- नारायणी देवकोटा
आश्विन २, २०७२- गत वर्ष त्रिविको समाजशास्त्रमा ‘नेपाली समाज र संस्कृति’ विषयअन्तर्गत अन्य धेरै जातीय समाजबारे अध्ययन गर्ने क्रममा समाजशास्त्री गोपालसिंह नेपालीको पुस्तक ‘द नेवार’ पढ्न पाइयो। ‘द नेवार’ गोपालसिंह नेपालीले पीएचडी थेसिसको लागि कीर्तिपुरको पाँगा र काठमाडौंका केही ठाउँमा गरेको जातीय–समाजशास्त्रीय अध्ययन हो। सामान्यतया जातीय अध्ययनलाई मानवशास्त्रीय अध्ययनको एक पाटोको रूपमा हेर्ने गरिए पनि नेपालीले संरचनात्मक प्रकार्यवादको प्रयोग गरेर यसलाई समाजशास्त्रीय अध्ययनमा ढालेका छन्। ५५ वर्षअगाडि निस्किएको ‘द नेवार’ बजारमा नपाइएको धेरै वर्ष भएको थियो। समाजशास्त्रको पाठ्य सामग्रीमा पढ्नुपर्ने भएको कारण यसको फोटोकपी मात्रै पाइन्थे क्याम्पसहरूका फोटोकपी सेन्टरमा। उक्त किताबलाई भर्खरै मण्डला बुक प्वाइन्टले बजारमा ल्याएको छ। किताबलाई १५ उप–शीर्षकमा विभाजन गरिएको छ। नेवार समुदायको आर्थिक जीवन, गुठी परम्परा, नाता सम्बन्ध, विवाह, मृत्यु, नेवार समुदायले मान्ने देवीदेवतालगायतको ऐना उतार्ने काम समाजशास्त्री नेपालीले गरेका छन्। समाजका हरेक अंगले आ–आफ्नो भूमिका निभाएका छन् भन्ने धारणालाई संरचनात्मक प्रकर्यवादअन्तर्गत बुझिन्छ। नेपालीले नेवारको अध्ययन संरचनात्मक प्रकर्यवादको आधारमा रहेर गरेका छन्। जसलाई प्रमाणित गर्न किताबभित्र विभिन्न ठाउँमा यसको व्याख्या गरेका छन्। उदाहरणका लागि–घररपरिवार, गुठी सदस्य, देवीदेवता सबैको आफ्नै भूमिका हुन्छन्। सन् १९३० दशकदेखि ६० दशकसम्म समाजशास्त्रमा संरचनात्मक प्रकार्यवादको दबदबा थियो। त्यो दबदबाबाट भारतीय समाजशास्त्री जीएस घुरे र उनका विद्यार्थी गोपालसिंह नेपाली अछुतो रहने कुरै भएन। संरचनात्मक प्रकर्यवादअन्तर्गत लेखिएको भनेर ठाउँठाउँमा पुष्टि गर्न खोज्दाखोज्दै पनि लेखकले गोर्खाली र नेवार समुदायबीचको, कथित माथिल्लो र तल्लो जातिबीच, हिन्दु र बुद्ध धर्म मान्नेबीचको तितो सम्बन्धलाई लुकाएका छैनन्। अहिले नेपालमा जाति–जनजातिको आन्दोलन भइरहँदा यो किताबको एक महत्त्वपूर्ण शिर्षक ‘नेवारी जाति व्यवस्था’ निकै रोचक छ। श्रेष्ठ र गुरुवाचार्य, खड्गी र मल्ल, आचार र ज्यापुबीच आकाश–पातालको फरक यसमा पढ्न पाइन्छ। नेपालीले हरेक नेवारी जातिको निर्माण प्रक्रियाको छोटो तर निकै उपयोगी जानकारी जाति व्यवस्थामा समेटेका छन्। कुनै एक जाति कसरी अछूत बन्यो? एकै मानिसले छोएको दूध चल्ने पानी नचल्ने चलन, विक्रम संवत् २०६० को दशकमा खड्गी समुदायले ‘हामी कसाई होइनौं’ भनेर गरेको संघर्ष बुझ्न पनि यो शीर्षकले सहयोग गर्छ। खस नेपाली समाजअन्तर्गत नेवारी समुदायलाई वैश्यअन्तर्गत राखिएको छ,्र जब कि काठमाडौंको जात व्यवस्था धेरै हदसम्म गोर्खाली जात व्यवस्थासँग मिल्छ। वास्तवमा, नेवारी समुदाय खस नेपाली समाजअन्तर्गतको नभई छुट्टै समुदाय हो भन्ने किताब पढेपछि थाहा हुन्छ। नेपालका उपाध्याय र जैसी ब्राह्मणका सगोत्रीयहरूलाई पनि चार वर्णको फूलबारीमा समेट्दा कथित वैश्यभित्र पारिएको हो। त्रिवि समाजशास्त्रको गत वर्षको कक्षामा हामीले यो पुस्तकको एक विद्यार्थी, एक शीर्षकका हिसाबले समीक्षा गरेका थियौं। ५५ वर्षअगाडिको र अहिलेको नेवार समुदायमा धेरै कुरा फरक भएको हाम्रा नेवार साथीहरूले कक्षामा बताएका थिए। तर, पनि नेवार समुदायभित्रका जात–जातिको निर्माण र पुननिर्माणको कथा, नेवार समुदायका विभिन्न संस्कारको कुरा, काठमाडौंका चोकचोकमा रहेका गणेशका मन्दिर र तिनले बताउने छोरा र भान्जाको महत्त्वको कुरा, नेवारी समाजका गतिविधिलाई प्रतीकको आधारमा गरिने व्याख्यालाई किताबमा रोचक ढंगमा उतारेका छन्। उदाहरणका लागि भान्जो जन्मिएको छ भने मामाले सिंगो सुपारी पाउँछन् र भान्जी जन्मेकी छ भने आधा सुपारी पाउँछन्। अर्थात् सुपारीका आधारमा भान्जा हो कि भान्जी जन्मेकी भन्ने थाहा पाउँछन्। त्यसैगरी विवाह कुनै कारण रद्द भएको छ भने उक्त कुरालाई बिहेका लागि संकलन गर्दै गरेको रक्सीको भााडो सबैले देख्ने चोकमा लगेर फुटाइन्छ र आफन्तले त्यसैको आधारमा विवाह रद्द भएछ भनेर बुझ्छन्। नेपालीले किताबका केही ठाउँमा सम्बन्ध र चालचलनलाई लिएर नेवारी समाज सुरुको समयमा मातृसत्तात्मक र बहुपति प्रथामा आधारित थियो कि भन्ने प्रश्न उठाएका छन्। तर, उनले अध्ययन गर्ने समयसम्म आइपुग्दा नेवारी समाज एकल पति र पितृसत्तात्मक भएको बताउँछन्। केही ठाउँमा नेवार महिलाहरू जीवनसाथी चुन्ने विषयमा स्वतन्त्र रहेको कारण अरू समुदायभन्दा स्वतन्त्र रहेको बताउँछन्। तर त्यो स्वतन्त्रता एक जीवनसाथीलाई छोडेर अर्को चुन्नेमा मात्रै सीमित रहेको पनि उनी लेख्छन्। समाज विज्ञानमा चासो राख्नेहरूका लागि ५५ वर्षअगाडिको नेवारी समाजको सामाजिक, आर्थिक, धार्मिक चालचलन बुझ्न यो किताब उपयोगी छ। अंग्रेजी भाषामा लेखिएको भए पनि अप्ठ्यारा शब्दको प्रयोग नभएकाले सरासर पढ्न सकिन्छ। प्रकाशित: आश्विन २, २०७२
http://kantipur.ekantipur.com/printedition/news/2015-09-19/20150919093827.html
No comments:
Post a Comment