Friday, August 11, 2017

संस्कृति-काठमाडौंको अय्ला

स्नेह सायमी शनिवार, असोज १, २०७३

संस्कृति-काठमाडौंको अय्ला

अय्ला अर्थात् रक्सी खानु (पिउनु) हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयमा आआफ्नै व्यक्तिगत, पारिवारिक, धार्मिक, सामुदायिक मान्यता र विश्वासहरू छन् । तर, जब तपाईं काठमाडौं उपत्यकामा हुनुहुन्छ भने अय्ला यो उपत्यकाका आदिवासी नेवारहरूको विशेष पेय पदार्थ हो भनेर त बुझिसक्नु नै भयो होला । धेरैजसो नेवाःहरूले चामल र अन्य अन्नहरूबाट आफ्नै घरमा घरकै प्रयोजनको निमित्त बनाइने यो पेय पदार्थको बनाउने विधि पनि आफ्नै किसिमको छ ।
काठमाडौं उपत्यकाका समृद्धि मल्ल शासनकोे स्वाधीन जीवनशैली र त्यसबाट बनेको समृद्ध अर्थतन्त्र नै हो । अत्यन्तै मेहनती जनता जसले काठमाडौंमा कृषिबाटै, खान पिउन र बचत गर्न, सरकारलाई कर तिर्न पनि सिकायो । वर्षभरि खानका लागि घरघरमै अन्नको भण्डारण गर्ने चलन थियो । प्रायः सबै किसानको घरमा भकारी हुने गथ्र्यो । खानका लागि बचेको अन्नबाट अय्ला बनाइन्थ्यो । आफैं धान कुट्थे, आफैं चिउरा अर्थात 'बजी' बनाउँथे ।
किसानी पेसा शारीरिक र मानसिक रूपमा मेहनत पर्ने, एकाग्रता चाहिने पेसा भएको कारणले विभिन्न उत्सव र चाडहरूमा खानासँगै अय्ला पनि पिउने संस्कार बसेको हुनुपर्छ ।
त्यही संस्कार सर्दैसर्दै म जन्मेको र हुर्केको घरसम्म आइपुगेको थियो । मेरो बा ससानो व्यापार गर्नुहुन्थ्यो । र पनि म सानै छँदा किसानी अर्थात् कृषि नै मुख्य आधार थियो । धान रोप्ने र धान काट्ने गहुँ छर्ने र गहुँ काट्नेदेखि दुवै अन्नलाई सही ढंगले घरमा भित्र्याउने घरको एक महत्त्वपूर्ण काम नै थियो । किसानी काम गर्ने गराउने भएपछि काम गर्न आउनेका लागि अय्ला ठूलै आकर्षण हुन्थ्यो ।
धान रोप्ने बेलामा पानी फाल्दै बाउसे र रोपारका काम गर्नेहरूका लागि जीउ तताइदिने काम त अय्लाले नै गथ्र्यो । म सानै छँदा मेरी आमा चिउरा, आलुको कवाफ बनाएर र रक्सी लिएर खाजा खुवाउन खेतमै जानुहुन्थ्यो । म आमाको सहयोगी भएर खेतमा जान्थेँ ।
घरको बुइगलमा हुन्थ्यो भान्सा र भान्सासँगै ठूलै स्टोर कोठा हुन्थ्यो त्यसलाई भनिन्थ्यो धुकु कोठा । घरव्यवहार चलाउन सबै सामान त्यहीँ हुन्थ्यो । अय्ला, अय्ला बनाउने सरजाम, थ्वं र थ्वं बनाउने सरजाम घर र खेतमा काम गर्ने औजारहरू सबै त्यहीँ राख्ने चलन थियो र त्यसको रेखदेख पनि आमाले नै गर्नुहुन्थ्यो । अहिले जस्तो प्लास्टिकको जर्किन थिएन । माटाको भाँडा वा तामा पित्तलका भाँडाकुँडाहरू हुन्थे, सिसीको थोरै प्रयोग हुन्थ्यो । आमाले त्यही धुकु कोठाबाट खटाई खटाई अय्ला निकाल्नुहुन्थ्यो ।
जब म सानै थिएँ, मेरी आमाले मलाई चिउरा र अय्लाको खाजा दिनुभएको याद छ । चिउरा मुखमा हालेर पिउँदा मुखमा भएको सबै चिउरा अय्लाले भिज्थ्यो र चिउरा चपाउन सजिलो हुन्थ्यो र एक प्रकारको पिरो पिरो स्वाद पनि आउँथ्यो । त्यसपछि जब म हुर्कें, मैले कुनै पनि अल्कोहल पिइनँ । चुरोट, सुर्ती पनि खाइनँ । त्यसको कारण हुनुहुन्थ्यो मेरो बा ।
मेरो बाले हामीले थाहा पाएदेखि अय्लालगायत कुनै पनि मादक पदार्थ लिनुभएन । हामीले सोध्दा पनि केटाकेटीमै छोडेको भन्नुहुन्थ्यो । उहाँको कडा मिजासका अगाडि पिउने मामलामा काकाहरू नै डराउनुहुन्थ्यो र लुकेर पिउनुहुन्थ्यो भने म त प्रत्यक्ष निगरानीमा परिरहने हुनाले पछिसम्म रक्सी खाइनँ । पाउन त अय्ला घरमा खुलेआम पाइन्थ्यो तर त्यसको खासै तिर्सना हुँदैनथ्यो ।
तर, हाम्रो संस्कारमा बिहानदेखि बेलुकीसम्म जो पाहुना आए पनि एउटा कुखुराको फुल (अहिले त अन्डा भन्ने चलन आयो) अहिलेको डाडुमा तेलमा पकाएर (अहिलेको भाषामा पाँर्च) बनाउने र कचौरामा अय्ला अलिकति दिएर सत्कार गर्ने चलन थियो । सम्भवतः एक दिनमा कमसेकम आधा लिटरदेखि एक लिटरसम्म अय्ला दैनिक अनिवार्य खपत हुन्थ्यो । पाहुनाको स्तरअनुसार घर आएका पाहुनालाई सत्कार गर्न नपाउँदा, नसक्दा, असजिलो र बेइज्जत महसुस हुन्थ्यो ।
अय्लाको गुणस्तर
घरमा बनाउने र घरकै मानिसलगायत पाहुनाका लागि बनाइने हुनाले अय्ला उच्च गुणस्तरको हुन्थ्यो नै । त्यसका लागि चामल कुहाउन प्रयोग गरिने 'मर्चा' र कति कडा बनाउने भन्नेसम्म फरक हुन्थ्यो । अहिलेको भाषामा भन्दा 'माइल्ड' कि हार्ड, बनाउने भन्ने चैं फरक थियो । तर, आधारभूत गुणस्तर भने राम्रै हुन्थ्यो ।
हाम्रो घरको कुरा गर्दा मेरो आमाले पछि आमाको रेखदेखमा बनाउने अय्लाको गुणस्तर कस्तो थियो होला ? आमा हुनुहुन्जेल त मैले त्यो महसुस पनि गर्न सकिनँ ।
पढाइ सकेर काममा लागेपछि र विवाह गरेपछि मेरो संगतको घेरो ठूलो हुँदै गयो । घरमा साथीहरूको आउजाउ बढ्यो । घरको भोजमा साथीहरू डाक्ने पनि गरियो । अहिले म सम्झन्छु, साथीहरू मकहाँ आउँदा 'आमाले बनाउनुभएको'मा प्राथमिकता दिन्थेँ।
०००
२०४६ सालको राजनीतिक परिवर्तनपछि उद्यमीहरूको एउटा संगठन बन्यो 'नेपाल घरेलु तथा साना उद्योग संघ' । त्यसको म संस्थापक महासचिव भएँ । त्यही संघका काठमाडौं जिल्ला अध्यक्ष हुनुहुन्थ्यो मुकुन्द ढुंगाना । उहाँ पनि खानपिन गर्न साथीभाइलाई खुवाउन रुचाउनुहुन्थ्यो । जमघट कहिले उहाँकोमा हुन्थ्यो त कहिले मकहाँ । मेरोमा हुने जमघटको आकर्षण नै नेवाः परिकार र अय्ला थियो । एक दिन दिउँसो ३ बजेदेखि नै मेरोमा खानपिन सुरु भयो ।
अचम्म, राति १० बजिसक्दा पनि साथीहरू जाने सुरसार नै कस्नुहुन्न । १० बजेपछि खानेपिउने कुरा दुवै सकिए । त्यहाँ भएका एकजना मित्रले त बोटलबाट थोपाथोपा झारेर पनि पिउनुभयो । हिजोआज जस्तो टेलिफोन त थिएन । त्यति नै बेला एक साथीले सम्झेर आत्तिएर भन्नुभयो, 'ए आज त ठूलो एकादशी, घरमा श्रीमती नखाईकन कुरिराखेकी छन् ।'
अनि सबै जर्‌याकजुरुक उठेर हिँडे । घरमा साहित्यकारप्रति सम्मान हुनु त स्वाभाविक हो । एकपटक एउटा प्रस्ताव आयो । हाम्रो घरमा बसेर 'ब्रेख्तको रचना पढ्ने र सुनाउने' कार्यक्रमको नाम बन्यो– 'ब्रेख्त पढौं' । सहभागिता थियो प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौला, विमल निभा, राजकुमार केसी, हरिगोविन्द लुइँटेल, गोविन्द वर्तमान, नारायण ढकाल, श्यामल, शदिल भट्टराई' (नाम तलमाथि भएछ भने माफ गर्नुहोला) । खगेन्द्र संग्रौलाले ब्रेख्तको एक बेजोड रचना पढ्नुभो ... । त्यसमा टीकाटिप्पणी भयो । राम्रै ज्ञान आर्जन भयो । अब आयो बेला खानपिनको ।
अय्ला उपत्यकाको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल हो तर यसको व्यावसायिक उत्पादनमा सरकारलगायत सम्बन्धित पक्ष लागेको देखिँदैन । स्कटल्यान्डको स्कच ह्विस्कीझैं काठमाडौंको अय्लाले गौरव गर्ने दिन के कहिल्यै पनि आउँदैन ?
लक्ष्मी मालीजीले ल्याउनुभा छ्वेलालगायत खानेकुरा । मैले ल्याएँ एक बोतल अय्ला । पानीका बोतल र पानी खाने स्टिलका गिलास । त्यहाँ दुई किसिमका साहित्यकार– एक थरी अय्लालाई घृणा गर्ने, अर्को थरी माया गर्ने । नपिउनेहरूका बीच पिउनेहरूलाई अत्यन्तै अप्ठ्यारो भइरहेको थियो । संयोगवश बिजुली गयो । करिब आधा घन्टाजति बत्ती आएन, मैनबत्ती ल्याउन पनि केही समय लाग्यो । बत्ती आउँदा केही साथीहरूका अनुहार उज्यालो थियो । र अय्लाको आधा बोतल घटिसकेको थियो । केही साथी घरमै सुत्नुभयो, केही फर्किनुभयो । त्यतिखेर त केही कुरा भएन ।
पछि गोविन्द वर्तमानले भने, 'नखाने साथीहरूका अगाडि पहिलोपटक लिन अप्ठेरो भइरहेको थियो । बत्ती गएर बडो सजिलो भयो ।'
एक दिन हरिगोविन्द लुइँटेलजीसँग अय्लाबारे छलफल भयो । उहाँहरू परम्परागत रूपमै शुद्ध ब्राह्मण । मासु र रक्सी खाएपछि अशुद्ध हुने उहाँहरूको मान्यता । म ससुरालीको भोज खाएर बाटोमा पर्ने उहाँको घरमा पसेको थिएँ । मैले भनेँ, 'मैले नपिएको रक्सी विवाहपछि पिएँ ।
पिउनुको पछाडि मेरो ससुराली खलकको ठूलो योगदान छ । विशेषतः नाताले साला पर्ने भए पनि मित्र अमर माली हरेकपटकको नखत्यामा जोड गर्दागर्दै थोरथोरै पिउने भएँ म ।' हरिगोविन्दजीले भन्नुभयो, 'कस्तो फरक चलन ! हाम्रोमा भए रक्सी पिलाउनु त कुरै छोडौं, ज्वाइँ रक्सी पिउने रहेछ भन्ने थाहा भयो भने त पारपाचुके नै गराएर छोरी फर्काऊँ कि भन्ने सोच पो छ त ।'
तथिमिति याद भएन, द्वन्द्वको बेला थियो । चितवनका साहित्यकार धनराज गिरी त्यसताका खगेन्द्र संग्रौलाका फ्यान नै थिए । दिनदिनै जस्तो फोनमै उहाँहरूको गजल वार्ता हुन्थ्यो रे । धनराजजीले खगेन्द्र संग्रौलाको प्रशंसामा सानो गजलसंग्रह नै प्रकाशित गरे, कुन्साङ काका । धनराजजीले चितवनमा एक साहित्यिक कार्यक्रम आयोजना गरेर 'कुन्साङ काका' गजलसंग्रह विमोचनको कार्यक्रम राखे । खगेन्द्रजीले मलाई सँगै जाऊँ भन्नुभयो, म पछि लागेँ ।
बाटामा सेना र पुलिसले चेकिङका नाममा दिएका दुःखबारे कुनै दिन लेखौंला । गएर बास बसियो धनराजजीकै निवासमा ताँडीमा । उहाँ त्यहाँको प्रतिष्ठित शिक्षक हुनुहुँदो रहेछ । शिक्षा, चरित्र, व्यवहार सबै किसिमले विद्यार्थीले उहाँलाई आदर गर्दा रहेछन् । हामी जाँदा धनराजजीका जीवनसंगिनी र एक छोरी घरमा हुनुहुन्थ्यो । छोरी पनि गजल लेख्नुहुन्थ्यो । घरमा खान सुत्नको व्यवस्था रहेछ तर पिउने व्यवस्था रहेनछ ।
वास्तवमा 'धनराज सर'को घरमा 'रक्सी' नामको पेय पदार्थले कहिल्यै प्रवेश पाएकै रहेनछ । कुन्साङ काकालाई नभई नहुने त होइन, भए जाती । आफ्नो सबै परम्परा तोडेर एक बोतल कोदोको झोलले धनराज सरको घरमा प्रवेश पायो । मलाई लाग्यो, त्यो दिन धनराजजी आफैंसँग र घरपरिवारसँग पनि अलि लजाउनुभयो । तर, त्यो सुरु भएरै टर्‌यो ।
अय्ला पिउनेहरू, अय्ला पिलाउनेहरू, अयला पिउनेसँगै हिँड्नेहरूसँग यस्ता संस्मरणको पत्रपत्र फुकाउनुपर्ने धेरै होला ।
एउटा कुरा भने मलाई खट्किरहन्छ, अय्लाको कानुनी मान्यता । अय्ला उपत्यकाको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल हो । अहिले बजारमा प्रशस्त विदेशी ह्विस्की, वाइनलगायत अरबौंको आयात हुन्छ तर अय्लालाई सुरक्षित, गुणस्तरयुक्त बनाएर यसको सही व्यावसायिक उत्पादनमा सरकारलगायत सम्बन्धित पक्ष लागेको देखिँदैन । बेलाबेलामा अय्लाका उत्पादनकर्ता पक्राउ पर्छन् । गुणस्तर भएन भन्छन् । कर तिरेन भन्छन् । तर, त्यसका लागि सरकारले विधि बनाएको देखिँदैन ।
मैले दक्षिण कोरियामा अय्लाजस्तै त्यहाँको स्थानीय पेय पदार्थ 'सोजु' पिएको छु । जापानमा 'साके' युरोपेली मुलुकहरूमा 'वाइन'को घरेलु उत्पादनलाई स्थानीय रूपमा कर छुट गरेर प्रयोग गर्न दिने नियम छ । तर नेपालमा अय्लालाई गुणस्तरीयताको सुनिश्चिततासहित उत्पादन गर्ने वातावरण किन छैन ?
स्कटल्यान्डको स्कच ह्विस्कीझैं काठमाडौंको अय्लाले गौरव गर्ने दिन के कहिल्यै पनि आउँदैन ?
http://annapurnapost.com/news/55767

No comments: