समीक्षा
गोपीकृष्ण ढुंगाना
फागुन १९, २०८० शनिबार १०:४७:१४
सत्यमोहन जोशीले कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्याए, चिनाए ? आदि ‘सत्यको खोज’भित्र छन्।
‘नेपालमा थुप्रै इतिहास छन्। मल्लकालीन इतिहास छन्, शाहकालीन इतिहास छन्। तर, मुलुकको इतिहास छैन। मेची–महाकाली जोड्ने इतिहास छैन। नेपाली–नेपाली जोड्ने इतिहास छैन।’ नेपाल प्रज्ञा प्रतिष्ठानको २०२६ सालमा गठित नयाँ प्राज्ञ परिषद्को पहिलो बैठकमा सदस्य सूर्यविक्रम ज्ञवालीले नवनियुक्त कुलपति केदारमान व्यथितलाई भनेका वाक्य हुन् यी। २६ सालमा एकेडेमीको नयाँ विधान बनेको पाइन्छ। त्यसअघि राजा कुलपति हुने चलन थियो। पहिलोपटक जनताको छोरो कुलपति बनेको अवस्था थियो त्यो। कुलपति व्यथितले भन्नुभएछ, ‘प्राज्ञज्यूहरू ! म बिल्कुल नवीन छु। म काम गर्न खोज्दैछु। के गर्दा उपयुक्त हुन्छ ? सुझावको अपेक्षा गर्दछु।’ त्यसपछि ज्ञवालीले यस्तो सुझाव दिएको सन्दर्भ शताब्दी–पुरुष सत्यमोहन जोशीले ‘सत्यको खोज’मा साहित्य एवं सञ्चारकर्मी जितेन्द्र रसिकलाई बताएका रहेछन्।
त्यसपछि ज्ञवालीले निचोढ सुनाएछन्, ‘त्यसकारण तपाईंको नेतृत्वमा सर्वप्रथम राष्ट्रको पूर्ण इतिहास लेखियोस्।’ सत्यको खोजभित्र सर्वाधिक महत्त्वपूर्ण सन्दर्भ छ यो। राष्ट्रिय सबालमा सबैभन्दा घतलाग्दो यो विषय सम्भवतः २०२६ सालपछि अर्थात् ५५ वर्षपछि आज सबैभन्दा पुरानो आमसञ्चार माध्यम अर्थात् पुस्तकमा पुनः उठाइएको हुनुपर्छ। नेपाल र नेपाली कमजोर भएको पनि ज्ञवालीले उठाएका यिनै तीन मूलकुरा नहुनुले हो– ‘नेपाली–नेपाली जोड्ने, मेची–महाकाली जोड्ने इतिहास नभएर। मूलतः नेपालको खास इतिहास नभएरै हो।’ ‘मभन्दा माथि मेरो देश’ भन्ने नेपाल र नेपालीको चुरो–कुरो यो वाक्यांशलाई मूलमन्त्र बनाउन नसक्दा हामी नेपाली र हाम्रो देश नेपाल आजसम्म पछाडि परिरहेछ। देश विकास हुन सकिरहेको छैन।
अनि हामी नेपाली समृद्ध हुन सकिरहेका छैनौं। झन्डै तीन करोड नेपालीको सामूहिक हित यो ‘चुरो–कुरो’ उत्खनन गर्दिएकोमा यतिबेला सत्यमोहन जोशी र जितेन्द्र रसिक दुवैलाई अन्तरमनबाटै विशेष धन्यवाद दिन्छु। सत्यमोहन त्यस प्राज्ञ परिषद्मा सदस्य भएकाले प्रतिष्ठानका तत्कालीन गतिविधि (इतिहास) यसरी छताछुल्ल हुन सकेका हुन्।
लाग्छ, राजनीतिबाट यो काम सम्भव छैन। इतिहासकारले पनि यसलाई महत्त्व दिन चाहेनन् वा सकेनन्। त्यसैले लागिरहेछ, साहित्यकारबाट मात्र अब यो काम सम्भव छ। साहित्यकारले नै उठान गरेको यो विषय साहित्यकारले नै बैठान गर्नुपर्छ भन्ने सन्देश पनि यो पुस्तकले दिएको छ। पुस्तकमा सत्यमोहनले भन्नुभएको रहेछ– ‘परिवर्तित समयको प्रभावले कामको गतिलाई किचिदियो। ज्ञवालीको त्यो जोस, जाँगर र मेहनत अलपत्रै पर्यो। उनले सुरु गरेको इतिहास लेखनको कामलाई त्यसपछि कसैले कोट्याएनन्।’ हो, त्यसैले साहित्यकारहरूले यतिमात्र गर्न सक्यौं भने पनि ‘सत्यको खोज’ले सार्थक परिणाम पाउनेछ। सत्यमोहन जोशीप्रति पनि सच्चा श्रद्धाञ्जलि हुनेछ। लेखकले खर्चिएको दशकको मेहनतको पनि कदर हुनेछ। तीन करोड नेपालीलाई समेत गौरव हुनेछ अनि नेपालको शिर विश्वमा सदा उचो बन्नेछ, बनिरहनेछ।
त्यसो त सत्यको खोजभित्र यस्ता अनेक सन्दर्भ छन्। जब यो पुस्तक हात पर्यो, तब थाहा भयो– यस्ता अनेकौं राष्ट्रिय विषय, सन्दर्भ र घटनाहरू रहेछन् सत्यको खोजभित्र। सत्यमोहनले सय वर्ष पार गरेपछिको अन्तर्वार्तामा आधारित रहेछ यो पुस्तक। जुन पढेपछि मलाई छटपटी भयो। सत्यमोहनले निधनअघि नै मलाई आफूसँग भएका यस्ता गहन खुराक समेटेर पुस्तकमा उतार्नु भन्नुभएथ्यो। भन्दाभन्दै पनि मैले यो काम किन गरिनँ ? दस वर्षअघि अन्तर्वार्ताका क्रममा जोशीकै निवास बखुम्बहा पुग्दा भन्नुभएथ्यो, ‘मसँग भएका ज्ञानगुनका कुरा किताबमा उतार्न पाए हुने।’
जे होस्, कसै न कसैले यो काम गर्यो। इतिहासका छुटेका पानाहरू समेटिए पुस्तकमा। रसिकलाई यसकारण पुनः धन्यवाद। इतिहास लेखिनै पर्छ नत्र कसरी नयाँ पुस्ताले यति महत्त्वपूर्ण खुराक जान्न बुझ्न पाउँछन् र ? जोशीको निधनपछि त्यसबेला सबै अखबारमा धेरथोर सत्यमोहन लेखिए। धेरै सामग्री त अन्नपूर्ण पोस्ट्मै छापिए। पंक्तिकार फुर्सद र ओपेडको मूल जिम्मेवारीमा बस्नु र इतिहास बोकेका संस्कृतिविद् जोशीलाई नजिकबाट चिन्नुले पनि यसरी छापिएको हो। अनि लाग्यो, यी सबै लेख, आलेख, समाचार, सम्पादकीय समेटेर एउटा ग्रन्थ त तयार पार्नैपर्छ नत्र यी यसै हराएर जानेछन्, नदीमा बगेको पानीजस्तै कहीँकतै पुगेर हराउनेछन्। ती सामग्री समेट्न सकें भने १० वर्षअघि सत्यमोहनले गरेको मप्रतिको भरोसा पनि पूरा हुनेछ। विश्वासको गुन तिर्नेछु। यी सबै संयोगको परिणाम हो, म गोपीकृष्ण ढुंगानाको परिकल्पना, संयोजन र सम्पादनमा भुँडीपुराण प्रकाशनले छापेको ४२४ पृष्ठको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन।’ लाग्छ, सत्यको खोज र शब्दबिम्बमा सत्यमोहन परिपूरक बनेर सत्यमोहन र नेपाललाई प्रतिबिम्बित गरिरहनेछन्।
‘शब्दबिम्बमा सत्यमोहन’मा टेकेर अर्को कृति लगभग तयार छ, ‘समीक्षकको कसीमा शब्दबिम्बमा सत्यमोहन’ शीर्षकमा। गिरीश गिरीले ‘सत्यमोहन’ नामक पुस्तक लेखेका छन्। यसरी उसरी जसरी पनि सत्यमोहन र उनका योगदानलाई लिपिबद्ध गर्न सक्यौं भने देशको इतिहास लेखिनेछ। हुन त, यी सबै सन्दर्भ भन्न र जोड्न जरुरी थिएन, तर छ पनि। किनकि सबै सन्दर्भ शताब्दी पुरुषसँगै सम्बन्धित छन्। सत्यमोहनका एक होइन, अनेक पाटा जान्नु, बुझ्नु र खोतल्नु जरुरी छ। नखोतलिएका थुप्रै पक्ष सार्वजनिक गर्नु छ। एक जनाले हेर्ने र लेख्ने भनेको एउटा आँखाले मात्र हो, त्यसैले हामी सबैले आआफ्ना आँखाले सत्यमोहनलाई हेर्नु छ, लेख्नु छ। जसरी ‘सत्यको खोज’मा रसिकले सत्यमोहनलाई भिन्न आँखाले हेरेका छन्। अनेक सत्य खोतलेका छन्। उनले यस पुस्तकलाई सात खण्डमा विभाजन गरेर सत्यमोहनको सिंगो जीवन उतारेका रहेछन्।
यसमा मेरो फरक बुझाइ छ, सत्यको खोज सत्यमोहनबारेको मात्र खोज होइन, समग्र नेपालबारेकै खोज हो। यसकारण पनि यो सत्कर्म प्रसंशनीय छ। सत्यमोहनभन्दा २० वर्ष कान्छा अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले यसै पुस्तकमा भन्नुभएको छ, ‘जोशी दाइको सिंगो जीवनका सांगोपांगो जीवनाभूति आउने गरी लेखक जितेन्द्र रसिकले लेखेको यो कृति नयाँ पुस्ताका लागि मार्गनिर्देशक बन्न सक्छ।’ र, यथार्थ पनि यही हो। ग्वंगःको भनाइ किन पनि यथार्थ हो भने पुस्तकका सात खण्डभित्र जोशीका बाल्यकाल, शैक्षिक यात्रा र सरकारी सेवामा प्रवेश, जन्मथलोबाट लमजुङ, न्युजिल्यान्ड र पोखरा पुगेर गरेका सन्दर्भ, राजा महेन्द्रको ‘कू’, विश्व बौद्ध सम्मेलन र चीनमा अरनिकोको खोज, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जोशीको यात्रा, उनले तीन पटक मदन पुरस्कार पाएका सन्दर्भ र विविध सामग्री समेटिएका छन्। जसभित्र १९९० सालदेखि २०७२ सालको भूकम्पसम्मका अनुभव छन्। एउटा खरदार कसरी एकैपटक डाइरेक्टर बने ? र त्यत्रो जिम्मेवारी कसरी सम्हाले ? काठमाडौंको नेवार समुदायको उनी कसरी नेपालका कुनाकाप्चा पुगे त्यो बेला ? र नेपालको लोकसंस्कृतिको गहन अनुसन्धान गरे ?
कसरी तीन–तीनपटक नेपालको सर्वाधिक ठूलो राशिको पुरस्कार पाएर आजसम्म इतिहास बचाइराखे ? अनि कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्याए, चिनाए ? आदि यस्तै थुप्रै विषय, सत्य र तथ्य रसिकको सत्यको खोजभित्र छन्। ज्युँदो इतिहास लिपिबद्ध गरेकोमा लेखक जितेन्द्र रसिक बधाइका पात्र बनेका छन्।
https://annapurnapost.com/story/453077/
No comments:
Post a Comment