भर्खरै नेपाल भाषामा त्रिपिटकअन्तर्गतका दुई ग्रन्थ निस्केका छन्, पटिसम्भिदामग्ग र धम्मसङ्गणी । यी दुवै बेजोड ग्रन्थ हुन्, किनभने यसको सीधै पाली भाषाबाट अनुवाद गरिएको हो ।
- हिमेश
जेष्ठ २७, २०७४- बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म आफ्ना शिष्य र अरूलाई धर्मसम्बन्धी उपदेश लगातार दिइरहे, त्यो पनि फरक–फरक स्थानमा । त्यसको अर्थ बुद्धले आफ्ना उपदेश कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिएनन् । न त एक खास स्थानमा । आफूद्वारा स्थापित संघका लागि आवश्यकताअनुसार नियम पनि बनाए । बुद्धको समयसम्म उनका यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबै सँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो ।
आफ्नो महापरिनिर्वाणअगाडि बुद्धले भनेका थिए, ‘मैले जति पनि धर्म र विनयसम्बन्धी उपदेश दिएँ, ती सबै पछि तिम्रा सास्ता हुनेछन् ।’ बुद्धको महापरिनिर्वाणपछि उनका शिष्यले माने, सबै उपदेशको संग्रह गर्नुपर्छ । त्यति बेला संघको नेतृत्व गरिरहेका भिक्षु महाकश्यपले बुद्धको उपदेश संग्रह गर्न सम्मेलन गर्ने निर्णय गरे । बौद्ध धर्मको इतिहासमा यस्ता सम्मेलन संगायनाका नामले प्रख्यात छन् । बुद्ध महापरिनिर्वाणको तीन महिनापछि पहिलो संगायना भएको थियो ।
सात महिनासम्म चलेको यस संगायनामा पाँच सय भिक्षुले सहभागिता जनाएका थिए । यसै क्रममा धर्म र विनयसम्बन्धी उपदेश संकलन गरिए । त्यस बेला संकलित बुद्ध वचनलाई चिरस्थायी गर्न भिक्षुहरूले योजना नै बनाएर अगाडि बढे । जस्तो, बुद्ध वचनलाई सानो–सानो भागमा विभाजन गरियो । त्यसलाई मौखिक परम्पराअनुसार सुरक्षित राख्न फरक–फरक भिक्षुको संघलाई जिम्मा दिइयो । आफ्नो भागमा आएका अंशलाई भिक्षु संघले पाठ गर्ने काम सुरु गरे । यसरी सुदीर्घ परम्परा सुरु भयो ।
यसरी पहिलो संगायनायता बुद्ध वचन सुरक्षित हुने काम सुरु भयो । यो क्रम बुद्ध महापरिनिर्वाणको ४ सय ५० वर्षसम्म चल्यो । ईशापूर्व २९ को वरिपरि भिक्षुहरूले अनुभव गरे, सायद यसरी मौखिक परम्पराले बुद्ध वचन सधैंका लागि चिरस्थायी हुनेछैन । त्यसैले यसलाई लिपिबद्ध गर्न आवश्यक छ । त्यति बेला श्रीलंकामा राजा बट्टगामिणीको शासन चलिरहेको थियो । उनले बुद्ध वचन लिपिबद्ध गर्न सबै व्यवस्था मिलाए । यसका लागि एक अर्को संगायना भयो ।
यो तिपिटक संगायनाका नामले प्रख्यात छ । तिपिटक अर्थात् त्रिपिटक । अर्थात् तीन थैलीको समूह । यी तीन पिटक हुन्, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक । सुत्तपिटकमा बुद्ध उपदेश संकलित छन् । विनयपिटकमा भिक्षुका नियम छन् । अभिधम्मपिटकमा बुद्ध दर्शन । त्रिपिटकको अध्ययनबिना बौद्ध धर्म बुझ्ने प्रयास पूर्णत: भ्रामक र निरर्थक हुने गर्छ । अनि त्रिपिटककै माध्यमबाट तत्कालीन समयको इतिहास र संस्कृति पनि बुझ्न सकिन्छ ।
दुण्डबहादुरको प्रयास
भर्खरै नेपाल भाषामा त्रिपिटकअन्तर्गतका दुई ग्रन्थ निस्केका छन्, पटिसम्भिदामग्ग र धम्मसङ्गणी । यी दुवै बेजोड ग्रन्थ हुन्, किनभने यसको सीधै पाली भाषाबाट अनुवाद गरिएको हो । पालीलाई छाडेर दक्षिण एसियामा अर्को भाषामा निस्केको यो सम्भवत: पहिलो हुन सक्छ, थाहा भएसम्म । यसको कारण हो, दुवैमा निकै माथिल्लो स्तरको बौद्ध दर्शन संग्रह गरिएका छन् र यसका विषयवस्तु निकै गम्भीर छन् । यसलाई बुझ्न पनि धेरै अध्ययनको आवश्यकता पर्छ ।
पटिसम्भिदामग्ग अभिधम्मपिटक नजिकको ग्रन्थ हो । बुद्ध वचनलाई बुझ्न यो ग्रन्थ निकै उपयोगी छ । बौद्ध धर्मका विभिन्न तत्त्वलाई यसमा विश्लेषण गरिएको छ । यसलाई नेपाल भाषामा अनुवाद गरेका हुन्, भिक्षु ज्ञानपूर्णिक महास्थवीरले । धम्मसङ्गणी अभिधम्मपिटकअन्तर्गतको सातौं ग्रन्थ हो । अभिधम्मपिटकको मूल आधार रहेको हुनाले यसको अध्ययनबिना अरू ग्रन्थ बुझ्न पनि गाह्रो हुने गर्छ । यसमा धर्मको परिभाषा दिइएको छ । अभिधर्मको मूल आधार र सार नै धम्मसङ्गणी हो । यसलाई अनागारिका अग्गञाणीले अनुवाद गरेकी हुन् ।
अनि यसलाई प्रकाशनमा ल्याएको हो, पाटनको वीरपूर्ण पुस्तक संग्रहालय । र, यसपछाडि सबै काम गर्ने जश जान्छ, दुण्डबहादुर वज्राचार्यलाई । यो संग्रहालय उनकै परिवारको हो । उनैले नेपाल भाषामा त्रिपिटक ग्रन्थको अनुवाद गरेर पुस्तकको आकार दिन सुरु गरेका हुन् । त्रिपिटकअन्तर्गतका अधिकांश ग्रन्थको अनुवादको श्रेय उनलाई जान्छ र यसका लागि उनले लगभग पछिल्लो ४० वर्ष खर्चिसकेका छन् । यो समयमा उनी अरू कुनै काममा नअल्झेर खालि त्रिपिटककै अनुवादमा व्यस्त रहे ।
बुद्धले बुद्धत्व प्राप्तिपछि ४५ वर्षसम्म उपदेश दिए । त्यसैको प्रतिनिधित्व गर्दै त्रिपिटकमा ४५ ग्रन्थ छन् । यी सबै ग्रन्थ नेपाल भाषामा लगभग अनुवाद गर्ने काम भइसकेको छ र यी सबै अब प्रकाशित भएर बजारमा उपलब्ध हुने क्रममा छ । दुण्डबहादुर स्वयं मान्छन्, बौद्ध धर्म बुझ्न त्रिपिटक नै चाहिन्छ र यो नै प्रमाणित हो । अब नेपाल भाषामा त्रिपिटकको उपलब्धतापछि बौद्ध धर्मको अध्ययनका लागि श्रीलंका, म्यानमार, थाइल्यान्ड अवथा अरू कतै विदेश जान आवश्यक छैन ।
यस्तो निकै कठिन काम उनले किन सुरु गरे त ? यसबारे एउटा रोचक घटना छ । पाटनको गाबहालमा उनीहरूको घर छ र त्यो धेरै अगाडिदेखि बौद्ध धर्मबारे अध्ययन र चर्चा हुने स्थान थियो । उनका बुवा पूर्ण, आमा वीरमाया । उनीहरूकै नाममा दुण्डबहादुरको परिवारले वीरपूर्ण पुस्तक संग्रहालय स्थापना गरेका हुन् । दुण्डबहादुरले आमा वीरमायाको निधनका बेला उनको खुट्टा ढोगेर वचन दिएका थिए, ‘आमा म तिम्रो भाषामा सबै बुद्ध ग्रन्त प्रकाशित गर्नेछु ।’
नेपालीमा त्रिपिटक ?
अब प्रश्न उठ्छ, यही त्रिपिटक ग्रन्थ नेपाली भाषामा भने कति उपलब्ध छन् ? कति ग्रन्थ नेपालीमा अनुवाद भइसके त ? नेपाल भाषामा अब सबै ग्रन्थ उपलब्ध हुनेछन्, तर नेपालीमा ? अहिलेसम्म खालि सात ग्रन्थ मात्र नेपालीमा अनुवाद भएर प्रकाशित भएका छन् ।
त्यसमध्ये तीन ग्रन्थ स्वयं दुण्डबहादुरले अनुवाद गरेका हुन् । त्यसमा दीघनिकाय र मज्झिमनिकाय मुख्य छन् । एउटा थप ग्रन्थ नेपालीमा प्रकाशित हुने क्रममा छ ।
त्रिपिटकका अधिकांश ग्रन्थलाई नेपालीमा पनि अनुवाद गर्ने प्रयास के दुण्डबहादुर आफैंले गर्नेछन् त ? नेपाली भाषाका अनुरागी जतिले उनलाई भेट्छन्, एउटै अनुरोध गर्छन्, त्रिपिटकलाई नेपाली भाषामा प्रकाशित गर्ने काम पनि गर्नुपर्यो । दुण्डबहादुर आफैं पनि यसका लागि तयार नभएका होइनन् । तर उनी सबैभन्दा पहिले नेपाल भाषामा सबै ग्रन्थ प्रकाशन गर्न चाहन्छन्, आफ्ना आमालाई दिएको वचनअनुसार । त्यसपछि पालो नेपालीमै हो, त्यो पनि चाँडै । यो बुद्ध वचनलाई चिरस्थायी गर्ने सुदीर्घ परम्परालाई थप निरन्तरता पनि हुनेछ ।
प्रकाशित: जेष्ठ २७, २०७४
http://kantipur.ekantipur.com/printedition/news/2017-06-10/20170610104511.html
No comments:
Post a Comment