Friday, August 11, 2017

झोँछे गल्लीमा एउटा लु सुन

अनन्त वाग्ले शनिवार, पुस २, २०७३

झोँछे गल्लीमा एउटा लु सुन

वसन्तपुर घाइते छ । हनुमानढोकाका आङभरि घाउचोट छन् । अप्रिय अप्रिलको भूकम्पले थिलथिलो छ यो सम्पदा क्षेत्र । साततले दरबार भत्किएको छ । काष्ठमण्डप छैन । देवलका सिँढीमा लाग्ने पारिलो घाम अनि प्रेमिल भलाकुसारी बन्द छ । देखिन्छन् त केवल ढल्केका गजुर, झरेका इँटा र बांगिएका खम्बा । बँचेखुचेकालाई जोगाउन दिइएका टेका, खट र बारले भद्दा छ सहरको रूप । धूमिल छ नगरको रंग ।

यही वसन्तपुरको आडैमा छ झोँछे । कुनै बेला गोरा हिप्पीहरूको अतिप्रिय यस प्राचीन गल्लीको पनि कन्तबिजोग छ । टेकैटेकाले थामिएका छन् पुराना घर । लाग्छ ती घरका आत्मा भड्किइरहेछन् र रुमल्लिइरहेछन् सहरभरि । सग्ला उभिएकाहरू कोमामा रहेको बिरामीजस्ता कान्तिहीन देखिन्छन् । टेकोमा थामिएको यस्तै एउटा जीर्ण घर । त्यस माटेघरभित्र बाक्ला काठे दलिनमुन्तिर छ एउटा कोठा । लम्बेतान सुरुङजस्तो । त्यही कोठामा कागज, कलम, कुची र ल्यापटपसँग खेलिरहेछ एउटा- लु सुन । एक सानो छापाखानाको छपाइ नियालिरहेछ एउटा हान्स क्रिस्चियन एन्डरसन । अर्थात् शान्तदास मानन्धर । गोरो र चम्किलो अनुहार । उत्साह र जाँगर भर्ने कुराकानी । हरेक प्रसंगमा हँसाउने 'सेन्स अफ ह्युमर' । सधैंभरि आशावादी । हरेक कुराको बटम लाइनमा देश र बालबालिका ।
चीनमा राजनीतिक शिखरपुरुष माओजत्तिकै श्रद्धेय छन् साहित्य संस्कृतिका धरोहर लु सुन । अनि डेनमार्कमा गर्वले सम्बोधन गरिन्छन् हान्स क्रिस्चियन एन्डरसन । कथा, कविता र निबन्धमार्फत सांस्कृतिक रूपान्तरणका अगुवा बने चिनिया लु सुन । अनि परीकथा र बालसाहित्यमार्फत सबैका आँखाका नानीमा स्थान जमाए डेनमार्कमा एन्डरसनले । विश्व साहित्यका यी दुवै मनिषीलाई नेपालीमा अनुवादमात्र होइन, नेपाली पाठकलाई चिनाउने कामसमेत गरेका छन् शान्तदास मानन्धरले । जीवनमा उनले निकै काम गरे । कहिले अनुवाद, कहिले स्वलेखन तर थाकेनन् कहिल्यै ।
अहिले पनि आफ्नो ८३ वर्षीय वृद्ध कायालाई नवजवान उत्साहका साथ झोँछे गल्लीमा मगमगाइरहेछन् । त्यही लम्बेतान सुरुङजस्तो कोठामा । हिलोको कमलजस्तै । उनको घर, अफिस, कार्यकक्ष सबै यही कोठा थियो त्यो वैशाख १२ सम्म । त्यसपछि भने यो कोठा अफिसमात्र बनेको छ । दिनभर यहीँ काम गर्छन् । सम्पादन, लेखन, सिर्जनात्मक कक्षा, बहस चौतारी, भेटघाट, छापाखाना सञ्चालन र छपाइ कार्य । सबैसबै काम फत्ते गर्छन् यहीँबाट । अनि साँझ लाग्छन् छाउनीस्थित छोरीको घरमा ।
कहिले त्यही लम्बे कोठामा शिक्षकलाई भेला गर्छन् । कहिले स्कुले बालबालिकालाई । कहिले उदीयमान लेखकहरूलाई । अनि चलाउँछन् सिर्जनात्मक लेखन कक्षा । कथा कसरी लेख्ने ? विषय कसरी टिप्ने ? कथाको विकास कसरी गर्ने ? पात्र के हो ? कसरी उतार्ने परिवेश ? केका लागि लेख्ने कथा ? कहाँ छन् कथाका विषय ? हाम्रा कथा कसका लागि ? यी जटिल विषयलाई सजिलो गरी बताइदिन्छन् । व्यावहारिक उदाहरण दिन्छन् । मनग्गे छलफल चलाउँछन् । अनि प्रस्ट पारिदिन्छन् सिद्धान्तलाई प्रयोगमा ।
उनको यो स्कुलिङ अहिलेको होइन, उहिलेदेखिको हो । कुनै बेला युद्धप्रसाद मि श्र र दुर्गालाल श्रेष्ठहरूलाई समेत उनले बालकविता लेखाए । खगेन्द्र संग्रौला र नारायण ढकालहरूलाई बालकथा लेख्न लगाए । श्यामप्रसाद, जनक हुमागाईं, शारदारमण नेपाल, रामबाबु सुवेदी, मुकेश चालिसे, कुलमानसिंह भण्डारी, गोपालराज मैनाली र केके कर्माचार्यहरूसँग त लामो सहकार्य गरे उनले । बालसाहित्यका निम्ति धेरै गुमाए । अनि बालसाहित्यलाई नै प्रमुख विधा बनाएर काम गर्ने पुरानो पुस्ताका एकमात्र लेखकका रूपमा प्रशस्त ख्याति, आदर र सम्मान पनि कमाए ।
लेख्न त महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरेदेखि देवकुमारी थापा, रमेश विकल र कृष्णप्रसाद पराजुलीहरूले पनि पुरानो पुस्तामा बालसाहित्य हाँकेकै हुन् । यद्यपि देशको आधाभन्दा बढी संख्यामा भएर पनि उपेक्षामा परेका बालबालिकाका लागि साहित्यको खुराक पस्कन यसैलाई मूलबाटो स्वीकार्ने स्रष्टा हुन् शान्तदास । भन्छन्, 'बालसाहित्य निःस्वार्थ, निःशर्त र निःशुल्क गर्नुपर्ने काम हो । मैले जिम्मेवारीबोधका साथ यसलाई अपनाएँ ।'
'पहाडी पुकार'ले बनायो विद्रोही
शान्तदासले लेखनलाई नाम र दाम कमाउने माध्यमका रूपमा कहिल्यै लिएनन् । बरु देश, बालबालिका र जनताप्रतिको जिम्मेवारीकै रूपमा स्वीकारे । बालककालबाटै समाज परिवर्तनको सपनामा जो डोरिएका थिए । कलिलो बाल्यकालमा यिनले राणाकालीन सामन्ती व्यवहार देखे । सिगार तान्दै घोडामा आउने राणासाहेबको रवाफ नियाले । सामान्य जनताको जीवनसँग बसउठ भयो । उनी पढ्ने स्कुलको नाम नै जुद्धशमबेरको उदयको अर्थमा जुद्धोदय रहेको बुझे । उनका बालसखा थिए सत्य । शान्त र सत्यको जोडी खुब जम्थ्यो ।
उस्तै विचार, विद्रोही स्वभाव र हरेक नयाँप्रति तीव्र जिज्ञासा । समाजप्रतिको उनीहरूको तीव्र जिज्ञासालाई संचेतनाको बाटोमा डोर्‌याउने काम गर्‌यो देवकोटाको 'पहाडी पुकार' कविताले । समाजमा व्याप्त वर्गीय विभेद र गरिब जनताको जीवनशैली झल्काउने यस विद्रोही कविताले उनीहरूलाई झक्झक्यायो । जाग्दो चेतनाले किशोर वयका यी दुई भाइलाई कांग्रेसको मुक्ति सेना खोज्दै वीरगन्ज, रक्सौलसम्म पुर्‌यायो । सम्पर्क र संगठनबारे जानकारीबिना नै उत्साही यो किशोर जोडीले त्यहाँ कांग्रेसको मुक्ति सेनालाई भेट्न सकेन । बरु काठमाडौंमा हराएका ठिटाहरूबारे हल्लीखल्ली भयो । आफन्त गएर बैरगनियाँबाट फर्काएर ल्याए ।
शान्तदासलाई स्कुलमा कोर्सका पाठ पढ्न उतिसारो मन लाग्दैनथ्यो । कोर्समा लेखिएका कतिपय कुरा चित्त नबुझ्दा उनी शिक्षक र ठूला मानिससँग प्रश्न र तर्क बितर्क गर्न अघि तम्सन्थे । यही स्वभावका कारण युवा विद्यार्थीको तत्कालीन संगठन विद्यार्थी फेडरेसनमा आबद्ध हुन पुगे यिनी । उ बेला असनमा एक्लो किताब पसल थियो, 'मानदास सुगतदास' । त्यहाँ रुसी साहित्यका किताब खुब पाइन्थ्यो । शान्तदासले पनि त्यहीँबाट किताब लिँदै पढ्न थाले रुसी साहित्य ।
रुसी साहित्यले उनलाई दुईवटा फाइदा भयो । एउटा त आफूमा विकसित हुँदै गरेको विद्रोही चेत र परिवर्तनको सपनामा वैचारिक परिपक्वता प्राप्त भयो । समाज बुझ्न र विश्लेषण गर्नसक्ने भए । अर्को साहित्यिक हृदय उर्वर बनाइदियो । भाषाशैली, कथालेखन कला र प्रस्तुतिबारे प्रशस्तै टिप्स पाए ।
यत्तिकैमा २०१५ साल आयो । ०१५ साल दुई कुराले शान्तदासका लागि निकै महत्त्वपूर्ण भइदियो । त्यस वर्ष उनले सत्यसँग मिलेर 'सम एस्सेज' नामक अंग्रेजी निबन्धसंग्रह प्रकाशनमा ल्याए । विभिन्न सामाजिक सांस्कृतिक विषयको उठान गरिएका निबन्धको पुस्तक विद्यार्थीमाझ निकै लोकप्रिय भयो । यतिसम्म भयो, केही शिक्षकहरूले नै उनीहरूको त्यो किताब पढ्न सबै विद्यार्थीलाई सुझावमात्र दिएनन्, किताब बेचेरै पनि सहयोग र हौसला प्रदान गरे । यसैबाट शान्तदासमा पुस्तक लेखनको रस बसेको हो ।
यही जगमा अहिले उनी दुई सयभन्दा बढी पुस्तकका सम्पादक तथा पचासभन्दा बढी पुस्तकका लेखकका रूपमा नेपाली समाजमा चुलिएका छन् । विद्यार्थी फेडरेसनमार्फत नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलालसँग भेट भयो । पुष्पलालमार्फत बलराम श्रमजीवी र श्यामप्रसादको सान्निध्य पाएपछि शान्तदासको लेखन संसार अझै फराकिलो बन्दै आएको हो ।
०१५ सालमै नेपालमा पहिलो आमनिर्वाचन पनि सम्पन्न भयो । उक्त निर्वाचनमा संविधानसभा कि संसद् भन्ने चर्को बहस थियो । काठमाडौंमा गणेशमान सिंह र पुष्पलाल प्रतिस्पर्धामा थिए । ऋषिकेश शाह, सूर्यप्रसाद उपाध्यायहरू संसद्को पक्षमा थिए । त्यस चुनावमा काठमाडौं नजिकै फेदीमा खटाइयो शान्तदासलाई, जहाँ शम्भुराम श्रेष्ठ कम्युनिस्ट उम्मेदवार थिए । शम्भुरामका प्रतिनिधिका रूपमा उनलाई संगठनले खटाएको थियो । कांग्रेसको रूख र डा. केआई सिंहको पार्टीको धानको बाला तथा कम्युनिस्टको तीन घोगा मकै र हँसिया चिह्न थियो । तीन घोगा मकै र हँसियामा भोट माग्न खटिए उनी ।

यसरी कम्युनिस्ट बनेका लेखक शान्तदास प्रत्यक्ष अप्रत्यक्ष पछिसम्मै राजनीतिमा पनि सामेल भइरहे । सबै वाम पार्टीका नेता तथा प्रगतिशील लेखक कलाकारबीच उनी शान्तदाइ, शान्तकाका र शान्तदासजीका रूपमा लोकप्रिय छन् । सांगठनिकभन्दा पनि लेखन तथा प्रकाशनका माध्यमबाट यिनले सामाजिक, सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‌याइरहेछन् ।
निरन्तर क्रियाशील दैनिकी
स्वाभिमान शान्तदासको परिचय हो । बरु एक्लै परियोस् । आफ्नो विचार र मान्यतामा डग्मगाउँदैनन् । लोभ, लालचभन्दा पर छन् यी । एमालेको पहिलो नौमहिने सरकारको कार्यकालको बेला थियो । शान्तदास हृदयाघातको बिरामी थिए । मनमोहन अधिकारी नेतृत्वको सरकारले यिनलाई उपचारमा सहयोग गर्ने इच्छा देखायो । तर, निश्चित आधार र क्राइटेरियाबिना राज्यकोषको सहयोग नलिने भन्दै यिनले सरकारका प्रतिनिधिलाई फर्काइदिए ।
यही स्वाभिमान र आत्मसम्मानका कारण हुनुपर्छ दुईदुईपटक हृदयाघात भइसके पनि अझै ऊर्जाशील, कान्तिमय र हँसमुखा यी ८३ वर्षेको काममा कुनै कमी आएको छैन । भर्खरै योग, प्राणायम तथा शिक्षकबारे दुई पुस्तिका सार्वजनिक गरेका शान्तदासको दैनिकी पनि बेग्लै छ । जाडो होस् कि गर्मी, हरेक बिहान ४ बजे यिनले ओछ्यान छाडिसकेका हुन्छन् । नित्यकर्मपछि डेढ घन्टाजति यिनी योग र प्राणायाममा बिताउँछन् ।
हल्का व्यायाम र विधिपूर्वक भास्त्रिका, कपालभाँती, अनुलोम विलोम, भ्रामरी, उज्जाइ, मन्डुकासनलगायत दर्जन योगासन र प्राणायमपछि हल्का बाहिरी भ्रमण पनि गर्छन् । पहिले त सातामा एक दिन स्वयम्भू चढ्थे । केही समययता भने स्वयम्भू चढेका छैनन् । यिनले स्वयम्भू चढ्नुका दुई कारण हुन्थे । पहिलो- आफू कत्तिको बलियो छु भनेर परीक्षण गर्नु । दोस्रो— सहर नियाल्नु र आनन्द लिनु । अनि चियानास्तापछि दैनिक लेखन, सम्पादन, प्रकाशन र छापाखानको काम छँदैछ ।
राणा शासन, पञ्चायती व्यवस्था, संसदीय बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा शान्तदासले थुप्रै शासक बेहोरे । अधिकांश नेतृत्वमा उनले राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानको अभाव देखे ।
अलिक स्वाभिमानी र देशका लागि केही गर्न खोज्नेलाई पनि खुट्टा तान्ने र घेराबन्दीमा पार्ने हाम्रो प्रवृत्ति बाधक देख्छन् उनी । कहिले वडाअध्यक्ष, कहिले शिक्षक, कहिले स्कुल अध्यक्षलगायतका सामाजिक जिम्मेवारी रहे । यस्ता जिम्मेवारीमा रहने हरेकले निष्ठा र इमानदारीपूर्वक काम गरेमात्र देश बन्ने उनको विचार छ । जस्तो कि उनी आफ्नै टोलको 'विद्योदय निमावि'का व्यवस्थापन अध्यक्ष छन् । उनी हरेक दिनजसो स्कुल पुग्छन् । प्रअ र शिक्षकसँग संवाद गर्छन् । अझ बालबालिकासँग लामो समय बिताउँछन् ।
आमा बन्ने बाटोमा
साना बालबालिकालाई पनि आदर गर्दै उनी तपाईं सम्बोधन गर्छन् । पछिल्लो समय बालसाहित्यमा मात्र समर्पित उनी 'बालकोसेली' बालपत्रिकाको सम्पादन, प्रकाशन गर्छन् । बालसाहित्यमा काम गर्नु भनेको आजका बालबालिका, भोलिका युवा र पर्सिका वृद्धहरूका लागि पनि काम गर्नु हो भन्ने उनको मान्यता छ । 'बालसाहित्य लेखक हुनु आमा बन्नु हो', शान्तदास भन्छन् , 'एउटी आमाले जसरी आफ्नो नानीलाई सारो गिलो, अमिलो पिरो, नरम कडा सबै जाँच गरेर पोसिलो रसिलो खाना खुवाउँछिन्, लेखक र सम्पादकले बालसाहित्य पनि त्यस्तै पस्कनुपर्छ ।'
बालबालिकाका लागि सम्प्रेषित सामग्रीमा गलत सन्देश जानु अक्षम्य अपराध हुने उनको धारणा छ । त्यसैले उनी लेखन तथा सम्पादनमा अति संवेदनशील छन् । उनी लेखिएका कुरालाई अनेक कोणबाट पटकपटक हेरिसकेपछि मात्र प्रकाशित गर्छन् । पंक्तिकारसँग पनि बालसाहित्यमा यिनीसँग सहकार्यका क्रममा एउटा कथा आठपटकसम्म पुनर्लेखन गरेको अनुभव छ । साहित्य सामग्रीमात्र होइन, शान्तदास आर्थिक लाभका नाममा बालकोसेलीमा व्यापारिक विज्ञापन पनि छाप्दैनन् । चाउचाउको विज्ञापन छापेर बालक र बालसाहित्यको सेवा गर्‌यौं भन्नेहरूलाई उनी मिसावट गरी सामान बेच्ने बेइमान व्यापारीसँग दाँज्छन् ।
बालपत्रिका या बालबालिकाका शैक्षिक, साहित्यिक सामग्रीहरूमा सम्पादनका साथै चित्रांकनको पनि कम महत्त्व छैन । शान्तदाससँग पनि चित्रकारहरूको राम्रो सहकार्य हुन्छ । तर, कहिलेकाहीँ चित्रकारले समय नदिँदा या नभेटिँदा पनि उनी समयमा सक्नुपर्ने काम कहिल्यै रोक्दैनन् । विचार र बहुमुखी प्रतिभाका धनी यी मनुवा बरु चित्रांकन पनि आफैं गरिदिन्छन् ।
निष्ठा र जिम्मेवारीबोधका साथ जीवनभरि बालबालिकाको बौद्धिक खुराकका सर्जाम जुटाउन र तिनका लागि अझ सुन्दर, शान्त र परिस्कृत वातावरण बनाउन लागिपरेका शान्तदास हाम्रा लु सुन हुन् । नेपालका हान्स क्रिस्चियन एन्डरसन हुन् । सिर्जना र शिक्षा क्षेत्रमा नयाँ पुस्ताले उनीबाट सिक्ने कुरा अनेकौं छन् ।
http://annapurnapost.com/newslist/24/540

त्‍यसबखतको न्‍यूरोड

सुरेश किरण शनिवार, असार २४, २०७४



त्‍यसबखतको न्‍यूरोड

यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट भएर ‘ल माग् के माग्छस्, तँलाई वरदानमा नेपालभित्रको कुनै एउटा घर दिने भएँ, कहाँको घर माग्छस्?' भनेर सोधे तपस्वीले सायद आँखै नखोली जवाफ दिन्छ, ‘भगवान्, उसो भए काठमाडौं न्युरोडको एउट घर वरदान पाउँ न!' न्युरोड अहिले नेपालको त्यस्तो महँगो ठाउँ बनिसकेको छ जसका बारे सर्वसाधारण नेपाली जनताले केवल सपनामात्रै देख्न सक्छन्।

नेपालको मुटु काठमाडौं भनिन्छ। काठमाडौंको पनि मुटु हो-न्युरोड। म त्यही न्युरोडको एक रैथाने बासिन्दा हुँ। वा भनौं, थिएँ। किनभने अहिले न्युरोडमा हाम्रो केही पनि छैन। सिवाय न्युरोडवासी स्थानीय मानन्धरहरूको स्थानीय गुठीमा एउटा हिस्साबाहेक। मेरा बा म जन्मिनुअघि नै न्युरोडको घर बेचेर अन्तै बसाइँ सरिसक्नुभएको थियो। तर, न्युरोडमा बा नभए पनि उहाँका भाइहरू अर्थात् मेरा काकाहरू भने अझै त्यहीँ बसिरहनुभएको छ, हाम्रो पुर्खाको विरासत थामेर।
...
बा अलि सन्की हुनुहुन्थ्यो। जिद्दी। र, जँड्याहा पनि। न्युरोडस्थित हाम्रो मानन्धर गुठीभित्र चिन्न सजिलो होस् भनेर विभिन्न उपनाम भएका समूहहरू बनाइएका छन्। जस्तो तःजः, सुर्ती, सखापा आदि। त्यसमध्ये एउटा समूह हो -भलंद्यः। 'द्यः' भन्नाले बुझिन्छ-यो कुनै भगवान् हो। तर 'भलंद्यः' एउटा अनौठो भगवान् हो। यो सायद ३३ कोटी देवताभित्र नपर्ने भगवान् हो। कुनै काम नगर्ने, खालि बाहिर-बाहिर ‘शो' मात्रै गरिने भगवान्लाई ‘भलंद्यः' भनिन्छ।
हामी त्यो ‘भलंद्यः' समूहका हौं। हामीलाई किन ‘भलंद्यः' भनियो त्यो त थाहा भएन। तर, बा भने हाम्रो समूहको यो उपनामलाई मिल्ने चरित्रका हुनुहुन्थ्यो। उहाँका समकालीन मित्रहरूका अनुसार, चुरोट सल्काउँदा अगाडि सलाई भेटिएन भने उहाँ दसको नोट बालेर सल्काउनुहुन्थ्यो रे। त्यतिबेला रञ्जना हलमा जे फिल्म लाग्छ, त्यो फिल्म उहाँ आफ्ना साथीहरूसँग हाल भत्काइएको क्रिस्टल होटेलमा प्रोजेक्टर लगाएर हेर्नुहुन्थ्यो रे। हलको भीडभाडमा फिल्म हेर्न उहाँलाई मन पर्दैनथ्यो। उहाँको नाम रामप्रसाद मानन्धर भए पनि टोलवासीका माझ उहाँ ‘भलं साहू' का नामले चिनिनुहुन्थ्यो।
अहिले जुन ठाउँलाई हामी ‘न्युरोड' भन्छौं, १९९० सालको भूकम्पअघिसम्म त्यो न्युरोड थिएन। यो ठाउँको नाम ‘पाको पुखुद्यां' अर्थात् ‘पाको पुखुलद्याङ' थियो। १९९० सालको भूकम्पले यो ठाउँ कायापलट गरिदियो। त्यो भूकम्प अरूका लागि महाविनाश भए पनि ‘पाको पुखुलद्याङ' को लागि भने वरदान सावित भएको विश्लेषण केही विज्ञहरूको धारणा छ। किनभने, महाभूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले पाको पुखुलद्याङ टोललाई बीचमा पारेर त्यसको चारैतिर अत्यन्त फराकिला सडकहरू निर्माण गरे।
चोकको बीचमा चाहिँ आफ्नै सालिक खडा गरे। सालिकको उत्तरतिर इन्द्रचोक जोड्ने सडक, दक्षिणतिर पुरानो भन्सार जोड्ने सडक, पूर्वतिर टुँडिखेल पुग्ने सडक र पश्चिमतिर कुमारीघर जाने सिधा र फराकिला सडकहरू बनाए। त्यतिबेला यो सडक कति फराकिलो थियो भने मानिसहरूले ‘यति फराकिलो सडक बनाउने जुद्धशमशेर बौलाएछन्' सम्म भनेका थिए रे। सडक पिच गर्दा पनि आधी भागमात्रै कालोपत्रे परिएको थियो। पीचमा घोडा कुदाउँदा चिप्लिएर लड्छ भनेर आधा गाडी जाने पिच र आधा घोडा लाने ग्राभेल बनाइएको थियो। त्यसपछि भूकम्पमा परी मरेका, घाइते भएका सबैको सम्झनामा त्यहीँनेर एउटा पार्क पनि बनाइएको थियो।
अब आइन्दा पृथ्वी फेरि हल्लिन नपाओस् भनेर पृथ्वीमाथि महादेव आसीन भएको एउटा मूर्ति पनि त्यहाँ स्थापना गरियो। मूर्ति स्थापना भएको केही समयसम्म उक्त ठाउँलाई महादेवथान पनि भन्ने गरिएको थियो। पछि ‘भूगोलपार्क' नामकरण गरियो। नेपालको पहिलो व्यवस्थित पार्क पनि यही नै थियो। जुद्धशमशेरले यही ठाउँको छेउमा नेपालको पहिलो बैंक ‘नेपाल बैंक' खोले। उत्तरपूर्वी कुनातिर एउटा सभाहल बनाए।
नगरपालिकाको कार्यालय पनि त्यहीं अलि पर खडा गरे। जुद्ध वारुणयन्त्र पनि यही ठाउँमा राखे। सरकारी प्रेस पनि यहीँ चलाए। सालिकको चारै दिशामा तीन तल्लासम्मको एउटै डिजाइन देखिने लहरै घर बनाए। ती घरमा पसल कबलहरू पनि निकाल्न लगाए। यसरी यो ठाउँ विस्तारै गुल्जार हुन पुग्यो। एक हिसाबले भनुँ भने यो क्षेत्रलाई जुद्धशमशेरले एउटा व्यवस्थित टोल नै बनाइदिए। त्यो वास्तवमै राजधानी काठमाडौंको नयाँ सडक थियो। तर, नयाँ बनाइएको उक्त सडकले नै पछि टोलको नाम लिन पुग्यो। नयाँ सडकको निर्माण नै यो ठाउँको त्यो मोड हो जहाँबाट पाको पुखुलद्याङ क्रमशः ‘न्युरोड' मा रूपान्तरित हुँदै गयो र अन्ततः देशकै मुटु बन्न सफल भयो।
न्युरोड र मेरा बाको प्रसंग एक सन्दर्भमा आएर जोडिन पुग्छ। त्यो के हो भने नयाँ सडकको विकास र बाको जन्म एकैपटक भएको थियो। वि.सं. १९९० सालको महाभूकम्प आउँदा बा पाँच महिनाको मात्रै हुनुहुन्थ्यो। १९९० सालकै भदौमा उहाँको जन्म भएको थियो। माघ २ गते भूकम्प आउँदा हजुरआमा आफ्नो माइती डल्लुमा सुत्केरी स्याहार्न गइरहनुभएको थियो। अतः पाँचमहिने बुबा पनि त्यतिबेला आफ्नो मामाघरमै हुनुहुन्थ्यो। भूकम्पमा न्युरोडका पनि धेरै घर ढले। धेरै मानिस भत्किएका घरमुनि पुरिए। पुरिएका कोही मरे, कोही घाइते भए। तर, कसको अवस्था के छ कसलाई थाहा? 
नयाँ सडकको नयाँ चौखटभित्र मेरा बाले आफ्नो जमानामा एउटा अत्यन्त नयाँ काम सुरु गर्नुभएको थियो-मोटरसाइकल भाडामा दिने नितान्त नयाँ व्यवसाय। त्यतिबेला काठमाडौंमा साइकल चलाउनुसम्म पनि ठूलो कुरा हुन्थ्यो। मंगलघरबाट रु.१३ सयमा किनिएको त्यस बेलायती मोटरसाइकलको नम्बर थियो-२६९।
भूकम्प थामिएपछि मानिसहरू आफ्ना परिवारका सदस्यहरू को-कहाँ छन् खोज्नतिर लागे। तर, त्यो खोजतलासमा बाका पनि बा (मेरा हजुरबा) एकजना भने गायब रहेको पाइयो। कत्ति खोज्दा पनि उहाँको अत्तोपत्तो भएन। महाभूकम्पको त्यस्तो विनाशकारी अवस्थामा यदि परिवारका कुनै सदस्य जति खोज्दा पनि भेटिएन भने त्यसको के अर्थ हुन्छ होला? सायद कत्तिले त्यो अर्थ निकालिसकेको हुँदो हो। तर, हजुरबा त साँझतिर टुप्लुक्क देखा पर्नुभएछ। सबैजना चकित ! उहाँ त वास्तवमा भूकम्प आउनेबित्तिकै घरमा कसैलाई केही नभनी पाकोदेखि हुत्तिएर एकै सासमा डल्लुस्थित ससुराली पो पुग्नुभएको रहेछ, आफ्नो छोरालाई केही भएछ कि भन्ने पीरले।
भलै परिवारको कुल थाम्न धेरैपछि जन्मिएका शिशु हुनुुहुन्थ्यो मेरा बा। बाको शैशवसँगै न्युरोडको विकास पनि क्रमशः बढ्दै जान थाल्यो। ५९ वर्ष बाँचेर बा त बित्नुभयो, तर न्युरोडको विकास भने रोकिएन। त्यो अझै बढ्दो छ।
..
नयाँ सडकको यही नयाँ चौखटभित्र बाले आफ्नो जमानामा एउटा अत्यन्त नयाँ काम सुरु गर्नुभएको थियो। त्यो हो, मोटरसाइकल भाडामा दिने नितान्त नयाँ व्यवसाय। त्यतिबेला काठमाडौंमा साइकल चलाउनुसम्म पनि ठूलो कुरा हुन्थ्यो। त्यस्तो अवस्थामा उहाँले न्युरोड पीपलबोटनेर मोटरसाइकल भाडामा दिने पसल चलाउनुभएको थियो। त्यतिबेला भोटाहिटीमा एउटा पाउदानीवाला साइकल जस्तै सन साइकल भाडामा दिन थालिएको थियो।
न्युरोडमा साइकल भाडामा दिने बाको पसल पहिल्यै थियो। काठमाडौंमा साइकल भाडामा दिने पहिलो पसल भोटाहिटीमा खोलिएको थियो भने दोस्रो पसल बाले न्युरोडमा खोल्नुभएको थियो। भोटाहिटीमा पसल खोल्नेहरू पनि नाताले बाको काका नै पर्नुहुन्थ्यो। पछि बाले न्युरोडकै पञ्चनारायण मानन्धर भन्ने साथीसँग मिलेर मोटरसाइकल पनि भाडामा लगाउनुभयो। त्यसका लागि उहाँहरूले काठमाडौंको मंगलघरबाट रु. १३ सयमा एउटा बेलायती मोटरसाइकल किन्नुभएको थियो। त्यस मोटरसाइकलको नम्बर थियो-२६९। पछि पञ्चनारायणले पार्टनरसिप छोडेकाले त्यो मोटरसाइकल बाको एकलौटी भयो।
त्यसबेला मोटरसाइकल भाडामा दिनुको पनि आफ्नै व्यथा छ। काठमाडौंमा चल्ने भनेको साइकलमात्रै हो। मोटरसाइकल न कसैसँग थियो, न कसैलाई चलाउनै आउँथ्यो। दरबारमा काम गर्ने केही उपल्ला कर्मचारी र नगरका केही धनाढ्यबाहेक अरूसँग मोटरसाइकल थिएन। मोटरसाइकल भाडामा लिन आउनेहरूलाई चलाउनसमेत सिकाइदिनुपथ्र्यो। घन्टाको पाँच रुपैयाँ भाडा। चलाउनलाई सडक पनि उति बनिसकेको थिएन। त्यसैले चउरतिर लगेर सिकाउनुपर्थ्यो।
मोटरसाइकल चलाउन नजान्ने र सिक्ने उमेर पनि नभएका अधबैंसेहरूलाई चाहिँ मोटरसाइकलको पछाडि राखेर आफैंले चलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याइदिनु पर्थ्यो। त्यसबापत भाडा लिने गरिन्थ्यो। त्यो एक किसिमले अहिलेको ट्याक्सी सेवाजस्तै हो। त्यतिबेला न्युरोडमा एकजना डिट्ठा साब बस्थे। उनलाई सधैं मोटरसाइकलमा राखेर जावलाखेलसम्म पुर्‍याउने र साँझ लिन जाने काम बाको थियो। त्यसबापत एक खेपको तीन मोहर भाडा पाइन्थ्यो।
त्यहीबेला बेलायतका लागि तत्कालीन नेपाली राजदूतावासका सेक्रेटरी रामप्रसाद मानन्धर आफ्नो कार्यकाल सकाएर नेपाल फर्किनुभएको थियो। बाको जस्तै नाम भएका रामप्रसाद मानन्धर बाका फुपूको श्रीमान् हुनुहुन्थ्यो। नेपाल फर्कंदा उहाँहरूले ‘जेम्स एक्सल्सर' नामक दुइटा मोटरसाइकल पनि लिएर आउनुभएकोरहेछ। ती दुईमध्ये एउटा मोटरसाइकल बाले किन्नुभयो, रु. २५ सयमा।
अर्को मोटरसाइकलको मूल्य २८ सय ८० रुपैयाँ राखिएको थियो। तर, त्यो किन्ने ग्राहक भने पाइएको थिएन। त्यहीबीच रामप्रसाद मानन्धर बेलायतको राजदूत नियुक्त हुनुभयो। उहाँले बेलायत जानुअघि नै उक्त एउटा मोटरसाइकल बेचेर जाने विचार गर्नुभएको थियो तर सक्नुभएन। पछि उहाँले आफ्नो भाइलाई उक्त मोटरसाइकल जिम्मा लगाएर बेलायत जानुभयो। धेरै प्रयास गर्दा पनि किन्ने कोही नपाएपछि अन्ततः त्यो मोटरसाइकल पनि बाले नै किन्नुभयो।
यहीबीच बा घरबाट अंश लिई छुट्टिनुभयो। न्युरोडमा लहरै चारवटा घर थियो, हजुरबाको। त्यसमध्ये एउटा बाको अंशमा पर्‍यो। पछि बाले त्यो घर बेचेर पुरानो भन्सारमा अर्को घर किन्नुभयो। बा छुट्टिएर गएपछि मोटरसाइकल पसल मेरा माइला काका हरिप्रसाद मानन्धरको जिम्मामा आइपुग्यो। काका हरिप्रसाद भने बाभन्दा भिन्नै चरित्रका हुनुहुन्थ्यो। उहाँ अत्यन्त मेहनती र जिम्मेवार हुनुहुन्थ्यो।
त्यसमाथि जेठो दाजु अंश लिएर छुट्टिएपछि परिवारको पूरा जिम्मेवारी उहाँको काँधमा आइपरेको थियो। उहाँले मोटरसाइकल भाडाको व्यवसायलाई अझ अगाडि बढाउनुभयो। त्यतिबेला द्वारिकाज् होटेलका मालिक द्वारिकादास श्रेष्ठको पुरानो होटल पारस पनि न्युरोडमै थियो। द्वारिकादाससँग दुइटा सिलिन्डर भएको एउटा अजंगको मोटरसाइकल पनि रहेछ। काकाले ३१ सय रुपैयाँमा त्यो मोटरसाइकल किनेर आफ्नो व्यवसायमा थप्नुभयो।
यो त्यहीबेलाको कुरा हो। राजा महेन्द्रको शुभराज्याभिषेक हुँदा त्यसकै लागि भनेर बेलायतबाट २५० सिसीका पाँचवटा बीएसए मोटरसाइकल नेपाल झिकाइएको थियो। राज्याभिषेकपछि ती मोटरसाइकलहरू जम्मै सेनाका जर्नेलहरूलाई बाँडिएको थियो। त्यसमध्ये एउटा मोटरसाइकल दरबारका पारिवारिक चिकित्सक डा. सुशीलचन्द्र हल्डरले पनि पाएका थिए। काकाले हल्डरको त्यो मोटरसाइकल पनि ६२ सय रुपैयाँमा किन्नुभयो। त्यस्तै राजा महेन्द्रका दिदीका छोरा कुमुद राणाको २५० सिसीको अर्को एउटा मोटरसाइकल पनि ६८ सय रुपैयाँमा किन्नुभयो।
यसरी काकाको मोटरसाइकल व्यवसाय चम्कँदै गइरहेको थियो। त्यसबेलासम्म पेट्रोल ग्यालन (पाँच लिटर) को मूल्य थियो-सात मोहर। नेपाल आयल स्टोर नामको पेट्रोलपम्प पनि न्युरोडमै थियो। त्यतिबेला अहिलेजस्तो नोजलबाट पेट्रोल बेचिँदैनथ्यो। पाँच लिटरको ग्यालनमा पम्फुले तानेर भर्ने र त्यही पेट्रोल मोटरसाइकलको ट्यांकीमा खन्याउने गरिन्थ्यो। नेपाल आयल स्टोर सम्भवतः नेपालकै पहिलो पेट्रोलपम्प हुनुपर्छ।
काकाले मोटरसाइकल त थप्नुभयो, तर काम गर्ने तरिका भने उस्तै थियो। भाडामा लिन आउने ग्राहकलाई पहिले सिकाइदिनुपर्ने। उहाँले पनि धेरैजनालाई मोटरसाइकल सिकाइदिनुभयो। तर, यसरी सिकाइरहँदा कहिले दुर्घटना हुने, कहिले ट्राफिक नियम उल्लंघन हुने र त्यसको सजायचाहिँ आफूले पाइने भएकाले एक दिन हैरान भएर काकाले मोटरसाइकल भाडाको त्यो व्यवसाय त्याग गर्नुभयो। त्यतिबेलासम्म काठमाडौंका अरू पनि एक–दुई ठाउँमा मोटरसाइकल भाडाको पसल खुलिसकेका थिए। 
...
जुनबेला न्युरोडमा ‘न्युरोड' बनिसकेको थिएन, त्योबेला यो पूरै क्षेत्र एउटा पोखरी थियो। १९९० सालको भूकम्प अघिसम्म यहाँ बाटो पनि थिएन। नेपाल बैंक, भूगोल पार्क, न्युरोड केही थिएन। खिचापोखरीबाट न्युरोड पीपलबोट हुँदै फसिकेब जाने एउटा साँघुरो बाटोमात्रै थियो। ‘फसिकेब' भनेको फर्सी फल्ने बारी हो। यो बारी सम्भवतः भिरालो ठाउँमा रहेको हुनुपर्छ। भिरालोलाई नेपालभाषामा ‘पाः' भनिन्छ।
त्यो 'पाः' को मुनि अर्थात् ‘क्वय्' अवस्थित ठाउँ भएकैले यो ठाउँको नाम ‘पाको' हुन पुगेको हो। भिरालो ठाउँ भएकोले नै त्यहाँ फर्सीको बारी लगाइएको हुनुपर्छ। यो बारी करिब-करिब आजको इन्द्रचोकदेखि पुरानो अमेरिकन लाइब्रेरी रहेको ठाउँसम्म फैलिएको थियो। त्यो भिरालो ठाउँको मुनितिर एउटा पोखरी पनि थियो। सायद भिरालोबाट आउने पानी त्यही पोखरीमा जम्मा हुन्थ्यो। पोखरी भएपछि त्यसको डिल अर्थात् द्याङ हुने नै भयो। त्यो पोखरीको द्याङलाई नै नेपालभाषामा ‘पुखुद्यां' भनिएको हो जसलाई पछि ‘पुखुलद्याङ' भन्न थालियो। यो पाको, पुखुलद्याङ र फसिकेबजस्ता टोलको नाउँबाटै पनि त्यतिबेलाको यो ठाउँको भूगोल स्पष्ट हुन्छ।
महाभूकम्प अघिसम्म पाकोमा एक लहरमात्रै घर थियो। भूकम्पपछि बाटो बनाउँदा पोखरीको द्याङमाथि समेत घर बनाउन थालियो। यो पोखरीको डिल भएर जाने एउटा बाटो (हाल गोरखापत्र संस्थान रहेको) त्यतिबेला सर्वसाधारणले चलाउने चल्तीको बाटो थियो। बाको विवाह हुँदा झोछेँ बस्ने मेरी आमाको डोली यही बाटो भएर पाको पुर्‍याइएको थियो भनेर पछिसम्म भनिन्थ्यो। आमाको विवाह हुँदासम्म न्युरोडभन्दा पनि यही बाटो चल्तीमा थियो। त्यतिबेला न्युरोडमा कसैको घरमा धारा थिएन। पानी लिन फसिकेबको सार्वजनिक धारासम्म पुग्नुपथ्र्यो। साँझ एकदमै सुनसान हुने भएकोले पाकोदेखि फेसिकेब (हाल रञ्जना हल) सम्म जान पनि साथी लिएर जानुपर्थ्‍यो।
भूकम्पपछि ‘पुखुलद्याङ' को पोखरी पुर्ने काम गरियो। र, त्यसमाथि नेपाल बैंकको भवन खडा गरियो। बैंकको भवन बन्नुअघि अवस्थित त्यहाँको पोखरीमा काकाले पनि केही समय खेल्न पाउनुभएको थियो। पोखरी छेउछाउकै ठाउँमा भूगोलपार्क बनाइयो, सरकारी छापाखाना बनाइयो।फराकिलो बाटो र व्यवस्थित भएकोले मानिसहरू भेट्न र जमघट गर्न यस ठाउँलाई रोज्न थाले। २००५ सालमा ‘जनसेवा हल' बनेपछि यहाँ हल्का घुइँचो पनि हुन थाल्यो। हल बनिसकेपछि हाल ‘फोटो कन्सर्न' रहेको घरमा मेरा हजुरबाले आफ्नो मिल्ने साथी सानु स्थापित (पूर्वमेयर केशव स्थापितका ठूलो बुबा। स्थापितको कुलघर पनि पाको पुखुलद्याङ नै हो) सँग मिलेर चिया पसल खोल्नुभएको थियो।
यो ठाउँमा हालसम्म उभिइरहेको पीपलबोट कहिलेदेखि यहाँ छ त्यो मेरो हजुरबालाई पनि थाहा छैन। यही पीपलबोट पछि सबैको भेट्ने ‘प्वाइन्ट' बन्न थाल्यो। सरकारी छापाखाना यहीँ भएकाले त्यस सँगसँगै अरू छापाखाना पनि खुल्न थाले। र, ती छापाखानामा छापिने पत्रपत्रिकाहरू बेच्ने पहिलो ठाउँ पनि पीपलबोट नै बन्न थाल्यो।
मानिसहरू पत्रपत्रिका किन्न, एकआपसमा भेट्न र गफ गर्न यही ठाउँमा जम्मा हुन थाले। यही ठाउँमा भएको भेटका आधारमा कति योजना बने, कति कार्यान्वयन भए, कति नयाँ विचारहरू आए, कति आन्दोलनहरू भए, त्यसको सायद छुट्टै अध्ययन गर्न सकिन्छ। यसरी कुनै बेलाको पाको–पुखुलद्याङ अहिले पूरै नयाँ कलेवरमा यसरी सजिएको छ जसलाई चिन्न पनि अहिले गाह्रो भइसकेको छ।
पुखुलद्याङको पोखरी पुरेर बनाइएको त्यही नेपाल बैंकमा आफ्नो नातिको खाता खोल्न काका अस्ति जानुभएको रहेछ। ‘नातिको अभिभावक आफैं बन्छु' भनेर काकाले आफ्नो नागरिकताको फोटोकपी पेस गर्नुभयो। बैंक कर्मचारीले उहाँको पुरानो नागरिकतामा लेखिएको जन्मस्थान पढेर सोधेछन्-‘बाजे, यो पाको पुखुलद्याङ भनेको कहाँ पर्छ हँ? मैले त आजसम्म नामै सुनेको छैन।' साँच्चै, जुन पुखुलद्याङको पोखरीमाथि बैंक उभिएको छ, त्यही बैंकले समेत आज ‘पाको पुखुलद्याङ' लाई चिन्न छोडिसकेछ !
http://annapurnapost.com/news/74808

१९ वर्षपछि सल:चा नाच

- सुनीता साखकर्मी



श्रावण २७, २०७४- भक्तपुर– २०५५ साल । मंसिरको महिना चिसिँदै थियो । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल’ अभियानका कारण राजधानी भने तात्दै थियो । मुलुकभरका विभिन्न क्षेत्रबाट नाचगानसहितको झाँकी लिएर वसन्तपुर दरबार परिसर पुगे मध्यपुर ठिमी नगरपालिका ५ पोबु टोलका केही लोक कलाकारहरू । उनीहरूले ‘सल:चा प्याखं’ (घोडा चढेर नाचिने नाच) प्रस्तुत गरिरहँदा मान्छेहरूको भीड लोभलाग्दो थियो । राजकुमारको श्रीपेच र पहिरनमा सजिएका कान्छा भासिमा पहिलोपटक हजारौंको भीडमा प्रस्तुत भएका थिए । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म लगातार नाचिने यो नृत्य कान्छा भासिमाले १६ वर्षको उमेरदेखि नाच्दै आएका थिए । वसन्तपुरको त्यो प्रस्तुतिपछि भने उनले नाच्न पाएनन् ।

१९ वर्षपछि आफ्नै टोलका पाँच जना नातिहरूले उनको यो सपना पूरा गर्ने भएका छन् । बुधबारदेखि यो नाच फेरि सुरु भएको छ ।



के हो सल:चा ? 
लिच्छवी कालदेखि प्रचलनमा रहेको मानिने यो नाच ठिमी, पोबुका भासिमा समुदायले मात्रै नाच्दै आएका छन् । महाभारतमा कौरवहरूसँग जुवामा हारेपछि पाएको वनबास र गुप्तबास सकेर पाण्डवहरू वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसंगलाई यो नाचमा नाटकीय रूपमा प्रस्तुत गरिने यो लोक नृत्यका गुरु कान्छा भासिमाले बताए । उनका अनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिन यो नृत्य निकालिन्छ । ‘पोसाकको रंगअनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको हुन्छ,’ उनले यो नृत्यबारे भने, ‘कृत्रिम घोडामा धनुष लिएर श्रीपेचसहित कालो वस्त्रमा युधिष्ठिर, रातो वस्त्रमा भीम, नीलो वस्त्रमा अर्जुन, पहेंलो वस्त्रमा नकुल र सेतो वस्त्रमा सहदेवको रूपमा कलाकारहरूले अभिनय गर्छन् ।’
कान्छाजस्तै विकुमानले पनि यो नाच १६ वर्षको उमेरदेखि नै नाच्दै आएका थिए । उनलाई नाच्नका लागि परिवारले पनि प्रोत्साहन गर्थे । ‘नाच्न हत्तपत्त कसैले पाउँदैनथे । गुरुहरूले छानेर नाच्न लगाउनुहुन्थ्यो,’ उनले भने । उनका अनुसार घण्टाकर्णको भोलिपल्टदेखि नास दयो (नृत्यनाथ देवता) लाई तानेर प्रतिस्थापना गरी गाईजात्राको बेलुकीसम्म यो नृत्यको तयारी गरिन्छ । यसपछि खिं, टाँ, झयाली, पोङ्गालगायतका परम्परागत बाजा बजाएर गणेश, पशुपति, नृत्यनाथ, भगवती र भैरवको गीत गाइन्छ । यिनै गीतमा पाण्डवको जीवन व्याख्या पनि समेटिएको हुन्छ ।

किन रोकियो ? 
‘भिजिट नेपाल’ को झाँकीमा डिकेश, कान्छा, वीरेन्द्र, विकास, प्रेम भासिमा नाचेका थिए । बिकुमानलगायत सबैलाई गुरुहरू अष्टमान र राजकुमार भासिमाले सिकाएका थिए । गुरुहरूकै नेतृत्वमा हरेक वर्ष नाच निकालिन्थ्यो । दुर्भाग्य, सोही वर्ष गुरुहरूको निधन भयो । ‘बूढा हुँदासम्म पनि गुरुहरूले नै नेतृत्व गरिरहनुभएको थियो,’ कान्छाले भने, ‘गुरु बित्नुभएपछि कसैले वास्तै गरेनन् । नयाँ पुस्ताहरू पनि सिक्छु भनेर कोही आएन ।’ तयारीका लागि पैसाको अभावले पनि नाच रोकिएको उनले खुलाए । ‘नाच्न जान्नेहरू पनि बिदेसिए,’ उनले भने, ‘पाँच जनाले नाच्ने भए पनि गीत गाउने, बाजा बजाउने, बत्ती बोक्ने, व्यवस्था मिलाउने गरी पचास/साठी जना चाहिन्छ । सरकारले पनि सहयोग गरेन ।’
अहिले सल:चा प्याखं व्यवस्थापन कमिटी बनाएरै उनीहरू लागेका छन् । नाच सिकाउँदादेखि अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अनुमान छ । ‘प्रत्येक परिवारबाट रकम उठाएका छौं,’ कमिटीका श्रीकृष्ण भासिमाले भने, ‘नगरपालिकाले पनि दिन्छु भनेको थियो तर अहिलेसम्म दिएको छैन ।’

यसरी फेरि सुरु गरियो 
नाच्न छोडेपछि भासिमा टोलका मानिस बालकुमारी, दुई पोखरी, चपाचो, भुलाङखेललगायत ठाउँमा पुगेर गाईजात्रा हेर्थे । ‘त्यहाँ निकालिने महाकाली र भैरवको नाच देख्दा आफ्नो ठाउँमा गर्न नपाउँदा मन भने अमिलो भएर आउँथ्यो,’ बिकुलाल भासिमाले भने, ‘हाम्रो आफ्नो पहिचान र गौरव नै मेटिएर जाने भएपछि हामी तातियौं ।’
त्यसपछि उनीहरूले कान्छा भासिमा अध्यक्ष रहेको ‘सिद्धिकाली भजन खल:’ मा नाचबारे छलफल चलाए । २१ जना तन्नेरी रहेको सल:चा प्याखं व्यवस्थापन कमिटी नै बनाए । ‘पाँच जनालाई एक महिना बेलुकी दैनिक पाँच घण्टा प्रशिक्षण दिएपछि नाच्न सक्ने भयौं,’ कमिटीकै धनकाजी भासिमाले भने, ‘१९ वर्षपछि हाम्रो आफ्नै नाच निकाल्यौं ।’ यसका लागि नाच र गीतको जिम्मा बिकुलालले लिएका छन् भने बाजामा कान्छा, सुर्जमान, ब्रम्हकाजी, चन्द्रकृष्ण, हीराकाजी भासिमाले लिएका छन् । गीत गाउनेहरूमा ८४ वर्षे पृथ्वीमान भासिमादेखि श्रीकृष्ण, धनकाजी, चयन्द्र, रमेश, पूर्ण बहादुर, कृष्णलगायत छन् । यस वर्ष नाच्नका लागि निखिल, सुजेन, रौनिक, क्रिस र आयुष छानिएका छन् । उनीहरू ११ देखि १४ वर्षसम्मका छन् । गु्रपमा सबैभन्दा साना ११ वर्षका क्रिस कक्षा ६ मा पढ्छन् । उनले नेवारी परम्परागत बाँसुरी बजाउनसमेत सिकेका छन् ।

प्रकाशित: श्रावण २७, २०७४

http://kantipur.ekantipur.com/news/2017-08-11/20170811082643.html

Saturday, July 29, 2017

बुद्धको काठमाडौं यात्रा !

के भगवान् बुद्ध काठमाडौं उपत्यका अर्थात् त्यस बेलाको नेपाल आएका थिए ? अनि, बुद्ध धर्म यस भेगमा कसरी फैलियो ?
- हिमेश

वैशाख २३, २०७४- बौद्धमार्गी देशहरूमा बुद्धको आगमनबारे आ–आफ्नै कथा प्रचलित छन् । यसलाई लोकोक्ति भने पनि हुन्छ । यी सबै ऐतिहासिक विवरण जत्तिकै व्यापक र लोकप्रिय छन् । खासमा ती देशहरूले आफ्नो मुलुकमा बौद्ध धर्मको प्रवेश सुरुदेखि नै भएको थियो भनेर देखाउन यस्ता कथा र लोकोक्ति प्रस्तुत गर्ने गर्छन् । नेपाल स्वयं पनि यसमा अपवाद भने छैन । जस्तो स्वयम्भू पुराणमा बुद्ध किरात राजा जितेदस्तीको पालामा काठमाडौं उपत्यकाका आएको उल्लेख छ ।

स्वयम्भू पुराणमा भनिएको छ— बुद्ध आफ्ना एक हजार तीन सय ३० शिष्यसहित स्वयम्भू डाँडोको पश्चिमस्थित पुच्छाग्र चैत्य रहेको स्थानमा बसे । र, त्यहीं एक यक्षिणीलाई प्रवजित गरे । यस्तै बुद्धले धर्म देशना पनि गरे । यसरी बुद्ध काठमाडौं आएको विश्वास तयार हुन्छ । श्रीलंकामा बुद्ध तीनपल्ट पुगेको विश्वास गरिन्छ । महावंशका अनुसार बुद्ध बुद्धत्व प्राप्तिको नौ महिनापछि, पाँचौं तथा आठौं वर्षमा श्रीलंका पुगेका थिए र त्यस क्रममा उनले धर्म देशना पनि गरे ।

यसको अर्थ बुद्ध स्वयं धर्म प्रचारका लागि श्रीलंका पुगेका थिए । यस्तै बर्मामा पनि बुद्धत्व प्राप्तिको तीन महिना र पाँच महिनापछि बुद्ध त्यहाँ पुगेका थिए, धर्म देशनाका लागि । बुद्धको शरणमा जाने पहिलो उपासक तपस्सु र भल्लुक नै बर्माका थिए भनिन्छ । उनीहरू व्यापारी थिए । बुद्धको केश धातुलाई राखेर उनीहरूले स्तूप बनाएका थिए । यो नै अहिलेको प्रसिद्ध स्वेडगोन स्तूप हो भनिन्छ, जुन यांगुनमा छ । अरू दुई अवसरमा पनि बुद्ध बर्मा पुगेको मानिन्छ ।

बुद्ध जन्मथलो लुम्बिनी अहिलेको आधुनिक नेपालकै भूभागमा परेको हुँदा उनको जीवनकालमै यहाँ बौद्ध धर्मको प्रवेश भइसकेको तथ्यलाई मान्नैपर्छ । त्रिपिटक यसको सबैभन्दा ठूलो प्रमाणका रूपमा छ । बुद्ध आफ्नो परिवारलाई भेट्न लुम्बिनी आएको प्रसंग पाली साहित्यमा उल्लेख छ । त्यो अर्थमा कम्तीमा अहिलेको आधुनिक नेपालको भूभागमा बुद्ध आएको र उनले यहाँ धर्म देशना गरेको तथ्य मान्न पौराणिक कथा अथवा लोकोक्तिको सहयोग लिनु पर्दैन ।

त्यसैले बुद्धको जीवनकालमै बौद्ध धर्म नेपालमा प्रवेश गरिसकेको मान्न सकिन्छ । बोधी ज्ञानको प्राप्तिपछि उनी धेरैपल्ट आफ्नो देश कपिलवस्तुमा फर्केका थिए । बुद्ध कतिपल्ट कपिलवस्तु आएका थिए, त्यसबारे ठ्याक्कै भन्न भने सकिन्न । किनभने यसबारे श्रीलंका, बर्मा र तिब्बतका बौद्ध ग्रन्थले फरक–फरक तथ्य उल्लेख गरेका छन् ।
आफ्ना पिता सुद्धोदनको निमन्त्रणमा बुद्ध पहिलोपल्ट कपिलवस्तु पुगेर धर्म देशना गरेका थिए ।

त्यसैले यही दिनबाट आधुनिक नेपालमा परेको भूभागमा बौद्ध धर्म प्रवेश भएको मान्नुपर्छ । बुद्धत्व प्राप्तिको पहिलो वर्षमा सुद्धोदनका मन्त्री कालुदायीको प्रयासले बुद्ध सबैभन्दा पहिले कपिलवस्तु पुगेका थिए । कालुदायी सानोमा बुद्धका साथी थिए । बुद्ध फागुन पूर्णिमाको दिन राजगृहबाट निस्के र वैशाख पूर्णिमाकै दिन कपिलवस्तु पुगे । वैशाख पूर्णिमाकै दिन उनी जन्मे, बोधीज्ञान हासिल गरे र निर्वाण पनि प्राप्त गरे । यो दिनसँग अरू धेरै महत्त्वपूर्ण प्रसंग पनि जोडिन्छन् ।

त्यसैले बौद्ध धर्ममा यस दिनको ठूलो महत्त्व छ । बुद्ध भएयता उनी यही दिन पहिलोपल्ट कपिलवस्तु आएको हुनाले पनि नेपालको इतिहासकै लागि यो थप महत्त्वको छ । कपिलवस्तु आगमनको पहिलो अवसरमा बुद्ध एक साता लुम्बिनीमा बसे । यस क्रममा उनले धेरै अवसरमा धर्म देशना गरे । त्यसको चार वर्षपछि सुद्धोदन सिकिस्त बिरामी परे । त्यति बेला वैशालीमा पाँचौं वर्षवास बिताइरहेका बुद्ध दोस्रोपल्ट कपिलवस्तु आए र आफ्ना पितालाई भेटे । त्यस अवसरमा पनि बुद्धले धर्म देशना गरे । बुद्ध आएको एक सातामै सुद्धोदनको निधन भयो । शोकमग्न परिवारलाई सान्त्वना दिन बुद्ध केही दिन कपिलवस्तुमै बसे ।

त्यसपछि एकपल्ट कपिलवस्तुका शाक्य र कोलियबीच रोहिणी नदीको पानीबाट सिँचाइ गर्नेबारे विवाद भएपछि युद्धको स्थिति बनेको थियो । यस्तोमा बुद्ध स्वयं त्यहाँ पुगे र स्थिति सामान्य पारे । यस्तै अर्कोपल्ट विडुडभले शाक्यसँग बदला लिन आफ्नो सेनासहित कपिलवस्तु पुगेको समाचार आएपछि बुद्ध त्यहाँ पुगे ।

यसरी बुद्ध विभिन्न अवसरमा पटक–पटक कपिलवस्तु पुगेका थिए । काठमाडौं उपत्यकाका भने बौद्ध धर्मले कहिले प्रवेश पायो त ? त्यति बेला काठमाडौं उपत्यका नै नेपाल थियो । वंशावलीलाई आधार मान्ने हो भने बुद्धको समयमै बौद्ध धर्म नेपाल प्रवेश गरिसकेको थियो । बुद्धको समयमा काठमाडौं उपत्यकातिर किरात शासन चलिरहेको थियो । ईसापूर्व छैटौं–पाँचौं शताब्दीतिर दक्षिणतिरका व्यापारी काठमार्डौं पुगिसकेका थिए ।

सातौं शताब्दीअगाडि लेखिएको मूलसर्वास्तिवाद विनयसूत्रमा नेपालमा हुने व्यापारबारे उल्लेख छ । त्यसमा व्यापारीसँगै बौद्ध भिक्षुहरू नेपाल जाने गरेको बताइएको छ । त्यसअनुसार, बुद्ध श्रावस्तीमा रहेको बेला केही भिक्षु नेपाल जान लागेका व्यापारीको समूहमा समावेश भए । उपत्यका छिरेयता भिक्षुहरूलाई यहाँको जाडोले निकै सताएको थियो । त्यसैले उनीहरूले छिट्टै काठमाडौं छाड्न हतारिए । त्यति बेला नै उनीहरूले काठमाडौंमा पनि शिर मुडेर पहेँलो चिवर लगाएका भिक्षुहरू देखेको उल्लेख गरेका थिए ।

बुद्ध जीवित छँदै बडुडभले कपिलवस्तुका शाक्यहरूको नरसंहार गरेका थिए । त्यसबाट बचेका शाक्यहरू अन्यत्र लागे । त्यसमध्ये केही शाक्य काठमाडौंतिर पनि पुगे । यसमा पनि केही शाक्य भिक्षु आनन्दका नातेदार थिए । आनन्द बुद्धका सबैभन्दा प्रसिद्ध भिक्षुमध्ये एक हुन् । उनी बुद्धका निजी सहायक पनि थिए । आनन्द पछि आफ्ना नातेदारलाई भेट्न काठमाडौं आएको त्यही मूलसर्वास्तिवाद विनयसूत्रमा उल्लेख छ । उनलाई पनि काठमाडौंको जाडोले निकै सताएको थियो ।

त्यति बेला काठमाडौंमा हिउँ पर्ने गथ्र्यो । आनन्द श्रावस्ती फर्केयता उनका हातखुट्टाका औंला हिउँले खाएको देखेर अरू भिक्षु निकै चिन्तित भए । त्यसमा जवाफमा आनन्दले भनेका थिए, ‘नेपाल हिमालसँग जोडिएको छ । यहाँको हिउँ र चिसो हावाले मेरो यस्तो स्थिति बन्यो ।’ यस्तोमा उनलाई प्रश्न गरियो, ‘नेपालका भिक्षुको स्थिति कस्तो छ त ?’ आनन्दको जवाफ थियो, ‘उनीहरू जुत्ता लगाउने गर्छन् ।’ फेरि प्रतिप्रश्न गरियो, ‘तपाईंले किन जुत्ता नलगाएको त ?’ उत्तर थियो, ‘बुद्धले अहिलेसम्म जुत्ता लगाउने अनुमति दिनुभएको छैन ।’ त्यसपछि भिक्षुहरू बुद्धकोमा गए र सबै घटना सुनाए । बुद्धले भने, ‘अबदेखि जाडो र हिमाली ठाउँमा बस्नेले जुत्ता लगाए हुन्छ ।’

खासमा बुद्धकै जीवनकालमै शाक्यहरू काठमाडौं उपत्यकामा बसाइ सरिसकेका थिए । दक्षिणका बौद्ध धर्म अनुयायी शरणार्थीका रूपमा काठमाडौं भित्रिसकेका थिए । यसरी वर्तमान काठमाडौं उपत्यकामा बुद्धकै समयकालमा बौद्ध धर्म यहाँ प्रवेश गर्न सकेको मान्न सकिन्छ ।

बुद्धले बौद्ध धर्मको स्थापना त गरे, यसलाई प्रचारप्रसार गर्ने सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम भने सम्राट अशोकले गरे । नेपालमा पनि बौद्ध धर्मको प्रचारमा उनको ठूलो भूमिका छ । बुद्धको निर्माणपछि उनको जीवनसँग सम्बन्धित प्रमुख स्थान लोकप्रिय तीर्थस्थल बने । त्यसमा उनको जन्मभूमि लुम्बिनी प्रमुख थियो नै । अशोकले पनि लुम्बिनीको यात्रा गरे । आफ्नो राज्याभिषेकको २० औं वर्षमा अशोक तीर्थ यात्राका लागि लुम्बिनी आएका थिए ।

बुद्धको जन्म लुम्बिनीमा भएको हो भन्ने सबैभन्दा ठूलो अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ छ । ईसापूर्व २४९ मा भारतीय इतिहासकै महान् राजा मानिएका अशोक लुम्बिनी पुगेका थिए । मगध सम्राट अशोक विन्दुसारका पुत्र हुन् । यस्तै मौर्य साम्राज्य स्थापना गरेका चन्द्रगुप्त मौर्यका नाति । पाली साहित्यमा धेरै स्थानमा अशोकको लुम्बिनी भ्रमणबारे चर्चा पाइन्छ । कलिङ युद्धको विभीषिकाबाट तर्सित अशोक अन्तत: बौद्ध धर्मप्रति आकर्षित भएका थिए ।

अशोकस्तम्भमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि शुद्ध जन्मको ठाउँमा आफैं आएर पूजा गरेरै त्यसैको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनी गाउँलाई कर मुक्त गरिदिए ।’ अशोककै शानसकालमा तेस्रो बौद्ध संगायना भएको थियो । अर्थात् बौद्ध सम्मेलन । त्यो नौ महिनासम्म चलेको थियो । त्यो संगायनाको समाप्तिमा अशोकले आफ्ना दूतहरूको बौद्ध धर्मको प्रचारका लागि विभिन्न देश पठाए । बौद्ध धर्मको खास प्रचारप्रसार यही समयबाट भएको हो ।

अशोकका दूत पुगेको प्रमुख देशमा श्रीलंका र बर्मा छन् । श्रीलंकामा त उनले आफ्ना छोरा महेन्द्र र छोरी संघमित्रालाई नै पठाएका थिए । अशोकले उत्तरतर्फ हिमालय प्रदेशमा पठाएको समूहका प्रमुख थिए, मज्झिम स्थविर । दीपवंशका अनुसार उनको टोलीमा अन्य सदस्यमा काश्यप गोत्र, मूलदेव, सहदेव र दुन्दुभिसार थिए । यसमध्ये काश्यप काठमाडौं उपत्यका पुगेको मानिन्छ । बाबुराम आचार्यले ईसापूर्व २३६–२३४ तिर काश्यप काठमाडौं आइपुगेको र त्यसयता यहाँका आदिवासीले बौद्ध धर्म ग्रहण गरेको बताएका छन् ।

यहाँका आदिवासी बुद्ध समयमै यो धर्मसँग परिचित भइसकेका थिए । त्यसैले उनीहरूले अशोकको प्रतिनिधि रहेका काश्यपप्रति स्वाभाविक रुचि लिए । यसबीच राजा अशोक आफैं काठमाडौं आए कि आएनन् त ? अशोक पनि काठमाडौं उपत्यका आएको लोकक्ति छ । अशोकले नै पाटन सहर स्थापना गरेकोसम्म भनिन्छ । अझ कतिसम्म पनि भनिएको छ भने काठमाडौंको असनको नामसमेत अशोकको अपभ्रंशबाट भएको हो । यी तथ्य वास्तवमै रोमाञ्चित तुल्याउने खालका छन् ।

ड्यानिएल राइटले प्राप्त गरेको वंशावलीमा किराती राजा स्थुन्कोको पालामा अशोक काठमाडौं आएका हुन् । त्यसअनुसार अशोक आफ्ना गुरु उपगुप्त र छोरी चारुमतीसँगै काठमाडौं आएका थिए र यहाँ अशोकपतन नामले सहर पनि बसाए । यस सहरको चार कुना र बीच भागमा स्तूप पनि बनाए । यस्तै एउटा विहार पनि स्थापना गरे । पछि उनले आफ्नी छोरी चारुमतीको विवाह यहाँका एक राजकुमार देवपालसँग पनि गराए । पछि चारुमतीले एउटा विहार पनि बनाइन् र यसको नाम चारुमती विहार थियो । पछि यो चाबहिल नामले प्रसिद्ध भयो ।

अशोकको काठमाडौं यात्रालाई ऐतिहासिक रूपमा पुष्टि भने गर्न सकिन्न । राइटले प्राप्त गरेको वंशावलीमा धेरै त्रुटि रहेको मानिन्छ । इतिहासकार भुवनलाल प्रधानले लेखेजस्तै, अशोकले आफ्ना छोराछोरीलाई धर्म प्रचारका लागि श्रीलंका पठाएको हुनाले त्यससँग मिल्दोजुल्दो चारुमतीको प्रसंग निर्माण गरिएको हुन सक्छ, जसरी स्वयम्भू पुराणमा बुद्धको काठमाडौं उपत्यका भ्रमणको कल्पना गरिएको छ ।

त्यसो भए, पाटनका ती प्रसिद्ध स्तूपलाई किन अशोक चैत्य भनिए त ? यसको उत्तरमा धेरै तर्क प्रस्तुत गरिएका छन् । पहिलो तर्क, अशोकले मज्झिमको टोलीसँग पठाएको बुद्धको अस्तिधातु गर्वमा राखेर चैत्य बनाइएकाले यस्तो भनिएको हो । दोस्रो तर्क, चैत्यको निर्माण केही हदसम्म अशोकीय शैलीमा निर्माण भएको हुनाले यस्तो भनिएको हो । तेस्रो, बाबुराम आचार्यका अनुसार लुम्बिनी पुगेको अशोकीय टोलीको सम्मानमा यी चैत्यको नाम त्यस्तो राखिएको हो ।

यी सबै प्रसंगहरूबीच मूल प्रश्न फेरि बाँकी रहन्छ— के स्वयम्भू पुराणमा उल्लेख भएअनुसार बुद्ध स्वयम् काठमाडौं आएका थिए ? इतिहासले यसलाई के भन्छ ?
स्वयम्भू पुराणमा उल्लेख तथ्यलाई इतिहासका रूपमा लिन सकिन्न । स्वयम्भू चैत्यको माहात्म्य लेखिएको यस पुराणमा ऐतिहासिक गौत्तम बुद्ध मात्र नभएर यसअघि अतीतका अरू छ बुद्ध काठमाडौं उपत्यकामा आएको पनि भनिएको छ । स्वयम्भू पुराणमा ऐतिहासिकताभन्दा बुद्धको अलौकिकतालाई बढी महत्त्व दिइएको छ । बुद्धलाई प्राणीको मुक्तिका लागि सधैं तल्लीन महाकरुणामयको रूपमा प्रस्तुत गरिएको छ । यो भक्ति र श्रद्धाको विश्वास हो ।

प्रकाशित: वैशाख २३, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-05-06/20170506100304.html

प्रेमबहादुरको कृति !

प्रेमबहादुर कंसाकारले आफ्नो संकलनमा रहेका अत्यन्त दुर्लभ, प्राचीन, अमूल्य ग्रन्थ, हस्तलिखित पुस्तक तीन हजार थानभन्दा बढीको संख्यामा सार्वजनिक रूपमा हस्तान्तरण गरेका थिए ।
- मल्ल के. सुन्दर


वैशाख ३०, २०७४- इन्कलाब – जिन्दावाद ! क्रान्तिको पक्षमा यो नारा घन्काएर पहिलोपटक नेपालको इतिहासमा सार्वजनिक जनप्रदर्शन भएको दिन थियो २००४ वैशाख १७ गते ! सत्याग्रहको आह्वान थियो । एक दिन बिराएर १९ गते र २१ गते पनि लगातार उपत्यकाको तीनै सहरमा जनविद्रोहको स्वर गुन्जिएको थियो । यिनै जनआक्रोशलाई सम्बोधन गर्न म्युनिस्पल्टीको चुनावको घोषणा गर्न तत्कालीन राणा शासक बाध्य भए । त्यति वेला श्री ३ पद्मशमशेर भर्खर सत्ताको वागडोर सम्भाल्दै थिए । क्रान्तिकारी कदमका नेतृत्वको अग्रपंक्तिमा थिए प्रेमबहादुर कंसाकार ।

अध्ययनका लागि भारतको पटना बसाइमा रहँदा उनी त्यसताकाको एक जल्दोवल्दो क्रान्तिकारी संगठन र्‍याडिकल डेमोक्राय्टिक पार्टीसँग आबद्ध भए । नेता एम.एन. राय, एक बेग्लै धारको राजनीतिक सोचका कारण भारतीय उप–महाद्वीपमा मात्र होइन अन्तर्राष्ट्रिय समाजवादी क्याम्पमा समेत अत्यन्त चर्चित व्यक्तित्वका रूपमा परिचित थिए । उनकै नेतृत्वमा क्रियाशील थियो— र्‍याडिकल डेमोक्राय्टिक पार्टी । उक्त पार्टीको अधिवेशनमा समेत सहभागी बनेका प्रेमबहादुर स्वदेशमा क्रान्ति र परिवर्तनका लागि दृढ निश्चित भइसकेका थिए ।

सोही पार्टीको विधान र अन्य पर्चाहरूको आधारमा नेपाल प्रजातन्त्र संघ– एक भूमिगत राजनीतिक समूह गठन गर्न उनी सफल भए । पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ तथा सूर्यबहादुर भारद्वाजसहित चार जना सम्मिलित थिए, त्यसमा । पछि नरबहादुर कर्माचार्य, नूतन थपलिया, कामाक्षदेबी आदि पनि त्यसमा सम्मिलित भए । भूमिगत शैलीमा संगठन विस्तार गर्दै २००४ बैशाख १७ सम्म पुग्दा यो संघ नेपालमा प्रथम सत्याग्रह आन्दोलनको नेतृत्व गर्न सफल भयो । गणेशमान सिंहलाई भद्रगोल जेलबाट भगाउनका लागि वाहिरबाट सम्पूर्ण चाँजोपाँजो मिलाउने जिम्मा यसै समूहले लिएको थियो । गणेशमानलाई सकुल भारतसम्म पुर्‍याउने जिम्मा प्रेमबहादुरको नेतृत्वमा विशेषत: सूर्यबहादुर भारद्वाज र शम्भुरामको थियो ।

पछि गणेशमान सिंहकै सल्लाहमा प्रेमबहादुर बनारस पुगे । त्यहाँ नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशनमा सहभागी बनेका प्रेमबहादुर पार्टी महामन्त्री निर्वाचित पनि भए । अध्यक्ष पदमा चुनिएका थिए डिल्लीरमण रेग्मी । तर, नेपालमा थुनिएका विश्वेश्वरप्रसाद कोइराला बनारस फर्केपछि मातृकाप्रसाद, डिल्लीरमण र विश्वेश्वरप्रसादका बीच अध्यक्ष पदका लागि खिचलो भयो । पछि पार्टी नै विभाजित अवस्थामा पुग्यो । प्रेमबहादुर भने निर्वाचित अध्यक्ष डिल्लीरमणको पक्षमा उभिए ।

पार्टी विभाजनबाट अविचलित उनी नेपाली जनवादी प्रजातन्त्र संघको नाउँमा नयाँ राजनीतिक दलसहित निरन्तर सक्रिय रहे । नेपाली महिलाहरूमा राजनीतिक जागरणका लागि गम्भीर चासो राख्ने उनले २००४ सालको वरपर साहना, साधना, मंगलादेवी, स्नेहलता, प्रेमलता आदि अगुवा महिला कार्यकर्ताहरू आदिलाई काठमाडौंको म्हैपी मन्दिरमा भेला गराई नेपाल महिला संघ संस्थापनको जमर्को गरेका थिए ।

तिनै क्रान्तिकारी अगुवा – प्रेमबहादुर कंसाकारको शतवार्षिकी वर्ष हो, यो । काठमाडौंको मासंगल्लीमा बैशाख शुल्क दशमीका दिन जन्मिएका उनी मूलत: राजनीतिज्ञ थिए । पहिलो त, राणाविरुद्धको चेतले उनलाई मुलुकमा सामन्ती शासन अन्त्यका लागि विभिन्न मोर्चामा सक्रिय बनाए । नागरिकहरूमा चेतना र जागरण ल्याउन क्रूर राणा शासनकालमा नेपालको पहिलो सार्वजनिक प्रदीप्त पुस्तकालय खोले । शिक्षाको जागरणका लागि पद्मोदय हाइस्कुलका संस्थापकहरूमध्ये एक भएर अगाडि आए । त्यति बेला क्रान्तिको पूर्वाधार तयारी केन्द्रको रूपमा चिनिएको शान्ति निकुञ्ज विद्यालय संस्थापनमा पनि उनको प्रमुख योगदान थियो ।

तर, विडम्बना, राजनीतिक वृत्तमा हुने जालझेल, षड्यन्त्रमा उनी टिक्न सकेनन् । नेपालमा प्रजातन्त्र घोषणा भएको केही वर्षपश्चात् नै प्रेमबहादुर राजनीतिबाट निवृत्त हुन विवश भए । राजा त्रिभुवनदेखि वीरेन्द्रसम्मले राजदरबार बोलाएर पटक–पटक मन्त्री पदको जिम्मा सुम्पिन खोजेको पनि हो, तर सिद्धान्त र आदर्शमा खरो उनी क्षणिक व्यक्तिगत प्राप्तिका लागि कहिल्यै विचलित भएनन् । बरु जीवनको उत्तराद्र्धसम्म पनि पेसागत रूपले आफूलाई शिक्षण संस्थामा सीमित राखे । राजनीतिमा गुमनाम बने ।

प्रेमबहादुरको पछिल्लो कालखण्ड फरक थियो । उनीभित्र गुम्सिएको कला, संस्कृति र साहित्यप्रतिको लगावले उनलाई अर्को चरित्र पात्रको रूपमा डोर्‍यायो । साहित्यकारका रूपमा उनमा सिर्जनाका अपार स्रोतहरू थिए नै । कवि नाटककार, कथाकारका अतिरिक्त नेपालभाषा साहित्य क्षेत्र आधुनिक निबन्ध लेखनीका अगुवा बने । ‘न्हुपुखु’ निबन्धसंग्रह त्यसको ज्वलन्त साक्षी हो । मातृभाषामा थुप्रै साहित्यिक कृति लेखे । सम्पादन गरे । विशेषत: लोक साहित्यको ज्ञाता र संग्रहकर्ताको रूपमा उनको पछिल्लो भूमिका स्मरणीय रह्यो । हुनत उनको शोख हुलाक टिकट र मुद्रा संकलनमा पनि थिए । तर, हाम्रा प्राचीन ग्रन्थहरू, अभिलेख, शास्त्र, हस्तलिखित पुस्तक आदिको संकलन तथा संरक्षणमा उनको भूमिका अतुलनीय बने ।

च्वसापासाजस्तो नेपालको पहिलो साहित्यिक संस्थाका संस्थापक उनको चाहना आफ्नो मातृभाषा नेपालभाषामा प्रकाशित पुस्तक, पत्रपत्रिका तथा अन्य सामग्रीहरूको संकलन केन्द्रको रूपमा एउटा साहित्य मन्दिर स्थापना गर्नमा थियो । लामो समयसम्म तिनै उद्देश्यबाट पुस्तक, पत्रपत्रिका तथा अन्य उपयोगी सामग्रीहरूको संकलनमा लागे । तर, उनको संकलनमा हस्तलिखित ग्रन्थ, तन्त्रमन्त्र, शास्त्र, पुराणका अतिरिक्त सामाजिक जीवनका अभिलेख रहेका ताडपत्रहरू पनि थिए ।

पञ्चायती कालखण्डमा, २०३० सालतिर, उनको यिनै विशिष्ट क्रियाशीलतालाई शासकहरूले गलत अथ्र्याउने दुस्साहस गरे । अनि उनको संकलनमा रहेका यस्ता बहुमूल्य प्राचीन ग्रन्थहरूका आधारमा प्रेमबहादुरलाई ‘मूर्ति चोर’ सम्मको अभियोग लगाइयो । संकलित सबै जफत गरियो । उनलाई पनि अनाधिकारपूर्ण वन्दी बनाइयो ।
निर्दलीय शासकहरूको बुझाइअनुसार यदि ती संकलित ग्रन्थ, हस्तलिखित ग्रन्थहरूको बजार खोजिएको भए एउटा, एउटा हस्तलिखितको पनि लाखौं मूल्य किटान हुन सक्थ्यो । सयौं बर्ष पुराना, सुनको धूलो, चाँदीको धूलोले लेखिएका धार्मिक ग्रन्थ, दुर्लभ ताडपत्रहरूको कारोबारमा लागेको भए ब्यक्तिगत रूपमा उनी अवश्य पनि धनाढय बन्न सक्थे । तर, उनी एउटा अटल सपना बोकेर लागेका थिए । असहजता र संकटका घडीले उनलाई कति पनि लतार्न सकेन ।

आखिर, त्यो दिन आइपुग्यो, प्रेमबहादुरको जीवनको उकाली–ओरालीलाई पार गर्दै नेसं ११०५ अनालागा: ३० अर्थात् २०४२ असोज ३२ शुक्रबार । उनको संकलनमा रहेका त्यस्ता अत्यन्त दुर्लभ, प्राचीन, अमूल्य ग्रन्थ, हस्तलिखित पुस्तक तीन हजार थानभन्दा बढीको संख्यामा सार्वजनिक रूपमा हस्तान्तरण गरे । रञ्जना, भुंजिमोल, कुंमोल, नेपाल लिपि आदिमा लेखिएका ती ग्रन्थहरू नेपालभाषा, नेपाली, संस्कृत, मैथिली, भोजपुरी, अवधी भाषामा थिए ।

उनको पिता आसामान सिंहको स्मृतिमा स्थापित आसा सफू कुथि – आसा संग्रहालयमा संरक्षित छन् ती सबै । काठमाडौं महानगरपालिका, टेंगल टोल, रक्तकालीमा सडकछेउ पुस्तक पसलसहितको एउटा आधुनिक घर– वास्तवमा त्यो प्रेमबहादुरले स्थापना गरेको च्वसापासा संस्थाको कार्यालय भवन हो । तर, त्यसको भित्री चोकमा एउटा कलात्मक दुईतले भवन बनेको छ— आसा सफूकुथि यिनै भवनमा सञ्चालित छन् ।

प्रेमबहादुरले आरम्भ गरेको अभियानमा अन्य दाताहरूले होस्टेमा हैसे गरेका छन् । संग्रहालयमा अहिले झन्डै नौ हजारभन्दा बढी संख्यामा हस्तलिखित ग्रन्थ, ऐतिहासिक दस्तावेज, अभिलेखहरू संग्रहित छन् । तिनमा प्राचीन काव्य, नाटक, अवदानजस्ता साहित्यिक कृति अनि वंशावली, पुराण, जातक, स्तोत्र, तन्त्रमन्त्र, जोतिषी, आयुर्वेदलगायत हस्तकला, मूर्तिकला, स्थापत्यकला, वास्तुकलाजस्ता प्राविधिक विषय पनि छन् । ताडपत्रमा लेखिएका अभिलेखहरू मात्र तेह्र सयभन्दा वढी छन् । आजको मितिसम्ममा सात हजार प्राचीन गन्थ्र आधुनिक वैज्ञानिक प्रविधिअनुसार डिजिटलाइज भइसकेका छन् । त्यस्तै एघार सय ताडपत्रहरू पनि त्यसरी नै सुरक्षित गर्ने काम भइसकेको छ । डाटाबेस फम्र्याटमा व्यवस्थित गरिएका सूचना कृति, विषयगत विधा, तिथिमिति, भाषा आदिका माध्यमबाट सहज रूपमा कम्प्युटरमा भेटाउन सकिन्छ । विज्ञहरू भन्छन्— नेपालमा सार्वजनिक स्तरमा खोलिएको आधुनिक अभिलेखालय यो सबभन्दा ठूलो हो । नेसं ३२६ अर्थात् आठ सय वर्षभन्दा पुरानो अभय मल्ल समकालीन ताडपत्रमा लेखिएको अत्यन्त महत्त्वपूर्ण अभिलेख तथा ताडपत्रमै लेखिएका महाभारतका विभिन्न काण्डहरू यहाँ अध्ययन गर्न सकिन्छ । रमाइलो कुरा यहाँ अन्य हस्तलिखित ग्रन्थमध्ये एक सुन बनाउने विधिसम्वन्धी थ्यासफू पनि सुरक्षित छ । राणा प्रधानमन्त्री वीरशमशेर र देवशमशेरबीच भएको अंशबन्डाको तमसुक पनि यहाँ हेर्न सकिन्छ । विशेषगरेर जापानी, चिनियाँ, कोरियनहरू यहाँ संरक्षित सुनका अक्षरले लेखिएका प्रजापारमिता र ताडपत्रमा लेखिएका सधम्र्मपुण्डरिका हेर्नका लागि वढी लालायित हुन्छन् । विदेशी अध्येताहरूका लागि यो आफ्नो अध्ययन अनुसन्धानका राम्रो स्रोतकेन्द्र भएको छ । स्मरणीय होस, स्वयम्भू चैत्यसँगै रहेको प्रतापपुर आगलागी भई ध्वस्त भइसकेपछि पुनर्निर्माणका लागि त्यसको वास्तुकलाको आधारभूत जानकारी प्राप्त गर्न यही आसा सफू कुथिमा संग्रहित ग्रन्थले भरथेग गरेको थियो ।
गएको साता च्वसापासाले प्रेमबहादुर कंसाकार शतवार्षिकीको अवसर पारेर स्मृति सभा आयोजना गरेर वर्षभरि नै उनको सम्मानम, उनका कृति र योगदानका सम्बन्धमा विभिन्न कार्यक्रमहरूको आयोजना हुने घोषणा गरेको छ ।

उनको देहावसानको छब्बीस वर्षपश्चात् एउटा कट्टर राष्ट्रवादी, क्रान्तिकारी प्रेमबहादुरको स्थान राजनीतिक वृत्तमा कुन रूपमा आरक्षित होला, कसरी मूल्यांकन गरिएला अध्ययनकै विषय होला, तर आसा सफू कुथि– आसा संग्रहालय उनको एक अजम्बरी कृतिका रूपमा यो दुनियाँसामु जुग–जुगसम्म रहनेछ ।

प्रकाशित: वैशाख ३०, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-05-13/20170513091000.html

त्यो ‘भ्वय्कासा’ सम्झेर'

नेपाल र नेपाली भाषामा एकैसाथ कलम चलाउन सक्ने कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ बाल साहित्यमा पनि उत्तिकै चिनिएका छन् । अर्थ, भाव र प्रयोगका दृष्टिमा उनलाई आजकालका गीत–कविता र सिंगो साहित्य अलिक बढी ‘नारा’ हो कि जस्तो लाग्न थालेको छ ।
- देवेन्द्र भट्टराई

जेष्ठ २०, २०७४- काठमाडौं, न्हैकन्तला टोलमा जन्मे–हुर्केका दुर्गालाल श्रेष्ठ अरू केटाकेटीकै हूलमा मिसिंदै ‘भ्वय्कासा’ खेल्थे । सामान्य अर्थमा बुझिने यो पुतली खेलमा ससाना केटाकेटीले घरजम गर्ने, जोडा बनेरै त्यस्तै रामरमाइलो गर्ने अथवा सिन्दूर हाल्नेसम्मको ‘खेल’ दोहोरिन्थ्यो ।

समय यसै बितेर गयो, धेरै लामो समय । ‘भ्वय्कासा’ खेलेको झन्डै आधा शताब्दीपछि दुर्गालाल एक दिन महाँकाल थानबाट भद्रकाली गइरहेका थिए । बाटोमा भेटिइन्, कहीं कतै चिनापर्ची भइसकेको झल्को मिल्ने एक महिला । दोहोरो कुराकानी भयो । उमेर र यौवन गुजारिसकेकी ती महिलाको सिउँदो रित्तो देखेपछि दुर्गालालले अझ निकट भएरै सोधेछन्— खोइ तिम्रो सिन्दूर ?

‘एउटै सिउँदोमा दुईपटक सिन्दूर हालिन्छ र ? भ्वय्कासामा तपाईंले नै हालिदिएको होइन र ?’ जवाफ आयो ।
ओहो ! दुर्गालाल अवाक बनेछन् । भ्वय्कासा खासमा ठट्टाको खेल थियो । तर, यी महिलाले त्यसलाई ‘जीवन’ बनाएकी रहिछन् । ‘म के कवि ? ती महिला पो असली भावनाकी कवि रहिछन्,’ दुर्गालाल अहिले सम्झिरहेका छन्, ‘म त अपराधी पो रहेछुजस्तो लाग्छ । कसैको भावनामा, जीवनमा यसरी पनि खेलेको रहेछु भन्ने लागिरह्यो, धेरै पछिसम्म ।’

‘तिमी र म
चाल त पाउँथे अलिअलि फेरिएको
के थाहा मलाई—
प्रेम भयो भनेर ।
ख्यालख्याल पो ठानेथें
पुतलीको त्यो बिहे ।’

०००

हेर्दाहेर्दैको रंगीचंगी र हराभरा दृश्य आँखैसामु एकाएक खुइलिएर गयो भने के होला ?
ठीक यस्तै स्थिति उब्जिएको छ— कवि दुर्गालाल श्रेष्ठसामु । उमेर ८२ पुगे पनि अहिलेसम्म कुनै रोगव्याधले नछोएकोमा उनी ‘धन्य’ छन् । तैपनि सबै प्रकारका स्मृति, घटना, सन्दर्भ र क्षणहरू निकै पुरानिएर गएका छन् । दुर्गालाल भन्छन्— सबै कुरा खुइलिएर गए, खोइ के पो भनौं ?

कतिसम्म भने पद्मोदय स्कुलमा कक्षा ४ मा पढ्दा दुर्गालालका छापाजस्ता अक्षरको महिमा सिंगो स्कुलमा थियो । कक्षागुरुले उनको ‘हेन्डराइटिङ कपी’ बोकेर १० कक्षाका विद्यार्थीसामु भन्ने गरेका रहेछन्, ‘लेख्नु त यसरी लेख्नु !’
आज आफ्नै नाम लेख्नसमेत हम्मे परेको बोध गरेपछि दुर्गालाल भन्न थालेका छन्— एउटै जीवनको यो समयक्रममा हरेक चीज खुइलिंदै र खिइँदै गएको देखेर बसीबसी ‘अनित्यता’ बोध गरिरहेको छु ।
गएको वर्ष ठमेलस्थित आफ्नो घर आगलागीमा परेपछि दुर्गालाल यतिखेर गुँड सारिरहने गौंथली चरीझैं भएका छन् । अघिल्लो साता उनी एउटा छोरासँग बाफलको डेराघरमा भेटिन्छन् भने अर्को साता बुढानीलकण्ठ अर्को छोराकहाँ पुगेका हुन्छन् । फेरि अर्को साता कीर्तिपुर बस्ने छोरीकहाँ उनी पुगेका हुन्छन् ।

उपत्यकाका सानाठूला डबली, नाटक, रंगमञ्चमा खुट्टा छिराएर माथि उठेका दुर्गालाल आफैंसँग संगतले राजनीतिक चेतना भरिएको ‘भिन्न मानिस’ बनाएको आत्मसमीक्षा गरिरहेका छन् । पुष्पलाल, दिवाकर भाजु, चित्तरञ्जन नेपाली, स्नेहलता अथवा यस्तै भिजेका नामको प्रभावमा परेर उनी ‘राजनीतिक’ बने । ‘तर म कट्टर कम्युनिस्ट भनेर झन्डा लिएर हिंड्ने परिनँ । म विचारको कम्युनिस्ट हुँ,’ दुर्गालाल थप्छन्, ‘यसो भन्दैमा यो देशमा राजा महेन्द्रजत्तिको राष्ट्रवादी अरू कोही थियो भन्ने म अझै ठान्नै सक्तिनँ ।’

दुर्गालाल आफूलाई ‘पढेर होइन परेर’ चेतनामा साक्षर भएको व्यक्तिका रूपमा चिनाउन चाहन्छन् । घरेलु ट्युसनका गुरु संघरत्न शाक्यदेखि पद्मोदयका आनन्दप्रसाद ढुंगाना र कन्या स्कुलका हेडसर केदारनाथ न्यौपानेसम्मका साथ–प्रभावले आफूलाई ‘भिन्न बन्न’ सघाएको उनी स्विकार्छन् । यो सूचीमा त्यस बेलाका सचेतकहरू सिद्धिचरण श्रेष्ठ, गम्भीरमान मास्के, प्रेमबहादुर कंसाकार, महाबौद्धका राजभण्डारी दाजुभाइ र रत्नदेव जोशीलाई पनि दुर्गालाल सम्मानपूर्वक सम्झिरहेका हुन्छन् । ‘मैंले चिनेकोमा कमलप्रकाश मल्ल भने ‘अन्तर्चक्षु’ खुलेका व्यक्ति हुन् जो आफ्नो भाषा, समाज र सभ्यताको कुरा एकैसाथ लिंक गर्न चाहन्छन्,’ दुर्गालाल भन्छन् । नाटक–डबलीको बढी संगत र प्रभावका कारण एसएलसीसम्म मात्रै पढाइ पार लगाएका दुर्गालाललाई नेपाल भाषा शिक्षकका रूपमा कन्या मन्दिरमा चिनारी गराउने उनै कमलप्रकाश रहेछन् । दुर्गालालले कन्या मन्दिर स्कुलमा २५ वर्ष लगातार पढाएका थिए ।

‘नेपालभाषा’ का गुरु भए पनि दुर्गालाल आफ्नै भाषा र आफ्नोपनामा सुरुका दिनमा त्यति जागरुक थिएनन् । जाति र जातीयताको जतिसुकै ठूलो कुरा गरे पनि आफूलाई नेवारी भाषा–पहिचानमा उतार्ने व्यक्ति कन्या मन्दिरका हेडसर केदारनाथ न्यौपाने (बाहुन) भएको उनी सगर्व स्विकार्छन् । ‘ती हेडसर जोकोही जान्ने नेवारजत्तिकै थिए, नेपालभाषा लेखाइमा,’ उनी सम्झन्छन्, ‘एकपटक एउटा नाट्य–डबलीमा जानुपर्ने भएकाले मैले एक दिनको छुट्टीका लागि निवेदन दिएको थिएँ । तर पछि स्कुलमा बुझ्दा मेरो निवेदन स्वीकृत भएको रहेनछ । अनि हेडसरले मलाई बोलाएर सम्झाएका थिए— तिमी यो स्कुलमा नेपालभाषाका शिक्षक हौ । तिम्रो छुट्टीको निवेदन भने नेपाली भाषामा लेखिएको छ । यसो गर्न सरम लाग्दैन ?’

आफ्नो नाम–काम र चिनारी जोड्ने कुरामा नेपाल–नेपाली भाषा उत्तिकै सम्मानमा रहे पनि भाषिक र जातीय समानताका मामलामा सिंगो राज्य पद्धति ‘अनुदार’ रहिआएको दुर्गालालको बुझाइ छ । ‘हरेक जातिको जातीयता फस्टाउन सकेमा मात्रै राष्ट्रियता बाँच्छ भन्ने कुरा यो राज्यले कहिल्यै बुझेन । यो जातीय संकुचनको स्थिति र भोगाइ म एउटा सर्वसाधारणलाई त थाहा छ भने के राज्यलाई थाहा नहोला ?’ भाषिक र जातीय चिनारीको झस्कोमा दुर्गालाल भन्छन्, ‘यो बहुजातीय देशमा हरेक जातिले समानुपातिक रूपमा बाँच्न पाउनुपथ्र्यो नि । त्यो अहिलेसम्मै भएन । साँच्चि भन्ने हो भने यो देशले यस अर्थमा देश बन्न कहिल्यै पाएन ।’

यसपटक बाफलदेखि ठमेलसम्मको भेटघाट चरणमा दुर्गालाल कवि–कविताभन्दा बढी राजनीति र समाजका बारेमा निकै जागरुक सुनिए । लवजमा कम्युनिस्ट बनेर उनी भनिरहेका थिए, ‘यहाँ नोकरशाही र दासत्व कायमै छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो पदबाट निवृत्त भएपछि पनि आज एउटा रेस्टुराँमा काम गरिरहेका छन् भनेर मैले पढेको थिएँ । हाम्रा प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरू भने आजीवन सेवा–सुविधा पाइरहने हैसियतमा यहाँ छन् । यो स्थितिलाई के भन्ने ? यही कारणले हुन सक्छ— धनी नेता र गरिब जनता भएको देश हो नेपाल ।’

०००

गीत–संगीत अथवा लोकप्रियताका कुरामा दुर्गालालसँग अचम्मको ‘संयोग’ छ । २०१५ सालको चुनावताका कम्युनिस्ट नेता पुष्पलालको आग्रहमा नेपालभाषामा उनले चुनावी गीत लेखेका थिए भने त्यसमा प्रेमध्वज, नारायण गोपालसहितले संगीत–स्वर भर्न सघाएका रहेछन् । यतिका वर्षपछि यसपटक नयाँ उदाएको विवेकशील पार्टीका लागि पनि चुनावी गीत लेखिदिएका रहेछन्, १५ हजार रुपैयाँ शुल्क लिएर (बोल : विवेकशील नेपाली, नेपालको ज्यान । संगीत : न्ह्यू वज्राचार्य ।) ‘यसो भन्दैमा मैले इस्टकोटमा भोट हालेको छैन नि,’ हत्तारिंदै दुर्गालाल भन्छन् ।

यस्तै आग्रहमा परेर मह फिल्मको ‘१५ गते’ शृंखलाका लागि ‘सयथरी बाजा एउटै ताल’ गीत उनले लेखेका हुन् । अर्को बिन्तीपूर्ण आग्रह र शब्द खेलाउन थालेको १० मिनेटमैं लेख्न सकेको गीत हो— फूलको आँखामा फूलै संसार । ‘एक दिन न्ह्यू आएका थिए, साथमा धुन बोकेर,’ दुर्गालाल सम्झन्छन्, ‘साथमा आनी छोइङ पनि थिइन् । अचम्मको त्यो बिहानीमा छिनभरमैं सामु बसेकी गायिकाको स्वरमाधुर्य ‘फिल’ गरेर फूलको आँखा र फूलकै संसार कल्पेको थिएँ ।’

यति भनिरहँदा यो अनौठो लाग्छ कि वर्षौंवर्षदेखि साधनारत दुर्गालाल ‘फूलको आँखामा दुर्गालाल’ बनिसकेका छन् । फेरि यति धेरै आग्रह–पूर्वाग्रह र जातीय चेतनाका कुरा भइरहेका बेला दुर्गालाललाई सोध्नैपर्ने भयो, ‘गीत/कविता लेख्नुपर्दा विचार, कल्पना वा सोचाइ पहिले नेपालभाषामा आउँछ कि नेपालीमा ?’
जिज्ञासा झर्नासाथै कुनै केटाकेटीले बेहोरेको असहज स्थितिझैं दुर्गालाल सुरुमा हच्किए, जिब्रो बाहिर निकालिहेरे । अनि मात्रै बोले, ‘नेपालीमा लेख्यो भने अलिअलि पैसा पनि आउँछ । यसकारण अहिले आएर म अलिक नेपालीतिर लोभिएको हो कि ?’ कतिसम्म भने उनले ‘पैसाका लागि’ एकपटक ५ घण्टामा ९ वटा गीत पनि लेखेका रहेछन् । पैसा जति लियो, माग्ने भाँडो उत्तिकै गहिरिंदै गएको हो कि ? यदाकदा उनलाई सिर्जना (गीत) कै अपमान गरेजस्तो बोध हुन थालेको रहेछ । ‘तर म महत्त्वाकांक्षा लिएर हिंडेको मान्छे होइन । यसो भन्दैमा हिलोमा म पनि हिँडेको छु,’ उनी थप्छन्, ‘तर गोडामा हिलो लागेकै छैन भनेर म दाबा गर्दिनँ ।’
यति भनेर मात्रै दुर्गालाल स्थिति प्रस्ट्याउन थप व्याख्यामा उत्रिए । उनका अनुसार, सुरुवाती दिनहरूमा नेपालभाषामा लेख्नुपर्छ भन्ने ज्ञानै थिएन । अलिक पछि गएर मात्रै आफ्नो भाषा, जाति भन्ने ‘विवेक’ पलाएको हो । ‘संगीतकार न्ह्यू यस्तो गीत चाहियो, उस्तो चाहियो भनिरहन्छन् । यसबाट अलि–अलि पैसा पनि आउँछ,’ दुर्गालाल भन्छन्, ‘न्ह्यूसँग मात्रै मेरा रेकर्ड भएका र नभएका गरेर ५ सय जति गीत होलान् ।’

अर्थ, भाव र प्रयोगका दृष्टिमा दुर्गालाललाई आजकालका गीत–कविता र सिंगो साहित्य अलिक बढी ‘नारा’ हो कि जस्तो लाग्न थालेको छ । उनलाई राजनीति पनि अझ बढी ‘अराजक’ हुँदै गएको हो कि जस्तो लाग्न थालेको छ । बरु सांस्कृतिक जगत् र साहचर्य भने अलिक घनीभूत भएको हो कि ?

नेपाल र नेपाली भाषामा एकैसाथ कलम चलाउन सक्ने साधक दुर्गालाल बाल साहित्यमा पनि उत्तिकै चिनिएका छन् । उनकै नाममा दुर्गालाल बाल साहित्य पुरस्कार पनि स्थापना भइसकेको छ । धेरैलाई थाहा नभएको सूचना यो पनि हुन सक्छ— उनले नेपाली, हिन्दी र अंग्रेजीका केही उत्कृष्ट कृति पनि नेपालभाषा अनुवादमा ल्याएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’, हरिवंश राय बच्चनको ‘मधुशाला’ (मातृक छन्द) र काजी नजरुल इस्लामका छानिएका कवितालाई नेपालभाषामा ल्याएका छन् । तर, यी काम भने आफ्नै स्वेच्छा र सन्तुष्टिमा प्रेमपूर्वक गरिएको उनी सुनाउँछन् ।

‘जबजब म अलग्ग हुन्छु
प्रेमको संसारबाट
कीराले किताब खाएझैं
चपाउँदै गरेको पाउँछु
आफूलाई पनि समयले ।’

 ०००

दुर्गालालले ‘केदारनाथ : मेरो ईश्वर’ शीर्षकमा एउटा कविता पनि लेखेका छन् जहाँ उनले आफूले पढाउने स्कुलका हेडसर केदारनाथ न्यौपानेको खुलेर बन्दना गरेका छन् । ‘मेरो भाषिक र जातीय चेतनाका कुरामा आडभरोस दिने एक मात्रै आत्मीय पात्र उनै हुन्,’ दुर्गालाल भन्छन्, ‘त्यसमाथि कन्या स्कुल छँदै उनैले जबरजस्ती निवेदन लेख्न लगाएर व्यवस्थापन समितिबाट उनले ८ हजार रुपैयाँ दिलाइदिएका थिए । त्यही पैसामा ३ हजार रुपैयाँ थपेर ठमेलमा २०२६ सालमैं ६ आना जमिन लिन सकेको थिएँ । यसरी केदारनाथले मैले टेक्ने–समाउने भुइँ पनि दिएका थिए ।’

स्वभाव र लतमा दुर्गालालसँग ‘स्वान्त सुखाय’ बाहेक अरू कारक–कारण केही देखिन्न । २५ वर्षसम्म कन्या स्कुलमा पढाएर पनि निवृत्तिभरण (पेन्सन) त्यागेर उनी त्यहाँबाट बाहिरिएका हुन् । ‘स्कुलमा पढाइन्जेल माध्यमिक तहसम्मै मेरो कक्षा थियो तर, पेन्सन थाप्ने बेलामा निम्नमाध्यमिकसरह मात्रै पाउने भनिएपछि मैंले आत्मस्वाभिमानका कारण अहिलेसम्मै त्यो पेन्सन थापेकै छैन,’ उनी भन्छन्, ‘न आशा न आग्रह । न आसक्ति न बिरक्ति । मैंले २ लाख रुपैयाँ राशिको प्रतिष्ठित जगदम्बा पुरस्कार (२०६७) पाएका बेला पनि भनेको थिएँ— मलाई यो पुरस्कार, सपनामा पाएको चिठ्ठा जस्तो !’

दुर्गालालको समयमा उपत्यकाका भित्री चोक–डबलीमा अनेक नाटक, डबली, कविता गोष्ठी भइरहेका हुन्थे । नेवारी जगत्मा एक जना भाषिक अभियन्ता थिए— प्रेमबहादुर कंसाकार । शनिबारपिच्छे नेपाल भाषाको साहित्यिक कार्यक्रम पनि भइरहेको हुन्थ्यो । त्यहाँ दुर्गालाल पनि कविता सुनाउन जान्थे । कार्यक्रमपछि मन्तव्य राख्ने क्रममा प्रेमबहादुरले दुर्गालालको कविता विवेचना गर्दै भनेछन्— ख्वबिलु अर्थात् रुन्चे । कतिसम्म भने स्थानीय टोलबाट छापिने ‘थेङ्कने’ पत्रिकामा लोकल सम्पादकले कविको नामै न्वारान गर्दिने रहेछन्— दुर्गालाल ‘ख्वबिलु’ ।

जीवनमा सन्तोष हुने आधार र सन्तुष्टि लिन सकिने दायराका बारे दुर्गालाल धेरै अर्थमा जानकार छन् । ‘एउटा मान्छेलाई कति भए पुग्छ ?’ भन्ने तराजुमा उनी सम्पत्ति, वैभव, नाम–काम अथवा ख्याति सबैलाई एकै ठाउँमा राखेर तौलन चाहन्छन् । खासमा दुर्गालाल केही थिएनन्, न्हैकन्तला–ब्रह्मटोलतिर उनी दुर्गालाल ‘ख्वबिलु’ मात्रै थिए । ठमेलमा ६ आना जग्गा किन्न सकेको दिन उनी ‘केदारनाथ : मेरो ईश्वर’ लेखिरहेका थिए । फेरि, आत्मसम्मानमा ठेस पुगेका दिन २५ वर्ष पढाएर अवकाश लिएको शिक्षक हैसियतमा पेन्सन त्यागेर हिँड्ने पात्र पनि उनै दुर्गालाल थिए । जीवन–जगत्का कुरामा सही अर्थमा परित्यक्तझैं लाग्ने यी पात्रका अघिपछि धर्मपत्नी बनेर हिँडिरहेकी श्रीमती पूर्णदेवी पनि अहिले ८० वर्ष लागेकी छन् । ‘श्रीमान् दुर्गालाल कस्तो लाग्छ ?’ सँगै बसिरहेकी पूर्णदेवीलाई सोध्नासाथै झरेको जवाफ थियो, ‘खोइ, यसैगरी जीवनै बित्यो ।’

दुर्गालालको ठमेलस्थित घर गएको नागपञ्चमीमा आगलागीमा परेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सान्त्वना दिन ठमेल आइपुगेका रहेछन् ।

‘भन्नुहोस् दुर्गालालजी, म तपाईंका लागि के गर्न सक्छु ?’ प्रधानमन्त्रीको सोधाइ थियो ।
‘मलाई केही चाहिंदैन । हाम्रो समाजमा उपेक्षित जातिले पाएको भेदभाव हटेको देख्न पाऊँ, उपेक्षारहित समाज हेर्न पाऊँ,’ दुर्गालालको जवाफ थियो, ‘म स्वयंलाई केही चाहिंदैन ।’

यसो भन्दैमा दुर्गालाल ‘भगवान्’ पनि होइनन् । जीवनजगत्सँग वैराग्य जोडिएका भन्ते पनि होइनन् । ‘म यत्ति भन्छु— म बितेको चालैसम्म पनि कसैले नपाउन् । यहाँसम्म कि मैले पनि थाहै नपाऊँ,’ दुर्गालाल भन्छन्, ‘बरु बितेपछि सबैले प्रेमपूर्वक सम्झिदिउन्, कुनै आसक्ति वा बिरक्ति नजोडिएको सम्झना !’

‘ओ अपरिचित
रुने–हाँस्ने, रिसाउने–खुसाउने
आजसम्म तिमीले
जत्ति गरायौ, गरिसकें
अब निर्बिघ्न जान देऊ
कि गएको चालै नपाऊँ ।’

प्रकाशित: जेष्ठ २०, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-06-03/20170603093207.html

सुदीर्घ परम्परालाई जीवन

भर्खरै नेपाल भाषामा त्रिपिटकअन्तर्गतका दुई ग्रन्थ निस्केका छन्, पटिसम्भिदामग्ग र धम्मसङ्गणी । यी दुवै बेजोड ग्रन्थ हुन्, किनभने यसको सीधै पाली भाषाबाट अनुवाद गरिएको हो ।
- हिमेश

जेष्ठ २७, २०७४- बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म आफ्ना शिष्य र अरूलाई धर्मसम्बन्धी उपदेश लगातार दिइरहे, त्यो पनि फरक–फरक स्थानमा । त्यसको अर्थ बुद्धले आफ्ना उपदेश कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिएनन् । न त एक खास स्थानमा । आफूद्वारा स्थापित संघका लागि आवश्यकताअनुसार नियम पनि बनाए । बुद्धको समयसम्म उनका यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबै सँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो ।

आफ्नो महापरिनिर्वाणअगाडि बुद्धले भनेका थिए, ‘मैले जति पनि धर्म र विनयसम्बन्धी उपदेश दिएँ, ती सबै पछि तिम्रा सास्ता हुनेछन् ।’ बुद्धको महापरिनिर्वाणपछि उनका शिष्यले माने, सबै उपदेशको संग्रह गर्नुपर्छ । त्यति बेला संघको नेतृत्व गरिरहेका भिक्षु महाकश्यपले बुद्धको उपदेश संग्रह गर्न सम्मेलन गर्ने निर्णय गरे । बौद्ध धर्मको इतिहासमा यस्ता सम्मेलन संगायनाका नामले प्रख्यात छन् । बुद्ध महापरिनिर्वाणको तीन महिनापछि पहिलो संगायना भएको थियो ।

सात महिनासम्म चलेको यस संगायनामा पाँच सय भिक्षुले सहभागिता जनाएका थिए । यसै क्रममा धर्म र विनयसम्बन्धी उपदेश संकलन गरिए । त्यस बेला संकलित बुद्ध वचनलाई चिरस्थायी गर्न भिक्षुहरूले योजना नै बनाएर अगाडि बढे । जस्तो, बुद्ध वचनलाई सानो–सानो भागमा विभाजन गरियो । त्यसलाई मौखिक परम्पराअनुसार सुरक्षित राख्न फरक–फरक भिक्षुको संघलाई जिम्मा दिइयो । आफ्नो भागमा आएका अंशलाई भिक्षु संघले पाठ गर्ने काम सुरु गरे । यसरी सुदीर्घ परम्परा सुरु भयो ।

यसरी पहिलो संगायनायता बुद्ध वचन सुरक्षित हुने काम सुरु भयो । यो क्रम बुद्ध महापरिनिर्वाणको ४ सय ५० वर्षसम्म चल्यो । ईशापूर्व २९ को वरिपरि भिक्षुहरूले अनुभव गरे, सायद यसरी मौखिक परम्पराले बुद्ध वचन सधैंका लागि चिरस्थायी हुनेछैन । त्यसैले यसलाई लिपिबद्ध गर्न आवश्यक छ । त्यति बेला श्रीलंकामा राजा बट्टगामिणीको शासन चलिरहेको थियो । उनले बुद्ध वचन लिपिबद्ध गर्न सबै व्यवस्था मिलाए । यसका लागि एक अर्को संगायना भयो ।

यो तिपिटक संगायनाका नामले प्रख्यात छ । तिपिटक अर्थात् त्रिपिटक । अर्थात् तीन थैलीको समूह । यी तीन पिटक हुन्, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक । सुत्तपिटकमा बुद्ध उपदेश संकलित छन् । विनयपिटकमा भिक्षुका नियम छन् । अभिधम्मपिटकमा बुद्ध दर्शन । त्रिपिटकको अध्ययनबिना बौद्ध धर्म बुझ्ने प्रयास पूर्णत: भ्रामक र निरर्थक हुने गर्छ । अनि त्रिपिटककै माध्यमबाट तत्कालीन समयको इतिहास र संस्कृति पनि बुझ्न सकिन्छ ।

दुण्डबहादुरको प्रयास
भर्खरै नेपाल भाषामा त्रिपिटकअन्तर्गतका दुई ग्रन्थ निस्केका छन्, पटिसम्भिदामग्ग र धम्मसङ्गणी । यी दुवै बेजोड ग्रन्थ हुन्, किनभने यसको सीधै पाली भाषाबाट अनुवाद गरिएको हो । पालीलाई छाडेर दक्षिण एसियामा अर्को भाषामा निस्केको यो सम्भवत: पहिलो हुन सक्छ, थाहा भएसम्म । यसको कारण हो, दुवैमा निकै माथिल्लो स्तरको बौद्ध दर्शन संग्रह गरिएका छन् र यसका विषयवस्तु निकै गम्भीर छन् । यसलाई बुझ्न पनि धेरै अध्ययनको आवश्यकता पर्छ ।

पटिसम्भिदामग्ग अभिधम्मपिटक नजिकको ग्रन्थ हो । बुद्ध वचनलाई बुझ्न यो ग्रन्थ निकै उपयोगी छ । बौद्ध धर्मका विभिन्न तत्त्वलाई यसमा विश्लेषण गरिएको छ । यसलाई नेपाल भाषामा अनुवाद गरेका हुन्, भिक्षु ज्ञानपूर्णिक महास्थवीरले । धम्मसङ्गणी अभिधम्मपिटकअन्तर्गतको सातौं ग्रन्थ हो । अभिधम्मपिटकको मूल आधार रहेको हुनाले यसको अध्ययनबिना अरू ग्रन्थ बुझ्न पनि गाह्रो हुने गर्छ । यसमा धर्मको परिभाषा दिइएको छ । अभिधर्मको मूल आधार र सार नै धम्मसङ्गणी हो । यसलाई अनागारिका अग्गञाणीले अनुवाद गरेकी हुन् ।
अनि यसलाई प्रकाशनमा ल्याएको हो, पाटनको वीरपूर्ण पुस्तक संग्रहालय । र, यसपछाडि सबै काम गर्ने जश जान्छ, दुण्डबहादुर वज्राचार्यलाई । यो संग्रहालय उनकै परिवारको हो । उनैले नेपाल भाषामा त्रिपिटक ग्रन्थको अनुवाद गरेर पुस्तकको आकार दिन सुरु गरेका हुन् । त्रिपिटकअन्तर्गतका अधिकांश ग्रन्थको अनुवादको श्रेय उनलाई जान्छ र यसका लागि उनले लगभग पछिल्लो ४० वर्ष खर्चिसकेका छन् । यो समयमा उनी अरू कुनै काममा नअल्झेर खालि त्रिपिटककै अनुवादमा व्यस्त रहे ।

बुद्धले बुद्धत्व प्राप्तिपछि ४५ वर्षसम्म उपदेश दिए । त्यसैको प्रतिनिधित्व गर्दै त्रिपिटकमा ४५ ग्रन्थ छन् । यी सबै ग्रन्थ नेपाल भाषामा लगभग अनुवाद गर्ने काम भइसकेको छ र यी सबै अब प्रकाशित भएर बजारमा उपलब्ध हुने क्रममा छ । दुण्डबहादुर स्वयं मान्छन्, बौद्ध धर्म बुझ्न त्रिपिटक नै चाहिन्छ र यो नै प्रमाणित हो । अब नेपाल भाषामा त्रिपिटकको उपलब्धतापछि बौद्ध धर्मको अध्ययनका लागि श्रीलंका, म्यानमार, थाइल्यान्ड अवथा अरू कतै विदेश जान आवश्यक छैन ।

यस्तो निकै कठिन काम उनले किन सुरु गरे त ? यसबारे एउटा रोचक घटना छ । पाटनको गाबहालमा उनीहरूको घर छ र त्यो धेरै अगाडिदेखि बौद्ध धर्मबारे अध्ययन र चर्चा हुने स्थान थियो । उनका बुवा पूर्ण, आमा वीरमाया । उनीहरूकै नाममा दुण्डबहादुरको परिवारले वीरपूर्ण पुस्तक संग्रहालय स्थापना गरेका हुन् । दुण्डबहादुरले आमा वीरमायाको निधनका बेला उनको खुट्टा ढोगेर वचन दिएका थिए, ‘आमा म तिम्रो भाषामा सबै बुद्ध ग्रन्त प्रकाशित गर्नेछु ।’

नेपालीमा त्रिपिटक ?
अब प्रश्न उठ्छ, यही त्रिपिटक ग्रन्थ नेपाली भाषामा भने कति उपलब्ध छन् ? कति ग्रन्थ नेपालीमा अनुवाद भइसके त ? नेपाल भाषामा अब सबै ग्रन्थ उपलब्ध हुनेछन्, तर नेपालीमा ? अहिलेसम्म खालि सात ग्रन्थ मात्र नेपालीमा अनुवाद भएर प्रकाशित भएका छन् ।

त्यसमध्ये तीन ग्रन्थ स्वयं दुण्डबहादुरले अनुवाद गरेका हुन् । त्यसमा दीघनिकाय र मज्झिमनिकाय मुख्य छन् । एउटा थप ग्रन्थ नेपालीमा प्रकाशित हुने क्रममा छ ।

त्रिपिटकका अधिकांश ग्रन्थलाई नेपालीमा पनि अनुवाद गर्ने प्रयास के दुण्डबहादुर आफैंले गर्नेछन् त ? नेपाली भाषाका अनुरागी जतिले उनलाई भेट्छन्, एउटै अनुरोध गर्छन्, त्रिपिटकलाई नेपाली भाषामा प्रकाशित गर्ने काम पनि गर्नुपर्‍यो । दुण्डबहादुर आफैं पनि यसका लागि तयार नभएका होइनन् । तर उनी सबैभन्दा पहिले नेपाल भाषामा सबै ग्रन्थ प्रकाशन गर्न चाहन्छन्, आफ्ना आमालाई दिएको वचनअनुसार । त्यसपछि पालो नेपालीमै हो, त्यो पनि चाँडै । यो बुद्ध वचनलाई चिरस्थायी गर्ने सुदीर्घ परम्परालाई थप निरन्तरता पनि हुनेछ ।

प्रकाशित: जेष्ठ २७, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-06-10/20170610104511.html

अझै गाइन्छन्, सिद्धिनरसिंहका गीत

शुक्रबार, ३० असार २०७४, ११ : २६ |  शिवहरि घिमिरे 
अझै गाइन्छन्, सिद्धिनरसिंहका गीत

‘कपु लपु वस म्हस नीर निचरण 
कियल ककन वि, धुच्छेगलि वसत ।।
बासस मुसानस गला गजि यस 
मोल माल हाल वस आभरन हेस ।।’
अर्थात् 
‘कपुरजस्तो शुद्ध वर्ण तिम्रो, 
हातमा नागको बाला, 
ओढ्छौ बाघको छाला
यही हो तिम्रो शरीरको वस्त्र 
गाँजा भाङ धतुरो सेवन गर्ने, 
मुण्ड माला तिम्रो अस्त्र ।’ 
‘कर्पुर गौरम् करुणा वतारम्...’ कै शैलीमा रचना गरिएको यो गीत नेपाल भाषाका कुनै आधुनिक कविले रचना गरेका होइनन्, न त कुनै नाम चलेका साहित्यकारकै सिर्जना हो । यो त मल्ल वंशीय राजा सिद्धिनरसिंहले रचेका हुन् ।
मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि शिवभक्तिमा उनले रचेको यो गीत पाटन क्षेत्रमा अझै गाइन्छ ।
 
 मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि शिवभक्तिमा सिद्धिनरसिंह मल्लले रचेका गीत पाटन क्षेत्रमा अझै गाइन्छन् । 
अहिले पनि उनका ती राग पाटन क्षेत्रमा जपिन्छन् । मल्ल राजाका राग जोगाउन पाटन मंगलबजार क्षेत्रका बूढापाका सक्रिय छन् । उनीहरू दरबारस्थित ‘कार्तिक डबली’ मा अहिले पनि समय–समयमा सिद्धिनरसिंहका गीत गुनगुनाउँछन्। 
पुराना रागलाई जोगाउन ७० वर्ष नाघेका वृद्ध भेला हुने गरेको कार्तिक नाच संरक्षण समिति अध्यक्ष किरण चित्रकार बताउँछन् । उनले मल्ल राजाका राग लोप होलान् भन्ने चिन्ता बूढापाकालाई भएको बताए । 
‘मल्ल राजाले रचेका राग नेवार समुदायको पाका पुस्ताले बेलाबेला धिमे बाजा र तबेलाको सहायतामा सांस्कृतिक कार्यक्रममा गुनगुनाउँछन्,’ उनले भने, ‘सिद्धिनरसिंह मल्लको गीत–संगीत जोगाउन बूढापाका वर्षैभरि सक्रिय रहन्छन् ।’
सिद्धिनरसिंह मल्लले रचेका रागमध्ये मेघ, मल्हा, मालोव, जयश्री, धनाश्रीलगायत राग अहिलेसम्म पनि अत्यन्तै लोकप्रिय छन् । मेघ राग गाउँदा पानी पर्ने किंवदन्ती छ । गुरुप्रथा अनुसार पाकाले सिकाउँदै आएकाले अहिलेसम्म यो परम्परा जीवित रहेको हो । सिद्धिनरसिंहले रचेका रागलाई ललितपुरको मंगलबजारस्थित चारनारायण मन्दिर प्रांगणस्थित कार्तिक डबलीमा प्रत्येक वर्ष मंसिरदेखि मञ्चन गर्ने चलन छ । 
सिद्धिनरसिंहले आफूले रचेका गीत–संगीतलाई संरक्षण गर्न असारलाई संगीत दिवसको नाम पनि दिएको पाटन मंगलबजारका बाबुराजा श्रेष्ठले बताए । उनी सिद्धिनरसिंहले रचेका गीत र रागले तत्कालीन नेपाली समाजको यथार्थ बोलेको बताउँछन् । ‘सिद्धिनरसिंह मल्लको रचनामा मौलिकता र गीत–संगीतमा हुनुपर्ने विशेष राग छ,’ उनले भने, ‘मल्लकालीन अवस्थालाई रचना भावले बोलेकाले त्यसको प्रवद्र्धन गर्नुपर्छ ।’ 
संस्कृतिविद् सत्यमोहन जोशीले सिद्धिनरसिंह मल्लका गीत र रागमा जति सुने पनि नपुग्ने गहिरो भाव लुकेको बताउँछन् । ‘उनका गीत–संगीतले उतिबेलाको इतिहास बोलेको छ,’ उनले भने, ‘भावी पुस्तालाई पुरानो संस्कृति र परम्परा नसिकाउँदा सबै लोप हुन थाले ।’ 
उनले रचेका ३२ मध्ये १५ राग लोप भइसकेका छन् । बाँकी राग संरक्षणका लागि कार्तिक नाच संरक्षण समितिले विभिन्न कार्यक्रम गर्दै आएको छ । खासगरी जेठ पूर्णिमाको दिन यस क्षेत्रका पाका पुस्ता सिद्धिनरसिंहका सबै रागमा स्वर भर्ने गरेका छन् । पुराना राग, गीत–संगीत संरक्षण गर्न ललितपुर संरक्षण केन्द्रले पनि समितिसँग सहकार्य गर्दै आएको छ ।
सिद्धिनरसिंहले यसरी रचेका थिए राग  
संस्कृति तथा इतिहासविद्का अनुसार सिद्धिनरसिंहले जेठ र असारमा विभिन्न गीत र संगीतको रचना गरेका थिए । प्रजा जति सबै खेती गर्न जाने भएकाले जेठ र असारमा दरबारमा राजालाई दिन कटाउन समेत मुस्किल हुने गथ्र्यो । त्यसबेला उनले गीत रचना गरेको उनीहरूको तर्क छ । 
सिद्धिनरसिंहले नयाँ राग रच्न पाटन दरबारको सिद्धिनरसिंह चोकअगाडि आफ्नो गद्दीमा कलाकारलाई डाके । करिब एक महिनाको समयमा राजाले ३२ राग सिर्जना गरे । आफूले असारमा ३२ वटा राग रचेकाले राजा सिद्धिनरसिंह मल्लले असारलाई संगीत दिवसको  महिना भनेर नेपाल सम्वत् ७४० मा सुरु गरेका थिए।
http://www.nagariknews.com/news/23672/

Sunday, July 2, 2017

चीन जाने बाटो

सौरभ


‘नेवाः राज्य सभ्यताको हाराकिरी’मा एउटा यस्तो वाक्य परेको थियो, लसुनको विशद बयान एउटै पुस्तकमा थियो र त्यो पुस्तकको एउटामात्र पृथ्वीमा जीवितप्रति नेवारहरूसँग थियो, काश्यप संहिता। जसले मह काढ्यो, उसले हात चाट्यो।
लिम्बूहरूले लसुन चीनबाट आएको मानेका छन्, विज्ञानले त मानेकै छ। चीनको लसुनसँग नेवारहरूको गहिरो सम्बन्ध छ।
अदुवा त्यस्तै सम्बन्ध रहेको अर्को खाद्य पदार्थ हो। लिम्बूहरूले अदुवालाई पनि चीनबाट आएको मानेका छन् (उनीहरूका देवता थुङ्थाङ्वा त्यसमा विराजमान भएर आए), विज्ञानले मानेको त छँदै छ। अदुवाको सम्भवतः हाम्रो प्राचीन उल्लेख अन्दाजी सन् ९४३ को बाजपरीक्षा (पोखरेल) को हो।
तोरी नेवार, तामाङहरूमा मात्र नभएर ब्राह्मण, क्षत्रीहरूबीच पनि अत्यन्त प्रिय र कहिलेकाहीँ अनिवार्य साग हो। पवित्र मानिने भएकाले पनि नेवार र अरूहरूका पूजामा समेत प्रयोग हुन्छ। हजारौँहजार वर्षदेखि खाइँदै छ होला।
यद्यपि सम्भवतः पुरानो उल्लेख सन् १६७३ को हो। चीन नै यसको मूल मानिएको छ।
सस्र्यूँ खान, कथित भूतप्रेत पन्छाउन आदि–आदि अनेक कुरामा प्रयोग हुन्छ। चीनकै मानिएको छ। सम्भवतः पुरानो उल्लेख सन् १३०० को हो।
रायोको त नामै चाइनिज मस्टार्ड। यद्यपि चिनियाँ पे–त्साई केही फरक हुन्छ, यसबाट। नेवारी नाम पाछै भने पे–त्साईबाटै बनेको हो। आज सबै कुरा बिर्सिसकिएको छ तर पाछैको मात्रै खेती विशेष गर्ने महर्जनहरूको भित्री थर नै पाछै हुन्थ्यो, कुनै बेला।
भटमासको उत्पत्ति थलो मन्चुरिया। चीनकै भाग हो, मन्चुरिया। सेतो, खैरो र कालो रङको रङअनुसारको विशेष प्रयोग र प्रयोजन नेवार समाजमा विस्तृत छ। अति प्राचीन समयदेखिको प्रयोग नभई त्यस्ता मिहीन मान्यताहरू स्थापित हुँदैनन्। माथिका ६ वटा उदाहरणपछि दुइटा विचित्रताको अब उल्लेख गर्नुछः
जब मकै आयो, जगज्योति मल्लका बेला, त्यसको लगत्तैजस्तो मकैका बीच–बीचमा भटमास रोपिदिने तरिका अपनाए, नेवारहरूले। कोसे बिरुवाले बिरुवालाई अत्यावश्यक नाइट्रोजन उत्पादन प्रक्रियामा सघाउँछ, त विज्ञानले धेरैपछि भन्यो बरु।
जब लसुन हात प¥यो तिनको, तिनले जुन बिरुवामा लाही (एफिड स्पेसिज) त्यसको छेउमा लसुन लगाइदिने तरिका अपनाए। लसुन जैविक किटनाशक हो भनेर त विज्ञानले धेरैपछि भन्यो बरु।
अनि तोरीको तेलमा लसुन र भटमास साँध्ने एउटा संयोजनको यसरी विकास गरे तिनले, अहिले त्यो नै उनीहरूको खाद्य परम्पराको विशेष परिचय बनेको छ।
तोरीको तेल शिरमा, सस्र्यूँको तेल शरीरमा लगाउनुपर्छ भन्ने मान्यताको स्थापक पनि तिनै भएका छन्। प्राप्त वस्तुको अधिकतम् प्रयोग, अधिकतम् ज्ञानको उपलब्धता एउटा चरित्र बनेको छ। साधनको स्रोत भने चीन नै हो।
मूला, खाना खाइसकेपछिको सिसाबुसा (सलाद÷फलफूल) का रूपमा नेवारहरू प्रयोग गर्छन्। यसले पाचनशक्तिलाई बलियो बनाउँछ भन्ने उनीहरूको विश्वास छ। मूलाको बीउको एउटा विशेष पाचक नै प्रचलित छ, उनीहरूबीच। चीनकै मानिन्छ, मूला पनि।
नेवारहरूले प्रयोग गर्ने मूला भने प्रायः रातो रङको हुन्छ। उपत्यकामा कुनै बेला लगाइने एकमात्र जातिको मूला रातै हुन्थ्यो भनिदिँदा हुन्छ। ब्राह्मणहरूले भने प्युठाने भनिने सेतोमात्र खान्थे, रातो मूला खानु र गाई खानु बराबर ठानिने भएकाले। गाजर यसै भएर उनीहरूबीच उति लोकप्रिय नभएको हो।
नेवारहरूमा रातो मूला कतिसम्म प्रियः रह्यो भने जयस्थिति मल्लले बाँडा (शाक्य, तुलाधर) आदिलाई मूला र अदुवा खेती गर्नुपर्ने जिम्मेवारी सुम्पिए। सम्भवतः नेपाली मूलाको सर्वप्राचीन उल्लेख ११ औँ शताब्दीको ‘राजनिघण्टु’को हो। काँव्रmो सिसाबुसामा पर्ने अर्को अनिवार्य फलफूल हो। चीनकै मानिएको यसको सम्भवतः प्राचीन उल्लेख सन् १३८१ को जसदास वैद्य लिखित ‘पुत्रपौत्रादीबोधिनी’को हो।
खर्बुजा थर नै हुन्छ, भक्तपुरमा। यसैबाट थाहा हुन्छ, कति लोकप्रिय थियो होला यो ? संस्कृतमा यसको नाम नै चिनियाँ कर्कटी, विज्ञानमा सिट्रलस भल्गारिस भए पनि। सन् १६०४ मा भक्तपुरमा देखिएको उल्लेख पाइए पनि मध्य–एसियाबाट चीन हुँदै नेपाल आइपुगेको हुनुपर्छ भन्ने लाग्छ। मध्य–एसियामा पर्ने सिन्कियाङ प्रान्त चीनकै हो।
आरु खास मङ्गोलियाको हो। हिजोको मङ्गोलिया चीनभित्रै थियो, रुस र जापानले चीनबाट टुœयाइदिनुअघि, अमेरिकाले कोलम्बियाबाट पनामा टुœयाइदिएजस्तै। सम्भवतः १५ औँ शताब्दीभन्दा धेरै–धेरै नै अघि आइसकेको थियो, आरुको बियाँको गुदी घ्यूमा भुटेर गणेशलाई नचढाई पूजा नै सम्पन्न नहुने नेवार चलनबाटै थाहा हुन्छ यो।
भोगटेलाई कसैले मलेसियायी मूलको र कसैले पोलेनेसियन मूलको माने पनि नेपालमा भने चीनबाट आएको परम्परागत धारणा छ। भोट शब्दबाटै बिग्रेर भोगटे हुनपुगेको मान्यता छ। नेवारहरूको म्ह (आत्म) पूजामा भोगटे नभई हुँदैन, तराईको सलहेश गाथाको प्रसङ्गबाट सातौँ शताब्दीभन्दा अघि नै भोगटे आइसकेको थियो भन्ने अनुमान गर्न सकिन्छ।
लप्सी, भोजभतेर भइसकेपछि पाचक पदार्थका रूपमा दिइने अमिलो झोल (पाउँ) को स्रोत हो। लप्सीको इलाका नेपालदेखि सिक्किम दक्षिण चीनको युनान हुँदै जापानसम्म पर्छ तर वनस्पतिविज्ञहरू स्वतः उम्रिएको नपाइने, रोपेको मात्र पाइने भएकाले आयातित नै ठान्छन्। लप्सीका बियाँ घुमाएर खेलिने नेवारहरूको अहिले लोप भइसकेको खेल, च्याम्पटी (अमेरिकी ब्याब्लेटजस्तै) बाट पनि थाहा हुन्छ, त्योसँग उनीहरूको परिचय पुरानो हो।
भिलायस्वाँ नेवारीमा भृङ्गराज हो तर यो संस्कृतज्ञहरूले प्रयोग गर्ने वा भन्ने अनेकौँ कुनै भृङ्गराज होइन। यो चिनियाँ मूलको पहेँलो वेड्डेलिया क्यालुन्डेलासिया हो।
ज्ञान्तका नेवारीमा अरू कुनै ज्ञानी थकुँ पुष्प होइनन्। बरु चिनियाँ मूलको क्यालिस्टेफस चाइनेन्सिस हो। सम्भवतः पुरानो उल्लेख सन् १५७५ को हो।
चिकंढाल स्वाँ भन्दाखेरी चाँगे (सेलोसिया अर्जेन्टिया) हुनुपर्ने हो, हाम्रा निम्ति तर पुराना नेवारहरूका निम्ति यो हेमेरोक्यालिस फल्भा हो चिनियाँ मूलको, जो कुखुरा बली दिने बेला नभइहुँदैन।
चियाका कुरा नगरौँ, भक्तपुरमा फोसी भनिने हिबिस्कस म्युटाबिलिसका कुरा नगरौँ, डबल जाई भनिने ज्यास्मिनम मेस्निका कुरा नगरौँ, अनगिन्ती छन्। निक्र्यौल के मात्रै भने उनीहरूका प्राचीनतम् मसला चीनकै छ। आदिकालिन आयातित फलफूल चीनकै छन् र आयातित आलङ्कारिक चीनकै छन्, जो अब अनिवार्य जस्तै भए।
उतातिर भने भारतीय मूलको भन्नुपर्ने तीनवटा कुरा मात्र छन् ः मास, गहत र चना। यसमध्ये मासमात्र अति पुरानो हो। यसर्थ जनजीवन, कृषि उत्पादन, जीविकाको प्राचीन झुकाव उत्तरतिरै छ, उपत्यकावासीको मात्र होइन, अन्यत्रको पनि।
अर्को पाटो
वनमालाहरू चीनबाट आएका हुनाले सुँगुर खान्छन्, हामी नआएकाले खाँदैनौँ– एक मालाकारले भने, यसैले हामी एउटै होइनौँ। हाम्रो बीच विवाह हुँदैन।
वनमालाहरू भक्तपुर नवदुर्गा मन्दिरवरिपरि र ताथलीमा बस्छन्। मालाकारहरू यत्रतत्र छन्। वनमालाहरू जङ्गलका फूल बटुलेर बेच्ने र मालाकारहरू फूल खेती गरेर अन्नसँग साट्ने फरक प्रकृतिका हुन्। मालाकारहरू खासगरी भारतको बङ्गालमा प्रशस्त र धेरै नै स्थापित छन् पनि। बँदेल खान हुने तर सुँगुर खान नहुने मान्यता स्थापना गरेको आपस्तम्ब धर्मसूत्र र गौतम स्मृतिले हो। दुवै भारतीयहरूले लेखेका हुन्।
खर्पनमा बोकेर खेतमा मानव मल हालिन्छ, चीनमा। चीनमा मात्र होइन, चीनबाट जापानमा पनि पुगेको छ यो।
२०३० सालसम्म पनि, जब चव्रmपथ बनेको तीन वर्षमात्र भएर घरहरूले भरिँदै जान थाल्यो, मानव मल खेत, बारीमा हालेको प्रशस्तै देख्न सकिन्थ्यो, काठमाडौँ उपत्यकामा। त्यति बेला एक ढ्वाङको मात्र ७५ पैसा तिर्नुपथ्र्यो, एक किसानले। दुई ढ्वाङ हाल्न लगाउँदा देउलालाई साढे एक रुपैयाँ मात्र।
उमेर बढी भएकीलाई पत्नी बनाउँथ्यो, कृषक पुत्रले। त्यस्तो व्यवस्था गरिदिन्थे, चीनमा बाबुआमाले। ज्याला दिनुनपर्ने कृषि मजदुरको व्यवस्था थियो त्यो, त्यहाँको १९४९ को व्रmान्ति हुनुअघि। माओ त्से तुङकी पहिलो पत्नी पनि उनीभन्दा धेरै जेठी भएकीले उनले छोडेका थिए।
काठमाडौँ उपत्यकामा पनि त्यही देखिन्थ्यो। अझ काँठका ब्राह्मण क्षत्रीहरूमा समेत यो चलन थियो। मुखले नभने पनि जेठी कमाउनका निम्ति, कान्छी सन्तान जन्माउनका निम्ति थियो, व्यवहारमा।
लिपिको रूपमा चित्र बनाउने अभ्यास गरेकाले जापानी पनि प्रकृतिको मात्र होइन, ठूलठूला इन्जिन देख्नासाथ नक्कल गर्न सक्दछन्, एक नेपालीले लेखे (पेज ९८, बर्मा)। चिनियाँ लिपि पनि त्यस्तै चित्र लिपि नै हो, यही पछि जापानी र कोरियायी लिपिमा रूपान्तरण हुँदै गएको हो। नेवारहरूमा पनि ठ्याक्कै त्यस्तै देखिन्छ, जब ती रञ्जना, भूँजिमोल आदि चित्रात्मक देवनागरी लिपिमा थिए, तिनका परिकल्पना ठूलठूला मन्दिर, बाटो, पुल, गुठी परिसर, खेती फाँटमा रूपान्तरण भएको देखिन्छ र सरलीकृत देवनागिरीमा लागेपछि स्थुल वस्तुमाथिको न्यून कल्पनाशीलता।
त्यसो भए सम्भोटा लिपि प्रयोग गर्ने तामाङहरू र श्रीजङ्गा लिपि प्रयोग गर्ने लिम्बूहरूमा मौलिक कल्पनाशीलता किन चर्को नभएको भन्ने प्रश्न आउन सक्छ। कल्पनाशीलता पनि अभ्यास हो, त्यसका निम्ति लिपि आजको जस्तो आम पहुँचमा थियो र ?
जस्तो बाक्लो र जे तत्वको बन्छ, त्यसलाई कोरियामा भन्छन्, बाकली। र यहाँ त्यसको ठेट अनुवाद हुन्छ, जाँड। कोरियामा धेरै कुरा चीनबाटै विस्तार भएका छन्। चामललाई भनिने नेवारी शब्द जाकीबाट जाँड बन्न पुगेको त हो तर बाकलीकै रूपान्तरण पनि त्यसै भएन होला। अन्यथा अरू पदार्थबाट बन्ने आइराक वा जापानी साकी त्यति बाक्ला हुँदैनन्। कोदो चुहाएर बनाइने पूर्वी पहाडको सरुवा त झनै हुँदैन नै।
काँस बन्छ, तामा र जस्ता मिसाएपछि। यसैबाट बन्दछ, धातुको ऐना, धेरै वर्षसम्म घोटेर बनाइने ऐना प्राचीन युगको। यही ऐना लिएर जानुपर्दछ, जापानी सम्राट राज्याभिषेक भएपछि सूर्य मन्दिरमा भनेर अघिल्लै एक लेखमा लेखिसकियो।
कालोङ भन्छन्, यो ऐनालाई तिब्बतमा। यही ऐना आज नेवार निर्मित मन्दिरहरूमा उभिएको छ, ज्वाला न्हायँक (सूर्य ऐना) भएर भनेर पनि लेखिसकियो। विवाहमा पनि चाहिन्छ यो, ले सोझै भन्छ जापानी सम्राटको जस्तै पर्वको अनिवार्य तत्व हो यो।
भुटीमाली भन्छन् नेवारहरू चङ्गालाई, भोटको बाटो हुँदै नेपाल आएकाले। मालीको अर्थ पङ्तिकारलाई अहिले यकिन भएन। चङ्गा शब्द हिन्दी हो, अर्थ हो, हल्का। लट्टाई शब्द पनि हिन्दीकै लट्टुबाट बनेको हो, अर्थ हो घुम्नु।
भुटीमाली यसैले अत्यन्त सटिक नेपाली भनिदिए हुन्छ नेवारी भन्नुका सट्टा। चीनमा उनीहरूको पात्रोको नवौँ महिनाको नवौँ दिन भुटीमाली उडाउँछन् चिहानस्थलमा, सन्देश पु¥याइदेओस् त्यसले स्वर्गमा बसेको पूर्वजलाई भनेर। यसैले हामीले पनि नवौँ शताब्दीमा बुढानीलकण्ठ बनेपछि त्यहीँबाट खास दिन अर्थात् कार्तिक कृष्ण द्वादशीको दिन चङ्गा उडाउन थाल्यौँ, बुढानीलकण्ठ लोक अर्थात् विष्णुलोकमा रहेका पूर्वजलाई सन्देश पु¥याइदओस्, भुटीमालीले भनेर।
तर कालान्तरमा उडाउनुको अर्थ अनर्थमा बदलियो, दशैँपूर्व पाकिसकेका धान थप पानी पारेर नबिगारिदेऊ भनी इन्द्रलाई सन्देश पु¥याउने तरिका भन्दै (हेरेहुन्छ, मेजोकोज्म – रबर्ट लेभी)।
पुछारमा
औल, बाघ, हात्ती, सर्प, बिच्छीजस्ता भयानक बनैया जीवजन्तु; धाप, गर्मी, खानबस्न नपाइने विस्तृत आदि पाँच कारणले कम्तीमा इसाको पहिलो शताब्दीसम्म उपत्यका चीनतर्फ जुन निरन्तर लाग्यो, त्यो प्रा–चीन, अर्वा–चीन,
महा–चीन युग थियो र हो। जसको यावत् छाप आज पनि नेवारहरूमा टड्कारो छ।
(सौरभ लिखित तेस्रो पुस्तक ‘असङ्गती’ अर्को हप्ता सार्वजनिक हुँदैछ। प्रस्तुत सामग्री सोही पुस्तकबाट लिइएको हो।)
प्रकाशित मिति: शनिबार, असार ३, २०७४
http://setopati.com/social/49610

Rice planting, singing and mudslinging

http://www.bbc.co.uk/programmes/p057ctm7

This week Nepalis have been celebrating Ropain, the rice planting festival. Rice is a staple food, and when monsoon starts everyone has to pitch in, even young professionals. BBC Nepali's Matina Twanabasu has been juggling her reporting shifts with working in the family's Bhaktapur paddy fields.

Release date: 30 June 2017