Friday, December 11, 2015

‘मातृभाषा शिक्षाले ठूलो भूमिका खेल्छ”

‘मातृभाषा शिक्षाले ठूलो भूमिका खेल्छ” रमेशकाजी स्थापित ३० वर्षदेखि नेपाल भाषा पत्रकारितामा संलग्न छन् । नेपाल भाषा साहित्यका अध्येता उनीले कथा, कविता र निबन्धमा पनि कलम चलाउँदै आएका छन् । ६० वर्षीय स्थापितका दुई मौलिक कृति छन्– ‘मुलुकय् मरुगु मुलुक’ र ‘ज्या मदुम्ह मनु’ । निबन्धकारका रूपमा बढि परिचित उनी ०६० को राष्ट्रिय नाटक महोत्सवमा उत्कृष्ट निर्देशक भएका थिए ।


मंसिर १९, २०७२- नेपाल भाषा साहित्य ह्रासउन्मुख 

अहिले नेपाल भाषा साहित्यको स्थिति केही ह्रासउन्मुख छ । व्यावसायिक हुन सकेको छैन । यसको प्रमुख कारण मातृ भाषामा शिक्षा लिन नपाउनु नै हो भन्ने मेरो निचोड छ । नेपाल भाषामा अहिले जति पनि लेखक निस्किरहेका छन्, तिनले मातृ भाषाबाट शिक्षा लिन पाएनन् । हाम्रो पालामा सन्तोषजनक थियो, किनभने हामी मातृ भाषामा शिक्षा लिएका पुस्तामा पर्छौं । हाम्रो समयमा सरकारको भाषिक नीति ठीक रहेन । राणाकालदेखि नेपाल भाषामाथि दमन भएको थियो । त्यति बेला लेखकहरूमा बौद्धिक विद्रोह भावना थियो । त्यति बेला जति पनि साहित्य सिर्जना भए, ती गहन थिए । पर्याप्त अध्ययनपछि निस्केका त्यति बेलाका साहित्यमा उत्तिकै मिहिनेत पनि थियो । त्यो बेला व्यावसायिकता थिएन । तर यसले फरक पारेन । 

चिन्तन कम छ 
अहिले लेख्न स्वतन्त्रता छ, छाप्न कुनै व्यवधान छैन । तर अहिले लेखन रहर भएको छ, नामका लागि लेख्न गरिएको छ । चिन्तन कम भएको छ । नेपाल भाषा साहित्यको आन्दोलनमा दुई कालखण्ड महत्त्वपूर्ण छन्, पहिलो ०२२ सालको आन्दोलन, अर्को ०३० सालका । मेरो पुस्ता ०३० सालको हो । बाइस सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचार प्रसारण रोकिएको थियो ।  तीस सालमा ‘जीवन दबु’ कार्यक्रम हटाइएको थियो । त्यति बेलाको साहित्यमा परिपक्वता बढी पाइन्छ । बुद्ध साय्मि भने ०२२ सालको पुस्ताका हुन् । अहिलेको पुस्ताका नेपाल भाषा साहित्यकारमा अध्ययनको केही कमी देखिन्छ । विश्व साहित्य कता गइरहेको छ, त्यसको पर्याप्त अध्ययन आवश्यक छ । अझ भनौं, नेपाली भाषाको साहित्य कस्तो छ, त्यसको गहन अध्ययन पनि चाहिन्छ ।  

कविता अगाडि 
नेपाल भाषा साहित्यमा सबैभन्दा जमेको विधा कविता हो । कुनै समय नेपाल भाषाका कविता मूल धारको नेपाली कवितासँग बराबरीमा प्रतिस्पर्धा गर्न सक्षम थियो । विशेषत: पद्यभन्दा पनि गद्यमा नेपाल भाषाका कविता राम्रा छन् । कथा साहित्यमा पनि सन्तोष गर्ने ठाउँ छ । नेपाल भाषामा उपत्यास र निबन्धमा भने कम कलम चलाइएका छन् । अहिले कथा साहित्यमा धेरै लेखक अगाडि आइरहेका छन् र यसलाई लिएर एक प्रकारको सामूहिक प्रयास नै चलिरहेको छ । कथा साहित्यमा अहिले धेरै नारी लेखक अगाडि आइरहेका छन् र यो सुखद पक्ष हो । अहिले पनि म महिला लेखक शशिकलाकै उपन्यास ‘संकल्प’ अध्ययन गरिरहेको छुं । उनीहरू सबैले पनि लेख्नेसँगै पर्याप्त अध्ययनको आवश्यकता छ ।  

पाठकको संख्यामा कमी
नेपाल भाषा साहित्यमा पछिल्लो समय पाठकको संख्या कमी हुनु ठूलो समस्या हो । त्यसो त माथिल्लो दर्जाको साहित्य आम पाठकले पढ्ने विशेष पनि होइन । माथिल्लो दर्जाको हिन्दी साहित्यकै पाठक निकै कम छन् भनेर सुनेको छु । यस्तोमा नेपाल भाषाका कृति केही सयको संख्यामा मात्र बिक्री भए पनि त्यसलाई लिएर निराश हुनुपर्छ जस्तो पनि लाग्दैन । नेपालीजस्तै नेपाल भाषा पनि अहिले देवनागरीमै लेखिने भए पनि यो पढ्न केही गाह्रो छ । नेपाल भाषामा बोलीचाली गर्नेलाई पनि पढ्न अप्ठ्यारो हुने गर्छ । नेपालीमा जसरी बोलिन्छ र लेखिन्छ, त्यो प्रवृत्ति नेपाल भाषामा फरक छ । फेरि यसमा मातृ भाषाकै शिक्षाको प्रसङ्ग पनि आउँछ । आफ्नो मातृभाषामा पढ्न नपाएको हुनाले पनि पाठक संख्या बढ्न नसकेको हो ।  कुनै समय नेपाल भाषाकै लेखकले पनि नेपालीमा माथिल्लो दर्जाका साहित्य रचना गरेको पर्याप्त उदाहरण छन्, जस्तो सिद्धिचरण श्रेष्ठदेखि माधवलाल कर्माचार्यसम्म । खासमा लेखकसँग एक भाषाभन्दा बढीका ज्ञान हुने हो भने उसको रचना अझ राम्रो हुने गर्छ । नेपाल भाषामा दक्षता प्राप्त लेखकले नेपाली अझ राम्रो लेख्न सक्ने क्षमता बढी हुन सक्छ ।  

सरकार र निजी क्षेत्रको भूमिका 
संविधानले नै नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएपछि अब विशेषत: राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पनि यसतर्फ उपयुक्त पाइला चाल्नुपर्छ । नेपाल भाषा मात्र होइन, नेपालमा बोलिने सबै भाषाले प्रतिष्ठानबाट समान अवसर पाउनुपर्छ । नेपाल भाषाको साहित्य प्रकाशनमा निजी क्षेत्रको अहिले पनि उत्तिकै भूमिका हुन पर्छ । नेपाली भाषामा अहिले धेरै निजी प्रकाशन संस्थाहरू आइरहेका छन् । उनीहरूले पनि नेपाल भाषा साहित्यमा अनुराग देखाउन अपेक्षा राख्न सकिन्छ । पछिल्लो समय नेपाल भाषामा केही उदाहरणीय प्रकाशन संस्था अगाडि आएका छन्, जस्तो नागार्जुन पब्लिकेसन । डा. सर्वोत्तम श्रेष्ठको यस संस्थाले आफ्नो आम्दानीको २५ प्रतिशत नेपाल भाषाको साहित्य प्रकाशनमा खर्च गर्ने भनेर घोषणा गरेको छ ।  यस्तै भरत साय्मिले ‘देग: म्हिचा सफू’ पनि निजी खर्चमा यस्ता धेरै काम गरेका थिए । यस्ता निजी क्षेत्रले दिने उत्साहले पनि साहित्य सिर्जनामा ठूलो काम गर्नेमा शंका छैन । फेरि नेपाल भाषाकै केही साहित्यमा नेपालीमा अनुवाद भएर प्रकाशन भए, धेरै राम्रो हुने थियो । पूर्णबहादुर वैद्य, बुद्ध साय्मि, सुरेश किरण र प्रतिसरा साय्मिका कविता अनुवादका लागि उपयुक्त छन् । 
–हिमेश 

रमेशकाजीलाई मन पर्ने लेखक र तिनका कृति 
द्धधुस्वाँ साय्मि, ‘निभा:’ (उपन्यास) 
द्धजगदीश चित्रकार, ‘नचुया वंपि मनूत’ (उपन्यास) 
द्धगिरिजाप्रसाद जोशी, ‘मन्त्र’ (खण्ड काब्य) 
द्धदुर्गालाल श्रेष्ठका अधिकांश काव्य कृति 
द्धहितकरवीरसिंह कंसाकार, ‘अजिंमथ:’ (कथा संग्रह) 
द्धभूषणप्रसाद श्रेष्ठका अधिकांश गजलहरू 
द्धरामशेखर नकर्मीका अधिकांश नाटक/प्रहसनहरू 
द्धपद्मरत्न तुलाधरका अधिकांश निबन्धहरू   

प्रकाशित: मंसिर १९, २०७२

http://kantipur.ekantipur.com/printedition/news/2015-12-05/20151205095257.html

No comments: