नेपाल र नेपाली भाषामा एकैसाथ कलम चलाउन सक्ने कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ बाल साहित्यमा पनि उत्तिकै चिनिएका छन् । अर्थ, भाव र प्रयोगका दृष्टिमा उनलाई आजकालका गीत–कविता र सिंगो साहित्य अलिक बढी ‘नारा’ हो कि जस्तो लाग्न थालेको छ ।
- देवेन्द्र भट्टराई
जेष्ठ २०, २०७४- काठमाडौं, न्हैकन्तला टोलमा जन्मे–हुर्केका दुर्गालाल श्रेष्ठ अरू केटाकेटीकै हूलमा मिसिंदै ‘भ्वय्कासा’ खेल्थे । सामान्य अर्थमा बुझिने यो पुतली खेलमा ससाना केटाकेटीले घरजम गर्ने, जोडा बनेरै त्यस्तै रामरमाइलो गर्ने अथवा सिन्दूर हाल्नेसम्मको ‘खेल’ दोहोरिन्थ्यो ।
समय यसै बितेर गयो, धेरै लामो समय । ‘भ्वय्कासा’ खेलेको झन्डै आधा शताब्दीपछि दुर्गालाल एक दिन महाँकाल थानबाट भद्रकाली गइरहेका थिए । बाटोमा भेटिइन्, कहीं कतै चिनापर्ची भइसकेको झल्को मिल्ने एक महिला । दोहोरो कुराकानी भयो । उमेर र यौवन गुजारिसकेकी ती महिलाको सिउँदो रित्तो देखेपछि दुर्गालालले अझ निकट भएरै सोधेछन्— खोइ तिम्रो सिन्दूर ?
‘एउटै सिउँदोमा दुईपटक सिन्दूर हालिन्छ र ? भ्वय्कासामा तपाईंले नै हालिदिएको होइन र ?’ जवाफ आयो ।
ओहो ! दुर्गालाल अवाक बनेछन् । भ्वय्कासा खासमा ठट्टाको खेल थियो । तर, यी महिलाले त्यसलाई ‘जीवन’ बनाएकी रहिछन् । ‘म के कवि ? ती महिला पो असली भावनाकी कवि रहिछन्,’ दुर्गालाल अहिले सम्झिरहेका छन्, ‘म त अपराधी पो रहेछुजस्तो लाग्छ । कसैको भावनामा, जीवनमा यसरी पनि खेलेको रहेछु भन्ने लागिरह्यो, धेरै पछिसम्म ।’
‘तिमी र म
चाल त पाउँथे अलिअलि फेरिएको
के थाहा मलाई—
प्रेम भयो भनेर ।
ख्यालख्याल पो ठानेथें
पुतलीको त्यो बिहे ।’
०००
हेर्दाहेर्दैको रंगीचंगी र हराभरा दृश्य आँखैसामु एकाएक खुइलिएर गयो भने के होला ?
ठीक यस्तै स्थिति उब्जिएको छ— कवि दुर्गालाल श्रेष्ठसामु । उमेर ८२ पुगे पनि अहिलेसम्म कुनै रोगव्याधले नछोएकोमा उनी ‘धन्य’ छन् । तैपनि सबै प्रकारका स्मृति, घटना, सन्दर्भ र क्षणहरू निकै पुरानिएर गएका छन् । दुर्गालाल भन्छन्— सबै कुरा खुइलिएर गए, खोइ के पो भनौं ?
कतिसम्म भने पद्मोदय स्कुलमा कक्षा ४ मा पढ्दा दुर्गालालका छापाजस्ता अक्षरको महिमा सिंगो स्कुलमा थियो । कक्षागुरुले उनको ‘हेन्डराइटिङ कपी’ बोकेर १० कक्षाका विद्यार्थीसामु भन्ने गरेका रहेछन्, ‘लेख्नु त यसरी लेख्नु !’
आज आफ्नै नाम लेख्नसमेत हम्मे परेको बोध गरेपछि दुर्गालाल भन्न थालेका छन्— एउटै जीवनको यो समयक्रममा हरेक चीज खुइलिंदै र खिइँदै गएको देखेर बसीबसी ‘अनित्यता’ बोध गरिरहेको छु ।
गएको वर्ष ठमेलस्थित आफ्नो घर आगलागीमा परेपछि दुर्गालाल यतिखेर गुँड सारिरहने गौंथली चरीझैं भएका छन् । अघिल्लो साता उनी एउटा छोरासँग बाफलको डेराघरमा भेटिन्छन् भने अर्को साता बुढानीलकण्ठ अर्को छोराकहाँ पुगेका हुन्छन् । फेरि अर्को साता कीर्तिपुर बस्ने छोरीकहाँ उनी पुगेका हुन्छन् ।
उपत्यकाका सानाठूला डबली, नाटक, रंगमञ्चमा खुट्टा छिराएर माथि उठेका दुर्गालाल आफैंसँग संगतले राजनीतिक चेतना भरिएको ‘भिन्न मानिस’ बनाएको आत्मसमीक्षा गरिरहेका छन् । पुष्पलाल, दिवाकर भाजु, चित्तरञ्जन नेपाली, स्नेहलता अथवा यस्तै भिजेका नामको प्रभावमा परेर उनी ‘राजनीतिक’ बने । ‘तर म कट्टर कम्युनिस्ट भनेर झन्डा लिएर हिंड्ने परिनँ । म विचारको कम्युनिस्ट हुँ,’ दुर्गालाल थप्छन्, ‘यसो भन्दैमा यो देशमा राजा महेन्द्रजत्तिको राष्ट्रवादी अरू कोही थियो भन्ने म अझै ठान्नै सक्तिनँ ।’
दुर्गालाल आफूलाई ‘पढेर होइन परेर’ चेतनामा साक्षर भएको व्यक्तिका रूपमा चिनाउन चाहन्छन् । घरेलु ट्युसनका गुरु संघरत्न शाक्यदेखि पद्मोदयका आनन्दप्रसाद ढुंगाना र कन्या स्कुलका हेडसर केदारनाथ न्यौपानेसम्मका साथ–प्रभावले आफूलाई ‘भिन्न बन्न’ सघाएको उनी स्विकार्छन् । यो सूचीमा त्यस बेलाका सचेतकहरू सिद्धिचरण श्रेष्ठ, गम्भीरमान मास्के, प्रेमबहादुर कंसाकार, महाबौद्धका राजभण्डारी दाजुभाइ र रत्नदेव जोशीलाई पनि दुर्गालाल सम्मानपूर्वक सम्झिरहेका हुन्छन् । ‘मैंले चिनेकोमा कमलप्रकाश मल्ल भने ‘अन्तर्चक्षु’ खुलेका व्यक्ति हुन् जो आफ्नो भाषा, समाज र सभ्यताको कुरा एकैसाथ लिंक गर्न चाहन्छन्,’ दुर्गालाल भन्छन् । नाटक–डबलीको बढी संगत र प्रभावका कारण एसएलसीसम्म मात्रै पढाइ पार लगाएका दुर्गालाललाई नेपाल भाषा शिक्षकका रूपमा कन्या मन्दिरमा चिनारी गराउने उनै कमलप्रकाश रहेछन् । दुर्गालालले कन्या मन्दिर स्कुलमा २५ वर्ष लगातार पढाएका थिए ।
‘नेपालभाषा’ का गुरु भए पनि दुर्गालाल आफ्नै भाषा र आफ्नोपनामा सुरुका दिनमा त्यति जागरुक थिएनन् । जाति र जातीयताको जतिसुकै ठूलो कुरा गरे पनि आफूलाई नेवारी भाषा–पहिचानमा उतार्ने व्यक्ति कन्या मन्दिरका हेडसर केदारनाथ न्यौपाने (बाहुन) भएको उनी सगर्व स्विकार्छन् । ‘ती हेडसर जोकोही जान्ने नेवारजत्तिकै थिए, नेपालभाषा लेखाइमा,’ उनी सम्झन्छन्, ‘एकपटक एउटा नाट्य–डबलीमा जानुपर्ने भएकाले मैले एक दिनको छुट्टीका लागि निवेदन दिएको थिएँ । तर पछि स्कुलमा बुझ्दा मेरो निवेदन स्वीकृत भएको रहेनछ । अनि हेडसरले मलाई बोलाएर सम्झाएका थिए— तिमी यो स्कुलमा नेपालभाषाका शिक्षक हौ । तिम्रो छुट्टीको निवेदन भने नेपाली भाषामा लेखिएको छ । यसो गर्न सरम लाग्दैन ?’
आफ्नो नाम–काम र चिनारी जोड्ने कुरामा नेपाल–नेपाली भाषा उत्तिकै सम्मानमा रहे पनि भाषिक र जातीय समानताका मामलामा सिंगो राज्य पद्धति ‘अनुदार’ रहिआएको दुर्गालालको बुझाइ छ । ‘हरेक जातिको जातीयता फस्टाउन सकेमा मात्रै राष्ट्रियता बाँच्छ भन्ने कुरा यो राज्यले कहिल्यै बुझेन । यो जातीय संकुचनको स्थिति र भोगाइ म एउटा सर्वसाधारणलाई त थाहा छ भने के राज्यलाई थाहा नहोला ?’ भाषिक र जातीय चिनारीको झस्कोमा दुर्गालाल भन्छन्, ‘यो बहुजातीय देशमा हरेक जातिले समानुपातिक रूपमा बाँच्न पाउनुपथ्र्यो नि । त्यो अहिलेसम्मै भएन । साँच्चि भन्ने हो भने यो देशले यस अर्थमा देश बन्न कहिल्यै पाएन ।’
यसपटक बाफलदेखि ठमेलसम्मको भेटघाट चरणमा दुर्गालाल कवि–कविताभन्दा बढी राजनीति र समाजका बारेमा निकै जागरुक सुनिए । लवजमा कम्युनिस्ट बनेर उनी भनिरहेका थिए, ‘यहाँ नोकरशाही र दासत्व कायमै छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो पदबाट निवृत्त भएपछि पनि आज एउटा रेस्टुराँमा काम गरिरहेका छन् भनेर मैले पढेको थिएँ । हाम्रा प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरू भने आजीवन सेवा–सुविधा पाइरहने हैसियतमा यहाँ छन् । यो स्थितिलाई के भन्ने ? यही कारणले हुन सक्छ— धनी नेता र गरिब जनता भएको देश हो नेपाल ।’
०००
गीत–संगीत अथवा लोकप्रियताका कुरामा दुर्गालालसँग अचम्मको ‘संयोग’ छ । २०१५ सालको चुनावताका कम्युनिस्ट नेता पुष्पलालको आग्रहमा नेपालभाषामा उनले चुनावी गीत लेखेका थिए भने त्यसमा प्रेमध्वज, नारायण गोपालसहितले संगीत–स्वर भर्न सघाएका रहेछन् । यतिका वर्षपछि यसपटक नयाँ उदाएको विवेकशील पार्टीका लागि पनि चुनावी गीत लेखिदिएका रहेछन्, १५ हजार रुपैयाँ शुल्क लिएर (बोल : विवेकशील नेपाली, नेपालको ज्यान । संगीत : न्ह्यू वज्राचार्य ।) ‘यसो भन्दैमा मैले इस्टकोटमा भोट हालेको छैन नि,’ हत्तारिंदै दुर्गालाल भन्छन् ।
यस्तै आग्रहमा परेर मह फिल्मको ‘१५ गते’ शृंखलाका लागि ‘सयथरी बाजा एउटै ताल’ गीत उनले लेखेका हुन् । अर्को बिन्तीपूर्ण आग्रह र शब्द खेलाउन थालेको १० मिनेटमैं लेख्न सकेको गीत हो— फूलको आँखामा फूलै संसार । ‘एक दिन न्ह्यू आएका थिए, साथमा धुन बोकेर,’ दुर्गालाल सम्झन्छन्, ‘साथमा आनी छोइङ पनि थिइन् । अचम्मको त्यो बिहानीमा छिनभरमैं सामु बसेकी गायिकाको स्वरमाधुर्य ‘फिल’ गरेर फूलको आँखा र फूलकै संसार कल्पेको थिएँ ।’
यति भनिरहँदा यो अनौठो लाग्छ कि वर्षौंवर्षदेखि साधनारत दुर्गालाल ‘फूलको आँखामा दुर्गालाल’ बनिसकेका छन् । फेरि यति धेरै आग्रह–पूर्वाग्रह र जातीय चेतनाका कुरा भइरहेका बेला दुर्गालाललाई सोध्नैपर्ने भयो, ‘गीत/कविता लेख्नुपर्दा विचार, कल्पना वा सोचाइ पहिले नेपालभाषामा आउँछ कि नेपालीमा ?’
जिज्ञासा झर्नासाथै कुनै केटाकेटीले बेहोरेको असहज स्थितिझैं दुर्गालाल सुरुमा हच्किए, जिब्रो बाहिर निकालिहेरे । अनि मात्रै बोले, ‘नेपालीमा लेख्यो भने अलिअलि पैसा पनि आउँछ । यसकारण अहिले आएर म अलिक नेपालीतिर लोभिएको हो कि ?’ कतिसम्म भने उनले ‘पैसाका लागि’ एकपटक ५ घण्टामा ९ वटा गीत पनि लेखेका रहेछन् । पैसा जति लियो, माग्ने भाँडो उत्तिकै गहिरिंदै गएको हो कि ? यदाकदा उनलाई सिर्जना (गीत) कै अपमान गरेजस्तो बोध हुन थालेको रहेछ । ‘तर म महत्त्वाकांक्षा लिएर हिंडेको मान्छे होइन । यसो भन्दैमा हिलोमा म पनि हिँडेको छु,’ उनी थप्छन्, ‘तर गोडामा हिलो लागेकै छैन भनेर म दाबा गर्दिनँ ।’
यति भनेर मात्रै दुर्गालाल स्थिति प्रस्ट्याउन थप व्याख्यामा उत्रिए । उनका अनुसार, सुरुवाती दिनहरूमा नेपालभाषामा लेख्नुपर्छ भन्ने ज्ञानै थिएन । अलिक पछि गएर मात्रै आफ्नो भाषा, जाति भन्ने ‘विवेक’ पलाएको हो । ‘संगीतकार न्ह्यू यस्तो गीत चाहियो, उस्तो चाहियो भनिरहन्छन् । यसबाट अलि–अलि पैसा पनि आउँछ,’ दुर्गालाल भन्छन्, ‘न्ह्यूसँग मात्रै मेरा रेकर्ड भएका र नभएका गरेर ५ सय जति गीत होलान् ।’
अर्थ, भाव र प्रयोगका दृष्टिमा दुर्गालाललाई आजकालका गीत–कविता र सिंगो साहित्य अलिक बढी ‘नारा’ हो कि जस्तो लाग्न थालेको छ । उनलाई राजनीति पनि अझ बढी ‘अराजक’ हुँदै गएको हो कि जस्तो लाग्न थालेको छ । बरु सांस्कृतिक जगत् र साहचर्य भने अलिक घनीभूत भएको हो कि ?
नेपाल र नेपाली भाषामा एकैसाथ कलम चलाउन सक्ने साधक दुर्गालाल बाल साहित्यमा पनि उत्तिकै चिनिएका छन् । उनकै नाममा दुर्गालाल बाल साहित्य पुरस्कार पनि स्थापना भइसकेको छ । धेरैलाई थाहा नभएको सूचना यो पनि हुन सक्छ— उनले नेपाली, हिन्दी र अंग्रेजीका केही उत्कृष्ट कृति पनि नेपालभाषा अनुवादमा ल्याएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’, हरिवंश राय बच्चनको ‘मधुशाला’ (मातृक छन्द) र काजी नजरुल इस्लामका छानिएका कवितालाई नेपालभाषामा ल्याएका छन् । तर, यी काम भने आफ्नै स्वेच्छा र सन्तुष्टिमा प्रेमपूर्वक गरिएको उनी सुनाउँछन् ।
‘जबजब म अलग्ग हुन्छु
प्रेमको संसारबाट
कीराले किताब खाएझैं
चपाउँदै गरेको पाउँछु
आफूलाई पनि समयले ।’
०००
दुर्गालालले ‘केदारनाथ : मेरो ईश्वर’ शीर्षकमा एउटा कविता पनि लेखेका छन् जहाँ उनले आफूले पढाउने स्कुलका हेडसर केदारनाथ न्यौपानेको खुलेर बन्दना गरेका छन् । ‘मेरो भाषिक र जातीय चेतनाका कुरामा आडभरोस दिने एक मात्रै आत्मीय पात्र उनै हुन्,’ दुर्गालाल भन्छन्, ‘त्यसमाथि कन्या स्कुल छँदै उनैले जबरजस्ती निवेदन लेख्न लगाएर व्यवस्थापन समितिबाट उनले ८ हजार रुपैयाँ दिलाइदिएका थिए । त्यही पैसामा ३ हजार रुपैयाँ थपेर ठमेलमा २०२६ सालमैं ६ आना जमिन लिन सकेको थिएँ । यसरी केदारनाथले मैले टेक्ने–समाउने भुइँ पनि दिएका थिए ।’
स्वभाव र लतमा दुर्गालालसँग ‘स्वान्त सुखाय’ बाहेक अरू कारक–कारण केही देखिन्न । २५ वर्षसम्म कन्या स्कुलमा पढाएर पनि निवृत्तिभरण (पेन्सन) त्यागेर उनी त्यहाँबाट बाहिरिएका हुन् । ‘स्कुलमा पढाइन्जेल माध्यमिक तहसम्मै मेरो कक्षा थियो तर, पेन्सन थाप्ने बेलामा निम्नमाध्यमिकसरह मात्रै पाउने भनिएपछि मैंले आत्मस्वाभिमानका कारण अहिलेसम्मै त्यो पेन्सन थापेकै छैन,’ उनी भन्छन्, ‘न आशा न आग्रह । न आसक्ति न बिरक्ति । मैंले २ लाख रुपैयाँ राशिको प्रतिष्ठित जगदम्बा पुरस्कार (२०६७) पाएका बेला पनि भनेको थिएँ— मलाई यो पुरस्कार, सपनामा पाएको चिठ्ठा जस्तो !’
दुर्गालालको समयमा उपत्यकाका भित्री चोक–डबलीमा अनेक नाटक, डबली, कविता गोष्ठी भइरहेका हुन्थे । नेवारी जगत्मा एक जना भाषिक अभियन्ता थिए— प्रेमबहादुर कंसाकार । शनिबारपिच्छे नेपाल भाषाको साहित्यिक कार्यक्रम पनि भइरहेको हुन्थ्यो । त्यहाँ दुर्गालाल पनि कविता सुनाउन जान्थे । कार्यक्रमपछि मन्तव्य राख्ने क्रममा प्रेमबहादुरले दुर्गालालको कविता विवेचना गर्दै भनेछन्— ख्वबिलु अर्थात् रुन्चे । कतिसम्म भने स्थानीय टोलबाट छापिने ‘थेङ्कने’ पत्रिकामा लोकल सम्पादकले कविको नामै न्वारान गर्दिने रहेछन्— दुर्गालाल ‘ख्वबिलु’ ।
जीवनमा सन्तोष हुने आधार र सन्तुष्टि लिन सकिने दायराका बारे दुर्गालाल धेरै अर्थमा जानकार छन् । ‘एउटा मान्छेलाई कति भए पुग्छ ?’ भन्ने तराजुमा उनी सम्पत्ति, वैभव, नाम–काम अथवा ख्याति सबैलाई एकै ठाउँमा राखेर तौलन चाहन्छन् । खासमा दुर्गालाल केही थिएनन्, न्हैकन्तला–ब्रह्मटोलतिर उनी दुर्गालाल ‘ख्वबिलु’ मात्रै थिए । ठमेलमा ६ आना जग्गा किन्न सकेको दिन उनी ‘केदारनाथ : मेरो ईश्वर’ लेखिरहेका थिए । फेरि, आत्मसम्मानमा ठेस पुगेका दिन २५ वर्ष पढाएर अवकाश लिएको शिक्षक हैसियतमा पेन्सन त्यागेर हिँड्ने पात्र पनि उनै दुर्गालाल थिए । जीवन–जगत्का कुरामा सही अर्थमा परित्यक्तझैं लाग्ने यी पात्रका अघिपछि धर्मपत्नी बनेर हिँडिरहेकी श्रीमती पूर्णदेवी पनि अहिले ८० वर्ष लागेकी छन् । ‘श्रीमान् दुर्गालाल कस्तो लाग्छ ?’ सँगै बसिरहेकी पूर्णदेवीलाई सोध्नासाथै झरेको जवाफ थियो, ‘खोइ, यसैगरी जीवनै बित्यो ।’
दुर्गालालको ठमेलस्थित घर गएको नागपञ्चमीमा आगलागीमा परेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सान्त्वना दिन ठमेल आइपुगेका रहेछन् ।
‘भन्नुहोस् दुर्गालालजी, म तपाईंका लागि के गर्न सक्छु ?’ प्रधानमन्त्रीको सोधाइ थियो ।
‘मलाई केही चाहिंदैन । हाम्रो समाजमा उपेक्षित जातिले पाएको भेदभाव हटेको देख्न पाऊँ, उपेक्षारहित समाज हेर्न पाऊँ,’ दुर्गालालको जवाफ थियो, ‘म स्वयंलाई केही चाहिंदैन ।’
यसो भन्दैमा दुर्गालाल ‘भगवान्’ पनि होइनन् । जीवनजगत्सँग वैराग्य जोडिएका भन्ते पनि होइनन् । ‘म यत्ति भन्छु— म बितेको चालैसम्म पनि कसैले नपाउन् । यहाँसम्म कि मैले पनि थाहै नपाऊँ,’ दुर्गालाल भन्छन्, ‘बरु बितेपछि सबैले प्रेमपूर्वक सम्झिदिउन्, कुनै आसक्ति वा बिरक्ति नजोडिएको सम्झना !’
‘ओ अपरिचित
रुने–हाँस्ने, रिसाउने–खुसाउने
आजसम्म तिमीले
जत्ति गरायौ, गरिसकें
अब निर्बिघ्न जान देऊ
कि गएको चालै नपाऊँ ।’
प्रकाशित: जेष्ठ २०, २०७४
http://kantipur.ekantipur.com/printedition/news/2017-06-03/20170603093207.html
No comments:
Post a Comment