

सक्छौ भने एकपटक जनता बदलिइ हेर।

उनको यो कविता चुनौती थियो, उनले चुनाव जिताएर पठाएका नेताहरूलाई।

आज उनको र उनको जीवनसंगिनीको नाउँमा एउटा प्रतिष्ठान छ, जसमा उनको चर्चित कृतिको नाउँ पनि जोडिएको छ, गं:की धुँस्वा वसुन्धरा प्रतिष्ठान।

यस किसिमको कुनै साहित्यिक संस्था सम्भवत: यो पहिलो नै हुनुपर्छ। यस प्रतिष्ठानले हरेक दुई वर्षमा दुई विधाका सर्जकलाई पुरस्कृत गर्ने गरेको छ, साहित्य र कला।

अनि हरेक दुई वर्षमा नेपाली र गैरनेपाली भाषामा लेख्ने लेखकलाई पनि सम्झने गरेको छ।

धुस्वाँको सपनाअनुसार यस प्रतिष्ठानले मगर, तामाङ, भोजपुरी र यसपालि मैथिली भाषाको कृतिलाई पुरस्कृत गर्दैछ।

कवि शमशेरबहादुर सिंहको भनाइ सापट लिएर यहाँ भन्नै पर्ने हुन्छ, संसारका हरेक भाषा हाम्रा मातृभाषा हुन्।

धुस्वाँ नेपालमा रहेका भाषाको रक्षणका निम्ति निबद्ध थिए।
http://archive.annapurnapost.com/News.aspx/story/5542?_REQUEST=News.aspx/story/5542#sthash.3jvdpJpU.dpuf


Audiobook of Nepali translation:
http://shrutisambeg.blogspot.com/search/label/%22%E0%A4%97%E0%A4%82%E0%A4%95%E0%A5%80%22%20-%20%E0%A4%A7%E0%A5%81%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%81%20%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A4%AE%E0%A5%80

No comments: