राजेन्द्र शाक्य/उज्यालो
काठमाडौ, साउन १९ – चित्तधर हृदय नेपालभाषा साहित्यका एक बहुआयामिक लेखक अनि थुप्रै अरू लेखकहरूका प्रेरणाका स्रोत ।
आफ्नो ७८ वर्षिय जीवनकालमा उहाँले कविता, गीत, खण्डकाव्य, महाकाव्य, कथा, नाटक, निबन्ध, व्याकरण र समालोचनाका झण्डै चारदर्जन उत्कृष्ट साहित्य सिर्जना गर्नुभयो।
उहाँकै प्रेरणाले अरु थुप्रै साहित्यकारहरूको रचनाले नेपालभाषा अनि नेपाली साहित्यको ढुकुटी भरिएका छन्।मृत्यूपर्यन्त आफ्नै घर पनि उहाँले साहित्यिक संस्था नेपालभाषा परिषद्लाई छोडेर जानुभयो ।
नेपाल संवत १०२६ बछलागा एकादशी विसं १९६३ जेठ ५ मा काठमाडौंको नरदेवीमा जन्मुनभएका चित्तधर तुलाधरले आफ्नो साहित्यिक यात्रामा विभिन्न उपनाम प्रयोग गर्नुभयो।
राणाकालको कठोर समयमा पनि निरन्तर भाषा साहित्यको सेवामा लागेका चित्तधरले बुद्धोपासक चित्तधर, चित्तधर उपासक, चित्त, हृदयु, रूपरत्न उपासक, हृद्दर्शन उपासक, सिडी उपासक, धर्मवीर, बुद्धिवज्र वज्राचार्य र मनमाया जस्ता उपनामले पनि कलम चलाउनुभयो। तर साहित्यिक क्षेत्रमा उहाँ चित्तधर हृदयबाट नै चिनिनुहुन्छ ।
आफ्नो जीवनकालमै विभिन्न विधामा तीनदर्जन जति पुस्तक प्रकाशित गरेका चित्तधरको पद्य निकुञ्जु र हृदय कुसुमु भारतको कालेम्पोङ्गमा छापियो। तर नेपाल ल्याउँदै गर्दा उहाँ यी दुवै कविता संग्रह चिसापानीगढीमा जफत भयो। तर उहाँ निरन्तर मातृभाषामा साहित्य रचना गर्दै रहनुभयो।
वि.सं. १९८६ सालमा लाइब्रेरीकाण्ड, विस १९८७ सालमा आडम्बरमत पर्व र विस १९९७ सालमा नेपालभाषामा पुस्तक छापेको आरोपमा उहाँ जेल पर्नुभयो।जेलमै पनि उहाँले साहित्य रचना गर्न छोड्नुभएन।
आफू लेख्ने मात्र नभर्इ जेलमै रहेका केदारमान व्यथित र धर्मरत्नक यमिु जस्ता धेरैलाई उहाँले लेख्ने प्रेरणा दिनुभयो। उहाँले जेलमै लेखेको सुगत सौरभु महाकाव्य उहाँको सबैभन्दा प्रख्यात कृति मानिन्छ। विभिन्न भाषामा अनुवाद भैसकेको सुगत सौरभुलाई पहिले तीर्थराज तुलाधरले अंग्रेजीमा अनुवाद गर्नुभएको थियो। पछि टड टी लेविस र सुवर्णमान तुलाधरले गरेको सुगत सौरभुको अंग्रेजी अनुवादलाई अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले सन् २०११को तोशिहिदा नुमाता बूक पुरस्कारु प्रदान गरेको थियो।
विस २००७ सालमा प्रजातन्त्रको स्थापनापछि उहाँले चित्तधर हृदयु नामबाट लेख्न सुरु गर्नुभयो। ने.सं. १०८८ मा प्रकाशित मिं मनस्पौ (नजलेको पत्र) पनि उहाँको अनुपम कृति मानिन्छ। ल्हासा व्यापारीको परिवारमा जन्मेका चित्तधरले ल्हासा व्यापारीको कथालाई समेटेर लेखेको उपन्यास आकारको पत्र मिं मनस्पौलाई केशरलाल श्रेष्ठले अंग्रेजीमा अनुवाद गर्नुभएको छ ।
वि.सं. २०१३ सालमा तत्कालिन राजा महेन्द्रले चित्तधरलाई कवि केशरी (कविहरूका सिंह)को उपाधीले सम्मानित गरे। संयोगवश ०६२र६३को जनआन्दोलन पछि कालिमाटीमा रहेको राजा महेन्द्रको शालिक रहेकै ठाउँमा २०६५ सालमा चित्तधरको पूर्णकदको शालिक रहन पुग्यो।
नेपालभाषा परिषद्लेत उहाँको नाममा हरेक वर्ष चित्तधर सिरपा पुरस्कार दिँदै आएको छ, जसबाट उज्यालो ९० नेटवर्कबाट प्रशारण हुने नेपालभाषाको कार्यक्रम लहनालाई ने.सं.११३२ मा सम्मानित गरिएको थियो।
चित्तधर हृदय स्मृति संग्रहालय
काठमाण्डुको रत्नपार्क, भोटाहिटीबाट असन हुँदै पश्चिमतिर जाँदा रक्तकाली भन्दा केही अघि नरदेवीको सडकैमा पर्ने चारतल्लेखाँट्टी नेवार शैलीको घरमा चित्तधरको जन्म भएको थियो।
पत्नी ज्ञानप्रभा र बहिनी मोतीलक्ष्मीका साथ यसै घरमा चित्तधरको जिन्दगी बित्यो। उहाँ पछिका साहित्यकारहरू फत्तेबहादुर सिंह, वैकुण्ठप्रसाद लाकौल, पूर्ण बहादुर वैद्य, प्रेमबहादुर कंसाकार, सत्यमोहन जोशी, पद्मरत्न, तुलाधर, रमापतीराज शर्मा, योगेन्द्र प्रधान, सुन्दर मधिकर्मि, पुष्पबहादुर चित्रकार जस्ता थुप्रै लेखकहरूले यही चित्तधर दाइया छेँ चित्तधर दाइको घर मासाहित्य रचनाका लागि प्रेरणा पाए।
उहाँको आयोजनामा यही घरमा हुने थुप्रै साहित्य गोष्ठीहरूमा चित्तधरसंगै उनीहरूले आ-आफ्नो साहित्य रचना पाठपनि गरे। पछि राणाशासन ढलेर प्रजातन्त्रको उदय भएलगत्तै उहाँकै अग्रसरतामा २००७ सालमा स्थापना भएको नेपालभाषा परिषद्को कार्यालय पनि बन्यो यो घर।
पत्नी ज्ञानप्रभाको निधनपछि पनि अनवरत रूपमा भाषा, साहित्य सेवामा लागिरहेका चित्तधरलाई पक्षघात भएपछि उहाँकी बहिनी मोतीलक्ष्मीले धेरै स्याहार गर्नुभयो। पछि बहिनी मोतीलक्ष्मी बाँचुञ्जेल बस्न दिने गरि आफ्नो घर चित्तधरले नेपालभाषा परिषद्का नाममा दान दिनुभयो।
नेस ११०२ तछलागा तृतीया विस २०३९ जेठ २६ का दिन चित्तधर हृदयुले संसार त्याग्नुभयो। त्यसपछि यो घरलाई सबैले मोती निनिया छेँ (मोती फुपूको घर)का रूपमा चिन्न थाले। र, नेस १११७ ९विस २०५३०मा मोतीलक्ष्मीको पनि निधनपछि यो ऐतिहासिक घरको स्वामित्व नेपालभाषा परिषद्मा आयो । त्यसको १६ वर्षपछि नेस ११३३ दिल्लाथ्व द्वादशी साउन ५, २०७० का दिन चित्तधर दाइया छेँ चित्तधर हृदयु स्मृति संग्रहालय बन्यो ।
नेपालको इतिहासमा विशुद्ध साहित्यकारको संग्रहालय बनेको यो पहिलो अवसर हो। राजनेताका रूपमा बढी चिनिने वीपी कोइरालाको संग्रहालय खुलिसकेको भएपनि विशुद्ध साहित्यकारको संग्रहालय यो नै पहिलो हो। केही वर्षअघि भारतीय राजदूतावासको सहयोगमा सो भवनको मर्मत गरिएको थियो। पुरानै स्वरूपमा मर्मत गरिसकेपछि नेपालभाषा परिषद्ले भवनलाई चित्तधर स्मृति संग्रहालयमा परिणत गर्ने काम थालेको थियो।
मर्मत पछि भवनलाई संग्रहालयमा परिणत गर्ने सोचले नै भारतीय राजदूतावासबाट आर्थिक सहयोग लिइएको थियो। ‘संग्रहालयमा परिणत गर्ने भनेकैले भारत सरकारबाट सहयोग प्राप्त भएको हो’ परिषद्का् सचिव नवीन चित्रकारले भन्नुभयो । भवन मर्मतका लागि आर्थिक सहयोग प्राप्त भएपनि संग्रहालय बनाउन भने कतैबाट पनि सहयोग नपाएको उहाँको भनाइ छ।
‘संग्रहालयका लागिं सबै खर्च परिषद्काभ कोषाध्यक्ष पनि रहेका चित्तधरका भाञ्जी डा। केशरीलक्ष्मी मानन्धरले व्यहोर्नुभएको हो’ चित्रकारले भन्नुभयो। झण्डै १६ लाख खर्च भैसकेको संग्रहालयका लागिं संस्कृति मन्त्रालयबाट तीनलाख रुपैंया र पंचवीरसिंह तुलाधरले एकलाख रुपैंया आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
भवनको पहिलो र दोस्रो तल्लामा संग्रहालय अवस्थित छ। तेस्रो तल्लामा सभाकक्ष र परिषद्कों कार्यालय छ। वरिष्ठ संग्रहालयविद् जलकृष्ण श्रेष्ठको अवधारणा अनुसार संग्रहालय तयार भएको हो। संस्कृति मन्त्रालयको सहसचिव पदबाट अवकास पाएका श्रेष्ठ भन्नुहुन्छ–‘यस संग्रहालयमा चित्तधरको जीवनकाललाई जीवन्तता दिने प्रयास गरेको छु। यहाँ आउने सबैले उनको जीवनकाललाई महशुस गर्नेछन् ।’ सयवर्ष भन्दा पुरानो यो भवन आफै एक इतिहास हो।
संग्रहालयको पहिलो तल्लामा चित्तधरले प्रयोग गरेका किताब र सामानहरू सहित उहाँको अन्नप्राशनमा प्रयोग भएको लुगा पनि राखिएको छ। उहाँको हस्तलिखित संग्रह, पत्र, उहाँलाई दिइएको सम्मानपत्र र विभिन्न समयमा खिचिएका तस्वीरहरू पनि रहेका छन् ।
उहाँले संग्रह गरेका विभिन्न साहित्यकारहरूको हस्तलिखीत पाण्डुलिपिहरू पनि यहाँ प्रदर्शित छन्। त्यस्तै उहाँलाई दरवारबाट तत्कालिन राजा महेन्द्र र चीन, भारत अनि अमेरिकाबाट आएका पत्रहरू पनि राखिएको छ। दोस्रो तल्लामा चित्तधरको शयनकक्ष रहेको छ ।
यहाँ उहाँले प्रयोग गरेका भाँडाकुँडा, कलम, रेडियो, चश्मा जस्ता वस्तु उहाँले राख्ने गरेकै ठाउँमा राखिएका छन्। जेलमा रहँदा कलाकार चन्द्रमान मास्केले उहाँलाई चित्रकारिता सिकाउनुभएको थियो। सुगत सौरभ महाकाव्य र खुपु बाखंचा कृतिका लागि मास्केले आवश्यक थुप्रै चित्र तयार पार्नुभएको थियो। उहाँकै प्रेरणाले चित्तधरले तयार पारेका थुप्रै चित्रहरू पनि प्रदर्शनमा राखिएका छन्।
हरेक दिन दिउँसो १२:३० बजेदेखि ३:३० बजेसम्म खुल्ने यस संग्रहालयमा प्रवेश शुल्क तोकिएको छैन।‘न्यूनतम योगदान स्वरूप अवलोकनकर्ताले ईच्छानुसार पैसा तिरेर संग्रहालय हेर्न सक्नेछन्’ वरिष्ठ संग्रहालयविद् श्रेष्ठले भन्नुभयो–‘तर संग्रहालय भनेपछि भ्रमणका दृष्टिकोणले सर्वसाधारणको प्राथमिकतामा नपर्ने र अलि प्रचार प्रसारको कमीले गर्दा पनि अहिलेसम्म दैनिक ८/१० जना मात्रै संग्रहालय अवलोकन गर्न आउने गरेका छन्। त्यसमाथि नेपालीहरूमा संग्रहालय भ्रमण गर्ने संस्कृतिको विकास पनि भएको छैन ।’
परिषद्काल सचिव चित्रकार, कोषाध्यक्ष डा. मानन्धर र संग्रहालयविद् श्रेष्ठ सहितको समितिले संग्रहालयको व्यवस्थापन हेर्दै आइरहेको छ। चित्तधर हृदयु स्मृति संग्रहालय नेपालभाषाका एक बहुआयामिक साहित्यकारका नाममा समर्पित भए पनि यसलाई नेपालकै गौरवका रूपमा लिन सकिन्छ। विलियम शेक्सपियर र विलियम वर्ड्सवर्थ जस्ता साहित्यकारहरूको संग्रहालय खुले जस्तै नेपालमा पनि एक विशुद्ध साहित्यकारको संग्रहालय खुलेको छ।
आफ्नो जीवनकालमा चित्तधर हृदयु थुप्रै साहित्यकारका प्रेरणाका स्रोत रहनुभयो। उहाँ आफैं पत्रिका, किताब निकाल्नुहुन्थ्यो । अनि आफैं वितरण पनि गर्नुहुन्थ्यो।आशा गरौं उहाँको शेषपछि उहाँको संग्रहालय पनि त्यस्तै प्रेरणाका स्रोत बन्नेछ ।
No comments:
Post a Comment