सत्यमोहन जोशी
असोज १३, २०८० शनिबार १३:३९:५४
‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी’ जसले नेपाली लोकसाहित्य, इतिहास र संस्कृतिका क्षेत्र उर्वर बनाएर २०७९ असोजमा देहान्त भए। उनले आफ्नो जीवनको लोकसाहित्य र अरनिको खोजयात्रालाई जीवनकै महत्तवपूर्ण कार्य माने। उनले १३औं शताब्दीमा नेपाली कलाकार अरनिकोले चीनमा निर्माण गरेका त्यहाँका सबैभन्दा सुन्दर श्वेत चैत्यदेखि अन्य थुप्रै सम्पदा निर्माणकार्यको खोजसँगै अरनिको नेपाली भएको पत्ताा लगाउने काम गरे। चीनमा प्रख्यात रहेका तर नेपालले थाहै नभएका निधि ‘अरनिको’को खोज गरेर ल्याएका थिए। जोशीले त्यसबेला अरनिकोलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गराउन महत्तवपूर्ण भूमिका खेलेका थिए। प्रस्तुत छ, उनै जोशीसँग पुस्तक लेखनका क्रममा झन्डै पाँच वर्षअघि लेखक जितेन्द्र रसिकले गरेको संवादको आधारमा अरनिकोको खोजसम्बन्धी वाङ्मय शताब्दीपुरुष जोशीको अनुभूति :
त्यतिबेला श्रीमती राधादेवी लिएर चीन गएँ। त्यसपटक भने दुई वर्षमात्र बसें। अघिल्लो भ्रमणमा नेपाली भाषा पढाएका विद्यार्थी पेकिङका जिम्मेवार ओहोदामा पुगिसकेका थिए। उनीहरू रेडियो पेकिङदेखि परराष्ट्र सेवा हुँदै अध्ययन संस्थान र विभिन्न परियोजनामा रहेर काम गर्दै थिए। त्यसबेला चीनमा सांस्कृतिक क्रान्ति पनि सकिएको थियो। चीन नयाँ उमंग र उत्साहका साथ अघि बढ्न थालिसकेको थियो।
पेकिङ पुग्नासाथ अर्थात् २०३७ असार १९ गते सिन्ह्वा समाचारले श्वेत चैत्य पर्यटकका निम्ति खुला गरेको समाचार प्रकाशित गर्यो। त्यसबारे खोज अनुसन्धान गर्ने बाटो खुल्यो। यो मेरा लागि वर्षा हटेर घाम लागेजस्तै भयो। वर्षौंंदेखि अरनिकोबारे अनुसन्धान गर्न तत्पर मलाई सान्त्वना मिल्यो। सबै हिसाबले त्यो भ्रमण अरनिकोबारे बुझ्न उपयुक्त भयो।
पढाएर बाँकी रहेको समय अरनिकोको खोज अनुसन्धानमा लगाएँ। खोज्दै जाँदा उनलाई समाधिस्थ गरेपछि लेखिएको अन्त्येष्टि शिलालेख (युनरल इन्स्क्रिप्सन) छ भन्ने पत्तो पाएँ। त्यो शिलालेखको प्रतिलिपि खोजी गरें। मेरा चिनियाँ विद्यार्थीसँग सहयोग मागें। उनीहरूलाई के गर्न खोज्दैछु, अत्तोपत्तो थिएन। अरनिकोबारे कतै केही फेला पर्ने बित्तिकै त्यसैमा लाग्थें। विद्यार्थी ‘यो के गर्न लागेको हो ?’ भनेर छक्क पर्थे। तर पनि उनीहरू भरमग्दुर सहयोग गर्थे।
बहुमुखी प्रतिभा र सीप देखेपछि नै सम्राट्ले अरनिकोलाई राजकीय कलागुरुको पदले विभूषित गरे। त्यसपछि वास्तुकला विभाग प्रमुखमा नियुक्त अनि मन्त्रीसरहको उपाधि ‘क्वाङलू ता फू ताश थू’ प्रदान गरे।
एउटा विद्यार्थी अलि टाठो थियो। उसैले पेकिङको कुन चाहिँ विश्वविद्यालयको लाइब्रेरीबाट खोजेरै शिलालेखको कपी ल्याइदियो। तर, त्यसमा लेखिएको कुरा कसरी पढ्ने ? हामीलाई त चिनियाँ अक्षर सबै उस्तै लाग्छन्। सबै चिनियाँले त्यो अक्षर बुझ्छन् भन्ठान्छौं। मलाई चीनमा लिपि पढ्ने मान्छेको खाँचो भयो। अरनिकोको अन्त्येष्टि शिलालेख अब कसले पढेर मलाई बुझाइदिने ? मेरा विद्यार्थीको त बसको कुरै थिएन। अर्कोतिर मैले त्यो अरनिकोको खोजी कुनै सरकारी स्तरबाट गरिरहेको थिइनँ। भाषाशिक्षक रूपमा एउटा प्रयोजन बोकेर चीन पुगेका बेला निजी तवरमै अध्ययन गर्न खोजेको थिएँ। यस्तो बेला सरकारी सहयोग पाउने कुरै थिएन।
‘शिलालेखको प्रतिलिपि ल्याएरमात्र पुग्दैन, यसको अर्थ पनि बताइदेऊ’ भनेर तिनै विद्यार्थीलाई भनें। उनीहरू बढो अनुशासित थिए। ‘गुरुले अह्राएपछि जस्तो काम पनि गर्नुपर्छ’ भन्ने किसिमका। उनीहरूले नै पुराना मानिससँग भेटघाट गरेछन्। बल्लतल्ल त्यो शिलालेखको उतार गरिदिने एकजना वृद्ध ‘स्कलर’ फेला परे। मसँग अलिअलि पैसा थियो। त्यो पैसा दिएपछि उनले नै त्यो शिलालेखलाई आधुनिक चिनियाँ भाषामा लेखिदिए।
त्यसपछि अथ्र्याइदिने त मेरा विद्यार्थी छँदै थिए। यसैबीच एकजना जापानी एम इसिदाले निकैअघि अरनिकोबारे शोध गरेर लेख तयार पारेका रहेछन्। त्यो पनि चीनमै थाहा पाइयो। त्यतिबेला जापानमा बद्रीप्रसाद श्रेष्ठ राजदूत थिए। मैले त्यो लेखबारे जानकारी गराउँदै जापानमा खोजी गरिदिन अनुरोध गरें। उनले ‘धेरै कोसिस गर्दा पनि भेटिएन’ भनेर लेखी पठाए। फेरि अर्को चिठी आयो। ‘मैले फेला पारें’, लेखिएको थियो, ‘तपाईंलाई छिट्टै त्यसको कपी पठाउने व्यवस्था गर्दैछु।’
अभिलेखअनुसार अरनिकोका बुबा लाखाँना। आमा सुमाखची। तिनै बुबाआमाको कोखबाट सन् १२४४ मा ललितपुरमा जन्मेका थिए बलबाहु (अरनिको)। अरनिकोका बाजेको नाम मितिअर, बजैको नाम सुङती लाछिमे हो। बाल्यकालदेखि नै अरनिकोको बुद्धि तेज थियो।
अत्यन्तै आनन्द लाग्यो। उसबेला एक जापानीले चीन बसेर अरनिकोबारे अनुसन्धान गरेर लेखेको लेख थियो त्यो। जापानीज भाषामा लेखिएको लेख त आयो। समस्या उही। कसरी बुझ्ने ? मेरा विद्यार्थीलाई जापानी भाषा आउँदैनथियो। उनीहरूले नै जापानी र चिनियाँ भाषा जानेका मानिस खोजेर ल्याए। त्यसको चिनियाँ भाषामा अनुवाद मेङ ग्वाङ जीले गरिदिए। यसरी जापानी अध्ययनलाई पनि चिनियाँ भाषामा ढालेर विद्यार्थीमार्फत नै मैले बुझ्ने मौका पाएँ। त्यतिबेलै चाइना डेलीले एकपटक अरनिकोबारे एउटा सामग्री प्रकाशित गर्यो। त्यो सामग्री पछ्याउँदै चाइना डेलीका सम्पादकलाई पत्र लेखें। पत्रमा अरनिकोको चिहान र शिलालेख हराएको अवस्थामा त्यसलाई फेरि खोजी गरिनुपर्ने औंल्याएको थिएँ। त्यो पत्रको कुनै असर भने परेजस्तो लागेन।
मैले प्रशिक्षण दिएका विद्यार्थीमा गुरुलाई गर्ने आदर, सम्मान र समर्पण गज्जबको थियो। मेरा चिनियाँ विद्यार्थीले पेकिङ विश्वविद्यालयको पुस्तकालयमा पहुँच हुने बनाइदिए। विशेषतः अरनिकोसम्बन्धी अध्ययन–अन्वेषण सामग्रीको मूलस्रोत मानिएको ग्रन्थ ‘स्वएलौची’ उपलब्ध भयो। विद्यार्थीले त्यसमा लेखिएका कुराको व्याख्या पनि गरिदिए। उनीहरूलाई सिकाएको भाषा अन्ततः मलाई पनि काम लाग्यो। विदेशी लेखक लुसिनो पेटिकले नेपालको मध्यकालीन इतिहासबारे ग्रन्थ लेखेका थिए। त्यस पुस्तकमा त्यतिबेला खासै सम्बन्ध नरहेको चीनबारे उनी धेरै गहिराइमा गएका थिएनन्। केवल एक ठाउँमा मात्र अरनिकोबारे थोरै उल्लेख गरेको थियो। उक्त पुस्तक बेइजिङमा फेला पारेर आमनेपाली पाठकसम्म ल्याउने काम मैले नै गरेको थिएँ।
चीनबाट फर्केपछि त्यहाँ देखे–भोगेको आधारसमेत समेटेर अरनिकोमै केन्द्रित भएर लेखें। त्यसपछि बल्ल अरनिकोका कुरा बाहिर आए। नेपाल भाषा परिषद्बाट अरनिकोमै केन्द्रित महाकाव्य ‘अरनिकोकृत श्वेतचैत्य’ लेखें। जुन सुरुमा नेपाल भाषामा लेखें। महाकाव्य २०४० सालमै छापियो। त्यसपछि ‘कलाकार अरनिको’ भन्ने अनुसन्धानात्मक कृति लेखें। २०४४ सालमा उक्त कृति छापियो। अनि त हामी कति धनी भयौं कति ! एउटै अरनिकोको योगदानले हाम्रो सान र मान बढ्यो। यसरी अरनिकोको नाम चल्यो। ग्रन्थमार्फत अरनिकोले नेपाल र चीनको सांस्कृतिक सम्बन्ध, मैत्री सम्बन्ध, बौद्धिक सम्बन्धलाई मजबुद बनाउन मद्दत गर्यो। पछि अरनिकोबारे दुईवटा टिकट नै निस्कियो। सरकारले एउटा १५ पैसा जाने एउटा १५ रुपैयाँ जाने टिकट निकाल्यो। यसरी चीन र नेपालको सम्बन्धबारे पृष्ठभूमि दिने काम गरें।
अरनिकोको खोज : संयोग नै संयोग
राजा महेन्द्रको ‘कू’कै कारण मैले अरनिकोको खोज अनुसन्धानका लागि बाटो खुलेको अनूभूति गर्छु। यदि त्यसो नभएको हो भने अरनिकोको खोज हुने थिएन। यदि भए पनि अवसर पाउने थिइनँ। मध्यकालमै तिब्बत हुँदै बेइजिङ पुगेका उनी त मेरै थलो ललितपुरका प्रतिभा पो रहेछन्। मैले लेखेका अरनिकोसम्बन्धी कृतिहरू अहिले पनि नेपाल चीन राजकीय भ्रमणका लागि पनि एउटा दरिलो मियो बनिरहेका रहेछन्। चीनको श्वेत चैत्य अगाडि उभिएर हेर्दा यस्तो लाग्थ्यो, त्यहाँ श्वेत चैत्य होइन, अरनिको उभिइरहेका छन्। चैत्यभित्र बाँचिरहेका ती कलाकार थिए बलबाहु।
चिनियाँहरू ‘अरनिकोलाई पलपाउ’ पनि भन्थे। उनीहरू नामोच्चारण बिगार्ने पनि गर्छन्। जस्तो कि नेपाललाई ‘निपर’ भन्छन्। जोशीलाई योशी। अरनिको चिनियाँ नाम हो। कोही चिनियाँ अरनिकोलाई आनिक पनि भन्छन्। उनै आनिक अरनिको थिए। तर उनको नेपाली नाम बलबाहु थियो। अरनिको चीन प्रस्थान गर्दा नेपालमा राजा अभय मल्लको (१२१६–१२५५) शासनकाल थियो।
यसरी अनेकन संयोगका कारण अरनिकोको खोज अनुसन्धान सफल भयो। २०१३ सालमा काठमाडौंमा चतुर्थ विश्व बौद्ध सम्मेलन नभएको भए, भएर पनि चिनियाँ प्रतिनिधि मण्डल नआएको भए वा आएर पनि २०१६ सालमा हामीलाई अवलोकन गर्न नबोलाएको भए यो सत्यमोहनले होइन, कुनै समयमा अर्के कुनैले अरनिकोलाई चिनाउँथे होलान्। तर सबै संयोग मिल्यो र आठ सय वर्षअगाडिको इतिहासलाई सार्वजनिक गर्ने अवसर मिल्यो।
अन्यथा यो विभूतिको नाम र कामबारेमा सुन्ने अवसर कहिले पाउँथ्यौं ? उनले निर्वाचित प्रधानमन्त्रीलगायत मलाई पनि अपदस्थ नगरेका भए म डाइरेक्टरको पदमै टाँसिरहेको हुन्थें वा अर्को नियुक्ति खान दौडिरहेको हुन्थें अरनिकोको खोज अवधिका बेला। जब पुरातत्त्व तथा संस्कृति विभागको निर्देशक पद खोसियो, त्यही कारण खोज अनुसन्धानका लागि नयाँ अवसर जुर्यो। अरनिकोको खोजको आधारभूमि तयार भयो। अझै भनौं खोजको मनस्थिति बन्यो। चिनियाँसँग सम्बन्ध विस्तार हुन सफल भयो। तर, चीनमा सांस्कृतिक क्रान्तिका कारण खोज अनुसन्धान सफल हुन सकेन। विक्रम संवत् २०३७ सालमा पेकिङको नेपाली प्रसारण सेवामा जान नपाएको भए पनि अरनिकोसम्बन्धी खोज अनुसन्धान पूरा गर्न पाउने थिइनँ। जे भयो राम्रैका लागि भयो।
को थिए अरनिको ?
प्राप्त अभिलेखअनुसार अरनिकोको बुबा लाखाँना। आमा सुमाखची। तिनै बुबाआमाको कोखबाट सन् १२४४ मा ललितपुरमा जन्मेका थिए बलबाहु (अरनिको)। अरनिकोका बाजेको नाम मितिअर, बजैको नाम सुङती लाछिमे हो। बाल्यकालदेखि नै अरनिकोको बुद्धि तेज थियो। भनेका कुरा चाँडै बुझ्दथे। सिकाएका कुरा चाँडै सिक्ने स्वभावका थिए। अन्य बालकभन्दा मेहेनती। अलि ठूलो भएपछि यिनले बौद्ध धर्मका पुस्तकहरू तिनमा रहेका अर्थहरू जानीबुझी सम्झिराखे।
अरनिकोका साथीमध्ये कसैले चित्रकला त कसैले नापतौलसम्बन्धी ज्ञान लिए। कसैले मूर्तिकला सिकेका थिए। बौद्ध ग्रन्थ पढेका बेला एकपटक सुनेपछि सबै स्मरणमा राख्न सक्ने क्षमता अरनिकोमा थियो। चित्र र मूर्ति बनाउनमा यिनी निपुण भए। यिनले धातुका मूर्तिहरू ढाल्ने काम पनि गर्न सक्थे। उनको जीवनकालमा नै सन् १२५५ मा ठूलो भूकम्प गएको थियो। त्यस भूकम्पबाट धेरै जनधनको नोक्सानी भएको थियो। उनको नेपालमै बिहे भइसकेको थियो। उनको पत्नीको नाम चैत्य लक्ष्मी थियो।
बलबाहु (अरनिको) कसरी चीन पुगे ?
चिनियाँ सांस्कृतिक प्रतिनिधिमण्डलमा सदस्य भई नेपाल आएका विद्वान् च्वाङ चेन सियाका अनुसार चिनियाँहरू ‘अरनिकोलाई पलपाउ’ पनि भन्थे। उनीहरू जुनसुकै बिरानो नाम वा शब्दलाई आफ्नो भाषामा भावार्थ गरेर नामकरण गर्छन्। अथवा नामोच्चारण बिगार्ने पनि गर्छन्। जस्तो कि नेपाललाई ‘निपर’ भन्छन्। इन्डियालाई इन्दु भन्छन्। शाक्यलाई सच्चा भन्छन्। जोशीलाई योशी। अरनिको चिनियाँ नाम हो। कोही चिनियाँ अरनिकोलाई आनिक पनि भन्छन्। उनै आनिक अरनिको थिए। तर उनको नेपाली नाम बलबाहु थियो। अरनिको चीन प्रस्थान गर्दा नेपालमा राजा अभय मल्लको (१२१६–१२५५) शासनकाल थियो।
अरनिको चीनसम्म पुग्दाका सन्दर्भ पनि रमाइला छन्। तिब्बतमा ब्रह्मपुत्र नदीको दक्षिणतिर त्रोम नदी बग्छ। त्यसैको किनारमा शाक्य बस्ती छ। त्यसैको तल पर्ने शाक्या गुम्बा काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने महत्त्वपूर्ण गुम्बा थियो। नेपालका बौद्ध विहार र यो गुम्बाबीच नजिकको सम्बन्ध थियो। यो गुम्बाका संघनायक थिए पाहसपा। भोटले एउटा विशाल स्तूप बनाउने भएछ। त्यसका लागि उसलाई अनुभवी र दक्ष कलाकारहरू चाहिएको रहेछ। त्यहीबेला अर्थात् सन् १२६० मा युआन वंशका संस्थापक शचु (कुबलाई खाँ)ले नेपालका राजालाई सयजना कालिगड पठाउन अनुरोध गरे। कुब्लाई खाँले आफ्नो राजगुरु पाहसपालाई नेपालबाट भोटमा नेपाली कालिगड ल्याउने जिम्मेवारी दिए। पाहसपा कुब्लाई खाँको आज्ञा लिएर कालिगड लिन नेपाल आए। राजाले भोट जान इच्छुक कलाकारहरूको खोजी गर्दा बल्लबल्ल ८० जना भेला पारे।
तत्कालीन चीनमा कुब्लाई खाँ असाध्यै शक्तिशाली शासक थिए। विद्वान् पाहसपाले राजालाई रिझाएका थिए। कुब्लाई खाँले यिनै पाहसपालाई आफ्नो राजगुरु बनाई बौद्ध धर्मदर्शनको दीक्षा ग्रहण गरेका थिए। फलस्वरूप सम्राट्ले पछि यिनै पाहसपालाई तिब्बती क्षेत्रको धर्मानुशासक बनाएर पठाएका थिए। यसरी तिब्बत फर्किएका पाहसपाले आफ्नो शाक्या गुम्बाको चौतर्फी विकास योजना बनाए। नेपालबाट गएका ८० सदस्यीय कालिगड टोलीका नेतृत्वकर्ता थिए अरनिको। युआन राजवंशीय वंशावलीअनुसार उनी एक सिद्धहस्त वास्तुकलाविद्, कालिगड, चित्रकलाविद्, मूर्ति कलाकार अहिलेको भाषामा इन्जिनियर थिए। उनी एक बौद्धमार्गी नेपाली थिए। मन्दिर, चैत्य, मूर्तिका आकृति हेरेरै थरीथरीका रङको बडो सुन्दर पाराले समायोजन गर्थे। कलाकारहरू भोट लानेबेला नाइके कसलाई बनाउने भनेर सोधनी हुँदा कोही अघि सरेनन्। अन्तमा सबैले हाम्रो नाइके बलबाहु (अरनिको) भनेपछि उनै अगुवा बने।
भोट पुगेपछि सम्राट्का गुरुले स्वर्ण चैत्य निर्माणको नेतृत्व कसले गर्ने भनेर सोधे। १७ वर्षको कलिलो उमेरका अरनिकोले आफू त्यो कार्यका लागि टोलीको नाइके बन्न तयार भएको बताए। विरोध गर्नेहरूले कच्चा उमेरका छन् भनेर विरोध गरे। तर उनले ‘उमेरमा कच्चा छु, तर मनको कच्चा चाहिँ होइन’ भने। त्यसपछि भने नेतृत्वको जिम्मा उनीमाथि नै सुम्पिइयो। उनलाई देखेर सम्राट्का गुरुले अचम्म मान्दै स्वर्ण चैत्य बनाउने आदेश दिए। अरनिकोको नेतृत्वमा दोस्रो वर्ष सन् १२६१ मा स्वर्ण चैत्य बनाउने काम सम्पन्न भयो। उमेरमा बच्चै देखिएकाले सम्राट्का गुरुले स्वर्ण चैत्य बनाउन लगाएर उनको परीक्षा लिएका थिए। स्वर्ण चैत्यको बनावट उत्कृष्ट ठहरियो। निर्माण सम्पन्न भएपछि ‘अब म आफ्नो देश फर्कन्छु’ भनेर अरनिकोले सम्राट् गुरुलाई अनुरोध गरे। गुरुले भने, ‘अहिले नै कहाँ नेपाल फर्कने ? तिमीले मुख्य कामको थालनी नै गरेको छैन। लौ यो कलाकार त विचित्रको रहेछ। म यसलाई सम्राट्कहाँ लिएर जान्छु।’ भन्दै कपाल खौरन लगाए र उनलाई आफ्नो शिष्य बनाए।
अरनिकोले चीनमा के गरे ?
सम्राट् गुरुले अरनिकोलाई आफूसँगै सम्राट्को दरबारमा लिएर गए। पहिलो भेटमै सम्राट् कुब्लाई खाँले अरनिकोलाई फेरि एउटा बिग्रिरहेको पुरानो तामाको मूर्ति बनाउन लगाएर उनको शिल्प परीक्षण गरे। अरनिकोले त्यो मूर्ति पहिलेभन्दा दस गुणा राम्रो बनाइदिए। सम्राट् अत्यन्त सन्तुष्ट भए। पहिलो भेटमै सम्राट्लाई प्रभावित पारेपछि सम्राट्ले उनलाई एउटा विशाल श्वैत चैत्य र ‘ता शन् सौ वान् आन् श’ नामको बौद्धविहार बनाउने जिम्मा दिए। यो कुरा चीनको युआन वंशावलीमा छ।
श्वेत चैत्य अरनिको स्वयंले डिजाइन गरी साथमा गएका कलाकार, चिनियाँ कलाकार र ज्यामीहरूसँग मिलेर निर्माण सुरु गरे। यो परियोजना लक्ष्यअनुसार पूरा हुन आठ वर्ष लागेको थियो। श्वेत चैत्य निर्माण भएपछि श्वेतचैत्यको वास्तुकला र शैलीले चीनको बौद्ध धर्म सांस्कृतिक क्षेत्रमा एउटा नौलो अध्याय थपियो। एउटा रमाइलो उखान चीनमा प्रचलित छ, ‘श्वैत चैत्यको छाया हुँदैन’। चिनियाँले उखान बनाए। त्यसको स्वरूप यति मिलेको छ कि छाया फेलै नपर्ने रहेछ। अनुपम सिर्जना हो त्यो। आश्चर्यजनक वास्तुकलाको नमुना।
अरनिकोले श्वेत चैत्यमात्र बनाएनन्, राजकीय गुम्बाहरूमा धेरै बुद्धमूर्ति निर्माण गरे। सप्तरत्न जडित एक अति कलापूर्ण लौहचक्र पनि तयार पारे। रेशमी कपडामा सम्राट् कुब्लाई खाँ र उनका रानीका चित्र तयार पारे। यो बहुमुखी प्रतिभा देखेपछि नै सम्राट्ले उनलाई राजकीय कलागुरुको पदले विभूषित गरेका थिए। अरनिको सीप र बहुमुखी प्रतिभाबाट प्रभावित भएर सम्राट् कुब्लाई खाँले उनलाई वास्तुकला विभाग प्रमुखमा पनि नियुक्त गरे। त्यसैगरी मन्त्रीसरहको उपाधि ‘क्वाङलू ता फू ताश थू’ प्रदान गरे। त्यसपछि उनलाई चीनमा बस्न करै लाग्यो।
सम्राट् कुब्लाई खाँका कान्छी श्रीमतीले ‘यसलाई मेरै एउटी भतिजी दिन पाए हुन्थ्यो’ भनेरै राजामा बिन्ती चढाएरै बिहे भएको प्रसंग मेरो किताबमा उल्लेख गरेको छु। नेपालमै परिवार भएको एउटा ठिटोको उता एकदमै फरक जन्म र हुर्काइ भएको बेग्लै समाजकी केटीसँग बिहे भयो। चिनियाँ पद्धतिमा त्यहाँ नेपाली मिसिएको छ। बेग्लै भाषा, बेग्लै देशका मानिसबीच कसरी अन्तरसम्बन्ध विकास भयो ? यो सबको बयान छ मेरो महाकाव्यमा। शक्तिशाली सम्राट् कुब्लाई खाँको दरबार पुगेका अरनिकोले चीनमा रहँदा तयार पारेका सिर्जनाको ठूलै सूची छ। उनी दरबारको अत्यन्त निकट शक्तिशाली व्यक्ति भए। अरनिकोले शाक्या गुम्बामा एउटा अग्लो मन्दिर र त्यहाँ राख्न शाक्यमुनि बुद्धको विशालकाय सुवर्ण मूर्तिमात्र बनाएनन्, त्यसबाहेक सुवर्ण चैत्य र अनेकन बौद्ध मूर्तिहरू पनि बनाए। यी सन्दर्भ पाहसपाले नै सुनको अक्षरले लेख्न लगाएको ‘कंग्यूर’ र ‘तंग्यूर’ जस्ता बौद्धधर्मका ग्रन्थहरूमा उल्लिखित छन्।
अरनिकोले नेपाल रहँदा बिहे गरेका भए पनि चीन पुगेपछि नौ वटीसँग उनको बिहे भयो। नेपालको सहित उनका १० वटी श्रीमती थिए। उनीहरूबाट ६ जना आफूतुल्य शिल्पी छोरा जन्मिए। आठवटी छोरी जन्मिए। उनका छोरा र शिष्यले मृत्युपर्यन्त अरनिकोका शैलीलाई निरन्तरता दिए। तत्कालीन चिनियाँ सामाजिक अवस्थाका कारण नै उनले धेरै विवाह गर्नु परेको पाइन्छ। जति पत्नीहरू भए त्यति नै प्रतिभाशाली सन्तानहरू प्राप्त हुन्छ भन्ने विश्वास र मान्यताले गर्दा नै उनका धेरै पत्नी भएका हुन्।
नेपाली वंशावलीमा भेटिएनन् अरनिको
यी महान् कलाकारका बारेमा नेपाली वंशावलीमा कहीँ कतै नामसमेत लिइएको पाइँदैन। धन्न चीनका युआन वंशका इतिहासकारले खोजबिन गरेर लेखिदिए र यी कलाकार आज हाम्रा राष्ट्रिय विभूति बन्न पुगे। सात सय वर्षपछि आज पनि अरनिकोको अमर’ श्वेतचैत्य पेकिङको मिङ्याङ बिहारमा जस्ताको तस्तै छ। जसलाई आज पनि चीनमा भएका सम्पूर्ण चैत्यमा सबैभन्दा ठूलो र सबैभन्दा आकर्षक मानिएको छ। सन् १९६१ मा चीन सरकारले श्वैत चैत्यलाई राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्ति रूपमा सूचीकृत गर्यो।
यसरी यो नेपाल–चीनबीच परम्परादेखि चलिआएको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको महत्त्वपूर्ण प्रतीकको रूपमा श्वेत चैत्य रहिरहेको छ। अरनिकोको ६२ वर्षको उमेरमा सन् १३०६ मा देहान्त भएको थियो। उनको समाधिस्थल बेइजिङकै वाङफिङ जिल्लास्थित ‘स्याङ शान स्याङ काङ च थुआन’ रहेको बताइन्छ। त्यहाँ उनको मृत्युको पाँच वर्षपछि उनको जीवनी र कृतिको विस्तृत वर्णन गरिएको प्रशस्तिसहित कलात्मक स्तम्भ खडा गरिएको थियो। चीनको साम्राज्यकालीन इतिहासमा थोरैमात्र विदेशीका जीवनी समेटिएका छन्। जसमध्ये नेपालका अरनिको पनि एक हुन्।
https://annapurnapost.com/story/443516/
No comments:
Post a Comment