01 Aug 2014
शुक्रबार १६ श्रावण, २०७१
गाउँले बलदेव
दार्जलिङमा गंगा प्रसाद प्रधानको सम्पादकत्वमा स्थानीय बोलीचालीको भाषालाई आधार बनाएर 'गोर्खे खबर कागत्' इ.सं १९०१ मा प्रकाशित भएको थियो। कथ्य भाषालाई नै लेख्य भाषा बनाउने उनको प्रयासप्रति अर्का प्रधान पारसमणिले भाषाशास्त्रीय आधारमा विरोध गरे।
प्रवासमा मानक नेपाली व्याकरण बनाउने पारसमणि प्रधानको योगदान अविस्मरणीय छ। वास्तवमा उनी नेपाली भाषाका लागि पारसमणि नै भएर चम्किए। २०१३ मा बनारसतिरबाट चलेको झर्रोवादी आन्दोलनले नेपाली जनजिब्राको शब्दलाई प्राथमिकता दियो। यस्तो काम प्रशंसनीय भयो। हौसिएका अभियन्ताहरूले कृत्रिम शैलीमा नेपालीका शब्द बनाउन थाले। क्रमशः झर्रोवादी आन्दोलन टर्रोवादी हुन पुग्यो। यता धनवज्र वज्राचार्यमा शुद्ध नेपाली भाषा जोगाउने चासो बढ्यो। उनले २०१४ तिरबाट 'व्याकरण संशोधन अभियान' चलाए। सोमनाथ सिग्द्यालजस्ता स्वनामधन्य विद्वान्ले समेत संस्कृतका तत्सम शब्द अशुद्ध लेखेको पत्ता लगाएर अशुद्ध लेख्नेहरूको सातो लिए। ती धनवज्र वज्राचार्य नयराज पन्तको गुरुकुलबाट उत्पादन भएका प्रकाण्ड विद्वान् थिए।नेपालमा नेपाली भाषालाई शुद्ध बनाउन पुष्करशमशेर, गोपाल पाँडे आदि दशौँ विद्वान्हरू सक्रिय रहे। तिनैको प्रेरणाबाट हृदयचन्द्रसिंह प्रधान नेपाली व्याकरणलाई सजिलो र भरपर्दो उपायको खोजीमा लागे। उनले २००२ मा चिह्न परिचय लेखे। २००४ मा शब्द–शुद्धि–विचार छपाए। यतिले पनि उनको धित मरेन। झर्रोवादीहरूले सीमा नाघेर नेपाली वर्णविन्यासलाई गंगा प्रसाद प्रधानको बाटामा हिँडाउन लागेको सुइँको पाए। सातै दिनमा नेपाली शुद्धसँग लेख्न सिकाउने उद्देश्यबाट हृदयचन्द्रसिंह प्रधानले २०१६–२०१७ मा 'शब्द–शुद्धि–विज्ञान' लेखेर हजारौँप्रति प्रकाशित गरे।
उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रकाशित 'एक चिहान' उपन्यास तिनै महान् साधकको लोकप्रिय उपन्यास हो। एघार जना लेखकहरूले उनको उपन्यासलाई काटकुट पारेर छपाए। 'शब्द–शुद्धि–विज्ञान'का लेखकको पुस्तकमा रहेको वर्णविन्यास हेर्दा उनीहरूले हृदयचन्द्रको मात्रै होइन, सर्वसाधारण पाठकको समेत हृदय–विदारण हुने अपमानपूर्ण व्यवहार गरेको देखिन्छ। कुनै पनि लेखकका प्रकाशित कृतिलाई सम्बन्धित लेखकको अनुमतिविना काटछाँट गर्न पाइँदैन। शैक्षिक प्रयोजनका लागि आवश्यक पर्ने निश्चित शब्द, वाक्य वा अनुच्छेद लिन सकिन्छ तर मनपरीसँग बिगार्न पाइँदैन। यस्तो व्यवहार भाषिक जगत्का लागि महाअपराध हो।
साझा प्रकाशनबाट उक्त विरूप उपन्यास छापिँदा त्यहीँको उच्च पदमा आसीन अर्का प्रधान भिक्टर चाहिँ खुसी मनाइरहेका थिए। रूखलाई मास्ने ऐजेरु रूखैमा पलाउँछ। भारतमा पारसमणिलाई चुनौती दिन उनैका कुलज गंगा प्रसाद प्रधान उमि्रएका थिए। नेपालमा प्रधान वंशकै भिक्टर प्रधान अमर साहित्यकार हृदयचन्द्रको हृदयमा घाउ लाग्ने गरी नयाँ वर्णविन्यासको प्रस्ताव लिएर गरिमा (२०६६) बाट पलाए।
हृदयचन्द्रसिंहका सहोदर भाइ कृष्णचन्द्र प्रधानले कथित एकरूपतावाद वा उत्तर आधुनिकतावादमा आधृत नयाँ वर्णविन्यासको नियमनसँग आत्मसमर्पण गर्न चाहेनन्। कृष्णचन्द्रको शरीरले इहलोक छोड्नुभन्दा एक वर्षअगाडि मलाई भनेका थिए, "गाउँलेजी, मैले गोरखापत्रमा छापिएको तपाईंको लेख पढेँ। मेरो दाजु पनि तपाईंं जस्तै एक्लै रणभूमिमा पसेर विजयी हुनुभएको थियो। तपाईंलाई मेरो शुभकामना छ।" मैले उनबाट आशीर्वाद मागेको थिएँ, शुभकामना पो दिएर टारे। नेपाली समालोचना र निबन्ध विधाका सशक्त प्रतिभाबाट पाएको शुभकामना मनमा साँचेर मैले नेपाली भाषाप्रति अनन्य प्रेम जनाउने नेवार विद्वान्हरूलाई सम्भि्कन थालेँ। नेपाली भाषाको पहिलो व्याकरण विदेशी जे.ए. एटन (इ.१८२०) ले छपाए। भारतमा समेत प्रभाव पार्न सफल तथा संस्कृतका प्रतिभाशाली साहित्यकार अमृतानन्द (बाँडा?) (इ.१८३०) ले 'अश्वघोष'को 'बुद्धचरित' महाकाव्यमा चार सर्ग थप गरेका थिए। तिनै धुरन्धर विद्वान्ले नेपाली, संस्कृत र नेवारी भाषासमेतको 'त्रिभाषिक व्याकरण' लेखेका थिए, छापिन पाएन। संयोगवश नेपाली व्याकरण लेख्ने प्रथम नेपाली व्याकरणकार पनि नेवार (अमृतानन्द बाँडा)नै परे। शहीद शुक्रराज शास्त्रीले पनि संस्कृत व्याकरणका सन्दर्भमा नेपाली व्याकरण लेखेका थिए। गुरुपूर्णिमाका दिन मैले नेपाली व्याकरणको विधिपूर्वक छेवार गर्ने तिनै नेवारगुरुहरूलाई मात्र वन्दना गरेँ।
http://www.nagariknews.com/friday/story/22267.html
No comments:
Post a Comment