Showing posts with label religion. Show all posts
Showing posts with label religion. Show all posts

Sunday, March 31, 2024

इन्द्रजात्रामा आकाशभैरव

 त्रिचन्द्र प्रतीक्षा

२५ भदौ २०७९, शनिबार

नेपालका भैरवहरूको आ–आफ्नै विशेषता छन् । भैरवसँग सम्बन्धित जात्रा र पर्वहरू पनि निकै छन् । काठमाडौँ उपत्यकामा भैरवको रूपलाई उत्तिकै श्रद्धा र भक्तिका साथ पूजाआजा गर्ने परम्परा छ । आकाशभैरवलाई विशेषतः इन्द्रजात्राको दिन फूलैफूलले सजाएर राखिने गरिन्छ । काठमाडौँको इन्द्रचोकस्थित आकाशभैरवको टाउकोलाई नेपालभाषामा आजुद्यः भनिन्छ । नेपालभाषामा बाजेबराजुलाई ‘आजु’ र देवतालाई ‘द्यः’ भन्ने प्रचलन छ । तसर्थ भैरवलाई पुख्र्यौली देवताका रूपमा लिइने गरिन्छ । ‘त्रिरत्न सौन्दर्यगाथा’ नामक ग्रन्थमा आकाशभैरवबारे यसरी लेखिएको छ ः

हुनाले शिवको अंश बनी आकाशभैरव,

उडेर देशको चाला अद्यापि हेर्छ वास्तव ।

आजुद्यः भनिई पूज्य रहेका छन् यलम्बर,

छ इन्द्रचोकमा जस्को अजेय मुखमण्डल ।। (१२४÷१०९)

काठमाडौँमा रहेको विभिन्न भैरवका मूर्तिहरूमध्ये आकाशभैरवलाई कला, वास्तुकला र स्थानका दृष्टिकोणबाट प्रसिद्ध मानिन्छ । इन्द्रचोकको दक्षिण हनुमानढोकामा अन्य दुईवटा भैरवका मूर्ति पनि छन् । एउटा श्वेतभैरव; जसको अनुहार इन्द्रजात्रामा मात्र दर्शन गर्न पाइन्थ्यो तर आजभोलि आँखिझ्याल खोलेर राखेको हुनाले वर्ष दिनभर दर्शन गर्न पाइन्छ । अर्को कालभैरव; जुन मूर्ति सशरीर उभिएको छ । 

इन्द्रजात्राका लागि मन्दिरअगाडि परालले छाएको छाप्रो बनाएर राखिन्छ । यसरी भाद्रशुक्ल एकादशीको राति ज्यापू जातिका गुठियारहरूले भैरवको मूर्तिलाई बोकेर बाहिर बनाएको छाप्रोमा विराजमान गराइन्छ । यो मूर्तिमा गरगहनाहरू चाहिँ ताम्राकारहरूले लगाइदिने गर्छन् । यसपछि फूलमालाहरूले मूर्तिलाई आकर्षक ढङ्गले सजाउने काम ज्यापू गुठियारहरूले गर्छन् । 

भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाको कालभैरव अगाडि लिङ्गो (इन्द्रध्वजोत्सव) उभ्याइसकेपछि विधिवत रूपमा इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यँयाः’ भनिन्छ । ‘यँ’को अर्थ यलम्बर राजा (आकाशभैरव) ‘याः’ को अर्थ जात्रा वा पर्व हो । विशेषतः यलम्बर राजाको जात्रा यँयाःलाई इन्द्रसँग जोडेर इन्द्रजात्रा भन्न थालिएको हो ।

काठमाडौँका आदिवासी ज्यापूहरूलाई किराँतीहरूकै वंशका रूपमा मानिन्छ । लिच्छवि राजाले विजय गरेपछि काठमाडौँमा रहेका सबै किराँतीलाई ज्यापू बनाइदिएका थिए भन्ने विद्वान्हरूको मत छ । यसैले नित्य पूजादेखि बर्सेनि हुने इन्द्रजात्रामा समेत फूलहरूको बन्दोबस्तलगायत सम्पूर्ण कार्य ज्यापू समुदायकै गुठीको जिम्मामा हुन्छ । 

नेपालमा बौद्ध धर्मावलम्बीहरूले पनि भैरवलाई अक्षोभ्य बुद्धका परिवार वा त्यस समूहको देवताका रूपमा पूजाअर्चना गर्दछन् । नाथ सम्प्रदायले भैरोंनाथका रूपमा पुज्दै आएका छन् । आकाशभैरवको मुकुटको बीचमा भएको आकृतिलाई हिन्दुले ब्रह्मा र बौद्धमार्गीले अक्षोभ्यको शिर मानेर पूजा गर्ने गर्छन् । मुद्दा मामिला प¥यो भने मुद्दा जित्न स्थानीयवासी आकाशभैरवको भक्ति गर्ने चलन पनि छ । मारवाडीहरूले पनि विशेष पर्वमा आकाशभैरवको पूजा गर्दै आएका छन् । बिहे, शिशुको जन्म आदि उत्सवमा आकाशभैरवलाई श्याम बाबाका रूपमा उनीहरूले पूजा गर्छन् । 

आकाशभैरवको नाम कसरी रहन गयो भन्नेबारेमा एक किंवदन्ती छ । किंवदन्तीअनुसार भैरवले किराँती राजा यलम्बरको रूप धारण गरेर काठमाडौँ उपत्यकामा शासन चलाएका थिए । तान्त्रिक शक्ति भएका राजा यलम्बरले महाभारतको लडाइँमा हार्ने पक्षलाई मद्दत गर्ने घोषणा गरे र कुरूक्षेत्रमा गए । कुरूक्षेत्रमा आएको कुरा भगवान् श्रीकृष्णले थाहा पाए । यलम्बर राजा मात्रै नभएर भैरवको अवतार भएको कुरा पनि श्रीकृष्णलाई ज्ञात भयो । राजा यलम्बरले युद्धमा पराजित हुने पक्षबाट आफू लड्न आएको कुरा बताएपछि कृष्णलाई समस्या पर्ने नै भयो । तसर्थ कृष्णले छलद्वारा सुदर्शनचक्र प्रहार गरी राजा यलम्बरको शिरच्छेदन गरिदिए । यलम्बरको टाउको आकाशतर्फ उड्यो र आकाशमै रहेर शिरले नै महाभारत युद्ध हेरिरह्यो । 

युद्ध सकेपछि आकाशमार्गबाट नेपाल फर्कंदा बागमती र विष्णुमती नदीको दोभान (इन्द्रचोकको भैरव मन्दिरको स्थान)मा आइपुग्दा मिर्मिरे उज्यालो भयो र त्यहीँ पत्थरमा परिणत भए । स्थानीय ज्यापूहरूले बिहानै राजा यलम्बरको टाउको पत्थरमा परिणत भएको देखेर त्यहीँ छाप्रो बनाएर आफ्नो प्रिय राजा यलम्बरलाई आकाशभैरवका रूपमा पुज्न थाले । भैरवको टाउको आकाशमार्ग भएर आएको हुनाले आकाशभैरव भनिएको हो । स्वर्गका राजा देवराज इन्द्रले स्नान गरेको दुई पवित्र नदीको सङ्गमस्थल हुनाले कालान्तरमा यस ठाउँको नाम नै इन्द्रचोक रहन गयो । इन्द्रजात्राको दिन यहाँ इन्द्रको विशेष प्रतिमासमेत प्रदर्शन गरिन्छ । 

इन्द्रजात्राको सुरुवात 

देवमाला वंशावलीअनुसार अहिलेको इन्द्रचोक भन्ने ठाउँमा पहिले बागमती र विष्णुमतीको दोभान रहेछ । पछि उक्त दोभान सरेपछि कलिगत ३८२ मा राजा गुणकामदेवलाई सपनामा महालक्ष्मीबाट आज्ञा भएअनुसार सहर बसाल्न सोही इन्द्रचोक भन्ने ठाउँमा महादेवको मूर्ति स्थापना गरेर कान्तिपुर सहर बसाए । हालसम्म पनि इन्द्रचोकमा कान्तिश्वर महादेवको मूर्ति देख्न सकिन्छ ।

राजाले विधिवत पूजा गरी कान्तिश्वर महादेवको ठीक पछाडि तीन घडा अमृत स्थापना गरिसकेपछि ध्वजा फहराए । आफूलाई चाहिनेजति ठाउँमा परिक्रमा गरी एक हजार आठ सय घर निर्माण गर्न लगाए । यसपछि आठौँ दिनमा उक्त ध्वजा ढाली तीन दोभानमा ध्वजा सेलाइयो भन्ने वंशावलीमा उल्लेख छ । राजा गुणकामदेवको पालादेखि आकाशभैरवको यात्रालाई इन्द्रजात्रा पर्व भनी मनाउँदै आएको पाइन्छ । श्रीगणेश, भैरव तथा कुमारीको यात्रा पनि समयानुसार राम्रो बनाउनका लागि राजा जयप्रकाश मल्लले रथ बनाउन लगाए । रथयात्रा चलाउनसमेत लगाए । आकाशभैरवको नित्य पूजाआजादेखि वार्षिक पूजालगायत इन्द्रजात्रामा फूलैफूलले सजाउने काम ज्यापू समुदायले नै गर्दै आएका छन् । इन्द्रजात्राको मुख्य आकर्षण भनेको फूलैफूलले सजिएको आकाशभैरवको मूर्ति पनि हो । 

https://gorkhapatraonline.com/news/24554

Wednesday, November 29, 2023

नेवारी भाषामा हस्तलिखित स्वस्थानी

 असोज २३, २०७८ शनिबार ६:३६:०

तेजेश्वरबाबु ग्वंगः


अन्तिम पानाको अन्तिम हरफमा यो वाक्य लेखिएको श्रीस्वस्थानी व्रतकथाको पुस्तक अझै हाम्रो पुस्तकालयमा शोभायमान छ। काशीनाथ बिजुक्छेका सुन्दर हस्ताक्षर त्यसमा उसरी नै चम्किइरहेका छन्। उनले लेखिदिएझैं मेरा हजुरबुवा हरिलालको त्यो नासो आजपर्यन्त अरू कसैकहाँ पुगेको छैन। 

हरेक माघ महिनामा हामी यही पुस्तक बडो जतनसाथ खोल्छौं। सावधानीपूर्वक पढ्छौं। र, श्रीस्वस्थानी माताको भक्तिभाव गर्छौं। यो नेवारी भाषामा हातले लेखिएको स्वस्थानीको पुस्तक हो। जानकारीमा आएअनुसार नेवारी भाषामा २२ प्रकारका लिपि फेला परेका छन्। तीमध्ये एउटा यसमा प्रयोग गरिएको छ। यो नेपाल संम्वत् ९९३ मा अर्थात् करिब डेढ सय वर्ष पहिला लेखिएको हो। पुस्तकमै यो उद्धृत गरिएको छ। 

म विसं १९९२ सालमा भक्तपुरमा जन्मिएँ। मेरै उमेरका पाकामध्ये पढालेखा केहीले यसलाई पढ्न सक्छन्। नत्र यो लिपि खुट्याउन सक्ने व्यक्ति अब कमै छन्। नेवारी भाषाको प्रयोग नै घट्दो छ। लेख्य रूपमा पनि नेवारीलाई अचेल धेरैजसोले देवनागरी लिपि प्रयोग गर्छन्। परापूर्वकालका गौरवमय लिपिहरू क्रमशः नासिँदै मासिँदै गएका छन्। 

हिन्दु धर्ममा ‘स्वस्थानी व्रतकथा’को ठुलो महŒव छ। स्वस्थानीे कथा हरेक वर्ष माघ महिनाभरि विशेष गरी हिन्दू महिलाले व्रत बस्छन्। श्री स्वस्थानी व्रतकथा हिन्दु समाजका लागि परिचित ग्रन्थ हो। माघमा घरघरमा यसलाई वाचन गरिन्छ। यसमा त्यही कथा छ, जुन हरेक घरमा हुने नेपाली भाषाको स्वस्थानी पुस्तकमा छ। फरक छ मात्र भाषा। यसको सौन्दर्य भनेकै त्यही हो, जुन मातृभाषामा छ। अर्को सुन्दरता हस्तलिखित हुनुमा छ। 

नेपाल (नेवारी) भाषाको मौलिक लिपि भने रञ्जना हो। यो सबैभन्दा परिस्कृत र कलात्मक लिपि हो। रञ्जनालाई नेपालले राष्ट्रलिपिका रूपमा संयुक्त राष्ट्रसंघमा दर्ता गराएको छ। यो अहिले विस्तार भएर भारत, चीन, मंगोलिया, जापानलगायत धेरै एसियाली मुलुकमा पुगेको छ। नेपालमा भने यसको प्रयोग झन् खस्किँदो छ। यसको उपयोग र संरक्षणमा राज्यले ठोस कदम चालेको छैन। नेपाली भावानुवाद : दक्ष प्रजापतिको यज्ञमा महादेवको अपमान भयो भनेर सतीदेवीले हाम फालेर आत्मदहन गरेपछि नारायण नै भागेर अन्तध्र्यान भए। त्यसपछि सबै देवता गन्धर्व किन्नरले अब यहाँ बसेर हामीलाई सुरक्षा हुँदैन भन्ने अठोट गरे। फेरि सबै देवता एकै ठाउँमा बसेर सल्लाह गरे कि दक्ष प्रजापतिको ज्यान रक्षा हुँदैन, महादेवले प्रजापतिलाई छोड्ने छैनन्। ३३ कोटी देवताले पनि रोक्न सक्दैनन् अब युद्ध हुन्छ। विष्णुको सुदर्शन चक्रले पनि निरीह अवस्थामा परेपछि ३३ कोटी देवताको आफ्नो ज्यान जोगाउन १० दिशामा भागाभाग भयो। 

हामीकहाँ भएको हस्तलिखित स्वस्थानी व्रतकथा पुस्तकको बाहिरी ढकनी (गाता) काठ को। शायद चाँपको काठ हुनुपर्छ। त्यसमा अन्डाको भित्री सेतो भागलाई फिटेर विभिन्न वनस्पतिको संयोजनबाट रंग बनाई हरियो, रातो आदि रंग निकालिएको छ। त्यसले अक्षर र चित्र लेखिएको छ। भित्री पाना अक्षर नेपाली कागजमा लेखिएका छन्। पुस्तकलाई कीराबाट जोगाउन हरिताल जडीबुटीबाट रंग्याइएको छ। त्यही कारण यतिका वर्षसम्म जस्ताको तस्तै छ। 

संस्कृति अध्येता तेजेश्वरबाबु ग्वंगः । तस्बिर : अशोक दुलाल

यो व्रतकथामा २४ अध्याय छन्। कथा नेवारी भाषामा भए पनि श्लोक संस्कृत भाषामा छन्। त्यसो त नेवारी भाषाको सुरुआत संस्कृत शब्द अपभ्रंश भएर बनेको पाइन्छ। नेपाली, अंग्रेजीलगायत भाषाको बढ्दो प्रचलनले नेवारीको विस्तारै नेपथ्यमा पुग्दैन। उपत्यकाका मुख्य नेवारी बस्तीमा समेत नयाँ पुस्ताले यसलाई उपयोग गर्न छाड्दै लगेको छ। हाम्रा नाति पनातिसम्म आइपुग्दा यसको ध्वनि र उच्चारणको मौलिकतासमेत हराइसकेको छ।

यिनको संरक्षणमा श्रीस्वस्थानी भवानीको कृपा लागोस्। विजया दशमीको शुभकामना। 
(अन्नपूर्णकर्मी तारा चापागाईंसँगको कुराकानीमा आधारित) 

https://annapurnapost.com/story/187941/


Sunday, January 17, 2021

चर्यानृत्य

 भगवान् बुद्धको महानिर्वाणपश्चात् भिक्षु संघ स्थविरवाद र महायानमा विभाजित भयो । स्थविरवादले ‘पाली’लाई जनभाषा बनायो भने महायानले परम्परागत शास्त्रीय संस्कृतलाई अनुसरण गर्‍यो । विदुडभले कपिलवस्तुका शाक्यहरूको महादमन गर्न थाले । उनीहरू भिक्षुहरूलगायत शाक्य, बंगालबाट आएका ब्राह्मण र भारतका विविध थरीका मानिससहित नेपाल प्रवेश गरी नेवारी सम्प्रदायमा प्रवेश गरे । आठौं शताब्दीदेखि बाह्रौं शताब्दीसम्म भारतमा बज्रयानको प्रचार भयो । प्रत्येक कूलको ८४ बौद्ध सिद्धहरूको वृद्धि भयो । उनीहरूले संस्कृतका तीन अपभ्रंश भाषामा दोहा र चर्यागीत रचना गरी प्रचार गरे । भारतमा मुसलमानहरूले ‘नालन्दा विश्वविद्यालय’ विध्वंस गरेपछि बचेका बौद्ध ग्रन्थ बोकेर नेपालमा शरण लिई बज्रयानको प्रचार गरेको इतिहास छ । तिनै सिद्धहरूको चर्यागीत अध्ययन गरी नेपालका तान्त्रिक बज्राचार्यहरूले चर्यागीतको रचना गरे ।


रामगोपाल आशुतोष
फुर्सद

 १३ कार्तिक २०७३ १२:५१:१४

भगवान् बुद्धको महानिर्वाणपश्चात् भिक्षु संघ स्थविरवाद र महायानमा विभाजित भयो । स्थविरवादले ‘पाली’लाई जनभाषा बनायो भने महायानले परम्परागत शास्त्रीय संस्कृतलाई अनुसरण गर्‍यो । विदुडभले कपिलवस्तुका शाक्यहरूको महादमन गर्न थाले । उनीहरू भिक्षुहरूलगायत शाक्य, बंगालबाट आएका ब्राह्मण र भारतका विविध थरीका मानिससहित नेपाल प्रवेश गरी नेवारी सम्प्रदायमा प्रवेश गरे ।

आठौं शताब्दीदेखि बाह्रौं शताब्दीसम्म भारतमा बज्रयानको प्रचार भयो । प्रत्येक कूलको ८४ बौद्ध सिद्धहरूको वृद्धि भयो । उनीहरूले संस्कृतका तीन अपभ्रंश भाषामा दोहा र चर्यागीत रचना गरी प्रचार गरे ।

भारतमा मुसलमानहरूले ‘नालन्दा विश्वविद्यालय’ विध्वंस गरेपछि बचेका बौद्ध ग्रन्थ बोकेर नेपालमा शरण लिई बज्रयानको प्रचार गरेको इतिहास छ । तिनै सिद्धहरूको चर्यागीत अध्ययन गरी नेपालका तान्त्रिक बज्राचार्यहरूले चर्यागीतको रचना गरे ।

सुरतबज्रले पहिलो चर्यागीत रचना गरेको विश्वास गरिन्छ । सुरतबज्रदेखि सुरु भएको चर्यागीत लेखन परम्परा रत्नबज्र, ॐकारबज्र, हुंकारबज्र, शाश्वतबज्र, परमादिबज्र, अमोघबज्र, सिद्धिबज्र, हासबज्र, विलासबज्र, महासुखबज्र, श्रीबज्र, अनुपमबज्र, विक्रमबज्र, मुनबज्र, शिवबज्र, गीतबज्र, समरसबज्र, तथागतबज्र, स्वयम्भूबज्र, इन्दूबज्र, जीवचन्द्रबज्र, कुलदत्ताचार्य र अद्वयबज्र हुँदै सबैभन्दा कान्छा कान्छाबज्र बज्राचार्यसम्म पुगेको बताइन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको पुस्तक ‘बःचाधंगु नेवाः खँग्वः धुकू’मा चर्याको अर्थ नेवार सम्प्रदायमा बौद्ध महायानीहरूको गुह्यपूजा हुने बेला गाइने धार्मिक शास्त्रीय गीत भनी उल्लेख छ ।

चर्यागीतको शाब्दिक अर्थ बौद्ध महायानी, गुभाजु, बजेजु, उराय् आदि जातिहरूको आगं (कूल) पूजा गरिने बेला गाइने गोप्य गीत वा चचागीत वा कूल वेद पनि भनिएको छ । ललितपुरमा चचालाई चच पनि भनिन्छ । बज्राचार्य गुरुजुहरूले गुह्यपूजा गर्दा घण्ट बजाउने प्रचलन छ । चचापातहरूले पूजा अनुसार ताः (एक किसिमको बाजा) बजाई सामूहिक रूपले लय हाली चर्यागीत गाउँछन् ।

त्यस्तै डा. कुमार पि. दर्शनले ‘नेपालको नृत्य शिक्षा परम्परा’मा लिच्छवी काल (सन् ४५०—७५०) मा चर्यालगायतका नृत्यहरूको द्रुत विकास र सम्बद्र्धन भएको तथ्य उल्लेख गरेका छन् । मल्ल काल (सन् १२००-१७६९) मा यो नृत्यको विकासले उच्च गति लिएको उल्लेखित छ ।

मल्ल राजा प्रताप मल्ल (सन् १६४१-१६७४) को पालामा विविध मठमन्दिरका साथै यो नृत्यले उच्चता प्राप्त गरेको बताइएको छ । त्यसैले नै मल्ल कालमा सहरका विभिन्न टोल तथा चोकहरूमा दबु (डबली) बनाइएका हुन् । एउटा मिथकअनुसार राजा प्रताप मल्लले सपनामा तीन कूलदेउताले दानवसित युद्ध गरेको देखेको र सो सपनाको चित्रण गर्न लगाई गीतमार्पmत हरेक वर्ष नृत्य गराउने परम्परा बसाएको पनि उल्लेख छ ।

के हो चर्या नृत्य ?

त्रिभंग (खुट्टा, कम्मर र शिर) मा बसेर लास्य (नारी शक्ति नृत्य) र ताण्डव (पुरुष शक्ति) मा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अंग परिचालन गरी आध्यात्मिक भावना र भक्तिरसले पूर्ण भई जुन देवीदेउताको नृत्य गर्ने हो तिनैको ध्यानभावना आपूmभित्र समाहित गरी आपैंmलाई ईश्वर मानी नाचिने नाच चर्या नृत्य हो । यो नृत्यमा देवीदेउताले जसरी नै पोसाक र गरगहना नियमानुसार पहिरिनुपर्छः चन्द्रहार, बाजु (मुकुट), घाँटीको पेटी, कम्मर पेटी, मोतीमाला, धातुको मोटो सिक्री र देवीदेउताको वर्णअनुसारको रंगीन टीका ।

चर्या नृत्यका धेरै प्रकार छन् । एउटै प्रकारका नृत्यमा पनि विविध उपनृत्यहरू हुन्छन् । तीमध्ये प्रमुख हुन् ः १. मञ्जु श्री २. बज्रयोगिनी ३. बज्रसरस्वती ४. बसुन्धरादेवी ५. पञ्चतारा ६. आर्यतारा ७. अमोघसिद्धि आर्यतारा ८. योगिनी तारा ९. कुमारी, १०. बज्रपाणि ११. पञ्चबुद्ध १२. भैरबकाली अन्नपूर्ण १३. रक्तगणेश १४. श्वेतगणेश १५. कालभैरव, १६. अस्टमात्रिका १७. डाकिनी ।

चर्या नृत्यका निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । समपद, बज्रपद , मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात प्रमुख आसन पाइन्छन् ।
चर्या नृत्यमा आसन अति आवश्यक मुद्रा हो । सबै देवीदेउताका मुद्रा लिने बेला त्रिभंगासनमा बस्नुपर्छ । सोही आसनपछि लाश्य र ताण्डवभित्र समाविष्ट हुनु अति आवश्यक हुन्छ । त्रिभंग आसन नभए चर्या नृत्य हुँदैन । यस नृत्यका प्रायः मुद्रामा चार अलगअलग कोण अर्थात् निश्चित डिग्री निर्धारण गरिएको हुन्छ । कुनै ४५ डिग्री त कुनै ९० डिग्री अनि कुनै एक सय ४५ डिग्री कुनै एक सय ८० डिग्री ।

चर्याका प्रायः नृत्य नवरसभित्र पर्छन् । तीमध्ये वीर, भक्ति र करुण गरी तीन प्रमुख रसमा चर्या नृत्य नाचिन्छ । यस नृत्यमा सुर र तालका लागि विभिन्न बाजा बजाइन्छ । सितार, डमरु, लाला खिं, तिन्छु, डमरु, बाँसुरीलगायतका अन्य सुरमण्डल पनि प्रयोग गरिन्छ ।

साथै, यो नृत्य विभिन्न रागमा नाचिन्छ । धना श्री, जटी, गुञ्जली, गोदग्री, ललित, नट, कामोद, वसन्त, माल श्री, बाह्रमास, भैरबी, मंगल आदि रागमा नाचिने यो नृत्य नेपालको मौलिक र विश्वविख्यात नाच हो । यसका तालहरू पनि विभिन्न छन् । दुर्जमान, चस्पती, षटन्कार, प्रताल, जटी, चो, झपताल, त्रिमान, अस्ट्रा इत्यादि प्रमुख तालमा पर्छन् । यो नृत्यमा गायिने गीतलाई चचा हालेगु भनिन्छ । शास्त्रीयतामा आधारित चचा गीत संस्कृत भाषामा रचिएका छन् ।

गुरु महामञ्जु श्रीद्वारा रचित चचा गीतलाई मौलिक शिल्प र शैलीमा रूपान्तरण गर्ने श्रद्धेय पण्डित सुरतबज्र बज्राचार्य थिए । यो नृत्य रियाज गर्ने उत्तम समय बिहानीको प्रथम प्रहर मानिन्छ । नृत्य गर्नुपूर्व आधादेखि एकघन्टा अनिवार्य ध्यान गर्नुपर्छ । अनि आराध्यदेव ईश्वरको साधनामा श्लोक पढी प्रार्थना गरिन्छ ।

सम्बन्धित देवीदेउताको ईश्वरीय शक्ति, भावना, शून्यता आदि भाव आपूmभित्र समाहित गरिन्छ । बिहानी प्रथम प्रहरमा आधारभूत कसरत गरिन्छ । हातखुट्टाका औंला, कुर्कुच्चा, घुँडा, खुट्टा, कम्मर, हिप, छाती, काँध, गर्दन, मुख, ओठ, आँखा, आँखीभौं, टाउको, निधार आदि शरीरका अंगप्रत्यंगको व्यायाम गर्नुपर्छ । एकदेखिसपटकसम्म कसरत गर्दा पूरै शरीरमा स्फूर्ति बढी अनुहारमा तेज र शारीरिक सुन्दरता बढेर आउँछ ।

त्रिभंगमा बसेर लास्य र ताण्डवमा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अंग चलाई, आध्यात्मिक भावना र भक्तिरसले पूर्ण भई जुन देवीदेउताको नृत्य गर्ने हो तिनैको ध्यानभावना आफूभित्र समाहित गरी आफैलाई ईश्वर मानी नाचिने नाच चर्या नृत्य हो ।

एक घण्टाका व्यायामपछि पाँचदेखि बीस मिनेटसम्म शरीरका विभिन्न अंगका लचकताका लागि व्यायाम गरिन्छ । त्यसपछि देवीदेउताको गुण, वर्ण, वरदान, आसन, मुद्रा, गीतको भाव, ताल, राग, वस्त्र आदिका बारेमा ध्यान दिई एकभक्त, एकचित्त रही ध्यान गर्नु अनिवार्य मानिन्छ ।

चर्या गीतको उत्पत्ति

चर्या नृत्यमा गाइने गीतलाई चचा भनिन्छ । चर्यागीत र चर्यानृत्यका विषयमा ‘हेवज्रतन्त्र’मा यसरी उल्लेख गरिएको छः
‘यदि गीतं गायते आनन्दात तहिं वज्रगीतं परमयदि आनन्द समत्मन्नो नृत्यतै मोक्षहेतुना
तर्हि वज्रपदे नाट्यं कुर्यात योगी समाहितः ।’
(आनन्दपूर्वक गीत गाउने हो भने बज्रगीत उत्तम हो । आनन्दपूर्वक नाच्ने हो भने मोक्षको निम्ति हुनुपर्छ । त्यसैले साधक योगी वज्रपद नाच्नुपर्छ ।)
यसरी बज्रायानमा वज्रगीत र वज्रनृत्यको उद्भव भयो । इतिहासदेखि नै चर्यागीत र चर्यानृत्य वज्रगीत र वज्रनृत्यको पर्यायवाची शब्दका रूपमा प्रयोग हुँदै आएको पाइन्छ ।

चर्या नृत्यको उत्पति

चर्या नृत्य आदिबुद्ध बज्रसत्वद्वारा उत्पति भएको मानिन्छ । शास्त्रमा यो प्रमाण उल्लेख पनि गरिएको छ । पछि पञ्चबुद्ध लोकेश्वर, आर्यतारा बज्रयोगिनी, मञ्जु श्री, नृत्यनाथ, कुमारी, भैरब, काली, अष्टमात्रिका, आदि देवदेवीहरूले आ–आफ्ना समयमा पाँच प्रकारका बाजा बजाई ३६ रागरागिनीका चचा गाएर यो नृत्यको विकास गरेको शास्त्रीय प्रमाण छ ।

चर्या नृत्यको प्राचीनताबारे खासै उल्लेख भएको पाइँदैन । यो नृत्य कसले, कहाँ र कहिले उत्पत्ति गर्‍यो भन्ने विषयमा अहिले पनि अनुसन्धानकै विषय हो । नेपालमा यो नृत्य प्रचलनमा आयो भन्ने सन्दर्भ चल्दा काठमाडौंस्थित साँखुमा अवस्थित बज्रयोगिनी देवीको इतिहास पढी अनुमान लगाउन सकिने संस्कृतिविद्को ठहर छ ।

किंवदन्ती अनुसार जोगदेव बज्राचार्यको समयमा कलिगत १८०१ फाल्गुण शुद्धि तृतीयाको दिन श्री बज्रयोगिनी देवीको भ्रमण हुँदा महायानी बौद्ध परम्पराअनुसार चर्या नृत्य ताल र भावमा हुने तथ्य शास्त्रमा उल्लेख छ । यसरी महायानी सम्प्रदायभित्र चर्यानृत्य विकसित भएका प्रमाणहरू भेटिन्छन् ।

फेरि, यो नृत्य किरातकालदेखि लिच्छवीकालका गुरु बज्राचार्यहरू शान्तिकराचार्य, सुरतबज्र, बन्धुदत्त आचार्य आदिले पनि चचा गीत लेखी, नाचगान गरी चर्यानृत्यको स्तरोन्नति गरेको पाइन्छ ।

महायानी सम्प्रदायभित्र चर्यानृत्यको महत्वबारे जान्न नेपालको तान्त्रिक इतिहास खोतल्न आवश्यक छ । कलिगत संवत् १८०१ म मणिचुड पर्वतमा श्री बज्रयोगिनी देवीको नृत्याभावमा वनविहार भएको बेला देब्रे हातको नागकुण्डल गहना भुइँमा खस्दा त्यहाँ एउटा कुण्ड उत्पत्ति भएको किंवदन्ती छ ।

त्यो दहलाई हाल मणिचुड कुण्ड पनि भनिन्छ । साँखु विविध मिथकको केन्द्र पनि मानिन्छ । उक्त स्थानको किंवदन्ती भारतको हस्तिनापुरसम्मको कथा जोडिएको छ । चर्यानृत्यको अध्ययन अनुसन्धान गर्ने क्रममा नेपालदेखि विश्वका विभिन्न देशका प्रचीन परिस्कृत तान्त्रिक शक्ति र विभिन्न रागरागिनीले परिस्कृत शास्त्रीय नृत्य हो भन्ने प्रमाणित हुन्छ ।

चर्यानृत्यको मौलिकता र महत्व

चर्यानृत्यको आफ्नै मौलिक महत्व छ । यसको विशेषता भन्नु संसारका कुनै पनि नृत्यसित मेल नखानु हो । अर्को विशेषता, यो नृत्य रागबाट सुरु भई श्लोकमा टुंगिन्छ । यो नृत्य सांगीतिक रसअन्तर्गत रही नाचिन्छ । चर्यानृत्य नेपाली संस्कृतिको एउटा अति विशिष्ट नमुना हो । यो राष्ट्रिय निधि एवं जीवित सम्पदा हो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा नेपालका मौलिक पहिचान उजागर गरिरहेको छ ।

अब चर्यानृत्य महायानी सम्प्रदायमा वा गुह्य पूजा गर्दा नाचिने गाइनेमा सीमित रहेन । अचेल यो नृत्यलाई परिस्कृत गरी विभिन्न सभासमारोह तथा धार्मिक सांस्कृतिक अवसरमा पनि प्रदर्शन गरिन थालेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनमा र पाहुनपासाको सम्मानमा पनि प्रदर्शन गर्न थालिएको यो हाम्रो मौलिक नृत्य हो ।

सन्दर्भ सामाग्री/स्रोतव्यक्ति

बःचाधंगु नेवाः खँग्वः धुकू-जोशी सत्यमोहन

- डा.दर्शनकुमार पि.
चर्यागीत स्त्रोत- आशा सफु कुथी
मणिचुद राजाया बाखँ-मानन्धर सत्यनारायण
नृत्य प्रशिक्षक- महेशप्रकाश हाडा
विभिन्न पत्रपत्रिका तथा वेबसाइट

http://annapurnapost.com/news/57904

शितला माजु

 


नवीनप्रकाश श्रेष्ठ
फुर्सद

 ०९ भदौ २०७५ ११:४७:०

संस्कृति

‘शितला माजु’ गीतमा तत्कालीन राजा रणबहादुर शाहले तःकै (बिफर) लागेकाहरूलाई तामाकोसीपारि डाँडो कटाउँदा बखतको कथाव्यथा छ।

नेपालभाषा साहित्यिक अभियानमा भाषा थुवाः पदवीले विभूषित प्रेमबहादुर कंसाकारले संकलन गरेका १५ वटा गीति कथा उनको ‘बाखं म्ये’ पुस्तकमा प्रकाशित छन्। जीवनमा भएका घटनालाई बाखं (कथा)को शैलीमा गाइने म्ये (गीत) लाई नै बाखं म्ये (गीति कथा) भन्ने गरिएको छ। छापिएका १५ वटा गीतमध्ये ‘शितला माजु’ एक हो। गीतका रचनाकार अज्ञात रहेको यो गीत कहुकोला राग र परतालमा गाइन्छ। यस गीतमा तत्कालीन राजा रणबहादुर शाहले तःकै (बिफर) लागेकाहरूलाई तामाकोसीपारि डाँडो कटाउँदा बखतको कथाव्यथा छ।

प्रतापसिंह शाहका छोरा रणबहादुर शाहका चार महारानी थिए। तीमध्ये एक महारानीलाई उनी औधी माया गर्थे। उनकै पालामा नेपालमा बिफरको महामारी आयो। आफ्नी प्यारी महारानीलाई बिफर लाग्ला भन्ने चिन्ताले सतायोे र उनले बिफर लागेका बालकहरूलाई तामाकोसी नदीपारि निकाला गर्ने उर्दी जारी गरे। दरबारभित्रको कलहका कारण मानसिक रूपले विक्षिप्त भइसकेका सन्काहा राजा रणबहादुर शाहले बिफर रोगले ग्रसितहरूलाई निकाला मात्र गरेनन्, मृत्यु भएपछि समेत ती बालकहरूको शव परम्पराअनुसार गाड्न वा जलाउन नपाउने र तामाकोसीमा बगाउनुपर्ने समेत फरमान जारी गरे। राजाको निरंकुश उर्दीका कारण आफ्ना सन्तान लिई तामाकोसीपारि विस्थापित हुँदाको पीडा र आफ्ना सन्तानको शव तामाकोसीमा बगाउँदाको विरहमा नेपालभाषाको शितला माजु गीत गाइयो।

नेपालभाषा साहित्यमा मल्लकाललाई स्वर्ण युगको रूपमा लिइन्छ। मल्लकालपछि पनि राजाको वीरताको गुणगान, देशभक्तिका भाव, देवीदेवताका भक्ति गीत गाइन्थ्यो। बिरामी प्रजाको उपचार गर्नु गराउनुको साटो बिफरले ग्रसित प्रजालाई देश निकाला गर्नुजस्तो आलोच्य कामको कारण जन्मिएको यो गीत तत्कालीन समयको साहित्यिक धारभन्दा फरक धार समाएको, राजा र दरबारकै विरुद्ध बोलिएकाले पनि यो गीतको महत्व व्यापक छ। करुण रसमा रचित यो गीतमा सामूहिक विस्थापन र आफ्ना नाबालक नानीहरूको मृत्यको वेदना मात्रै होइन, राजधर्ममा चुकेका राजा र प्रजाप्रति राजाको गैरजिम्मेवारीमाथि पनि कटाक्ष गरिएको छ।

शितला माजु गीतमा कान्तिपुरदेखि भक्तपुर, बनेपा, पलाञ्चोक भगवती, दोलालघाट र दोलखा हुँदै तामाकोसीपारि विस्थापन हुँदा बाटामा भएका देवीदेउताहरूलाई गरेको याचना र भाकल उल्लेख छ। भक्तपुरको तलेजु, बनेपाको चण्डेश्वरी, काभ्रेको पलाञ्चोक भगवती र दोलखाको महादेवको दर्शन गर्दै तामाकोसीपारि पुगेको बयान छ। बिफर निको पारिदिने मानिने देवी शितला माजुलाई बिफर निको पारिदिन बिन्ती र निको पारिदिएमा सुनको फूल चढाउने, परेवा उडाउने वाचा गरिएको छ। हिँड्दाहिँड्दै बास बस्ने ठाउँ नपाएको र खानेकुरा सकिएको समस्या पनि उल्लेख छ। जम्माजम्मी २० अन्तरामा गाइएको यस गीतको तेस्रो र चौथो अन्तरा यसरी गाइएको छ  :

नसा बजि ब्यकुंच्यासे कचिमचा लुकुंछिसें

वनेमाल तामाखुशी पारी।।३।।

छम्ह मचा लुखछिसें छम्ह मचा ब्यकुंच्यासे

छम्ह मचा लुतुलुया यने।।४।।

यसमा बिफर लागेकाहरूलाई देश निकाला गर्ने आदेशमुताविक एउटा हातमा खाजा र अर्को हातले नानी बोकी तामाकोसी जानु परेको पीडा पोखिएको छ। त्यस समय धेरै सन्तान जन्माइन्थ्यो। आमाबुवा पोको पन्तरोसहित आफ्नो देश परित्याग गर्दा स्वाभाविक रूपमा कोही नानी काँधमा, कोही ढाडमा र कसैलाई लतार्दै लानुपर्ने हुन्छ नै। यही विरह गीतमा पोखिएको छ।

तामाकोसीपारि बस्दाबस्दै नाबालक छोराछोरीहरूको मृत्यलाई अगाडिका पंक्तिमा यसरी वर्णन गरिएको छ  :

सुरज कोमजो थास चिकुं पुना मचा सित

मामं बुबा नुग दाया खोल।।१५।।

सीम्ह मचा उयमदु मचा गाले थुने मदु

परजाया गथि ह्वाल।।१६।।

अर्थात् एकातिर बिफरले गलाएको त छ नै, अर्कोतिर घामको मुखै नदेखिने ओसिला ठाउँको बास। चिसोले कठ्यांग्रिएर आफ्ना नानीहरू अकालमा बिते। न जलाउन पाइन्छ, न त गाड्न। प्रजाको हालत हरे, यो के भयो !

यो दृश्य कति हृदयविदारक हुँदो हो ! त्यसपछिको अन्तरामा यस्तो भनिएको छ  :

वाम्ह मचा मामं जोसें वाम्ह मचा बुबां जोसें

तामाखुशि कुंतवंका छोत।।१७।।

अर्थात् आधा ज्यान आमाले बोकी, आधा ज्यान बुवाले बोकी तामाकोसीमा बगाइदिएको छ, नानीको शव। सन्तानको शव बुवा र आमाले बोकेर ल्याई तामाकोसीमा बगाउन ल्याएको दर्दनाक र भयानक दृश्य हो यो। यसरी पराई गाउँमा सन्तानवियोगको पीडा र रुँदैरुँदै नदीमा बगाउनु पर्दा बीभत्स दृश्य उल्लेख गरिएको छ।

‘शितला माजु’को गीतले २०७४ सालको भदौमा मधेसमा बाढी प्रकोप हुँदा नाबालक कमल सदाको मृत्यु अवस्था दर्शाउँछ। उनको शव जलाउने/गाड्ने सुक्खा जमिन नभएको, तथाकथित उपल्लो जातिका मानिसले अछूत समुदायको बालकको शव गाड्ने जमिन नदिएका कारण उनको शव उनका काकाले पानीमा बगाउँदाको करुण दृश्य स्मरण हुन्छ। नरेन्द्र श्रेष्ठले क्यामरामा कैद गरेको बग्दै गरेको शवको फोटोले वर्षको उत्कृष्ट तस्बिरको चर्चा मात्र पाएन, यही विषयमा कैयन् कविता पनि लेखिए। त्यति बेलाका लोककविहरू र जनसामान्यले पनि त्यही गरे। त्यो कठोर समयमाथि करुण गीत रचे। त्यति बेलाको एउटा ऐतिहासिक दुःखान्तलाई श्रुतिपरम्परामै भए पनि जीवित राख्ने काम गरे।

गीतको अन्त्यमा राजा रणबहादुर शाहमाथि आक्रोश पोखिएको छ। यी हरफहरू तत्कालीन समयमा लेखिने साहित्यभन्दा फरक धारका हुन्। साधारणतः राजाको चाकडी चुक्ली र स्तुतिगान मात्र लेखिने र गाइने समयमा राजाप्रति दुःखेसो, आक्रोश र खेद पोख्नु एक साहसिक कदम नै मान्न सकिन्छ।

अन्तिम अन्तिम हरफहरूमा यसो भनेर बिट मारिएको छ  :

स्वामी जुजुया धर्म मदया कचिमचा वाके छ्वत

वने माल तामाखुशि पारि।।१८।।

नेपालया छत्रपति श्री रणबहादुर

परजान अति दुःख सिल।।१९।।

अर्थात् महाराजको धर्म नभइदिँदा नाबालकहरू फाल्न पठाए र कोसीपारि निर्वासित हुनु पर्योल। हे नेपालको छत्रपति रणबहादुर, तिम्रो कारणले प्रजाले अति दुःख पाए।

यसरी एक राजाको निरंकुशता, विवेकहीनता, तानाशाहीपन र स्वार्थका कारण तत्कालीन समयमा प्रजाले भोग्नु परेको दुःख, पीडा नेपालभाषाको प्राचीन ‘शितला माजु’ गीतले गाएको छ।

http://annapurnapost.com/news/106436

मच्छेन्द्रनाथको कुुण्डली

 




राम लोहनी
फुर्सद

 ०५ जेठ २०७५ १०:५४:००

मिथक

इसाको सातौं शताब्दीको कुुरा हो। राजा नरेन्द्रदेव छोरा वरदेवलाई गद्दी सुुम्पिएर आध्यात्मिक उन्नतिमा लागेका थिए। त्यसैताका गोरखनाथ नेपाल उपत्यकामा आए। गोरखनाथका गुुरु मच्छेन्द्रनाथ पूर्वको अनकन्टार पहाडमा थिए। गोरखनाथलाई गुुरु दर्शनको इच्छा भयो तर उनलाई त्यहाँसम्म जाने इच्छा थिएन। उनलाई एउटा जुुक्ति फुु‍र्‍यो। उपत्यकाका नौवटा नागलाई जम्मा गरेर त्यसमाथि आसन जमाई बसे, गोरखनाथ। नागहरू गोरखनाथको नियन्त्रणमा परेपछि उपत्यकामा पानी पर्न छाड्यो। बाह्र वर्षसम्म खडेरी प‍र्‍यो। जनतामा हाहाकार भयो। कुुरा बुुझ्दै जाँदा राजा वरदेवले गोरखनाथले नागहरूलाई कैद गरी राखेको पत्ता लगाए।

गोरखनाथको कब्जाबाट नागलाई मुुक्त गर्न गोरखनाथका गुुरु मच्छेन्द्रनाथलाई उपत्यका ल्याउनुुपर्ने सुुझाव गुुरु पुुरोहितहरूले वरदेवलाई दिए। वरदेव पिता नरेन्द्रदेवकहाँ गएर सबै बेहोरा बताए। नरेन्द्रदेव तान्त्रिक गुुरु पुुरोहितसहित मच्छेन्द्रनाथलाई उपत्यकामा ल्याउन भनी पूर्वतिर लागे। मच्छेन्द्रनाथलाई गोरखनाथले आसन बाँधेको बाटो हुुँदै उपत्यका भिœयाइयो। गुुरुलाई देख्नासाथ गोरखनाथ आसनबाट जुुरुक्क उठे। गोरखनाथ उठ्नेबित्तिकै नागहरू मुुक्त भएर उपत्यकामा पानी प‍र्‍यो।

मच्छेन्द्रनाथको जीवनी

काठमाडौं उपत्यकामा मच्छेन्द्रनाथको विशेष महत्व छ। उनलाई सहकाल र वर्षाका देवताको रूपमा पुुजिन्छ। तन्त्रशास्त्रमा उनलाई कौल सम्प्रदायका पछिल्ला मुुख्य अभियन्ताका रूपमा बुुझिन्छ। कौल तन्त्र मार्गको शाक्त सम्प्रदायको एक शक्तिशाली हाँगा हो। कौल शब्दावलीमा कुुल भनेको शक्ति र अकुुल भनेको शिव हुुन्। शिव र शक्तिको संयोजनबाट निर्मित सर्वोच्च स्वरूपलाई कौल भनिन्छ। शिवशक्ति स्वरूपको कौललाई शिव र शक्ति दुुवैभन्दा माथि आदिकारकको रूपमा लिन्छन्, कौलमार्गी। कौल सम्प्रदाय सत्ययुुगमा सुुरु भएको विश्वास छ। कलियुुगमा यसको उत्थान गर्ने श्रेय मच्छेन्द्रनाथलाई दिइन्छ। सत्ययुुगमा यो पूर्वमा उत्पन्न भयो। त्रेता युुगमा दक्षिणमा विस्तार भयो र द्वापर युुगमा, पश्चिममा। मच्छेन्द्रनाथले उत्तरमा यो परम्पराको विकास र विस्तार गरेका थिए। यस अर्थमा नेपाल उपत्यका मच्छेन्द्रनाथको कर्मथलो रहेको बुुझिन्छ।

मच्छेन्द्रनाथको जन्म पूर्वमै भएको संकेत विभिन्न कथाहरूले दिन्छन्। कथाअनुुसार मच्छेन्द्रनाथले महादेवबाटै शिक्षादीक्षा पाएका थिए। आफूले पाएको ज्ञान सर्वप्रथम उनले चोल राज्यका नरेशलाई मौखिक रूपमा दिएका थिए भन्ने किंवदन्ती पनि छ। गुुरुद्वारा प्राप्त ज्ञानलाई पछि चेलाहरूले संकलन गरेका हुुनसक्ने सम्भावना छ। मच्छेन्द्रनाथद्वारा रचित भनिएका ग्रन्थहरूमा लेखकको रूपमा यिनको नाम छैन। ग्रन्थभित्रको श्लोकमा उल्लेख भएको आधारमा ग्रन्थका रचनाकार मच्छेन्द्रनाथ रहेको संकेत मिल्छ। मच्छेन्द्रनाथको उर्वर समय नेपालमै बितेको तथ्य यिनीद्वारा रचना गरिएका भनिएका अधिकांश ग्रन्थहरू नेपालमा मात्र पाइनुुले पुुष्टि गर्छ। मच्छेन्द्रनाथद्वारा रचित भनेर हालसम्म प्राप्त ग्रन्थहरू कौलज्ञाननिर्णय, अकुुलवीरतन्त्र, कुुलानन्दतन्त्र, ज्ञानकारिका, कामाख्यागुुह्यसिद्धि, मच्छेन्द्रसंहिता गरी ६ प्रकारका छन्। संस्कृतमा लेखिएका यी ग्रन्थहरूमध्ये मच्छेन्द्रसंहिता मात्र पूरा पाइएको बताइन्छ।

ग्रन्थहरूमा वर्णित जीवनीअनुुसार मच्छेन्द्रनाथको जन्म माझी परिवारमा भएको थियो। एक किंवदन्तीअनुुसार मच्छेन्द्रनाथको जन्म ग्रहहरूको एकदमै प्रतिकूल अवस्थामा भएकाले घरका सदस्यहरूलाई अपशकुुन ननिम्त्याओस् भनेर यिनलाई जन्मनेबित्तिकै नदीमा फ्याँकियो। नदीमा फ्याँकिएको बालक मच्छेन्द्रनाथलाई माछाले निल्यो। पेटमा मच्छेन्द्रनाथलाई लिएको माछा समुुद्रमा तैरँदै श्वेतद्वीप नजिक पुुग्यो, जहाँ महादेव पार्वतीलाई ध्यानयोग र ज्ञानयोगको रहस्य बताउँदै थिए। यो कुुरा माछाको पेटमा रहेको मच्छेन्द्रनाथको कानमा पनि प‍र्‍यो। श्वेतद्वीपबाट महादेव र पार्वतीले आफ्नो यात्रा समुुद्रमार्ग हुुँदै जारी राखे। त्यो माछा महादेवको बाटो छेक्न पुुग्यो। माछाको पेटभित्रैबाट बच्चाले आफ्नो जन्म र आफूले महादेवले बताएको ज्ञानको रहस्य सुुनेको बतायो। महादेवले बच्चालाई माछाको पेट चिरेर बाहिर निस्कन अनुुरोध गरे। माछाको पेटबाट निस्केकाले बच्चाको नाम मच्छेन्द्रनाथ रह्यो। महादेवले मच्छेन्द्रनाथलाई आफ्नो पुुत्र स्वीकारेर यो गोपनीय ज्ञान योग्य पात्रहरूमाझ विस्तार गर्ने निर्देशन दिएर अन्तध्र्यान भए।

अर्को किंवदन्तीअनुुसार महादेव चन्द्रद्वीपमा बसेर पार्वतीलाई कौलागमको रहस्य बताउँदै थिए। महादेव पार्वतीका पुुत्र कार्तिकेयले मुुसाको रूप धारण गरेर जमिन खोतल्दै महादेव, पार्वती बसेको जमिनमुुनि पुुगेर गोप्य ज्ञान पूरै सुुन्न भ्याए। महादेवले पार्वतीलाई प्रदान गरेको सो ज्ञान कार्तिकेयले खोसेर समुुद्रमा फ्याँकिदिए। यो ज्ञान माछाले खाइदियो। महादेवलाई कार्तिकेयको बदमासी थाहा भयो। महादेव मच्छेन्द्रनाथको रूप धारण गरेर समुुद्रमा प्रवेश गरेर माछालाई समाते। माछाको पेट चिरेर कौलागमको गोप्य ज्ञान पुुनः आफूले नै ग्रहण गरे। कार्तिकेयलाई यो कुुरा चित्त बुुझेन। कार्तिकेयले त्यो ज्ञान फेरि चोरेर समुुद्रमा फ्याँकिदिए। त्यो ज्ञान फेरि एउटा ठूलो माछाले खाइदियो। यो पटक महादेवले माझीको रूप धारण गरेर आफ्नो जालमा त्यो माछालाई पारे र माछाको पेटबाट ज्ञानलाई मुुक्त गरे। माझीको रूप धारण गरेका महादेव नै मच्छेन्द्रनाथ हुुन् भन्ने विश्वास गरिन्छ।

गोरक्षविजयमा उल्लिखित किंवदन्तीअनुुसार ब्रह्माले शिव र चार सिद्ध मीननाथ, हाडीपा, गोरखनाथ र कानूपा उत्पन्न गरे। गोरखनाथ मीननाथको र कानूपा हाडीपाको चेला बनेर शिवगौरीको सेवामा खटिए। एकपटक महादेव समुुद्रमा गौरीलाई गोप्य योग सिकाउँदै थिए। मीननाथ माछाको रूप धारण गरेर समुुद्रमा गई महादेवले पार्वतीलाई सिकाएको सबै विद्या हासिल गरे। मीननाथको यस्तो हर्कत देखेर महादेव क्रोधित भए। महादेवले मीननाथलाई सबै विद्या बिर्सने र कामलिप्त हुुने श्राप दिए। फलस्वरूप मीननाथलाई आफ्नो पूर्वरूप विस्मरण भयो। उनी स्त्रीहरूको माझमा रहेर कामसुुखमा लिप्त हुुन थाले। गोरखनाथले मीननाथलाई स्त्रीहरूको समूहबाट छुुटाएर ल्याए र आफ्नो पूर्वरूपको सम्झना गराए।

मीननाथ मच्छेन्द्रनाथको अर्को नाम हो। स्त्रीहरूसँग लिप्त भएको भनिएको सम्भवतः मच्छेन्द्रनाथको वामाचार साधना थियो। वामाचार साधनामा पञ्च मकार (मांस, मुुद्रा, मत्स्य, मदिरा र मैथुुन) को सिद्धि गर्ने प्रयास हुुन्छ। हठयोग र वामाचारलाई एक ठाउँमा ल्याउने श्रेय मच्छेन्द्रनाथलाई दिइन्छ। त्यसको विपरीत गोरक्षनाथ (गोरखनाथ) चाहिँ हठयोगको प्रवद्र्धनमा लागे। गोरक्षनाथले मच्छेन्द्रनाथलाई स्त्रीहरूको साथबाट छुुटाएर ल्याएको किंवदन्तीलाई मच्छेन्द्रनाथको नेपाल उपत्यका आगमनसँग जोड्न सकिन्छ। अवलोकितेश्वरको रूपमा उपत्यकामा ल्याइएका मच्छेन्द्रनाथले नै यहाँ वामाचारको प्रवेश गराएको हुुन सक्छन्। गुुरु चेला बीचको फरक सिद्धान्तको कारण उपत्यकामा गोरखनाथको महत्व कम हुुँदै गयो।

मच्छेन्द्रनाथको समय

मच्छेन्द्रनाथको समय सम्बन्धमा एकमत छैन। मच्छेन्द्रनाथका चेला गोरखनाथको समय भने दसौं शताब्दीको पछिल्लो काल मानिएको छ। नेपालको वंशावलीलाई मान्दा मच्छेन्द्रनाथ सातौं शताब्दीका हुुन्। त्यसो हुुँदा सातौं शताब्दीमा गोरखनाथको अस्तित्व पनि हुुनुुप‍र्‍यो र गोरखनाथ मच्छेन्द्रनाथको चेला पनि भएको हुुनुुप‍र्‍यो। काश्मीरी परम्परामा मच्छेन्द्रनाथलाई पाँचौं या छैटौं शताब्दीको बताइन्छ। अभिनव गुुप्तले आफ्नो ग्रन्थ तन्त्रालोकमा यसको चर्चा गरेका छन्। सुुनीतिकुुमार चटर्जीको अनुुमानअनुुसार मच्छेन्द्रनाथ बाह्रौं वा तेह्रौं शताब्दीका हुुन्।

घरका सदस्यहरूमा अपशकुुन नआओस् भनेर जन्मनेबित्तिकै उनलाई नदीमा फ्याँकियो। नदीमा फ्याँकिएको त्यो बालकलाई माछाले निल्यो। माछाको पेटबाट निस्केकाले उनको नाम मच्छेन्द्रनाथ रह्यो।

समयसम्बन्धी यो फरकले मच्छेन्द्रनाथ कसरी गोरखनाथका गुुरु हुुन सके भन्ने प्रश्न उठाउँछ। एउटा विश्वासअनुुसार मच्छेन्द्रनाथ कम्तीमा पनि चार, पाँच सय वर्ष बाँचे होलान्। हठयोग सिद्धि गरेका योगीहरूको आयुु यति हुुनुुलाई सामान्य मानेर पाँचौं वा छैटौं शताब्दीका मच्छेन्द्रनाथ नै दसौं शताब्दीका गोरखनाथका गुुरु हुुनसक्ने देखियो। तर पनि यो तर्कअनुुसार सातौं शताब्दीमै गोरखनाथ र मच्छेन्द्रनाथको भेट भएको नेपाली वंशावलीको कुुरा मेल खाँदैन। विकल्प के हुुन सक्छ भने मच्छेन्द्रनाथ र गोरखनाथ दुुवै परम्परा थिए। परम्पराअनुुसार भिन्नभिन्न व्यक्ति मच्छेन्द्रनाथको पदमा आसीन हुुन्थे र गोरखनाथको पदमा आसीन हुुनेले मच्छेन्द्रनाथलाई गुुरु स्वीकार्थे। गुुरु चेला मानिए पनि उनीहरूको भेट नहुुन सक्थ्यो। नागहरूलाई कैद गरेर मच्छेन्द्रनाथलाई नेपाल उपत्यका आउन बाध्य पार्नुुले गोरखनाथको स्वतन्त्र हैसियतलाई पुुष्टि गर्छ।

नरकासुुरको कथा

भागवत पुुराणमा नरकासुुरको कथा आउँछ। नरकासुुर विष्णुुले बराह अवतारमा पृथ्वीको उद्धार गर्दा भूमिबाट पैदा भएको हो। भूमिबाट पैदा भएकाले भौमासुुर पनि भनिन्थ्यो। भूमिबाट उत्पत्ति भएकाले लक्ष्मीले आफ्नो पुुत्र मानेको र विष्णुुको पनि पुुत्र ठहरिन्थ्यो, भौमासुुर। उद्दण्ड स्वभावको उसको अत्याचार बढ्दै गयो। भौमासुुरले आफ्नो अन्तपुुरमा सोह्र हजार एक सय युुवतीलाई कैद गरेर राखेको थियो। कृष्णले भौमासुुरको बध गरेर युुवतीहरूको उद्धार गरे। भौमासुुरको कानमा दिव्य कुुण्डल थियो। भौमासुुरले स्वर्ग विजय गर्ने क्रममा इन्द्रकी माता अदितिसँग खोसेर ल्याएको कुुण्डल थियो, त्यो। भौमासुुरको मृत्युुपछि कुुण्डल पुु‍र्‍याउन कृष्ण स्वयं स्वर्ग गएका थिए।

भौमासुुरलाई दम्पती योद्धाबाट मात्र मृत्युु प्राप्त हुुने वरदान थियो। त्यसैले कृष्ण र कृष्णपत्‍नी सत्यभामा मिलेर भौमासुुरको बध गरेका थिए। कालिकापुुराणमा कामरूपको कामाख्या मन्दिर भौमासुुरले बनाउन लगाएको उल्लेख छ। यद्यपि अहिलेको मन्दिर भौमासुुरद्वारा निर्मित मन्दिर भने होइन। लामो समयदेखि असमको गुुवाहाटीस्थित यो मन्दिर वामाचार तान्त्रिक साधनाको केन्द्र रहँदै आएको छ। कामाख्या मन्दिर बनाउन लगाएको कुुरा र हजारौं युुवतीलाई कैद गरेर राखेको कुुरा जोड्दा भौमासुुर कामदेवकै प्रतीक मान्नुुपर्ने देखिन्छ।

कामदेवको कथा

पुुराणहरूमा महादेवको तेस्रो नेत्रको ज्योतिले कामदेव भष्म भएको कथा पाइन्छ। किंवदन्तीअनुुसार कामदेव भष्म भएको यही ठाउँ हो, जहाँ अहिले कामाख्या मन्दिर छ। कामदेवकी स्त्री रतिको अनुुरोधबमोजिम महादेवले कामदेवलाई पुुनर्जीवन प्राप्त गर्ने वर दिएका थिए र कामदेव यही स्थानमा पुुनर्जीवित भए भन्ने पनि किंवदन्ती छ। कामाख्या मन्दिर कामदेवले नै बनाउन लगाएको भन्ने प्रसंग ब्रह्मवैवर्तपुुराणमा छ। कामाख्या मन्दिर सतीदेवीको योनीक्षेत्र पतन भएको क्षेत्रको रूपमा विश्वास गरिन्छ। हिन्दुु धर्मका शक्तिपीठहरूमध्ये कामाख्या शक्तिपीठ बढी महत्वको मानिन्छ।

माछा र प्रतीक

माछालाई उत्पादन र प्रजननको प्रतीक मान्ने प्रचलन धेरै पुुरानो हो। प्राचीन इजिप्टमा ओसाइरिस नामको राजा थिए। आइसिस उनकी पत्‍नी थिइन्। ओसाइरिसलाई उनकै भाइले हत्या गरेर टुुक्राटुुक्रा पारेर भिन्नभिन्न ठाउँमा गाड्यो र लिंगचाहिँ नाइल नदीमा फ्याँकिदियो। उक्त लिंग माछाले खाइदियो। ग्रिक पुुराकथाका भिनस र क्युुपिडलाई पूर्वीय परम्पराको कामदेव र रतिको समानान्तर मानिन्छ। भिनस र क्युुपिड कुुनै समय जोडी माछा बनेर समुुद्रमा विचरण गरिरहेको प्रसंग ग्रिक कथामा पाइन्छ। इसाई धर्ममा जिसस क्राइस्टको प्रतीक चिह्न माछा नै हो।

बाइबलअनुुसार पुुनर्जीवित जिससलाई माछा दिएर स्वागत गरिएको थियो। ज्योतिषशास्त्रमा बाह्रौं राशि मीनको संकेत जोडी माछा हो। परस्पर विपरीत फर्किएका माछालाई कामको प्रतीक मानिन्छ। फलित ज्योतिषमा पनि मीन राशिको प्रभाव व्यक्तिको यौनजीवनसँग रहेको मानिन्छ। माछालाई पुुरुष यौनांगको प्रतीक र माछाको भोजन यौनवद्र्धक तथा प्रजनन क्षमता बढाउने विश्वास गरिन्छ। बेजोड सुुन्दरीको उपमा दिनुुपर्दा पुुराणहरूमा मत्स्यकन्याकै नाम आउँछ। महाभारतको एउटा कथाअनुुसार बाह्र वर्ष ब्रह्मचर्यमा रहेर तीर्थ गर्ने वाचा गरेर निस्केका अर्जुुनले मत्स्यकन्या उलुुपीका कारण ब्रह्मचर्य त्यागेका थिए। निष्कर्ष के हो भने हाम्रा शास्त्रहरूमा माछालाई प्राणीमा रहेको कामभावको प्रतीकका रूपमा उल्लेख गर्ने गरिएको छ।

वर्तमान असमलाई मध्ययुुगमा कामरूप र पौराणिक कालमा प्रागज्योतिष भनिन्थ्यो। प्रागज्योतिष अर्थात् पहिले सूर्य उदाउने ठाउँ। सृष्टिको कारक सूर्यको प्रतीक पनि माछा हो। सतीदेवीको योनी पनि पूर्वको यही देशमा पतन भयो। सम्भवतः यो कथा रच्दा तत्कालीन भारतवर्ष भनेर जानिने सुुदूरपूर्वको देश यही थियो। कामकलाको प्रादुुर्भाव पनि यहीँ भयो। पूर्व भनेको प्रारम्भ हो। सृष्टिको प्रारम्भ कामभावबाट भएको संकेत गर्छन्, यी प्रसंगहरूले। हिन्दुु पुुराणको पहिलो अवतार पनि मत्स्यअवतार नै हो। माछा पानीमा बस्ने हुुँदा यो स्वतः पानीको प्रतीक पनि ठानियो।

निष्कर्ष

कामदेव, भौमासुुर, मच्छेन्द्रनाथ अगलअलग समयका तर एकै सम्प्रदायका व्यक्ति हुुनसक्ने सम्भावना छ। कामरूपमा साधनारत मच्छेन्द्रनाथ हठयोग र वामाचार दुुवै अभ्यास गर्थे। गोरखनाथको परम्परा पनि चलिरहेको थियो। तर, गोरखनाथका अनुुयायीहरू वामाचारको समर्थक थिएनन्। सातौं शताब्दीका गोरखनाथले तत्कालीन मच्छेन्द्रनाथलाई नेपाल बोलाउनुुको संकेत सम्भवतः वामाचार मार्गबाट मच्छेन्द्रनाथलाई छुुटाउनुु थियो। उपत्यका प्रवेश गरेपछि पनि मच्छेन्द्रनाथको वामाचार साधना हराएन। बरु गोरखनाथ नै उपत्यकाबाट विस्थापित भए। देवीका मन्दिरका टुुँडालहरूमा खोपिएका सम्भोगासन कलाले वामाचार साधनालाई नै संकेत गर्छन्।

गोरखनाथ परम्परामा मच्छेन्द्रनाथलाई हठयोग साधना गर्ने कनफट्टा साधकको रूपमा मात्र लिइन्छ। मच्छेन्द्रनाथलाई दीक्षा दिने महादेवले पनि कान चिरेर कुुण्डल लगाएका थिए भन्ने विश्वास कनफट्टा सम्प्रदायमा पाइन्छ। भौमासुुरको कुुण्डल प्रसंग यहाँ स्मरणीय छ। भौमासुुरको कुुण्डल नै कनफट्टाहरूले लगाउने कुुण्डलको आदिरूप हुुन सक्छ। गोरखनाथले विस्तार गरेको हठयोग र कनफट्टा जोगीको परम्परा मच्छेन्द्रनाथबाटै दीक्षित भएको अनुुमान हुुन्छ। महाभारतमा अंगराज भनेर चिनिने कर्णको पनि कानमा कुुण्डल थियो। कर्णको कानको कुुण्डल सूर्यबाट प्राप्त मानिन्छ, जसलाई पछि इन्द्रले छल गरेर कर्णसँग दानमा प्राप्त गरे। पुुराणहरूले सूर्य र इन्द्र दुुवैलाई अदितिका पुुत्र मान्छन्। अंगदेश पनि भारतवर्षको पूर्वी भाग नै हो।

http://annapurnapost.com/news/98371