Showing posts with label Opinions. Show all posts
Showing posts with label Opinions. Show all posts

Sunday, March 31, 2024

काँठमा छैन के !

 विश्व कुइँकेल

१३ साउन २०८०, शनिबार


काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने/ हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग-यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दिइन्न ।” अन्तिममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन् । यसैको बिचमा पिसिन्छन् बाँकी मतदाता । 

यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन् र चुनिन्छन् पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन् यहाँका मान्छे । राजनीतिमा गरिखान निक्लिएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन् तर यहाँका बासिन्दा भने आफूलाई ठिक र आफ्नै भूगोलका मानिसलाई गलत देखाएर जोगिने परिपञ्च हो यो भन्छन् । 

काठमाडौँ मूल सहरभन्दा बाहिरको यही भूगोललाई धेरैले काँठ भनेर बुझ्ने गरेको पाइन्छ । काँठका मानिसका बारेमा धेरै प्रकारका किस्सा सुनाइन्छन् । पद्धतिसँग कुनै किसिमले समायोजित हुन नसक्ने अकडोका रूपमा चित्रण गर्छन् । यसमा सहर र गाउँलाई एकैसाथ देख्नु र दुवैको मिश्रित प्रभाव पर्नु मुख्य कारण हो भनिन्छ । यसैको आधारमा काँठको परिभाषा तयार गर्ने प्रयास गरिन्छ । कलम चलाउने केहीले सन्दर्भविशेष र व्यवहारजन्य पाटोबाट काँठको परिभाषा र व्याख्या गरेको पाइन्छ । यो आलेखको सन्दर्भ यसैको वरिपरि घुम्नु हो । काँठ भनेको सहरभन्दा केही बाहिरको ग्रामीण भूगोल हो र सहर तन्कँदै जाँदा काँठ मर्दै जान्छ भन्ने आमबुझाइ छ । काठमाडाैँ मात्र होइन, कास्कीलगायत केही जिल्लामा समेत यसैलाई टेकेर सहरबाहिरको भूभागलाई काँठ भन्न थालिएको पाइन्छ । तथापि सामान्यतः काँठ शब्दले काठमाडौँको यस्तै भूगोललाई बढी बुझिन्छ । यसमा सिर्जना भएका भ्रम भूगोललाई मात्र हेरेर काँठको परिभाषा खोज्नु हो किनकि यो दृष्टिकोणबाट सही निष्कर्षमा पुगिन्न । हिजो असन, इन्द्रचोकका लागि डिल्लीबजार नै काँठ थियो, जुन सरेर चाबहिल हुँदै आरुबारी पुग्यो वा यसै गरी वागेश्वरी, मच्छेगाउँ, फर्पिङतिर पुग्यो भन्ने हो भने काँठ मृत भइसक्यो भनी घोषणा गर्न मात्र बाँकी देखिन्छ । 

गैरनेवार बासिन्दालाई लिएर यसको परिभाषा खोजियो भने उपत्यकाका प्रत्येक गाउँमा स–सानो समूहमा रहेका नेवारलाई कसरी छुट्याउने ? उनीहरूमा परेको मिश्रित संस्कृतिको प्रभावलाई के नाम दिने ? केही लेखकले यहाँका बासिन्दाको आनिबानीका केही प्रतिनिधि उदाहरणलाई लिएर काँठको परिभाषा गरेको पनि पाइन्छ । त्योभन्दा पनि अगाडि बढेर काँठको कुनै संस्कृति, धर्म, परम्परा नै छैन भनी लेखिएको पनि भेटिएको छ ।

काठमाडौँको नेवार संस्कृतिको परिभाषा गर्न र यस्तो हो भनी छुट्याउन सजिलै सकिन्छ । यसो भन्दैमा नेवार बस्ती र बाहिरी घेरोमा रहेका बाहुन, क्षेत्री र दलित भनिएका समुदाय संस्कृतिविहीन नै हुन् त ? त्यही समुदायमा गाँसिएर रहेका स–साना नेवार बस्ती त्यो संस्कृतिका अङ्ग होइनन् ? अथवा नेपालका अन्य भूभागमा बसोबास गर्ने यो समुदायका मानिसको धर्म, संस्कृति, मूल्य, मान्यता र अभ्याससँग अन्तर केलाउन नसकेकै कारणबाट काँठेको मौलिक संस्कृति छैन भन्न खोजिएको हो ?

सुरु गर्छु संस्कृतिको मान्य परिभाषाबाट । धेरै किसिमका परिभाषाबाट केही सजिला शब्द सापट लिँदा परम्परादेखि निर्माण हुँदै आएको विश्वास, परम्परा, मूल्य, मान्यता, अभ्यास, जीवनशैली आदिको जोड वा कुल योगलाई संस्कृति भन्ने गरिन्छ । यही वृत्तमा बसेर काँठको परिभाषा खोज्ने हो भने यहाँको मौलिक विश्वास के हो, के कस्ता जीवित परम्परा छन्, कुनै विषयवस्तुलाई हेर्ने सामूहिक दृष्टिकोण के हो, ठिक र बेठिकबारेको समूहगत धारणा के हो, आमजीवनशैली के हो भन्ने पक्षहरू खोज्नुपर्ने हुन्छ । केही उदाहरण हेरौँ ः काठमाडौँको दक्षिण–पूर्वी कुनोमा गोदावरी पर्छ, जहाँ बाह्र वर्षमा मेला लाग्छ । त्यहाँ नित्य पूजाका परम्परा छन् र जीवनशैलीसँग जोडिएका कुरा छन् । दक्षिण–पश्चिम कुनामा रहेको मत्स्यनारायणदेखि उत्तरमा रहेका बुढानीलकण्ठ नारायण, इचङ्गु नारायण र विशङ्खु नारायणसँग जोडिएका रीतिरिवाज छन् । कागेश्वरी, वागद्वार, फूलचोकी आदि स्थानमा वर्षमा एक पटक लाग्ने मेला छन् । 

चुनदेवी मन्दिरमा गाईको दूध चढाउने परम्परादेखि मच्छिन्द्रनाथलाई गहुँ, मकै चढाउन जाने परम्परा जीवित छन् । बच्चा बिरामी हुँदा तीनतिर देवता थान (कोही नेपाल देवता) भन्दै ज्ञानेश्वर, भाटभटेनी र हारती मन्दिर (स्वयम्भू) मा पुग्ने गर्दछन् विशेषतः आमा । काठमाडौँका प्रत्येक स–साना खोल्साखोल्सी र नदीनालासँग जोडिएका धार्मिक प्रसङ्ग कति छन् कति । यी भए धार्मिक विश्वासका कुरा ।

अर्को तर्फ इतिहासको कालखण्डमा व्याख्या भएका केही स्थान छन्, जसको खोजी भएकै छैन । नेवारी शब्द ‘दाँ यानेकी पैसा र छेँ यानेकी घर’ बाट बनेको डाँछी होस् वा कीर्तिपुर क्षेत्रमा पर्ने भनिएको झुलनगर होस् अथवा काँठका विभिन्न भूभागमा जग्गा प्लटिङ वा इँटा पार्ने प्रयोजनका लागि खन्दा फेला परेका पुराना संरचनाको कुरा होस्, तिनको खोजी भएकै छैन । गोकर्ण क्षेत्रमा मृत्यु संस्कारमा किन शङ्ख बजाउँदैनन् 

हिन्दु ? उपत्यकाका धेरै ठाउँमा शिववाहन नारेर खेत किन जोतिन्न ? यी कुराको सङ्ग्रह गरिदिने कसले ? काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनिएको छ । यस वरिपरिका प्रत्येक जसो थुम्कामा पनि मन्दिर छन् । ती देवीदेवतासँग जोडिएका प्रसङ्ग पनि छन् ।

ग्रामीण जनजीवन भनेको खेतिपातीमा नै आश्रित हुन्छ । हिजो कङक्रिट जङ्गलको निर्माण हुनुअघि काँठका अधिकांश जग्गामा खेती हुन्थ्यो । गाई, भैँसी, भेडा, बाख्रा आदि पाल्ने चलन थियो । यो खेती प्रणालीको अङ्ग हो । अर्थशास्त्रीय मान्यताले भन्छ, अर्थोपार्जनको अवसर प्राप्त हुँदा व्यक्ति नयाँ पेसा र व्यवसायमा सर्छ । हिजो काँठको मान्छे खेती गथ्र्याे, पशुपालन गथ्र्यो र दूध वा तरकारी बोकेर सहर बजारमा बिव्रmी गर्न आउँथ्यो । जागिर कमै खान्थ्यो । व्यापार कमै गथ्र्यो । अवसर पाउनेहरू दरबार पसेर जजमानी वा अन्य सेवा पनि गर्थे । टन्न जग्गाजमिन हुने केही व्यक्तिको जमिनदारी जीवनशैली हुन्थ्यो । कम जग्गाजमिन भएका केही दलित भनिएका समुदायका मानिस उनीहरूसँग आश्रित हुन्थे । आज यही समुदाय व्यापार, व्यवसाय वा जागिरमा रमाएका छन् । यो समयले ल्याएको बदलाव हो । 

असारमा रोपाइँ हुँदा काँठमा गाउने असारे भाका बेग्लै छ । यसमा प्रयोग हुने शब्दहरू बेग्लै छन् । टन्न जग्गाजमिन हुँदा पनि बेसाउनु परेको दुःखको भाका बेग्लै छन् । बिहेमा गाउने रत्यौली भाकाका शब्द, लय र भावहरू बेग्लै छन् । रत्यौलीमा लाहुरे परम्परा र त्यसबाट व्यक्त गरिने भावनाका कथा पनि छन् । धार्मिक पर्वमा सिलोक गाउनेदेखि बिहेमा जगाउने खाँडो परम्परा छन् । मेला जात्रामा गाइने छुट्टै भाका छन् । 

काँठको संस्कृति खोज्दै जाँदा देखिने सबैभन्दा महत्वपूर्ण कुरा हो नदी सभ्यताको विषय । उपत्यकाको सबैभन्दा मुख्य नदी हो बागमती । बागमती नदीमा आएर जोडिएका अन्य खोला मात्र होइन, खोल्सीसँग जोडिएका परम्परा पनि छन् । हिमवत् खण्डको नेपाल महात्म्यमा बागमती नदीमा मात्र ८७ वटा तीर्थको नाम उल्लेख छ (नेपाल देशको इतिहास सङ्ग्रह : इन्टरनेट ) । खास तिथि वा पर्वमा त्यस्ता तीर्थमा स्नान गर्दा हत्यासम्मको पाप पनि पखालिने दाबी गरिएको पाइन्छ । 

हिन्दु सनातन परम्परासँग जोडिएका जनैपूर्णिमादेखि तिज, ऋषिपञ्चमी आदि चाडपर्वसँग नदीमा गरिने संस्कारहरू जोडिएका छन् । त्रिवेणीहरूमा घाट परम्परा र मन्दिर निर्माण मात्र होइन, बसोबास र नदी सम्बन्धको जोडसमेत स्पष्ट देखिन्छ । मृत्युपछिका विविध संस्कारसँग मात्र होइन, शुभकार्यपछिको प्रसाद विसर्जनका परम्परा नदीनालासँग जोडिएका छन् । यहाँ ब्राह्मण परम्परा मात्र होइन, सहरबाहिरको भूगोलमा बस्ने नेवारसमेत समान रूपमा जोडिएका पाइन्छन् । नेवारी संस्कृतिको अङ्ग बनेका कतिपय जात्रा पर्वसँग गैरनेवार समूह समान रूपमा जोडिने गरेको प्रसङ्ग पनि यहीँनेर जोड्नु उपयुक्त हुन्छ । स्वस्थानी कथा वा शाली नदी मेलामा नेवार संस्कृति र गैरनेवार संस्कृतिको सम्मिलन यसको प्रत्यक्ष उदाहरण हो ।

आनिबानी पनि संस्कृतिका अङ्ग मानिन्छन् । काँठका मानिसको भिन्न आनिबानी छ, जुन कतै मिल्दैन भनी दाबी गर्नेहरू पनि छन् । बोलिचाली र गीतको भाकासमेत ठाडो र निरसिलो भनिन्छ । सामाजिक विज्ञानका केही प्रख्यात सिद्धान्तको जगमा बसेर हेर्दा तिनलाई पुष्टि गर्न भने कठिन छ । माथि अलग प्रसङ्गमा उल्लेख गरिसकियो, यस क्षेत्रका केही पहुँच भएका मानिस दरबारको सेवा वा जजमानीमा रमाउँथे, जो निःसन्देह शक्तिको निकट हुन्थे । शक्तिको निकट हुनेहरूले सोही कारणबाट आफूमा कुनै किसिमको शक्तिको अनुभव गर्नु अन्यथा होइन । 

आफूलाई शक्तिशाली ठान्दा कमजोरमाथि हैकम चलाउने र बलियोसँग झुक्ने प्रवृत्ति आममानिसमा हुने आधारभूत चरित्र नै हो । तथापि यो काँठको मूलभूत चरित्र हो भन्नु पूर्वाग्रहभन्दा बढी होइन । एजी फ्य्राङ्कले विकसित र अल्पविकसित राष्ट्रको परनिर्भरताको व्याख्या गर्न प्रतिपादन गरेको सिद्धान्तलाई सन्दर्भमा लिएर मुख्य भूभाग र उपग्रह भूभागका रूपमा शासकीय केन्द्र र केन्द्रबाहिरको क्षेत्रलाई मान्ने हो भने यो सम्बन्ध सूत्रलाई काँठ र सहरसँग तुलना गर्दा पनि खासै अन्तर देखिन्न । नेपाली समाजमा भएका अन्य सामाजिक विकृतिलाई काँठमा मात्र थियो भनी अपव्याख्या गर्नु पनि उपयुक्त होइन । यस्तै बोल्ने शैली वा लवजमा भएको भेदका कारण बोलिचाली केही ठाडो सुनिनु अन्यथा होइन ।

माथिका सबै प्रसङ्ग र उदाहरण हेरिसकेपछि काँठको भूगोल के हो भन्ने प्रश्न गौण हुनु पर्छ किनकि सहरको विस्तारसँग काँठको परिभाषालाई अलमल्याउनु हुन्न । काठमाडौँको सबै भित्तासम्म सहरको विस्तार भयो भने काँठ सकिँदैन । बरु यसको मौलिक संस्कृति नै थिएन, छैन भन्ने तर्कसँग सहमत हुन थालियो भने काँठ मृत हुन्छ । 

बिहान कृषिकर्म गरेको कुनै व्यक्ति सहरमा सानोतिनो जागिर खान आउँदा उसको शरीरबाट आउने माटो, गोबर वा पसिनाको गन्धसँग जोडेर व्यङ्ग्य गरेपछि उसले प्रतिक्रिया जनाउनु अस्वाभाविक होइन । अनि जग्गाको मूल्य बढ्दै जाँदा जग्गा बेचेर व्यवहार मिलाउने प्रवृत्ति काँठको मात्र होइन । यिनै व्यवहारजन्य र परिस्थितिजन्य उदाहरणबाट काँठमा जन्मेहुर्केका मानिसले आफूलाई पृथक देखाउन खोज्नु पनि उपयुक्त होइन । 

समग्रमा काँठको मौलिक संस्कृति छ, सभ्यता र इतिहास पनि छ । यसलाई जोडेर काँठको समुचित परिभाषा गर्नु पर्छ । काँठमा सहर निर्माण हुँदैमा यहाँका मौलिक कुरा मास्नु भनेको साँच्चै काँठलाई मार्नु हो । काँठ जोगाउनु छ भने यहाँको संस्कृतिको अभिलेखीकरण गर्नु र पृथक सांस्कृतिक विम्बको निर्माण गर्नु पर्छ । मूर्धन्य लेखक जन्माएको काँठले सांस्कृतिक विम्ब निर्माण गरेर विद्वत समाजलाई दिनु पर्छ । काँठ कुनै संस्कृति र सम्पदाविहीन हो भनेर लेख्दै हिँड्नु आफ्नै अस्तित्वप्रति गरिने ‘महान्’ व्यङ्ग्य मात्र हो ।  

https://gorkhapatraonline.com/news/72795

Friday, December 30, 2016

नेपालका नेवारहरु

नेपालका नेवारहरु

प्रकाशित मिती : शुक्रबार, साउन २५, २०७०
अशोकचन्द्र धुँजू श्रेष्ठ

नेपाल एशियाको माझमा हिमालयको काखमा विशाल चीन र भारतको बीचमा रहेको एक भूपरिवेष्ठित मुलुक हो । यो परापूर्वकालदेखि अस्तित्वमा रहेको एक प्राचीन मुलुक हो । अनेक जातजाति, भाषाभाषी र विविध धर्मावलम्बीहरुले निवास गरेको र उत्तर दक्षिण, पूर्वपश्चिमका बीच प्राचीनकालदेखि आवतजावत र लेनदेन चल्दै आएकोले ‘नेपाल’ शब्दको विभिन्न अर्थ विभिन्न धार्मिक दृष्टिले आ आफ्ना खालको व्याख्या र व्युत्पत्तिबारे अनेक मत मतान्तर देखिएका छन् । नेपाल शब्दलाई विद्वान्हरुले विशेषतः तिब्बती, नेवारी, लिम्बु, लेप्चा भाषाहरुको आधारमा अथ्र्याउँदै आएका छन् ।
नेवारी भाषामा नेपाललाई ‘नेपा’ भन्ने गरिन्छ । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’को अर्थ ‘देश’ हुन्छ । हिमाली श्रृंखलाको मध्य भागमा रहेको देश भएकोेले देशको नाम नेपाल भन्ने प्रचलन भएको हो भन्ने भनाई छ । ‘नेपाः’ शब्दमा ‘ल’ प्रत्यय थपिएर नेपाल हुन गएको हो । टामस यङ्गले र जार्ज ग्रियर्सकनको भनाई अनुसार नेवार र तामाङको रक्त मिश्रणबाट ‘न्यार्वा’ भन्ने जाति बनेको र त्यही न्यार्वा शब्दबाट नेवार बनेको अनि नेवारबाट नेपाल बनेको हो । ८०० वर्ष पुरानो एक रचनामा नेपालवासीलाई गिवाल (नेवार) भनिएको हो । यस अनुसार नेपालबाट नैपाल, णिवाक, निवार भई नेवार शब्द जन्मेको अर्को तर्क पनि छ ।
काठमाडौं खाल्डोमा मंगोलियाको गोबी नमूनाको ढुंगे उपकरण फेला परेबाट पाषाण युगका मंगोलहरु तिब्बत र हिमालय पार गरी नेपाल आइपुगेको र ईसाई पूर्व ३० हजार वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाडौं उपत्यकामा आवाद भएको अनुमान पुरातत्व र मानवशास्त्री जनकलाल शर्माले गर्नुभएको छ । यस अर्थले नेपालमा प्राथमिक रुपमा मंगोल मूलका विभिन्न प्रजातिहरुको सभ्यता थियो । नेवार पनि ती सभ्यतामध्ये एक मूल सभ्यता हो । यो हिन्दू आर्यहरु नेपाल प्रवेश गर्नुभन्दा धेरै पहिले हिमालय फेदमा विकसित भइसकेको थियो । पछि नेपाल खाल्डोमा लिच्छवी अनि विभिन्न समयमा अन्य हिन्दु आर्यहरु प्रवेश गरी नेवारहरुसँग घुलमिल हुँदै नेवार समाजलाई हिन्दूकरण, संस्कृतिकरण, मैथिलीकरण समेत गरेको देखिन्छ । यो खाल्डोमा बाहिरबाट आउनेले राज्य ग¥यो र नयाँ संस्कृति ल्यायो । तर खाल्डो पसेपछि त्यो नेवारी सभ्यताकै अंग बन्यो ।
बाहिरबाट आउनेहरुको घुलमिलले गर्दा नेवार जाति एक जाति नभई विभिन्न जातिको एक समूह बनेको हो । गैर नेवार हेर्दाले नेवारजाति एउटै जस्तो लाग्दछ । त्यस्तै एउटै भाषा, एउटै धर्म र एउटै संस्कृति जस्तो लाग्दछ होला तर त्यस्ते होइन । हाइमनड्रफका (१९६०) का अनुसार योभित्र २६ प्रकारका जातिहरु भित्रिएका छन् । भाषाको बोली ठाउँ अनुसार फरक देखिएको छ ।
धर्मको कुरामा नेवारहरु शैव, हिन्दू र बौद्ध आधा हुनसक्छ । त्यस्तै संस्कृति र संस्कारमा जाति अनुसार केही फरक हुन सक्छ । नेवारमा विभिन्न जातिको भाषा एउटै भए पनि जाति अनुसार धर्म र संस्कृति केही फरक हुनसक्दछ । त्यसो भएता पनि सबै जातिमा समन्वय र सहिष्णुता हुन्छ । यसको ज्वलन्त उदाहरण हो विभिन्न जातिले संयुक्त रुपमा मानी आएको विभिन्न जात्राहरु । त्यस्तै नेवार समुदाय एउटा विभिन्न जातिको समूह भएकोले आ आफ्ना फरक पहिचान र संस्कृतिहरु छन् ।
नेवार एउटा सुसंस्कृत सभ्य र उन्नत समुदाय हो । चाडपर्व मनाउनेदेखि रीतिथिती र संस्कार संस्कृतिमा आफ्नै अनुसारको मौलिकता छ । तर आधुनिकता र पाश्चात्य संस्कृतिको प्रभावले कतिको जाति विशेषको आफ्नो मौलिक पहिचान र संस्कृति छोडिँदै आएको छ ।
काठमाडौं उपत्यकामा नेवारहरु धेरै भएकोले र नेवारहरु भएको ठाउँमा नेवारहरुको संस्कृतिसँग जोडिएका चाडपर्वहरु मानि आउनु स्वभाविक हो । ती चाडपर्वहरु ऋतुको भरमा मानी आएका छन् । बौयागु ख्वाः स्वय्गु, मांयागु ख्वाः स्वय्गु, देगुपूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथाः, मोहनी, स्वन्ति, म्हःपूजा, पाहाँचह्रे, योमरी पुन्ही आदि नेवारहरुको मानी आएका चाडपर्वहरु हुन् । स्थानीय जात्राहरु पनि छन् । नेवार समाजमा विभिन्न नश्ल, धर्म, संस्कृति र परम्पराहरुको संयोजन छ । यसर्थ नेवार जाति होइन, राष्ट्रियता हो भनी इतिहासकार डिल्लीरमण रेग्मी भन्नुहुन्छ ।
जातिको उद्गम सम्बन्धमा विभिन्न मानिसको विभिन्न धारणाहरु छन् । अधिकांशको भनाईमा कुल, वर्ण र काम अनुसार नै जाति निस्केको हो । तर हिन्दूहरुको भनाइमा मतभेद छन् । केही विद्वान्ले त यो सामन्ती सोच भएका राजा ब्राह्मणहरुको आविष्कार भनेका छन् । तर जन्म व्यवसायको भरमा जाति व्यवस्था नेपाल र यो प्रायदीपमा मात्र होइन, पहिले फ्रान्स, रोम र जापानमा पनि प्रचलित थियो । त्यसपछि यो व्यवस्था हाम्रोमा आएको हो । यो व्यवस्था भारतमा बाहेक प्रायः अन्य ठाउँमा चलेको देखिँदैन ।
जयस्थिति मल्लले बनाएको जातीय वर्गीकरण भन्दा पहिले दुइटा मात्र जात थिए – भारो र भाबो । शासक वर्गलाई भारो भनिन्थ्यो भने बाँकी सम्पूर्ण वर्गलाई भावो भनिन्थ्यो । त्यसबेला ज्यापुहरुलाई भावो भनिन्थ्यो । पछि जातिको वर्गीकरणपछि भावो नै ज्यापु भएको हो । त्यसमा पनि कामको आधारमा यस जाति पनि विभिन्न थरमा वर्गीकरण हुन गयो, जस्तै कि महर्जन, डंगोल, सुवाल, सिं, प्रजापति आदि । भारो शब्दको अर्थ कहीँ श्रेष्ठ भनेर पनि प्रयोग गरेको छ । नेवार जातिमा श्रेष्ठ थर अधिक चर्चित छ । श्रीयन्त्रलाई इष्टदेव मान्ने नेवार भएकाले श्री–इष्ट श्रेष्ठ भनेको भन्ने भनाइ पनि छ ।
शारीरिक बल खर्च नगर्ने तर राज्यसत्तासँग नजिक रहेर व्यापार, उद्योग, राजनीति, प्रशासन र औषधी व्यापार आदि कार्य गर्ने नेवारहरुलाई मल्ल राजाको पालसम्म भारो भन्ने चलन छ । श्रेष्ठहरुको छ वटा जात र ६८ उपजात छन् भनी पुरातत्वविद् शंकरमान राजवंशीको भनाइ छ । मास्के, प्रधान, अमात्य, जोशी, राजभण्डारी, कर्माचार्य मूल श्रेष्ठ हुन् । नेवारजातिको यस श्रेष्ठ (स्यस्यः) समाजभित्र मंगोलियन नश्ल मात्र होइन, खस, ब्राह्मणदेखि लिएर मधेशमा बस्ने मधेशीहरु र हिमाली जातिकाका तामाङ सम्मको नश्लका अस्तित्व पनि छन् ।
जयस्थिति मल्लले यस नेवार जातिमाथि चार वर्ण छत्तिस जातको मनु महाराजको हिटलरी नीति नपकडाई दिएका भए पृथ्वीनारायण शाह पनि जातिवादी नभएका भए आजसम्म त्यही नेवार संस्कृति र राष्ट्रियता एक ढिक्को भएर बज्र झैं बलियो हुने थियो, दुर्भाग्य त्यो भएन भनी धर्मरत्न यमीले भनेको कुरा सान्दर्भिक छ ।
नेवारहरु जति पुराना छन्, त्यत्तिकै नेवारी भाषा (नेपालभाषा) पनि पुरानो छ । किराँतकालमा नेवारी भाषा जनभाषाको रुपमा प्रचलित भएको देखिन्छ । लिच्छवीकालदेखि शासक र पुरोहित वर्ग बाहिरबाट आएका र संस्कृतका पक्षपाती हुँदा लोकभाषा नेपाली भाषाले विकास गर्न पाएन । राजा जयस्थिति मल्लको शासनकालदेखि भने नेवारी भाषाले प्रश्रय पाउन थाल्यो । त्यसताका नेपालभाषा नामले देशभाषाका रुपमा नेवारी भाषाले सम्मान पाएको थियो । त्यस्तै सम्वत् नेपाल सम्वत् चलाइन्थ्यो । नेपाल सम्वत् मध्यकालीन समयमा नेपाल खाल्डोमा सीमित थिएन, भारत र चीनका शासकहरुले समेत चलाएको देखिन्छ । राजा सिंहप्रताप शाहको शासनकालमा नेपाल तिब्बत सन्धीपत्र समेत नेवारी भाषामा लेखिएको कुृराले के प्रष्ट हुन्छ भने राणाकाल अगाडि भाषागत भेदभाव महसुस गरिएको थिएन । राणाकालमा अन्य क्षेत्रमा जस्तै नेवारी भाषाप्रति दमनचक्र चल्न थाल्यो । सूर्यविक्रम ज्ञवालीको भनाइ अनुसार नेवारी भाषा पनि चिनियाँ, बर्मेली इत्यादि भाषा सहर एक मात्रिक भाषा हो ।
नेवारी भाषाका आफ्नै लिपिहरु छन् ः गोलमोल, रञ्जना, भूँजिमोल, कुमोल, क्वेँमोल, हिमोल, लितुमोल लिपि । यी लिपिमा लेखिएकालाई नेपाल लिपि भन्ने गरिएको छ । तिब्बती महायान्मा मन्त्रहरु नेवारी लिपिमा लेख्ने र गुम्बाहरुमा सजाउने काम मंगोलिया, रुस, चीन र भुटानमा समेत फैलियो । हाल यस भाषामा पनि सुगमताका लागि मुद्रणमा देवनागरी लिपिको प्रचलन हुन थाल्यो ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न भाषाभाषी जातजातिको बसोबास छ । नेपालको ७५ मध्ये ७३ जिल्लामा नेवारहरुको पनि बसोबास छ । उनीहरुले आफ्नो जातीय पहिचान झल्कने केही न केही कुरा चलनचल्तीमा राखेको देखिन्छ । जस्तै नेवारभाषा वा केही नेवार शब्दहरु, भेषभूषा, खाने परिकारहरु, चलनचल्तीको घरायसी सामानहरु, रोजगारीका सामानहरु, बाजागाजा, नाचगान, रीतिरिवाज, चाडपर्व आदि ।
नेवारको आदिभाग काठमाडौं उपत्यका हो । तर विभिन्न समयमा नेवारहरु काठमाडौं उपत्यकाबाट टाढा जाने काम भएको छ । नेपालको विभिन्न जिल्लामा मात्र होइन, नेपालबाट बाहिर जाने काम भएको छ । विशेष गरेर भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ आदि ठाउँहरुमा नेवारहरु प्रशस्त छन् । प्रवासमा भएका नेवारहरु अनेक जातका भएर पनि राजनीतिक, सामाजिक र सांस्कृतिक कारणले त्यस प्रकारका नेवारहरुले आफ्नो मौलिक जातलाई छोडेर सजिलोको रुपमा प्रधान भनेर लेख्ने चलन गरेको छ ।
नेवारी कला, संस्कृति, परम्परा अनि चाडपर्व आफ्नै विशेषताको छ । जुन हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत प्रचलित छ । संयुक्त राष्ट्रसंघमा सदस्य भएका सबै मुलुकहरुले आफ्नो लिपि राखेका छन् । नेपालको परिचयका लागि नेपालका नेवारीहरुको संस्कृति र कलाकारिताको मौलिक लिपिमा रञ्जना लिपि उल्लेख भएको छ । यो सबै राष्ट्रको गौरवको विषय हो । यसर्थ नेवार कला, संस्कृति, भाषा, साहित्य र सम्पदा नेवारहरुलाई एक ढिक्का बनाई राख्नु जरुरी छ ।  तर राज्यको तर्फबाट सयौं वर्षदेखि नेवारी समुदायप्रति नराम्रो नजरले हेर्ने जुन काम भएको छ, त्यो नेवार समुदायले गहिरो चोट पाएको अनुभव लिएको छ । अनि नेवार जातिमा छुवाछुत, पानी चल्ने, नचल्ने नियमहरु जुन कायम भएका छन्, त्यो आप्रवासी हिन्दु आर्यहरुको मनुस्मृति नियमका कारण भएको हुनाले त्यसलाई हटाउनु जरुरी छ, किनकि त्यो अति दुःखद पक्ष हो ।

http://www.kavretimes.com.np/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%81/

Thursday, December 22, 2016

उपत्यकामा नेवार जातिविरुद्धका षड्यन्त्र

उपत्यकामा नेवार जातिविरुद्धका षड्यन्त्र

October 23, 2016

(कृष्ण प्रजापती) नेवारहरूलाई बहिष्करणमा पारी विस्थापित गर्न विभिन्नरूपमा षड्यन्त्र हुँदै आइरहेको छ । २ सय ५० वर्ष अगाडिदेखि नै नेवारहरूलाई विस्थापित गर्ने कार्य भने शुरु भइसकेको थियो । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरिसकेपछि भाषा र संस्कृतिमा विभेद उत्पन्न गरी नेवारहरूलाई नै विस्थापित गर्न खोजेका थिए । उपत्यका जित्न पहिलोपल्ट कीर्तिपुर हमला गरिसकेपछि २ वर्षसम्म पृथ्वीनारायण शाहले उपत्यकामा आर्थिक नाकाबन्दी गरेका थिए । नाकाबन्दीको मार भोगेका हामी उपत्यकाबासीले नाकाबन्दीको कष्ट कस्तो हुन्छ भन्ने कुरा त स्पष्ट नै देखिन्छ । त्यति बेला नुन, कपास जस्तो बाहिरबाट आउने सबै चिज बन्द गरी दिएको थियो । नुन खान नपाएर मानिसमा शक्तिहीन हुन पुगेका थिए ।
अहिले पनि नेवारहरूको विरुद्ध यहाँ के–कस्तो षड्यन्त्र भइरहेको छ भन्ने हामीले बुझ्न सकेनौं भने हामीले आफ्नो अस्तित्व बचाउन नै नसक्ने अवस्था आउन सक्छ । अहिले पनि गैरनेवारहरूले नेवाःविरोधी षड्यन्त्र गरिरहेको कुरा नेवारहरूले चाल पाउन सकेका छैनन्, बरु नेवारहरू आपसमा बाझाबाझ गरिरहेका छन् । यो गम्भीर मामला हो । यस्तो कुरामा नेवारहरू समयमै होसियार रहनुपर्छ । आज सीधै नेवारहरूको आदिभूमिको रूपमा रहेको उपत्यकाभित्र नेवारहरू विस्थापित गर्ने कार्यमा बाहिरी चक्रपथको अवधारणालाई अगाडि ल्याइएको छ । यसले गर्दा पनि आदिवासीहरूलाई विस्थापित गर्ने षड्यन्त्र भएको स्पष्ट भएको छ । एसियाको एक रिसर्च सेन्टर संस्थाले २ वर्षसम्म गरेको अध्ययनले १३ करोड आदिवासीलाई विस्थापित गर्न खोजेको छ । संसारभरका आदिवासीहरू हाल आफ्नो अस्तित्व रक्षा गर्ने मामलामा अगाडि बढेको स्पष्ट देखिन्छ । त्यसमा नेवारहरू पछि नै परेको देखिन्छ ।
२०४९ सालसम्म सुनधारादेखि असनसम्मको पसलमा व्यापार व्यवसाय नेपालभाषाबाटै हुन्थ्यो । हाल आएर सुनधारादेखि असनसम्म नेवारहरू विस्थापित भइसकेको अवस्था छ । त्यहाँ अब नेपालभाषा बोलेर सामान बेच्नुपर्दैन । त्यति बेला बैंकमा जाने बखत नेपाल बैंकका कर्मचारीहरू पहिला–पहिला नेवाः कर्मचारी पनि देखिन्थे । हाल आएर नेपाल बैंकमा नेपालभाषा बोल्ने वातावरण रहेन । त्यसै गरी केही समयअगाडिदेखि नेपाली भाषा मात्रै बोल्ने कोही कीर्तिपुरको गाउँ–गाउँमा घुम्न गएको खण्डमा त्यहाँ खस भाषा बोलेर केही सामान किन्न खोज्यो भने पनि ‘भाय् मस्यू’ भनी तर्किने गरिन्थ्यो । अहिले भने बच्चादेखि बुढाबुढीसम्म पनि खस नेपाली भाषा बोल्ने चलन गर्न थालेका छन् । २०४० सालमा डा. हर्ष गुरुङको अध्यक्षतामा एक भाषा विस्थापनको अवस्थाबारे अध्ययन भएको थियो । अध्ययनको समयमा कोही कोही मात्रै मानिस बाहिरबाट यहाँ आएका देखिए । उपत्यकाभित्र नेवारहरूले बोल्ने नेपालभाषा बोल्ने चलन बाहिरबाट यहाँ आएका नेवारहरूले पनि गरेका थिए । तर, हाल भने ती नेवारहरूको आदिभूमि हो भन्ने दाबी गर्न नहुने अवस्था आएको छ । नेवारहरूभन्दा पनि गैरनेवारहरूको बाहुल्यता देखिएको छ । काठमाडौं, ललितपुर त झन् अतिक्रमण भएको छ । जग्गा कारोबारको हिसाबले केही कम अतिक्रमण भएको स्थान भने भक्तपुर मात्रै हो ।
उपत्यका नेवार आदिभूमि हो । पहिला–पहिला बाहिरबाट आउने सबै जाति नेवारी भाषा बोल्थे । तामाङदेखि मधेसकाले पनि नेवारी भाषा बोल्न सिक्थे । २०४० सालसम्म यहाँ ६७ प्रतिशत मानिसहरू बाहिरबाट आएका देखा परेको थियो । हाल २४ प्रतिशतसम्म रहेका बाहुन क्षत्री उपत्यकाभित्र ४४ प्रतिशत पुग्ने अवस्थामा छन् । तथ्यांकले यस्तो अवस्था सिर्जना हुने गरेको छ । २०५० सालपछि सीधै यहाँ नेवाहरूको पहिचान र सांस्कृतिकरुपमा समेत आक्रमण भएको छ । सांस्कृतिकरूपमा नेवारहरूलाई विस्थापित गर्नका लागि भएको एउटा स्पष्ट उदाहरण पहिला–पहिला नेवारहरूबाट राखिएको मौलिक नामहरू सबै खस नेपाली भाषामा राखिसकेको अवस्था छ । लुँबुँ नगरपालिका राखिनुपर्ने स्थानमा हाल महालक्ष्मी नगरपालिका राखिएको छ । त्यस्तो कुरामा अरू त अरू नै भयो । हामी नेवारहरूको गुथिका नाइकेहरूसमेत मौन रहन पुग्यौं । महालक्ष्मी क्षेत्रमा अग्ला अग्ला घरहरू बनिसके । ती घरहरू सबै गैरनेवारहरूका हुन् । कसरी केही वर्षभित्रै चार भञ्ज्याङ पार गरी उपत्यका भित्रिएका गैरनेवारहरूले नेवारहरूको जाग्गा किनेर पनि घर ठड्याउन सम्भव भयो ? कसरी हाम्रो जग्गा जमिन सबै बाहिरका मानिसहरूको हातमा पर्न गयो ? त्यो भने विचार गर्नुपर्ने भएको छ । त्यसैले पनि हिजोको भक्तपुरको ≈वगां पलि आज ‘भत्क्यापाटी’ हुन पुगेको छ । हिजोको ज्वः फल्चा ‘जोरपाटी’ हुन पुगेको छ । त्यति मात्रै होइन कि इनाय्गाः हाल ‘दूधपाटी’ हुन पुगेको छ । हिजोको च्वकंतिला आज ‘चोकिन चिल्ला’ हुन पुगेको छ । तप्पा दम्फो पनि ‘वाईसीएल मार्ग’ मा परिणत भएको छ ।
चार भञ्ज्याङ पार गरी आएका मानिसहरू दश–बाह्र वर्षभित्रै जग्गा किनेर घर बनाउन कसरी सफल भए ? हामी भने विवाह, व्रतबन्ध गर्न पनि आफ्नो जग्गा बेच्न बाध्य भइरहेका छौं । डेनियल राइट जस्ता अन्तर्राष्ट्रियस्तरका विद्वानले मल्लकालमा नेवारहरू उच्चस्तरको भन्ने गरेकोमा हाल आएर नेवाहरू झन् झन् विस्थापित भएर गएका छन् । हामीले यस विषयमा चाँडो विचार गर्नुपर्ने देखिन्छ ।

http://www.newsofnepal.com/2016/10/23/%E0%A4%89%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0-%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81/