Sunday, March 31, 2024

पनौतीका भित्तेचित्र

 

२० साउन २०८०, शनिबार


काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका, खोपासीमा भएको लिच्छवि संवत् ५२० को अभिलेखमा शिवदेव र अंशु बर्माले द्वारोद्घाटन र कैलाश यात्राका समयमा खोपासी क्षेत्रबाट जनैपिच्छे पचास वटा सेता जातका माटो अर्थात् कमेरो केन्द्रमा पु-याउनुपर्ने थिति बसालेका थिए । कमेरो सेतो रङको माटो हो, विभिन्न मन्दिर देवस्थल तथा घर रङ्गाउन, सिँगार्न यसको उपयोग गरिन्थ्यो । लिच्छविकालका विभिन्न अभिलेखमा रङका बारेमा उल्लेख भएको पाइन्छ ।

संवत् ५२० को यो अभिलेख पनौती क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो । यस अभिलेखमा रेखाद्वारा निर्मित फूलहरूले सिँगारिएको धर्मचक्रको कलात्मक चित्र अङ्कित भएको छ । यस अभिलेखबाट चित्र, रङ र रङसित सम्बन्धित विषयको उपयोग पनौती क्षेत्रमा प्राचीन समयदेखि नै थियो भन्न सकिन्छ । साथै साँढे अङ्कित चित्र भएको लिच्छविकालीन मुद्रा पनि खोपासी र लायकुमा भेटिएको छ । 

मल्लकालमा पनौती क्षेत्र भक्तपुर राज्य अन्तर्गत पर्दथ्यो । भक्तपुरको विभिन्न मठ, मन्दिर, दरबारका भित्तामा विभिन्न देवदेवी तथा धर्म परम्परा समेटिएको भित्तेचित्र थिए र छन् । १८ इन्च उचाइ, कम्मरको भाग ९.५ इन्च र कम्मरको गोलाइ १५ इन्च भएको चार हजार वर्ष पुरानो प्राचीन नारी मूर्ति पनौती क्षेत्रमा विसं २०७७ सालमा फेला परेको थियो । हाल राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा यस मूर्तिलाई राखिएको छ ।आर्ष वाङ्मय र लिपि विकासको महत्व नामक स्तम्भमा अर्जुन विरक्ति लेख्नुहुन्छ, “आर्ष वाङ्मय उत्तरापन्थ नेपालबाटै वैदिक चिह्न स्वर र लिपिहरू संसारमा चलेका छन् । सम्पूर्ण चिह्न, लिपि, सङ्केतादि सम्पूर्ण भाषा आदिको उत्थान हुनुले वैदिक चिह्न र सङ्केत स्वरबाट ब्रह्माण्डको नेतृत्व भएको छ ।” यसले नेपाली रेखा र रेखाचित्रको प्राचीनताको जानकारी दिलाउँछ । यसकै डोबमा पनौती लम्केको देखिन्छ ।

हरेक माघ महिना पनौतीमा साँखु र भक्तपुरबाट माधवनारायण लाने प्रचलन छ । माधवनारायणले ताःस्वां (१०८ थरिका फूल) लिन यात्रा गराइएको मानिन्छ । १०८ थरिका फूलले रङ्गीन पनौतीको सङ्केत गर्दछ । पनौती विविध जातजाति र बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको नगर हो । विविध जातजातिले आ–आफ्नो पर्व र उत्सवमा चित्रहरू लेख्ने वा कोर्ने वा रङ भर्ने गरिएको पाइन्छ । विभिन्न देवस्थल, सतल र घरमा हाल पनि चित्र अङ्कित रहेको पाइन्छ । जनकलाल शर्माद्वारा लिखित ललित–कला र साहित्य नामक पुस्तकको भूमिकामा सूर्यविक्रम ज्ञवालीले “घरका विविध भागमा नेवार सिकर्मीले काठको जो अङ्कन गरेको हुन्छ, त्यसको प्रशंसा जति गरे पनि थोरै हुन्छ । घरको मूलढोकामा अङ्कन गर्ने चलन थिएन । त्यसका दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा नाना धार्मिक चित्र लेखाउने चलन थियो” भनी उल्लेख गर्नुभएको छ । साँच्चै दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा चित्र लेखाउने प्रचलन पनौतीमा जीवन्त देख्न सकिन्छ ।

लेखक रत्नप्रसाद अनामणि श्रेष्ठका अनुसार “निजी घर, भवन, पाटी, सतल, मन्दिर तथा विहारहरूमा सुन्दर कलात्मक विभिन्न देवी देवताका चित्र प्राकृतिक रङले कोरिएको पाइन्छ ।” पनौतीका निजी घर, भवन, सतल र मन्दिरमा रङले पोतिएको चित्र भेट्न र हेर्न सकिन्छ । मुकेश मल्ल र ज्ञानेन्द्र विवश, नेपाली परम्परागत शिल्पकला (सङ्गोष्ठी प्रतिवेदन) प्रतिवेदनमा उल्लेख गर्नुहुन्छ, “अनेक जातजातिका मौलिक पहिचानका रूपमा रहेका पहिरन, गरगहनामा शिल्पकलाको पक्ष अत्यन्त प्रबल रहेको पाइन्छ । तिनमा देख्न सकिने वा रहँदै आइरहेका सूक्ष्म बुट्टा–बनोटका रङ, रेखा, लता–लहरा अनेकौँ सुन्दर अनि सन्तुलित आकृतिहरू हेर्दा लाग्छ, हाम्रा पुर्खा शिल्पकलामा साँच्चै साह्रै नै धनी थिए ।” 

चित्ताकर्षक पनौती र यस वरपर देखिएका, भेटिएका शिल्पकला नियाल्दा यहाँको पुर्खाले कलाकारितामय पनौती बनाउन सफल भएको सहजै भन्न सकिन्छ । पनौतीको इतिहासको चित्र यी कलाकर्मले अँध्यारोमा ज्योति झैँ छर्लङ्ग देखाउँछ । ऐतिहासिक र प्राकृतिक गन्धमाला पर्वत अर्थात् कुञ्ज पर्वतको फेदीमा पवित्र शचीतीर्थ छ । उक्त तीर्थमा लीलावती र रुद्रवती नदीको सङ्गममा कलाकारिताले भरिएको एउटै ढुङ्गामाथि अवस्थित पुरातात्त्विक  पनौती अश्मनगरलाई नियाल्दा सौन्दर्योपासकको मन उद्वेलित हुन पुग्दछ । मन्दिरै मन्दिरले शोभयमान देखिने यो नगरमा अष्टमातृका र अष्टभैरवका मूर्तिले सजिएको आकर्षक टुँडालहरूले सोन्दर्य थपिरहेको छत्रशैलीमा निर्मित ब्रह्माणी (ब्रह्मायणी) मन्दिर छ ।

मातृसत्तात्मक नेपालको प्राचीनताको प्रतीक अजिमा र कुमारीले सिँगारिएको पनौती चित्रमय इतिहासमा उच्च स्थानमा छ । पनौतीमा मनाइने पर्व र विभिन्न जात्रामा चित्रात्मक शैली प्रयोग हुने गरेको पाइन्छ । चाइनाको ‘हन्ड्रेड केभ’ नामक गुफामा पनौतीको नमबुद्ध (नमोबुद्ध) को चित्र बनाएर सजाई राखिएको छ । यो गुफा विश्वविख्यात छ । यस चित्रले पनौती र नमबुद्धलाई संसारभर चिनाउन मद्दत गरेको छ । 

इन्द्रेश्वर, भालेश्वर र धनेश्वर तीन वटा किराँतकालीन चौँसट्ठी ज्योर्तिलिङ्ग पनौती भेगमा छन् । यी ज्योर्तिलिङ्गको आसन कमलको फूलको रहेको छ । शिलामा कुँदिएको कमलको फूलको चित्र र जललहरीमा भएको नागको चित्र पनौतीको महìवपूर्ण शिलाचित्र हुन् । विद्यालय निर्माण गर्न २०÷२५ फिटको थुम्को सम्याउँदा कुशादेवी विहारमा भेटिएको माटाको थाली र उक्त थालीमा कोरिएको चित्र अति प्राचीन भएको पुरातत्वका कर्मचारी बताउँछन् । पनौती इन्द्रेश्वर प्राङ्गणको सङ्ग्रहालयमा रहेको मध्यकालीन समयको तन्त्रका ग्रन्थमा विभिन्न पक्षलाई उजगार गर्ने चित्र छन् । कलाविद् मीनबहादुर शाक्यको भनाइ अनुसार सन् ९९८ का नेपाली शासक नरेन्द्रदेवको पालादेखि नै नेपालमा ग्रन्थचित्रको सुरुवात भइसकेको थियो । लिच्छविकालीन र मध्यकालीन समयका हितीहरूमा पनि कलात्मक चित्र पनौती क्षेत्रमा पाइन्छन् । पनौतीमा पाइएका ६५ वटा शिलालेखमा चित्रकलाको भरपूर उपयोग भएको पाइन्छ । पनौती भेगमा रहेका काठ, धातु र प्रस्तरमा भएको विभिन्न समयका चित्रात्मक कला नेपाली कलाका उच्चतम नमुना हुन् ।

बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डेबेँसी, बल्थली, ललितपुर, भक्तपुर आदिले घेरिएर रहेको महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो पनौती । सातौँ शताब्दीतिर हुयनसाङले नेपाली घरका भित्तामा चित्र रहेको उल्लेख गरेका छन् । पनौतीका कैयौँ घरका भित्तामा चित्र अङ्कित भएको वर्तमानमा पनि देख्न सकिन्छ । विभिन्न सामाजिक उद्देश्य दर्साउन भित्तामा चित्र लेख्ने प्रचलन पनौतीको प्राचीन कलाकारिता हो ।

चन्द्रागिरि सतुङ्गलको वैष्णवी मन्दिर, काठमाडौँ कुमारीघरका भित्तेचित्र, भक्तपुरको तलेजु मन्दिर, भक्तपुरको ब्रह्मायणी मन्दिर, बनेपाको चण्डेश्वरी, पशुपतिको जयवागेश्वरी मन्दिर, स्वयम्भूको शान्तिपुरको भित्तेचित्र, उग्रचण्डी नालाको भित्तेचित्र, मुस्ताङको झोङ गुफा, मेरापिक हिमालको ड्रागनको चित्र, नृसिंह मठ खोपासी, पनौतीकै त्रिवेणी घाट सतलका जस्तै पनौती ब्रह्मायणी मन्दिरको भित्तेचित्र अनुसन्धानकर्ता र पारखीका लागि विशेष स्वाद हुन् ।

भारत ‘कटक स्टेट’ की राजकन्या जङ्गबहादुर कुँवर राणाकी चौथो महारानी जसलाई गङ्गा महारानी भनेर चिनिन्छ । उनै महारानीद्वारा निर्मित त्रिवेणीघाटको सत्तल र सत्तलमा रहेको दस अवतार र कृष्णलीलाका चित्रले पनि पनौतीलाई शोभायमान बनाइरहेको छ । शैव भूमिमा वैष्णव प्रकृतिका चित्रकलाको उपयोग हुनु धार्मिक सहिष्णुताको मनोरम नमुना हो । यस चित्रकलाले पनौतीको विगतका सामाजिक पक्षलाई सहजै बुझाउँछ । 

ब्रह्मायणी मन्दिरमा क्रमशः संवत् ८१८, संवत् ८२०, संवत् ८३६, संवत् ८४१, संवत् ८९७ र संवत् ९५० का शिलालेख पाइएका छन् । मिति नखुलेका अभिलेख र तोरण पनि मन्दिरमा छन् । ती शिलालेखमा ब्रह्मायणी देवीको गुणगान गाउनुका साथै मन्दिरमा चढाइएका सामग्री अनि देवल निर्माणका वर्णन पाइन्छन् । पनौती क्षेत्रको ऐतिहासिक अवस्थितिबारे शिलालेखले जोडदार बोलेको छ । मन्दिरभित्र त्रैलोक्य मल्लको समयकालको नेस ७८९ को अभिलेखको अधिकांश भाग खण्डित रहेको छ । इतिहासकार केदारनाथ प्रधानका अनुसार “मध्यकालीन संस्कृति र कलाकौशलको दृष्टिमा भक्तपुरपछि पूर्वतिरका बस्तीहरूमा पनौतीलाई अग्रणी मान्न सकिन्छ ।” यो अग्रणी स्थानमा ब्रह्मायणी देवी विराजमान हुनुहुन्छ । शैव आदर्शमा जीवन्त रहेको यो देवीको जात्रा कहिलेदेखि चल्न थाल्यो भन्न सकिन्न तर प्रत्येक ज्येष्ठ पूर्णिमाको दिन पनौतीको जात्रा हुने गर्दछ । ज्यापुन्ही जात्राका रूपमा चिनिएको यस जात्राको सांस्कृतिक महत्व विशेष रहेको छ । द्वादशी, त्रयोदशी, चतुर्दशी र ज्येष्ठ पूर्णिमासम्म चल्ने यस जात्राको महत्वपूर्ण देवी ब्रह्मायणी हुन् । यस कारण यस जात्रालाई ब्रह्मायणी जात्रा पनि भनिन्छ । 

जात्रा आफैँ एक कला हो । कलामा कलाकारिताको प्रयोग अनिवार्य हुन्छ । त्यसकै प्रतीकका रूपमा ब्रह्मायणी मन्दिरमा चित्रकलाको प्रयोग भएको पाइन्छ । मन्दिरमा भएको भित्ते चित्रले धार्मिक, सांस्कृतिक पक्षको उजागर गरेको छ । मध्यकालीन पनौतीको कलात्मक विशेषता भित्ते चित्रले दर्साएको छ । पमारी टोलमा रहेको द्येःछे (ब्रह्मायणीको घर) का भित्तामा (ब्रह्माणी, महेश्वरी, कौमारी, वाराही, वैष्णवी, इन्द्राणी, नारसिंही र महालक्ष्मी) मातृका गणको चित्रले शोभयमान गराएको छ ।

महेश्वरी महेश्वरकी शक्ति, कौमारी स्वामी कार्तिकेयकी शक्ति, वैष्णवी विष्णुकी शक्ति, बाराही बराहकी शक्ति, नारसिंही नृसिंहकी शक्ति, इन्द्राणी इन्द्रकी शक्ति र ब्रह्माणी ब्रह्माकी शक्ति मान्ने गरिन्छ । मातृका गणद्वारा मानिसका विभिन्न अङ्ग प्रत्यङ्गको रक्षा गर्ने तान्त्रिक मत रहेको हुनाले लोकमा पूजनीय भएका हुन सक्छन् । 

मातृकाको द्वारपाल सिंहिनी र ब्याघ्रिनी, अष्टभैरव, भैरवी, बेताल र तिनले प्रयोग गर्ने आयुधहरूका चित्र छन् । चित्र जीर्ण भए पनि यस चित्रले पनौतीको आधुनिक चित्रकलामा आफ्नो छाप छोड्न सफल भएको छ । घरको भित्ताको आधार मान्ने हो भने यो चित्र राणाकालीन समयको हो । न्यु आर्ट सर्कलका उपाध्यक्ष तथा चित्रकार नरेश सैँजूका अनुसार “त्रिवेणीघाट ब्रह्मायणी पीठभित्र भित्तामा रहेको ब्रह्मायणीको चित्र ११ औँ देखि १३ औँ शताब्दीको हो । यो चित्र भक्तपुरको ब्रह्मायणी पीठको चित्रभन्दा पुरानो शैलीको छ । यसको उचित प्रसार गर्न सकिएन ।” मातृका गणका टुँडालले सजिएको यो मन्दिर तीन तले नेपाली शैलीमा छ । बिनाजग नै यो मन्दिर ठडिएको जनविश्वास छ । ब्रह्मायणी पीठमा भएको चित्रको समयसीमाबारे मतहरू फरक फरक छन् । भक्तपुरको ब्रह्मायणी पीठमा भक्तपुरवासीले नयाँ बनाएको नवदुर्गाको मुकुण्डोहरूको दर्शन गर्ने परम्परा छ । 

आषाढ कृष्ण अष्टमीको दिन मुकुण्डोलाई सेतो कपडामा बेरी ब्रह्मायणी मन्दिरमा लाने र मुकुण्डोको अन्तिम दाहसंस्कार गरिन्छ । “पनौतीको ब्रह्मायणी जात्रा र भक्तपुरको ब्रह्मायणी जात्रामा केही समानता भेटिए पनि स्थान परिवेशका आधारमा केही फरक हुन पुगेको छ” भनी स्थानीय संस्कृतिविद् शिव जङ्गम बताउनुहुन्छ ।

ब्रह्माणी अर्थात् ब्रह्मायणी ब्रह्माको शक्ति हुन् । कमण्डलु बोकेको हाँसमाथि बसेको गरगहनाले शोभित भएकी देवीले रक्षा गरून् । ‘ब्राह्मी हंसमारुढा सर्वाभरणभूषिता’ भनी कोमल चण्डीमा उल्लेख छ । ‘शुक्तं ब्रह्माणी ! मे रक्षेच्छाया’ हे ब्रह्माणी ! तिमीले मेरो वीर्यको रक्षा गर ।यस्तै भद्रकालीले घाँटी, वाराहीले आयु, वैष्णवीले धर्म, इन्द्राणीले गोत्र र कुलक, महालक्ष्मीले छोराछोरी, भैरवीले मेरी पत्नीको रक्षा गरून् भनी कोमल चण्डीमा उल्लेख छ । यी र यस्ता विशेषता बोकेका कारण मातृका गण पुजिए र सम्मान स्वरूप चित्रहरू बनाउने कार्य भयो । ब्रह्माणीले आफ्नो कमण्डलुको जल छर्केर शत्रुको बल र पराक्रम नष्ट गर्ने गर्छिन् । 

अनादिकालदेखि मातृका गण, देवी वा स्त्री तत्वलाई प्रधानता मान्ने प्रचलन वर्तमानसम्म पनि यथावत् रहेको पाइन्छ । शाक्य सम्प्रदाय वा धर्मका रूपमा यस प्रचलनलाई लिने गरिन्छ । वर्तमान समाज मातृसत्ताबाट नै विकास भएको प्रतीकका कारण देवी, स्त्री, माता आदिलाई शक्तिका रूपमा पुज्ने प्रणालीको विकास भएको हुनु पर्छ । सिन्धुघाँटीको सभ्यतामा अनेक स्त्रीका मूर्ति प्राप्त भएका छन् । देवीहरूलाई उग्रदेवी, सम्यमदेवी र कामदेवीका रूपमा चित्रण गरिएको पाइन्छ । “तन्त्रशास्त्रमा शक्तिको महिमालाई सर्वोपरि मानिएको छ । तान्त्रिक उपासनामा यन्त्र र मन्त्रको प्रचुरता पाइन्छ । यन्त्र देवताको शरीर र मन्त्र आत्मा हुन्” (कल्पना श्रेष्ठ, काठमाडौँ उपत्यकाको सांस्कृतिक परम्परा) । 

श्रीयन्त्र जडित पनौतीको ब्रह्मायणी पीठ काठमाडौँ, कमलादीको पासिको अजिमा (ब्रह्मायणी), ललितपुर सानेपाको ब्रह्मायणी, भक्तपुर तौलाछेँको ब्रह्मायणीभन्दा पद्धति र प्रणालीमा फरक छ । महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये ब्रह्मायणीलाई महासरस्वतीका रूपमा लिइन्छ । पनौतीको सांस्कृतिक वैभवमा चित्रकलाले थप योगदान थपेको छ । 

https://gorkhapatraonline.com/news/73663

रौनक पुलुकिसी र लाखे नाचको

 त्रिचन्द्र प्रतीक्षा

१३ असोज २०८०, शनिबार

काठमाडौँको इन्द्रचोकबाट ४०/५० मिटर उत्तरमा किलागल टोल छ । यहीँबाट पुलुकिसी नाच निस्कन्छ । कुनै समय यहाँ जङ्गल र हात्तीसार थियो । किलागललाई नेपाल भाषामा ‘किसिगल’ भनिन्छ । नेपाल भाषामा हात्तीलाई ‘किसी’ र गोठलाई ‘गल’ भनिन्छ । उहिले हात्तीसार रहेको ठाउँ हुनाले ‘किसिगल’ नाउँ रहन गएको हो । यसैबाट अपभ्रंश भई किलागल भनिएको हो ।

इन्द्रजात्राका अवसरमा काठमाडौँका विभिन्न चोक र गल्लीमा जारी नाचहरूमा पुलुकिसी नाच विशेष आकर्षणमध्ये एक हो । इन्द्रजात्राको आठौँ दिन अर्थात् आश्विन कृष्णचतुर्दशीका दिन कुमारीको रथ तान्ने समयमा पुलुकिसी नाच पनि धूमधामसँग प्रदर्शन हुन्छ । बाँसको मान्द्रो, जसलाई नेपाल भाषामा ‘पुलु’ भनिन्छ । यस मान्द्रोबाट बनेको हात्तीको आकृतिभित्र दुई जना मानिस उभिएर नाच्ने गर्छन् । 

नाचमा विशेष प्रकारको बाजा बजाइन्छ । धिमेबाजाको धुनमा टाउको र जिउ हल्लाउँदै सडकमा दगुर्नु नै यसको प्रमुख विशेषता हो । यो बेला दर्शक टोपी फुकालेर पुलुकिसीप्रति सम्मान भाव प्रकट गर्छन् । जसले टोपी फुकाल्दैन, हात्तीले टोपी खोसी फ्याँकी दिन्छ । यो दृश्य देखेर दर्शकदीर्घाका मानिस हाहाहा र हूहूहू गरी रमाउँछन् ।

पुलुकिसीलाई इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा लिइन्छ । स्वर्गबाट आएको ऐरावत हात्तीले इन्द्रलाई खोज्न भौँतारिँदै गरेको अवस्था यस नाचमा चित्रण गर्न खोजिएको पाइन्छ । नेवार समुदायमा प्रचलित मिथक अनुसार आमा बसुन्धरालाई विशेष पूजाका लागि पारिजातको फूल र कर्कलो आवश्यक भयो । पारिजातको फूल स्वर्गमा पाइँदैनथ्यो । त्यसैले इन्द्र पृथ्वीलोकमा आए । काठमाडौँको भीमसेनस्थानको नजिकै एउटा बगैँचा थियो । त्यहाँ पारिजात फुलिरहेको थियो । 

बगैँचाका माली तान्त्रिक विद्या जान्ने थिए । फूल  टिप्न गएपछि इन्द्रलाई मालीले तान्त्रिक शक्तिले बाँधेर राखे । इन्द्रलाई नदेखेपछि ऐरावत हात्ती भने यताउति भौँतारिन थाल्यो । किलागलका ज्यापु समुदायले उक्त हात्ती राम्रो देखेपछि समातेर हात्तीसारमा राखे । पृथ्वीलोकमा रहेका इन्द्र र ऐरावतलाई छुटाउन वसुन्धरा यहाँ आइन् । यस बन्धनबाट मुक्त गराएबापत धान पाक्नका लागि आवश्यक हुस्सु उपहार दिएर गएको विश्वास गरिन्छ । त्यसैले यस मौसममा बिहान र बेलुक हुस्सु (कुहिरो) लाग्ने गरेको भनिन्छ । ऐरावत हात्तीलाई पनि प्रत्येक वर्ष इन्द्रजात्रामा आई नाच्ने वाचा गराई छाडिएको भनिन्छ । तसर्थ त्यस बेलादेखि पुलुकिसि नाच नाच्न थालिएको भनिन्छ । 

एक अर्को किंवदन्ती अनुसार प्राचीनकालमा हात्ती भएको जङ्गल किलागल । एक दिन बनेपाका एक राजा सिकार खेल्ने क्रममा धेरै हात्तीले उनलाई लखेटे छन् । ज्यान जोगाउनै मुस्किल परेका यी राजाले इष्टदेवी श्वेतकालीलाई प्रार्थना गरे ज्यान बचाइदिन । राजाको पुकार सुनेर देवीले आफैँ एउटा ठुलो सेतो हात्तीमा परिणत भई सम्पूर्ण हात्तीलाई लखेटेर बचाए । श्वेतकालीको आदरभावमा यी देवीको प्रतीक सेतो हात्तीको नाच नचाउने चलन चलेको हो ।

इन्द्रजात्रामा पुलुकिसी जस्तै लाखेनाच पनि उत्तिकै रमाइलो हुन्छ । लाखेनाच मूलतः उपत्यकामा नचाइने नाच हो । काठमाडौँको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजिपा लाखेलाई शान्त भैरवका रूपमा पनि लिइन्छ । कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बाटो देखाउने भन्दै रथको अघिअघि मजिपा लाखे नाच्दै हिँडने प्रचलन पनि छ । विशेष गरी मजिपाट टोलका रञ्जितकारहरूले लाखेलाई देवताका रूपमा मान्दै आएका छन् । लाखेलाई तुलजा भवानी सँगसँगै कर्णाटकबाट काठमाडौँ ल्याइएको हो भनी विश्वास गरिन्छ । मजिपा लाखे हल्चोकको शान्त भैरवको एक रूप हो भनिन्छ ।

उपत्यकामा यसरी लाखे नाच नचाउने चलन कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भमा राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भित्र्याएका हुन् भनिन्छ । नुवाकोटबाट ल्याइएको लाखे चाहिँ सबल बहालका द्यःला लाखे हो भनिन्छ । भाषा वंशावली अनुसार लाखे नाचको चलन काठमाडौँका राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ छ । 

डरलाग्दा ठुलो अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएको रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै सहरबजारमा लाखे देखा पर्दा साथमा झ्यालिन्चा (आकाश भैरवको प्रतीक) पनि सँगसँगै रहने गर्दछ । विशेष गरेर लाखे नाच धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायखिं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नचाइन्छ । इन्द्रजात्रा अवधिभर लाखे पाँच प्रकारले नाच्ने गर्दछ । 

विसं ११५४ तिर राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसङ्ग भाषावंशावलीहरूमा पाइन्छ । रावणको राज्य लङ्काबाट सिमरौनगढ पुगेकी एक राक्षसनी त्यहाँका कुनै एक भारदारसँग प्रेममा परी नान्यदेवको दरबारमा परिचारिका भई काम गर्दै थिई । एक दिन ती दुई प्रेमीको कुराकानी भयो, “मलाई लङ्कादेखि यहाँको दरबारसम्म तान्नु तिम्रो मायाले गर्दा हो । म राक्षसनी हुँ तर खराबी गर्ने चाहिँ होइन ।” 

भारदार प्रेमी भन्छन्, “उसो भए हाम्रो महाराजको यस वनलाई एउटा सुन्दर नगर बनाउने योजना छ । त्यसमा हामीले सहयोग गर्न सक्छौँ । कुरा त ठिक हो तर मान्छेले हामी लाखेलाई विश्वास गर्दैनन् नि । हामीलाई यो नगर बनाउने जिम्मा दिए एकै रातमा तयार गर्न सक्छौँ ।” 

राजाबाट नगर बनाउन अनुमति पाएपछि सोही अनुसार भारदारकी प्रेमिका राक्षसनीले लङ्काबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ’ नगर बनाइदिई । सिमरौनगढबाट तलेजु भवानी पनि रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीँ बसे । समय र परिस्थितिवश तलेजुलाई नेपाल (काठमाडौँ) भिœयाएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएका थिए । 

कुमारी तलेजुकी प्रतीक हुन् । इन्द्रजात्रामा कुमारीको जात्रा हुने भएकाले उसको सुरक्षाका लागि लाखे पनि सँगै नचाइने गरिएको पनि इतिहासमा उल्लेख भएको पाइन्छ । किंवदन्ती अनुसार काठमाडौँमा एक ज्यापु युवती थिइन् । उनी आमाबुवाका साथ खेत जाने गर्थिन् । बाटामा एक लाखे उक्त ज्यापु युवतीको सौन्दर्यबाट मोहित भए । उनीलाई हेर्न सहरभित्रै लुकिछिपी आउन थाले । लाखे ज्यापुका रूपमा खेतमा आई सहयोग गर्ने र उक्त ज्यापु युवतीसित नजिकिन थाले । उनीहरूबिच माया बढ्न थाल्यो । त्यसपछि त लाखे लुकिछिपी ज्यापु युवतीको घरमा सुत्न थाले । छिमेकीले चाल पाई चियो गर्दा मानिसभन्दा फरकको रूप देखे । छिमेकीले राजाकहाँ सुटुक्क खबर गरे । राजाले सुराकी लगाएर लाखेलाई समाते । 

राजाकहाँ पुगेका लाखेले आफू एक ज्यापु युवतीसितको अगाध प्रेममा रहेकाले मानवको सहयोगी बनी बस्ने बिन्ती चढाए । राजाले पनि उनको कुरामा विश्वास गरी उनको इच्छा अनुरूप काम गर्न छुट दिए । लाखे खुसीले नाच्न थाल्यो । उसको नाचको आकर्षणले उपत्यकाका नेवारहरू मोहित भए । लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो । त्यसैले उनी लाखे भए पनि दैवी शक्ति भएको मानेर पूजा गर्न थालियो । लाखेलाई शान्तभैरवका रूपमा पुज्न थालियो । इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानिचायाःको दिनमा पुलुकिसी जात्रा गर्ने र लाखे नाच नाच्नेहरू एकै ठाउँमा भेला भएर भोज खाँदै रमाइलो गरी जात्रा समापन गर्छन् ।  

https://gorkhapatraonline.com/news/80141

नेवार जातिको मौलिक चित्रकला ‘पौभा’

 सनम महर्जन

५ साउन २०७९, बिहिबार

काठमाडौं, साउन ५ गते। ‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ। ‘पौभा’ चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्र बनाउने गरिन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाको अध्ययन गरेर तिनलाई प्रतिकको रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ।  सानैदेखि विभिन्न नेवारी संस्कृति र परम्परा अंगाल्दै हुर्किनुभएका कलाकार राजप्रकाश तुलाधरका अनुसार पौभा चित्र धर्म संस्कृतिसँग जोडिएको कला हो। “पौभा चित्र बनाउन गहन अध्ययन र विचार र धार्मिक नियम हुन्छ। सबै बुझेर जानेर धैर्यतापूर्वक कोर्नु पर्ने हुँदा यो कला बनाउन धेरै समय लाग्छ,” कलाकार तुलाधरले भन्नुभयो। 

कलाकार तुलाधरका अनुसार धेरै वर्ष पहिले धार्मिक प्रयोजनका लागि कोरिएका चित्र प्राकृतिक रंगबाट बनेका हुन्छन्। तर, अहिले विभिन्न रंगको प्रयोग गर्न पाइन्छ जस कारण पौभा कोर्न सजिलो भएको उहाँको अनुभव छ। “व्यापारिक रुपमा लगानीको अर्थ हुँदैन, कलाकारका कलाको भाउ हुँदैन”, उहाँ भन्नुहुन्छ, “कलालाई बुझ्ने र मनपराउने व्यक्तिले कलाको महत्त्व बुझेको हुन्छ।” 

'पौभा’ चित्रकलाका विषय धेरै हुन्छन्। तुलाधरका अनुसार धार्मिक आस्थाबाट आरम्भ भएको ‘पौभा’ अहिले आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन। तर, खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू कम भएको उहाँको अनुभव छ।  

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ 

https://gorkhapatraonline.com/news/19630



नेवार जातिभित्र दलित उत्पीडन

 परशुराम रम्तेल

 फाल्गुन २९, २०७७ शनिबार

नेवारी समुदाय नेपालको एक आदिवासी, नेपालको सन्दर्भमा सामन्तवाद र साम्राज्यवादबाट उत्पीडित जातिहरूमध्ये राजधानीमा बसोवास गर्दै आएको सबैभन्दा विकसित जाति पनि हो । नेवार समुदायको मुख्य थलो काठमाडौँ उपत्यका रहेको र उपत्यकामा सभ्य र समुन्नत संस्कृतिको निर्माण गर्न यो समुदायको महìवपूर्ण भूमिका रहँदै आएको छ । यो समुदायको आफ्नै साझा भाषा, साझा भूगोल, साझा आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञान छ । नेपालको राजनीतिमा नेवार समुदायभित्र छुवाछूत छ वा छैन, यसजातिभित्र अछूतको दर्जनी लगाइएका दलित समुदाय छन् वा छैनन् भन्ने बारेमा बहस चल्ने गरेका छन् । कुनै पनि समुदाय कुन जाति वा समुदायभित्र पर्छ भन्ने कुरा अनुमानको आधारमा भन्दा पनि ती समुदायको ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरूप, भाषिक तथा सांस्कृतिक स्थिति, आर्थिक प्रणालीका आधारमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विधिद्वारा विश्लेषण गरी किटानी गरिनुपर्छ ।
दलित समस्या सामन्तवादले आफ्नो सत्तालाई सुदृढ र विस्तार गर्ने क्रममा मुख्यतः दक्षिण एसियामा विशिष्ट रूपले आफ्नै चरित्र ग्रहण गरेको विकराल समस्या हो । यो समस्याको प्रकृति र शोषणका रूप पक्षलाई मात्र हेर्ने हो भने यो सामाजिक–सांस्कृतिक समस्या मात्रै भन्ने निष्कर्षतर्फ पुग्न सकिन्छ तर यसका समग्र पाटापक्षलाई गहिरिएर सुक्ष्म र व्याख्यात्मक ढङ्गले विश्लेषण गर्ने हो भने दलित समस्या सारतः हिन्दु सामन्तवादी राज्यसत्तासँग गहिरोसँग अन्तरसम्बन्धित रहेर लामो समयको अन्तरालपछि सांस्कृतिक चरित्र ग्रहण गरेको राजनीतिक समस्या हो । यो वर्गीय राज्यसत्ताको उत्पीडनको भिन्न र जारी रूप हो । वर्गीय राज्यसत्ताको उपजको रूपमा रहेको यसको उत्पत्तिको जरो सही ढङ्गले नठम्याएसम्म यसको हल वैज्ञानिक हुनै सक्दैन । नेपाली राजनीतिमा नेवार जातिभित्र एउटा भिन्नै प्रकारका विशिष्ट उत्पीडन भोगिरहेका नेवारी दलितका बारेमा यो लेखमा छोटो चर्चा गर्न खोजिएको छ ।
उत्पीडनको ऐतिहासिक पृष्ठभूमि
लिच्छविकालको सुरुवातको समयसम्म पनि नेपाल मण्डलभित्र जात प्रथा थिएन । जब लिच्छविहरूले नेपालको शासन सुरुवात गरे, तबदेखि नै नेपालमा वर्णव्यवस्था र जातीय छुवाछूत प्रथा लागू गर्दै नेपाली समाजलाई चार वर्ण र अठार जातमा विभक्त गरियो । लिच्छविकालबाट प्रारम्भ भएको वर्णाश्रम व्यवस्थालाई पछिल्लो चरणमा नेपाल संवत् ५०१ मा राजा जयस्थिति मल्लले नेवारी समाजलाई ६४ वटा जातमा विभाजन गरेको पाइन्छ । लिच्छविकालभन्दा अघिसम्म नेवारी समाजभित्र जात विभाजन पनि थिएन र विभेद पनि थिएन । तर, लिच्छवि राजा सुपुष्प, अंशुवर्मा हुँदै जयस्थिति मल्लसम्म आइपुग्दा हिन्दु वर्णाश्रम व्यवस्थालाई सुदृढ र व्यवस्थित गर्दै जाने क्रममा नेवारी समाजलाई पनि ६४ वटा जातमा विभक्त गरे । जसका कारण नेवारी समुदायभित्रका पनि च्यामे, पोडे, देउला, कुचीकार, नापित ­(हजाम), खड्गी, कपाली, धोबी (रजक) आदि समुदायहरूलाई छुवाछूतको व्यवहार गरिंदै आएको पाइन्छ । उपत्यकाका नेवारी जातिभित्र यी समुदायहरूलाई अझै पनि छुवाछूत, उँच–निच र विभेदको व्यवहार गरिन्छ । अहिले नेवारी दलितहरू दलित हुन् वा होइनन् भन्ने बारेमा ठूलो बहस चलिराखेको छ । स्वयम् नेवार जातिभित्रका यी समुदायका बीचमा पनि आफ्नो समुदाय दलित हो वा होइन भन्ने दाबी जारी नै छ ।
वास्तवमा दलित शब्दको अर्थ र पहिचान दक्षिण एसिया स्तरमा नै एउटै रहँदै आएको छ । किनकि दलित समस्या विश्वमा अन्यत्र कहीँ कतै नभएको र दक्षिण एसियामा विशिष्ट रूपमा रहेको समस्या हो । हिन्दु समाज व्यवस्था वा अन्य सामाजिक व्यवस्थामा समाजको सबैभन्दा तल पिँधमा राखेर असाध्यै अपहेलित गर्दै सबै क्षेत्रबाट पछाडि पारिएका पानी नचल्ने, अछूतको व्यवहार गरिने समुदायलाई दलित समुदाय भनिन्छ । नेपालको सन्दर्भमा यी दलित समुदायहरूलाई तीन भागमा विभक्त गरी दमन र शोषण गरिंदै आएको पाइन्छ । पहिलो आर्यन खस जातिभित्र पर्ने दलित समुदायहरू, दोस्रो आर्य–द्रविड मिश्रित मधेशी जातिभित्र पर्ने दलित समुदायहरू र तेस्रो नेवारी जातिभित्र पर्ने दलित समुदायहरू छन् । तीन वटै दलित समुदायको आ–आफ्नै भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट रहेका छन् । जातिगत हिसाबले हेर्दा आर्यन खस जातिभित्रका दलित जसलाई हामी पहाडिया दलित पनि भन्ने गर्दछौँ, उनीहरूको भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट आर्य जातिसँग नै मेल खान्छ । आर्य–द्रविड मिश्रित मधेशी जातिभित्रका दलित समुदायका भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट पनि मधेशी समुदायसँग नै मेल खान्छ । नेवारी जातिभित्रका दलित समुदायको भाषा, संस्कृति, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावट पनि नेवार समुदायसँग नै मेल खान्छ ।
नेपालका दलितहरू तीन वटा जातिमा विभक्त भए पनि सारतः र अन्ततः उनीहरूको साझा उत्पीडन भनेको हिन्दु वर्णाश्रम व्यवस्थाद्वारा जबर्जस्त रूपमा लादिएको छुवाछूतको समस्या नै हो । यद्यपि आर्थिक र शैक्षिक अवस्था फरक हुन सक्छ तर पनि सामाजिक–सांस्कृतिक अवस्था भने उही नै छ । यसर्थ, नेपालका दलित समुदाय कुनै एक जाति विशेषमा मात्रै विभक्त छैनन् । यसो हुँदा नेपालका दलितहरू जाति नभएर समुदाय हुन् । तीन वटा जातिभित्रका अछूत मानिएकाहरूको समूह दलित शब्दबाट स्थापित हुँदै आएको छ ।
दलित हुन् कि होइनन् ?
ऐतिहासिक पृष्ठभूमि, उत्पीडनको स्वरूप, विगतको दलित मुक्ति आन्दोलनमा नेवारी दलितको भूमिका र वर्तमानको सामाजिक अवस्था सबैलाई राम्रोसँग अध्ययन गर्ने हो भने पनि नेवारी समुदायभित्रका च्यामे, पोडे, देउला, कुचीकार, नापित, खड्गी, कपाली, धोबी आदि समुदाय दलित नै भएको पुष्टि हुन्छ । नेवार समुदायका एक विशेषज्ञ मल्ल के. सुन्दर भन्नुहुन्छ, ‘नेवाः समाजभित्र जात प्रथा अनि नेवाः दलित छूत–अछूतको व्यवहार नभएको होइन, अनि आफूलाई सम्भ्रान्त भन्ने एउटा वर्ग नेवाः समाजको पछि पारिएका समुदायले संस्कृति, संस्कार र परम्पराको नाममा माथिल्लो जात र तल्लो जात भनी पनपक्ष गर्ने गरिएको पनि त्यत्तिकै सत्य हो ।” (ह्याउँ निभा पेज नं. ५५ ) उहाँको भनाइले के पुष्टि गर्छ भने नेवार जातिभित्र छुवाछूत प्रथा रहिआएको र दलित समुदायलाई त्यो प्रथा भोग्न बाध्य पारिएको पुष्टि हुन्छ । त्यसैगरी नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य गणेश खड्गी भन्नुहुन्छ– ‘नेवारी समुदायमा तल्लो जात भनिएका मध्ये नाय (खड्की), जोगी (कपाली), नापित आदि जाति–थरहरूलाई छुवाछूतको व्यवहार गरिन्छ । कतिपय स्थानमा नकर्मी, मानन्धर, प्रजापतिलाई पनि यो प्रथा लागू गरेको पाइन्छ ।’’ (ह्याउँ निभा पेज नं. ६७) । उहाँको भनाइबाट पनि प्रष्ट हुन्छ, नेवारी समाजमा अझै पनि छुवाछूत यथावत नै छ । आर्यन र मधेशी जातिमा पनि केही ठाउँमा दलितहरूलाई छुवाछूत गरिँदैन । यसो हँुदा वर्तमानमा छुवाछूतमा कमी भए पनि वा बढी नै रहे पनि विगत ऐतिहासिक कालदेखि नै छुवाछूतको समस्या भोग्दै आएका र अहिले पनि समाजको पुरानो पुस्ताले सहज रूपमा अरू समुदाय सरह स्वीकार्न नसकेको समुदाय नै दलित हुन् । उपत्यकाको सन्दर्भमा पनि बुढा–पुराना पुस्ताले नेवारी जातिभित्रका दलित समुदायलाई अरू सरह सामाजिक–सांस्कृतिक मान्यता दिन सकिरहेका छैनन् । यद्यपि नेवारी दलितभित्रका खड्गी र कपालीहरूको आर्थिक स्थिति भने निकै नै सुध्रिएको छ ।
हो, नेवार समुदायमा छुवाछूत अझै पनि विद्यमान छ र त्यहाँका दलितहरू पनि उत्पीडन भोगिरहेकै छन् । नेवारी दलितहरूको अवस्थिति उपत्यकामा नै भए पनि राज्यसत्ताका कुनै पनि अङ्गहरूमा उनीहरूको उपस्थिति छैन । राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक लगायत सामाजिक जीवनका सबै क्षेत्रबाट नेवारी दलितहरूलाई सुनियोजित तरिकाले नै पछाडि पारिएको छ । अहिले एकाथरि नेवारी दलितहरू आफू दलित नभएको जिकिर गरिरहेका छन् भने अर्काथरि आफू दलित नै भएको जिकिर पनि गरिरहेका छन् । हामी अहिले दलित समस्याको व्यापक छलफल र विश्लेषण गरी यो समस्याको चुरो कारणको पहिचान पश्चात् वर्गीय राज्यसत्तासँग जोडेर सङ्गठित ढङ्गले आन्दोलनको माध्यमद्वारा वैज्ञानिक र दुरगामी हल गर्नको लागि दलित समस्या उठाइरहेका छौँ । हामी सधैँ दलित बन्नका लागि नभएर विगतमा खोसिएका अधिकारहरूको पूर्ण प्राप्ति गर्दै दलित समस्याहरूबाट पूर्ण मुक्ति पाउनका लागि अहिले दलित बनिरहेका छौँ र दलित सङ्गठनमार्फत दलित मुतिm आन्दोलनको छलफल चलाइरहेका छौँ । दलित होइन भन्दैमा दलित समस्या र उत्पीडन अन्त्य हुने वा हो भन्दैमा रहिरहने भन्ने प्रश्न होइन । प्रश्न त दलित समस्या र उत्पीडनको वैज्ञानिक हल कसरी गर्ने भन्ने नै हो ।
दलित पहिचान आन्दोलन
दलित समुदायले अब आफू दलित भएकोमा हिनताबोध होइन, गर्व गर्नुपर्छ । हामीलाई विगत सदियौँ वर्षदेखि सामन्ती शासकहरूले आफ्नो सत्ता टिकाउने रणनीतिअन्तर्गत दलित बनाएका हुन् । वास्तवमा हामी ऐतिहासिक श्रमिक वर्ग हौँ । सीप र कलाका पारखी इन्जिनियरहरूको समूह पनि हौँ । त्यसकारण हामी दलित भएकोमा हिनताबोध होइन, बरु आफ्ना पुर्खाहरू मान्छेको परिभाषा गर्न पनि नजान्ने कति जङ्गली र असभ्य रहेछन् भनेर गैरदलितले हिनताबोध गर्नुपर्छ । हामी त स्वाभिमानी र इमानदार समुदायभित्र परेको हुनाले गर्व गर्न सक्नुपर्छ । त्यसकारण नेवारी दलितहरूले छुवाछूतको उत्पीडन आफ्नो समाजमा रहिरहेर र भोगिरहेर विशुद्ध नेवार हुँ भनी खोक्रो गर्व गर्नुभन्दा पनि आफूमाथि भएको दलित उत्पीडनको विरूद्ध निर्मम ढङ्गले जुध्दै नेवारी दलित हुँ भनेर गर्व गर्न सक्नुपर्छ । आफूलाई अरू उत्पीडक नेवार सरहभन्दा पनि अरू थप विशेषाधिकार चाहिन्छ भनेर लड्न सक्नुपर्छ । उत्पीडनको प्रकृति दलितकै रहिरहने तर दलित होइन भन्नु गैर माक्र्सवादी कुरा हुन जान्छ । नेपालको राजनीतिमा दलित समुदायलाई विशेषाधिकारको व्यवस्था हुनुपर्ने कुराको लगभग राजनीतिक सहमति बन्दै गएको छ । तर, विडम्बना नेवारी दलितहरू आफू उत्पीडन पनि भोगिरहने अनि दलित पनि होइनौँ
भन्नु अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने उखानसँग मेल खान्छ ।
नेवारी दलितहरू भाषागत, जातिगत, भूगोल, आर्थिक प्रणाली र मनोवैज्ञानिक बनावटको हिसाबले पनि नेवारी जाति नै हुन् भने उत्पीडनका हिसाबले दलित पनि हुन् । त्यसकारण आफू नेवारी दलित भएको कुरामा प्रष्टताका साथ गर्व गर्दै आगामी दिनमा विशेषाधिकारको मुद्दालाई केन्द्रबिन्दुमा राखेर सङ्गठित ढङ्गले नेपाली दलित मुक्ति आन्दोलनमा गोलबन्द हुनुपर्छ । नेपाली दलित मुक्ति आन्दोलनलाई सर्वहारा वर्गीय आन्दोलनमा उचित ढङ्गले समायोजन गरेर मात्र नेवारी दलितलगायत समग्र दलित समुदायको पूर्ण मुक्ति सम्भव छ ।
(लेखक संविधानसभाको सदस्य तथा दलित मुक्ति सङ्गठनका नेता हुनुहुन्छ ।)

https://beta.gorkhapatraonline.com/open/2021-03-13-33640

‘नेवार’ शब्दको प्राचीनता

 डा. नयनाथ पौडेल

२ असार २०८०, शनिबार


नेपालको इतिहासलाई पल्टाउँदा संस्कृति, कला एवं साहित्यको माध्यमद्वारा विश्वमा आफ्नो देशको नामलाई रोशन गर्दै आएको नेवार समुदाय प्राचीन कालदेखि नै नेपाल–उपत्यकाको बासिन्दाका रूपमा रहिआएको देखिन्छ । ‘नेवार’ शब्दले कुनै एक जाति विशेषलाई मात्र जनाउने होइन, पुरै समुदायकै प्रतिनिधित्व गर्दछ । केही विद्वान्ले देशको नाम नेपाल र समुदायको प्रतिनिधित्व गर्ने नेवार शब्दका बीचमा पनि घनिष्ठ रूपले अन्तरसम्बन्ध रहिआएको कुराको व्याख्या गरेका छन् । एक थरी विद्वान्हरू नेवार शब्दको व्युत्पत्ति नेवाङ/नेवाहाङ/नेवाः बाट भएको हो भन्ने मान्यता राख्छन् । कतिपय विद्वान्ले त  निऽबालह श्र नीवाल श्र नेवाल श्र नेवार हुँदै नेवार शब्दको पूर्वरूप ऋग्वेदसम्म जोडिन पुगेको छ भनेर पनि लेखेका छन् । (शिवराज शर्मा, नेपाल र नेवाल–मूलतः ऋग्वैदिक शब्द, पृ. ८) अहिलेलाई यो लेख व्युत्पत्तितर्पm नलागी नेवार शब्दको प्राचीनताको विषयमा मात्र केन्द्रित छ ।

लिच्छवि कालका अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहीँ पनि पाइँदैन । यसैले नेपाल उपत्यकामा प्राचीन कालदेखि नै बसोबास गरिआएको यस समुदायले कहिलेदेखि आफूलाई नेवार भन्न थालेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट रूपमा थाहा पाउन सकिएको छैन । यो विषय नेपालको इतिहास एवं संस्कृतिका क्षेत्रमा रुचि राख्ने अनुसन्धानकर्ताहरूका लागि चुनौतीको रूपमा रहिआएको छ । यस लेखमा नेपालका प्राचीन अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा शोधखोज गर्ने प्रयास गरिएको छ । यसले भाषिक पुरातत्वसम्बन्धी अध्ययनका लागि समेत सहयोग पुग्ने हुन्छ । 

हाम्रो देशका पुराना अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा नेपालको इतिहास एवं संस्कृतिको क्षेत्रमा अध्ययन–अनुसन्धानमा लागेका विद्वान्हरूको धारणा फरक फरक रहिआएको पाइन्छ । यीमध्ये केही धारणा यसप्रकारका देखिन्छन् : 

१. ऐतिहासिक शिरोमणि बाबुराम आचार्यको धारणा 

ऐ.शि. बाबुराम आचार्यले नेपाल सांस्कृतिक परिषद् पत्रिका पूर्णाङ्क १ (२००९) मा प्रकाशित नेपाल, नेवार र नेवारी भाषा भन्ने लेखमा नेवार शब्दको प्राचीनताको विषयमा आफ्नो धारणा यसरी राख्नुभएको देखिन्छ, “अभाग्यवश नेवार शब्दको पुरानो प्रयोग पाइँदैन । अठारौँ शताब्दीमा नेपालमा आएका युरोपेलीहरूले लेखेका नेपालका वृत्तान्तमा यो शब्द पहिले प्रयोग भएको देखिन्छ ।” (पृ. २) 

यताबाट ऐ.शि. बाबुराम आचार्यको धारणा अनुसार नेवार शब्दको पुरानो प्रयोग नपाइने र अठारौँ शताब्दीदेखि मात्र नेवार शब्दको प्रयोग पाइने भन्ने रहेको देखिन्छ । 

२. इतिहासकार मेरी सेफर्ड स्लसरको धारणा

इतिहासकार मेरी सेफर्ड स्लसरले पुराना अभिलेखहरूमा नेवार शब्दको उल्लेख कहिलेदेखि पाइन्छ भन्ने विषयमा छलफल गर्दै आफ्नो पुस्तक नेपाल मण्डल– ए कल्चरल स्टडी अफ दी काठमान्डु भ्यालीमा यस्तो लेख्नुभएको छ, “नेपाली अभिलेखहरूमा नेवार शब्दको पहिलो उल्लेख इसं १६५४ मा आएको छ र एउटा तात्कालिक टिपोटमा इसं १६६७ मा लुभुको नेवारको कुरा आएको छ ।” (प्रिन्सटन युनिभर्सिटी प्रेस, रिप्रिन्ट : मण्डला बुक प्वाइन्ट, १९९८, पृ. ९)

मेरी स्लसरले यहाँ इसं १६५४ को भनेको अभिलेख नेसं ७७४ माघ शुक्ल श्रीपञ्चमी शुक्रबारका दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदिएको राजा प्रताप मल्लको हो । यो अभिलेख डा. गौतमबज्र वज्राचार्यको हनुमानढोका राजदरबार नामक पुस्तक (पृ. २११) मा प्रकाशित छ । यसमा गोलमोल आखर, पार्सि आखर, तिरहुति आखर, रंज आखर, माझेपात आखर, देवनागर आखर, ऐंया उजेन आखर, गोत्रिया आखर, आव्र्वी आखर, कयथिनागर आखर, कूटाक्षर आखर, संया उमेत आखर, नेवार आखर, कास्मिरी आखर, एवं फिरिङ्गी आखरसमेत १५ थरी अक्षर अर्थात् लिपिको नाम उल्लेख गर्दा नेवारी अक्षरलाई जनाउन नेवार आखरको प्रयोग गरिएको छ । 

मेरी स्लसरले इसं १६६७ को भनेको अर्को अभिलेख चाहिँ ऐतिहासिक घटनावलीको हो । शङ्करमान राजवंशीद्वारा सम्पादित ऐतिहासिक घटनावलीमा उतिखेरको घटनालाई टिपोट गर्ने प्रसङ्गमा “ने.सं. ७८७ आषाढ कृष्ण प्रतिपदा, लुभुया छह्म नेवार” (पृ. ३) भनी टिपिएको छ । यही घटनावलीमा उल्लेख गरिएको नेवार शब्दलाई नै मेरी स्लसरले यस प्रसङ्गमा उल्लेख गरेको देखिन्छ । 

यताबाट मेरी सेफर्ड स्लसरको धारणा अनुसार राजा प्रताप मल्लले नेसं ७७४ (विसं १७१०) (इसं १६५४) माघ शुक्ल श्रीपञ्चमी शुक्रबारका दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदाएको अभिलेखमा उल्लिखित नेवार आखर पदावलीमा प्रयोग भएको नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।


३. मानवशास्त्रविद् डेभिड एन् गेल्नरको धारणा

मानवशास्त्रविद् डेभिड एन् गेल्नरद्वारा युरोपियन जर्नल अफ सोसियोलजी, २७, १९८६ मा  प्रकाशित ‘ल्याङ्ग्वेज, कास्ट, रिलिजन एन्ड टेरिटोरी ः नेवार आइडेन्टिटी एन्सेन्ट एन्ड मडर्न’ भन्ने लेखमा नेवार शब्दको प्राचीनताको विषयमा यस्तो धारणा प्रस्तुत भएको देखिन्छ, “ठ्याक्कै भन्नुपर्दा नेवार शब्दको मितिसहितको पहिलो उल्लेख इसं १६५२ मा भएको हो, जहाँ भाषाको नाम नेवारभाषा अर्थात् नेवारी भनेर उल्लेख गरिएको छ । आधुनिक नेवारीमा नेवारहरूको भाषाको रूपमा नेवाभाय्को प्रयोग हुन्छ । जातिलाई बुझाउने अर्थको रूपमा नेवार शब्द पहिले उल्लेख गरिएको एउटा टिपोटमा हो, जहाँ खसहरू (पर्वतीयाहरू) आए, सबै नेवारहरू आपूm आपूmमै लडे भन्ने वर्णन गरिएको छ ।” (पृ. १४०) डेभिड एन् गेल्नरकोे यही धारणा ३६ ग्रुप युवा क्लब हरिसिद्धिद्वारा दबू स्मारिकामा विसं २०६८ मा प्रकाशित ‘सम नोट्स् अन नेवार आइडेन्टिटी’ शीर्षकको लेखमा पनि अभिव्यक्त गरिएको देखिन्छ । 

यहाँ डेभिड एन् गेल्नरले सन् १६५२ मा नेवार शब्दको पहिलो पटक उल्लेख भएको भनी मानेको अभिलेख नेसं ७७२ भाद्र (विसं १७०९) हनुमानढोका राजदरबार, मोहनचोकको राजा प्रताप मल्लको नेवारभाषा तया शब्दावली लेखिएको अभिलेख हो । अनि नेवार शब्दले जातिविशेषलाई जनाउने गरी सन् १६८४ मा नेवार शब्दको पहिलो पटक उल्लेख भएको भनी डेभिड एन् गेल्नरले मानेको अभिलेख चाहिँ ऐतिहासिक घटनावलीमा टिपिएको ने.सं. ८०४ श्रावण ....सकलेङ नेवालं नेवाल हेला भन्ने पदावलीमा रहेको नेवाल लबज हो भन्ने देखिन्छ । 

यताबाट डेभिड एन् गेल्नरको धारणा अनुसार राजा प्रताप मल्लको नेसं ७७२ भाद्र (विसं १७०९) (सन् १६५२) मा हनुमानढोका राजदरबार, मोहनचोकको अभिलेखमा उल्लिखित नेवारभाषा तया शब्दावलीमा प्रयोग भएको नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।

४. इतिहासकार डा. महेशराज पन्तको धारणा 

विभिन्न इतिहासकारद्वारा नेवार शब्दको पहिला उल्लेख कुन हो भन्ने विषयमा लेखिएका धारणाउपर छलफल गर्दै इतिहासकार डा. महेशराज पन्तले “ने.सं. ७७२ भाद्र नेवारभाषा तया” भन्ने उल्लेख भएको मोहनचोकको दलानको राजा प्रताप मल्लको अभिलेखमा उल्लिखित नेवार शब्दलाई नै पहिलो उल्लेख मान्न उचित हुने मनसाय व्यक्त गर्नुभएको देखिन्छ । (पूर्णिमा पूर्णाङ्क १३८, पृ. १५५) 

५. भाषाविद् कमलप्रकाश मल्लको धारणा 

भाषाविद् कमलप्रकाश मल्लले पोखराबाट नेसं १०९८ (विसं २०३५) मा प्रकाशित इन्द्र मालीको झीगु भाय् : झीगु खँग्व भन्ने पुस्तकको भूमिका लेख्दा नेवार शब्दको प्राचीनताको विषयमा आफ्नो धारणा यसरी प्रस्तुत गर्नुभएको देखिन्छ, “नेपाल शब्दको पहिलो उल्लेख भएको ऐतिहासिक प्रमाण समुद्रगुप्तको प्रयागको प्रशस्ति (सन् ३३५–३७६) रहेको छ भने नेवार शब्दको पहिलो उल्लेख भएको सबैभन्दा पुरानो ऐतिहासिक प्रमाण काठमाडौँ हनुमान्ढोका राजदरबार–परिसरमा रहेको प्रताप मल्लको बहुभाषी अभिलेख हो ।” (पृष्ठ ग)  

यताबाट कमलप्रकाश मल्लको भनाइमा राजा प्रताप मल्लले नेसं ७७४ (विसं १७१०) (इसं १६५४) माघशुक्ल श्रीपञ्चमी शुक्रबारको दिन १५ थरी लिपिमा पाषाण–जलद्रोणीमा कुँदाएको अभिलेखमा नेवार आखरमा उल्लिखित नेवार शब्द नै अभिलेखहरूमा पाइएको सबैभन्दा पहिलो उल्लेख हो भन्ने देखिन्छ ।

६. पङ्क्तिकारको पहिलेको धारणा

यी सबै धारणालाई समेटेर नेवार शब्दको उल्लेख भएको यसभन्दा पनि पहिलेको अर्को अभिलेखलाई उद्धृत गरी यसबारेमा यस पङ्क्तिकारद्वारा लुभुया छह्म नेवार शीर्षकमा लुभु खानेपानी तथा सरसफाइ स्मारिका २०७५ मा एउटा लेख प्रकाशित गरिएको थियो । त्यसमा प्रमाणका लागि शङ्करमान राजवंशीद्वारा सम्पादित भूमिसम्बन्धी तमसूक–ताडपत्र भाग २ मा प्रकाशित कान्तिपुरनिवासी चित्रकार परिवारले अंश भागबन्डा गरी लिखतका रूपमा तयार पारिएको एउटा ताडपत्रलाई प्रस्तुत गरिएको थियो । उक्त ताडपत्रमा “सम्वत् ७४२ भाद्रपदशुद्धि ५ ......दृष्ट साक्षि धारनया स्वगोत्र भ्राता चैत्रकार विभु नेवा प्रमानं शुभ ।।” (पृ. २३) भनी लेखिएको छ । यहाँ लेखिएको ‘नेवा’ पद नेवार शब्दकै ‘र’ उच्चारण नगरिएको छोटकरी लेखाइ हो भन्ने कुराउपर छलफल गरी यस पङ्क्तिकारद्वारा नेवार शब्दको पूर्वरूपको पहिलो उल्लेख यही नेसं ७४२ (विसं १६७९) को अभिलेख हो भन्ने कुरामा प्रकाश पारिएको थियो ।

हालैको अन्वेषण एवं अनुसन्धानका क्रममा नेवार शब्दका विषयमा अतिरिक्त अन्य प्रमाणहरू पनि उपलब्ध हुन आएका छन् । त्यसैले यस लेखमा अहिलेसम्म प्राप्त प्राचीन अभिलेखहरूका आधारमा नेवार शब्दको पहिलो उल्लेख कुन हो भन्ने विषयमा छलफल गरी थप प्रकाश पार्ने प्रयास गरिएको छ । 

प्रसिद्ध विद्वान् कुलचन्द्र गौतमले नेपाली भाषामा टिप्पणी गर्नुभएको, संस्कृत भाषाको प्रसिद्ध कोश, अमरकोश एक दिन पढ्दै जाँदा त्यसमा पुष्पविशेषको वर्णन गर्ने क्रममा सप्तला नवमालिका (वनौषधिवर्ग श्लोक ७३) शब्दको उल्लेख पढ्न पाइयो । बनारसबाट प्रकाशित उक्त अमरकोशमा सप्तला शब्दको अनुवाद गर्दा यस्तो लेखिएको देखियो, “सप्तला २ नवमालिका २ (नवमल्लिका २) (२ कटसरैया (नेवारी विशेष) का नाम) । ‘भावप्रकाश’ मा ‘नेपाली कथिता तज्ज्ञैः सप्तला नवमल्लिका’ भनी तीन नाम कहेका छन् । नेपालीको अपभ्रंश भयेर नेवारी भयेको हो कि क्या हो ?” (पृ. १४७) । यताबाट सप्तला शब्दले नेवारी पुष्पविशेषलाई जनाउँछ भनी यहाँ उल्लेख भएको कुरा थाहा हुन आयो । 

नेपाली भाषामा अनुवाद भएको अमरकोशमा सप्तला शब्दको अर्थ नेवारी पुष्पविशेष भनी उल्लेख भएको देखिएपछि हिन्दी भाषामा यसको अर्थ कसरी गरिएको होला भन्ने विचारले भानु दीक्षितको संस्कृत टीका, हरगोविन्द शास्त्रीको हिन्दी टीका भएको, चौखम्बा संस्कृत संस्थान वाराणसीबाट विसं २०५३ मा प्रकाशित अमरकोश पल्टाउँदा सप्तला नवमालिका (वनौषधिवर्ग श्लोक ७३) शब्दको  अर्थ “सप्तला, नवमालिका (२ स्त्री), ‘वसन्ती नेवारी’ के ३ नाम है” (पृ. १९६) भनी उल्लेख गरेको पाइयो । यताबाट भारतीय परम्परामा पनि अमरकोशको सप्तला शब्दको अर्थ गर्ने प्रसङ्गमा नेवारी शब्दको उल्लेख भइआएको र यसबाट फूलको वर्णन हुने गरेको देखियो । 

यसरी अमरकोशको नेपाली भाषामा तथा हिन्दी भाषामा अनुवाद गर्दा त सप्तला शब्दको अर्थ नेवारी पुष्पविशेष भनी गरेको देखिँदा झन् प्राचीन नेवारी भाषामा नै अनुवाद/टिप्पणी गरिएका अमरकोशको हस्तलिखित पुस्तकहरूमा सप्तला शब्दको अर्थ गर्दा कुन लबजको कसरी प्रयोग गरिएको होला भन्ने उत्सुकता भयो । मल्लकालमा अमरकोशका पुस्तकहरू खास गरी ने.सं. ५०१ भाद्र, ने.सं. ५०६ चैत्र, ने.सं. ५२०, ने.सं. ५५० फागुन, ने.सं. ५९१ कार्तिक, ने.सं. ६३७ श्रावण, ने.सं. ६६२ आश्विन, ने.सं. ७१८ भाद्र, ने.सं. ७२०, ने.सं. ८०३ जेष्ठ, ने.सं. ८३१ आषाढमा सारिएका पाइएका छन् (पूर्णिमा पूर्णाङ्क १२२) । यीमध्ये पुराना तीन वटा प्रतिलाई यहाँ यस अध्ययनको प्रयोजनका लागि मुख्य आधार बनाइएको छ । ती तीन प्रति हुन्– १. ने.सं. ५०१ भाद्रमा राजा अर्जुनदेवको पालामा सारिएको प्रति, २. ने.सं. ५०६ चैत्रमा राजा स्थितिराज मल्लको पालामा सारिएको प्रति र ३. ने.सं. ५५० फाल्गुणमा राजा यक्ष मल्लको पालामा सारिएको प्रति ।    

पहिले राजा यक्ष मल्लको शासनकालमा, नेसं ५५० (विसं १४८६) मा कलेह्रदेवले नेपालभाषामा तयार पारेको हस्तलिखित ग्रन्थ अमरकोशको टिप्पणी/टीका हेर्दा सप्तला शब्दको अर्थ यसरी गरेको पाइयो : “सप्तला नवमल्लिका । नेवारि स्वान ।” (पत्र ४२) यसमा सप्तला शब्दले नेवारी फूललाई जनाउँछ भनी स्पष्टसँग लेखिएको पाइयो । यताबाट नेसं ५५० को ताडपत्रमा नेवार शब्दको उल्लेख भएको थाहा भयो । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “इति संचिन्त्य गुणिना पुत्रपोत्रादिबोधनं । श्रीमत्कलेह्रदेवेण शास्त्रं व्यक्तपदं कृतं । ... नेपालभाषया तस्मात्कृता ग्रन्थस्य टिप्पनी । इत्यमरसिंहकृतौ नामलिङ्गानुशाशनम् परिपूण्र्णटिप्पनीमिति ।। ॐ सं ५५० फाल्गुणकृष्णचतुद्र्दशीदिने लिखितमिति, शुभ ।।  ० ।।”   

(स्रोत : राष्ट्रिय अभिलेखालय रिल सङ्ख्या बी. १४/२५) 

यसरी राजा यक्ष मल्लको शासनकालमा नेपालभाषामा तयार हस्तलिखित ग्रन्थ अमर कोशको टिप्पणी/टीका हेर्दा सप्तला शब्दको अर्थ नेवारि स्वान भनी लेखिएको देखिएपछि यसभन्दा अगाडि नेसं ५०६ (विसं १४४२) मा सारिएको नेपालभाषामा टिप्पणी/टीका लेखिएको अमरकोशको अर्को प्रति हेरियो । यताबाट नेसं ५०६ को ताडपत्रमा पनि नेवार शब्दको उल्लेख भएको पाइयो । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “स्वस्ति श्रीमन्नैपालिक सम्वत्सरे ५०६ चैत्रकृष्णत्रयोदश्याम् बुधवासरे राजाधिराजपरमेश्वर परमभट्टारक श्रीश्रीपशुपतिचरणारविन्दसेवित श्रीमानेश्वरीवर लब्धप्रताप श्रीश्रीजयस्थितिराजमल्लदेवस्य विजयराज्ये माणिक्येन ग्रथित्वा लिखितेयम्” (स्रोत : युनिभर्सिटी लाइब्रेरी क्याम्ब्रिजको १६९८ सङ्ख्याको हस्तलिखित पुस्तकको पुष्पिकावाक्य । यस ग्रन्थको प्रतिच्छवि मित्र जीवन महर्जनले उपलब्ध गराइदिनुभएको हो ।) यसरी यस टीकामा पनि सप्तला शब्दको अर्थ नेवारी स्वान भनी नेवारी फूललाई जनाउँछ भनी स्पष्टसँग लेखिएको पाइयो ।


यसभन्दा पनि अगाडि नेसं ५०१ (विसं १४३८) मा सारिएको नेपालभाषामा टिप्पणी लेखिएको अमरकोशको अर्को प्रति हेर्दा त्यसमा चाहिँ सप्तला शब्दको अर्थ गर्दा नेवारी लबजको उल्लेख गरिएको देखिएन । उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिका वाक्यमा यस्तो लेखिएको छ, “श्रेयोस्तु सम्वत् ५०१ भाद्रपदशुक्लद्वादश्याम् धनेष्ठनक्षत्रे आदित्यवासरे ।। राजाधिराज परमेश्वर परमभट्टारिकश्रीश्रीजयार्जुनदेवस्य विजयराजे लिखितमिति । श्रीसातिग्लस्थानाधिवासिनः चाविहारव्येद्य श्रीजसराजनाम्नेन लिखितम् ।” (राष्ट्रिय अभिलेखालयको लेखोट पुस्तकको ४ को ५९० सङ्ख्या, रिल सङ्ख्या बी. १४र११ को पुष्पिका ।) 

यस प्रसङ्गमा यति छलफल भएपछि यसभन्दा पनि पुरानो अमरकोशको टीका भएको अर्को पुस्तकको विषयमा समेत उल्लेख गर्नुपर्ने हुन आयो । त्यो अर्को पुस्तक हो– बङ्गाली विद्वान् जातरूपले इसंको १० औँ शदीको उत्तराद्र्धमा लेखेको अमरकोशको टीका । संस्कृत भाषाका अन्य ग्रन्थहरूमा यस जातरूपटीकाको विषयमा उल्लेख गरिएको पाइए तापनि यसको मूल प्रति चाहिँ धेरै कालसम्म उपलब्ध हुन सकेको थिएन । डा. महेशराज पन्तले यसको मूल प्रति केसर पुस्तकालयमा रहेको कुरा पत्ता लगाउनुभयो । नेसं २३९ (विसं ११७६) मा ताडपत्रमा सारिएको यही अमरकोश (जातरूपटीका) को पुस्तकका विषयमा डा. पन्तले धेरै वर्ष लगाएर सूक्ष्म रूपमा विशद अध्ययन गरी ‘जातरूप’ज कमेन्टरी अन दी अमरकोष’ नामक ग्रन्थ इसं २००० मा मोतीलाल बनारसीदास पब्लिसर्समार्फत प्रकाशित गर्नुभयो । 

प्राचीन नेवारी भाषामा तयार पारिएको हस्तलिखित ग्रन्थ अमरकोशको टिप्पणी/टीकामा सप्तला शब्दको अर्थ नेवारि स्वान भनी लेखिएको र भारतीय परम्परामा अर्थात् अमरकोशको हिन्दी टीकामा पनि सप्तला नवमालिका शब्दको अर्थ ‘वसन्ती नेवारी’ के ३ नाम भनी उल्लेख गरेको देखिएकाले जातरूपटीका भएको यस अमरकोशमा पनि सप्तला शब्दको अर्थको विषयमा के लेखिएको होला भनी हेर्दा त्यसमा समेत सप्तला शब्दको अर्थ नेवालीपुष्पं सप्तला (पृ.२२०) भनी स्पष्टसँग लेखिएको पाइयो । रलयोरभेदः अर्थात् र एवं ल मा भेद हुँदैन भन्ने मान्यता अनुरूप यहाँ नेवाली लेखिएको देखिन्छ । त्यसैले अमरकोशको नेपाल भाषामा टिप्पणी गरिएका अन्य हस्तलिखित ग्रन्थहरूका आधारमा नेवालीपुष्पंले नेवारी फूललाई नै जनाएको स्पष्टै देखिन्छ । अझ यसले नेवार शब्दको पूर्वरूप नेवाल नै हो कि भन्ने कुरातर्फ इङ्गित गर्न खोजेको पनि देखिन्छ । निकै परिश्रमसाथ सम्पादन गरी प्रकाशित गरिएको यस ग्रन्थमा रहेको यति महत्वपूर्ण पदावली नेवालीपुष्पं लेखिएको देखिए तापनि यस शब्दउपर भने डा. पन्तले खासै चर्चा चलाउनुभएको देखिँदैन । 

उक्त हस्तलिखित अमरकोश ग्रन्थको पुष्पिकावाक्यमा यस्तो लेखिएको छ, “अमरकोशटीकेयम् समाप्तेति । सम्वत् २०० ३० ९ श्रावणकृष्णदिवाष्टम्याम् राजाधिराज परमेश्वर श्रीशिवदेवस्य विजयराज्ये लिखितेयम् टीकेति । तत्वबीज आकारः शाकारश ।” (राष्ट्रिय अभिलेखालयको लेखोट पुस्तकको ४ को ५९० सङ्ख्या, रिल सङ्ख्या सी १२१/१ को पुष्पिकावाक्य । डा. पन्तको उही पुस्तक पृ.६७ ।) यसरी नेसं २३९ मा सारिएको ताडपत्रमा नेवाली शब्दको स्पष्टसँग उल्लेख भएको देखियो ।

यसरी अहिलेसम्म उपलब्ध प्रमाणहरूका आधारमा गरिएको अध्ययनको निष्कर्षका रूपमा भन्नुपर्दा, माथि छलफल गरेबमोजिम, नेसं २३९ (विसं ११७६) मा राजा शिवदेवको शासनकालमा ताडपत्रमा सारिएको, अमरकोश (जातरूपटीका) को वनौषधिवर्गको श्लोक ७३ को टीकामा सप्तला शब्दको अर्थ गर्दा नेवालीपुष्पं भनी लेखिएको नेवाली लबज नै नेवार शब्दको सर्वप्राचीन उल्लेख हो भन्ने कुरा स्पष्ट हुन आउँछ । यताबाट नेवार शब्दको प्राचीन रूप आजभन्दा ९०३ वर्ष पुरानो ठहरिन आएको छ ।

https://gorkhapatraonline.com/news/67977


कवि दुर्गालालको छवि

 समीक्षा

सुरेश किरण

फागुन १९, २०८० शनिबार १३:१६:४०


कवि दुर्गालाल श्रेष्ठको जीवन भाषिक समानता र पहिचान आन्दोलनको समानार्थी पनि हो।

दुर्गालाल श्रेष्ठ मूलतः नेपालभाषाका कवि–लेखक हुन्। तर उनको लेखनले यति शक्ति आर्जन गरिसकेको छ कि त्यसको गुरुत्वले नेपालका अन्य भाषाका साहित्यप्रेमीहरू समेत आकर्षित छन्, उत्तिकै लोकप्रिय छन्। खासगरी पछिल्लो दशक सार्वजनिक भएको उनको कालजयी गीत ‘फूलको आँखामा फूलै संसार’ले उनको परिचयलाई देशभित्र र देशबाहिर पनि व्यापक गरिदिएको थियो। ‘फूलको आँखामा’ उनको ‘मास्टर पिस’ नै बनिसकेको छ।

तर दुर्गालाल ‘फूलको आँखा’मा मात्र सीमित छैनन्। ‘फूलको आँखामा’ उनको काव्य–सागरको एक थोपा मात्रै हो। दुर्गालालको व्यक्तित्व र कृतित्व त्योभन्दा निकै व्यापक छ। उनको विराट व्यक्तित्वलाई पाठकमाझ दुरुस्त चिनाउने कृतिको रूपमा लेखक आर. मानन्धर लिखित जीवनी पुस्तक हालै मात्र सार्वजनिक भएको छ, ‘कवि–कविताको छवि ः दुर्गालाल श्रेष्ठ’। हुन त दुर्गालालको जीवनी दुई सय पृष्ठको कुनै पुस्तकमा अटाएर सकिने कथा होइन। तर लेखकको लेखन कुशलताले दुर्गालालको जीवनी मात्र होइन, उनका रचनाहरूको अन्तरकथासमेत एउटै पुस्तकमा अटाएर पूर्णता दिएको छ। आफूसँग उपलब्ध सामग्रीको भण्डारलाई एक एक निखन्दै यो आकारमा ल्याउन लेखकले सामग्री संकलनमा मात्र होइन, तिनलाई पाठकमैत्री शैली र आकारमा उतार्नसमेत उत्तिकै मेहनत गरेको देखिन्छ।

काठमाडौंको मध्यसहरका रैथाने भए पनि दुर्गालाल एक अत्यन्त गरिब बाबुका छोरा थिए। गरिबीमा गुज्रिएको दुर्गालालको जीवनको यस पक्षलाई लेखकले पुस्तकमा मार्मिक ढंगले उतारेका छन्। दुर्गालालको जन्मै पनि त्यही गरिबीका कारण उत्पन्न घटनाक्रमको एक चरणमा भएको थियो। गरिबीमा बितेको दुर्गालालको बाल्यकाल र त्यससँगै चुलिँदै गएको उनको प्रतिभाका महत्त्वपूर्ण प्रसंग पुस्तकमा छन्। 

अचम्मका घटना र साथमा दुर्घटनाहरू पनि, दुर्गालालको जीवनमा धेरै घटे। त्यसमध्ये जीवनलाई नै मोड्न समर्थ भएका निर्णायक ‘टर्निङ प्वाइन्ट’हरूलाई पुस्तकले चलचित्रझैं पाठकको आँखा प्रत्यक्ष देखिने गरी सजीव चित्रण गरेको छ। धेरै सुनिएको घटना हो, दुर्गालाल ११ वर्षको हुँदा एक पटक टोलमा दबु प्याखं (डबलीमा देखाइने नाटक) देखाउन तयारी भइरहेको रिहर्सल हेर्न पुगेका थिए। ढोकाको प्वालबाट भित्र हेर्दै गर्दा कसैले भित्रबाट औंलाले घोचिदिँदा उनको आँखामा चोट लाग्न पुग्छ। त्यही झोंकमा उनको मित्रमण्डलीले पनि नाटक बनाएर देखाउने प्रण गर्छन्। नाटक लेख्ने जिम्मा दुर्गालालले लिन्छन्। उनीहरूको नाटक सबैले मन पराइ पनि दिन्छन्।

यसरी एघारै वर्षको उमेरमा सुरु भएको उनको नाटक लेखन अन्ततः काव्यको राजमार्ग हुँदै साहित्यको महासागरसम्म पुग्छ। र, दुर्गालालनामक एक विशाल व्यक्तित्वको निर्माण हुन्छ। दुर्गालालको जीवनमा भएका यी घटनाहरूलाई पुस्तकमा सविस्तार प्रस्तुत गरिएको छ। प्रेम दुर्गालालको साहित्य रचनाको सबैभन्दा निख्खर पृष्ठभूमि हो। उनले प्रेमबाटै काव्य रचना सुरु गरेका थिए। प्रेमबाट सुरु भएको उनको सिर्जना त्यसपछि क्रमशः क्रान्ति, आन्दोलन, दर्शन हुँदै अध्यात्मसम्म विस्तार हुँदै जान्छ। झन् अहिले त उनका कविताहरू मृत्युबोधले ओतप्रोत हुन थालेका छन्। मृत्युबोधकै भाव प्रकट हुने गरी उनले ‘संघारैनेर’ कविता संग्रह नै प्रकाशित गरेका छन्। त्यही भावमा उनले एउटा कविता लेखेका छन्–
कुर्ने क्षण तर सबभन्दा पछि
मेरै मृत्यु म जब कुर्छु
उसले पनि अत्याए भगवन्
म त अति मर्माहत हुन्छु।

अहिले मृत्युभावसम्म पुगेका उनका कविता कुनै बेला प्रेमभावबाटै सिर्जना हुने गर्थे। प्रेम उनको प्रखर भाव पक्ष छ। प्रेमकै कारण उनको विवाहसमेत अकल्पनीय ढंगले सम्पन्न हुन पुगेको थियो। तर पुस्तक पढ्दा थाहा हुन्छ, दुर्गालाल यो ९० को वयमा समेत कसैको प्रेममा मग्न भएका रहेछन्। अव्यक्त त्यो प्रेम दुर्गालालका समसामयिक गीतहरूमा व्यक्त भइरहेका छन्। दुर्गालालका रचनाहरू सिर्जिनुका पछाडि विभिन्न घटनाको संयोजन रहने गर्छन्। खासगरी उनका नाटकहरूमा कुनै यथार्थ घटनाकै कलात्मक प्रस्तुति हुन्छन्। यसरी उनका रचना किन र कुन पृष्ठभूमिमा सिर्जना भए भन्ने गर्भकथा पनि पुस्तकमा छन्। उनको सर्वाधिक लोकप्रिय गीत ‘फूलको आँखामा’ समेत गायिका आनी, संगीतकार न्ह्यू बज्राचार्य र उनीसमेतको सांगीतिक जमघटमा केही क्षणको अवधिभित्रै सहज प्रवाहमा सिर्जना हुन पुगेको रहेछ। कवि र कविताबारे विशिष्ट जानकारीहरूको सघनताले कवि व्यक्तित्वलाई अझै उज्ज्वल बनाइदिएको छ।

दुर्गालालको जीवनमा धेरै व्यक्ति जोडिए, धेरै व्यक्तिबाट उनी प्रभावित भए। धेरै व्यक्तित्वबारे दुर्गालालले लेखे पनि। उनीसँग भौतिक रूपमै वा मात्र अभिप्रेरकका रूपमा सम्बन्धित हुन पुगेका अहम् व्यक्तित्वहरू सहिद शुक्रराज शास्त्री, महाकवि सिद्धिदास अमात्य, केदारनाथ न्यौपाने, पुष्पलाल श्रेष्ठ, मंगलमान प्रधान आदिका परिचय जोडिएर मुख्य जीवनीको वरिपरि उपकथाहरू बुनिएका छन् पुस्तकमा। केही खलपात्रका कथा पनि उनको लेखनको प्रेरणा बनेका छन्। जस्तै, राजा अजातशत्रु, रणबहादुर शाह आदि। उनको रचनाको आरम्भ प्रेम–काव्यबाट भएको थियो। उनलाई तत्कालीन नेपालभाषा काव्य विधाका सेतु मानिन्छ। उनीभन्दा अघिसम्म नेपालभाषा साहित्यमा प्रवाहित काव्य धारा दुर्गालाल पछि नयाँ मोडमा पुगेको मानिन्छ। त्यसैले उनलाई नेपालभाषा काव्यको पुरानो र नयाँ पुस्तालाई जोड्ने पुल मानिएको हो।

दुर्गालाल यस्ता कवि हुन्, जसले गएको साढे सात दशकदेखि आजको मितिसम्म पनि निरन्तर लेखिरहेछन्। तसर्थ दुर्गालालको काव्य प्रवाह भन्नु नै नेपालभाषाको आधुनिक काव्य प्रवाहको अविछिन्न इतिहास भन्दा फरक नपर्ला। लेखक आर. मानन्धरले दुर्गालालको काव्य लेखनको यो विशिष्टतालाई प्रयोग गरी नेपालभाषा काव्य प्रवृत्तिको छोटो इतिहास पनि दर्शाउन भ्याएका छन्। दुर्गालालले नेपालभाषामा लेखेका विशेष महत्त्वका कविताहरूलाई नेपालीमा उल्था गराई सप्रसंग पनि छन्। यसले एउटा कविको जीवनीलाई पूर्णतया काव्यमय बनाइदिएको छ।

अर्को प्रसंग, दुर्गालालको जीवन भाषिक समानता र पहिचानको आन्दोलनको समानार्थी पनि हो। उनी आफूलाई साहित्यकारभन्दा पनि भाषिक आन्दोलनको एउटा सिपाही भन्न रुचाउँछन्। त्यसैले उनको जीवनी यो आन्दोलनको इतिहास पनि हो। दुर्गालालको जीवनलाई माध्यम बनाई रचिएको यो पुस्तक स्वतः नेपालको भाषिक, जातीय आन्दोलनको अभिलेख पनि बन्न पुगेको छ। दमनको उत्कर्षमा नै तीव्रता हासिल गरेको काठमाडौं केन्द्रित पहिचान आन्दोलनको एक संक्षिप्त इतिहास पनि बनेको छ पुस्तक।

यी सबैको अलावा, दुर्गालाल काठमाडौंको ‘कोर सिटी’का बासिन्दा हुन्। गएको सय वर्षमा काठमाडौं सहर कसरी परिवर्तन हुँदै आएको छ भन्ने जीवन्त विवरण पनि कवि जीवनका प्रसंग पनि यसमा छ। कवि जीवनलाई सुहाउने गरी एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित यो पुस्तकको भाषा सरल र सुन्दर काव्यिक प्रवाहमा बगेको छ। केही ऐतिहासिक र महत्त्वपूर्ण तस्बिरहरू पनि राखिएका छन्। अन्तमा, पुस्तकबारे स्वयं कवि दुर्गालालले समेत भनेका छन्– ‘म अब यो शरीरमा हैन, त्यो किताबमा छु। लेखकले मलाई शतप्रतिशत किताबमा उतार्नु भएको छ।’

https://annapurnapost.com/story/453076/


सत्यको खोज : देशको खोज

 समीक्षा

गोपीकृष्ण ढुंगाना

फागुन १९, २०८० शनिबार १०:४७:१४


सत्यमोहन जोशीले कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्‍याए, चिनाए ? आदि ‘सत्यको खोज’भित्र छन्।

‘नेपालमा थुप्रै इतिहास छन्। मल्लकालीन इतिहास छन्, शाहकालीन इतिहास छन्। तर, मुलुकको इतिहास छैन। मेची–महाकाली जोड्ने इतिहास छैन। नेपाली–नेपाली जोड्ने इतिहास छैन।’ नेपाल प्रज्ञा प्रतिष्ठानको २०२६ सालमा गठित नयाँ प्राज्ञ परिषद्को पहिलो बैठकमा सदस्य सूर्यविक्रम ज्ञवालीले नवनियुक्त कुलपति केदारमान व्यथितलाई भनेका वाक्य हुन् यी। २६ सालमा एकेडेमीको नयाँ विधान बनेको पाइन्छ। त्यसअघि राजा कुलपति हुने चलन थियो। पहिलोपटक जनताको छोरो कुलपति बनेको अवस्था थियो त्यो। कुलपति व्यथितले भन्नुभएछ, ‘प्राज्ञज्यूहरू ! म बिल्कुल नवीन छु। म काम गर्न खोज्दैछु। के गर्दा उपयुक्त हुन्छ ? सुझावको अपेक्षा गर्दछु।’ त्यसपछि ज्ञवालीले यस्तो सुझाव दिएको सन्दर्भ शताब्दी–पुरुष सत्यमोहन जोशीले ‘सत्यको खोज’मा साहित्य एवं सञ्चारकर्मी जितेन्द्र रसिकलाई बताएका रहेछन्।

त्यसपछि ज्ञवालीले निचोढ सुनाएछन्, ‘त्यसकारण तपाईंको नेतृत्वमा सर्वप्रथम राष्ट्रको पूर्ण इतिहास लेखियोस्।’ सत्यको खोजभित्र सर्वाधिक महत्त्वपूर्ण सन्दर्भ छ यो। राष्ट्रिय सबालमा सबैभन्दा घतलाग्दो यो विषय सम्भवतः २०२६ सालपछि अर्थात् ५५ वर्षपछि आज सबैभन्दा पुरानो आमसञ्चार माध्यम अर्थात् पुस्तकमा पुनः उठाइएको हुनुपर्छ। नेपाल र नेपाली कमजोर भएको पनि ज्ञवालीले उठाएका यिनै तीन मूलकुरा नहुनुले हो– ‘नेपाली–नेपाली जोड्ने, मेची–महाकाली जोड्ने इतिहास नभएर। मूलतः नेपालको खास इतिहास नभएरै हो।’ ‘मभन्दा माथि मेरो देश’ भन्ने नेपाल र नेपालीको चुरो–कुरो यो वाक्यांशलाई मूलमन्त्र बनाउन नसक्दा हामी नेपाली र हाम्रो देश नेपाल आजसम्म पछाडि परिरहेछ। देश विकास हुन सकिरहेको छैन।

अनि हामी नेपाली समृद्ध हुन सकिरहेका छैनौं। झन्डै तीन करोड नेपालीको सामूहिक हित यो ‘चुरो–कुरो’ उत्खनन गर्दिएकोमा यतिबेला सत्यमोहन जोशी र जितेन्द्र रसिक दुवैलाई अन्तरमनबाटै विशेष धन्यवाद दिन्छु। सत्यमोहन त्यस प्राज्ञ परिषद्मा सदस्य भएकाले प्रतिष्ठानका तत्कालीन गतिविधि (इतिहास) यसरी छताछुल्ल हुन सकेका हुन्।

लाग्छ, राजनीतिबाट यो काम सम्भव छैन। इतिहासकारले पनि यसलाई महत्त्व दिन चाहेनन् वा सकेनन्। त्यसैले लागिरहेछ, साहित्यकारबाट मात्र अब यो काम सम्भव छ। साहित्यकारले नै उठान गरेको यो विषय साहित्यकारले नै बैठान गर्नुपर्छ भन्ने सन्देश पनि यो पुस्तकले दिएको छ। पुस्तकमा सत्यमोहनले भन्नुभएको रहेछ– ‘परिवर्तित समयको प्रभावले कामको गतिलाई किचिदियो। ज्ञवालीको त्यो जोस, जाँगर र मेहनत अलपत्रै पर्‍यो। उनले सुरु गरेको इतिहास लेखनको कामलाई त्यसपछि कसैले कोट्याएनन्।’ हो, त्यसैले साहित्यकारहरूले यतिमात्र गर्न सक्यौं भने पनि ‘सत्यको खोज’ले सार्थक परिणाम पाउनेछ। सत्यमोहन जोशीप्रति पनि सच्चा श्रद्धाञ्जलि हुनेछ। लेखकले खर्चिएको दशकको मेहनतको पनि कदर हुनेछ। तीन करोड नेपालीलाई समेत गौरव हुनेछ अनि नेपालको शिर विश्वमा सदा उचो बन्नेछ, बनिरहनेछ।

त्यसो त सत्यको खोजभित्र यस्ता अनेक सन्दर्भ छन्। जब यो पुस्तक हात पर्‍यो, तब थाहा भयो– यस्ता अनेकौं राष्ट्रिय विषय, सन्दर्भ र घटनाहरू रहेछन् सत्यको खोजभित्र। सत्यमोहनले सय वर्ष पार गरेपछिको अन्तर्वार्तामा आधारित रहेछ यो पुस्तक। जुन पढेपछि मलाई छटपटी भयो। सत्यमोहनले निधनअघि नै मलाई आफूसँग भएका यस्ता गहन खुराक समेटेर पुस्तकमा उतार्नु भन्नुभएथ्यो। भन्दाभन्दै पनि मैले यो काम किन गरिनँ ? दस वर्षअघि अन्तर्वार्ताका क्रममा जोशीकै निवास बखुम्बहा पुग्दा भन्नुभएथ्यो, ‘मसँग भएका ज्ञानगुनका कुरा किताबमा उतार्न पाए हुने।’

जे होस्, कसै न कसैले यो काम गर्‍यो। इतिहासका छुटेका पानाहरू समेटिए पुस्तकमा। रसिकलाई यसकारण पुनः धन्यवाद। इतिहास लेखिनै पर्छ नत्र कसरी नयाँ पुस्ताले यति महत्त्वपूर्ण खुराक जान्न बुझ्न पाउँछन् र ? जोशीको निधनपछि त्यसबेला सबै अखबारमा धेरथोर सत्यमोहन लेखिए। धेरै सामग्री त अन्नपूर्ण पोस्ट्मै छापिए। पंक्तिकार फुर्सद र ओपेडको मूल जिम्मेवारीमा बस्नु र इतिहास बोकेका संस्कृतिविद् जोशीलाई नजिकबाट चिन्नुले पनि यसरी छापिएको हो। अनि लाग्यो, यी सबै लेख, आलेख, समाचार, सम्पादकीय समेटेर एउटा ग्रन्थ त तयार पार्नैपर्छ नत्र यी यसै हराएर जानेछन्, नदीमा बगेको पानीजस्तै कहीँकतै पुगेर हराउनेछन्। ती सामग्री समेट्न सकें भने १० वर्षअघि सत्यमोहनले गरेको मप्रतिको भरोसा पनि पूरा हुनेछ। विश्वासको गुन तिर्नेछु। यी सबै संयोगको परिणाम हो, म गोपीकृष्ण ढुंगानाको परिकल्पना, संयोजन र सम्पादनमा भुँडीपुराण प्रकाशनले छापेको ४२४ पृष्ठको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन।’ लाग्छ, सत्यको खोज र शब्दबिम्बमा सत्यमोहन परिपूरक बनेर सत्यमोहन र नेपाललाई प्रतिबिम्बित गरिरहनेछन्।

‘शब्दबिम्बमा सत्यमोहन’मा टेकेर अर्को कृति लगभग तयार छ, ‘समीक्षकको कसीमा शब्दबिम्बमा सत्यमोहन’ शीर्षकमा। गिरीश गिरीले ‘सत्यमोहन’ नामक पुस्तक लेखेका छन्। यसरी उसरी जसरी पनि सत्यमोहन र उनका योगदानलाई लिपिबद्ध गर्न सक्यौं भने देशको इतिहास लेखिनेछ। हुन त, यी सबै सन्दर्भ भन्न र जोड्न जरुरी थिएन, तर छ पनि। किनकि सबै सन्दर्भ शताब्दी पुरुषसँगै सम्बन्धित छन्। सत्यमोहनका एक होइन, अनेक पाटा जान्नु, बुझ्नु र खोतल्नु जरुरी छ। नखोतलिएका थुप्रै पक्ष सार्वजनिक गर्नु छ। एक जनाले हेर्ने र लेख्ने भनेको एउटा आँखाले मात्र हो, त्यसैले हामी सबैले आआफ्ना आँखाले सत्यमोहनलाई हेर्नु छ, लेख्नु छ। जसरी ‘सत्यको खोज’मा रसिकले सत्यमोहनलाई भिन्न आँखाले हेरेका छन्। अनेक सत्य खोतलेका छन्। उनले यस पुस्तकलाई सात खण्डमा विभाजन गरेर सत्यमोहनको सिंगो जीवन उतारेका रहेछन्।

यसमा मेरो फरक बुझाइ छ, सत्यको खोज सत्यमोहनबारेको मात्र खोज होइन, समग्र नेपालबारेकै खोज हो। यसकारण पनि यो सत्कर्म प्रसंशनीय छ। सत्यमोहनभन्दा २० वर्ष कान्छा अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले यसै पुस्तकमा भन्नुभएको छ, ‘जोशी दाइको सिंगो जीवनका सांगोपांगो जीवनाभूति आउने गरी लेखक जितेन्द्र रसिकले लेखेको यो कृति नयाँ पुस्ताका लागि मार्गनिर्देशक बन्न सक्छ।’ र, यथार्थ पनि यही हो। ग्वंगःको भनाइ किन पनि यथार्थ हो भने पुस्तकका सात खण्डभित्र जोशीका बाल्यकाल, शैक्षिक यात्रा र सरकारी सेवामा प्रवेश, जन्मथलोबाट लमजुङ, न्युजिल्यान्ड र पोखरा पुगेर गरेका सन्दर्भ, राजा महेन्द्रको ‘कू’, विश्व बौद्ध सम्मेलन र चीनमा अरनिकोको खोज, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जोशीको यात्रा, उनले तीन पटक मदन पुरस्कार पाएका सन्दर्भ र विविध सामग्री समेटिएका छन्। जसभित्र १९९० सालदेखि २०७२ सालको भूकम्पसम्मका अनुभव छन्। एउटा खरदार कसरी एकैपटक डाइरेक्टर बने ? र त्यत्रो जिम्मेवारी कसरी सम्हाले ? काठमाडौंको नेवार समुदायको उनी कसरी नेपालका कुनाकाप्चा पुगे त्यो बेला ? र नेपालको लोकसंस्कृतिको गहन अनुसन्धान गरे ?

कसरी तीन–तीनपटक नेपालको सर्वाधिक ठूलो राशिको पुरस्कार पाएर आजसम्म इतिहास बचाइराखे ? अनि कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्‍याए, चिनाए ? आदि यस्तै थुप्रै विषय, सत्य र तथ्य रसिकको सत्यको खोजभित्र छन्। ज्युँदो इतिहास लिपिबद्ध गरेकोमा लेखक जितेन्द्र रसिक बधाइका पात्र बनेका छन्।

https://annapurnapost.com/story/453077/

युगकविको काव्यिक चेतना

डिल्लीराम मिश्र ‘कलमजीवी’

पुष २८, २०८० शनिबार १२:१३:३६


 नेपाली साहित्यमा नयाँ चेतनाको गन्तव्य देखाउने युगकवि सिद्घिचरण श्रेष्ठ जसले आफ्नो सर्वस्व त्यागे, तर साहित्य त्याग गर्न सकेनन्।

तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षःस्थलमा
यो कविको शैशवकाल बित्यो

हाँस्यो खेल्यो वन कुञ्ज घुम्यो
मेरो पियारो ओखलढुंगा !

युगकवि सिद्धिचरण श्रेष्ठ

नेपाली काव्यक जगत्मा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट र ओजस्वी स्थान छ। नेपाली साहित्यजगत्का सुविख्यात् कविमध्ये सिद्धिचरण एक हुन्। उनको कविताशिल्पको अन्तिम खोज भनेकै मानव हो। सिद्धिचरणका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ। समाज सुधार्ने सामथ्र्य र उर्जत्व छ। उनका कवितामा देशप्रेम र चरम राष्ट्रभक्ति छ। उनका कवितामा प्रकृतिको जति उपासना र आराधना छ, त्यति नै राजनीतिक चेतना र संवेदनाको सहज धारा–प्रवाह र गूढ वेदना जीवन्त छ। उनी ज्यादै गहिरो आन्तरिक कल्पनामा डुबेर असीम आकाशमा उड्न पुग्छन्।

प्रकृतिको चित्रणतिर दृष्टि दिएर पनि रहस्यवादी बन्छन्। आशावादी भएर पनि भित्री दर्दको मधुर–धारा ओकल्न सक्नु एवं अतृप्त पिपासुहरूलाई तृप्त गराउन सक्नु उनको कवित्व प्रतिभाको अविनाशी क्षमता हो। वेदनात्मक भावना सुन्दर शैलीबाट प्रकाश गर्नुमै उनको बैशिष्ट्य छ। त्यसैले उनी छन्दको पर्खाललाई नाघेर मुक्तक छन्दको मैदानमा पुग्छन्। काव्यिक माध्यमद्वारा समाजलाई माथि उठ्ने चेतना दिनु उनको अर्को वैशिष्ट्य हो। यसकारण सिद्धिचरणका कवितामा विरोधाभाष छैन, परन्तु सामाञ्जस्य छ। प्रकृतिको अत्यन्त सरलचित्रण गर्नु तथा राष्ट्र र समाजलाई उठ्न चेतना प्रवाह दिनु उनको लेखनकलाशिल्पको वैशिष्ट्य हो।

नेपाली साहित्य समाजमा चेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृतिकवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी सर्जक तथा युगकविका रूपमा अमर अजर छन्। नेपाली काव्यसाधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उनका समकालीन सर्जक–स्रष्टाभन्दा धेरै पृथक् छ। मानवमात्रका लागि बन्दनीय व्यक्तित्व सिद्धिचरणले आधुनिक नेपाली भाषासाहित्यको प्रवद्र्धनमा ऐतिहासिक योगदान पुर्‍याएका छन्। उनका कवितामा क्रान्तिचेतना मात्र हैन, काव्यपरम्परामा प्रकृतिको प्रयोग र स्वकीयता बढी बुलन्द छ। त्यसैले कवितात्मक शैलीमा सिद्धिचरण युगको आवश्यकता थिए।

नेपाली साहित्यमा नयाँ चेतनाको गन्तव्य देखाउने सिद्धिचरण जसले आफ्नो सर्वस्व त्यागे, तर साहित्य त्याग गर्न सकेनन्। किनकि साहित्य राजनीतिभन्दा दर्जनौं गुनामाथि छ। कुनै पनि मुलुकको राजनीति त्यहाँको साहित्य र संस्कृतिमार्फत निर्देशित हुनेगर्छ। यस अर्थमा सिद्धिचरण नेपाली साहित्यमा सिर्जनशीलताको प्रतीक मानिन्छन्। उनको अत्यन्तै लोकप्रिय, सर्वप्रिय र कर्णप्रिय गीतिकविता मेरो प्यारो ओखलढुंगा एक कालजयी सिर्जना हो।

नेपाली शोककाव्य जगत्मा कविवर माधवप्रसाद घिमिरेको जीवन्त सिर्जना गौरीको जुन स्थान र परिचय छ, देशभक्तिको भावनामा सिद्धिचरणकोे ओखलढुंगा कविताको त्यही स्थान छ। केही वर्षअघि युगकवि सिद्धिचरण पुरस्कार समर्पण समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा मेरो प्यारो नेपाल हो भन्ने मर्मस्पर्शी उद्गार व्यक्त गरेका थिए, जसबाट सिंगो राष्ट्रको आत्म बोल्छ। नेपाली राष्ट्रप्रेमप्रति मार्मिक चेतना–प्रवाहमा रहेको उनको एक कवितांश –
    क्यारुँ म यो देश निमित्त क्यारुँ
    नाचु कि गाउँ कि गला मिलाऊँ !
    सहर्ष काटी शिर नै चढाऊँ 
    या श्वास जम्मै यसमै मिसाऊँ !

नेपाली भाषासाहित्यको क्षेत्रमा १९५१ सालदेखि २००० सम्म अर्थात् यो आधा शताब्दीबीच देशमा जति पनि कविलेखक, साहित्यकार एवं वाङ्मयिक साधक सर्जकको जन्म भएबाट यस युगलाई स्वर्ण युग मानिएको छ। युगकवि सिद्धिचरण यसै युगका एक कालजयी प्रतिमूर्ति हुन्। त्यसैले प्रतिभा जन्मनु संयोगको कुरा हो सारको हैन। यसकारण त्यहाँदेखि यहाँसम्म आइपुग्दा दर्जनौं दर्जन उत्कृष्ट प्रतिभाको जमघट त्यस युगमा भएको छ। गुणात्मक र संख्यात्मक दुवै दृष्टिकोणबाट पनि यसलाई अत्यन्त सम्पन्न र वैभवशाली समय मानिएको छ।

यसै युगको बीचतिर १९६९ जेठ ९ गते पूर्वी नेपालको रमणीय जिल्ला ओखलढुंगामा सिद्धिचरणको जन्म भएको हो। उनले सर्वप्रथम १९९१ सालमा गोरखापत्रमा भुइँचालो शीर्षकृत कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका हुन्। राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्ने उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा सुन्दर साहित्यचेतना– प्रवाह गरेको छ। उनका कवितामा एकातर्फ प्रकृतिप्रेम र मानवीय संवेदना प्रतिबिम्बित छ भने अर्कोतर्फ समाज सुधारको पक्ष पनि दरो रूपमा मौलाएको छ।

सफल प्रकृति चित्रण र समाजलाई युगबोध चेतनातर्फ अभिप्रेरित गर्नु कविको वैशिष्ट्य कर्मसाधना हो। उनी कर्मसाधनालाई पूजा गर्छन् र सम्मान पनि। मुलुकभित्र नेपाली समाजमा जनचेतना र जागरण अभिवृद्धि गर्ने कार्यमा अन्य साहित्यिकहरूले जस्तै उनले पनि गहन भूमिका खेलेका छन्। तत्कालीन राजनीति र साहित्यिक जगत्मा विद्रोह र नवक्रान्तिको शंखघोष गर्ने प्रातः स्मरणीय विशिष्ट प्रतिभा युगकविले कविताको माध्यमद्वारा युगचेतना र जागरणको आन्दोलन आरम्भ गरेका हुन्। नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखरपुरुष गणेशमान सिंहलाई गणेशमान बनाउन सिद्धिचरणको स्तुत्य भूमिका रहेको तथ्य स्वयंले स्वीकार गरेका छन्।

नेपाली साहित्यको समालोचना क्षेत्रमा अधिकतम् सन्तुलित, स्पष्ट र दिशानिर्देश दृष्टिकोण क्षमता राख्न सक्ने विशिष्ट विद्वान् समालोचक यदुनाथ खनाल हुन्। उनले सिद्धिचरणको काव्यकारितालाई लिएर लेखेका छन्– बीसौं शताब्दीको तेस्रो दशकतिर सूर्यविक्रम ज्ञवालीले उनका कवितामा रहेका उल्लेखनीय गुणप्रति ध्यान आकर्षण गरेपछि लगातार उनी हाम्रो साहित्यिक रंगमञ्चमा पहिलो पंक्तिमा छन्। यसकारण उनलाई बुझ्ने र सम्झने तथा सम्भवतः उनलाई कविको रूपमा मूल्यांकनसमेत गर्ने ध्येयले केही वर्षसम्म चिन्तन गरें। उनका कविताहरूमा विशेष गरेर मेरो प्रतिबिम्ब भन्ने संग्रह र लामो उर्वशी खण्डकाव्य दोहर्‍याइ–दोहर्‍याइ पढें। रत्नध्वज जोशी र विजयबहादुर मल्ललगायतले उनको विषयमा लेखेका आलोचनात्मक लेखहरू पनि पढें।

लाग्छ, अझै बुझ्न सकेको छैन। उनी सधैं केही अलग र दूर रहेकाजस्ता छन्। सिद्धिचरणप्रति यदुनाथद्वारा गरिएको यो गम्भीर समालोचकीय मूल्यांकन पनि हो। नेपाली साहित्यका विशिष्ट प्रतिभा समजस्तै सिद्धिचरण पनि एक उत्कृष्ट मानवतावादी कवि हुन्। उनको कविताको अन्तिम खोज मानव नै हो। सिद्धिचरणको साहित्यिक पेरिफेरिमा घुलमेल हुने संवाहक उर्जत्वलाई लिएर यदुनाथ पुनः लेख्छन्– उनको जीवनव्यापी कविताको उपासना छर्लंगिने इमानदारी, प्रतीकको अपरिचितता र अर्थको क्लिष्टतासँगको अधैर्य जीवनको वाजीमा पस्ने व्यक्तित्व, सुधारतर्फ प्रवृत्ति, स्वतन्त्रताप्रति गम्भीर संलग्नता– यी सबै गुणले उनको कविताले नेपाली कविताका सबै प्रेमीलाई चिरकालसम्म मुग्ध गर्न सक्छ।

आफूले जाने, भोगेको विषयमा उनी जुन तीव्र विश्वासका साथ लेख्छन्, त्यसलाई बिरलैले उछिन्न सक्छन्। उनको विषय आफैं नै हो, उनको अनुभव विशिष्ट पनि छ। मूल्यावान् पनि छ, जसले गर्दा हामी उनको कवितातिर ढल्कन्छौं। उनको कवितामा सार्वजनिनता छ। मानिसले जाग्नुपर्छ र दुःख अनुभव गर्नुपर्छ, यो उनको कविताको सन्देश हो। यस क्रममा उनको मेरो प्रतिबिम्ब कविताका यी पंक्ति–
आकृति हो तर रूपविहीन
भाषाको तर भावविहीन् !
 

नेपाली साहित्यमा महाकवि देवकोटाजस्तै स्वच्छन्दतावादी कवि सिद्धिचरणले कविता लेखनसँगै कवितामा क्रान्ति शव्दको प्रयोग गरेपछि राणा सरकारले उनलाई कैद सजाय र सर्वस्वहरणको घोषणा गरेको थियो। १९९५ माघमा वर्षा शीर्षकको कविता लेखेकाले सर्वस्वहरणसहित २० वर्ष कैद सजाय तोकी राणाहरूले उनलाई जेल पठाए। तर उनी २००२ सालमै जेलमुक्त भए। राणाशासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान पुर्‍याए। यस क्षेत्रमा विशिष्ट योगदान गरेका युगकविले नेपाली र नेवारी भाषामा झन्डै दुई दर्जन कृति साहित्य भण्डारलाई अर्पण गरेका छन्।

नेपाली साहित्य समाजमा चेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी सर्जक तथा युगकविका रूपमा अमर अजर छन्।

झन्डै सात दशकको सक्रिय जीवनकालमा भाषासाहित्य, कलासंस्कृति, सामाजिक एवं राजनीतिक चेतनाका संवाहक रहँदै ८० वर्षको दीर्घायु जीवन भोग गरे। २०४९ जेठ २२ गते जन्मेकै महिनामा शिक्षण अस्पतालमा उनको देहावसान भयो। स्वाध्याय सम्पन्न जन्मजात प्रतिभा सिद्धिचरणले २०४४ वैशाखमा भनेका थिए– अब ८/९ दिनमा म ७६ वर्षमा प्रवेश गर्न लागिरहेको छु। बेलाबेलामा केही लेखियो ती सबै रचनाहरूलाई छाडेर म अब कति दिन रहन्छु ? जीवनमा यस्तै हुँदा रहेछ भन्दै गर्दा त्यसको पाँच वर्षपछि उनको स्वर्गारोहण भयो।

सिद्धिचरणको चर्चित उर्वशी, कोपिला, मेरो प्रतिबिम्ब, कुहिरो र घाम, बाँचिरहेको आवाज, सिद्धिचरणका प्रतिनिधि कविता, तिरमिरे तारा र आँसु तथा सिस्वाँ र फुस्वाँजस्ता नेवारी काव्य उनका मौलिक कृति हुन्। उनको निधनपश्चात् छोरा रविचरणले सिद्धिचरणका छरिएर रहेका रचनाहरूको सम्पादन एवं पुनः लेखन गरेर एक दर्जन पुस्तक प्रकाशित गरे। उनले बाबुले गरेको साहित्यिक योगदानलाई नेपाली साहित्य समाज समक्ष सार्वजनिक गरेका छन्। नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य रहेका सिद्धिचरणले मदन पुरस्कार गुठीसँग संलग्न रहेर भाषासाहित्यको सेवा गरे। सिद्धिचरणले स्वदेशलगायत विश्वका आधा दर्जन मुलुकको भ्रमण गरेका थिए।

नेपाली कविता र काव्य क्षेत्रमा विशिष्ट योगदान गरेबापत् सिद्धिचरणले दर्जन पुरस्कार सम्मान प्राप्त गरेका छन्। तत्कालीन युगको संवेदनालाई युगबोधको रूपमा आफ्ना काव्यमा अभिव्यक्त गरी एउटा धारा नै प्रवाहित गरे। सोबापत प्रज्ञा–प्रतिष्ठानद्वारा सिद्धिचरणलाई २०२७ सालको त्रिभुवन पुरस्कार प्रदान गरियो। उनलाई यो पुरस्कार कवि म.वी.वि.शाहद्वारा प्रदान गरिएको हो। यस्तै युगको आधा शताब्दीभन्दा बढी समयदेखि नेपाली कविता र काव्यद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउनमा विशिष्ट योगदान गरेबापत सिद्धिचरणलाई २०४५ सालको पृथ्वी प्रज्ञा–पुरस्कार प्रदान गरिएको थियो। जसको राशि दुई लाख रुपैयाँ थियो। २०४५ सालमा रविचरणको सक्रियतामा युगकवि सिद्धिचरण प्रतिष्ठानको स्थापना गरिएको छ।

https://annapurnapost.com/story/450148/