आफ्ना पूर्वजको पूजा अर्थात् पचली भैरव । पूर्वज पूजन परम्परा नेपालमा चलिआएको भन्ने कुरा भैरवको पूजा गर्ने परम्पराले नै प्रस्ट पार्छ । हालसालै सम्पन्न इन्द्रजात्राको दिन काठमाडौं जैसीदेवलमा नचाउने परम्परागत देवी नाचमा पनि भैरवलाई नेपालका इष्टदेवको रूपमा प्रस्तुत गरियो । विगतदेखिको यो काम भैरव र दैत्यमा संग्राममा भैरवबाट दैत्य वध हुन नसकेपछि भैरवकी छोरी कुमारीबाट दैत्यको वध गराउने दृश्य मञ्चन गर्ने परम्परा अहिले पनि कायमै छ ।
आठमध्येका एक भैरव, पचली भैरव । १९ औं शताब्दीका गुणनन्दले बनाएको वंशावली, पद्म गिरीले बनाएको इस्विसंवत् १८२५ को वंशावली, इस्विसंवत् १८७८ मा बुद्धिसिंह बस्नेतले संकलन गरेको भाषा वंशावलीमा राजा गुण कामदेवले कलिगत संवत् ३८२५ मा कान्तिपुर सहरको निर्माणका साथसाथै दक्षिण भेगको क्षेत्रपाल (रक्षक) का रूपमा पचली भैरवको स्थापना गरेको वर्णन पाइन्छ भनी प्राध्यापक कमलप्रकाश मल्लले लेखेका छन् ।
पुरातत्व विभाग अन्तर्गतको राष्ट्रिय अभिलेखालयमा सुरक्षित ग्रन्थ ‘उल्लेखत’ का आधारमा पचली भैरवको अनुष्ठान नुवाकोटका ठकुरी राजा गुणकामदेवले आफ्ना पूर्वज ठकुरी राजा शिवदेव भैरवका रूपमा सिद्ध भएकाले भैरव आजु (पूर्वज) भनी कान्तिपुर नगर (हालको काठमाडौं) र पचली भैरवको स्थापना गरेको हुनुपर्छ भनी उल्लेख गरेको विभागका पूर्वमहानिर्देशक खड्गमान श्रेष्ठले उल्लेख गरेका छन् ।
पचली भैरवको पूजाआजा आजपर्यन्त हुँदै आएको छ । काठमाडौंको हनुमानढोकामा यसको पूजा गरिन्छ । यो नेपालीको मुख्य चाडपर्व बडादसैंसँग जोडिएको छ । घटस्थापनादेखि यसका लागि तयारी सुरु हुन्छ । हनुमानढोकास्थित मरुगणेशमा रहेको गणेश मन्दिरमा पूजाआजा गरेपछि तत्कालीन शासक अर्थात् राजाले छेवैको भीमसेन मन्दिरमा पनि पूजाआजा सकेर सोही क्षेत्रमा रहेको थकुजुजु (नेवारको राजा) को घरमा रहेको (विगत सयौं वर्षदेखि) पचली भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा थियो ।
यसपटक पनि असोज १९ गते कोहिटीस्थित चित्रकारको घरबाट थकुजुजुको घरमा देउता ल्याइनेछ । ‘पूजापाठ सकेपछि पचलीस्थित टेकुको गम्ये (खाल्डो) मा राखेर स्थापित गर्ने गर्छौं । थकुजुजु, आयाआजु (कर्माचार्य) र मखनमा बस्ने भाजु (स्थापित) बाट बाजाअनुसार गठु (माली) का पूजापाठ करिब डेढ घन्टा लगाएर गरिन्छ’, परापूर्व कालदेखि पचली भैरवको पूजाआजा गर्दै आएका थकुजुजु जयराम मल्ल भन्छन्, यहाँ दुईवटा बोका काटेर होम गरिन्छ यसपछि चौथीको काम सकिन्छ ।’पचली भैरवको देवस्थललाई पञ्चलिंगेश्वर अर्थात् पञ्चमुखी लिंगेश्वर भन्ने गरिन्छ ।
हिमाली क्षेत्रमध्ये काश्मीरमा चलेको लिंगायत मत, सिन्ध उपत्यकामा चलेको शिव लिंग र जलहरिको पूजा परम्परा, पाशुपत क्षेत्रमा चलेको पञ्चमुखी ज्योतिर्लिंग पूजाजस्तै पूजा यहाँ नभए तापनि तान्त्रिक दृष्टिले शिवको संहारको रूपमा पचली भैरवको पूजा गर्ने परम्परा छ । जहाँ महादेव मसानमा बास गर्ने पिशाच आदि आसुरी शक्तिसित बास गर्ने देवका रूपमा पनि पूजिन्छन् । यसबाटै प्रष्ट हुन्छ, पचली भैरवको अलौकिक रूप ।
लिच्छविकालीन अभिलेखहरूमा भैरवहरूको अनेक चर्चा पाइन्छ । पशुपतिनाथको दक्षिणतिर रहेको ढुंगाको उन्मक्त भैरवको मूर्ति मुनी रहेको अभिलेखले भैरवको उन्मक्त रूपमा प्रस्तुत गर्दछ भने पचली भैरवले स्वच्छन्द भैरवको स्वरूप प्रस्तुत गर्दछ । पूर्वमहानिर्देशक खड्गमानका अनुसार, नेपालमा पाइने भैरवहरू तान्त्रिक विचारबाट अभिप्रेरित भई बनेका देखिन्छन् ।
पचली भैरवको जात्रा र इन्द्रजात्राको बेला काठमाडौंका टोलटोलमा भैरवका मूर्ति सजाएर राख्ने सांस्कृतिक परम्परा पनि छ । ‘तान्त्रिक मत अनुसार कोयो पूजा भैरव र मातृशक्तिको उपासनाका लागि प्रयोग गरिन्छ’, पचली भैरवको आराधनामा बौद्ध र तान्त्रिक मत दुवैको सम्मि श्रण भएको जानकारी दिँदै उनी थप्छन्, ‘पचली भैरवलाई देवी शक्तिका रूपमा आराधना गर्ने एउटा परम्परा छ भने राजालाई भैरवको अवतारका रूपमा मान्ने अर्को दैवी शक्ति सिद्धान्त पनि नेपालमा चलिआएको छ ।’
तत्कालीन राजा शिव सिंहले १६३५ सालतिर पचली भैरवको धातु (तामा) बाट निर्मित घ्याम्पो बनाई जात्रा गर्ने चलन सुरु भएको इतिहासमा पाइन्छ । तामामा सुनको जलप लगाउने उसबेलाको चलन अहिले पनि छ । त्यसअघि माटोको घ्याम्पो बनाएर जात्रा निकालिन्थ्यो । चिकंमुगलमा माटोको त्यो घ्याम्पो फुटेको र सो ठाउँमा फुटेका टुक्राहरू भेला पारी भेलुपात भैरव नामकरण गरी सोही स्थानमा चौथीका दिन पूजा गर्ने चलन आजसम्म रहेको थकुजुजु जयराम बताउँछन् । त्यसपछि राजा भाष्कर मल्लको राज्यकालमा राजमाता भुवनलक्ष्मीले घ्याम्पो बनाएको र त्यसपछि त्यो जीर्ण भएपछि शिव सिंहले सुन लेपनगरी तामाको घ्याम्पो बनाएको पाइन्छ ।
घ्याम्पोमा पचली भैरवको ठस्लो आकृति (जसलाई नेवारी भाषामा आजु भनिन्छ) र सोको माथि राखिने पाथीजस्तो आकारमा सानो उनै भैरवकी पत्नी (जसलाई नेवारी भाषामा अजिमा भनिन्छ) को आकृति हुन्छ । उक्त घ्याम्पोमा जात्राका क्रममा प्रयोग हुने जाँड, रक्सी, अन्डा, बारा, माछा, स्याबजी आदि राखेर भरिन्छ ।विगतदेखि हालसम्म उक्त घ्याम्पो राजाहरूले नै निर्माण गरिदिने चलन देखिन्छ ।
तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवले २०४८ सालमा उक्त घ्याम्पो बनाएका थिए भने २०५८ सालमा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले । पुनः जीर्ण भएपछि हालसालै ज्ञानेन्द्रले आउँदो जात्रादेखि प्रयोगमा ल्याउने गरी निर्माण गरिदिएका छन् । ‘जात्राका क्रममा पचली भैरव अर्थात् गठु प्याखसँग श्री ५ (राजा) सवारी भई पचली भैरवको खड्गसँग आफ्नो खड्ग साट्ने गर्छन्, अब हुने यो जात्रामा ज्ञानेन्द्र शाहले खड्ग साट्नु हुनेछ’, थकुजुजु जयराम मल्लले भने । खड्ग साट्ने भएकाले जात्रालाई खड्ग सिद्धि जात्रा पनि भनिन्छ ।
घ्याम्पो विगतमा जीर्ण हुँदाका साथै राज्याभिषेक हुँदा पनि फेर्ने (नयाँ) र सो काम राजदरबारबाटै हुने गरेको उनको भनाइ छ । काठमाडौं महानगरको दक्षिणतिर रहेको बागमती नदीको किनारमा सातवटा मसानद्वारा घेरिएको देवस्थल छ । उक्त देवस्थल अहिले पचली भैरव तीर्थस्थलका नामले प्रसिद्ध छ तर प्रचार अभावले यसले पाउनुपर्ने जति महत्व पाएको छैन ।
तत्कालीन राजा शिव सिंहले १६३५ सालतिर पचली भैरवको धातु (तामा) बाट निर्मित घ्याम्पो बनाई जात्रा गर्ने चलन सुरु भएको इतिहासमा पाइन्छ । तामामा सुनको जलप लगाउने उसबेलाको चलन अहिले पनि छ । त्यसअघि माटोको घ्याम्पो बनाएर जात्रा निकालिन्थ्यो ।
सोही तीर्थस्थलमा आश्विन शुक्ल पञ्चमीका दिन नवरात्रि मेला भर्नेहरू पञ्चनारीमा स्नान गरी पचली भैरवको दर्शन गर्दछन् । पञ्चमीकै दिन पचली भैरव अगाडि बालबालिकालाई ‘मह जानकेगु’ भोजन पनि गराइन्छ । पचलीमा पाँचवटा खम्बाहरू भएकाले यसलाई पञ्चलिंग तीर्थ भनिएको भन्ने कथन छ । पञ्चलिंग शब्दको अपभंरश भएर नै पचली शब्द बनेको भनी पचली भैरवको वर्णन गरिएको पाइन्छ ।
पञ्चलिंग भैरवको गर्भगृहमा जलहरिसहितको शिवलिंग रहेको र उक्त शिवलिंगमा मध्यकालमा बलि दिने गरिएको पाइन्छ । पचली भैरवको प्रारम्भिक नाम स्वच्छन्द भैरव हो । उनै स्वच्छन्द अर्थात् पचली भैरवको जात्रा बर्सेनि गर्ने परम्परा इस्विसंवत् ११९७ तिर भएको अनुमान इन्द्रमालीले गरेको पाइन्छ ।
खड्गमान श्रेष्ठका अनुसार, शाहवंशका राजाहरूमध्ये श्री ५ रणबहादुर शाहले पहिलो पटक पचली भैरव सिद्ध खड्ग सिद्धि गरेका थिए र सोही बेलादेखि हरेक १२, १२ वर्षमा राजाले खड्ग सिद्धि गर्ने प्रचलन चलिआएको र यो क्रम अझै छ । यो दसैंमा हुने जात्रा चौथो जात्रा हो, अबको आठ वर्षपछि १२ वर्षे खड्ग सिद्धिजात्रा हुनेछ । काष्ठमण्डपको नेपाल संवत् ४५४ अर्थात् इस्विसंवत् १३३४ को ताम्रपत्रमा पचली भैरवको उल्लेख पञ्चालीका भट्टारक वा इष्ट देवताको रूपमा गरिएको छ ।
थकुजुजु जयरामका अनुसार, जात्राको दोस्रो दिन (पञ्चमी) गणेश, माली (गठु) परिवार, द्यौसीं (ज्याप्ू) परिवार, गोरखा पल्टन र टोलवासीसहित टेकु पचलीको गम्येबाट घ्याम्पो उठाई नगर परिक्रमा गरिन्छ र सोही दिन मध्याह्न हनुमानढोकामा पुर्याइन्छ । सरकारी कार्यालय हनुमानढोका दरबार संरक्षण कार्यालयबाट उक्त पूजा गर्ने गराउने काम हुन्छ । जहाँ राँगोको बलि दिइन्छ । त्यसपछि फर्काएर पाला अर्थात् देउताको संरक्षकको घर (चित्रकारको घर) मा लगेर पुनः एक वर्षका लागि पचली भैरवलाई राखिन्छ ।
http://annapurnapost.com/news/56188
No comments:
Post a Comment