Tuesday, January 5, 2021

‘परम्परागत क्‍वारेन्टाइन’ मा पतियाको छाया

 प्राचीन हिन्दु धर्मशास्त्र र त्यसबाट चल्ने राज्यको विधानअनुसार अन्य देश, भूमि र मान्छे अशुद्ध वा अपवित्र हुन्छन् । त्यस्ता अशुद्ध वा अपवित्र देशमा जानु, भूमिमा टेक्नु र समुद्रयात्रा गर्नु पाप गर्नु हो, जात पतित हुने काम गर्नु हो, जसको दण्डस्वरुप प्रायश्चित गर्नु वा पतिया लिनु जरूरी हुन्छ ।

राजेन्द्र महर्जन

कोरोना भाइरस फैलिएपछि कोही पूर्वर्तिर, कोही परम्परातिर फर्केर हेर्ने प्रवृत्ति फैलिएको छ । पछिल्तिर फर्केर हेर्दैमा राप–ताप–प्रकाश पाइन्छ भन्ने निश्चित हुँदैन । फर्केर हेर्दा बिर्सनै नहुने पक्ष हो– सांगोपांग हेराइ । हेराइ एकांगी र एकपक्षीय हुनासाथ गलत सन्देश प्रवाह हुन सक्छ ।





लिच्छविकालदेखि भोट (तिब्बत)–नेपाल–भारतबीच व्यापारमा संलग्न नेवार ब्यापारीहरूले ल्हासाबाट स्वदेश फर्केपछि शुद्धीकरण गर्नुपर्थ्यो । उनीहरू दुई सातासम्म भान्सा, शयनकक्ष र भण्डारमा छिर्न पाउँदैनथे, छिँडी वा पाहुनाकोठामा सुत्दै दैनिक एक छाक खाने र जुठो भाँडा आफैं माझ्ने काम गर्नुपर्थ्यो । यही शुद्धीकरणलाई ‘क्याराभान टु ल्हासा’ का लेखक कमलरत्न तुलाधरले ‘परम्परागत क्वारेन्टाइन’ नाम दिएका छन् 

तुलाधरकै अध्ययनलाई केन्द्रमा राखेर सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले ‘मल्लकालमै थियो काठमाडौंमा १४ दिने क्वारेन्टाइन’ नामक रिपोर्ताज लेखेपछि सामाजिक सञ्जालमा अनेक जिज्ञासा पोखिएका छन् । बीबीसी रिलमा अलाइस कारफ्रेई र निशा राई क्यासेलको ‘द एन्सियन्ट प्राक्टिस अफ सेल्फ–आइसोलेसन’ नामक भिडियो सार्वजनिक भएपछि थप प्रश्न उठेका छन् ।

सात दशकअघिसम्म चल्तीमा रहेको शुद्धीकरण अहिले भोट ब्यापारको अवसानसँगै एकादेशको चलन भइसकेको छ । तर, कोरोना भाइरसको संक्रमण रोक्न ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा बस्नुपर्ने अवस्थामा शुद्धीकरण गर्ने परम्पराको उत्खनन सुरु भएको छ । यस्तो शुद्धीकरण स्वदेशी र परदेशीको शरीर, सफाइ, स्वास्थ्य र उपचारलाई ध्यानमा राखेर गरिन्थ्यो कि राज्यको धर्म, धर्मशास्त्र, त्यसबाट निर्मित विधानको पालना तथा पापमोचनको उद्देश्यलाई केन्द्रमा राखेर गरिन्थ्यो ? विचारणीय छ ।

आयुर्वेदिक कवच

अरूबाट अलग्गै बस्नुपर्ने र शुद्ध गर्नुपर्ने ‘परम्परागत क्वारेन्टाइन’ स्वास्थ्यको हिसाबले मात्र होइन, धार्मिक हिसाबले पनि महत्त्वपूर्ण रहेको अध्येता तुलाधरको मत मननीय छ । उनी भन्छन्, ‘तिब्बत जाँदा लेक लाग्ने, चिसोमा फैलिने भाइरल र फोक्सो सुन्निने रोग (पानीरोग) बोकेर आएको हुन सक्ने डरले दुई साता कसैसँग उठबस गर्न नदिने चलन चलाइएको हुन सक्छ ।’ स्वास्थ्यलाई ख्यालमा राख्ने मतमा अर्धसत्य देखिन्छ, बाँकी अर्धसत्यले धार्मिक विधि–विधानतिरै इंगित गरेको छ । ल्हासा ब्यापारीकी छोरी एवं साहित्यकार मोतीलक्ष्मी शाक्य लेख्छिन्, ‘परदेशीहरू घर पुग्नासाथ मूल ढोकासामु उभ्याएर चार दिनअघिदेखि भिजाएर राखिएको ‘खालु’ (चिराइतो) को रस खुवाउँदै, कनिका छर्दै घरमा स्वागत गरिन्छ । ल्हासाबाट आएका सबैलाई एउटा कोठामा अलग्गै बस्ने व्यवस्था गरिन्छ ।’

शाक्यको दाबी छ, ‘खालुति’ (चिराइतोको रस) खुवाउने चलन एक हिसाबले अति नै महत्त्वपूर्ण वैज्ञानिक संस्कार भन्न सकिन्छ । वर्षौंवर्षसम्म विदेशमा बसेर आएका पुरुषहरू अस्वस्थ नहोऊन् भन्नाका खातिर औलो, ज्वर, पित्त आदि रोगनिवारक औषधि खुवाउनु स्वास्थ्यका हिसाबले आयुर्वेदिक कवच लगाउनु हो ।’ ‘नेवार–नेपाली–अंग्रेजी शब्दकोश’ मा चिराइतोलाई ‘चिकुज्वर’ (औलो ज्वरो) को औषधि वा तितो स्वाद आउने जडीबुटीको रूपमा परिभाषित गरिएको छ । ल्हासा व्यापारीहरू कालिम्पोङबाट नेपाल फर्कने हुनाले औलोको खतरा टार्न चिराइतोको रस खुवाउन थालेको पनि हुन सक्छ । त्यस्तै, उनीहरूबाट अन्य रोग सर्न नदिन पनि अलग्याइएको हुन सक्छ । तर, पापमोचनका प्रचलनले भने शुद्ध वा पवित्र बनाउने नाममा हुने धार्मिक कर्मकाण्ड र धार्मिक राज्यका विधि–विधानतिरै संकेत गरेको देखिन्छ ।

शुद्धीकरण र पतिया

शाक्यको पुस्तक ‘जिं खना थें लगं त्वाः व लगं त्वाःया ल्हासा नेवाः’ अनुसार, परदेशीहरूलाई अशुद्ध र अपवित्र मानिन्छ, चार दिनसम्म नुन खुवाइँदैन, चार दिनपछि चोख्याइन्छ । चोखिनका लागि उनीहरूलाई तीर्थमा नुहाउन पठाइन्छ । उनीहरू घरबाहिर निस्किनासाथ सिंगै घरमा पञ्चगव्य छर्दै शुद्धीकरण गरिन्छ । तीर्थबाट फर्केपछि कपाल र नङ काटिन्छ, चोखो लुगा लगाउन दिइन्छ, पूजा–होम गरी शुद्ध गरिन्छ अनि नातेदार र ‘फुकी’ (सातपुस्ते) लाई भोज खुवाएर फुकी–समूहमा भित्र्याइन्छ ।

स्वस्थ, शुद्ध र पवित्र बनाउने विधि–विधान हिन्दु धर्मशास्त्र र हिन्दु राज्यको ऐन–कानुनले तोकेको ‘पतिया’ वा ‘चन्द्रायण’(चान्द्रायण) भन्दा भिन्न छैन । जात र धर्मबाट च्युत भएका, आचार र चरित्र भ्रष्ट भएका, महापापी वा पातकी वा पतितहरूले गर्ने प्रायश्चित्तको प्रक्रिया हो– पतिया । २०२० सालमा नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्नो जातमा मिल्न धर्माधिकारीको निर्देशनअनुसार गर्ने शुद्धि वा प्रायश्चित्त हो– पतिया । सरकारकै अंगको रूपमा रहेको धर्माधिकार (धर्माधिकारी, धर्माधिकरण, न्यायाधीश) वा उसले खटाएको पण्डितले शुद्धीकरणको प्रक्रिया पूरा गरेपछि दिइने प्रमाणपत्र हो– पतिया पुर्जी ।

त्यस्तै, चन्द्रायणको अर्थ हो– चन्द्रमाको वृद्धि र क्षयअनुसार निश्चित गरिएको प्रायश्चित्त गर्ने एक कृत्य । चन्द्रमाको वृद्धिमा खानाको गाँस बढाउने र क्षयमा घटाउँदै लैजाने गरिन्छ । इतिहासकार राजाराम सुवेदीका अनुसार, चन्द्रायणको खास अर्थ पतिया नै हो । आफ्ना गोत्रिया, छिमेकी र इष्टमित्रले पातकजस्ता घृणित कसुर गरेमा र जातपातमा नरहेमा सबैले पतिया लिई शुद्ध भई जातमा रहन सक्थे । राणाकालमा धर्माधिकारीले पतियाको नाममा दिने प्रमाणपत्र हेर्दा ल्हासा साहुहरूले गर्ने शुद्धीकरणसँग खासै भिन्नता नहुन सक्छ ।

(श्रीः श्रीमद्गोरक्षश्भुपेन्द्रप्रेरितं स्मृतिसम्मतम् । (दुष्कृ) तच्छेदनोपायं प्रायश्चित्तं समाचर ।। प्रथम दिन मण्डन गर्नु, माटो, भस्म, पञ्चगव्य लेपन गरी स्नान गर्नू, त्यस दिनमा हविष्य ग्रास १५ दिन खानु, दोस्रा दिन ग्रास १२ खानू, तेस्रा दिन नमागी कसैले खा भनी दिया ग्रास २४ खानू, चौथो दिन निलाहार गर्नू, पाँचौं दिन पञ्चगव्य खाई ब्राह्मणलाई सिधा दक्षिणा दिनू । – श्री ६ बडागुरुज्यू यिश्वराज पाण्डेयज्यू, धर्माधिकार)

पतितहरूलाई चोख्याउने धर्माधिकार

इतिहासकार ज्ञानमणि नेपालका अनुसार, यो विदेशबाट फर्केका नेपालीले सनातन धर्मका नियममा चल्न नसकेपछि प्रायश्चित्तको प्रक्रिया पूरा गरेपछि धर्माधिकारीले दिने पतिया प्रमाणपत्रको एउटा उदाहरण मात्रै हो । ‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’ मा उनी लेख्छन्, ‘भोट चीन जाँदा नेपाली प्रतिनिधिमण्डका सदस्यहरूले सनातन धर्ममा चलेका सबै नियम यथावत् कायम गरिराख्नु सम्भव पनि थिएन । अहिले पनि विदेश जाने मानिस सबै नियममै रहन्छन् भन्ने छैन । यसैले अघि–अघि भोट मधेस मुग्लान गएर फर्केर आउँदा जोसुकै नेपालीले प्रायश्चित्तको प्रक्रिया पूरा गर्नु अनिवार्य हुन्थ्यो । त्यसबेला भोटमा, मुग्लानमा गएर आउने जोसुकैले पतिया नगरी स्वदेश पस्न पाउँदैनथ्यो । पतिया नगरी पसेर बसेमा काढिनुपर्थ्यो । यसैले धर्माधिकारी गुरुज्यू वा उनका प्रतिनिधि गई सिमानामै वा घरमा पतियाको कार्य पूरा गरी गोदान गराई चोख्याउने नियम थियो ।’

यसको अर्थ भोटमा व्यापारको क्रममा फर्कने नेपालीलाई गरिने पतिया विधि स्वास्थ्यसँगभन्दा बेसी हिन्दु धर्म, धर्मशास्त्रअनुसार बनाइएको विधान र राज्यको धार्मिक संरचनासँग जोडिएको देखिन्छ । १९६६ सालमा भोट–चीन पुगेर आएको नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई गरिएको पतिया विधिले देखाउने संकेत यहाँ उल्लेखनीय छ । ज्ञानमणि नेपालका अनुसार, उनीहरू ‘वेत्रावती किनारामा आइपुगेपछि यताबाट बडागुरुज्यू (धर्माधिकारी) का तर्फबाट खटिई गएका ब्राह्मणहरू पतिया दिन तयार भई बसेका हुन्थे र सापिक सनदबमोजिम यिनीहरू सबैको पतिया दिने कर्म गर्थे । सबैले मुण्डन गरी वेत्रावतीमा स्नान गर्थे, स्नानपछि दान दक्षिणा गोदान आदि काम हुन्थे । पतियाको दस्तुरमा सिपाही र ल्हासाबाट आएका गरिब नेवारहरूले मोरु १, जमदारले मोरु २, सुबेदारले मोरु. ३, काजी सरदारले ५ देखि १० सम्म दिने गर्थे । बढी पनि खुसीराजीले कसैले दिन इच्छा गर्छ भने ठीकै छ, दिन्थ्यो ।... चान्द्रायण व्रतजस्तो पतिया विधि पाँच दिनमा मात्र पूरा हुन्छ । तर, यहाँ हिँड्दा–हिँड्दै बाटामा गर्नुपरेकाले मुण्डन गरी स्नान दक्षिणा दान गोदान आदि गरेरै पूरा पारिएको देखिन्छ ।’

हनुमानढोकाबाट पतिया पुर्जी

भोटबाट नेपाल फर्केका जुनसुकै धर्मका व्यापारीले पनि घरमा आएर बार्ने र चोख्याउने क्रममा हिन्दु धर्मअनुसार पतिया विधि नै पालना गर्नुपर्थ्यो । राज्यले ऐनकानुन बनाएर वर्णव्यवस्था र जातभातको प्रथा लागू गरेकाले उनीहरूले पतिया विधि मात्रै पूरा गरेर पुग्दैन, पतिया पुर्जी पनि लिनुपर्थ्यो । तुलाधरका अनुसार, ‘दुई साताको ‘क्वारेन्टाइन’ पूरा गरेपछि हनुमानढोका दरबारमा हाजिर हुन जानुपर्थ्यो । काठमाडौं फर्केको मिति र यहाँ आएर दुई साता अलग्गै बसेको बेहोरा जानकारी गराएपछि बडागुरुज्यूका नाममा सरकारी पत्र जारी गरिन्थ्यो ।’ यसरी तत्कालीन शासन केन्द्रः हनुमानढोकामा बस्ने बडागुरुज्यूलाई तीस पैसा तिर्दै पतिया पुर्जी लिएपछि मात्रै उनीहरूको जात फिर्ता हुन्थ्यो । यसरी निश्चित विधि, रकम र पुर्जीको आधारमा परदेशीहरूको खसेको वा गुमेको ‘जात’ फिर्ता पाइन्थ्यो ।

यसको मतलब हो– त्यसबेला घरमा दुई हप्ते शुद्धीकरण र हनुमानढोकामा गएर पतिया पुर्जी लिनु अनिवार्य थियो । किनभने पतिया त १९१० सालको मुलुकी ऐनअनुसार धर्माधिकारीले लागू गर्ने निश्चित विधि–विधान थियो । शाह राजा सुरेन्द्रको पालामा जंगबहादुर राणाले बनाएको मुलुकी ऐनमा ‘धर्माधिकार को’ महल र ‘पतिया दिनाको अैन्’ नै व्यवस्था गरिएको थियो । त्यसमा जात खस्ने खालका गल्ती वा भूलचूक गर्ने पतितहरूलाई प्रायश्चित्त गर्न लगाउने पतिया विधि र जरिवाना रकमको फेहरिस्त नै छ भने राजा वा प्रधानमन्त्रीबाट नियुक्त हुने धर्माधिकारीको पतिया दिने अधिकार र काम–कर्तव्य तोकिएको छ ।

(‘विराना राजको तलप दर्माहा षाई आउन्यालाई पानिको पतियादिनाको अैन्.... ७१. भोट् मध्येस. तर्फ विराना राजमा गै उहाको नोकरि. पिपा कुल्लिमा भर्ति भै तलव. दर्माहा षाई आउन्या मानिसहरूले पानि नचल्न्या जातसित येकै तम्वुमा सुतन्या वस्न्या. तमाषु गैह्र षान्या गर्छन् भंन्या. संषा हुनाले. पानिको पतिया नगरि. एस्ताका हातको. पानि कसैले नषानु. अदालत. अमाल.।. पुर्जिको दस्तुर लि. पतियाको पुर्जि गरि दिनु. धर्माधिकारले ।. लि पतिया दिनु. यंस्ता पतिया नगर्न्याका हातको जानि जानि षान्यालाई पनि निति स्मृति गराउनु.)

विभेदी मानसिकता र घृणाले भरिएको आचरण

प्राचीन हिन्दु धर्मशास्त्र र त्यसबाट चल्ने राज्यको विधानअनुसार अन्य देश, भूमि र मान्छे अशुद्ध वा अपवित्र हुन्छन् । त्यस्ता अशुद्ध वा अपवित्र देशमा जानु, भूमिमा टेक्नु र समुद्रयात्रा गर्नु पाप गर्नु हो, जात पतित हुने काम गर्नु हो, जसको दण्डस्वरूप प्रायश्चित्त गर्नु वा पतिया लिनु जरुरी हुन्छ । इतिहासकार रोमिला थापरका अनुसार, ‘प्राचीन ग्रन्थमा म्लेच्छक देशको यात्रा गर्दा प्रायश्चित्त गर्नु आवश्यक हुन्थ्यो । जुन ठाउँमा यज्ञ लोप हुँदै छ वा जहाँ यज्ञ प्रारम्भ भएकै छैन वा जहाँ नास्तिक धर्मको प्रचार छ, त्यस्ता देश म्लेच्छक देश हुन् ।’

आफू, आफ्नो देश र भूमिलाई मात्रै शुद्ध, पवित्र र श्रेष्ठ मान्नेहरूका लागि भोटेहरूको भोट या मुगल/मुसलमानहरूको मुग्लान या फिरंगीहरूको इङ्ल्यान्ड मात्रै होइन, मधेस पनि ‘म्लेच्छक देश’ हो, जहाँबाट ‘असिल् हिन्दुस्थाना’ मा फिर्नेहरूलाई हिन्दु राज्यले अनिवार्य रूपमा शुद्धीकरणको विधान लागू गरेको देखिन्छ । त्यसैले ल्हासाबाट फर्कने नेवार साहु हुन् या मुग्लानबाट छे महिने बिदामा फिर्ने गोर्खाली बहादुर या र इङ्ल्यान्डको यात्राबाट फिर्ती सवारी हुने जंगबहादुर राणा, सबैले पतिया गर्नुपर्थ्यो । यसरी पतिया गर्ने र पुर्जी लिनुपर्ने ऐन–कानुन र अभ्यासको नेपथ्यमा परायालाई अशुद्ध, अपवित्र, कुजात, नीच, म्लेच्छ ठान्ने ‘परायाकरण’ (अदराइजेसन) को चिन्तन रहेको छ ।

शाक्यकै शब्दमा ‘भोटबाट आएका ल्हासा साहुहरूलाई चोखो–बिटुलो मतलब नराख्ने अशुद्ध भोटे भन्दै, भोटे गन्हाउने र भोटेपारा भएका भन्दै शुद्धीकरण नगरेसम्म तिनको जुठो कुनै परिवारजनले छुँदैन ।’ परायाहरूसँग खवाइ, सुताइ, छुवाइसँगै यौन, प्रेम, विवाहमा जातको ‘धर्म’ लाई बेवास्ता गर्दै पाप गरेको शंकामा प्रायश्चित गर्ने–गराउनेहरूको विभेदी मानसिकता र घृणाले भरिएको आचरण शुद्धीकरण र पापमोचनसँगै पतिया पुर्जीमा प्रस्टै देखिन्छ । यसरी अशुद्ध, अपवित्र र पतितहरूको पापमोचनको धार्मिक र अर्थ–राजनीतिक प्रक्रियालाई आधुनिक स्वास्थ्यविज्ञानको कोणबाट ‘परम्परागत क्वारेन्टाइन’ मात्रै भन्दा समग्र तस्बिर नआउन सक्छ ।

प्रकाशित : वैशाख २०, २०७७ १०:५२https://ekantipur.com/bibidha/2020/05/02/158838974360037429.html

No comments: