विमल भौकाजी आइतवार, भदौ १९, २०७३
किताबको कहानी
सबैभन्दा पहिले कसले जान्यो होला अक्षर लेख्न ? अक्षर लेख्न जानिसकेपछि कविता कसले लेख्यो होला पहिले ? अथवा केही लेख्न जानिसकेपछि किताब निकाल्ने सोच कसको दिमागमा फुर्यो होला ? र, यथार्थमा कसले आँट गर्यो होला किताब निकाल्न ?
वास्तवमा मेरो खोजको विषय होइन यो । खालि उत्सुकतामात्रै, मेरो ।
र, यतिखेर मेरो उत्सुक मनलाई अलिकति आश्वासन दिँदै विक्रम सम्वत् १९९६ को समय उभिन आइपुगेको छ ।
राणाहरूको जगजगीको बेला, १९९६ को त्यो समय !
सम्भवतः नेपाली सर्वसाधारणले कहीँ–कतै अक्षर लेख्न–पढ्न जान्नका लागि कुनै विशेष स्थान थिएन । कतै पाठशाला खोलिएका थिए भने पनि त्यहाँसम्म पुग्ने हैसियत वा साहस केही अपवादलाई छाडेर अन्य कोसँग नै थियो होला र ? तथापि, एक व्यक्ति थिए, अक्षरका सिपाही ! जो आपूm पढ्न–लेख्नका लागि राणाहरूको निश्चित ठेगानामा त पुगेनन्, तर जीवनमा कुनै पुण्यको काम गर्नुपर्छ भन्ने महान् उद्देश्यबाट आत्मप्रेरणा लिएर अत्यन्तै धार्मिक निष्ठाका साथ बाँचिरहेका ।
नाम थियो उनको, रामदास श्रेष्ठ ।
०००
उनै रामदासका कथा सुनाइरहेका छन्, गोविन्दप्रसाद श्रेष्ठ ।
रामदास हजुरबा, गोविन्द उनका नाति ।
आज नाति गोविन्द रोमाञ्चित मुडमा छन् । सम्भवतः आफ्ना हजुरबाको कथा सुनाउन पाएकोमा बडा दंग छन् ।
‘मेरा बाजेका पेसा जातैले व्यापार थियो ।’ गोविन्दको आवाजमा ओजिला गर्व छ, ‘मूलघर भक्तपुर भए पनि मेरा बाजेको कर्मथलो काडमाडौंको इन्द्रचोक–मखन । त्यहाँ उहाँको लोकप्रिय मिठाई पसल थियो । भगवान्मा आस्था राख्ने उहाँ, मूलतः देवी लक्ष्मीलाई चढाइने मिठाई ‘चिनियामं किसिचा’को उत्पादन गरेर बिक्री गर्ने गर्नुहुन्थ्यो । र, उहाँको धर्मप्रतिको त्यो आस्था केवल आस्थामै मात्र सीमित थिएन, त्यसभित्र ठूलो श्रद्धा पनि निहित थियो । जुन श्रद्धाको पैmलावट धार्मिक पुस्तकहरूसम्म फिँजिएको थियो ।’
आजको रत्न पुस्तक भण्डारसँग जोडिएको झन्डै आठ दशक पुरानो यो इतिहास ! आहा, अहिलेको जस्तोे क्यामेराले क्लिक गर्न पाइने भए !
रामदास लुरुलुरु हिँड्थे, हिँडिरहन्थे..., एक्लै । हिँड्दै–हिँड्दै, खाली खुट्टा थानकोट हुँदै अमलेखगन्ज भएर गोरखपुर पुग्थे र धार्मिक भजनहरूका किताब खरिद गर्थे र टिन (जस्ताका) को ट्यांकामा राखेर ल्याउँथे ।
‘जब मिठाई पसल–धन्दा सकिन्थ्यो त्यो ट्यांका बोकेर हर साँझ उहाँ रानीपोखरीको कर्नरस्थित सोह्रहाते गणेश मन्दिरअगाडि अगाडि आइपुग्नु हुन्थ्यो र ट्यांकाबाट किताबहरू निकालेर फिँजाउँदै बेच्नुहुन्थ्यो ।’ गोविन्दका आँखामा रामदासको चित्र देख्छु म । चित्र बोलिरहेछ, म सुनिरहेछु, ‘अनौपचारिक रूपमा १९९६ मा ‘रामदास एन्ड सन्स’को नामबाट सुरु भए पनि औपचारिक रूपमा २००३ मा ‘रत्न पुस्तक भण्डार’को स्थापना भएको थियो ।’
‘रत्न पुस्तक भण्डारको अगाडि ‘रत्न’को विशेषण किन जोडिएको होला ? ’ मेरो जिज्ञासा ।
‘रत्न मेरा पिताजीको नाम’ गोविन्दले आफ्ना प्रातःस्मरणीय बाबुलाई सम्झिए, ‘मेरा पिताजीका तीन दाजुभाइ, उहाँ माहिलो छोरा ।’
‘अनि माहिलो छोरोकै नाममा...’ मेरो जिज्ञासा पूरा नहुँदै गोविन्दले तत्काल भने– ‘बाजेका काममा मेरा पिताजी नै प्रायः अघिपछि रहनुहुन्थ्यो । यतिसम्म कि, गोरखपुरसम्म पनि बाजेको पछि लागेर उहाँ जाने गर्नुहुन्थ्यो । त्यसैले, यो नाम रहनुमा यही कारणको अलावा सायद अन्य कुनै कारण छैन ।’
०००
रामदासको निधन भएपछि उनको मिठाई पसल बन्द भयो, तर किताबी काम तदारुकताका साथ अघि बढ्यो ।
धेरै पछिको समय, वि. सं. २०१६ सालताका ।
रत्नको परिवारले त्यो साल कमलाक्षीस्थित कवि केदारमान व्यथितको घर खरिद गरे ।
गोविन्द भन्छन्– ‘म सानै थिएँ त्यतिखेर, २०११ सालमा जन्मिएको म, आनन्दकुटी विद्यापीठमा ५, ६ वर्षको उमेरदेखि नै त्यही स्कुलको होस्टेलमा बस्थेँ। बल्ल ६ कक्षा पढ्ने भएपछि मात्र किताब पसलमा आएर बस्न लागेँ ।’
सम्भवतः त्यहीँबाट सुरु भयो गोविन्दको गम्भीर किताबी यात्रा । यही यात्राको क्रममा नेपालका महान् लेखकहरूसँग उनको उठबस भयो । बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, भिक्षुलगायतका स्वनामधन्य किताबी मनुष्यहरूको उनको पसलमा खुब आवत्जावत थियो । तर व्यक्तिगत रूपले उनीहरूसँग गोविन्दको हिमचिम थिएन । हुन सक्छ, किताबपसले वा प्रकाशक र केवल पाठक–ग्राहक वा विशुद्ध लेखकको सम्बन्धमात्र थियो दुई पक्षबीच ।
गोविन्द सम्झन्छन् पुराना कुरा, ‘नेपाल भाषा प्रकाशिनी समिति बन्द भएपछि बालकृष्ण समको ‘अमीत वासना’ रत्न पुस्तकले नै छापेको थियो । यतिमात्रै होइन, समजीका त्यसपछिका सम्पूर्ण किताबहरू हामीले नै छापेका थियौं ।’
उनका मुखबाट आजको मितिमा यो अर्को रोमाञ्चक इतिहास सुन्दा आश्चर्य लाग्छ, ‘२०२४ सालतिर हुनुपर्छ, रु. तीन सय ५०।– पारि श्रमिक दिएर हामीले भैरव अर्यालसँग उनको ‘जयभुँडी’को पाण्डुलिपि खरिद गरेका थियौं ।’
आर्थिक हिसाबले भन्ने हो भने, आजका लेखकका अनुपातमा त्यसबेलाका लेखकको हैसियत कति वजनदार ? त्यतिखेरको एउटै पाण्डुलिपि बेचेको पैसाले रिङरोड छेउतिर एक रोपनी जग्गा आउँथ्यो रे । कुरैको सिलसिलामा थाहा भयो, आज रत्न पुस्तक भण्डारको भवन अवस्थित जमिन २०२२ सालमा रोपनीको ३२ हजारमा खरिद गरिएको रहेछ ।
जेहोस्, त्यतिबेलाको रत्न पुस्तकको त्यो आँट आज सुन्दैमा पनि अत्यास लाग्छ । कसरी गर्न सकेको होला त्यत्रो हिम्मत ? आजको भाषामा भन्ने हो भने, जाबो कागजको खोस्टोलाई त्यति बिघ्न पैसा ? तर संयोग !
त्यसै वर्ष त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको कोर्समा ‘जयभुँडी’लाई समावेश गरिदियो । उता, एकमुष्ठ त्यत्रो रकम हातमा पर्दा भैरव अर्याल जीवनमै पहिलो पटक अत्यन्तै प्रफुल्ल भएका थिए ।
प्रसंगवशः पाण्डुलिपिको खरिदबिक्री र लेखकको रोयल्टीबारे मैले ठीक यहीँनिर कुरो उप्काएँ, ‘तर आजकल त लेखकहरूको गुनासो छ नि प्रकाशकहरूप्रति, लेखकलाई पाण्डुलिपिको उचित मूल्य पनि दिइन्न रे, रोयल्टी दिन पनि कञ्जुस्याँइ गरिन्छ रे नि !’
‘मलाई त्यस्तो लाग्दैन । कदाचित् अन्य प्रकाशकप्रति इंगित गरिएको हो भने पत्रकार वा सरकारी अनुगमनकै विषय हुन सक्ला यो । जहाँसम्म रत्न पुस्तकको विषयमा यस्तो चर्चा मैले आजसम्म सुनेको छैन ।’ प्रकाशक गोविन्द श्रेष्ठको भाषा रवाफिलो बन्यो, ‘डायमण्डशमशेर राणा, कृष्णप्रसाद पराजुली, युधीर थापा, वसन्तलगायतका लेखक मात्रै होइन, आजको पुस्ताका लेखकहरूको किताबको पनि हामीले पुनर्मुद्रण गरेर रोयल्टी दिँदै आएका छौं।’
‘तर... ’ उनले गम्भीर कुरो उठाए, ‘तर यो मान्न हिच्किचाउनु हुँदैन, जनसंख्याको अनुपातमा किताब पढ्नेहरू घट्दै गएका छन् । एक करोड जनसंख्या हुँदा हजार प्रति किताब बिक्थ्यो भन्ने हिसाब गर्ने हो भने अहिले तीन करोड जनसंख्या हुँदा तीन हजार किताब बिक्नुलाई गौरव मान्न सकिन्न । त्यसो त कुनै पनि किताब हजारप्रतिको हाराहारीमा बिक्नुलाई नै ठूलो उपलब्धि मानिनुपर्ने अवस्था छ अहिले । होइन भने सामान्यतयाः किताब बिक्ने भनेको केही अपवाद छाडेर बढीमा पाँच सय प्रतिमात्रै हो । यो कटु सत्य हो, वास्तवमा नेपालमा सबैभन्दा नबिक्ने सामान के छ भनेर सामान्य ज्ञानमा प्रश्न राखेर सोधिने हो भने त्यस प्रश्नको सीधै जबाफ हुन्छ, ‘किताब’ ।’
– ‘तर अखबारहरूमा त... ’
उनले मेरो आसय बुझिहाले, मेरो वाक्य काटे उनले, ‘हेर्नोस्, किताबका बारेमा प्रचारप्रसार हुनु अत्यन्तै राम्रो पक्ष हो तर अतिरञ्जना गरिनु हुँदैन । मलाई लाग्दैन कि कुनै प्रकाशक वा लेखकको हवाला दिँदै अखबारहरूले लेख्ने कुराहरू सबै सत्य छन् । हेर्नोस्, पचासौं वर्षदेखि म यो पेसामा संलग्न छु । सपना जपना सबै यही किताब । किताब नै जीवन भइसक्यो मेरो । मेरो यति लामो अनुभवले के भन्छ भने, किताब बेच्न गाह्रो छ । कुनै नामै चलेको लोकप्रिय किताबको कुरा अलग्गै होला, तर जहाँसम्म नयाँ छापिँदै गरेको किताबको कुरा गर्ने हो भने त्यस्ता किताब छाप्नलाई नै रिस्क हुन्छ । कत्रो पैसा लगानी गरेर किताब छापिएको हुन्छ, बिक्री भएन भने के गर्ने ? पश्चिमाहरूको जस्तो अघिल्लै दिनदेखि किताब किन्नका लागि लाइन बस्ने मनस्थितिमा एकजना मान्छे मलाई देखाउनुस् त ! तर हल्ला चलाइन्छ, प्रेसबाटै पहिलो संस्करण सकियो । अखबारहरू लेख्छन्– एक हप्तामै दोस्रो संस्करण आयो, तेस्रो संस्करण आयो । साँच्चै सम्बन्धित पक्षले यस्तो लेखाइको दाबी गर्ने हो भने त्यसको मापदण्ड के ? आफ्नो किताबको आयबाट उसले राज्यलाई कति ट्याक्स बुझायो ? लेखाजोखा कसले गर्ने ? अक्षरका खेल खेल्न रुचाउनेहरूले अंकको हिसाबकिताब गर्नुपर्छ कि पर्दैन ? ’
गोविन्द आक्रोशित छन् किताब–माफियाहरूबाट ‘कहिलेकाहीँ त दिक्क लाग्छ मलाई किताबको अनावश्यक प्रोपोगण्डा देखेर । किन आजका लेखकहरू यतिसारो हतारिएका ? लेख्न बस्दा नै फलाना पुरस्कार पाउने उद्देश्यका साथ कलम तिखारिरहेका देखिन्छन् ।’
‘साँच्चै लेखक हुन त ठूलो तपस्या चाहिन्छ । धैर्य चाहिन्छ ।’ यी शब्द बोल्दा गोविन्दलाई ‘किताब–ज्ञानी’को उपमा दिन मनलाग्छ मलाई ।
‘आजसम्म कति किताब छाप्यो रत्न पुस्तकले ? ’ म प्रश्नको बाटो मोड्छु । जबाफ उनको हातमा रहेको बुकलेटे दिइरहेको थियो ।
मैले परिपूरक प्रश्न गरेँ, ‘सबैभन्दा बढी बिकेको किताब कुन हो ? ’
उनले कण्ठस्थै बताउन लागे, ‘ठूला वर्णमाला !..., त्यसपछि युधीर थापाको लुकेको समाज, डायमनशमशेरको सेतो बाघ, लैनसिंह वाङ्देलको माइतीघर, लङ्गडाको साथी...।’
‘नयाँमा नि ? ’ मैले उनको मन चोरेँ ।
‘नयाँमा त... ’ केही अलमल गर्दै बोले उनी, ‘धेरैभन्दा धेरै संस्करण निक्लिएको भनिएकै किताब मैले चार हजार प्रति जति बेचेँ हुँला । अघिल्ला पुस्तकहरूसँग यसको तुलना गर्नै नसकिने भएकोले नाम लिन मुनासिब नहोला । सम्भवतः प्रचारीबाजीमा लागेको भए मैले यसैलाई पछाडि जिरो थपेर ४० हजार भन्नुपथ्र्यो । तपाईंकै किताब ‘जसको जोत उसको पोत’को चौथो संस्करण निकाल्ने तैयारी भइरहेको छ । यसलाई मैले मञ्चमा उक्लेर घोषणा गर्दै हिँड्न त भएन नि !’
लाग्छ, गोविन्द किताब–कर्ममै सन्तुष्ट पनि छन् र यहीँनिर अलिकति असन्तुष्ट पनि छन्, ‘सायद हाम्रो अस्तित्व अब बिस्तारै समाप्तिको बाटोतिर जाँदै छ ।’
– ‘किन होला यस्तो निराशा ? ’
‘अब हामीलाई हाम्रो मान्यता कायम राखिराख्न बडा मुस्किल हुँदै छ । हामीले त हाम्रो समाज र संस्कृतिलाई जोगाएर यहाँसम्म ल्याइपु¥यायौं । तर अब हामीपछिको यो पुस्तालाई हामीले जतिसुकै बल गरौं, जतिसुकै घोटाएर क ख पढाऔं, उनीहरूले सिक्ने छैनन् ।’ अनगिन्ती नेपालीलाई अनगिन्ती किताब पढाउने सत्कर्म गरेर नाम कमाएको रत्न पुस्तकका यी सारथिको चिन्ताजनक संकेत विदेश पलायन भइरहेका बढ्दो युवा वर्गप्रति परिलक्षित थियो ।
‘तर यस्तो स्थितिमा पनि रत्न पुस्तककै घेराभित्र रहेर मेरा जेठा छोराले अमेरिकामा नयाँ कामहरू गरिरहेका छन् । अघिल्लो सालदेखि अनलाइन पुस्तक बिक्री–वितरणको काम पनि सुरु गरेका छौं हामीले ।’ उनको अनुहारमा अलिकति चमक पाउँछु म ।
यो चमक कहिल्यै नधमिलियोस् !! बस्, मेरो मन व्यक्तिन्छ ।
http://annapurnapost.com/news/54929