राजकुमार बानियाँ
रैथाने नेवार जातिको थातथलो काठमाडौंको सांस्कृतिक वैभव कति छ भने मौसमअनुसारका जात्रामात्रा, नाचगान, संगीत र भोजभतेर भइरहन्छन् ।
उपत्यकाको आकाशमा रंगीचंगी चंगा उडिरहेका छन् । सांस्कृतिक रूपमा वर्षाका देवता इन्द्रलाई कृष्णाष्टमीदेखि चंगा उडाउनुको खुला सन्देश हो, ‘अब पानी पुग्यो, पानी नपार ।’ अझ ठाउँठाउँमा नाचूँ नाचूँ लाग्ने मौसमी गीत, धिमे, दाफा अनि बाँसुरीका धुनले ‘ह्यापी हर्मोन’ ह्वात्तै बढाइदिएका छन् ।
शरद ऋतुको मादक मौसम सुरुआत नहुँदैदेखि क्यालेन्डरका कोठापिच्छे चाडपर्व र उत्सव छन् । रैथाने नेवार जातिको थातथलो काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव कति छ भने मौसम अनुसारका जात्रामात्रा, नाचगान, संगीत र भोजभतेर भइरहन्छन् । तिनले आम जनमानसमा उल्लास, उमंग र रोमाञ्च पैदा गरिदिन्छन् ।यी हरेक चाडपर्व, उत्सव र जात्राबारे थुप्रै मायावी लोककथन, जनविश्वास र लोकाख्यान छन् । सबैजसो देव–पितृकार्य र दानधर्म पुण्यसञ्चयसँग सम्बन्धित भए पनि आदिवासी समुदाय व्यञ्जनको सोखिन होइन भन्न सकिँदैन । किनभने अन्य समुदायका मानिसलाई मात्रै होइन, पर्यटकलाई समेत यसले लोभ्याएकै छ ।
सहरमा नेवारी खाजाघर स्वादको स्वर्गजस्तो उत्कृष्ट गन्तव्य बनेका छन् । तिनका व्यञ्जन अन्य चमेनागृहको मेनुमा मात्रै समेटिएका छैनन्, सबैजसो खाना महोत्सवका समेत आकर्षण बन्दै आएका छन् । चिउरा (बजी), मःम, चटामरी, योमरी, आलुतामा, हरियो लसुन, भटमास, छोयला, सन्याखुना, तःखा, बारा, उसिनेको वा पोलेको अण्डा र घरेलु अय्ला आदि रैथाने पकवानमा प्रशस्त सीप, कला, मिहिनेत तथा परिश्रम पोखिएको छ ।
उपत्यकाका अधिकांश रैथाने चाडपर्व नेपाल संवत् (चन्द्रमानक) को तिथिमा आधारित छन् । तीमध्ये पनि अधिकांश परम्परागत कृषिकर्ममा आधारित छन् । तीव्र सहरीकरणका कारण कृषिकार्य दुर्लभ हुँदै गए पनि चाडपर्व र उत्सव मनाउने यहाँको उत्साह भने पटक्कै सेलाएको छैन ।
परिकारकै नाममा पर्व
चाडपर्व वा उत्सव भन्नेबित्तिकै गुलियो र मीठो व्यञ्जनको पूर्वाभास हुन्छ । तर, रैथाने समुदायमा तीतो झोल खाने पर्व पनि छ भन्दा आश्चर्य लाग्छ । विक्रम संवत्को पहिलो दिन अर्थात् वैशाख १ लाई यहाँ तीतो संक्रान्ति (खाइसंल्हू) का रूपमा मनाउने चलन छ ।
वसन्त ऋतुको मध्यमा पर्ने नयाँ वर्षमा मुलाको फूल फुल्छ भने बकाइनोमा पालुवा लाग्छ । बकाइनोको पालुवा, मुलाको चाना, लैंसी मुलाको कोसा, केराउको कोसा, कोइरालोको फूल, भुटेको चामलको सातु, सागपात, प्याज, छ्यापी, हरियो फर्सी, निमको पात, हरियो बकुल्ला मिसाएको तीतो क्वाँटी खाँदा पेटका कीटाणु मर्ने जनविश्वास छ ।
क्वाँटी खाने अर्को पर्व जनैपूर्णिमा पनि हो । नौ प्रकारका गेडागुडीको यो परम्परागत परिकार बहुपौष्टिक मानिन्छ । श्रावण शुक्ल पूर्णिमाका दिनदेखि भाद्र कृष्ण अष्टमीसम्म जम्मा नौ दिन मनाइने भएकाले यो चाडलाई ‘गुँपुन्हि’ भनिन्छ । त्यस अवसरमा नौ किसिमका गेडागुडीको क्वाँटी खाने मात्रै होइन, दिनभरिमा नौ जोर लुगा लगाउने, नौचोटि घरबाहिर निस्कने, नौ ठाउँका दीपंकर बुद्धको दर्शन गर्ने र नौपटक खाने पनि चलन छ । नौ पटक खाँदा नौ किसिमकै व्यञ्जन हुन्छन् ।
कला : राजुबाबु शाक्य (शारब)
रोचक त के भने उपत्यकामा कतिपय पर्वको नाम नै परिकारको नामबाट राखिएको छ । जस्तै ः जनैपूर्णिमामा क्वाँटी खाने चलन भएकाले त्यो दिनलाई क्वाँटी पुन्हि भनिन्छ । यःमरी परिकारको नामबाटै यःमरी पुन्हि राखिएको छ । इन्द्रजात्रामा समयबजी खाइने भएकाले समयपुन्हि भनिँदै आएको छ ।
बौद्धमार्गी समुदायमा श्रावण शुक्ल प्रतिपदादेखि भाद्र प्रतिपदा एक महिनासम्म गुँला उत्सव मनाउने प्रचलन छ । ‘गुँ’ अर्थात् ‘वन/पर्वत’, ‘ला’ अर्थात् ‘महिना’ । गुँला (बाँसुरी) बाजा बजाउँदै वनपर्वतमा रहेको स्वयम्भू धाउने चलन छ । समापनको दिन भोज खान जाँदा पनि गुँला बाजा नै बजाउँछन् । यही अवधिमा वैष्णव र हिन्दुको नागपञ्चमी, कलकी जयन्ती, गौरा पर्व, ऋषितर्पणी, रक्षाबन्धन, गाईजात्रा, जन्माष्टमी, नृसिंह जात्रा, भीमसेन जात्रा, पितृऔंसी आदि पर्छन् ।
पाटनको पञ्चदान पनि यही बेला पर्छ । त्यस दिन खीर, अचार (कर्कलाको पुरानो अचार), स्वारी, मालपुवा आदि शाकाहारी खाना खान्छन् । खीर नखानेले ‘गँक्वाँटी’ भनी नौथरीका गेडागुडीको क्वाँटी खान्छन् । यहाँका रैथानेले यो चाडमा भने मासुको लसपस गर्दैनन् ।
गणेश चौथीमा चोरको पूजा
वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा अलैंची, सुकमेल, सुप, मरिच, सख्खर, चिनी मिसाएर बनाएको सर्वत र घिउ मह र अन्य मेवा मिष्ठान्न मिसाएर बनाएको जौको सातु खाने–खुवाउने गरिन्छ । ललितपुरमा रातो मछिन्द्रनाथको रथयात्रा पनि यसै दिनदेखि आरम्भ हुन्छ । यसलाई उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्णपक्ष औंसी (चौलागाः औंसी) का दिन आफूलाई जन्म दिने आमालाई छोराछोरीले सगुन (अन्डा वा शाकाहारी भए फलफूल) चढाई मन पर्ने परिकार टक्र्याउँछन् । ज्येष्ठ शुक्ल पष्ठीका दिन कुमार पष्ठी (सिथि नखः) मा पानीका स्रोत सफासुग्घर गरिनुका साथै ६ किसिमको बारा र ६ थरीकै तरकारी राखी पूजा गरिन्छ । त्यसको भोलिपल्टदेखि रोपाइँ गीत (सिनाज्या म्येँ) गाउन सुरु हुन्छ ।
जेष्ठ शुक्ल दशमीमा रैथानेले दशहरा मनाउँछन् । उक्त दिन १० थरीका कर्कलो, सिमी, चिल्लो फर्सी, फर्सीको मुन्टा, हरियो खुर्सानी, काँक्रो, तोरी (पाछै) को साग, च्वला, चिचिन्डा वा तोरिया काँचै वा नयाँ हरियो तरकारी खाने चलन छ । ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि) को दिन विशेष गरी छुस्या–मुस्या (गहुँ, मकै, भटमास आदि) भुटेर खाने चलन छ । वर्षभरिकै सबैभन्दा लामो दिनमा काम गर्दा पनि पूरा गर्न सकेन भने उसले जीवनमा कहिल्यै सुख पाउँदैन भन्ने लोकविश्वास छ ।
श्रावण कृष्ण चतुर्दशीमा मनाइने पर्व गठांमुगल (गथांमुगः) पछि अरू चाडबाड लस्करै आउँछन् भन्ने मान्यता छ । यस पर्वमा लसुन, छ्यापी, अदुवा, खुर्सानी, हाकु छोयला राखी समयबजी चढाएर भोज खाने गरिन्छ । कामको माचोमा थन्क्याएका विभिन्न सांस्कृतिक बाजागाजा पनि त्यसै दिन फुकुवा हुन्छन् । गुँपुन्हिको भोलिपल्ट आउने परेवा अर्थात् पारुलाई सापारु (गाईजात्रा) भनिन्छ ।
साउन कृष्ण चतुर्दशीमा मनाउने गठांमुगलमा छ्यापी, लसुन, प्याज आदि खाने गरिन्छ । गाईजात्रामा प्रहसन र मनोरञ्जन त हुने भइहाल्यो । भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी चोरलाई पुजेर मनाइने रमाइलो चाड हो । अनेक प्रकारका फलफूल, मकै, भटमास, गहुँ, खट्टे, बदाम आदि भुटेर तथा विभिन्न प्रकारका रोटी चन्द्रमालाई चढाई प्रसादका रूपमा भोज खाने चलन छ । चतुर्थीका दिन चन्द्रमालाई हेर्यो भने चोरको दोष लाग्छ भनेर लुकेर बस्नुपर्ने मान्यता छ ।
भैरवको मुखण्डो, रक्सीको धारो
इन्द्रजात्रा यहाँको चाड र जात्रा दुवै हो । यस जात्रामा मजिपाटको लाखे नाच, हलचोकको सवभकु नाच, किलागलको पुलुकिसि नाच, किलागलको देवी नाच, भक्तपुरको महाकाली नाच र दरबारको दशावतार नाच देखाउने चलन छ । यसका साथै हनुमानढोकामा श्वेतभैरव अर्थात् सुनौला मुकुण्डोधारी भैरव (हाथुद्यः) बाट कुमारीको रथ अगाडि पुग्दा रक्सीको धारा अनि गणेश र भैरवको रथ अगाडि पुग्दा जाँडको धारा खोलिन्छ । जाँड वा रक्सीको धारा जोकोहीले पिउन सक्छन् । साथै स्याःबजि (भुटेको चिउरा), छोयला, अदुवा, लसुन, भटमास, बोडी, आलु, तोरीको साग, सनां
(कर्कलोको अचार) बाँडिन्छ । दसैंलाई उपत्यकामा ‘मोहनी’ (दियो बालेर निस्केको मोसोको कालो टीका) भन्ने गरिएको छ । १५ दिनसम्म मनाइने लामो यो चाडमा मालश्रीको धुन प्रशस्तै सुन्छि । यो पर्वमा महाष्टमीका दिन भोज आरम्भ हुन्छ । महानवमी र दशमीको दिन पनि त्यसले निरन्तरता पाउँछ ।
असोज शुक्ल पञ्चमीमा पचिमह्रेमा पचली भैरवलाई पूजा गरी, लुगा कपडा गहना लगाई रक्सी, जाँड, माछा, मासु चिउरा, स्याःबजि, वः आदि पचली भैरवरूपी घ्याम्पोमा भरेर पूजा गरिन्छ । पाटनभरिको सबै खासी जाँड खन्याउँदा पनि घ्याम्पो भर्न नसकेकाले राजाले क्षमायाचना गरेपछि मात्रै भरिएको जनविश्वास छ ।
उपत्यकामा मनाइने अर्को ठूलो चाड हो, स्वन्ति (तिहार) । संस्कतिविद् पुण्यरत्न बज्राचार्यका अनुसार, तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजा, म्हपूजा र भाइटीका तीनवटा विशेष महत्व दिएर मनाइने भएकोले यसलाई ‘स्वन्ति’ भन्ने गरिएको हो । म्हपूजा यसको अर्को आकर्षण हो । साँझ परिवारका सदस्य लहरै बसेर मण्डला लेखी संसारमा आफू नै सबथोक हो, आफू भए संसार छ, आफू नभए संसार छैन भन्ने तथ्य आत्मसात् हुन्छ ।
वर्षका १२ वटा पूर्णिमामध्ये मार्गशुक्ल पूर्णिमामा यःमरीको भोज खाने चलन छ । नयाँ धानको चामलको पीठोमा खुवा वा चाकु हालेर बनाइने यो विशेष प्रकारको रोटी हो । केटाकेटीको दोस्रो जन्मदिन मनाउँदादेखि बूढाबूढीको जंकु गर्दा समेत स्तुपाकारको यःमरी बनाइन्छ ।
माघे संक्रान्तिमा घिउ, चाकु, अदुवा, पालुंगो, तरुल, सख्खरखण्ड आदि खाने चलन छ भने शिवरात्रिमा धुनी बालेर हलुवा पकाउने, भटमास, बदाम आदि भुटेर खाने चलन छ । सकिमिला पुन्हीमा बौद्धमार्गीले भुटेको गहुँ, भटमास, सख्खरखण्ड, पिँडालु, फलफूल सबै जम्मा गरी चिभा (चैत्य) सामुन्ने स्वस्ति वा चिभा वा अन्य कुनै मूर्ति कलात्मक ढंगले लेखी हलीमली प्रदर्शन गर्छन् र दीपावली अनि भजनकीर्तन गर्छन् । सख्खरखण्ड, पिँडालु, तरुल आदि कन्दमूल उसिनेर र गहुँ, भटमास, खट्टे, बदाम आदि भुटेर खाने गर्छन् ।
उत्सवको घटबढी
उपत्यकाका आदिवासीले यी चाडपर्व कहिलेदेखि मनाउँदै आए भन्ने यकिन छैन । तर, वैदिककालदेखि चलिआएका यी परम्परा लिच्छवि र मल्लकालमा समृद्ध भएका देखिन्छन् । यसमा जीवितको मात्रै नभई परमात्माको मोक्ष र भावी पिँढीका लागि सुसंस्कृत परम्परा दिने सत्प्रयास देखिन्छ ।
‘नेवाः सांस्कृतिक चाडपर्व’ (नेवाः तजिलजि नखः चःख) की लेखिका एवं संस्कृतिविद् प्रा. डा. चुन्दा बज्राचार्यको विचारमा यी पर्वले समाजलाई एकसूत्रमा जोड्छन् । देवी–देवताको पूजाआजा, भोज र नाचगान यिनका विशेषता हुन् । यी चाडपर्व वैज्ञानिक, स्वास्थ्यप्रदायक, हावापानी र वातावरण अनुकूल जीवनयापन गर्ने पद्धति हुन् ।
बदलिँदो समयसँगै कतिपय चाडपर्व हराइसकेका छन् भने कतिपय हराउने क्रममा छन् । ‘हरेक दिन केही न केही चाडपर्व पर्छन् । तर, ती चाडपर्वको लगत उतारिएको छैन । समयसँगै चाडपर्व घटाउने र बढाउने काम भइरहेकै छ,’ उपत्यकाको संस्कृतिका अध्येता सुरेश किरण भन्छन्, ‘चाडपर्वमा ऋतु, मौसम अनि स्वास्थ्यका हिसाबले व्यञ्जन बन्छन् । शरीरका लागि पौष्टिक तत्त्व चाहिन्छ भनेर पुर्खाहरूले अनिवार्य रूपमा खानुपर्ने नियमै बनाइदिए ।’
अर्का संस्कृति अध्येता मल्ल के. सुन्दर यी चाडपर्वलाई खानपानसँग मात्रै सम्बन्धित मान्दैनन् । यिनमा मूलतः पूजाआजा नै हुन्छ । उनी भन्छन्, ‘अन्य धर्मका चाडपर्वमा निराहार व्रत बस्ने चलन भए पनि उपत्यकाका नेवारमा फरक छ । शील, अनुशासन, आचार निर्वाह गर्दागर्दै प्रसादका रूपमा भोजको तयारी गरिन्छ । यसलाई फगत शारीरिक तृप्तिभन्दा पनि प्रतीकात्मक अर्थमा ग्रहण गर्छन् । कुन मौसममा कुन पर्व पर्छ, त्यस सुहाउँदो व्यञ्जन हुन्छ ।’
त्यसो त भोजमा व्यञ्जन वा पकवान मात्रै हुँदैनन्, पाकेको फर्सीलाई विभिन्न आकारमा टुक्रा पारेर गोलो, च्याप्टो, चौकुने पारेर सानो–ठूलो आकारमा सजाइएको हुन्छ । काँचो मुलालाई लाम्चो वा गोलो टुक्रा गरेर देवीदेवताको प्रतीक मानेर लपेसमा राखिइएको हुन्छ । तिनलाई तान्त्रिक रूपमा शास्त्र परम्पराअनुसार प्रतीकात्मक वा लाक्षणिक अर्थ दिइएको हुन्छ ।
१२ देखि १०८ व्यञ्जन
खाद्यपदार्थसँग सिंगो समुदायको संस्कृति र सभ्यता समाहित भएको हुन्छ । काठमाडौं उपत्यका अन्नपूर्णाको भण्डार भएकाले यहाँ धानसँग सम्बन्धित चिउरा, जाँड र रक्सी स्थानीय संस्कृतिको अविभाज्य अंग बनेका देखिन्छन् । सिनापता मय्जुले मीठा–मीठा खानकै लागि मुसासँग विवाह गरेका अनि अजिमाहरूले देवीगणबीच भोज बाँड्न लागेका बेला लुकेर बसेको व्यक्तिलाई समेत खुवाएको लोककथा पनि यहाँ सुनिन्छन् । ‘नेवार भोज’ का लेखक, अध्येता डा. राजनलाल (रास) जोशीका अनुसार यस्ता चाडपर्व, जात्रा र उत्सवमा अन्न, गेडागुडी, मांस, फलफूल, सगुनजन्य भोज हुन्छन् । भोजका २० भन्दा बढी प्रकार छन् । तिनमा १२, १६ र ८४ देखि १०८ सम्म पकवान समावेश हुन्छन् ।
घरमा आठ वा १२ व्यञ्जनले काम चल्ने भए पनि भीम, देव र चन्द्र रथारोहण (जंकु) खुसियालीमा ८४ व्यञ्जनको विशिष्ट थाली नै तयार हुन्छ । कतिपय विवाहमा त्यस्ता भोज हुन्छन् । तर, त्यो अनिवार्य होइन, फर्माइसी भोज हो । ८४ व्यञ्जनलाई ठूलो भोज मानिन्छ । त्यसमा राँगाको मासुकै ३० व्यञ्जन हुन्छन् भने सागका सात प्रकार ।
लहरै ओछ्याइएका सुकुलमा पलेंटी कसी सालको हरियो लपेस (टपरी) मा सहभोजन हुन्छ । २५/३० फिट लामो परालको भ्वय् सुकुलको सिरानमा ज्येष्ठ नागरिक वा महिलालाई राख्ने चलन छ । तर, भोजका प्रकार र खाने तरिका उपत्यकाभित्रै पनि स्थान र जाति अनुसार फरक–फरक छन् । चाडपर्व मनाउने र भोज गर्ने तरिकामा पनि विविधता छ ।
उपत्यकाका भोजमा सात्विक, तामसिक र राजसी तीनै थरी खाना समावेश हुन्छन् । भोजमा खाद्यपदार्थको क्रमबद्धता हुन्छ । घडीको सुईअनुसार बायाँबाट दायाँतर्फ परिकार पस्किने वा कतिपयले दायाँबाट बायाँतर्फ खाना पस्किने गर्छन् । भोजका चार चरण हुन्छन् । प्रारम्भिक चरणको कार्बोहाइड्रेट, त्यसपछि प्रोटिनप्रधान परिकार उपभोग गरिसकेपछि अन्तिम चरणमा अपच वा अमन हुन नदिन र प्रतिरोधात्मक क्षमता बढाउन भुटन, तोरीको साग लप्सीको झोल र दही राख्ने चलन छ ।
डा. जोशीका अनुसार दाँत कोट्याउने सिन्का (खौका) दिइसकेपछि भोजमा अन्य कुनै पनि किसिमका खाद्यसामग्री थप्न पाइँदैन । खौका दिएपछि लप्ते (लपेस) मा भएको खानासमेत खानु हुन्न भन्ने मान्यता छ ।
मेनुबाहिरको अय्ला
मल्ल शासनको स्वाधीन जीवनशैलीका कारण काठमाडौं उपत्यकामा समृद्ध अर्थतन्त्र निर्माण भयो । अर्थतन्त्रकै कारण अर्को सहरमा जान आवश्यक थिएन, अरूको खाना खान पनि आवश्यक थिएन । सम्पूर्ण रूपमा खेतीकिसानीमा आधारित भएकाले उपत्यकाका खानाको स्वाद अत्यन्त मौलिक छन् । अत्यन्तै मिहिनेती रैथानेले खेतीकिसानबाटै खान, पिउन, बचत राख्न र सरकारलाई कर तिर्न सिके । वर्षभरि खानका लागि घरघरमै अन्न भण्डारण गर्ने चलन थियो । बचेको अन्नबाट घरघरमा अय्ला बनाउँथे । यहाँका चाडपर्व र उत्सवमा खानासँगै अय्ला पनि एउटा आकर्षण बन्यो ।
डा. जोशीको अध्ययनमा नेवार धार्मिक कार्य वा भोजभतेर, चाडपर्व, उत्सव वा संस्कारजन्य कार्यमा जाँड/रक्सीको प्रयोग अनिवार्य छ । उपत्यकामै उत्पादित ताइचिन धान, ककिवा (धान झार्दा नपाकेको गेडा) बाट त्यस्ता जाँड/रक्सी बनाउने चलन छ । ह्याउँथ्वं, अजिथ्वं, मूतिथ्वं, भौथ्वं, त्यपथ्वं, प्याःथ्वं, बताथ्वं, भ्यावरथ्वं वा ताकुथ्वं प्रमुख जाँड मानिन्छन् ।
सामान्यतः संस्कारजन्य भोजमा अय्ला (रक्सी) लाई व्यञ्जनका रूपमा गणना गरिँदैन । सामान्यतः भोजको मेनुमा यो अनिवार्य पनि छैन । तर, मासु चाहिँ प्रायः प्रयोग हुन्छ । इहि, बाराः, विवाह र ज्याजंकु आदि सुखद भोजमा तीनदेखि पाँच प्रकारका रक्सी प्रयोग हुन्छन् । आफूले उपत्यकाका तीन जिल्लामा ३६५ दिनमा आठ सय वटासम्म भोजको सूचना पाएको जोशी बताउँछन् ।
‘घरको बुइँगलमा हुन्थ्यो भान्सा र भान्सासँगै ठूलै धुकु कोठा (स्टोर) हुन्थ्यो । खेतीकिसानीका औजारसँगै अय्ला, अय्ला बनाउने सरजाम त्यहीँ राख्ने चलन थियो । आमाले त्यही कोठाबाट खटाई खटाई अय्ला निकाल्नुहुन्थ्यो,’ साहित्यकार स्नेह सायमी सम्झन्छन्, ‘बिहानदेखि बेलुकीसम्म जो पाहुना आए पनि एउटा कुखुराको फुल (अन्डा) डाडुमा तताएर पोर्च बनाउने र कचौरामा अलिकति अय्ला दिएर सत्कार गर्ने चलन थियो । एक दिनमा कमसेकम आधा लिटरदेखि एक लिटरसम्म अय्ला दैनिक अनिवार्य खपत हुन्थ्यो ।’
सायमीका शब्दमा अय्ला उपत्यकाका आदिवासी नेवारहरूको विशेष पेय पदार्थ हो । अय्ला दक्षिण कोरियाको ‘सोजु’, जापानको ‘साके’, युरोपेली ‘वाइन’ सरहको घरेलु–स्थानीय उत्पादन हो । काठमाडौंको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल अय्लाले स्कटल्यान्डको स्कच ह्वीस्कीझैं गौरव गर्ने दिन आओस् भन्ने उनको कामना छ ।
भान्छेदेखि भण्डारेसम्म
भोज र भोजनलाई कुनै पनि सभ्यताको मानदण्ड मानिएको छ । समाज कति सभ्य, परिष्कृत र वैज्ञानिक छ भन्ने देखाउने प्रारम्भिक आधार खाना नै हो । खानाखजानाका आधारमा उपत्यकाको आदिवासी नेवार समुदाय सम्पन्न छ । ठूला भोज प्रबन्धका निम्ति आधिकारिक भान्छेकै व्यवस्था गरिएको हुन्छ । त्यसलाई सुवाः वा सुवाल भन्ने गरिएको छ । भोज स्वादिष्ट बनाउन सुवाः को अतुलनीय योगदान हुन्छ । यति मात्रै नभएर चिसुवाः (नुन भान्छे), मसलासुवाः, धौभारी (दही भान्छे), व्यञ्जनकारको व्यवस्था गरिएको छ ।
भक्तपुरका राजा भूपतिन्द्र मल्लले पनौतीमा किल्ला बनाएपछि आयोजना गरेको भोजमा चि (नुन) सुवाल, चेकं (तेल) सुवाल, जिल (जिरा) सुवालको व्यवस्था गरेको ‘नेवार भोज’ मा उल्लेख छ । यसबाट उपत्यकामा भोजको परम्परा ज्यादै पुरानो रहेको पुष्टि हुन्छ ।
यसैगरी चिउराका लागि राजथला, जाँड/रक्सीका लागि नकिं (महिला), मासुको परिकार बनाउन लाकोजु, मिठाई बनाउन मधिकर्मी, राजकर्णिकार र व्यञ्जनकारको व्यवस्था हुन्छ । भोजको प्रबन्धकका रूपमा भण्डारे (भनिं) पनि तोकिएको हुन्छ । भोजमा दही, चिउरा, जाँड, रक्सी उसकै रेखदेखमा वितरण हुन्छ । भोज फगत खाने कुरा मात्र होइन, यो पारिवारिक सहसम्बन्धको आधार पनि हो । उपत्यकाको लोककथन छ, ‘भोजं स्वाः भोजं ब्याः’ अर्थात् भोजले जोडिन्छ, भोजले छुट्टिन्छ । रैथाने समाजमा आफ्ना नातेदारहरूलाई विवाह, व्रतबन्ध, जंकुजस्ता उत्सवजन्य भोजमा आमन्त्रण गरिएन भने पारिवारिक सम्बन्ध विच्छेद भएको मानिन्छ । त्यसैले भोजलाई पारिवारिक सम्बन्ध जोड्ने वा अलग्याउने अवसर मानिन्छ ।
रैथाने समुदायमा सुखद र दुःखद दुवै खाले भोज हुन्छन् । नातागोता, इष्टमित्र र छरछिमेकी बोलाएर जन्म, पास्नी, व्रतबन्ध, इही, बाराः, विवाह, जंकु, पूजापाठ, रथयात्रा, चाडपर्वका खुसीयालीमा सुखद भोज हुन्छन् भने मृत्यु संस्कारमा दुःखद भोज हुन्छन् ।
विवाहभोज दुईथरी हुन्छन् । बेहुलातर्फको पश्ता भ्वय् र बेहुलीतर्फको पश्ना भ्वय् । विवाहका लागि वर र वधु तम्तयार भएपछि बेहुलाको तर्फबाट सवाइ, पचिंता, मथमरीजस्ता लाखामरी पठाउने चलन छ । विवाहमा त्रिखुट्टीमाथि राखिएको एउटै काँसको थालीमा ८४ व्यञ्जन राखी बेहुला र बेहुलीले खान्छन् ।
कुनैबेला उपत्यकामा भोजमा पाहुना बोलाउँदा निमन्त्रणा पत्रको साटो लाखामरीको प्रयोग हुन्थ्यो । पारिवारिक निकटताका आधारमा चुलेनिम्तो दिनुपरेको खण्डमा आधा वा एक धार्नी, आधा धार्नी लाखामरीसम्म दिइन्थ्यो । साहित्यकार सायमी उपत्यकाको रैथाने मिठाईमा पाइने स्वादलाई ‘माकुसे’ भन्छन् । नेवारी भाषाको ठेट शब्द माकुसेको नेपाली वा हिन्दीमा सुहाउँदो शब्द भेटिँदैनन् । बदामको स्वादलाई पनि उनी माकुसे मान्छन् । गुँदपाक, पुष्टकारी आदि मिठाईमा पनि माकुसेको छाप रहेको उनको ठम्याइ छ ।
राहुभोजमा गालीगलौज
डा. जोशीका अनुसार भोजमा सबैभन्दा ठूलो परिमाणको भोज राहुभोज रहेको छ । परिवारका बिरामी सदस्यलाई बिसेक नभएपछि अन्तिममा राहुभोज गर्दा नाङ्लो आकारको सालको टपरीमा एक पाथीभन्दा बढी चिउरा, सिंगो राँगाका हरेक अंगको मासु, दहीको कतरा, सम्भव भएसम्मका गेडागुडी, साग, फलफूल र मिठाईका साथै ह्याउँथ्वं, थ्वं र रक्सीको महाभोज खुवाउने चलन छ ।
राहुभोज खाने व्यक्तिले आयोजकलाई तथानाम गाली गर्छन् । जति अपशब्द प्रयोग गर्यो, त्यति बिरामी निको हुन्छ भन्ने मान्यता छ । यसरी भोज गरिँदा भोज खाने व्यक्तिले खाएसम्म खाना थप्नुपर्ने वा पिएसम्म जाँड, रक्सी पिलाउनुपर्ने मान्यता छ । साथै, राहु भोज खाने व्यक्तिले मनमाफिक दक्षिणा पनि पाउँछन् ।
उपत्यकाका भोज फगत मानिसका लागि मात्रै होइन, वन, जंगल, चौर, नदीनाला, पशुपन्छीका नाममा पनि प्रबन्ध हुन्छ । त्यहाँ काग, कुकुरलाई समेत भाग व्यवस्था हुन्छ । शाक्तमतको दीक्षाप्राप्त तान्त्रिकको सबैभन्दा ठूलो पूजाका रूपमा थापूजा (वीरभोजन) हो । एउटै कुलका तान्त्रिक दीक्षा लिएकाहरूबीच मात्रै वा तलेजु वा मठमन्दिरमा गरिने थापूजामा प्रत्येक परिकार चार/चारको संख्यामा राखेर १०८ व्यञ्जनले सजाउने चलन छ । रमाइलो के भने वीरभोजनका क्रममा दाहिने बुढीऔंला र कान्छीऔंला, बुढीऔंला र साहिँली औंला हुँदै बुढीऔंला र माझीऔंला, बुढीऔंला र चोरऔंला अनि पछिल्लो पटक पाँचैवटा औंला उपयोग गरी भोजन गरिन्छ । कतिपय तान्त्रिक भोजमा यार्सागुम्बुको समेत प्रयोग हुने गरेको डा. जोशी सुनाउँछन् ।
उपत्यकाका हरेक अवसर, उत्सव वा संस्कारजन्य गतिविधिमा भोज खाँदा र खुवाउँदा ऋतुको ज्ञान पनि झल्किरहेको हुन्छ । हरेक खाद्यपदार्थमा शरीरलाई चिसोपन, शीतलता वा तातोपना दिने गुण हुन्छ । कुनै खाना शरीरलाई तताउने प्रकृतिको हुन्छ भने कुनै न्यानो बनाउने, कुनै शीतलता दिने, कुनै चिसो बनाउने त कुनै न चिसो न तातो बनाउने तटस्थ प्रकृतिको हुन्छ । त्यसलाई यी भोजमा मसिनरी ख्याल गरिएको हुन्छ ।
‘रैथाने चाडबाड र खानपिन’ का लेखकसमेत रहेका खाद्य तथा औषधीविज्ञ डा. नारायण घिमिरे नेवारी भोजमा षडरस फेला पार्छन् । गुलियो, पिरो, नुनिलो, अमिलो, तीतो र टर्रो स्वाद अनि इन्द्रेनीजस्तै विविध रङ संलग्न खानाले यसलाई सन्तुलित भोजन बनाएको उनको विश्लेषण छ ।
डा. घिमिरेका शब्दमा यी व्यञ्जन फगत खानपिन मात्रै होइनन्, औषधीय मूल्यका पनि छन् । वैज्ञानिक दृष्टिकोणबाट समेत उपत्यकाको खानपान उपयुक्त समयको उपयुक्त रैथाने आहारका रूपमा रहेका छन् । यिनमा खानपानको कखराका साथै ‘हिलिङ’ तथा औषधीय मूल्य छ । यिनले शरीरका कोषलाई स्वस्थ र तन्दुरुस्त राख्न सघाउँछन् । उनी उपत्यकाका यी रैथाने व्यञ्जनलाई नेपालकै सौम्यशक्ति (सफ्ट पावर) मान्छन् । यसको अन्तर्राष्ट्रिय प्रवर्द्धन भने हुनै बाँकी छ ।
प्रकाशित : आश्विन ६, २०८० १२:३२https://ekantipur.com/koseli/2023/09/23/dish-valley-40-54.html