Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

Sunday, March 31, 2024

पनौतीका भित्तेचित्र

 

२० साउन २०८०, शनिबार


काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका, खोपासीमा भएको लिच्छवि संवत् ५२० को अभिलेखमा शिवदेव र अंशु बर्माले द्वारोद्घाटन र कैलाश यात्राका समयमा खोपासी क्षेत्रबाट जनैपिच्छे पचास वटा सेता जातका माटो अर्थात् कमेरो केन्द्रमा पु-याउनुपर्ने थिति बसालेका थिए । कमेरो सेतो रङको माटो हो, विभिन्न मन्दिर देवस्थल तथा घर रङ्गाउन, सिँगार्न यसको उपयोग गरिन्थ्यो । लिच्छविकालका विभिन्न अभिलेखमा रङका बारेमा उल्लेख भएको पाइन्छ ।

संवत् ५२० को यो अभिलेख पनौती क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो । यस अभिलेखमा रेखाद्वारा निर्मित फूलहरूले सिँगारिएको धर्मचक्रको कलात्मक चित्र अङ्कित भएको छ । यस अभिलेखबाट चित्र, रङ र रङसित सम्बन्धित विषयको उपयोग पनौती क्षेत्रमा प्राचीन समयदेखि नै थियो भन्न सकिन्छ । साथै साँढे अङ्कित चित्र भएको लिच्छविकालीन मुद्रा पनि खोपासी र लायकुमा भेटिएको छ । 

मल्लकालमा पनौती क्षेत्र भक्तपुर राज्य अन्तर्गत पर्दथ्यो । भक्तपुरको विभिन्न मठ, मन्दिर, दरबारका भित्तामा विभिन्न देवदेवी तथा धर्म परम्परा समेटिएको भित्तेचित्र थिए र छन् । १८ इन्च उचाइ, कम्मरको भाग ९.५ इन्च र कम्मरको गोलाइ १५ इन्च भएको चार हजार वर्ष पुरानो प्राचीन नारी मूर्ति पनौती क्षेत्रमा विसं २०७७ सालमा फेला परेको थियो । हाल राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा यस मूर्तिलाई राखिएको छ ।आर्ष वाङ्मय र लिपि विकासको महत्व नामक स्तम्भमा अर्जुन विरक्ति लेख्नुहुन्छ, “आर्ष वाङ्मय उत्तरापन्थ नेपालबाटै वैदिक चिह्न स्वर र लिपिहरू संसारमा चलेका छन् । सम्पूर्ण चिह्न, लिपि, सङ्केतादि सम्पूर्ण भाषा आदिको उत्थान हुनुले वैदिक चिह्न र सङ्केत स्वरबाट ब्रह्माण्डको नेतृत्व भएको छ ।” यसले नेपाली रेखा र रेखाचित्रको प्राचीनताको जानकारी दिलाउँछ । यसकै डोबमा पनौती लम्केको देखिन्छ ।

हरेक माघ महिना पनौतीमा साँखु र भक्तपुरबाट माधवनारायण लाने प्रचलन छ । माधवनारायणले ताःस्वां (१०८ थरिका फूल) लिन यात्रा गराइएको मानिन्छ । १०८ थरिका फूलले रङ्गीन पनौतीको सङ्केत गर्दछ । पनौती विविध जातजाति र बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको नगर हो । विविध जातजातिले आ–आफ्नो पर्व र उत्सवमा चित्रहरू लेख्ने वा कोर्ने वा रङ भर्ने गरिएको पाइन्छ । विभिन्न देवस्थल, सतल र घरमा हाल पनि चित्र अङ्कित रहेको पाइन्छ । जनकलाल शर्माद्वारा लिखित ललित–कला र साहित्य नामक पुस्तकको भूमिकामा सूर्यविक्रम ज्ञवालीले “घरका विविध भागमा नेवार सिकर्मीले काठको जो अङ्कन गरेको हुन्छ, त्यसको प्रशंसा जति गरे पनि थोरै हुन्छ । घरको मूलढोकामा अङ्कन गर्ने चलन थिएन । त्यसका दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा नाना धार्मिक चित्र लेखाउने चलन थियो” भनी उल्लेख गर्नुभएको छ । साँच्चै दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा चित्र लेखाउने प्रचलन पनौतीमा जीवन्त देख्न सकिन्छ ।

लेखक रत्नप्रसाद अनामणि श्रेष्ठका अनुसार “निजी घर, भवन, पाटी, सतल, मन्दिर तथा विहारहरूमा सुन्दर कलात्मक विभिन्न देवी देवताका चित्र प्राकृतिक रङले कोरिएको पाइन्छ ।” पनौतीका निजी घर, भवन, सतल र मन्दिरमा रङले पोतिएको चित्र भेट्न र हेर्न सकिन्छ । मुकेश मल्ल र ज्ञानेन्द्र विवश, नेपाली परम्परागत शिल्पकला (सङ्गोष्ठी प्रतिवेदन) प्रतिवेदनमा उल्लेख गर्नुहुन्छ, “अनेक जातजातिका मौलिक पहिचानका रूपमा रहेका पहिरन, गरगहनामा शिल्पकलाको पक्ष अत्यन्त प्रबल रहेको पाइन्छ । तिनमा देख्न सकिने वा रहँदै आइरहेका सूक्ष्म बुट्टा–बनोटका रङ, रेखा, लता–लहरा अनेकौँ सुन्दर अनि सन्तुलित आकृतिहरू हेर्दा लाग्छ, हाम्रा पुर्खा शिल्पकलामा साँच्चै साह्रै नै धनी थिए ।” 

चित्ताकर्षक पनौती र यस वरपर देखिएका, भेटिएका शिल्पकला नियाल्दा यहाँको पुर्खाले कलाकारितामय पनौती बनाउन सफल भएको सहजै भन्न सकिन्छ । पनौतीको इतिहासको चित्र यी कलाकर्मले अँध्यारोमा ज्योति झैँ छर्लङ्ग देखाउँछ । ऐतिहासिक र प्राकृतिक गन्धमाला पर्वत अर्थात् कुञ्ज पर्वतको फेदीमा पवित्र शचीतीर्थ छ । उक्त तीर्थमा लीलावती र रुद्रवती नदीको सङ्गममा कलाकारिताले भरिएको एउटै ढुङ्गामाथि अवस्थित पुरातात्त्विक  पनौती अश्मनगरलाई नियाल्दा सौन्दर्योपासकको मन उद्वेलित हुन पुग्दछ । मन्दिरै मन्दिरले शोभयमान देखिने यो नगरमा अष्टमातृका र अष्टभैरवका मूर्तिले सजिएको आकर्षक टुँडालहरूले सोन्दर्य थपिरहेको छत्रशैलीमा निर्मित ब्रह्माणी (ब्रह्मायणी) मन्दिर छ ।

मातृसत्तात्मक नेपालको प्राचीनताको प्रतीक अजिमा र कुमारीले सिँगारिएको पनौती चित्रमय इतिहासमा उच्च स्थानमा छ । पनौतीमा मनाइने पर्व र विभिन्न जात्रामा चित्रात्मक शैली प्रयोग हुने गरेको पाइन्छ । चाइनाको ‘हन्ड्रेड केभ’ नामक गुफामा पनौतीको नमबुद्ध (नमोबुद्ध) को चित्र बनाएर सजाई राखिएको छ । यो गुफा विश्वविख्यात छ । यस चित्रले पनौती र नमबुद्धलाई संसारभर चिनाउन मद्दत गरेको छ । 

इन्द्रेश्वर, भालेश्वर र धनेश्वर तीन वटा किराँतकालीन चौँसट्ठी ज्योर्तिलिङ्ग पनौती भेगमा छन् । यी ज्योर्तिलिङ्गको आसन कमलको फूलको रहेको छ । शिलामा कुँदिएको कमलको फूलको चित्र र जललहरीमा भएको नागको चित्र पनौतीको महìवपूर्ण शिलाचित्र हुन् । विद्यालय निर्माण गर्न २०÷२५ फिटको थुम्को सम्याउँदा कुशादेवी विहारमा भेटिएको माटाको थाली र उक्त थालीमा कोरिएको चित्र अति प्राचीन भएको पुरातत्वका कर्मचारी बताउँछन् । पनौती इन्द्रेश्वर प्राङ्गणको सङ्ग्रहालयमा रहेको मध्यकालीन समयको तन्त्रका ग्रन्थमा विभिन्न पक्षलाई उजगार गर्ने चित्र छन् । कलाविद् मीनबहादुर शाक्यको भनाइ अनुसार सन् ९९८ का नेपाली शासक नरेन्द्रदेवको पालादेखि नै नेपालमा ग्रन्थचित्रको सुरुवात भइसकेको थियो । लिच्छविकालीन र मध्यकालीन समयका हितीहरूमा पनि कलात्मक चित्र पनौती क्षेत्रमा पाइन्छन् । पनौतीमा पाइएका ६५ वटा शिलालेखमा चित्रकलाको भरपूर उपयोग भएको पाइन्छ । पनौती भेगमा रहेका काठ, धातु र प्रस्तरमा भएको विभिन्न समयका चित्रात्मक कला नेपाली कलाका उच्चतम नमुना हुन् ।

बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डेबेँसी, बल्थली, ललितपुर, भक्तपुर आदिले घेरिएर रहेको महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो पनौती । सातौँ शताब्दीतिर हुयनसाङले नेपाली घरका भित्तामा चित्र रहेको उल्लेख गरेका छन् । पनौतीका कैयौँ घरका भित्तामा चित्र अङ्कित भएको वर्तमानमा पनि देख्न सकिन्छ । विभिन्न सामाजिक उद्देश्य दर्साउन भित्तामा चित्र लेख्ने प्रचलन पनौतीको प्राचीन कलाकारिता हो ।

चन्द्रागिरि सतुङ्गलको वैष्णवी मन्दिर, काठमाडौँ कुमारीघरका भित्तेचित्र, भक्तपुरको तलेजु मन्दिर, भक्तपुरको ब्रह्मायणी मन्दिर, बनेपाको चण्डेश्वरी, पशुपतिको जयवागेश्वरी मन्दिर, स्वयम्भूको शान्तिपुरको भित्तेचित्र, उग्रचण्डी नालाको भित्तेचित्र, मुस्ताङको झोङ गुफा, मेरापिक हिमालको ड्रागनको चित्र, नृसिंह मठ खोपासी, पनौतीकै त्रिवेणी घाट सतलका जस्तै पनौती ब्रह्मायणी मन्दिरको भित्तेचित्र अनुसन्धानकर्ता र पारखीका लागि विशेष स्वाद हुन् ।

भारत ‘कटक स्टेट’ की राजकन्या जङ्गबहादुर कुँवर राणाकी चौथो महारानी जसलाई गङ्गा महारानी भनेर चिनिन्छ । उनै महारानीद्वारा निर्मित त्रिवेणीघाटको सत्तल र सत्तलमा रहेको दस अवतार र कृष्णलीलाका चित्रले पनि पनौतीलाई शोभायमान बनाइरहेको छ । शैव भूमिमा वैष्णव प्रकृतिका चित्रकलाको उपयोग हुनु धार्मिक सहिष्णुताको मनोरम नमुना हो । यस चित्रकलाले पनौतीको विगतका सामाजिक पक्षलाई सहजै बुझाउँछ । 

ब्रह्मायणी मन्दिरमा क्रमशः संवत् ८१८, संवत् ८२०, संवत् ८३६, संवत् ८४१, संवत् ८९७ र संवत् ९५० का शिलालेख पाइएका छन् । मिति नखुलेका अभिलेख र तोरण पनि मन्दिरमा छन् । ती शिलालेखमा ब्रह्मायणी देवीको गुणगान गाउनुका साथै मन्दिरमा चढाइएका सामग्री अनि देवल निर्माणका वर्णन पाइन्छन् । पनौती क्षेत्रको ऐतिहासिक अवस्थितिबारे शिलालेखले जोडदार बोलेको छ । मन्दिरभित्र त्रैलोक्य मल्लको समयकालको नेस ७८९ को अभिलेखको अधिकांश भाग खण्डित रहेको छ । इतिहासकार केदारनाथ प्रधानका अनुसार “मध्यकालीन संस्कृति र कलाकौशलको दृष्टिमा भक्तपुरपछि पूर्वतिरका बस्तीहरूमा पनौतीलाई अग्रणी मान्न सकिन्छ ।” यो अग्रणी स्थानमा ब्रह्मायणी देवी विराजमान हुनुहुन्छ । शैव आदर्शमा जीवन्त रहेको यो देवीको जात्रा कहिलेदेखि चल्न थाल्यो भन्न सकिन्न तर प्रत्येक ज्येष्ठ पूर्णिमाको दिन पनौतीको जात्रा हुने गर्दछ । ज्यापुन्ही जात्राका रूपमा चिनिएको यस जात्राको सांस्कृतिक महत्व विशेष रहेको छ । द्वादशी, त्रयोदशी, चतुर्दशी र ज्येष्ठ पूर्णिमासम्म चल्ने यस जात्राको महत्वपूर्ण देवी ब्रह्मायणी हुन् । यस कारण यस जात्रालाई ब्रह्मायणी जात्रा पनि भनिन्छ । 

जात्रा आफैँ एक कला हो । कलामा कलाकारिताको प्रयोग अनिवार्य हुन्छ । त्यसकै प्रतीकका रूपमा ब्रह्मायणी मन्दिरमा चित्रकलाको प्रयोग भएको पाइन्छ । मन्दिरमा भएको भित्ते चित्रले धार्मिक, सांस्कृतिक पक्षको उजागर गरेको छ । मध्यकालीन पनौतीको कलात्मक विशेषता भित्ते चित्रले दर्साएको छ । पमारी टोलमा रहेको द्येःछे (ब्रह्मायणीको घर) का भित्तामा (ब्रह्माणी, महेश्वरी, कौमारी, वाराही, वैष्णवी, इन्द्राणी, नारसिंही र महालक्ष्मी) मातृका गणको चित्रले शोभयमान गराएको छ ।

महेश्वरी महेश्वरकी शक्ति, कौमारी स्वामी कार्तिकेयकी शक्ति, वैष्णवी विष्णुकी शक्ति, बाराही बराहकी शक्ति, नारसिंही नृसिंहकी शक्ति, इन्द्राणी इन्द्रकी शक्ति र ब्रह्माणी ब्रह्माकी शक्ति मान्ने गरिन्छ । मातृका गणद्वारा मानिसका विभिन्न अङ्ग प्रत्यङ्गको रक्षा गर्ने तान्त्रिक मत रहेको हुनाले लोकमा पूजनीय भएका हुन सक्छन् । 

मातृकाको द्वारपाल सिंहिनी र ब्याघ्रिनी, अष्टभैरव, भैरवी, बेताल र तिनले प्रयोग गर्ने आयुधहरूका चित्र छन् । चित्र जीर्ण भए पनि यस चित्रले पनौतीको आधुनिक चित्रकलामा आफ्नो छाप छोड्न सफल भएको छ । घरको भित्ताको आधार मान्ने हो भने यो चित्र राणाकालीन समयको हो । न्यु आर्ट सर्कलका उपाध्यक्ष तथा चित्रकार नरेश सैँजूका अनुसार “त्रिवेणीघाट ब्रह्मायणी पीठभित्र भित्तामा रहेको ब्रह्मायणीको चित्र ११ औँ देखि १३ औँ शताब्दीको हो । यो चित्र भक्तपुरको ब्रह्मायणी पीठको चित्रभन्दा पुरानो शैलीको छ । यसको उचित प्रसार गर्न सकिएन ।” मातृका गणका टुँडालले सजिएको यो मन्दिर तीन तले नेपाली शैलीमा छ । बिनाजग नै यो मन्दिर ठडिएको जनविश्वास छ । ब्रह्मायणी पीठमा भएको चित्रको समयसीमाबारे मतहरू फरक फरक छन् । भक्तपुरको ब्रह्मायणी पीठमा भक्तपुरवासीले नयाँ बनाएको नवदुर्गाको मुकुण्डोहरूको दर्शन गर्ने परम्परा छ । 

आषाढ कृष्ण अष्टमीको दिन मुकुण्डोलाई सेतो कपडामा बेरी ब्रह्मायणी मन्दिरमा लाने र मुकुण्डोको अन्तिम दाहसंस्कार गरिन्छ । “पनौतीको ब्रह्मायणी जात्रा र भक्तपुरको ब्रह्मायणी जात्रामा केही समानता भेटिए पनि स्थान परिवेशका आधारमा केही फरक हुन पुगेको छ” भनी स्थानीय संस्कृतिविद् शिव जङ्गम बताउनुहुन्छ ।

ब्रह्माणी अर्थात् ब्रह्मायणी ब्रह्माको शक्ति हुन् । कमण्डलु बोकेको हाँसमाथि बसेको गरगहनाले शोभित भएकी देवीले रक्षा गरून् । ‘ब्राह्मी हंसमारुढा सर्वाभरणभूषिता’ भनी कोमल चण्डीमा उल्लेख छ । ‘शुक्तं ब्रह्माणी ! मे रक्षेच्छाया’ हे ब्रह्माणी ! तिमीले मेरो वीर्यको रक्षा गर ।यस्तै भद्रकालीले घाँटी, वाराहीले आयु, वैष्णवीले धर्म, इन्द्राणीले गोत्र र कुलक, महालक्ष्मीले छोराछोरी, भैरवीले मेरी पत्नीको रक्षा गरून् भनी कोमल चण्डीमा उल्लेख छ । यी र यस्ता विशेषता बोकेका कारण मातृका गण पुजिए र सम्मान स्वरूप चित्रहरू बनाउने कार्य भयो । ब्रह्माणीले आफ्नो कमण्डलुको जल छर्केर शत्रुको बल र पराक्रम नष्ट गर्ने गर्छिन् । 

अनादिकालदेखि मातृका गण, देवी वा स्त्री तत्वलाई प्रधानता मान्ने प्रचलन वर्तमानसम्म पनि यथावत् रहेको पाइन्छ । शाक्य सम्प्रदाय वा धर्मका रूपमा यस प्रचलनलाई लिने गरिन्छ । वर्तमान समाज मातृसत्ताबाट नै विकास भएको प्रतीकका कारण देवी, स्त्री, माता आदिलाई शक्तिका रूपमा पुज्ने प्रणालीको विकास भएको हुनु पर्छ । सिन्धुघाँटीको सभ्यतामा अनेक स्त्रीका मूर्ति प्राप्त भएका छन् । देवीहरूलाई उग्रदेवी, सम्यमदेवी र कामदेवीका रूपमा चित्रण गरिएको पाइन्छ । “तन्त्रशास्त्रमा शक्तिको महिमालाई सर्वोपरि मानिएको छ । तान्त्रिक उपासनामा यन्त्र र मन्त्रको प्रचुरता पाइन्छ । यन्त्र देवताको शरीर र मन्त्र आत्मा हुन्” (कल्पना श्रेष्ठ, काठमाडौँ उपत्यकाको सांस्कृतिक परम्परा) । 

श्रीयन्त्र जडित पनौतीको ब्रह्मायणी पीठ काठमाडौँ, कमलादीको पासिको अजिमा (ब्रह्मायणी), ललितपुर सानेपाको ब्रह्मायणी, भक्तपुर तौलाछेँको ब्रह्मायणीभन्दा पद्धति र प्रणालीमा फरक छ । महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये ब्रह्मायणीलाई महासरस्वतीका रूपमा लिइन्छ । पनौतीको सांस्कृतिक वैभवमा चित्रकलाले थप योगदान थपेको छ । 

https://gorkhapatraonline.com/news/73663

‘नेवार’ शब्दको प्राचीनता

 डा. नयनाथ पौडेल

२ असार २०८०, शनिबार


नेपालको इतिहासलाई पल्टाउँदा संस्कृति, कला एवं साहित्यको माध्यमद्वारा विश्वमा आफ्नो देशको नामलाई रोशन गर्दै आएको नेवार समुदाय प्राचीन कालदेखि नै नेपाल–उपत्यकाको बासिन्दाका रूपमा रहिआएको देखिन्छ । ‘नेवार’ शब्दले कुनै एक जाति विशेषलाई मात्र जनाउने होइन, पुरै समुदायकै प्रतिनिधित्व गर्दछ । केही विद्वान्ले देशको नाम नेपाल र समुदायको प्रतिनिधित्व गर्ने नेवार शब्दका बीचमा पनि घनिष्ठ रूपले अन्तरसम्बन्ध रहिआएको कुराको व्याख्या गरेका छन् । एक थरी विद्वान्हरू नेवार शब्दको व्युत्पत्ति नेवाङ/नेवाहाङ/नेवाः बाट भएको हो भन्ने मान्यता राख्छन् । कतिपय विद्वान्ले त  निऽबालह श्र नीवाल श्र नेवाल श्र नेवार हुँदै नेवार शब्दको पूर्वरूप ऋग्वेदसम्म जोडिन पुगेको छ भनेर पनि लेखेका छन् । (शिवराज शर्मा, नेपाल र नेवाल–मूलतः ऋग्वैदिक शब्द, पृ. ८) अहिलेलाई यो लेख व्युत्पत्तितर्पm नलागी नेवार शब्दको प्राचीनताको विषयमा मात्र केन्द्रित छ ।

लिच्छवि कालका अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहीँ पनि पाइँदैन । यसैले नेपाल उपत्यकामा प्राचीन कालदेखि नै बसोबास गरिआएको यस समुदायले कहिलेदेखि आफूलाई नेवार भन्न थालेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट रूपमा थाहा पाउन सकिएको छैन । यो विषय नेपालको इतिहास एवं संस्कृतिका क्षेत्रमा रुचि राख्ने अनुसन्धानकर्ताहरूका लागि चुनौतीको रूपमा रहिआएको छ । यस लेखमा नेपालका प्राचीन अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा शोधखोज गर्ने प्रयास गरिएको छ । यसले भाषिक पुरातत्वसम्बन्धी अध्ययनका लागि समेत सहयोग पुग्ने हुन्छ । 

हाम्रो देशका पुराना अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा नेपालको इतिहास एवं संस्कृतिको क्षेत्रमा अध्ययन–अनुसन्धानमा लागेका विद्वान्हरूको धारणा फरक फरक रहिआएको पाइन्छ । यीमध्ये केही धारणा यसप्रकारका देखिन्छन् : 

१. ऐतिहासिक शिरोमणि बाबुराम आचार्यको धारणा 

ऐ.शि. बाबुराम आचार्यले नेपाल सांस्कृतिक परिषद् पत्रिका पूर्णाङ्क १ (२००९) मा प्रकाशित नेपाल, नेवार र नेवारी भाषा भन्ने लेखमा नेवार शब्दको प्राचीनताको विषयमा आफ्नो धारणा यसरी राख्नुभएको देखिन्छ, “अभाग्यवश नेवार शब्दको पुरानो प्रयोग पाइँदैन । अठारौँ शताब्दीमा नेपालमा आएका युरोपेलीहरूले लेखेका नेपालका वृत्तान्तमा यो शब्द पहिले प्रयोग भएको देखिन्छ ।” (पृ. २) 

यताबाट ऐ.शि. बाबुराम आचार्यको धारणा अनुसार नेवार शब्दको पुरानो प्रयोग नपाइने र अठारौँ शताब्दीदेखि मात्र नेवार शब्दको प्रयोग पाइने भन्ने रहेको देखिन्छ । 

२. इतिहासकार मेरी सेफर्ड स्लसरको धारणा

इतिहासकार मेरी सेफर्ड स्लसरले पुराना अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा छलफल गर्दै आफ्नो पुस्तक नेपाल मण्डल– ए कल्चरल स्टडी अफ दी काठमान्डु भ्यालीमा यस्तो लेख्नुभएको छ, “नेपाली अभिलेखहरूमा नेवार शब्दको पहिलो उल्लेख इसं १६५४ मा आएको छ र एउटा तात्कालिक टिपोटमा इसं १६६७ मा लुभुको नेवारको कुरा आएको छ ।” (प्रिन्सटन युनिभर्सिटी प्रेस, रिप्रिन्ट : मण्डला बुक प्वाइन्ट, १९९८, पृ. ९)

मेरी स्लसरले यहाँ इसं १६५४ को भनेको अभिलेख नेसं ७७४ माघ शुक्ल श्रीपञ्चमी शुक्रबारका दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदिएको राजा प्रताप मल्लको हो । यो अभिलेख डा. गौतमबज्र वज्राचार्यको हनुमानढोका राजदरबार नामक पुस्तक (पृ. २११) मा प्रकाशित छ । यसमा गोलमोल आखर, पार्सि आखर, तिरहुति आखर, रंज आखर, माझेपात आखर, देवनागर आखर, ऐंया उजेन आखर, गोत्रिया आखर, आव्र्वी आखर, कयथिनागर आखर, कूटाक्षर आखर, संया उमेत आखर, नेवार आखर, कास्मिरी आखर, एवं फिरिङ्गी आखरसमेत १५ थरी अक्षर अर्थात् लिपिको नाम उल्लेख गर्दा नेवारी अक्षरलाई जनाउन नेवार आखरको प्रयोग गरिएको छ । 

मेरी स्लसरले इसं १६६७ को भनेको अर्को अभिलेख चाहिँ ऐतिहासिक घटनावलीको हो । शङ्करमान राजवंशीद्वारा सम्पादित ऐतिहासिक घटनावलीमा उतिखेरको घटनालाई टिपोट गर्ने प्रसङ्गमा “ने.सं. ७८७ आषाढ कृष्ण प्रतिपदा, लुभुया छह्म नेवार” (पृ. ३) भनी टिपिएको छ । यही घटनावलीमा उल्लेख गरिएको नेवार शब्दलाई नै मेरी स्लसरले यस प्रसङ्गमा उल्लेख गरेको देखिन्छ । 

यताबाट मेरी सेफर्ड स्लसरको धारणा अनुसार राजा प्रताप मल्लले नेसं ७७४ (विसं १७१०) (इसं १६५४) माघ शुक्ल श्रीपञ्चमी शुक्रबारका दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदाएको अभिलेखमा उल्लिखित नेवार आखर पदावलीमा प्रयोग भएको नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।


३. मानवशास्त्रविद् डेभिड एन् गेल्नरको धारणा

मानवशास्त्रविद् डेभिड एन् गेल्नरद्वारा युरोपियन जर्नल अफ सोसियोलजी, २७, १९८६ मा  प्रकाशित ‘ल्याङ्ग्वेज, कास्ट, रिलिजन एन्ड टेरिटोरी ः नेवार आइडेन्टिटी एन्सेन्ट एन्ड मडर्न’ भन्ने लेखमा नेवार शब्दको प्राचीनताको विषयमा यस्तो धारणा प्रस्तुत भएको देखिन्छ, “ठ्याक्कै भन्नुपर्दा नेवार शब्दको मितिसहितको पहिलो उल्लेख इसं १६५२ मा भएको हो, जहाँ भाषाको नाम नेवारभाषा अर्थात् नेवारी भनेर उल्लेख गरिएको छ । आधुनिक नेवारीमा नेवारहरूको भाषाको रूपमा नेवाभाय्को प्रयोग हुन्छ । जातिलाई बुझाउने अर्थको रूपमा नेवार शब्द पहिले उल्लेख गरिएको एउटा टिपोटमा हो, जहाँ खसहरू (पर्वतीयाहरू) आए, सबै नेवारहरू आपूm आपूmमै लडे भन्ने वर्णन गरिएको छ ।” (पृ. १४०) डेभिड एन् गेल्नरकोे यही धारणा ३६ ग्रुप युवा क्लब हरिसिद्धिद्वारा दबू स्मारिकामा विसं २०६८ मा प्रकाशित ‘सम नोट्स् अन नेवार आइडेन्टिटी’ शीर्षकको लेखमा पनि अभिव्यक्त गरिएको देखिन्छ । 

यहाँ डेभिड एन् गेल्नरले सन् १६५२ मा नेवार शब्दको पहिलो पटक उल्लेख भएको भनी मानेको अभिलेख नेसं ७७२ भाद्र (विसं १७०९) हनुमानढोका राजदरबार, मोहनचोकको राजा प्रताप मल्लको नेवारभाषा तया शब्दावली लेखिएको अभिलेख हो । अनि नेवार शब्दले जातिविशेषलाई जनाउने गरी सन् १६८४ मा नेवार शब्दको पहिलो पटक उल्लेख भएको भनी डेभिड एन् गेल्नरले मानेको अभिलेख चाहिँ ऐतिहासिक घटनावलीमा टिपिएको ने.सं. ८०४ श्रावण ....सकलेङ नेवालं नेवाल हेला भन्ने पदावलीमा रहेको नेवाल लबज हो भन्ने देखिन्छ । 

यताबाट डेभिड एन् गेल्नरको धारणा अनुसार राजा प्रताप मल्लको नेसं ७७२ भाद्र (विसं १७०९) (सन् १६५२) मा हनुमानढोका राजदरबार, मोहनचोकको अभिलेखमा उल्लिखित नेवारभाषा तया शब्दावलीमा प्रयोग भएको नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।

४. इतिहासकार डा. महेशराज पन्तको धारणा 

विभिन्न इतिहासकारद्वारा नेवार शब्दको पहिला उल्लेख कुन हो भन्ने विषयमा लेखिएका धारणाउपर छलफल गर्दै इतिहासकार डा. महेशराज पन्तले “ने.सं. ७७२ भाद्र नेवारभाषा तया” भन्ने उल्लेख भएको मोहनचोकको दलानको राजा प्रताप मल्लको अभिलेखमा उल्लिखित नेवार शब्दलाई नै पहिलो उल्लेख मान्न उचित हुने मनसाय व्यक्त गर्नुभएको देखिन्छ । (पूर्णिमा पूर्णाङ्क १३८, पृ. १५५) 

५. भाषाविद् कमलप्रकाश मल्लको धारणा 

भाषाविद् कमलप्रकाश मल्लले पोखराबाट नेसं १०९८ (विसं २०३५) मा प्रकाशित इन्द्र मालीको झीगु भाय् : झीगु खँग्व भन्ने पुस्तकको भूमिका लेख्दा नेवार शब्दको प्राचीनताको विषयमा आफ्नो धारणा यसरी प्रस्तुत गर्नुभएको देखिन्छ, “नेपाल शब्दको पहिलो उल्लेख भएको ऐतिहासिक प्रमाण समुद्रगुप्तको प्रयागको प्रशस्ति (सन् ३३५–३७६) रहेको छ भने नेवार शब्दको पहिलो उल्लेख भएको सबैभन्दा पुरानो ऐतिहासिक प्रमाण काठमाडौँ हनुमान्ढोका राजदरबार–परिसरमा रहेको प्रताप मल्लको बहुभाषी अभिलेख हो ।” (पृष्ठ ग)  

यताबाट कमलप्रकाश मल्लको भनाइमा राजा प्रताप मल्लले नेसं ७७४ (विसं १७१०) (इसं १६५४) माघशुक्ल श्रीपञ्चमी शुक्रबारको दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदाएको अभिलेखमा नेवार आखरमा उल्लिखित नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।

६. पङ्क्तिकारको पहिलेको धारणा

यी सबै धारणालाई समेटेर नेवार शब्दको उल्लेख भएको यसभन्दा पनि पहिलेको अर्को अभिलेखलाई उद्धृत गरी यसबारेमा यस पङ्क्तिकारद्वारा लुभुया छह्म नेवार शीर्षकमा लुभु खानेपानी तथा सरसफाइ स्मारिका २०७५ मा एउटा लेख प्रकाशित गरिएको थियो । त्यसमा प्रमाणका लागि शङ्करमान राजवंशीद्वारा सम्पादित भूमिसम्बन्धी तमसूक–ताडपत्र भाग २ मा प्रकाशित कान्तिपुरनिवासी चित्रकार परिवारले अंश भागबन्डा गरी लिखतका रूपमा तयार पारिएको एउटा ताडपत्रलाई प्रस्तुत गरिएको थियो । उक्त ताडपत्रमा “सम्वत् ७४२ भाद्रपदशुद्धि ५ ......दृष्ट साक्षि धारनया स्वगोत्र भ्राता चैत्रकार विभु नेवा प्रमानं शुभ ।।” (पृ. २३) भनी लेखिएको छ । यहाँ लेखिएको ‘नेवा’ पद नेवार शब्दकै ‘र’ उच्चारण नगरिएको छोटकरी लेखाइ हो भन्ने कुराउपर छलफल गरी यस पङ्क्तिकारद्वारा नेवार शब्दको पूर्वरूपको पहिलो उल्लेख यही नेसं ७४२ (विसं १६७९) को अभिलेख हो भन्ने कुरामा प्रकाश पारिएको थियो ।

हालैको अन्वेषण एवं अनुसन्धानका क्रममा नेवार शब्दका विषयमा अतिरिक्त अन्य प्रमाणहरू पनि उपलब्ध हुन आएका छन् । त्यसैले यस लेखमा अहिलेसम्म प्राप्त प्राचीन अभिलेखहरूका आधारमा नेवार शब्दको पहिलो उल्लेख कुन हो भन्ने विषयमा छलफल गरी थप प्रकाश पार्ने प्रयास गरिएको छ । 

प्रसिद्ध विद्वान् कुलचन्द्र गौतमले नेपाली भाषामा टिप्पणी गर्नुभएको, संस्कृत भाषाको प्रसिद्ध कोश, अमरकोश एक दिन पढ्दै जाँदा त्यसमा पुष्पविशेषको वर्णन गर्ने क्रममा सप्तला नवमालिका (वनौषधिवर्ग श्लोक ७३) शब्दको उल्लेख पढ्न पाइयो । बनारसबाट प्रकाशित उक्त अमरकोशमा सप्तला शब्दको अनुवाद गर्दा यस्तो लेखिएको देखियो, “सप्तला २ नवमालिका २ (नवमल्लिका २) (२ कटसरैया (नेवारी विशेष) का नाम) । ‘भावप्रकाश’ मा ‘नेपाली कथिता तज्ज्ञैः सप्तला नवमल्लिका’ भनी तीन नाम कहेका छन् । नेपालीको अपभ्रंश भयेर नेवारी भयेको हो कि क्या हो ?” (पृ. १४७) । यताबाट सप्तला शब्दले नेवारी पुष्पविशेषलाई जनाउँछ भनी यहाँ उल्लेख भएको कुरा थाहा हुन आयो । 

नेपाली भाषामा अनुवाद भएको अमरकोशमा सप्तला शब्दको अर्थ नेवारी पुष्पविशेष भनी उल्लेख भएको देखिएपछि हिन्दी भाषामा यसको अर्थ कसरी गरिएको होला भन्ने विचारले भानु दीक्षितको संस्कृत टीका, हरगोविन्द शास्त्रीको हिन्दी टीका भएको, चौखम्बा संस्कृत संस्थान वाराणसीबाट विसं २०५३ मा प्रकाशित अमरकोश पल्टाउँदा सप्तला नवमालिका (वनौषधिवर्ग श्लोक ७३) शब्दको  अर्थ “सप्तला, नवमालिका (२ स्त्री), ‘वसन्ती नेवारी’ के ३ नाम है” (पृ. १९६) भनी उल्लेख गरेको पाइयो । यताबाट भारतीय परम्परामा पनि अमरकोशको सप्तला शब्दको अर्थ गर्ने प्रसङ्गमा नेवारी शब्दको उल्लेख भइआएको र यसबाट फूलको वर्णन हुने गरेको देखियो । 

यसरी अमरकोशको नेपाली भाषामा तथा हिन्दी भाषामा अनुवाद गर्दा त सप्तला शब्दको अर्थ नेवारी पुष्पविशेष भनी गरेको देखिँदा झन् प्राचीन नेवारी भाषामा नै अनुवाद/टिप्पणी गरिएका अमरकोशको हस्तलिखित पुस्तकहरूमा सप्तला शब्दको अर्थ गर्दा कुन लबजको कसरी प्रयोग गरिएको होला भन्ने उत्सुकता भयो । मल्लकालमा अमरकोशका पुस्तकहरू खास गरी ने.सं. ५०१ भाद्र, ने.सं. ५०६ चैत्र, ने.सं. ५२०, ने.सं. ५५० फागुन, ने.सं. ५९१ कार्तिक, ने.सं. ६३७ श्रावण, ने.सं. ६६२ आश्विन, ने.सं. ७१८ भाद्र, ने.सं. ७२०, ने.सं. ८०३ जेष्ठ, ने.सं. ८३१ आषाढमा सारिएका पाइएका छन् (पूर्णिमा पूर्णाङ्क १२२) । यीमध्ये पुराना तीन वटा प्रतिलाई यहाँ यस अध्ययनको प्रयोजनका लागि मुख्य आधार बनाइएको छ । ती तीन प्रति हुन्– १. ने.सं. ५०१ भाद्रमा राजा अर्जुनदेवको पालामा सारिएको प्रति, २. ने.सं. ५०६ चैत्रमा राजा स्थितिराज मल्लको पालामा सारिएको प्रति र ३. ने.सं. ५५० फाल्गुणमा राजा यक्ष मल्लको पालामा सारिएको प्रति ।    

पहिले राजा यक्ष मल्लको शासनकालमा, नेसं ५५० (विसं १४८६) मा कलेह्रदेवले नेपालभाषामा तयार पारेको हस्तलिखित ग्रन्थ अमरकोशको टिप्पणी/टीका हेर्दा सप्तला शब्दको अर्थ यसरी गरेको पाइयो : “सप्तला नवमल्लिका । नेवारि स्वान ।” (पत्र ४२) यसमा सप्तला शब्दले नेवारी फूललाई जनाउँछ भनी स्पष्टसँग लेखिएको पाइयो । यताबाट नेसं ५५० को ताडपत्रमा नेवार शब्दको उल्लेख भएको थाहा भयो । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “इति संचिन्त्य गुणिना पुत्रपोत्रादिबोधनं । श्रीमत्कलेह्रदेवेण शास्त्रं व्यक्तपदं कृतं । ... नेपालभाषया तस्मात्कृता ग्रन्थस्य टिप्पनी । इत्यमरसिंहकृतौ नामलिङ्गानुशाशनम् परिपूण्र्णटिप्पनीमिति ।। ॐ सं ५५० फाल्गुणकृष्णचतुद्र्दशीदिने लिखितमिति, शुभ ।।  ० ।।”   

(स्रोत : राष्ट्रिय अभिलेखालय रिल सङ्ख्या बी. १४/२५) 

यसरी राजा यक्ष मल्लको शासनकालमा नेपालभाषामा तयार हस्तलिखित ग्रन्थ अमर कोशको टिप्पणी/टीका हेर्दा सप्तला शब्दको अर्थ नेवारि स्वान भनी लेखिएको देखिएपछि यसभन्दा अगाडि नेसं ५०६ (विसं १४४२) मा सारिएको नेपालभाषामा टिप्पणी/टीका लेखिएको अमरकोशको अर्को प्रति हेरियो । यताबाट नेसं ५०६ को ताडपत्रमा पनि नेवार शब्दको उल्लेख भएको पाइयो । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “स्वस्ति श्रीमन्नैपालिक सम्वत्सरे ५०६ चैत्रकृष्णत्रयोदश्याम् बुधवासरे राजाधिराजपरमेश्वर परमभट्टारक श्रीश्रीपशुपतिचरणारविन्दसेवित श्रीमानेश्वरीवर लब्धप्रताप श्रीश्रीजयस्थितिराजमल्लदेवस्य विजयराज्ये माणिक्येन ग्रथित्वा लिखितेयम्” (स्रोत : युनिभर्सिटी लाइब्रेरी क्याम्ब्रिजको १६९८ सङ्ख्याको हस्तलिखित पुस्तकको पुष्पिकावाक्य । यस ग्रन्थको प्रतिच्छवि मित्र जीवन महर्जनले उपलब्ध गराइदिनुभएको हो ।) यसरी यस टीकामा पनि सप्तला शब्दको अर्थ नेवारी स्वान भनी नेवारी फूललाई जनाउँछ भनी स्पष्टसँग लेखिएको पाइयो ।


यसभन्दा पनि अगाडि नेसं ५०१ (विसं १४३८) मा सारिएको नेपालभाषामा टिप्पणी लेखिएको अमरकोशको अर्को प्रति हेर्दा त्यसमा चाहिँ सप्तला शब्दको अर्थ गर्दा नेवारी लबजको उल्लेख गरिएको देखिएन । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिका वाक्यमा यस्तो लेखिएको छ, “श्रेयोस्तु सम्वत् ५०१ भाद्रपदशुक्लद्वादश्याम् धनेष्ठनक्षत्रे आदित्यवासरे ।। राजाधिराज परमेश्वर परमभट्टारिकश्रीश्रीजयार्जुनदेवस्य विजयराजे लिखितमिति । श्रीसातिग्लस्थानाधिवासिनः चाविहारव्येद्य श्रीजसराजनाम्नेन लिखितम् ।” (राष्ट्रिय अभिलेखालयको लेखोट पुस्तकको ४ को ५९० सङ्ख्या, रिल सङ्ख्या बी. १४र११ को पुष्पिका ।) 

यस प्रसङ्गमा यति छलफल भएपछि यसभन्दा पनि पुरानो अमरकोशको टीका भएको अर्को पुस्तकको विषयमा समेत उल्लेख गर्नुपर्ने हुन आयो । त्यो अर्को पुस्तक हो– बङ्गाली विद्वान् जातरूपले इसंको १० औँ शदीको उत्तराद्र्धमा लेखेको अमरकोशको टीका । संस्कृत भाषाका अन्य ग्रन्थहरूमा यस जातरूपटीकाको विषयमा उल्लेख गरिएको पाइए तापनि यसको मूल प्रति चाहिँ धेरै कालसम्म उपलब्ध हुन सकेको थिएन । डा. महेशराज पन्तले यसको मूल प्रति केसर पुस्तकालयमा रहेको कुरा पत्ता लगाउनुभयो । नेसं २३९ (विसं ११७६) मा ताडपत्रमा सारिएको यही अमरकोश (जातरूपटीका) को पुस्तकका विषयमा डा. पन्तले धेरै वर्ष लगाएर सूक्ष्म रूपमा विशद अध्ययन गरी ‘जातरूप’ज कमेन्टरी अन दी अमरकोष’ नामक ग्रन्थ इसं २००० मा मोतीलाल बनारसीदास पब्लिसर्समार्फत प्रकाशित गर्नुभयो । 

प्राचीन नेवारी भाषामा तयार पारिएको हस्तलिखित ग्रन्थ अमरकोशको टिप्पणी/टीकामा सप्तला शब्दको अर्थ नेवारि स्वान भनी लेखिएको र भारतीय परम्परामा अर्थात् अमरकोशको हिन्दी टीकामा पनि सप्तला नवमालिका शब्दको अर्थ ‘वसन्ती नेवारी’ के ३ नाम भनी उल्लेख गरेको देखिएकाले जातरूपटीका भएको यस अमरकोशमा पनि सप्तला शब्दको अर्थको विषयमा के लेखिएको होला भनी हेर्दा त्यसमा समेत सप्तला शब्दको अर्थ नेवालीपुष्पं सप्तला (पृ.२२०) भनी स्पष्टसँग लेखिएको पाइयो । रलयोरभेदः अर्थात् र एवं ल मा भेद हुँदैन भन्ने मान्यता अनुरूप यहाँ नेवाली लेखिएको देखिन्छ । त्यसैले अमरकोशको नेपाल भाषामा टिप्पणी गरिएका अन्य हस्तलिखित ग्रन्थहरूका आधारमा नेवालीपुष्पंले नेवारी फूललाई नै जनाएको स्पष्टै देखिन्छ । अझ यसले नेवार शब्दको पूर्वरूप नेवाल नै हो कि भन्ने कुरातर्फ इङ्गित गर्न खोजेको पनि देखिन्छ । निकै परिश्रमसाथ सम्पादन गरी प्रकाशित गरिएको यस ग्रन्थमा रहेको यति महत्वपूर्ण पदावली नेवालीपुष्पं लेखिएको देखिए तापनि यस शब्दउपर भने डा. पन्तले खासै चर्चा चलाउनुभएको देखिँदैन । 

उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “अमरकोशटीकेयम् समाप्तेति । सम्वत् २०० ३० ९ श्रावणकृष्णदिवाष्टम्याम् राजाधिराज परमेश्वर श्रीशिवदेवस्य विजयराज्ये लिखितेयम् टीकेति । तत्वबीज आकारः शाकारश ।” (राष्ट्रिय अभिलेखालयको लेखोट पुस्तकको ४ को ५९० सङ्ख्या, रिल सङ्ख्या सी १२१/१ को पुष्पिकावाक्य । डा. पन्तको उही पुस्तक पृ.६७ ।) यसरी नेसं २३९ मा सारिएको ताडपत्रमा नेवाली शब्दको स्पष्टसँग उल्लेख भएको देखियो ।

यसरी अहिलेसम्म उपलब्ध प्रमाणहरूका आधारमा गरिएको अध्ययनको निष्कर्षका रूपमा भन्नुपर्दा, माथि छलफल गरेबमोजिम, नेसं २३९ (विसं ११७६) मा राजा शिवदेवको शासनकालमा ताडपत्रमा सारिएको, अमरकोश (जातरूपटीका) को वनौषधिवर्गको श्लोक ७३ को टीकामा सप्तला शब्दको अर्थ गर्दा नेवालीपुष्पं भनी लेखिएको नेवाली लबज नै नेवार शब्दको सर्वप्राचीन उल्लेख हो भन्ने कुरा स्पष्ट हुन आउँछ । यताबाट नेवार शब्दको प्राचीन रूप आजभन्दा ९०३ वर्ष पुरानो ठहरिन आएको छ ।

https://gorkhapatraonline.com/news/67977


Tuesday, December 19, 2023

हाय राजमती !

मंसिर १६, २०८०सुरेश किरण


नेपालभाषामा लोकप्रिय गीत (पहिलो राष्ट्र–गान ?) ‘राजमती’ को लिखित प्रति भेटिएको छैन । तर, राजमती आफैं तत्कालीन नेपाली समाजको सौन्दर्यचेत, प्रेमको अभिव्यक्ति र सामाजिक विडम्बनापूर्ण जीवनको जीवित दस्ताबेज हुन् । जब गीत नै एउटा इतिहास बन्छ भने त्यसको प्रमाण किन चाहियो ?

काठमाडौँ — राजमती कुमति
जिके वःसा पिरति
हाय बाबा राजमतीचा
राजमती मबिल धाःसा काशी वने त्यल बुबा
हयाब्यु राजमतीचा ।
(राजमती कुमति/मसँग आए पिरति/हाय बाबा राजमतीचा/राजमती नदिए म त काशी जान लागेँ बुबा/ल्याइदेऊ न राजमतीचा ।)


संगीत यदि कालजयी हुन्छ भन्ने मान्ने हो भने त्यो मान्यता ‘राजमती’ गीतलाई जति अरूका लागि सायद उपयुक्त हुँदैन । नेपालमा, नेपालमा मात्रै होइन विश्वमै के त्यस्तो कुनै गीत होला, जो गएको दुई सय वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने गरिन्छ ?

‘राजमती’ नेपालभाषामा लेखिएको गीत हो, तर नेपालका अन्य समुदायबीच पनि यो उत्तिकै लोकप्रिय छ । लोकप्रिय नभए परिचित त अवश्यै छ । नेपालभाषामा अत्यन्तै लोकप्रिय यो गीत कहिले लेखियो ? थाहा छैन । कसले लेख्यो ? त्यो त झनै थाहा छैन । यसको लिखित प्रति आजसम्मै भेटिएको छैन । लोकमा जसले पनि गाउन मिल्ने एक सजिलो लोकगीतका रूपमा यो अस्तित्वमा छ । यो कुनै अभिलेख वा पुस्तकमा होइन, मानिसको जिब्रोमा दस्ताबेजीकृत गीति–रचना हो ।

सबैभन्दा अनौठो विषय त के भने एकताका ‘राजमती’ नेपालको राष्ट्रिय गानसमेत बनेको थियो भन्ने कथन पाइन्छ । वि.सं. १९०६ मा जब प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा गए, उनको सम्मानार्थ सलामी अर्पण गर्न त्यहाँ यही ‘राजमती’ गीतको धुनलाई राष्ट्र–गान भनी प्रस्तुत गरिएको थियो । बेलायत जाँदा जंगबहादुरले आफूलाई एक स्वतन्त्र राष्ट्रको सरकार प्रमुखका हैसियतमा सम्मान दिइनुपर्ने माग राखेका थिए, उनको मागलाई तत्कालीन ब्रिटिस सरकारले स्वीकार गरेको थियो । त्यसैले भारतको कलकत्तादेखि नै जंगबहादुरलाई स्वतन्त्र मुलुकको सरकार प्रमुखसरह सम्मान प्रदान गरिएको थियो । तसर्थ बेलायत (र, फ्रान्स पनि) पुग्दा उनलाई दुवै देशको राष्ट्र–गान बजाएर सम्मान गरिएको हुनुपर्छ ।

तर, त्यतिबेलासम्म नेपालको राष्ट्र–गान ‘श्रीमान गम्भीर...’ बनिसकेको थिएन । यो राष्ट्र–गान त चक्रपाणि चालिसे (वि.सं. १९४०–२०१५) ले धेरैपछि मात्रै रचना गरेका थिए । त्यस्तो अवस्थामा बेलायतले नेपालको राष्ट्र–गान माग्दा नेपालबाट त्यतिबेला अत्यन्तै लोकप्रिय रहेको ‘राजमती कुमति..’ कै धुन पठाइएको हुन सक्छ भन्छन् लेखक भिक्टर प्रधान (‘राजमती लोकगीतबाट ध्वनित इतिहास र साहित्य’, कार्यपत्र) । त्यसैले अहिले केही नेपाली सामान्यज्ञान पुस्तकहरूमा नेपालको पहिलो राष्ट्र–गान भनेर राजमती गीत नै उल्लेख गरिएको छ । यदि जंगबहादुरको बेलायत यात्रामा यही गीतलाई राष्ट्र–गानका रूपमा बजाइएको हो भने ‘राजमती’ को आयु लगभग दुई सय वर्ष पुगिसकेको अनुमान सहजै लगाउन सकिन्छ ।


काठमाडौं उपत्यकामा त्यस्ता धेरै लोकगीत प्रचलित छन्, जसको न लेखकको पता छ, न गायकको । जस्तो कि ‘सिलुम्ये’, ‘शितला माजु म्ये’, ‘जि वया ला लछि मदुनि म्ये’ (जसको आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ रचना गरेका थिए) आदि आदि । यस्ता गीतहरू केवल गीत होइनन् ‘गीतिकथा (बाखंम्ये)’ कै रूपमा प्रचलित छन् । ती गीति–कथामा तत्कालीन समाजमा घटित कुनै घटनाको कारुणिक वर्णन गरिएको हुन्छ । प्राचीन नेपालभाषा काव्यका अन्वेषक डा. जनकलाल वैद्यका अनुसार, आफूले भोगेको कुनै घटना वा कालखण्डको वर्णन गरी गीति–कथा लेख्ने र त्यसलाई गाउँदै हिँड्ने नेवाः जातिको सिर्जनात्मक कर्म नै हो ।

‘राजमती’ पनि मूलतः त्यस्तै एउटा गीतिकथा हो । यसमा जम्मा आठ श्लोक छन् । त्यो आठ श्लोकमा एउटा कथा उनिएको छ, राजमतीको कथा । कथा लेख्ने अज्ञात कविले राजमतीप्रति आफ्नो अथाह प्रेम दर्शाउँदै उनीसँग विवाह गर्ने र विवाह गर्न नपाए काशी जाने ‘घुर्की’ लगाएका छन् । गीतले कहेअनुसार, काठमाडौंको इतुम्बहालभित्र अवस्थित ताःननी भन्ने ठाउँमा राजमती बस्ने गर्छिन् । उनी अत्यन्तै सुन्दर एवं रूपवान छिन् । उनको आँखा बाला–बाला परेको छ, कपाल घुम्रिएको छ, मुहारमा दुईवटा कोठी पनि छन् । उनको सुन्दरता हेर्दा उनी सक्वमि (साँखुले) की छोरी हुन् कि जस्तो लाग्छ । उनी बिजकली नामक गहना लगाउने गर्छिन् । तर, दुर्भाग्य ! एक चण्डाल लमीका कारण जबर्जस्ती उनको बिहे गराइयो । बिहे पनि यस्तो घरमा भयो, जहाँ एउटा सँझ्यालसम्म छैन । बिहे भए पनि आफ्नो बैंस छँदै लोग्नेको मृत्यु भयो । राजमतीको जन्म धिक्कार भएछ !

गीतको पूर्ण वर्णन सुनिसकेपछि थाहा पाउन सकिन्छ, यो राजमतीको दुःखान्त वर्णित गीतिकथा हो । यसमा तत्कालीन काठमाडौंली समाजमा प्रचलित सामाजिक, सांस्कृतिक रूपरेखाको चित्रण पाइन्छ । गीतमा केही विशिष्ट स्थानको नाम दिइएको छ । घरमा सँझ्याल हुनु र नहुनुको भेद खुट्याइएको छ । केही विशिष्ट गहनाको वर्णन गरिएको छ । अतः गीतले कथा मात्रै होइन, इतिहास पनि बोलिरहेको छ ।

तत्कालीन समाजमा २ सय वर्षअघि नै यो गीत लोकप्रिय भइसकेको भए पनि यसलाई पहिलो पटक रेकर्ड गरी सुरक्षित गर्ने काम भने आदिगायक उस्ताद सेतुराम श्रेष्ठले गरेका थिए । वि.सं. १९४८ मा असन भोटाहिटीमा जन्मिएका सेतुराम श्रेष्ठ तत्कालीन काठमाडौंली समाजका नामुद गायक, संगीतकार एवं कुशल वाद्यवादक थिए । उनले उबेलै भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालका कुनै पनि गीतहरू ग्रामोफोन डिस्कमा रेकर्ड भएको पहिलो घटना यही हो । उनले रेकर्ड गरेका १४ गीतमध्ये एउटा राजमतीको गीत पनि थियो । त्यसैले राजमतीलाई आजभन्दा सय वर्षअघि नै ग्रामोफोन डिस्कमा रेकर्ड भई इतिहास रच्न सफल गीतका रूपमा पनि लिन सकिन्छ ।

पछिल्लो समय भने यसलाई प्रेमध्वज प्रधानको सुमधुर स्वरमा पुनः रेकर्ड गरिएको छ । सेतुराम र प्रेमध्वजले गाएको गीतको लय उही भए पनि यसको सुर र तालमा भने थोरै फरक देखिन्छ । गीतमा प्रयुक्त भाषा र शब्द दुई सय वर्षअघिको जस्तो देखिँदैन, नयाँ शब्दहरू मिसाइएका छन् । सय वर्षअघिको नेपालभाषा–काव्य संकलन गरेका अन्वेषक भूषणप्रसाद श्रेष्ठका अनुसार, राजमती जुन–जुन कालखण्डका गायकहरूले गाए, त्यही त्यही कालखण्डमा प्रचलित भाषा र शब्दहरू यसमा थपिएको वा फेरिएको छ । लेखनमा होइन, गायनमा बाँचेको गीत भएकाले यसमा यो परिवर्तन आउनु स्वाभाविक पनि हो ।

गीतबारे यति भनिसकेपछि अब प्रश्न उठ्छ– गीतमा बखान गरिएकी सुन्दरी रूपवती राजमती साँच्चै अस्तित्वमै थिइन् ? वा उनी कुनै अज्ञात कविको काल्पनिक पात्र मात्रै हुन् ? यो विषयमा अझै बहस चलिरहन्छ । गीतको तेस्रो श्लोकमा भनिएको छ –

ख्यो खोला ध्याक्वय् दं, पसः बजि धू दं

राजमती भुलुसुलु दं

राजमती गन दु इतुंबहालय् छम्ह दु

हया ब्यु राजमतीचा ।

(फूलको बोक्रा थुप्रो छ, पसलको चिउरा धूलो छ/राजमती फुङ्ग उडेकी छ /राजमती कहाँ छ, इतुंबहालमा एउटी छ/ल्याइदेऊ न राजमतीचा)

यो पंक्तिबाट थाहा हुन्छ, राजमती काठमाडौंको इतुम्बहाल भन्ने ठाउँमा बस्ने गर्थिन् । इतुम्बहाल काठमाडौंको अत्यन्त महत्त्वपूर्ण बहालहरूमध्ये एक हो । यहाँ शाक्य र वज्राचार्य दुवै जातका मानिस बस्छन् । प्राचीनकालमै बहालको पूर्ण अंग पुग्ने गरी यो बहाल निर्माण भइसकेको थियो । त्यतिबेला यसलाई ‘यातुंबहाः’ भनिन्थ्यो (भुवनलाल प्रधान, ‘काठमाडौं उपत्यकाका सांस्कृतिक छिर्कामिर्का’) । यो अत्यन्त लामो र फराकिलो बहाल हो । पञ्चायतकालमा तत्कालीन कांग्रेस, कम्युनिस्ट पार्टीहरूले यही बहालमा आमसभाहरू गर्ने गर्थे । हरेक वर्ष होली पूर्णेका दिन यही विहारका गुथियारहरूले टुँडिखेलमा गुरुमापालाई एक मुरी चामलको भात र एउटा सिङ्गै राँगोको मासु पकाएर भोजन गराउने गर्छन् । यो चलन अहिले पनि यथावत् छ ।

काठमाडौंमा अत्यन्तै लोकप्रिय केशचन्द्रको किंवदन्ती यही विहारसँग सम्बन्धित छ । यो विहार वरिपरि ७ वटा इनार थियो भनिन्छ । तर, अहिले एउटा मात्र बाँकी छ । इनारलाई नेपालभाषामा ‘तुं’ भनिन्छ । यही ‘तुं’ शब्दबाट यो विहारको नाम ‘इतुं’ बहाः बन्न गएको हो । विहारमा बाँकी रहेको यो इनारमा पारो (मर्करी) को मात्रा धेरै भएकाले कुनै बेला यसको पानी सेतै थियो भनिन्छ । पारोको मात्रा धेरै भएकाले अहिले पनि यो इनारको पानी झिक्न फलामको बाल्टिन प्रयोग गरिँदैन, माटोको भाँडो प्रयोग गरिन्छ । तर, माटोको भाँडो प्रयोग गर्दा फुटिरहने भएकाले अहिले तामाको बाल्टिन प्रयोग गर्न थालिएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको महास्नान गर्न यहींकै पानी लैजाने चलन छ । शरीरमा जनै खटिरा आउँदा जहाँ खटिरा आएको हो त्यहाँ सिंह लेखाएर उपचार गर्ने चलन अहिले पनि छ । तर, शरीरमा सिंह लेखाउनुअघि यो इनारमा पूजा गर्नैपर्छ । अनि मात्रै निको हुन्छ भन्ने विश्वास छ ।

यो बहालभित्र साना–ठूला पाँचवटा ननीहरू (लामो आकारको फराकिलो चोक) पनि छन् । ती ननीमध्ये सबैभन्दा ठूलो ननीको नाम हो– ‘ताहाननी’ । राजमती यही ताहाननीकी बासिन्दा हुन् । ‘राजमती’ गीतको दोस्रो श्लोकमा ताहाननीको नाम उल्लेख छ ।

ताहाननीभित्र पनि अरू विभिन्न साना–साना चोक छन् । त्यसैमध्ये एउटा चोकको सामुन्ने राजमतीको घर छ । अहिले पनि स्थानीयवासी र इतिहासकारहरू यो घरलाई राजमतीकै घर भन्छन् । यो कुनै विशिष्ट खालको घर भने होइन । सामान्य स्वरूपकै घर हो । केही वर्षअघि ताहाननीमा ठूलो आगलागी हुँदा यो घर पनि क्षति भएको थियो । अहिले त्यहाँ नयाँ घर बनाइएको छ । यो घरमा हाल एक महर्जन परिवार बसोबास गर्छन् । यो अहिले किसान नेता स्व. सानुभाइ महर्जनको घर हो । उनका पुर्खाले राजमतीका सन्तानसँग यो घर किनेका थिए भन्ने कथन छ ।

इतिहासकारका अनुसार यो घर बेचेर राजमतीका सन्तानहरू केही समय इतुम्बहालमै अर्को कुनै घरमा बसेका थिए । पछि इतुम्बहालकै बाहिरपट्टि रहेको यट्खा टोलमा अर्को घर किनेर बस्न थाले । इतिहासकार र स्थानीयलाई पछ्याउँदै जाँदा यट्खा टोलमा राजमतीका सन्तानहरू अहिले पनि भेटिए । राजमती पछिको पाँचौं पुस्ताका सन्तान पुण्यरत्न शाक्यसँग राजमतीबारे कुरा गर्ने अवसर पनि प्राप्त भयो ।

५८ वर्षे शाक्य यट्खा टोलमै बस्छन् । काठमाडौंदेखि सिधा वसन्तपुर जाँदा बीचको बाटोमा यट्खा टोल आउँछ । टोलको आफ्नै घरमा शाक्यको सानो स्टेसनरी पसल छ । उनले बताए अनुसार, उनी राजमतीका पाँचौं पुस्ताका सन्तान हुन् । उनका बुबा जोगरत्न शाक्य हुन् । जोगरत्नका बुबा लतमान शाक्य र लतमानका बुबा विष्णुमान (हर्क) शाक्य । यिनै विष्णुमानकी फुपू हुन्– राजमती । शाक्यलाई अरू पुस्ताको त जानकारी छैन, उनका आफ्नै बुबा जोगरत्न शाक्य भने अहिले जीवित रहेका भए १०८ वर्ष पुगेका हुन्थे । जोगरत्नका बुबा लतमान शाक्यसम्म पनि ताहाननीकै घरमा बसेका थिए । तर, अल्पायुमै लतमानको मृत्यु भयो । लतमानको मृत्युपछि उक्त घर उनकी श्रीमती जोगलानी शाक्यको नाममा आयो । पछि जोगलानी शाक्यले नै उक्त घर किसान नेता सानुभाइ महर्जनको पुस्तालाई बेचेकी थिइन् ।

जोगलानीका नाति पुण्यरत्न शाक्यलाई राजमती र आफ्नो सम्बन्धबारे यति मात्रै थाहा छ । तर, राजमती कस्ती थिइन् ? के गर्थिन् ? उनको जीवनकथा कस्तो थियो ? निधन कसरी भयो ? यी विषयमा भने केही थाहा छैन । उनको कुनै पनि अवशेष आफूसँग नभएको उनी बताउँछन् । शाक्य भन्छन्, ‘यसबारे हामीलाई केही बताइएको छैन । मैले मेरा बुबाबाट हामी राजमतीका सन्तान हौं भन्ने मात्रै सुनेको थिएँ । त्यति हो ।’

यति चर्चित र ऐतिहासिक पात्रको सन्तान भन्न पाउनु आफ्ना लागि भने गर्वको विषय भएको उनी बताउँछन् । केही इच्छुकहरू अहिले पनि आफूसँग राजमतीबारे सोध्न आउँछन्, तर आफूले केही बताउन नसकेकोमा उनी दुःख पोख्छन् । उनलाई सम्झना भए अनुसार, केही दशकअघि ‘राजमती’ फिल्म बनाउँदा निर्माता समूहका केही सदस्य यसबारे उनीसँग सोध्न आएका थिए ।

इतुम्बहालकै लिपि विशेषज्ञ प्रतापमान शाक्यका अनुसार, विभिन्न हाँगाबिँगामा छरिएका राजमतीका सन्तानहरू विभिन्न समयमा जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरव पनि भएका छन् । काठमाडौंमा इन्द्रजात्राका बेला यी जीवित देवीदेवताहरूको रथयात्रा गरिन्छ । जोगरत्न शाक्यका भतिजा हुन्– सिद्धिमुनि शाक्य । सिद्धिमुनि नेपालका प्रख्यात पौभाः कलाकार हुन् । उनकी नातिनी प्रिती शाक्य वि.सं. २०५८ देखि २०६५ सम्म जीवित देवी श्री कुमारीका रूपमा कुमारी घरमा विराजमान भएकी थिइन् । प्रितीपछि प्रतापमानकै छोरी मतिना शाक्य कुमारी बनेकी थिइन् ।

इतुम्बहालभित्र राजमतीबारे कुनै अभिलेख, दस्ताबेज, पुस्तक भेटिएको छैन । उनी कुनै ठूला राजा, महाराजाकी चेली वा रानी होइनन् । तर, उनको माइती भने खानदानी नै थिए भन्ने तथ्य उनले लगाउने ‘बिजकली’ नामक गहनाले बताउँछ । यो गहना अहिले लोप भइसकेको छ । तर, त्यतिबेला धनीमानीका सन्तानले लगाउने ‘तायो’ र ‘पायो’ नामक गहनाभन्दा यो उच्चस्तरको गहना हो भन्ने कुरा गीतले बताउँछ – ‘तःधीथकुंया तायो दु, चीधीथकुंया पायो दु, राजमतीया बिजकली दु ।’ यसको अर्थ हुन्छ– ठूलीसँग तायो छ, सानीसँग पायो छ, राजमतीसँग बिजकली छ ।

गीतको दोस्रो श्लोकमा राजमतीको सुन्दरताको वर्णन गर्दै भनिएको छ– कतै उनी सक्वमि (साँखुले) की छोरी त होइनन् ? इतम्बहालकी छोरीलाई सक्व (साँखु) सँग जोडेकाले यी दुईबीच के सम्बन्ध छ भन्ने प्रश्न पनि उठेको छ । कोही भन्छन्, राजमतीका बुबा इतुम्बहालवासी भए पनि आमा चाहिँ साँखुकी थिइन् । त्यसैले उनी साँखुलेकी छोरी भइन् । तर, इतिहास अध्येताहरू भन्छन्– इतुम्बहालका शाक्य वज्राचार्यहरू सबै साँखुबाटै काठमाडौं आएका हुन् । काठमाडौंमा अहिले जति पनि बहाःबहीहरू छन्, ती सबैको उद्गमस्थल साँखुको गुँ विहारलाई मान्ने गरिन्छ । यसरी गीतले राजमतीको सुन्दरता मात्रै होइन, काठमाडौंका शाक्य–वज्राचार्य समुदायको इतिहासलाई पनि उत्खनन खोजेको छ ।

तर, यति विलक्षण सुन्दरी र सम्पन्न परिवारकी चेली भएर पनि उनको बिहे भने ‘सँझ्याः नभएको घरमा’ हुन पुग्यो । त्यतिबेला काठमाडौंमा सँझ्याः सम्पन्न र पहुँचवाला घरले मात्रै राख्न पाउँथे । आफ्नो घरको झ्यालमा सिसा राख्ने अधिकारसमेत जनताले जुद्धशमशेरको पालामा पात्रै पाएका थिए । सँझ्याल नभएको घरमा बिहे हुनुको अर्थ उनीभन्दा तल्लोस्तरका मान्छेसँग उनको बिहे भयो भन्ने हो, त्यो पनि उनले नचाहँदा नचाहँदै । उनलाई मनपराउने केटाहरूको ताँती नै त्योबेला लाग्दो हो । कसै कसैले त उनी स्वयम् जंगबहादुरकै प्रेमिका हुन् पनि भनेका छन् । किनभने जंगबहादुर आफैँ एक स्त्रीलम्पट शासक थिए । तर, लेखक भिक्टर प्रधानले राजमती जंगबहादुरकी प्रेमिका हुन सक्ने सम्भावनालाई नकारेका छन् । किनभने ४० वटी श्रीमती भएका जंगबहादुरले चाहेको भए राजमतीलाई घरबाट उठाएरै पनि दरवार पुर्‍याउन सक्थे । राजमतीको नाममा ‘भजन’ गाइरहनुपर्ने आवश्यकता जंगबहादुरलाई थिएन ।

तथापि राजमतीप्रतिको आशक्ति युवाहरूमा कति डरलाग्दो किसिमको थियो ? गीतका लेखकले भनेकै छन्– यदि राजमतीसँग बिहे गर्न नपाए युवाहरू काशी जाने इच्छा राख्थे । तर, त्यसको उल्टो दरबारमा वा ठूलो घरानामा बिहे हुने प्रशस्त सम्भावना हुँदाहुँदै राजमतीको बिहे सँझ्याल नभएको एउटा सामान्य घरमा हुन पुग्यो । अझ त्यसमाथि बिहे भएको केही समयपछि नै लोग्नेको मृत्यु भयो । त्यतिबेलाको समाजमा विधवा भएर बाँच्नु ज्यादै कठिन थियो । राजमतीले ती सबै कठिनाइ सहेकै हुनुपर्छ । अतः बिहेपछि राजमतीको जीवन नर्कतुल्य हुन पुगेको अनुमान सहजै लगाउन सकिन्छ । सायद राजमती जस्ती अति रूपवान स्त्रीको जीवनमा यति विडम्बनापूर्ण उतारचढाव आएकै कारण पनि उनको जीवनीमाथि यो गीतिकथा रचना भएको हुनुपर्छ । किनभने राजमतीको ओजपूर्ण रूप र त्योसँग मेल नखाने उनको हृदयविदारक जीवनी वास्तवमै त्यतिबेलाको परम्परा अनुसार गीतिकथा लेख्न योग्य ‘प्लट’ थियो ।

राजमतीको गीतले सुनाइरहेको यो विषाद्पूर्ण जीवनीलाई आधार बनाएर जनकवि दुर्गालाल श्रेष्ठ र उपन्यासकार रामशेखरले तीन दशकअघि ‘राजमती’ फिल्म बनाएका थिए, जसको निर्देशन गरेको थिए– नीर शाहले । यो नेपालभाषाको दोस्रो सेलुलाइड फिल्म हो । पहिलो फिल्म ‘सिलु’ पनि यस्तै एउटा लोकगीतमा आधारित थियो । फिल्म बनाएपछि त्यसका लागि गीत लेख्नु एउटा कुरा, तर गीत सुनेर त्यसका लागि फिल्म बनाउनु अर्कै कुरो । ‘राजमती’ त्यस्तै गीतका लागि बनाइएको फिल्म थियो ।

वि.सं. २०५२ को फागुनतिर यो फिल्म रिलिज भयो, रिलिज हुनेबित्तिकै हिट पनि भयो । केही राष्ट्रियस्तरको अवार्ड पनि पायो । फिल्ममा दुई नायक र एक नायिका थिइन् । नायिका राजमती बनेकी थिइन् कलाकार– हिसिला महर्जन । अर्का कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ र मणि राजलवट । फिल्ममा राजमतीले कसैसँग विवाह गर्न पाउँदिनन् । तर, यथार्थमा भने यही फिल्ममा खेल्दाखेल्दै हिसिला र मणिको प्रेमविवाह हुन पुगेको थियो ।

राजमती गीतका आधारमा नेपालभाषामा फिल्म मात्रै बनेन, अरु विभिन्न म्युजिक भिडियोहरू पनि बने, कथा लेखिए, कविता लेखिए, नाटक देखाइए, चित्रहरू कोरिए । राम्री बान्की परेकी छोरी–चेली देख्यो कि ‘ओहो, कस्तो राजमती जस्तै हिसी परेकी’ भन्ने चलन बस्यो समाजमा । कतिले आफ्नी छोरीको नाम राजमती राखे त, कतिले राजमतीलाई आफ्नो उपनाम बनाए ।

इतुम्बहालवासीहरू अहिले आफ्नो बहाललाई त्यहाँको सांस्कृतिक वैभवले मात्रै होइन, राजमतीको नामले पनि चिनाउन चाहन्छन् । त्यसैले राजमतीको घर जाने बाटोतिर अहिले गीतको पहिलो अन्तरा र राजमतीको चित्रसमेत सजाइएको छ भित्तामा लेखेर । राजमतीबारे यति धेरै सिर्जना, चर्चा र बहस भइरहे पनि उनीसम्बन्धी कुनै ठोस दसी भने अहिले हामीसँग उपलब्ध छैन ।

जति छ, यही एउटा गीत छ । मात्र एउटा गीत, जसले गएको दुई सय वर्षदेखि नेपाली समाजमा प्रेम, रूप, सुन्दरता र विडम्बनाको एउटा विराट विम्ब प्रस्तुत गरिरहेको छ । यो दुई सय वर्षमा नेपाली समाजको धेरैपटक कायापलट भएको छ । गीतहरू कति लेखिए, कति गाइए, कति हराइए ! तर, राजमतीको न कहिल्यै कायापलट भयो, न गुमनाम ।

‘राजमती’ गीतको लिखित दस्ताबेज कतै भेटिएको छैन, तर नभेटिएर के भयो ? राजमती आफैँ तत्कालीन नेपाली समाजको सौन्दर्यचेत, प्रेमको अभिव्यक्ति र एक महिलाको सामाजिक विडम्बनापूर्ण जीवनको जीवित दस्ताबेज हुन् । जब एउटा गीत नै दस्ताबेज बन्छ भने गीतको प्रमाण किन चाहियो ?

प्रकाशित : मंसिर १६, २०८० १०:२४https://ekantipur.com/koseli/2023/12/02/hi-rajmati-49-32.html

Tuesday, November 28, 2023

इन्द्रचोकको मायावी कथा

 सुरेश किरण

नेपाली प्राचीन इतिहासका अनेक किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । काठमाडौंको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो ।

इन्द्रचोकको मायावी कथा

त्यसो त यस सहरलाई ‘कान्तिपुर’ अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’ बाट आएको हो । र, ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक ।

इन्द्रचोकमा धेरैले देखेकै मन्दिर हो– श्री आकाश भैरव, जसलाई स्थानीय नेवाः समुदाय ‘आजुद्यः’ भन्छन् । त्यही आकाश भैरवको भव्य मन्दिरसामुन्ने बीच सडकमा एउटा सानो खाल्डो छ । सामान्यतया कसैको ध्यान नजाने खाल्डोलाई हाल सानो रेलिङको बारले घेरिएको छ । खाल्डोभित्रको एउटा ढुंगा नै कान्तीश्वर महादेव हो । हेर्दा केवल ढुंगा हो, तर ढुंगा यति शक्तिशाली छ कि त्यसैको नाम सापटी लिई यस ऐतिहासिक महानगरको नामाकरण गरिएको छ । र, विडम्बना यो सहरको नाम जुन स्रोतबाट निःसृत छ, आज त्यो सडकबीचको एक ढुंगामै सीमित छ ।

वंशावलीमा लेखिएको छ– विसं ७८१ मा राजा गुणकामदेवले कान्तिपुर नगर बसाएका हुन् । त्यसो त यो तथ्यमा समयकाल र राजाको नाम नमिलेको भन्ने पनि इतिहासकारहरूको कथन छ । तैपनि धेरैको सहमति छ– कान्तिपुर नगर बनाउँदा सहरको सुरक्षार्थ आठ दिशामा आठवटै मातृका (अष्टमातृका) खडा गरी तिनै मातृकाले बोक्ने खड्ग आकारमा यो नगर निर्माण गरिएको थियो । आठ कोणवाला त्यो खड्गाकार सहरबीचमा रहेको भूभागचाहिँ इन्द्रचोक रहेछ । त्यसैले इन्द्रचोकलाई मध्यकालीन कान्तिपुर सहरको ‘सेन्टर’ मान्न सकिन्छ ।

इन्द्रचोकलाई ‘इन्द्रचोक’ नामबाटै चिनिन्छ । तर, यहाँ इन्द्रदेवको अस्तित्व छैन । यहाँ न इन्द्रको मूर्ति छ, न छ मन्दिर । तैपनि यो चोकलाई ‘इन्द्रचोक’ भनिनु अनौठो विषय हो । इन्द्रजात्राका बेला बर्सेनि काठमाडौंका विभिन्न चार स्थानमा काठका लामा खम्बाहरू उठाएर आसन बनाई इन्द्रको मूर्ति प्रदर्शन गर्ने चलन छ । ती चार स्थानमध्ये एक इन्द्रचोक हो । तर, इन्द्र–मूर्ति प्रदर्शनकै आधारमा यसलाई इन्द्रचोक भनियो भन्नु तर्कसंगत छैन । किनभने इन्द्रको मूर्ति प्रदर्शन गरिने अन्य स्थानलाई इन्द्रचोक भनिँदैन । बरु एउटा कथा छ, भन्छु है त– इन्द्रचोकमा कुनै बेला एउटा पोखरी थियो– कालमोचन पोखरी । जसले गुँला पर्वमा (भदौ–असोज महिनातिर) उक्त पोखरीमा स्नान गरी सँगैको जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को दर्शन गर्छ, उसले मृत्युपछि यमलोक जानुपर्दैन, सीधै सुखावती भुवनमा बास पाउँछ भने विश्वास गरिन्थ्यो । किंवदन्ती भन्छ– एक दिन उक्त कालमोचन पोखरीमा स्वयम् देवराज इन्द्र आई स्नान गरे र यस स्थानको नामै ‘इन्द्रचोक’ राखियो । तर, यो किंवदन्तीको तर्कमाथि पनि सन्देह गर्न सकिन्छ । किनभने कान्तिपुरका लागि ‘इन्द्रचोक’ पूरै नयाँ र आयातित शब्द हो । यसले यहाँको स्थान–नामसम्बन्धी दर्शनलाई बोकेको देखिँदैन ।

बरु वंशावलीहरूमा इन्द्रचोकबारे एउटा महत्त्वपूर्ण कुरा लेखिएको छ । कुनै बेला काठमाडौंमा बहने वाग्मती र विष्णुमती खोला एकापसमा जोडिने दोभान नै इन्द्रचोक हो । वाग्मती र विष्णुमती काठमाडौंको सभ्यता विकाससँग जोडिएका दुई महत्त्वपूर्ण नदीहरू हुन् । यी दुई नदी इन्द्रचोकमा आएर जोडिने र त्यसपछि एउटै नदी भएर बग्ने कुरा विभिन्न वंशावलीमा लेखिएको छ । त्यसैले यसलाई ‘ह्वंगः’ भनिन्थ्यो । स्थानीय नेपालभाषामा ‘ह्वंगः’ को अर्थ दोभान हुन्छ । विश्वास गरिन्छ– ‘ह्वंगः’ शब्द अपभ्रंस हुँदै ‘वंगः’ बन्न गएको हो । इन्द्रचोकको स्थानीय नेवाः नाम अहिले पनि ‘वंगः’ नै हो । कालान्तरमा त्यो दोभान सर्दै गएर अहिलेको टेकुसम्म पुगेको मानिन्छ ।

तर, वंशावलीले यसो भने पनि पुरातत्त्वले त्यो तथ्य मानेको छैन । किनभने इन्द्रचोकमा नदी हुनुको कुनै पनि अवशेष अहिलेसम्म भेटिएको छैन । बरु अहिले चुरा–पोते बेच्ने इन्द्रचोककै ‘राखी बजार’ मा ढुंगाका घडाहरू राखिएका छन् । घडालाई नेपालभाषामा ‘घः’ भनिन्छ । घडाहरूमा सधैंभरि लेउ लागिरहन्छ । लेउ लाग्नुलाई नेपालभाषामा ‘वथं गयेगु’ भनिन्छ । त्यसरी सधैं ‘वथं गयेगु’ भइरहने ‘घः’ भएकै कारण त्यसलाई ‘वंघः’ भनिएको र ‘वंघः’ नै कालान्तरमा ‘वंगः’ बन्न गएको कथन पनि छ । ढुंगाले बनाइएका घडाहरूकै आधारमा काठमाडौंका धेरै टोलको नाम रहन गएको छ । जस्तो : न्हूघः (जैशीदेवल क्षेत्र), नःघः (बांगेमुढा क्षेत्र), सीघः (त्यहीं सँगै), त्यंघः (नरदेवी क्षेत्र) आदि । वंघः तिनैमध्ये एउटा हो ।

इन्द्रचोकको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण सम्पदा त्यहाँ अवस्थित आकाश भैरव (आजुद्यः) को मन्दिर हो । मन्दिरभित्र आकाश भैरवको शिर मात्रै भएको मूर्ति छ । यो शिरलाई पहिलो किराती राजा यलम्बरको शिर पनि भनिन्छ । नेपालको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने किरातवंश हो । उनीहरूले करिब आठ सय वर्ष राज गरे । पहिलो किराती राजा यलम्बरको नामबाटै ‘येँ’ शब्द उत्पत्ति भएको कथन छ । काठमाडौंको सबैभन्दा पुरानो नाम ‘येँ’ हो । उपत्यकावासीहरू अहिले पनि काठमाडौंलाई ‘येँ देय्’ भन्ने गर्छन् । यसरी काठमाडौंको नामकरणमै इन्द्रचोकको महत्त्वपूर्ण भूमिका छ ।

माथि भनिएझैं इन्द्रचोकमा इन्द्रको अस्तित्व देखिँदैन, तर भौगोलिक रूपले यो काठमाडौंको पुरानोमध्येकै एउटा महत्त्वपूर्ण चोक हो । विभिन्न ठाउँ आउ–जाउ गर्ने ६ वटा बाटो एकै ठाउँमा आएर मिसिएको छ– इन्द्रचोकमा । इन्द्रचोकले मखन टोल, असन टोल, वटु टोल, किलागल टोल, न्युरोड र च्वखाछेँ गल्लीसमेत गरी ६ वटा बाटालाई जोडेको छ । तीमध्ये मखनटोलबाट असन जाने सीधा बाटो लिच्छविकालीन ‘ट्रेड रुट’ हो । यो बाटाले प्राचीनकालीन काठमाडौंको माथिल्लो क्षेत्र यम्बु (कोलिग्राम) र तल्लो क्षेत्र याग्ल (दक्षिण कोलिग्राम) लाई जोडेको छ ।

इन्द्रचोकबाट न्युरोड जाने फराकिलो बाटोचाहिँ विसं १९९० को भूकम्पपछि मात्रै खोलिएको हो । भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले नयाँसडक बनाउँदा न्युरोड–इन्द्रचोक जोड्ने नयाँ बाटो खोलेका हुन् । नब्बे सालअघि त्यहाँ बाटो थिएन, स्थानीय जनताको घर–बारी थियो । हनुमानढोका दरबारको एउटा भाग पनि त्यहींसम्मै फैलिएको थियो । नयाँ बाटो खोल्न जुद्धशमशेरले आकाश भैरव मन्दिरसामुन्नेको एउटा सांस्कृतिक दबू (डबली) पनि हटाएका थिए । त्यस डबलीमा हरेक इन्द्रजात्रा पर्वमा कुमारीको रथयात्रा गर्दा देवीनाच (दीप्याखं) देखाउने चलन थियो । अहिले डबली रहेको त्यहि ठाउँमा भुइँमै दीप्याखं देखाउने गरिन्छ । यो बाटो बनाउन हनुमानढोका दरबार क्षेत्रको एउटा ठूलो भूभागलाई पनि प्रयोग गरिएको थियो । अहिले यो बाटोको नाम शुक्रपथ हो ।

न्युरोड निर्माणका बेला इन्द्रचोकको कान्तीश्वर महादेव पनि झन्डै पुर्न लागिएको थियो । स्थानीयवासीको पहलमा महादेव पुरिएनन्, तर पिचको सतह बढ्दा महादेव बास बसेको खाल्डो भने भुइँबाट निकै तल पुग्यो ।

राजा गुणकामदेवलाई देवी लक्ष्मीले सपनामा आएर इन्द्रचोकलाई बीचमा पारी नयाँ देश बनाउन आदेश दिएको प्रसंग वंशावलीमा छ । वंशावली भन्छ– आफू सदैव बास बस्ने भएकाले इन्द्रचोकमा दैनिक धेरै धन–पैसाको कारोबार हुन्छ भनेकी थिइन् रे लक्ष्मीले गुणकामदेवलाई । तर, इन्द्रचोक असनजस्तो विशुद्ध बजार होइन । यहाँ असनमाझैं नुनदेखि सुनसम्म किन्न पाइने बजार संरचना पनि छैन ।

इन्द्रचोकबाट पश्चिमतिर बढ्दा केल टोल पुगिन्छ । ‘केल टोल’ लाई ‘कोलिग्राम’ को अपभ्रंस शब्द मानिन्छ । भारतबाट आएका कोलीयहरू बसोबास गरेको ठाउँ भएकाले उक्त स्थानलाई कोलिग्राम भनिएको थियो । कोलिग्राम नै अहिलेको ‘केल टोल’ हो । अतः यो लिच्छविकालीन क्षेत्र हो ।

केल टोलकै नजिक किलागल टोल छ । किलागल टोलमा अझै नेवाः समुदायका ‘सापू’ र ‘म्येय्पू’ जातिका मानिसको बसोबास छ । सापू गाई पाल्ने र म्येय्पू भैंसी पाल्ने समुदाय हो । नेपालमा किरात वंशभन्दा अघि गाईपालक ‘गोपालवंशी’ र भैंसीपालक ‘महिषपालवंशी’ को शासन थियो । नेपालको प्राचीन इतिहासमा महिषपाल–वंश हटाएर किरात–वंश सुरु भएको र किरात–वंश हटाएर लिच्छवि–वंशको शासन सुरु भएको वर्णन छ ।

नेपाली प्राचीन इतिहासको प्रारम्भकालीन गोपाल, महिषपाल, किरात र लिच्छविकालको सजीव किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । यो चोकमाथि कुनै पुरातात्त्विक खोज त गरिएको छैन । तर, काठमाडौं सहरको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् ।

https://ekantipur.com/koseli/2021/07/31/162769852565379067.html

न्युरोड : ५० वर्षमा जे हरायो

 ग्रेटा राणा

काठमान्डुमा पाँच दशकअघि कुनै नेवारको आँगनमा उभिएर हेर्दा लहलह धानका खेत देखिन्थे । ती अब सम्झना–कथा बनिसके । सबै कथा भोलिको यादमा गएर बस्नेछन् । यहाँ याद राख्नुपर्ने धेरै विषय छन् ।

म पहिलोपटक २०२८, असार २० गते नेपाल प्रवेश गरेकी थिएँ । अबका केही महिनामा म नेपाल बस्न थालेको ५ दशक पूरा हुनेछ । यति लामो समय नेपाल बसूँला भन्ने सोचेकै थिइनँ । तर, बसेँ । त्यसमा मलाई कुनै पछुतो छैन ।

न्युरोड : ५० वर्षमा जे हरायो

त्यतिबेला काठमान्डु कस्तो थियो ? काठमान्डु ‘वाइल्डेस्ट ड्रिम अफ क्यू’ मा उल्लेखित कवितामा वर्णन गरिएजस्तो थियो । त्यसैले यो ऐतिहासिक कालखण्डमा फर्किएझैं थियो । म दिल्लीबाट पुरानो नेपाली डकोटा चढेर त्रिभुवन विमानस्थल झरेकी थिएँ । सो विमानको ट्वाइलेटको फ्युसेलाजमा प्वाल परेको थियो । तैपनि त्यो सकुशल ल्यान्ड गरेका थियो । र, सबैजना ब्यागेज लिन तँछाडमछाड गरी दौडिएका थिए । त्यतिबेला पासपोर्ट हेर्ने, छाप लगाउने सबै काम मेरो ससुराले गरिदिनुभएको थियो ।

विमानस्थलबाट हाम्रो घर ‘एकान्तकुना’सम्म जाने एउटै मात्र बाटो थियो । त्यो निक्कै शान्त सडक थियो । अहिले त जाउलाखेल पनि कंक्रिटमा बदलिइसकेको छ । अझ धेरै मानिस यो क्षेत्रमा बसोबास गर्न चाहन्छन् । जब नवआगन्तुक मसँग ‘एकान्तकुना’ बस्छु भन्छन्, तब म भन्छु– होइन, म ‘एकान्त कुनामा’ बस्छु । कुनैबेलाको हाम्रो घरबाटै अहिले यो स्थानको नामकरण भएको छ ।

काठमान्डु त्यतिबेला शान्त–सुन्दर शहर थियो । मुख्यसडक त्यतिबेला न्युरोड थियो, अहिले मुख्य सडक दरबारमार्ग भएको छ । १९९० को भूकम्पपछि निर्माण भएको न्युरोड, जुद्ध सडक मलाई निकै मनपर्थ्यो । अहिले पनि त्यहाँको जुद्धको शालिक आकर्षक लाग्छ । स्थानीयले उतिबेला त्यसलाई भत्काएर ‘राणाकालीन शालिकहरूको चिहान’ मा मिल्काउन दिएनन् । जबकि धेरै शालिकहरूको अस्तित्व त्यहाँ मेटियो ।

न्युरोडको बायाँ कुनामा निकै चर्चित र लोकप्रिय पुस्टकारी पसल थियो । बच्चाहरूका लागि त्यो सबैभन्दा प्रिय स्थान थियो । उक्त पसलले आफ्नो मालिकलाई करोडपति नै बनायो होला । त्यसको छेउमा नेपाल घरेलु उद्योग थियो, जुन अहिले दरबारमार्गमा सरेको छ । उनीहरू तत्कालीन रानी रत्नको आभूषण बनाउँथे । त्यसैले पनि उनीहरू काठमान्डुका इलिटमाझ परिचित थिए ।

दायाँतर्फको सडकबाट अगाडि बढेपछि विश्वज्योति सिनेमा हल पुगिन्थ्यो र त्यसको कुनामा नेपाल कफी हाउस थियो, जुन अहिले छैन । कफी हाउस लेखक तथा कलाकारको झमघट हुने स्थान थियो, जहाँको समोसा र डोसा निकै मिठो हुन्थ्यो । हाम्रो परिवारकै लागि त्यो मनपर्ने लोकेसन थियो ।

न्युरोडको अर्को आकर्षण त्यतिबेला पीपलबोट पनि हो, जहाँ सबै प्रकारका पत्रपत्रिका तथा पञ्चायतविरुद्ध खासखुस गर्न मानिस जम्मा हुन्थे । त्यसैको पछाडि पुरानो खाली घर थियो । त्यहाँ न कोही बस्थ्यो न कोही छिर्थ्यो । सायद त्यो भूताहा घर थियो । अहिले त्यो पनि कंक्रिटमा परिवर्तन भएको हुन सक्छ ।

प्यानरोमा होटल न्युरोड खिचापोखरीमा थियो । र, गोरखापत्र संस्थानसँगै पारस होटल थियो । ती सबै होटल द्वारिकाका प्रणेता द्वारिकादास श्रेष्ठकै परिवारले सञ्चालन गर्थे । अमेरिकन लाइब्रेरी न्युरोड र खिचापोखरीको कुनामा थियो । मलाई लाग्छ, त्यतिबेला उक्त स्थान प्रेमिल जोडीको ज्ञानभन्दा बढी माया साट्ने थलो थियो । त्यो पनि अहिले हटिसकेको छ ।

अहिले न्युरोडमा पार्किङ पाउन युद्धै गर्नुपर्छ । गाडीहरूको समुद्र नै हुन्छ त्यहाँ । त्यतिबेला हरेक गाडी कसको हो भनेरै थाहा हुन्थ्यो । बालकृष्ण सम पुरानो फोर्ड चढ्नुहुन्थ्यो । तर, हेर्दा लाग्थ्यो त्यो गाडी डेट्रोइटको फ्याक्ट्रीबाट भर्खरै निकालिएको हो । हाम्रो एन्जिला भन्ने पुरानो फोर्ड गाडी थियो, जुन ब्रेक लगाएपिच्छे बिग्रिन्थ्यो र बीच बाटोमा गाडी रोकेर ठोकठाक गर्नुपर्थ्यो । अहिले त्यो स्थिति आयो भने के होला कल्पना पनि गर्न सकिन्न ।

उतिबेला पनि र अहिले पनि निकै चाखलाग्दो ठाउँ इन्द्रचोक हो । मुसलमान चुरा व्यापारीले उक्त स्थानलाई आफ्नो भनेरै दाबी गर्न थालिसकेका थिए । धेरै मानिसलाई उनीहरू भारतीय हुन् भन्ने लाग्छ । तर, त्यसो नभएर जंगबहादुरले इराकीहरूलाई शरण दिएका हुन् । उनीहरू काठमान्डुका इमाम पनि हुन् । प्रायको बसोबास क्षेत्रपाटीमा भए पनि हाल उनीहरू अन्यत्रै सरिसकेका छन् ।

अर्को चर्चित स्थान भनेको ब्रिटिस लाइब्रेरी थियो, जुन अहिले बेलायती राजदूतावाससँगै छ । मानिसहरू त्यसको सदस्यता रिसर्चका लागि भन्दा पनि शनिबार राजदूतावसको हलमा देखाइने फिल्मका लागि लिन्थे । त्यसबेला त्यो लाइब्रेरी निकै चर्चित थियो । त्यहाँ बहुचर्चित हास्यव्यंग्यकार सिड जेम्सले निर्माण गरेको ‘क्यारी अन’ सिरिज पनि प्रदर्शन हुन्थ्यो । हामी ‘क्यारी अन डक्टर’, ‘क्यारी अन नर्स’ र सबैभन्दा हास्यप्रद ‘क्यारी अन अप द खाइबेर’ हेर्थ्यौं । ब्रिटिसहरूले गरेको व्यंग्य अमेरिकीलाई पच्दैनथ्यो । गाईजात्राका बेला बेलायती राजदूतावासमा प्रदर्शनका लागि आएका कलाकार राजदूत र महारानीमाथि नै व्यंग्य गर्थे । उनीहरूले गरेको मिमिक्रीले अमेरिकनहरू चकित नै हुन्थे । त्यही कुरा यदि अमेरिकी दूतावासमा भए उनीहरूलाई बाहिरको ढोका देखाइन्थ्यो होला । जर्ज बर्नड शाले एकपटक भनेका थिए, ‘ब्रिटिस र अमेरिकीहरू अङ्ग्रेजी भाषाले छुट्याएको दुईवटा फरक जाति हुन् ।’ धेरैलाई यो गफै लागे पनि मैले यो भिन्नता धेरैपछि क्यानडामा देखेकी थिएँ ।

आज हामीसँग के छ त ? क्रंक्रिटको जंगल । भक्तपुरमा तैबिसेक विदेशी पैसाकै कारण भए पनि मध्यकालीन संरचना जोगिएको छ । काठमान्डुका धेरै स्थानका दरबारहरू भने राणाप्रतिको रिसले ध्वस्त बनाइए । सरकारी कार्यालयका रूपमा प्रयोग भएका केही संरचना मात्रै सुरक्षित छन् । सरकारले नै अन्य स्थानका पनि जिम्मा लिएको भए ती पर्यटकीय क्षेत्रका रूपमा विकसित हुन सक्थे ।

यो प्रसंग सम्झँदा मलाई भीमसेन थापाबाट राणाहरूले लिएको बागदरबारको चर्चा गर्न मन लाग्छ । त्यहाँ लुइस १४ औंको पालाको फ्रेन्च घडी देखेर म चकित परेको थिएँ । उक्त घडीलाई भर्सेलिजका शिल्पकारहरूले मात्रै सही अवस्थामा राख्न सक्छन् । सो घडी माकुराको जालोमा जकडिएको थियो । केशरमहल पछि सरकारले आफ्नो बनायो । नाटक देखाउन अत्यन्तै उपयुक्त स्थान हो केशरमहल । त्यहाँ मलाई ‘मच अडू अबाउट नथिङ’ वा ‘अल्स वेल द्याट इन्डस् वेल’ प्रदर्शन गर्न मन छ । हाम्रो आफ्नै स्ट्राटफर्ड अन एभिवन हुन्थ्यो । काठमान्डुका नवधनाढ्यहरूले अब कलामा लगानी गर्नुपर्छ ।

अर्को निराशाजनक विषय नारायणहिटी दरबार पनि हो । पुरानो दरबार अझ सुन्दर थियो । काठमान्डुमा रहँदा देखेको राजा वीरेन्द्रको गद्दी आरोहण पनि बिर्सन सकिँदैन । हामी त्यसबेला न्युरोडअघि नै पिकनिक गर्थ्यौं । त्यहीँ बच्चाहरूसँग खेल्थ्यौं । एउटा बच्चाले त्यसबेला हात्तीलाई नै राजा ठानेको थियो । त्यसपछि कोत छ सम्झनुपर्ने । बडादशैंको अष्टमीका दिन हुने राँगाको बलि हेर्न हामी कोत पुग्थ्यौं । सेनाका उच्च अधिकारीहरू आफ्ना पदक र पट्टाहरू पहिरिएर त्यहाँ उपस्थित हुन्थे । जात्राकै महोल हुन्थ्यो । जंगबहादुरको गुरुजु परिवारमा विवाह गरेकी एक मित्रले कोतमा पूजा हुँदा गगनसिंह भण्डारीले बजाएको घण्टी आफ्नो घरसम्म सुनिने बताएकी थिइन् । अहिले काठमान्डुको कंक्रिट जंगलमा के त्यो सम्भव छ ?

काठमान्डुमा पाँच दशकअघि कुनै नेवारको घरअघि आँगनमा उभिएर हेर्दा लहलह धानका खेत देखिन्थे । अब त ती सम्झना–कथा बनिसके । तर, आज यो लेख लेखिरहँदा ती सबै कथा भोलिको यादमा गएर बस्नेछन् । यहाँ याद गर्नुपर्ने धेरै विषय छन् । तर, हामीलाई धिक्कार छ– हामीले कंक्रिटको जंगल खडा गरेका छौं ।

https://ekantipur.com/koseli/2021/04/03/161742084129276260.html