Sunday, April 2, 2017

नेवारी लिपि प्रतिस्पर्धामा गैरनेवार विद्यार्थी



मंसिर १०, २०७३- हयातुल्लाह अन्सारी र रोहित कुमार राजधानीको भोटेबहालस्थित आजाद निमाविमा कक्षा ५ पढ्छन् । उनीहरू बुधबार नेवारी लिपि (प्रचलित लिपि) लेखनको प्रतिस्पर्धा गर्दै थिए ।
प्रतिस्पर्धामा २३ विद्यालयका विद्यार्थी सहभागी थिए । नेपालभाषा (नेवारी) यी छात्रछात्रामध्ये कसैको पनि मातृभाषा होइन । तर सबैले नेपालभाषा बुझ्छन्, धेरथोर बोल्छन् । कक्षामा गुरु–गुरुआमासित नेपालभाषा बोल्छन् । सहभागी सबै बालबालिका सरकारी विद्यालयका हुन् । कतिका बाबु–आमाको चिया पसल छ । दोकान छ । सहरको बीचमा नेवार बस्ती छ । उनीहरूसित व्यवहार गर्नुपर्ने भएकाले नेपालभाषा सिकेर व्यापार गर्न सजिलो भएको एक विद्यार्थीले बताए ।
‘नेवारी बोल्दा व्यापार गर्न सजिलो हुन्छ,’ अन्सारीले भने, ‘स्कुलमा पनि सर, मिसले नेपालभाषा ढाउनुहुन्छ । लिपि सिकाउनुभएको छ । अरू बेला साथीहरूसित नेपालीमै बोल्छौं ।’ भाषा र लिपि प्रशिक्षणमा संलग्न शिक्षक सिर्जना शाक्यले भित्तामा सेतो पाटीमा नेपालभाषाका शब्दहरू देवनागरीमा लेखिन् : कलम, मत, सल, थलबल, लापा, खापा, लजगा, लाभा, भसला, खाचा, माखा ... ... । त्यसलाई सहभागी ४६ विद्यार्थीले सार्दै गए । एकातर्फ देवनागरी र अर्कोतर्फ नेपाल भाषाको प्रचलित लिपिमा लेख्दै गए । एक घण्टाको समयमा कतिले आधा घण्टामै पूरा गर्दै थिए । कतिले कपी थप्दै थिए । 
मुलुकको एक मात्र महानगरपालिकाले स्थानीय नेपालभाषा (नेवारी) लाई सम्पदाका रूपमा बजेट उपलब्ध गराउँदै आएको छ ।
त्यसैअनुसार महानगरका २३ सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नेपालभाषा विषयगत रूपमा पठनपाठन हुँदै आएको छ ।
यस अघिदेखि नै डल्लुस्थित जगत्सुन्दर ब्वनेकुथि माविमा नेपालभाषाका माध्यमबाट पठनपाठन हुँदै आएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३/७४ मा २० लाख रुपैयाँ बजेट छुटयाएको नेवार शिक्षक मञ्चका सचिव वरुणप्रसाद वैद्यले जनाए छन् । राष्ट्रिय जनगणना, २०६८ को तथ्यांकअनुसार काठमाडौंको कुल जनसंख्या १७ लाख ४४ हजार छ, जसमा दोस्रो स्थानमा नेवार जाति ३ लाख ८३ हजार १ सय ३६ छन् ।
प्रकाशित: मंसिर १०, २०७३


http://kantipur.ekantipur.com/news/2016-11-25/20161125083232.html

No comments: