Sunday, April 2, 2017

‘मध्यकाल र मल्लकालका नाटकबारे अनुसन्धान जरुरी’

मङ्गलबार, १५ चैत २०७३
‘मध्यकाल र मल्लकालका नाटकबारे अनुसन्धान जरुरी’

काठमाडौं- मध्यकाल तथा मल्लकालमा मैथिली, नेवारी र भँगाली भाषामा लेखिएका सयौं नाटक सम्बन्धी अभिलेख पाइए पनि तिनीहरुलाई अनुसन्धान गरी प्रकाशनमा ल्याउन नसकिएको अनुसन्धानकर्ताहरुले खुलाएका छन्।
५५ औं विश्व रंगमञ्च दिवसको अवसर पारेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक संस्थानको सहकार्यमा सोमबार नाचघरमा आयोजना गरेको गोष्ठीमा अनुसन्धानकर्ताहरुले  ती महत्वपूर्ण अभिलेखहरुका बारेमा थप परिणामोत्पादक अनुसन्धान र प्रभावकारी प्रकाशन हुन नसकेको धारणा राखेका हुन्।
कार्यक्रममा अनुसन्धानकर्ता प्रा.डा. रामावतार यादवले मध्यकालीन एवं मल्लकालिन नेवारी, मैथिली र बंगाली नाटकबारे कार्यपत्र प्रस्तुत गर्दै तीन प्रकृतिका नाटक, तीन सयभन्दा बढी मैथिली नाटक, चार नेवारी नाटक र त्यत्ति नै मात्रामा बंगाली भाषाका नाटकको अभिलेख मध्य र मल्लकालमा लेखिएको र ती नाटकहरु अहिले पनि सुरक्षित रहेको बताए।
संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालपछि नेवारी भाषाको नाटक लोप भएको अवस्थामा आफूहरुले संरक्षण गरेको स्मरण गर्दै मल्लकालमा काठमाडौं, ललितपुर र भक्तपुरमा मञ्चन भएका केही नाटकको चर्चा गरे।
अर्का नाट्यकर्मी प्रचण्ड मल्लले मल्लकालको मञ्च र प्रस्तुतिका बारेमा चर्चा गर्दै त्यतिबेला त्रिकोण आकारको मञ्चमा नाटक देखाइने गरेको खुलाए। नाटक मञ्चनअघि मन्त्रबाट स्टेजलाई बाँध्ने र प्रकाशको रुपमा विभिन्न कोणमा मसाल बाल्नेजस्ता कार्य गरिने पनि उनले जनाए।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङले उपत्यकाका नेवारी नाच संकटमा रहेको र आधुनिक प्रयोगले नेवारी नाटक छायाँमा परेका विषयमा कार्यपत्र प्रस्तुत गर्दै मध्यकालदेखि चल्दै आएका नेवारी नाटक तथा नाचलाई अहिलेको प्रविधिसँग जोडेर त्यसको भाव र महत्व नबिग्रिने गरी आधुनिक उपकरणमार्फत मञ्चन गर्नुपर्ने सुझाव दिए।
प्राध्यापक डा. सावित्री मल्लले 'नेवारी रंगमञ्च र त्यसको चुनौती' विषयमा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौंका नेवारमा बाजे र बुबा पुस्ताले अझै नेवारी बोले पनि नाति पुस्ताले बोल्न छाडेकाले नयाँ पुस्ताले नेवारी भाषा बुझ्न नसकेर नेवारी भाषामा मञ्चित नाटक हेर्न छाडेको बताइन्।
प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले विभिन्न संघसंस्थासँग सहकार्य गरेर राजधानी र मोफसलमा प्रतिष्ठानले नाच, नाट्य, संगीत सम्बन्धी कार्यक्रम गर्दै आएको बताए। उनले यो वर्ष प्रतिष्ठानले सात प्रदेशकै नाटक, नाच, गीतसंगीत सम्बन्धी अनुसन्धान गरेर हरेक प्रदेशको छुट्टै पुस्तक प्रकाशन गर्न लागेको र प्रदेश–३ को नाटक अनुसन्धानको क्रममा जनाए।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थान र प्रतिष्ठानको उद्देश्य एउटै भएकाले नाट्य विकास र बिस्तारका लागि संयुक्त गोष्ठी आयोजना गरिएको बताए।
प्रतिष्ठानका परिषद सदस्य एवं नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले विश्व रंगमञ्च दिवसमा अन्तर्राष्ट्रिय सन्देश पढेर सुनाउँदै मध्यकाल र मल्लकालमा लेखिएका एवं मञ्चन भएका नेवारी, मैथिली, बंगाली नाटकको खोज अनुसन्धानका लागि गोष्ठी र कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा मध्यपुर ठिमीका कलाकारहरुले ४ सय वर्ष अघिदेखि प्रचलनमा रहेका इन्द्र अप्सरा नृत्य र भष्मासुर नाच प्रस्तुत गरेका थिए।
http://www.nagariknews.com/news/16944/

No comments: