Showing posts with label COVID-19. Show all posts
Showing posts with label COVID-19. Show all posts

Monday, January 18, 2021

इतिहासले भन्यो, फेरि भेटौं है

 दुई सय वर्षअघि महामारीका बेला राज्यबाट कुनै आशा–भरोसा नभएपछि बिफर निको पार्ने भनिएकी देवी शीतलामाजुलाई गुहार मागिन्थ्यो । आज पनि उस्तै प्रवृत्ति छ ।

२ वैशाख २०७७ मंगलबार

हो, गाइन्छ गीत, अँध्यारो समयकै बारेमा पनि । 
–बर्ताेल्त ब्रेख्त ।


समय–काल जतिसुकै निष्पट्ट अँध्यारो भए पनि गीत गाइन्छ, लेखिन्छ र सुनिन्छ । यसकै एक ज्वलन्त उदाहरण हो– ‘सितलामाजुया म्ये’ (शीतलामाजुको गीत) । शीतला वा बिफरको रोगले महामारीको रूप लिएपछि नेपालका शासकले चलाएको निर्मम सामूहिक विस्थापनको पीडादायक गीतको नाम हो– ‘सितलामाजुया म्ये ।’ स्वामी महाराज रणबहादुर शाहले आफ्नो छोरा गीर्वाणयुद्धविक्रमलाई ‘त:कै’ (बिफर)का कीटाणु नसरुन् भन्‍ने उद्देश्यले काठमाडौं उपत्यकाका सबै शिशुलाई सहरबाट गरेको निष्कासनविरुद्ध दुई सय वर्षभन्दा बेसी समयदेखि गाइँदै आएको प्रतिरोधी सिर्जना हो यो ।


धेरैजसो इतिहासकारका लागि राजा रणबहादुर शाहले गरेको ‘बासठ्ठी हरण’ सबैभन्दा महत्त्वपूर्ण लागेको होला, केही विरुदावलीकारका निम्ति शाहले काँधमा चढाएका भीमसेन थापाको ‘देशभक्ति’ सर्वाधिक उल्लेखनीय लागेको होला । तर शाह र थापाको अँध्यारो शासन ब्यहोरेका अज्ञात कविलाई भने हजारौं बालबालिकालाई आफ्नै देशका सिपाही लगाएर लखेटेको दमनकारी घटनाले पिरोलेको होला । त्यसैले उनले इतिहासकार र विरुदावलीकारहरूले खासै वास्ता नगरेको सामूहिक विस्थापनको पीडालाई नेपालभाषाको ‘बाखं म्ये’ (गीतिकथा)मा ढालेका होलान् । र, शासकहरूका इतिहास र राजाहरूको विरुदावलीको चाङले छोपेको यही ऐतिहासिक पीडा, सास्ती र यातनासँगै भयावह मृत्युको गाथा नेवारहरूको जनजिब्रोमा बाँच्दै आएको छ र टोल–टोलका दाफा भजनमा बजाइँदै आएको छ ।


स्वामि जुजुया धर्म मदया कचि मचा वाके छोत

वनेमाल तामाखुसि पारि

नेपालया छत्रपति श्री रणबहादुर

परजात अति दु:ख सिल ।


(स्वामी महाराजमा धर्म नभएकोले नाबालकहरू फाल्न पठाए, जानुपर्‍यो तामाकोशीपारि । नेपालका छत्रपति श्री रणबहादुर, प्रजाले अति दु:ख पाए ।)


इतिहासकार महेशराज पन्त भन्छन्, ‘पश्चिममा सालाखाला एक सय र पूर्वमा एक सय बीस वर्षमा महामारी आउने गर्छ ।’ नेपालका लागि हैजा र बिफरको महामारी नौलो होइन, जसले राजादेखि रैतीसम्मको प्राण हरण गरेको इतिहास छ । यहाँ बिफर इतिहास भएको बल्ल चार दशक मात्रै भएको छ, तर बिफरजस्ता महामारीका बेला शासकहरूले देखाउने आत्मकेन्द्रित मायामोह, पराइकरणको नीति र विभेदकारी व्यवहार भने इतिहास भएको छैन । २१४–१५ वर्षअघि राजा रणबहादुर शाहले देखाएको यही शासकीय प्रवृत्ति आज नेपालमा मात्रै होइन, विश्वभरि नै कोभिड–१९ को महाव्याधिमा पनि छाएको छ ।


बिफर र राजाको महामारी


१८६१ जेठमा राजा रणबहादुर शाहबाट पुत्रमोहका कारण भएको ज्यादतीको घटना उधिन्‍न सघाउनेगरी इतिहासकार बाबुराम आचार्य एकाध शब्द खर्च गर्छन्, ‘बालक राजा गीर्वाणयुद्धविक्रम शाहलाई बिफर सर्दछ भन्‍ने डरले उपत्यकाभित्रका बिफर नखोपाएका सबै बालबालिका काठमाडौं उपत्यकाबाट बाहिर निकाला गरिए । त्यस्तै, १८६२ बैशाखमा पनि बिफर नखोपाइएका बालबालिका काठमाडौं उपत्यकाबाट बाहिर निकाला गरिए । १८५४ आश्विनमा जन्मिएका गीर्वाणयुद्धविक्रम मात्र यहाँ राखिए ।’


गीर्वाणयुद्धविक्रम शाहलाई अढाई वर्षमै राजा बनाएर ‘परमनिर्गुणानन्द स्वामी’ बनेका रणबहादुरमा आफन्तप्रतिको मायामोह जति थियो, त्योभन्दा बेसी थियो– ‘अन्य’प्रतिको घृणा र विद्वेष । श्रीमती र पुत्रको जिउज्यान बचाउन जे पनि गर्ने रणबहादुरले उपत्यकाबासी र तिनका बालबालिकामाथि गरेको अत्याचार अकथनीय थियो । प्रजालाई अन्य ठान्‍ने रणबहादुरजस्ता आत्मकेन्द्रित शासकले उपत्यकाबासीका छोराछोरीलाई निकाला गरियो भने आफ्ना छोरा स्वस्थ हुने अन्धविश्वासका साथ सिपाही परिचालन गरेका थिए ।


कहिले नसुनेको, कहिले नदेखेको

काँचो बालक राख्‍ने होइन–

महाराजको हुकुम भयो ।


झ्याली पिट्दै, बाजा बजाउँदै

सिपाहीले घेर्न लगाए

काँचो बालक निकाली पठाए ।


इतिहासकार ज्ञानमणि नेपालका शब्दमा, ‘नेपालका तीन सहरलाई हल्लाउने (गरी) सम्पूर्ण सहरबासीका बालबालिका बिचल्ली पार्ने सहर निष्काशनको आदेश दिनबाट उनलाई रोक्न सक्ने कोही थिएन । सहरमा बिफर फैलियो भन्‍ने सूचना सुन्‍नेबित्तिकै बालक राजा गीर्वाणयुद्धविक्रमलाई पनि सो रोग सर्छ भन्‍ने बहाना गरी नखोपाइएका सारा बालबालिकालाई सहरबाट निकालेर टाढा लैजाने कठोर सरकारी आदेश जारी गरियो । बालबालिका मात्र निकालेर भएन, उनका साथमा संरक्षकको रूपमा बाबु आमा, नभए कोही अभिभावक जानैपर्‍यो । यसरी यी सहरिया रैतीहरू घर छोडेर छोराछोरी च्यापेर रुँदै–रुँदै हिँडे । यस्तो प्रतिप्रकोप गराउने दुष्कार्य गर्न पनि उनी स्वछन्द थिए भने अब केको लागि मुख्तियार पद सम्हालेका हुन्, यो रहस्यमयै कुरा छ ।’


गीर्वाणयुद्धविक्रमभन्दा पाँच वर्ष जेठा रहेका कवि सुन्दरानन्द बाँडाका अनुसार पूर्वतिर तामाकोशीतिर मात्रै होइन, दक्षिणतिर तराईको चारकोसे झाडीसम्म र उत्तरतिर साँखुभन्दा माथिको मणिचुडनजिकसम्म पनि नाबालकहरू र उनीहरूका अभिभावकलाई निर्वासित गरिएको थियो । उनीहरूमध्ये कयौंले उपत्यकामा फर्कन नपाएको, फर्कन पाएकाले पनि कयौंले गीर्वाणयुद्धविक्रमको अनुहार हेर्न नपाएको र कयौंले एक्कैचोटि गीर्वाणयुद्धविक्रमका छोरा राजेन्द्रविक्रम शाहको मुहार मात्रै देख्‍न पाएको बयान ‘त्रिरत्न सौन्दर्यगाथा’मा बयान गरिएको छ ।


धाम नझुल्किने ठाउँ सेपिलो

बालक मरिहाल्यो चिसो लागेर

आमाबाबु छाती पिटीपिटी रोए ।

पाइँदैन बालक मरेको जलाउन

पाइँदैन खाडलमा पनि पुर्न

प्रजाको कस्तो हवाल ।


शीतलामाजुको गीतका अज्ञात रचनाकारले रणबहादुर शाहको हुकुमबाट तामाकोशीपारिसम्म निकाला गरिएका बालबालिकाको कन्तबिजोग देखाएर राज्यको निर्मम चरित्र उदांगो पारेको देखिन्छ । सिपाहीहरूले घिसारेर देशनिकाला गरिएका तथा चिसो, रुघाखोकी, भोकमरीले अकालमै ज्यान गएका नाबालकहरूको लाश सदगति गर्न नदिई कोशीमै फ्यााक्न बाध्य पारिएको घटनाबाट अनाम कविले राजाको निर्दयी व्यवहारलाई उजागर गरेको पाइन्छ ।


काठमाडौंका मात्रै होइनन्, ललितपुर, ठिमी र भक्तपुरका बहुसंख्यक जनताको विस्थापनको सर्तमा पनि आफ्ना छोराको सुस्वास्थ्यलाई प्रत्याभूत गर्न खोज्‍ने ‘रणबहादुरको अधर्मी प्रवृत्ति’ खासमा सत्ताधारीहरूमा देखिने डरलाग्दो ‘राजनीतिक मनोरोगी’ (पोलिटिकल साइकोप्याथी)को प्रतीक हो ।


परायाकरण र विस्थापनको पीडा


आधा बालक आमाले लिई

आधा चाहिँ बाबुले समाई

तामाकोशीमा खसाल्न पर्‍यो ।


इतिहासका अध्येता योगेश राजका अनुसार ‘इतिहासका विविध कालखण्डमा दरिद्र, युद्धबन्दी, अपराधी, पागल वा महारोगी कहलिएका ‘अक्षम’ मानिसहरूको समूहलाई समाजदेखि बहिर्गत राख्‍ने प्रयास भएको पाइन्छ । त्यस्ता प्रयासमा समाजका बाँकी वर्गले आआफ्ना राजनीतिक र अर्थ–सामाजिक सत्ताको उपयोग गरेका हुन्थे वा गरिरहेका हुन्छन् भन्‍ने कुरा समाजशास्त्रको सामान्य तथ्य बनिसकेको छ ।’ जसरी हैजा, बिफर, प्लेग वा अन्य महामारी हुँदा बिरामीहरूलाई सहर र बस्तीबाट अलग्ग राखिने गरेको इतिहास त जगजाहेर छ, तर नेपालमा बिरामी नै नभएका हजारौं बालबालिकालाई समेत शंकाको घेरामा राख्दै, सैन्य–शक्तिको परिचालनमार्फत् विशाल मात्रामा विस्थापन गरिएको तथ्य कमै थाहा छ । आफ्ना एक जना सन्तानको सुस्वाथ्यलाई केन्द्रमा राखेर अरु सबै बालबालिकाको जिउज्यान असुरक्षित पार्ने नीति, नियत वा निर्णय अनेक रूपरंगमा अहिले पनि देखिएका छन् । आफ्नो जिउज्यान, त्यसको सुरक्षाका लागि आवश्यक भूक्षेत्र–सीमा र सुरक्षालाई सर्वाेपरि राख्दै अरुलाई कोरोना संक्रमित र कोभिड पोजिटिभजस्ता शब्दले कलंकित गर्ने र घर–घरमा चिनो लगाएर लाञ्छित गर्ने, अनेक परिभाषामा वर्गीकरण गर्ने वा राजनीतिक सीमाको पर्खालले बन्द गर्ने काम ‘रणबहादुर प्रवृत्ति’भन्दा भिन्‍न छैन ।


दुई सय वर्ष पुरानो शीतलामाजुको गीत सुन्दा कोभिड–१९ को महाव्याधिसँगै विदेशबाट स्वदेशतिर फिर्ने र स्वदेशमा पनि सहर छाडेर गाउँतिर जाने विस्थापित–जनको लर्काे र तिनका महाव्याधिभन्दा ठूलो पीडाको विशाल नदी वर्षौं वर्षदेखि बगिरहेको अनुभूत हुन्छ । र, शासकहरूले थोपरेका संरचनागत र व्यवहारगत हिंसाका कारण कोशी नदीमा एकसे एक ‘कमल सदा’का ससाना अबोध ज्यान सदगतिबिना नै बगाउने क्रम दुई शताब्दीदेखि जारी रहेको सहजै अनुमान गर्न सकिन्छ । कोरोनाकालमा शीतलामाजुको गीतको अध्ययन र श्रवणले विस्थापित–जनको पीडाको अनुभूतिले एकछिन मन खिन्‍न पार्छ भने शक्तिशाली शासकलाई अधर्मी र पापी भनी आलोचना गरिएको देख्दा प्रतिरोधी भाव जागृत हुन्छ । र, रणबहादुरकै जस्तो ‘अधर्मी वा अन्यायी प्रवृत्ति’ बोकेर सिंहासनमा आरुढ ‘राजनीतिक मनोरोगी’ शासकहरूका असंवेदनशील नीति, नियम र निर्णय देखेर टिठ लाग्छ ।


कुनै महामारी वा प्रकोप वा संकटको निहुँमा आत्मकेन्द्रित मायामोह, परायाकरणको नीति र विभेदकारी व्यवहार देखाउनु भनेको ‘राजनीतिक मनोरोग’ उजागर गर्नु नै हो । यस्तो मनोरोग विदेशबाट रातदिन नभनी हिँडेर आउने र विदेशी सीमामा भोडाबाख्राजस्तै कोच्चिएर स्वदेशफिर्तीका लागि प्रतीक्षा गर्ने, मर्नका लागि भए पनि रातारात महाकाली नदी तरेर, सीमामा तैनाथ प्रहरीसँग भिडेर मातृभृमिमा टेक्न चाहने नेपालीजनप्रति शासकीय विभेदमा पनि नराम्ररी देखिएको छ । यस्तो मानसिक रोगव्याधि युद्धग्रस्त मुलुकमा जस्तै, स्वदेशकै सहर छाडेर गाउँतिर सयौं किमीको पैदल हिँड्ने निमुखा जनता र ‘लकडाउन’का कारण भोकभोकै बाँचिरहेका श्रमिकजनप्रतिको आपराधिक बेवास्तामा पनि पोखिएको छ । कोरोनाको आशंकामा वर्णव्यवस्था र जातपातको आधारमा गरिने छुवाछूत शैलीमा सामाजिक दूरी कायम गर्ने तथा पीडित जनताप्रतिको समभाव, उनीहरूको सुस्वास्थ्यका लागि सहकार्यमा खडेरी पार्ने काममा यही राजनीतिक–मानसिक बिमारी प्रकट भएको छ ।


समाजशास्त्री चैतन्य मिश्रको कोणबाट हेर्दा पनि रणबहादुर शाहले बिफर रोग आउँदा बालबालिकालाई तामाकोसी कटाएको र नेवार समुदायलाई देश निकाला गरेको घटना र अहिले आफ्ना नागरिकलाई देशभित्र आउन नदिएको अवस्था जोडिएका छन् । कुनै न कुनै रूपमा सामाजिक दूरी कायम राखियो भने अमेरिकामा काला र गोराबीच रहेको विभेद, नेपालमा रहेको जातव्यवस्थाजस्तै नयाँ वर्गीय स्वरूप निर्माण हुने खतरा छ  । मिश्र थप्छन्, ‘समाजबाट डराउने र घरभित्र कुँडुलो पर्ने मानसिकताको विकास हुनु आफैंमा एउटा रोग हो ।’


यस्तो रोगको उपचार विधि भनेको अर्काे कुनै रोग नै हुन सक्दैन । स्वास्थ्यसम्बन्धी इतिहासकी अध्येता सुसन हेडनका अनुसार रणबहादुर बनारस प्रवासकालमै ब्रिटिस–भारतमा बिफरको आधुनिक उपचारविधि आइसकेको थियो, तर शाह र उनका सर्वेसर्वा सहयोगी काजी भीमसेन थापाचाहिँ हजारौं जनताको रोग, भोक, शोक र विस्थापनको सर्तमा उनका छोराको ज्यान बचाउने शुतूरमुर्गको चालामा मनोरागी व्यवहार गर्नमै तल्लीन रहे । देशबाट बिफर उन्मूलनका लागि क्रियाशील हुनुको साटो दरबारलाई मात्रै बिफर मुक्त गर्न खोज्दाखोज्दै पनि उनका प्रिय छोराको ज्यान बचेन । उनी १८६३ सालमा आफ्नै भाइद्वारा काटिए भने १८७३ सालमा उनका छोराको ज्यान लियो, बिफरले नै । हाम्रो वर्तमान इतिहास र इतिहासका नायकहरू भने यस्ता पाठबाट नसिक्न प्रतिबद्ध छन्, चाहे कोरोना आओस् या भूकम्प ! उनीहरू कुर्सी र पैसा केन्द्रित नीति, नियत र निर्णय गर्दै इतिहासलाई रणबहादुर शाह प्रवृत्ति नै देखाउँदैछन्, अनेक रूपरंगमा ।


ल्याटिन अमेरिकी लेखक एडुआर्दाे गालेआनो भन्‍ने गर्छन्, ‘इतिहासले कहिले पनि अलबिदा भन्दैन । इतिहासले भन्छ, फेरि भेटौं है ।’ महामारीको इतिहासले अनेक नाममा फेरि फेरि हामीसँग भेट्न आएको छ, हामी भने इतिहासका पत्रु शासकहरूबाट शासित हुन अभिशप्त छौं, जो इतिहासबाट नकारात्मक पाठ मात्रै सिक्न हरदम तत्पर छन् । यसरी नै इतिहासका कुख्यात पात्र : रणबहादुरकै शैलीमा हाम्रा शासकहरूले पनि आफ्ना ‘राजनीतिक मनोरोगी’ आचरण देखाइरहेमा लोकतन्त्रका नयाँ राजारानी मात्रै होइनन्, लोकतान्त्रिक गणतन्त्र नै लकडाउनमा जाने खतरा टड्कारो हुन्छ ।


दुई सय वर्षअघि यस गीतका अज्ञात रचनाकारले राजनीतिक शक्ति र शासकबाट कुनै आशा–भरोसा नभएपछि बिफर फैलाउन र निको पार्ने देवी शीतलामाजुलाई गुहार मागेका थिए, राजाका कारण बेहाल भएका प्रजालाई त्राण देऊ । जब कुनै अर्थ–राजनीतिक वा भौतिक शक्तिले जनतालाई राहत वा मुक्ति दिन सक्दैन, तब अलौकिक शक्तिलाई पूजा र अर्चना गर्नु स्वाभाविकै हो । तर, शीतलामाजु वा पशुपतिनाथ वा कुनै देवीदेवतालाई गुहार्दैमा न शासकहरूबाट बच्‍न सकिन्छ, न त महामारीबाटै । अब त जनस्वास्थ्यलाई बेवास्ता गर्ने अर्थ–राजनीतिक वा भौतिक शक्तिलाई फेर्नु र आत्मकेन्द्रित निकम्मा शासनबाट मुक्त हुनुको विकल्प छैन ।

https://nepalmag.com.np/opinion/2020/04/14/1586846972


Tuesday, January 5, 2021

‘परम्परागत क्‍वारेन्टाइन’ मा पतियाको छाया

 प्राचीन हिन्दु धर्मशास्त्र र त्यसबाट चल्ने राज्यको विधानअनुसार अन्य देश, भूमि र मान्छे अशुद्ध वा अपवित्र हुन्छन् । त्यस्ता अशुद्ध वा अपवित्र देशमा जानु, भूमिमा टेक्नु र समुद्रयात्रा गर्नु पाप गर्नु हो, जात पतित हुने काम गर्नु हो, जसको दण्डस्वरुप प्रायश्चित गर्नु वा पतिया लिनु जरूरी हुन्छ ।

राजेन्द्र महर्जन

कोरोना भाइरस फैलिएपछि कोही पूर्वर्तिर, कोही परम्परातिर फर्केर हेर्ने प्रवृत्ति फैलिएको छ । पछिल्तिर फर्केर हेर्दैमा राप–ताप–प्रकाश पाइन्छ भन्ने निश्चित हुँदैन । फर्केर हेर्दा बिर्सनै नहुने पक्ष हो– सांगोपांग हेराइ । हेराइ एकांगी र एकपक्षीय हुनासाथ गलत सन्देश प्रवाह हुन सक्छ ।





लिच्छविकालदेखि भोट (तिब्बत)–नेपाल–भारतबीच व्यापारमा संलग्न नेवार ब्यापारीहरूले ल्हासाबाट स्वदेश फर्केपछि शुद्धीकरण गर्नुपर्थ्यो । उनीहरू दुई सातासम्म भान्सा, शयनकक्ष र भण्डारमा छिर्न पाउँदैनथे, छिँडी वा पाहुनाकोठामा सुत्दै दैनिक एक छाक खाने र जुठो भाँडा आफैं माझ्ने काम गर्नुपर्थ्यो । यही शुद्धीकरणलाई ‘क्याराभान टु ल्हासा’ का लेखक कमलरत्न तुलाधरले ‘परम्परागत क्वारेन्टाइन’ नाम दिएका छन् 

तुलाधरकै अध्ययनलाई केन्द्रमा राखेर सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले ‘मल्लकालमै थियो काठमाडौंमा १४ दिने क्वारेन्टाइन’ नामक रिपोर्ताज लेखेपछि सामाजिक सञ्जालमा अनेक जिज्ञासा पोखिएका छन् । बीबीसी रिलमा अलाइस कारफ्रेई र निशा राई क्यासेलको ‘द एन्सियन्ट प्राक्टिस अफ सेल्फ–आइसोलेसन’ नामक भिडियो सार्वजनिक भएपछि थप प्रश्न उठेका छन् ।

सात दशकअघिसम्म चल्तीमा रहेको शुद्धीकरण अहिले भोट ब्यापारको अवसानसँगै एकादेशको चलन भइसकेको छ । तर, कोरोना भाइरसको संक्रमण रोक्न ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा बस्नुपर्ने अवस्थामा शुद्धीकरण गर्ने परम्पराको उत्खनन सुरु भएको छ । यस्तो शुद्धीकरण स्वदेशी र परदेशीको शरीर, सफाइ, स्वास्थ्य र उपचारलाई ध्यानमा राखेर गरिन्थ्यो कि राज्यको धर्म, धर्मशास्त्र, त्यसबाट निर्मित विधानको पालना तथा पापमोचनको उद्देश्यलाई केन्द्रमा राखेर गरिन्थ्यो ? विचारणीय छ ।

आयुर्वेदिक कवच

अरूबाट अलग्गै बस्नुपर्ने र शुद्ध गर्नुपर्ने ‘परम्परागत क्वारेन्टाइन’ स्वास्थ्यको हिसाबले मात्र होइन, धार्मिक हिसाबले पनि महत्त्वपूर्ण रहेको अध्येता तुलाधरको मत मननीय छ । उनी भन्छन्, ‘तिब्बत जाँदा लेक लाग्ने, चिसोमा फैलिने भाइरल र फोक्सो सुन्निने रोग (पानीरोग) बोकेर आएको हुन सक्ने डरले दुई साता कसैसँग उठबस गर्न नदिने चलन चलाइएको हुन सक्छ ।’ स्वास्थ्यलाई ख्यालमा राख्ने मतमा अर्धसत्य देखिन्छ, बाँकी अर्धसत्यले धार्मिक विधि–विधानतिरै इंगित गरेको छ । ल्हासा ब्यापारीकी छोरी एवं साहित्यकार मोतीलक्ष्मी शाक्य लेख्छिन्, ‘परदेशीहरू घर पुग्नासाथ मूल ढोकासामु उभ्याएर चार दिनअघिदेखि भिजाएर राखिएको ‘खालु’ (चिराइतो) को रस खुवाउँदै, कनिका छर्दै घरमा स्वागत गरिन्छ । ल्हासाबाट आएका सबैलाई एउटा कोठामा अलग्गै बस्ने व्यवस्था गरिन्छ ।’

शाक्यको दाबी छ, ‘खालुति’ (चिराइतोको रस) खुवाउने चलन एक हिसाबले अति नै महत्त्वपूर्ण वैज्ञानिक संस्कार भन्न सकिन्छ । वर्षौंवर्षसम्म विदेशमा बसेर आएका पुरुषहरू अस्वस्थ नहोऊन् भन्नाका खातिर औलो, ज्वर, पित्त आदि रोगनिवारक औषधि खुवाउनु स्वास्थ्यका हिसाबले आयुर्वेदिक कवच लगाउनु हो ।’ ‘नेवार–नेपाली–अंग्रेजी शब्दकोश’ मा चिराइतोलाई ‘चिकुज्वर’ (औलो ज्वरो) को औषधि वा तितो स्वाद आउने जडीबुटीको रूपमा परिभाषित गरिएको छ । ल्हासा व्यापारीहरू कालिम्पोङबाट नेपाल फर्कने हुनाले औलोको खतरा टार्न चिराइतोको रस खुवाउन थालेको पनि हुन सक्छ । त्यस्तै, उनीहरूबाट अन्य रोग सर्न नदिन पनि अलग्याइएको हुन सक्छ । तर, पापमोचनका प्रचलनले भने शुद्ध वा पवित्र बनाउने नाममा हुने धार्मिक कर्मकाण्ड र धार्मिक राज्यका विधि–विधानतिरै संकेत गरेको देखिन्छ ।

शुद्धीकरण र पतिया

शाक्यको पुस्तक ‘जिं खना थें लगं त्वाः व लगं त्वाःया ल्हासा नेवाः’ अनुसार, परदेशीहरूलाई अशुद्ध र अपवित्र मानिन्छ, चार दिनसम्म नुन खुवाइँदैन, चार दिनपछि चोख्याइन्छ । चोखिनका लागि उनीहरूलाई तीर्थमा नुहाउन पठाइन्छ । उनीहरू घरबाहिर निस्किनासाथ सिंगै घरमा पञ्चगव्य छर्दै शुद्धीकरण गरिन्छ । तीर्थबाट फर्केपछि कपाल र नङ काटिन्छ, चोखो लुगा लगाउन दिइन्छ, पूजा–होम गरी शुद्ध गरिन्छ अनि नातेदार र ‘फुकी’ (सातपुस्ते) लाई भोज खुवाएर फुकी–समूहमा भित्र्याइन्छ ।

स्वस्थ, शुद्ध र पवित्र बनाउने विधि–विधान हिन्दु धर्मशास्त्र र हिन्दु राज्यको ऐन–कानुनले तोकेको ‘पतिया’ वा ‘चन्द्रायण’(चान्द्रायण) भन्दा भिन्न छैन । जात र धर्मबाट च्युत भएका, आचार र चरित्र भ्रष्ट भएका, महापापी वा पातकी वा पतितहरूले गर्ने प्रायश्चित्तको प्रक्रिया हो– पतिया । २०२० सालमा नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्नो जातमा मिल्न धर्माधिकारीको निर्देशनअनुसार गर्ने शुद्धि वा प्रायश्चित्त हो– पतिया । सरकारकै अंगको रूपमा रहेको धर्माधिकार (धर्माधिकारी, धर्माधिकरण, न्यायाधीश) वा उसले खटाएको पण्डितले शुद्धीकरणको प्रक्रिया पूरा गरेपछि दिइने प्रमाणपत्र हो– पतिया पुर्जी ।

त्यस्तै, चन्द्रायणको अर्थ हो– चन्द्रमाको वृद्धि र क्षयअनुसार निश्चित गरिएको प्रायश्चित्त गर्ने एक कृत्य । चन्द्रमाको वृद्धिमा खानाको गाँस बढाउने र क्षयमा घटाउँदै लैजाने गरिन्छ । इतिहासकार राजाराम सुवेदीका अनुसार, चन्द्रायणको खास अर्थ पतिया नै हो । आफ्ना गोत्रिया, छिमेकी र इष्टमित्रले पातकजस्ता घृणित कसुर गरेमा र जातपातमा नरहेमा सबैले पतिया लिई शुद्ध भई जातमा रहन सक्थे । राणाकालमा धर्माधिकारीले पतियाको नाममा दिने प्रमाणपत्र हेर्दा ल्हासा साहुहरूले गर्ने शुद्धीकरणसँग खासै भिन्नता नहुन सक्छ ।

(श्रीः श्रीमद्गोरक्षश्भुपेन्द्रप्रेरितं स्मृतिसम्मतम् । (दुष्कृ) तच्छेदनोपायं प्रायश्चित्तं समाचर ।। प्रथम दिन मण्डन गर्नु, माटो, भस्म, पञ्चगव्य लेपन गरी स्नान गर्नू, त्यस दिनमा हविष्य ग्रास १५ दिन खानु, दोस्रा दिन ग्रास १२ खानू, तेस्रा दिन नमागी कसैले खा भनी दिया ग्रास २४ खानू, चौथो दिन निलाहार गर्नू, पाँचौं दिन पञ्चगव्य खाई ब्राह्मणलाई सिधा दक्षिणा दिनू । – श्री ६ बडागुरुज्यू यिश्वराज पाण्डेयज्यू, धर्माधिकार)

पतितहरूलाई चोख्याउने धर्माधिकार

इतिहासकार ज्ञानमणि नेपालका अनुसार, यो विदेशबाट फर्केका नेपालीले सनातन धर्मका नियममा चल्न नसकेपछि प्रायश्चित्तको प्रक्रिया पूरा गरेपछि धर्माधिकारीले दिने पतिया प्रमाणपत्रको एउटा उदाहरण मात्रै हो । ‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’ मा उनी लेख्छन्, ‘भोट चीन जाँदा नेपाली प्रतिनिधिमण्डका सदस्यहरूले सनातन धर्ममा चलेका सबै नियम यथावत् कायम गरिराख्नु सम्भव पनि थिएन । अहिले पनि विदेश जाने मानिस सबै नियममै रहन्छन् भन्ने छैन । यसैले अघि–अघि भोट मधेस मुग्लान गएर फर्केर आउँदा जोसुकै नेपालीले प्रायश्चित्तको प्रक्रिया पूरा गर्नु अनिवार्य हुन्थ्यो । त्यसबेला भोटमा, मुग्लानमा गएर आउने जोसुकैले पतिया नगरी स्वदेश पस्न पाउँदैनथ्यो । पतिया नगरी पसेर बसेमा काढिनुपर्थ्यो । यसैले धर्माधिकारी गुरुज्यू वा उनका प्रतिनिधि गई सिमानामै वा घरमा पतियाको कार्य पूरा गरी गोदान गराई चोख्याउने नियम थियो ।’

यसको अर्थ भोटमा व्यापारको क्रममा फर्कने नेपालीलाई गरिने पतिया विधि स्वास्थ्यसँगभन्दा बेसी हिन्दु धर्म, धर्मशास्त्रअनुसार बनाइएको विधान र राज्यको धार्मिक संरचनासँग जोडिएको देखिन्छ । १९६६ सालमा भोट–चीन पुगेर आएको नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई गरिएको पतिया विधिले देखाउने संकेत यहाँ उल्लेखनीय छ । ज्ञानमणि नेपालका अनुसार, उनीहरू ‘वेत्रावती किनारामा आइपुगेपछि यताबाट बडागुरुज्यू (धर्माधिकारी) का तर्फबाट खटिई गएका ब्राह्मणहरू पतिया दिन तयार भई बसेका हुन्थे र सापिक सनदबमोजिम यिनीहरू सबैको पतिया दिने कर्म गर्थे । सबैले मुण्डन गरी वेत्रावतीमा स्नान गर्थे, स्नानपछि दान दक्षिणा गोदान आदि काम हुन्थे । पतियाको दस्तुरमा सिपाही र ल्हासाबाट आएका गरिब नेवारहरूले मोरु १, जमदारले मोरु २, सुबेदारले मोरु. ३, काजी सरदारले ५ देखि १० सम्म दिने गर्थे । बढी पनि खुसीराजीले कसैले दिन इच्छा गर्छ भने ठीकै छ, दिन्थ्यो ।... चान्द्रायण व्रतजस्तो पतिया विधि पाँच दिनमा मात्र पूरा हुन्छ । तर, यहाँ हिँड्दा–हिँड्दै बाटामा गर्नुपरेकाले मुण्डन गरी स्नान दक्षिणा दान गोदान आदि गरेरै पूरा पारिएको देखिन्छ ।’

हनुमानढोकाबाट पतिया पुर्जी

भोटबाट नेपाल फर्केका जुनसुकै धर्मका व्यापारीले पनि घरमा आएर बार्ने र चोख्याउने क्रममा हिन्दु धर्मअनुसार पतिया विधि नै पालना गर्नुपर्थ्यो । राज्यले ऐनकानुन बनाएर वर्णव्यवस्था र जातभातको प्रथा लागू गरेकाले उनीहरूले पतिया विधि मात्रै पूरा गरेर पुग्दैन, पतिया पुर्जी पनि लिनुपर्थ्यो । तुलाधरका अनुसार, ‘दुई साताको ‘क्वारेन्टाइन’ पूरा गरेपछि हनुमानढोका दरबारमा हाजिर हुन जानुपर्थ्यो । काठमाडौं फर्केको मिति र यहाँ आएर दुई साता अलग्गै बसेको बेहोरा जानकारी गराएपछि बडागुरुज्यूका नाममा सरकारी पत्र जारी गरिन्थ्यो ।’ यसरी तत्कालीन शासन केन्द्रः हनुमानढोकामा बस्ने बडागुरुज्यूलाई तीस पैसा तिर्दै पतिया पुर्जी लिएपछि मात्रै उनीहरूको जात फिर्ता हुन्थ्यो । यसरी निश्चित विधि, रकम र पुर्जीको आधारमा परदेशीहरूको खसेको वा गुमेको ‘जात’ फिर्ता पाइन्थ्यो ।

यसको मतलब हो– त्यसबेला घरमा दुई हप्ते शुद्धीकरण र हनुमानढोकामा गएर पतिया पुर्जी लिनु अनिवार्य थियो । किनभने पतिया त १९१० सालको मुलुकी ऐनअनुसार धर्माधिकारीले लागू गर्ने निश्चित विधि–विधान थियो । शाह राजा सुरेन्द्रको पालामा जंगबहादुर राणाले बनाएको मुलुकी ऐनमा ‘धर्माधिकार को’ महल र ‘पतिया दिनाको अैन्’ नै व्यवस्था गरिएको थियो । त्यसमा जात खस्ने खालका गल्ती वा भूलचूक गर्ने पतितहरूलाई प्रायश्चित्त गर्न लगाउने पतिया विधि र जरिवाना रकमको फेहरिस्त नै छ भने राजा वा प्रधानमन्त्रीबाट नियुक्त हुने धर्माधिकारीको पतिया दिने अधिकार र काम–कर्तव्य तोकिएको छ ।

(‘विराना राजको तलप दर्माहा षाई आउन्यालाई पानिको पतियादिनाको अैन्.... ७१. भोट् मध्येस. तर्फ विराना राजमा गै उहाको नोकरि. पिपा कुल्लिमा भर्ति भै तलव. दर्माहा षाई आउन्या मानिसहरूले पानि नचल्न्या जातसित येकै तम्वुमा सुतन्या वस्न्या. तमाषु गैह्र षान्या गर्छन् भंन्या. संषा हुनाले. पानिको पतिया नगरि. एस्ताका हातको. पानि कसैले नषानु. अदालत. अमाल.।. पुर्जिको दस्तुर लि. पतियाको पुर्जि गरि दिनु. धर्माधिकारले ।. लि पतिया दिनु. यंस्ता पतिया नगर्न्याका हातको जानि जानि षान्यालाई पनि निति स्मृति गराउनु.)

विभेदी मानसिकता र घृणाले भरिएको आचरण

प्राचीन हिन्दु धर्मशास्त्र र त्यसबाट चल्ने राज्यको विधानअनुसार अन्य देश, भूमि र मान्छे अशुद्ध वा अपवित्र हुन्छन् । त्यस्ता अशुद्ध वा अपवित्र देशमा जानु, भूमिमा टेक्नु र समुद्रयात्रा गर्नु पाप गर्नु हो, जात पतित हुने काम गर्नु हो, जसको दण्डस्वरूप प्रायश्चित्त गर्नु वा पतिया लिनु जरुरी हुन्छ । इतिहासकार रोमिला थापरका अनुसार, ‘प्राचीन ग्रन्थमा म्लेच्छक देशको यात्रा गर्दा प्रायश्चित्त गर्नु आवश्यक हुन्थ्यो । जुन ठाउँमा यज्ञ लोप हुँदै छ वा जहाँ यज्ञ प्रारम्भ भएकै छैन वा जहाँ नास्तिक धर्मको प्रचार छ, त्यस्ता देश म्लेच्छक देश हुन् ।’

आफू, आफ्नो देश र भूमिलाई मात्रै शुद्ध, पवित्र र श्रेष्ठ मान्नेहरूका लागि भोटेहरूको भोट या मुगल/मुसलमानहरूको मुग्लान या फिरंगीहरूको इङ्ल्यान्ड मात्रै होइन, मधेस पनि ‘म्लेच्छक देश’ हो, जहाँबाट ‘असिल् हिन्दुस्थाना’ मा फिर्नेहरूलाई हिन्दु राज्यले अनिवार्य रूपमा शुद्धीकरणको विधान लागू गरेको देखिन्छ । त्यसैले ल्हासाबाट फर्कने नेवार साहु हुन् या मुग्लानबाट छे महिने बिदामा फिर्ने गोर्खाली बहादुर या र इङ्ल्यान्डको यात्राबाट फिर्ती सवारी हुने जंगबहादुर राणा, सबैले पतिया गर्नुपर्थ्यो । यसरी पतिया गर्ने र पुर्जी लिनुपर्ने ऐन–कानुन र अभ्यासको नेपथ्यमा परायालाई अशुद्ध, अपवित्र, कुजात, नीच, म्लेच्छ ठान्ने ‘परायाकरण’ (अदराइजेसन) को चिन्तन रहेको छ ।

शाक्यकै शब्दमा ‘भोटबाट आएका ल्हासा साहुहरूलाई चोखो–बिटुलो मतलब नराख्ने अशुद्ध भोटे भन्दै, भोटे गन्हाउने र भोटेपारा भएका भन्दै शुद्धीकरण नगरेसम्म तिनको जुठो कुनै परिवारजनले छुँदैन ।’ परायाहरूसँग खवाइ, सुताइ, छुवाइसँगै यौन, प्रेम, विवाहमा जातको ‘धर्म’ लाई बेवास्ता गर्दै पाप गरेको शंकामा प्रायश्चित गर्ने–गराउनेहरूको विभेदी मानसिकता र घृणाले भरिएको आचरण शुद्धीकरण र पापमोचनसँगै पतिया पुर्जीमा प्रस्टै देखिन्छ । यसरी अशुद्ध, अपवित्र र पतितहरूको पापमोचनको धार्मिक र अर्थ–राजनीतिक प्रक्रियालाई आधुनिक स्वास्थ्यविज्ञानको कोणबाट ‘परम्परागत क्वारेन्टाइन’ मात्रै भन्दा समग्र तस्बिर नआउन सक्छ ।

प्रकाशित : वैशाख २०, २०७७ १०:५२https://ekantipur.com/bibidha/2020/05/02/158838974360037429.html

नेवारी जनजीवन : लकडाउन हुनु र नहुनु उस्तै !

 असनमा मल्लकालीन सत्तल छ । उहिले ल्हासामा व्यापार गरेर फर्किनेहरुलाई यहीँ दुई सातासम्म राखेर मात्रै घर जान दिइन्थ्यो ।

गणेश राई

काठमाडौँ — लकडाउन जारी भएयता लाखौं मानिसले काठमाडौं उपत्यका छाडिसकेका छन् । उपत्यकाका रैथाने नेवार समुदाय भने शान्त तलाउझैं लकडाउनको दिनगन्ती गरिरहेका छन् । विज्ञका अनुसार राजधानीको सबैभन्दा बाक्लो र पुराना सहरको आवासीय संरचना वास्तुमैत्री भएकाले यी समुदाय संयम छन् ।



यत्तिका बाक्लो बस्तीका मान्छेमा उकुसमुकुस हुँदैन ?

इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, 'बाहिरबाट झट्ट हेर्दा सहरी जनजीवन उकुसमुकुस देखिनु स्वाभाविकै हो, तर काठमाडौं उपत्यकामा जहाँ नेवार जातिको परम्परागत बस्ती छ, त्यहाँको घरको वास्तुकलाले जनजीवन घरआँगनभित्रै रहन मद्दत गरेको छ । उनीहरूलाई लकडाउन हुनु र नहुनुमा उस्तै हुन्छ ।’

उपत्यकामा नेवार जातिको परम्परागत बस्तीका घर एकापसमा जोडिएका छन् । बाहिरबाट लहरै जोडिएको देखिए पनि भित्र भने घरैघरको माझमा खुल्ला ठाउँ राखिएका छन् । चोक र बहालहरू छन् । कतिपय घरका पछाडि साना बगैंचा पनि छन् । मौसमअनुसार कृषकहरूले ती बहालमा धान सुकाउने गर्छन् । सामूहिक भोज चलाउँछन् । समाजमा ‘३६५ दिनमा नेवारको ३६६ जात्रा र पर्व’ भन्ने पनि गरिन्छ । सार्वजनिक ठाउँमा डबली छन् । ती डबलीमा सुस्ताउने, रात्रिकालीन नाचगान र नाटक प्रदर्शन हुने गर्छन् । लकडाउनको बेला ऐतिहासिक तथा पुरातात्विक सहरका नागरिकहरू यिनै चोक, बहाल, सत्तलहरू आसपासमा समय व्यतित गर्ने गरेका छन् । अहिले भोज, जात्रा सबै बन्द छन् ।

इतिहासविद् श्रेष्ठका अनुसार १८औं शताब्दी अर्थात् नेपाल संवत् ७३६ मा नेपालमा ठूलो महामारी आएको थियो । काठमाडौं केन्द्रविन्दु रहेको त्यो महामारी ७ वर्षसम्म चल्यो । ‘त्यो महामारीले धेरै मान्छे मरेका थिए,’ उनी भन्छन्, ‘तत्कालीन राजा भास्कर मल्ल अहिलेको हनुमानढोका तिनढोलमा अहिलेजस्तै सेल्फ क्वारेन्टाइन (आफैं घरबास) मा बसेका थिए । आत्मबल थाम्नै सकेनन् । अन्तमा दरबारमा आए र महामारीको चपेटामा परेर उनी मरे । त्यसले महामारीको बेला एकान्तवास कति महत्वपूर्ण रहेछ भन्ने देखाउँछ ।’

त्यसैगरी भक्तपुरका राजा जगतप्रकाश मल्ललाई ३४ वर्षको उमेरमा बिफर रोग लागेको थियो । त्यो रोग अरुलाई नसरोस् भनेर सत्तलमा राखिएको इतिहासविद् श्रेष्ठ उल्लेख गर्छन् । महामारीको बेला बाहिर निस्किनुहुन्न भन्ने देखिन्छ । उतिखेर लामो समय चारधाम जाँदा मान्छेले आफ्नो जन्मकुण्डली चिना लिएर जान्थे । त्यो मान्छे फर्केर आउँदा बाँचेर आएकोमा हर्षोल्लास मनाउँथे । त्यसरी फर्केकालाई तत्कालै घर पस्न दिँदैनथे । सहरबाहिरै स्वागत गरेर सत्तलमा राख्ने गरिएको श्रेष्ठ बताउँछन् ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार बुद्धिस्ट नेवार समुदायको घरको बनोट नै विशेष प्रकारको हुन्छ । ‘परम्परागत घरको भुइँतलामा सामान राख्ने गोदाम, दोस्रो तलामा पाहुना राख्ने, तेस्रो तलामा परिवार सुत्ने, चौथो तलामा भान्सा तथा खाना खाने र पाचौं तलामा देवताको पूजाथान रहन्छ,’ काठमाडौंकै स्थानीय बज्राचार्यले भनिन्, ‘बाहिरबाट आउने मानिस जो कोही घरभित्र प्रवेश गर्नुअघि चोखो पानीले हातगोडा धुनुपर्ने परम्परा छ । हरेक दिन चोक र बहाल सफा गरिन्छ ।’ नेवार समुदायमा एउटै घरमा संयुक्त परिवार रहने परम्परा छ । केही वर्षदेखि एकल परिवार तथा एउटा घरको तलामा बस्ने चलन आएको छ । त्यसैगरी घर भाडामा दिने चलन बढेको बज्राचार्य बताउँछिन् ।

‘महामारी आए पनि अक्षता छर्ने, सफासुग्घर भएर बस्ने चलन कायम छ,’ उनले भनिन्, ‘बाहिर कोही पनि जथाभावी निस्किएका छैनन् ।’

सरकारले चैत ११ देखि लकडाउन लागू गरेपछि केही दिन स्थानीयलाई बुझाउन गाह्रो भएको काठमाडौं महानगरपालिका–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यले बताए । मेयर विद्यासुन्दर शाक्यले नेपाल भाषामै ‘कोरोना भाइरस’बारे सन्देश प्रवाह गरे । उनले स्थानीय भाषामा ‘ल्वय् पुनिगु’ (रोग सार्ने) भनेर सम्बोधन गरे भने वडा कार्यालयहरूले टोल–टोलमा स्वयंसेवक र सुरक्षाकर्मीलाई नेपालभाषामा माइकिङ गर्न लगाए । ‘महानगरले तरकारी किन्ने समय दिएको बेलामात्र घरका एकदुई सदस्य बाहिर निस्किनुहुन्छ,’ बज्राचार्यले भने, ‘परिस्थितिअनुसार घरभित्रै बस्नुभएको छ । नेवारहरू परम्पराप्रति बढी विश्वास राख्छन् ।’

नेपाल भाषा दैनिकका सम्पादक सुरेशकिरण मानन्धरका अनुसार नेवारहरू स्वभावगत बानी व्यवहारले धेरै घुमफिर गर्दैनन् । ‘अधिकांश व्यापारी भएकाले र घरहरू एकआपसमा जोडिएकाले आपसी कुराकानी गर्छन्,’ उनले भने, ‘अपरिचित मान्छेसँग सम्पर्क गर्दैनन् । चोक, बहालभित्र सुरक्षित छन् ।’

इतिहासविद् श्रेष्ठको भनाइमा कोराना भाइरस अस्थायी हो । ‘हामी कोरोना युगमा बाँचिरहेका छौं, प्राकृतिक सन्तुलन भएपछि चाँडै छाडेर जान्छ,’ उनले भने, ‘तर यसले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक असरहरू छाडेर जान्छ । हरेक महामारीको इतिहास हेर्दा महामारी र दुर्भिक्ष (अनिकाल) सँगसँगै आउने गरेको पाइन्छ । अनिकालमा बिउ जोगाउनु, महामारी जिउ जोगाउनु त्यसै भनेको होइन ।’ सहरमा आउने संकटलाई सरकारले विशेष ख्याल गर्न पनि उनले सुझाए ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार नेवार जातिको जनसंख्या १३ लाख २२ हजार रहेको छ । त्यसमध्ये ४५ प्रतिशत अर्थात् ६ लाखभन्दा बढी जनसंख्या काठमाडौं उपत्यकामा रहेको नेवाः देय दबूका अध्यक्ष नरेश ताम्राकार बताउँछन् । ‘उपत्यकाका आदिवासी नेवारको विशिष्ट मौलिक पहिचान छ,’ उनले भने, ‘सहरीकरणको चाप परेर जग्गाजमिन नभएका र आर्थिक रूपमा पहुँच नभएका पनि उत्तिकै छन् ।’

सरकारले लकडाउनको घोषणा गरेलगत्तै १८ नगरपालिका र महानगरपालिकाको छाता संस्था उपत्यका नगरपालिका फोरम, काठमाडौंले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध लड्न आह्वान गरेको छ । घर बाहिर नजाने, समूहमा गफ गर्न नजाने भनेर उर्दी जारी गरेको छ । काठमाडौं, भक्तपुर र पाटनलगायत ऐतिहासिक सहरका समुदाय बाहिर निस्किएका छैनन् ।

मल्लकालीन क्वारेन्टाइन सत्तल

काठमाडौंको असनस्थित अन्नपूर्ण मन्दिरसँगै दक्षिणतर्फ एक सत्तल छ । त्यसलाई ‘यिताचपाः’ चिनिन्छ । यो सत्तल मल्लकालीन सम्पदाका रूपमा लिइन्छ । गुठी संस्थानको स्वामित्वमा रहेको यस भवनको भुइँतलामा पसल र माथिल्लो तला ‘अन्नपूर्ण ज्ञानमाला भजन खलः’ रहेको छ ।

उहिले काठमाडौंका तुलाधर, बज्राचार्य, शाक्य र धाख्वाले ल्हासाको व्यापार गर्थे । श्रेष्ठले कुतीसम्म व्यापार गर्थे । ती व्यापारीलाई आवातजावत गर्न धेरै महिना र वर्षौं लाग्थ्यो । काठमाडौं फर्केपछि उनीहरुलाई यही सत्तलमा दुई साता बस्न लगाइन्थ्यो ।

‘अहिले हामी कोरोना लागेकालाई क्वारेन्टाइनमा राखेजस्तै त्यही सत्तलमा बसाइन्थ्यो,’ असनका स्थानीय व्यापारिक घरानाका सदस्य दीपक तुलाधर भन्छन्, ‘हाम्रा पुर्खाहरू जोजो ल्हासाबाट फर्किन्थे सत्तलमा दुई हप्ता बसेरमात्र घर प्रवेश गराइन्थ्यो ।’ सन् १९५९ देखि ल्हासा व्यापार टुटेको उनले जनाए । 'हाम्रै समयमा पनि उपत्यकाबाहिर घुमेर आएपछि ‘खालु’ (तितो जडिबुटी) पानीमा डुबाएर रस खुवाइन्थ्यो,’ उनी सम्झिन्छन् ।

इतिहासविद् मोतीलक्ष्मी शाक्यका अनुसार ल्हासाबाट फर्किनहरूको शरीर सुन्निएको हुनथ्यो । त्यसलाई पानीरोग भनिन्थ्यो । ल्हासाबाट फर्किएका व्यापारीलाई सत्तलमै उपचार गराइन्थ्यो । यहाँको हावापानीमा घुलमिल गर्न सक्ने भएपछि मात्र घर फर्किन दिइन्थ्यो ।

प्रकाशित : जेष्ठ १३, २०७७ २१:२५https://ekantipur.com/national/2020/05/26/159050761355973641.html