Sunday, April 2, 2017

नयाँ संरचनामा पाल्पाली नगर

माधव अर्याल, पाल्पा



चैत्र २०, २०७३- पहाडी जिल्लाको सदरमुकाम भएपनि छिमेकी जिल्लावासीको रोजाइमा तानसेन परिआएको छ । उदाउँदो सहरका रुपमा भने जिल्लाकै ६० किलोमिटर पूर्वको रामपुर परिचित छ । साविकको पाँच गाविस मिलाएर रामपुर नगरपालिका बनेको हो ।
रामपुर केही वर्षयता विकसित हो । तानसेनको ऐतिहासिकता भने भिन्नै छ । स्याङ्जा, बागलुङ्, गुल्मी, पर्वत र अर्घाखाँचीसाथै जिल्लाकै विभिन्न स्थानबाट तानसेन बस्न आउनेको कम्ती छैन । नयाँ संरचनाअनुसार अब पाल्पामा आठ गाउँपालिका र दुई नगरपालिका छन् । तानसेनको भिन्न अस्तित्व र पहिचान छ । यहाँका रैथाने ‘नेवार’ बस्ती भने बिस्तारै पातलिँदै गएको छ । सबै समुदायको बसोबास स्थल तानसेन बनेको छ । आसपासका जिल्ला र गाउँबाट रोजगारी र अध्ययनका सिलसिलामा यहाँ आउने चलन थियो । अहिले भने जनसंख्याको हिसाबले पनि यहाँ नेवार कमजोर बन्दै छ । तर, इतिहास भने यहाँ नेवार बस्ती नै हो । रामपुर क्षेत्रमा समथर फाँट र फराकिलो बस्ती छ । स्याङ्जा र नवलपरासीका पहाडी भेग, तनहुँका केही भाग साथै जिल्लाकै पहाडी भेगबाट बसाइँसराइ गरेर रामपुर पुग्ने क्रम बढेको छ ।
इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार विसं १८४४ मै महादत्त सेनले ‘श्रीनगर सहर’ बसाएका हुन् । पश्चिमको राजधानी पनि यही नै बन्यो । टुँडिखेलको मुखबाट नारायणस्थानहुँदै असनटोल, सित्तलपाटी, भगवतीटोल हुँदै कैलाशनगर पुरानो बस्ती हो । सिल्खानटोल, टक्सार बिस्तारै बस्ती बस्दै गएका टोल हुन् । अमरसिंह थापाले तानसेनलाई केन्द्रबिन्दु बनाएर पश्चिमको कमाण्डर बने । पहाड, हावापानी राम्रो भएपनि पानी र विकासको अवसर भने कमी भयो । बिस्तारै यहाँका रैथाने तराई र काठमाडौ पलायन हुन थाले । बजार क्षेत्रमा विकास भएपनि २०१५ साल अघि नै नगरपालिका बनेको तानसेन सु:ख सुविधा भोगीलाई भने बस्न मन लागेन । ‘यहाँ भन्दा अवसर बढी बाहिर देखे,’ इतिहासका जानकार श्रेष्ठले भने, ‘सुख: सुविधामा हावामात्रै पाए यहाँ पानी र रोजगार साथै अवसर पाएनन् ।’ ०४८ मा नगरपालिका बन्यो । अहिलेसम्म यहाँको गुरुयोजना तयार हुन सकेको छैन ।
नयाँ मापदण्डले झनै अप्ठेरो बनाएको छ । श्रेष्ठले अझै पनि अवसर प्रशस्त भएको देख्छन् । सामथ्र्यका हिसाबले पनि दरिलो हुन्छ । उनका अनुसार गुरुयोजना बनाएर अघि बढ्न सक्ने हो भने तानसेन नगरपालिकाको भविष्य उज्जवल छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगलाई सहयोग गर्न जिल्लामा बनेको स्थानीय तह पुन:संरचना प्राविधिक सहयाग समितिलाई दिएको अधिकारले नगरपालिकाको जनसंख्या नपुगेपछि समस्या आयो । उसले पहाडमा नगरपालिका बनाउन ३५ हजार जनसंख्या तोकेको थियो । जबकी नगरपालिकाको जनसंख्या भनेको २९ हजार थियो । अब गाउँपालिकामा झार्नुपर्ने अवस्था आयो । त्यसपछि नगरपालिकामै राख्नलाई नजिकका गाविस गाभ्ने कुरा भयो ।
२०४९ सालअघिसम्म ११ वडामा सीमित भएपनि नगरपालिका बनेपछि १५ वडा छन् । पटकपटक राजनीतिक दल, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिको बैठकले केही गाविस गाभ्न सहमत भए । नगरपालिकामा साविकको मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्हा, अर्गली साथै बराङीका केही वडा समेटिएका छन् । कृषि, पर्यटन साथै अन्य हिसाबले विकास गर्न सकिने अवस्था छ ।

नयाँ संरचनामा तानसेन
१०९ दशमलव ८ वर्गकिलोमिटर रहेको नगरपालिकाको जनसंख्या ५० हजार ४ सय ५ रहेको छ । १५ वटा १४ वडामा सिमिति छ । साविकको तानसेन नगरपालिका १० र बराङीको २ र ६ मिलाएर १ नम्बर वडा बनेको छ । साविक १, २ र १५ लाई २ नम्बर, ५, ६ र ८ लाई ३ नम्बर र साविकको ४ लाई ४ मै राखिएको छ । साविकको तानसेन ७, १२, १३ र बराङी ३, ४ र ५ लाई ५ नम्बर, तानसेन, ३ र ९ लाई ६ नम्बर वडा बनाइएको छ । ११ र १४ लाई ७, मदनपोखराको २, ३, ४, ५ र ९ वडालाई ८, मदनपोखराको १, ६, ७ र ८ लाई ८ नम्बर वडा बनाइएको छ । तेल्घा, १०, बन्दपोखरा, ११, बौघापोखराथोक १२, बौघागुम्हा, १३ र अर्गली १४ नम्बर वडा बनाएका छन् । कालीगण्डकी नदीदेखि तिनाउ नदीसम्मको नगरपालिका क्षेत्रफलका हिसाबले पनि ठूलै भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत पुष्कर भट्टराईका अनुसार कर्मचारी व्यवस्थापन नहुँदा कतिपयको वडा कार्यालय नगरपालिकामै र मदनपोखराको दुबै वडालाई साविकको गाविस भवनमै राखिएको छ । जिल्लामा भने पछिल्लो पुन:संरचना अनुसार ८ गाउँपालिका र दुई नगरपालिका कायम भएको छ । साविकमा ६० गाविस र दुइ नगरपालिका थिए ।

इतिहास कोट्याउँदा
इतिहासका जानकार श्रेष्ठका अनुसार इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रोफेसर जोशेफ टुचीको भनाईमा जिल्लाको अस्तित्व ईसाको पाचौं शताब्दी तिर थियो । त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अडल काटिएको छ । उनको भनाई अनुसार मंगोलियन शव्द वाल्वा यसको अर्थ सीप कला र कालीगढ बाट पाल्पा बन्न गएको हो ।
भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेन पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ (रिब्दीकोट, ८ फेक) बसी आÏनो स्वतन्त्र राज्य स्थापना गरे । तानसेन आउनु अघि सेनवंशीय राजाहरू शिलाङथोकको नजिक रहेको पुरानकोटलाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख छ । वि.सं. १३६३ मा तुथारय सेनदेखि प्रारम्भ भई पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६६ मा पाल्पा राज्यको स्थापना गरेका थिए । झण्डै ४सय ९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनैतिक चर्तुयाइले पाल्पा राज्य विसं १८६१ मा नेपाल राज्यमा गाभियो । मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ ।

बढो सहरीकरण
तानसेनमा तीब्र सहरीकरणसँगै केही फाइदा पनि भएको छ । कतिपयलाई घाटा पनि छ । जमिन बिक्री बितरण भएपनि यहाँ रोजगारकालागि केही पनि विकास भएको छैन । यहाँका पूराना व्यापार सुक्दै गएको छ । अधिकांश नेवार समुदाय र गुरुजु (पाण्डेय) हरूको जमिन अहिले घडेरी प्लटिङ् भएका छन् ।
सहरीकरणको फाइदा लिने भन्दा पनि बिक्री गरेर ठूला सहरमा गएका छन् । व्यापारमा रमाएकाहरू वुटवल, भैरहवा र पोखरामा गए । अधिकांसको बसाइ काठमाडौ हुन थालेको छ । अहिलेको सहरीकरणले धेरैलाई फाइदा भएकै छ । दैनिक ५० लिटर दुध बिक्री हुने तानसेनमा अहिले दैनिक ३ हजार लिटर बिक्छ । दुई चारवटा सवारी साधन चल्ने तानसनेमा २० वर्षमै सयौं सवारी दैनिक चल्न थालेको छ । पाल्पाली ढाका र करुवा उद्योग कमजोर बनेपनि बाहिरबाट ल्याएर ढाका बिक्री गर्ने ह्वात्तै बढेका छन् । २० वर्षअघिसम्म झिंँगटीले छाएका घर भएको तानसेनमा अहिले कंक्रिटको सहर बनिसक्यो । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सहर अहिले कुरुप बन्दै गएको छ ।

मौलिकता गुम्दै
‘पहिला तानसेन बजार पुरै ढुंगा बिच्छ्याएको बाटो थियो,’ स्थानीय ८५ वर्षिय सुर्यरत्न राजभण्डारीले सम्झिए, ‘अहिले सबै ठाउँमा कंक्रिट बनेको छ ।’ बाटो मात्र होइन, सबै घरहरू बन्ने र बढ्ने क्रमसंगै कंक्रिटले ढाकिसकेको छ । तानसेन नगरपालिका अनुसार हरेक वर्ष कम्तीमा ५ सय घरथपिएका छन् । पूरानो भएपनि तानसने नजिकका जिल्लाभन्दा धेरै पछि परेको छ । प्रमुख व्यापारिक र शैक्षिक थलो थियो । अहिले व्यापार र शिक्षाको हिसाबले छिमेकी बुटवल धेरै अगाडी बढ्यो । पोखरा, वुटवल र लुम्विनीको बिचमा पर्ने भएकाले यहाँ धेरै विकास हुनुपर्ने थियो । तर, घर बन्ने र जग्गा बिक्री गर्ने बाहेक केही हुन सकेको छैन । काठमाडौपछि सबै भन्दा पहिला विकास भएको तानसेन नै हो । उत्तर(दक्षिण सिद्दार्थ राजमार्ग बन्नुअघि नै यहाँ सहरीकरण थियो । तानसेनको मुख्य सित्तलपाटी, मखनटोल र टक्सार नै हो । त्यसपछि अन्य क्षेत्र बिस्तार भएको हो । राणाकालिन साथै त्यसअघि मल्ल र सेनकालिन राज्य भएकाले अहिले पनि पूराना घर पनि दरबारजस्ता देखिन्छ ।

शैक्षिक विकासको गतिमा बाधा
तानसेन त्रिभुवन विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस हो । यहाँ पश्चिमका अधिकांश जिल्लाबाट अध्ययन गर्न आउथे । २०११ सालतिर क्याम्पस र मिसन अस्पताल खुले । स्वास्थ्य उपचार र अध्ययन गर्न आउने विद्यार्थीका हिसाबले तानसेनले खुबै ख्याती कमायो । डेरावाल र उनीहरूले खरिद गर्ने सामग्रीले तानसेनको चहलपहल बढेको थियो । शिक्षाका जानकार मीनबहादुर केसीका अनुसार तानसेनमा भन्दा पोखरा र बुटवलमा शैक्षिक केन्द्रहरू खुले । त्यसपछि यहाँको विद्यार्थी उतै तानिए । क्याम्पस पढाउने राम्रा प्राध्यापक पनि अवसर खोज्दै हिडे ।
उनका अनुसार नेतृत्व लिनेहरूले सही काम गर्न नसक्दा यहाँको शिक्षा क्षेत्रको विकास अघि बढ्न सकेन । अहिले पहिलाको क्याम्पसको विद्यार्थीसंख्यामा एक तिहाई पनि छैनन् । मिसन अस्पतालले पनि अपग्रेड गरेर अब्वल तुल्याउन सकेन । पछिल्लो समय लुम्विनी मेडिकल कलेजले केही आशा जगाएको छ ।
प्रकाशित: चैत्र २०, २०७३


http://kantipur.ekantipur.com/news/2017-04-02/20170402095241.html

No comments: