Tuesday, November 28, 2023

हनुमानढोकामा तैनाथ पृथ्वीनारायणका सेना

 दामोदर न्यौपाने

काठमाडौं–संस्कृतिको अभिन्न अंग शार्दूल–फौजलाई नेपाल एकीकरण र नेपाल–अंग्रेज युद्धमा परिचालन गरिएको थियो । काठमाडौं विजयपश्चात् त्यही फौजलाई हनुमानढोका ल्याइयो ।

काठमाडौं उपत्यकाका मुख्य जात्राहरूमा कालो पोसाकमा सजिएका झाँकी देखिन्छन् । ती अघिअघि बाजा बजाउँदै हिँडेका हुन्छन् र पछाडि भरुवा बन्दुक बोकेर मार्चपास गरिरहेका । यो झाँकी नेपाली सेनाको हो । यही सेनाले बढाइँ गरेपछि जात्रा सुरु हुन्छ यहाँ । जात्रा अन्त्य पनि यही सेनाले बढाइँ गरेपछि मात्रै हुन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा काठमाडौं विजय गरेदेखि सुरु भएको यो परम्परा अझै जारी छ । इन्द्रजात्राका बेला विसं १८२५ असोज १३ मा काठमाडौं विजय गरेको थियो गोर्खाली फौजले । लिच्छविकालमा कोलिग्राम भनी चिनिएको माथिल्लो टोल र दक्षिण कोलिग्राम नामले चिनिने तल्लो टोलमा अघिल्लो दिन र भोलिपल्ट कुमारीको रथ तान्ने परम्परा छ । दक्षिण कोलिग्रामको जैसिदेवल, कोहिटी भीमसेनस्थान हुँदै कुमारीको रथ तान्ने तिथि परेको दिन थियो त्यो । रथ तानेर कोहिटी पुर्‍याइएको थियो ।

कुमारीको रथमा कान्तिपुरका राजा जयप्रकाश मल्ल आफैं थिए, जात्राको अवलोकन गरिरहेका । त्यही बेला कान्तिपुर सहरको नरदेवी, भीमसेनस्थान र टुँडिखेल गरी तीनतिरबाट आक्रमण गर्‍यो गोर्खाली सेनाले । कान्तिपुरको किल्ला फोरेर गोर्खाली सेना भित्र पसे । इतिहासकार गौतमबज्र बज्राचार्यका अनुसार, कान्तिपुरका राजा जयप्रकाश भागेर पाटन पुगे । कान्तिपुर विजय गरेपछि पृथ्वीनारायण शाहले रथयात्रा चलाउन दिए । ‘पृथ्वीनारायण शाहले कुमारीको दर्शन गरे,’ बज्राचार्यले ‘हनुमानढोका राजदरबार’ मा लेखेका छन्, ‘नेपालको इतिहासमा गोर्खालीको विजय युगान्तकारी घटना थियो ।’

काठमाडौं विजय गरेकै दिन पृथ्वीनारायण शाहले वसन्तपुर डबलीमा सुनको सिंहासनमा बसेर आफूलाई काठमाडौंको राजा घोषणा गरेका थिए । त्यही बेलादेखि डबलीमा राजप्रतिनिधिको स्वरूप मानेर खड्ग राख्ने परम्परा सुरु भयो । इन्द्रजात्रालाई विजय उत्सवको रूपमा मनाए पृथ्वीनारायणले । पृथ्वीनारायणपछिका राजाले पनि इन्द्रजात्रालाई विजय उत्सवै मान्न थाले । ‘राणाको समयमा पनि प्रधानमन्त्रीदेखि सारा सैनिक कर्मचारी यस जात्रामा सहभागी हुन्थे,’ बज्राचार्य लेख्छन्, ‘उच्च ओहोदाका व्यक्ति हात्ती र घोडामा चढेर नगर परिक्रमा गर्थे । केही दशकअघिसम्म पनि यो प्रथा रहिआएको थियो ।’ राजतन्त्र हुन्जेल कुमारीको रथयात्रा हेर्न राजा, राजपरिवारको सदस्य पनि वसन्तपुर आउँथे । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि यो परम्परामा राष्ट्रपतिले निरन्तराता दिँदै आएका छन् ।

पृथ्वीनारायण शाहले जुन ठाउँमा युद्ध जिते, त्यो ठाउँको स्थानीय संस्कृतिलाई स्वीकार गर्ने रणनीति लिए । त्यहाँका देवीदेवता, धार्मिक र सांस्कृतिक मान्यताको रक्षा गर्ने नीति लिए । सैनिक इतिहासमा विद्यावारिधि गरेका पूर्वजर्नेल प्रेमसिंह बस्न्यातका अनुसार, धार्मिक र सांस्कृतिक मान्यताको रक्षा गर्ने स्वभावले नै पृथ्वीनारायणले जनताको मन जितेका थिए ।

अहिले उपत्यकाको संस्कृतिको अंग बनेको शार्दूल–फौज उतिबेला नेपाल एकीकरणमा परिचालन गरिएको थियो, यो प्रसंग छ– ‘खाँडो’ पुस्तकमा । यही फौजले नेपाल–अंग्रेज युद्ध पनि लडेको थियो । शार्दूलजंग गुल्मको अभिलेखअनुसार, यही शार्दूल फौजलाई काठमाडौं विजयपश्चात् हनुमानढोकामै तैनाथ गरियो । पछि गीर्वाणयुद्धविक्रम शाहले विसं १८५६ मा शार्दूलजंग कम्पनी बनाए । त्यही कम्पनीे पछि शार्दूलजंग गुल्मका रूपमा विकास भयो । गुल्ममा अहिले दुई सय सैनिक कार्यरत छन् । यो गुल्मका सैनिकले सांस्कृतिक झाँकीका लागि बाजागाजा सिकेकै हुनुपर्छ ।

सेनाका अरू पल्टनबाट पनि यहाँ सरुवा भएर आउँछन् । गुल्मपति एक वर्ष मात्रै यहाँ रहने व्यवस्था छ । क्याप्टेन दुई/तीन वर्षसम्म रहन सक्छन् । अधिकृतभन्दा तल्लो तहका भने जति वर्ष पनि बस्न पाउँछन् । गुल्म क्याप्टेन रमेशबहादुर खत्री भन्छन्, ‘यहाँ आउने, जाने त भइराख्छ तर दक्षता हासिल गरेपछि प्रायजसो यहीँ बस्छन् ।’

झाँकी प्रस्तुत गर्न वानदार समूह हुन्छ । समूहले ढोल, तमर, झ्यालीको र बासुरीको धुनमा संगीत गुन्जाउँछ । यो बाजाको पछि भरुवा बन्दुक बोकेका सेनाले मार्चपास गर्छन् । क्याप्टेन खत्रीका अनुसार, वानदार समूहले बजाउने बाजा पनि नेपाल एकीकरणकै क्रममा बजाइएको हो । ‘वानदार दर्जीको अगुवाइमा बजाइएको भएर समूहको नामै वानदार रह्यो,’ खत्रीले भने ।

सांस्कृतिक सेनाले बढाइँ गरेपछि मात्रै काठमाडौंका जात्राहरू सुरु हुन्छन्, अन्त्य पनि उनीहरूको बढाइँपछि नै हुन्छ ।

एउटा जात्रामा ३० देखि ६० जनासम्मको टुकडी सहभागी हुन्छ । ठूला जात्रामा ठूलै संख्यामा र साना जात्रामा सानो संख्यामा सहभागी हुन्छन् । केही जात्रामा अधिकृत पनि सहभागी हुनुपर्छ । इन्द्रजात्रा, रातो मत्स्येन्द्रनाथको जात्रा, फूलपाती गरी तीनवटा जात्रामा गुल्मपतिसहित अधिकृत सहभागी हुन्छन् । गुल्ममा मेजर, क्याप्टेन, जमदार, हुद्दा अमलदार, प्युठ, सिपाही र वानदारजस्ता समूह हुन्छन् । दौरा–सुरुवाल, जामा, पटुका, सेतो छालाको पेटारो, मेडल, खुकुरी, ढाल, तरबार र कालो छालाको एककाने जुत्ता, पहेंलो मोजा र शिरमा चाँदतोडा पहिरिएका हुन्छन् । हरेक दुई वर्षमा जँगी अड्डाले पोसाक व्यवस्था गर्छ ।

अधिकृतले लगाउने पोसाक सेतो रंगको हुन्छ, त्योभन्दा तल्लो दर्जाकाले लगाउने पोसाक कालो । पोसाक उस्तै देखिए पनि चिह्न फरक हुन्छन् । सबैको शिरमा चाँदतोडा हुन्छ । चाँडतोडा भने दर्जाअनुसार फरक हुन्छ । सुनको जलप लगाइएको चाँदी बेरिएको चाँदतोडा हुन्छ अधिकृतले लगाउनेमा । अगाडि सुनको जलप लगाइएको सिंह हुन्छ । शार्दूलको अर्थ हुन्छ– सिंह । चाँदतोडामा यही सिंह हुन्छ । ‘सेनाको यस्तो पोसाक यही गुल्ममा मात्र छ,’ गुल्मपति पूर्ण प्रजापतिले भने, ‘यो गुल्मले नै नेपालको सांस्कृतिक विरासत धानेको छ ।’

विसं १६१६ मा स्थापना भएको थियो नेपाली सेना । लमजुङे राजा यशोब्रह्मका छोरा द्रव्य शाहले लिगलिगकोट विजय गरेपछि यो सेना गठन भएको हो । लेखक बस्न्यातका अनुसार, सेनाको पहिलो सेनाधिपति द्रव्य शाह नै हुन् । द्रव्यले आफ्नो राज्यमा सेना खडा गरेपछि भगीरथ पन्तलाई पहिलो सेनापति बनाएका थिए । सेनाको गठन भएदेखि नै संस्कृति संरक्षणलाई उसले प्राथमिकता दिंदै आएको छ । प्रजापति भन्छन्, ‘शार्दूलजंग गुल्म अरू युनिटभन्दा बिलकुलै फरक हो । यो सांस्कृतिक पल्टन हो ।’

काठमाडौंको इन्द्रजात्रा, सेतो मत्स्येन्द्रनाथ, पचली भैरव, कँडेल भगवतीको फूलपाती भित्र्याउने जात्रा, देगु तलेजु महाराज प्रचार पूजा, गंगामाई जात्रा, ललितपुरको रातो मत्स्येन्द्रनाथ लगायत ३० मुख्य जात्राको अंग हो यो सेना । ‘सेनाको वार्षिक क्यालेन्डरमै समेटिएका हुन्छन् यी जात्रा पर्व,’ प्रजापतिले भने, ‘यो क्यालेन्डर अनुसार जात्रा सञ्चालन गर्न सेना तयार भएर बसेको हुन्छ ।’ सेनाको यो क्यालेन्डर हेडक्वाटरबाटै स्वीकृति भएर आउँछ । जात्रा पर्वमा सहभागी हुने मात्रै होइन, त्यसअघिका तयारीका चरणमा पनि सहभागी हुन्छन् । सबै जात्रा तिथिअनुसार हुन्छ । ‘जात्राको मिति आइसक्दा पनि व्यवस्थापकबाट चिठी आएन भने सेनाले चासो लिन्छ । के भएको छ भनेर सोध्छ । झकझकाउने काम समेत गर्छ,’ क्याप्टेन खत्रीले भने ।

जात्रामा सहभागी हुने भएकाले यो सेना स्थानीयवासीसँग पनि जोडिएको हुन्छ । सेनालाई स्थानीयवासीसँग भावनात्मक रूपमा जोडेको झोंछेका गणपतिलाल श्रेष्ठ बताउँछन् । ‘सेना सहभागी भएर हाम्रा जात्रा पर्वलाई राष्ट्रिय मान्यता दिएको छ,’ श्रेष्ठ भन्छन्, ‘सेनाको झाँकी र मार्चपासले हाम्रो जात्रामा थप रौनक थपिदिएको हुन्छ ।’ जात्रा पर्व मात्र नभएर वसन्तपुर वरपर दैवी विपत्ति पर्दासमेत यो सेना खटिने गरेको छ । ‘आगलागी, भुइँचालोजस्ता विपत्तिमा यो सेनाको सहयोग अविस्मरणीय छ,’ श्रेष्ठ भन्छन् । यो सेनाले सांस्कृतिक गतिविधिबाहेक हनुमानढोका दरबारको संरक्षण, संग्रहालयको हेरचाह, मल्लकालीन राष्ट्रिय ढुकुटीको संरक्षणको जिम्मेवारी पनि पाएको छ ।

काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न जात्रा नेवारी संस्कृतिसँग जोडिएका छन् । अन्य जातिको भन्दा नेवारै गुल्म प्रमुख भए संस्कृति बुझ्न सजिलो हुन्थ्यो भनेर काठमाडौं महानगरपालकाका तत्कालीन उपप्रमुख हरिप्रभाव खड्गीले प्रधानसेनापतिसँग आग्रह गरिन् । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक नेवार समुदायबाट श्रवण प्रजापतिलाई पठाए । उनीपछि विकास शाक्य, असीम श्रेष्ठ, शिव भँडेल गुल्मपति भए । ‘गैरनेवार गुल्मपति हुँदा यहाँको संस्कृति बुझ्नै समय लाग्थ्यो,’ गणपति भन्छन्, ‘नेवारै आएपछि संस्कृति बुझाइराख्नुपरेन ।’

नेवार गुल्मपति भएपछि यहाँ केही परिवर्तन पनि भए । पहिला वानदार समूहले मात्रै झाँकी प्रस्तुत गर्थ्यो । विकास शाक्य गुल्मपति हुँदा उनले नेवार समुदायमा प्रचलित परम्परागत धिमेबाजाको प्रशिक्षण दिने व्यवस्था गरे । दुई–तीन वर्षअघिदेखि सेनाले धिमेबाजा पनि बजाउँछ । धिमेबाजा समूह नै छ सेनाभित्र । यो टुकडीका लागि कालो भादगाउँले टोपी, कालो दौरासुरुवाल, सेतो पटुका, क्यानभास जुत्ता र पहेलो मोजा तोकिएको छ । यो वर्षदेखि नेवारी समुदायमा ऋतुअनुसार बजाइने धुन पनि सिकाउन सुरु भएको छ । ऋतुअनुसार, महिनाअनुसार, समयअनुसार बजाइने बेग्ला–बेग्लै धुन हुन्छन् । दसैंमा मालश्री, फागुनमा होली, पाहाचह्रेमा घाटु, असारमा सिनाज्याः, साउनमा गुँला, भदौमा यँला र हरेक बिहान व्याँचुली धुन !

मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको राजधानी नै हो– वसन्तपुर । लिच्छविकालीन काष्ठमण्डपदेखि शाहकालीन दरबारसमेत छन् यहाँ । त्रैलोक्यमोहन, कविन्द्रपुर, भगवती, ठूलो घण्टा, प्रस्तरको विष्णुमूर्ति, शिवपार्वती, जगन्नाथ, इन्द्रपुर, प्रतापध्वज, तलेजु, देगुतलेजु, महाविष्णु, महेन्द्रश्वर, आगमछेंजस्ता प्राचीन मठ मन्दिर छन् । दरबारभित्र इतिहास झल्काउने नासलचोक, मोहनचोक, सुन्दरचोक, वसन्तपुर चोक, दाखचोक, लामचोक, त्रिशूलचोक, न्हुच्छेचोक जस्ता अनेक चोक छन् ।

दुमाजु जात्रा, नुवाकोट भगवती जात्रा, कुमारको खट जात्रा, कुमारी रथयात्रा, गाईजात्रा, चागुनारायणको जात्रा, इन्द्रध्वजोत्सव, इन्द्रजात्रा, पचलीभैरव जात्रा, गुहेश्वरीको जात्रा, वसन्तश्रवण, फागूलगायत अनेकन सांस्कृतिक क्रियाकलाप हुन्छन् यी क्षेत्रमा । यस्तो ऐतिहासिक र सांस्कृतिक वैभव भएको ठाउँमा सरुवा भएर आउने सैनिकले पनि फरक अनुभूति गर्छन् । ‘महसुस गर्न सके यी सम्पदाबाट धेरै ज्ञान लिन सकिन्छ,’ खत्री भन्छन्, ‘महत्त्वपूर्ण सांस्कृतिक वैभव जोगाउने सैनिक हुँ भन्दा गर्व लाग्छ ।’

https://ekantipur.com/koseli/2023/08/05/169120337838899604.html

पाटनका साहुको ल्हासा–कनेक्सन

 हिमेश

काठमाडौंका नेवारले सातौं शताब्दीदेखि नै तिब्बत पुगेर व्यापार थालेका थिए, सिंहसार्थ बाहु र सुरतवज्र त मिथ नै बनेका छन् । पाटनका नेवार ल्हासा–व्यापारीका कथा भने विरलै सुनिन्छ । तर, तिनका सन्ततिलाई सोधे थाहा पाइन्छ– उनीहरूको ल्हासा–कनेक्सन पनि उत्तिकै रोमाञ्चक थियो ।

सिंहसार्थ बाहु– यी हुन् नेपाली दन्त्यकथाका एक नायक । भनिन्छ, उनै थिए पहिलो नेवार व्यापारी, जसले तिब्बत गएर व्यापार सुरु गरे, धेरै–धेरै वर्षअघि । हजारौं वर्षअघि, जतिबेला उनी केही साथीहरूसँग तिब्बत छाडेर काठमाडौं फर्किरहेका थिए, बाटोमा कहीं कतै पुगेर एक हूल सुन्दर महिलाको समूहमा बरालिए । आफू व्यापारी भएको पनि बिर्से । मोजमस्तीमै रमाए । असलमा त्यो थियो दैत्यको समूह । तर, बोधिसत्वले एक दिन उनलाई सम्झाए, ‘तिमी त व्यापारका लागि आएका थियौ । त्यसैले भाग । नत्र मर्नेछौ ।’ अनि भनिएको थियो– ‘भाग्ने बेला पछाडि नफर्क, घोडामा भाग्ने क्रममा जो–जो पछाडि फर्के, तिनीहरू कहिल्यै घर फर्किन सकेनन् ।’ खालि एकै जना मात्रै बाँचे, ती थिए– उनै सिंहसार्थ बाहु । उनै थिए एक्लो, जसले पछाडि फर्केर हेरेनन् ।

अब अर्को कथा, असनको तक्षे बहाः का सुरतवज्रको । उनी पनि तन्त्रमन्त्रका ठूला साधक थिए, व्यापारकै क्रममा तिब्बत पुगेका । तर, घर फर्किन पाइरहेका थिएनन् । एक दिन उनले साधनाकै क्रममा के देखे भने काठमाडौंको उनको घरमा आगो लागेको रहेछ । ठीक त्यही बेला उनी तिब्बतको कसैको घरमा पाहुना बनेर चिया खाइरहेका थिए । तन्त्रसाधनाकै बलले उनले आफूले पिएको चिया फुके । उनको क्रियाकलाप हेरिरहेका सबैले अचम्म माने । तर, ठीक त्यही बेला काठमाडौंमा एकाएक अचम्मसँग घनघोर पानी पर्‍यो । उनको घरमा थप क्षति पुगेन, आगो निभ्यो । पछि सुरतवज्रले आफूले के गरेको हुँ भन्ने सबैलाई सुनाए । सबै फेरि एकपल्ट साह्रै अचम्ममा परे । यी त भए साँच्चै हजारौं वर्ष पुरानो कथा । यसलाई कथा भनौं कि काठमाडौंका नेवारमा अझै विद्यमान रहेको विश्वास ?

सातौं शताब्दीदेखि नै काठमाडौंका नेवारले तिब्बतमा गएर व्यापार सुरु गरेको मानिन्छ । नेपाली राजकुमारी भृकुटी तिब्बत गएयता यो क्रम सुरु भएको पनि विश्वास छ । यो त साँच्चै धेरै अघिदेखिको कुरा भयो । सिंहसार्थ बाहु र सुरतवज्रका जस्ता अरू पनि धेरै कथा छन् । हजारौं वर्षको अन्तरमा यस्ता कथा त बन्ने नै भए । विशेषतः काठमाडौं र ललितपुरका नेवार ल्हासा–व्यापारीका अहिलेका सन्तानलाई सोध्नुपर्छ, यस्ता अनेकन् चाखलाख्दा कथा धेरै सुन्न पाइन्छ ।

यी कथाहरू रोमाञ्चक छन्, विश्वासै गर्न नसकिने खालका छन् । कत्ति कथामा दुःख र वियोग पनि छन् । सन् साठीको दशकमा तिब्बतसँगको त्यो व्यापारको क्रम सधैंका लागि रोकिएको थियो, जतिबेला चीन र भारतबीच युद्ध भएको थियो । त्यो यस्तो मोड थियो, जहाँबाट ल्हासा गएर व्यापार गर्ने चलनको अन्त्य भयो ।

...

ल्हासा–व्यापारीकै एक सन्तान हुन्, महेन्द्र शाक्य । उनीसँग पनि अहिलेसम्म धेरै कमैले मात्रै सुनेको कथा छ । त्यो पनि सत्य–कथा । यसमा अलौकिक घटना कम छन् । छैनन् नै भन्दा हुन्छ, तर यो कथाले त्यस समयको सामाजिक स्थिति भने ठ्याक्कै बयान गर्छ । यो सामाजिक स्थितिभित्र उल्लेख गर्नैपर्ने आर्थिक पक्ष पनि छ । यी महेन्द्र शाक्य अहिले पनि व्यापारी हुन् । पाटन दरबार स्क्वायरछेउमै उनको होटल छ– हिरण्य लाय्कु ।

उनको ठूलो छोरालाई त धेरैले चिनेको हुनुपर्छ । उनी हुन्, नायक कर्म शाक्य । उनका भाइ कुन्दुन शाक्य पनि अचेल नाटक खेल्छन् । यी दाजु–भाइको नामको समानताले थेरैथोक भन्छ । कर्म अर्थात् बौद्ध धर्मको प्रमुख सिद्धान्तमध्ये एक । कुन्दुनचाहिँ तिब्बती दलाई लामाको एउटा नाम, यो नामको सार हो– धेरै बुझेको, जानेको । त्यसै पनि यो शाक्य परिवार पारम्परिक रूपमै बौद्धमार्गी हो । तर, उनीहरूको नाम कुनै न कुनै रूपमा तिब्बतसँग जोडिन्छ नै । काठमाडौं र ललितपुरतिर त्यस्ता नेवार परिवार धेरै छन्, जसमा धेरै तिब्बती प्रभाव अझै कायम छ । यो प्रभावलाई धेरैले अझै पनि गर्वका रूपमा लिन्छन् र त्यसलाई परम्पराकै रूपमा अगाडि बढाइरहेका छन् । अब पालो, यी महेन्द्र शाक्यले सुनाएको साँचो कथाको । उनका बुबाको नाम हो, तेजमान शाक्य । उनै तेजमान हुन्, लगभग अन्तिम पुस्ताका नेवार ल्हासा–व्यापारी ।


तेजमानपछि नै यो व्यापारको क्रममा पूर्णविराम लाग्यो भन्दा हुन्छ । इतिहासको एउटा क्रम उनीपछि टुट्छ । तेजमानको जन्म सन् १९१७ मा भएको थियो । पाटन हलको छेउमै पर्छ, न्याखा चोकको उनको जन्मथलो । उनको समयका शाक्यहरूको पुर्ख्यौली काम भनेको सुन र चाँदीको गहना बनाउनु नै थियो । केहीले मूर्ति पनि बनाउने गर्थे । धेरैको हातमा केही न केही सीप थियो । तर, तेजमानलाई यी सबैमा कुनै रुचि थिएन । न त उनीसँग कुनै सीप नै थियो । न्याखा चोककै केही धाख्वाहरू पनि ल्हासा व्यापारी थिए ।

यहाँनेर ठ्याक्कै एउटा तथ्य के बुझ्नु आवश्यक छ भने अधिकांश नेवार ल्हासा–व्यापारी काठमाडौंका हुन्, त्यो पनि उराय समाजका । त्यसपछि त्यो लाममा वज्राचार्य र शाक्यहरू पनि आउँछन् । यसबारे धेरै पढ्न–सुन्न पाइन्छ । तर, पाटनतिरका नेवार ल्हासा–व्यापारीबारे कम पढ्न पाइन्छ, कम सुन्न पाइन्छ । अनि कमै लेखिएको छ ती बारे । तेजमानका बुबा जोगमान शाक्य पनि व्यापारी नै थिए । उनको पनि कुतीमै पसल थियो । त्यो थियो खानेकुरा पाइने पसल । तर, जोगमान तिब्बत भने कहिल्यै पुगेनन् । त्यसैले उनी ठ्याक्कै ल्हासा–व्यापारी भएनन् । उनका छोरा तेजमानचाहिँ तिब्बत पुगे, त्यो पनि १३ वर्षकै उमेरमा । केही धाख्वा साहुले टोल–छिमेकमा उसै बरालिइरहेका एक किशोरलाई आफूसँगै तिब्बत पुर्‍याएका थिए । घरबाट कुनै रोकतोक भएन । उनको समयमा काठमाडौंबाट तिब्बत पुग्नै दुई महिनाभन्दा बढी समय लाग्थ्यो । यात्रा निकै कष्टकर र डरलाग्दो हुन्थ्यो । अझ त्यसलाई एक साहसिक यात्रा भने पनि हुन्छ ।

त्यो यात्रा सुरु हुन्थ्यो साँखुको पुरानो बाटो भएर । केहीले बनेपाको बाटो पनि समाउँथे । तेजमान पनि भयानक दुःख–कष्ट सहेर तिब्बत पुगे । सुरुमा तिनै धाख्वा साहुको पसलमा काम गरे । उनी सुन्दर, गोरा र अग्ला थिए । त्यसैले साहु उनको परिचय दिँदा उनैलाई मुख्य साहु भएको बताउँथे । यत्तिको रवाफ थियो उनको । तर, उनी त्यो पसलमा धेरै टिकेनन् । धेरैले उनलाई आफ्नै अलग व्यवसाय सुरु गर्न उक्साए । केहीले सहयोग पनि गरे । उनले ल्हासामा त्यस्तो पसल खोले, जहाँ विलासीका सामान पाइन्थ्यो । त्यो पसलमा महँगा–महँगा कपडा पाइन्थ्यो । अत्तर पनि किन्न पाइन्थ्यो । ती सामान आइपुग्थे– भारतको कोलकाताबाट । व्यापारकै लागि भनेर भारतको कालिङपोङमा तेजमानले सुरुमा एउटा घर बहालमा लिएका थिए । पछि घर पनि किने । अधिकांश नेवार ल्हासा–साहुको त्यस समय कोलकातामा आफ्नो अलग्गै कार्यालय त हुन्थ्यो नै, धेरैको कालिङपोङमा घर पनि हुन्थ्यो ।

वास्तवमा तेजमानको पसल सर्वसाधारणका लागि खुलेको पसल थिएन । पसलका सामान निकै महँगा हुन्थे । त्यसका ग्राहक पनि उच्च तिब्बती परिवारकै हुन्थे । तिब्बती माथिल्लो वर्गको खास गन्तव्य बनेको हुन्थ्यो, त्यो पसल । त्यसैले तेजमानको तिब्बती माथिल्लो वर्गका परिवारसँग चिनजान मात्रै बढेन, एउटा सम्बन्ध पनि जोडियो । फेरि दोहोर्‍याएर भनौं, उनी वास्तवमै सुन्दर थिए । उनको प्रेम एक यस्ती तिब्बती महिलासँग भयो, जसको सम्बन्ध वास्तवमै कुलीन परिवारसँग थियो ।

त्यो समय १३ औं दलाई लामाको चलिरहेको थियो, अहिलेका १४ औं हुन् । तिनै पुराना दलाई लामाका एक सहयोगी थिए, जो लगभग प्रधानमन्त्रीसरहकै थिए । तिनै सहयोगीकी सुन्दर छोरी तेजमानको मायामा परिन् । औपचारिक रूपमा त्यो बेला विवाह हुने चलन थिएन । तिनका एक छोरा र एक छोरी भए । महेन्द्रले पनि कहिल्यै ती महिलाको नाम थाहा पाउन सकेनन् । न त तिनलाई देखे नै । खालि ठूलीआमाको रूपमा मात्रै बुझे । जतिबेला तेजमानले तिब्बत छाड्नुपर्ने भयो, ती महिला काठमाडौं आउन मानिनन् र आफ्ना सन्तानलाई पनि नेपाल पठाउन चाहिनन् । उनलाई तिब्बतमै रहनु ठीक लाग्यो, किनभने उनी वास्तवमै कुलीन परिवारकी थिइन् । तेजमान भने घर (काठमाडौं) फर्के । यसरी एउटा प्रेम जोडीको विछोड भयो । नेपाल भाषाको साहित्य र अन्य विवरणमा यस्ता अनेक घटनाका उल्लेख छन्, जहाँ विछोडका थुप्रै कथा छन् ।

एक महिलाले आफू जन्मेको स्थान रोज्न श्रीमान् छाड्नुपरेको घटना पक्कै कारुणिक नै हुनुपर्छ । तेजमान मात्रै होइन, धेरैले सधैंका लागि तिब्बत छाडेर काठमाडौं आउने क्रममा आफ्नी श्रीमतीलाई उतै छाडे । अनि केहीले तिब्बती श्रीमती लिएरै काठमाडौं आए । तिनको काठमाडौंमा पनि अलग्गै श्रीमती हुन्थे । नेपाल भाषाका केही विवरणमा काठमाडौंका ती महिलाको स्थिति कस्तो हुन्थ्यो पनि भनिएको छ । त्यहाँ आफूले वर्षौंदेखि प्रतीक्षा गरिरहेका श्रीमान्ले तिब्बतबाट अर्को कोही श्रीमती ल्याउँदा कस्तो हुँदो हो भन्ने वर्णन पनि गरिएको छ । यी परिस्थिति साँच्चै कारुणिक हुँदो हो, यो सजिलै अनुमान गर्न सकिन्छ । श्रीमान्को सामना गर्न गाह्रो हुने केही श्रीमती भने लाजले सासूकै पछिपछि लुक्थे । जे होस्, तेजमानले तिब्बती श्रीमतीलाई काठमाडौं ल्याउन सकेनन् । बरु घर पुगेपछि फेरि अर्को बिहे गरे । उनको नाम थियो– सानुछोरी ।

बिहे हुँदा सानुछोरीको उमेर १८ वर्षको मात्रै थियो, तेजमान ३८ वर्षका । उनीहरूको नौ सन्तान भए, तिनैमध्येका एक चल्तापुर्जा छोरा हुन्– महेन्द्र, जसले माथिका यी सबै विवरण सुनाएका हुन् । सानुछोरीलाई तेजमानले बिहेका बेला एउटा तथ्य खुलाएकै थिएनन्, कि आफ्नी पहिली श्रीमती तिब्बतमै थिइन् । उनले पछि कालिङपोङमा पनि अर्को बिहे गरे । आर्थिक हैसियत बढेसँगै तेजमानले पनि त्यही कुरीति पछ्याए, जसमा धनीले एकभन्दा बढी बिहे गर्छन् भन्ने मानसिकता थियो ।

...

कारण जेजस्तो होस्, अधिकांश नेवार ल्हासा–साहुको तिब्बतमा पनि श्रीमती रहे, यता नेपालमा पनि । त्यतिबेला यो सामान्य विषय थियो । तेजमानले एउटा काम भने साँच्चै गरेका थिए– प्रशस्तै पैसा कमाउने । अहिलेको शाक्य परिवारलाई के अनुमान छ भने उनले ल्हासा व्यापारबाट त्यही बेला कम्तीमा दस लाख रुपैयाँ जति कमाइ गरेको हुनुपर्छ । त्यो त्यही समय थियो, जतिबेला सुन एक तोलाको सय रुपैयाँ जति पर्थ्यो । सजिलै अनुमान लगाउन सकिन्छ, उनले कति धेरै कमाएका थिए भन्ने ।

र, यसरी उनको परिवार धनी भयो, काठमाडौंमा मनग्य सम्पत्ति जोड्न पनि सफल रह्यो । तेजमानले लाजिम्पाटतिर मनग्य जग्गा–जमिन किने । कुरा यत्तिकैमा सकिन्न । नाटकीय घटना अझै बाँकी छ । यसपछाडि जोडिएको घटना पनि रोमाञ्चित पार्ने खालकै छ । सन् ८० को कुनै एक दिन तिब्बती श्रीमतीबाट जन्मिएका तेजमानका ठूलो छोरा कसरी हो एकाएक काठमाडौं आइपुगे र उनको घरसम्मै पुगे । उनको नाम पेमा थियो । पछि सबैले उनलाई सेँदाई भने । तिब्बतीलाई नेपाल भाषामा सेँ भनिन्छ । अनि तिब्बत आफैंलाई सेँदेय् । त्यसैले उनको नामै सेँदाई भयो । त्यतिबेला खासमा भएको के थियो भने तिब्बतलाई चीनले लिइसकेपछि त्यहाँका कुलीन वर्गको पतन सुरु भयो । धेरैको आर्थिकस्तर निकै कमजोर भयो । धनीहरू एकाएक गरिब भए । त्यसैले पेमाले पनि के सोचे– तिब्बत बस्नुभन्दा अब नेपाल जानु ठीक, जहाँ आफ्ना बुबा छन् । यसरी उनी नेपाल आइपुगे र तेजमानको घरमै पुगे । त्यो बेला उनको परिवारमा कस्तो स्थिति बन्यो होला ? त्यो पनि अनुमान मात्रै गर्न सकिन्छ ।

ती पेमाले आफ्ना बुबाको धन–सम्पत्तिमा अधिकार भने मागेनन् । सम्पत्ति लिन्न भनेर कागजै गरे । तिनका लागि काठमाडौंमै रहन पाउनु ठूलो थियो, यतैको नागरिकता लिए । उनका लागि यही सबथोक थियो । सुरुमा उनी शाक्य परिवारको लाजिम्पाटस्थित घरको छेउमै एक कुनामा बसे । लामो समय निकै साधारण जीवन बिताए । उनले आफ्नी श्रीमती पनि सँगै नेपाल ल्याएका थिए । अनि सँगै एक निकै बूढो मान्छे पनि । ती को थिए त ? शाक्य परिवारका लागि ती बूढा मानिस लामो समय रहस्य भइरहे । उनी प्रायः कहिल्यै बाहिर निस्कँदैनथे । उनले कसैलाई भेटेनन् पनि । पछि शाक्य परिवारले के थाहा पायो भने ती मानिस तेजमानकी पहिलो श्रीमतीका दोस्रो श्रीमान् रहेछन् । त्यतिबेला शाक्य परिवारलाई के कस्तो भयो ? त्यसबारे पनि अनुमान मात्रै गर्न सकिन्छ । पेमाले आफ्ना दोस्रो बुबालाई तिब्बतमा छाड्न ठीक मानेनन् । पछि उनी पेमा शाक्य भए, काठमाडौंकै रैथानेजस्तै ।

पेमाले काठमाडौं बस्दा नेपाल भाषा मात्रै सिकेनन्, नेपाली भाषा पनि मीठोसँग बोल्ने भए । अझ पेमाकी श्रीमतीले बोल्ने नेपाल भाषा यहाँका कोही नेवारको भन्दा शुद्ध र परिष्कृत थियो । त्यही कारण पछि उनी आफ्नी सासूकी प्यारी बुहारी पनि बनिन् । अझ पछि पेमाले पनि गज्जब आर्थिक उन्नति गरे । भएको के थियो भने उनले काठमाडौं आएयता बिस्तारै व्यापार सुरु गरे । त्यो दिन–रात झन्झन् फैलिन थाल्यो । खानेकुराको सानो पसलबाट सुरु भएको व्यापार पछि कार्पेटको व्यापारसम्म पुगेको थियो । उनले बौद्धतिर ठूलै कार्पेटको कारखाना चलाए । होटल पनि खोले । उनको कारखानाबाट निस्केको उच्चस्तरको कार्पेट सिधै युरोप पुग्थ्यो, विशेषतः जर्मनीतिर । उनलाई कार्पेटको युरोपेली माग पूरा गर्न पनि गाह्रो हुन्थ्यो । यसरी त्यस समय एक तिब्बती मूलका नेपालीले कार्पेट व्यापारबाट मनग्य कमाए ।


ल्हासाका नेपाली व्यापारीहरू : तेजमान शाक्य, मैत्रीरत्न तुलाधर, धर्म थाय्पा, बुद्धजीव तुलाधर, दानवीर सिंह तुलाधर, लक्ष्मीज्योति धाख्वा, भाइ काका, धर्मबहादुर धाख्वा र रत्नमान सिंह तुलाधर (पछिल्लो लहरमा) पुष्परत्न सागर, तेजरत्न तुलाधर, ज्ञानज्योति कंसाकार, केशरबहादुर केसी (वकिल), पूर्णकाजी ताम्राकार र पुष्प तुलाधर । (सन् १९४८)

यसरी कुनै समय व्यापार गर्न तिब्बत पुगेका नेवारका तिब्बती सन्तानले पछि काठमाडौं फर्केयता पनि व्यापार गरे । तिनले व्यापार मात्रै गरेनन्, धेरै कमाए र सफल पनि भए । अचेल पेमा र उनकी श्रीमती निकै धार्मिक भएका छन् । ध्यानमै बढी समय खर्चन्छन् । भारतको धर्मशालातिर पनि बरोबर गइरहन्छन् । अब त तेजमान पनि रहेनन् । उनी बितेको पनि दुई दशकभन्दा बढी भइसकेको छ । उनका छोरामध्ये पुरानो इतिहासबारे बुझ्ने इच्छा र रुचि महेन्द्रमै मात्र छ । महेन्द्र आफैं पनि अमेरिकाबाट फर्केर यहीं केही गर्नुपर्छ भन्नेमध्येका एक हुन् । अमेरिका बसाइले उनलाई एकथोक राम्रोसँग सिकाएको छ । त्यो हो– आफ्नो इतिहास, भाषा र संस्कृति बिर्सनु हुन्न । उनलाई एकथोकमा उत्तिकै दुःख पनि छ– आफूले बुबाबाट धेरै कथा सुन्न पाएनन् । त्यसैले धेरै विषय इतिहासमै बिलाएर गए । उनलाई यो कुरामा जहिल्यै पछुतो छ । आफ्नै बुबाकोबाट सबैथोक सुन्न पाएको भए, अझ खासखास कुरो निस्कने थियो भन्ने सोचिरहन्छन् ।

त्यसमाथि नेवार ल्हासा–व्यापारीमध्ये काठमाडौंतिरकै कथा धेरै लेखिएको छ । केही पुस्तक पनि छन् । तर, पाटनतिरका यस्तै नेवार ल्हासा साहुका कुरा कमै मात्र लेखिए । अझै बिग्रेको त केही छैन । महेन्द्रजस्तै पाटनमा नेवार ल्हासा साहुका सन्ततिहरू अझै छन् र तिनीहरूसँग तिनका आफ्नै मौलिक कथा पनि । ती कथा पक्कै फरक फरक त होला नै । महेन्द्रले एउटा योजना बनाएका छन्, चाँडै कुनै दिन त्यस्तै सन्ततिको भेला गर्ने र तिनका बाबुबाजेका कथा मस्तसँग सुन्ने ।

उनलाई लाग्छ, ती अहिलेको पुस्ताका सन्तानसँग अझै पनि केही त केही सामग्री त पक्कै होलान्, जसको सीधा सीधा सम्बन्ध नेपाल–तिब्बत व्यापारसँग छ । ती पुराना पुराना तस्बिर हुन सक्छन्, यस्तै पुराना चिठीपत्र पनि । सँगै व्यापारका कागजातका रूपमा केही न केही अभिलेख पनि । ती सामग्रीले धेरै इतिहास भन्न सक्नेछ, जुन अहिलेसम्म लेखिएकै छैन र लेख्न बाँकी छ । जे जतिले महेन्द्रलाई चिनेका छन्, तिनका लागि उनी महेन्द्र–दाइ हुन् ।

महेन्द्र–दाइले सोचेको काम पूरा होस्, हुनैपर्छ । अनि यससँगै खुल्नेछन्– सिंहसार्थ बाहु, सुरतवज्र र तेजमानको मात्रै होइन, अन्य धेरै कथाहरू पनि । प्रतीक्षाका लागि योग्य छन्, यी मौलिक कथाहरू । अनि फेरि, महेन्द्र–दाइको परिवारै कलाकारले भरिएको छ । कर्म र कुन्दुनले कुनै दिन यिनै विषय टेकेर नाटक र सिनेमा बनाउने हुन् कि ? अब त तिनलाई पनि इतिहासको यो कालखण्डबारे रुचि हुनुपर्छ । यस्तो भए, अझै गज्जब हुनेछ ।

https://ekantipur.com/koseli/2023/07/29/169059513261437990.html

Monday, November 27, 2023

काठमाडौं कथामाला

 तीर्थबहादुर श्रेष्ठ

अनेक किंवदन्ती बोकेर बाँचिरहेको काठमाडौंका मायावी कथाले यो सहरलाई झनै रहस्यमय बनाइदिएको छ 

सामाजिक संस्कारमा ढोगभेट र समयचेतको विशेष महत्त्व हुन्छ । समयसँगै तिनमा बदलाव आउँछ । मेरो बाल्यावस्था अर्थात् २०१० सालतिरका मेरा सम्झना सुनाउन चाहन्छु ।

बिहान सबेरैको भेटमा ‘स्नाधुनला ?’ अर्थात् ‘जलसेचन र प्रार्थना पूजा सिद्धियो ?’ भनेर सोध्ने गरिन्थ्यो भने मध्याह्न पहिले ‘जाः नय् धुनला ?’ अर्थात् ‘भात खायौ ?’ भनी सोध्ने चलन थियो । अपराह्नमा भेट हुँदा ‘बजि नय् धुन ?’ अर्थात् ‘चिउरा (खाजा) खायौ ?’ भनी सोधिन्थ्यो ।

अचेल ‘गुड मर्निङ’ नभनी बिहान हुँदैन । ‘भान्छा भो ?’ ‘भात खायौ ?’ ‘खाजा खायौ ?’ कसैले सोध्दैन । ‘नमस्ते’ र ‘नमस्कार’ पनि २००७ सालपछि मात्रै चलनचल्तीमा आएको हो । काठमाडौं उपत्यकामा समयचेतका लागि घन्टाघर त थियो नै, तर मध्याह्न टुँडिखेलमा सिपाहीहरूले पड्काउने तोपको विशेष महत्त्व राख्थ्यो । बाटाका बटुवा हुन् वा खेतबारीका किसान वा ज्यासल र पसलका साहु तथा बनौटाहरू पनि एकापसमा सोध्थे– तोप पड्क्यो ? बेलुकीको ९ वा १० बजे रातिको तोप पड्काइन्थ्यो । तोप पड्केपछि कर्फ्यु लाग्थ्यो । बाटामा हिँड्नेलाई सिपाही वा पुलिसले समात्थ्यो । समयचेतका लागि नाडीमा घडी बाँध्ने वा गोजीमा बोक्ने विषय आम मानिसको औकातभन्दा निकै बाहिरको कुरा थियो ।

भेटघाटमा ठूलाबडालाई ‘जदौ’ भनिन्थ्यो र हात ढोग्ने चलन थियो चल्तीमा । बीच बाटामै पनि मान्छेले अर्काको खुट्टै ढोगेको देखिन्थ्यो कहिलेकाहीँ । घरभित्र परिवारजनमा ढोगभेटको आ–आफ्नै चलन कायमै छ, तर त्यो पनि ‘गुड मर्निङ’ र ‘गुड नाइट’ ले विस्थापन गर्न थालेको छ ।

काठमाडौं सहरका बजारहरू वा बाटाघाटामा देखिने मानिसको भीडमा टोपी नलगाएको टाउको हुँदैनथियो । स्वास्नीमान्छे पनि पछ्यौराले टाउको छोपेरै हिँड्थे । तर, धेरैको खुट्टामा जुत्ता भने हुँदैनथ्यो । आजभोलि टोपी लगाएको टाउको र जुत्ता नलगाएको खुट्टा भेट्नै सकिन्न । २००५–६ सालतिर टोपी नलगाउने र कपाल कोरेर हिँड्ने युवालाई मान्छेहरू शाासनविरोधी ‘कांग्रेस’ भन्थे । तिनलाई जुलुस, आन्दोलनका बेला पुलिसले भेट्यो भने पहिल्यै कपाल जगल्ट्याउने काम गर्थ्यो । त्यसबेला बिनाटोपी घरभित्र पस्न पनि हुँदैनथ्यो । ‘मलामी जानेले मात्रै टोपी फुकाल्छन् बाबु’ भनेर बुबाले मलाई सम्झाएको सम्झन्छु । कांग्रेसी केटाहरूको अर्को पहिचान थियो– कमिज र पतलुन वा ठूलो मोहता भएको सुरुवाल ।

कपाल पाल्ने र टोपी नलगाउनेको बिजोग २००६ सालमा युवराज्ञी इन्द्रराज्यलक्ष्मीको देहान्तताका देखियो । राजपरिवारका सदस्य परलोक हुँदा कपाल खौरेर समवेदनामा बस्नुपर्ने रहेछ । त्यसबेला कपाल पाल्ने केटा भेट्यो कि पुलिसले समातेर असनको डबलीमा लगेर हजामबाट एक पाटो रौं खौरिदिएर उसलाई छाडिन्थ्यो । त्यसको ५२ वर्षपछि दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको देहान्त हुँदा भने कतिपय युवाले स्वेच्छाले कपाल मुडाए । कपाल मुण्डन गर्ने वा रंगविरंगमा सजाउने वर्तमान युवाका स्वेच्छा भने बुझीनसक्नुको छ ।

हाम्रो किनमेल केन्द्र– असन

महाबौद्धबाट असन छिर्न मात्र दुई–तीन मिनेट लाग्छ । असन बजार उहिलेको सुपरमार्केट हो । काठमाडौं सहरी क्षेत्र वा उपत्यकाका अरू ठाउँबाट त्यहाँ आइपुग्ने सातवटा मुख्य बाटा छन् । वास्तविक सातदोबाटो भन्नु असन बजार हो । बिहान सबेरदेखि ठिमी–भक्तपुर, थानकोट–बलम्बु, बालाजु–बुढानीलकण्ठ, खोकना–हरिसिद्ध एवं अरू क्षेत्रबाट पनि व्यापारीहरू साग–तरकारी, चामल–चिउरा, दाल–गेडागुडी, दूध–दही, घ्यू–तेल, फलफूल एवं वन्यपदार्थ सालको पात, काफल–ऐंसेलु, काभ्रो, निउरो, जंगली च्याउ लगायत हाँस–कुखुरा पनि बेच्न ल्याउँथे । कृषि उत्पादनमा यो उपत्यका कति सम्पन्न थियो भन्ने असनको बजारमा प्रकट हुन्थ्यो । असनको डबलीमा दाउराको भारी बिसाइबसेका तामाङ युवायुवतीसँग सामानको मोलतोल गर्दा तिनलाई चुरोट र बिँडी सल्काइदिएपछि सजिलै कुरा मिल्थ्यो । मेरा दाजु त्यसै गर्नुहुन्थ्यो । डबलीको अर्को छेउमा रुपैयाँ–पैसा साट्ने सराफी पसल पनि हुन्थ्यो । भारतीय कम्पनी त्यहीँ साटिन्थ्यो । असन तथा इन्द्रचोकका सराफीहरूबाटै कम्पनीको सटही दर तोक्ने काम हुन्थ्यो । बेलायतको इस्ट इन्डिया कम्पनी सरकारले चलाएको सिक्का हुनाले हामी तिनलाई मोहर–रुपैयाँ नभनी कम्पनी भन्थ्यौं । आजभोलि भारु (भारतीय रुपैयाँ) वा आईसी (इन्डियन करेन्सी) भन्ने चलन छ ।

असन बजार चहार्दा मध्याह्नतिर बाहिरबाट आउने डोको, खर्पन भिरेका थोक–व्यापारीहरू घरतिर फर्किसकेका हुन्थे । खुद्रा व्यापारी पसल तथा फगुन्जा (फः बन्जा) हरू साँझसम्मै डबलीको डिलमा, सडकको छेउछाउमा व्यापार गरिबस्थे । हामीले खरिद गर्ने वस्तु माना–पाथी तथा पाउ–कार्नीमा नापिने चलन थियो । लिटर, किलोग्राम र ग्राम हाम्रो शब्दावलीमै थिएन । आलु पनि पाथीमा किनबेच हुन्थ्यो । दाल–चामलको त कुरै भएन । तौलेर बेच्ने भनेको मासु मात्रै हो कि ! फलफूल त गन्तीमै किनबेच हुने हो । वन्यपदार्थ (जस्तैः लब्सी, बयर, सतीबयर आदि) भुइँमा भाग लगाएर बेच्ने जिनिस थिए ।

हलुवाईको रोटी, मिठाई पनि गन्तीमा अधिक किनबेच हुन्थ्यो । मिठाई (मनभोग, गुलीमरी, स्याउ अर्थात् सेवाई) किन्न जाँदा केटाकेटीलाई थोरै फोसा दिने गरिन्थ्यो । यस्तै फोसा अरू पसलमा पनि दिने चलन थियो (पीपलमेट, सखर–चिउरा तथा नरिवल–छोहराका टुक्रा आदि) । फलफूलहरू (केरा, अम्बा, नास्पाती, सुन्तला, भोगटे, कागती) सबै थोक गोटामा गन्ती हुन्थ्यो । अनार–स्याउ असनको पानपसलमा मात्रै बेच्ने गरिन्थ्यो । अनार, स्याउ, मौसममा खानलाई सिकिस्तै बिरामी हुनुपर्थ्यो । टाइफाइड निको भएकालाई ख्वाउने गरिन्थ्यो अनार, मौसम आदिको रस अर्थात् ‘फ्रुट जुस’ । असनको तमाखु पसले हेर्न लायकको हुन्थ्यो । जीउभरि सखर–चाकुको दागले पोतिएको मैलो दौरा–सुरुवालमा बसेर तमाखु बेच्थे ती व्यापारी । उनी तमाखु तौलेरै बेच्थे पाउ र छटाकमा । सालको पातमा परालले बाँधेको पोकामा तमाखु किनेर दिनदिनै ल्याउनुपर्थ्यो । वैद्य पसलको पाचक होस् वा किराना पसलको मसला सबैथोक नेपाली कागजमा बेरेर वा पुरिया पारेर दिन्थे ती । आजभोलि जस्तो सामान पनि प्लास्टिकका थैलीमा, प्लास्टिकका बट्टा वा बोतलमा दिने कुरा सपनामा पनि चिताइएको थिएन । ढुवानीका साधन डोको, डालो, खर्पनबाहेक अरू थिएन मेरो बाल्यावस्थामा । पछि ठेलागाडा र रिक्साले प्रवेश पायो । त्यो पनि २०१७ सालपछि मात्रै ।

काठमाडौंको तापमान

१९९४ साल घटस्थापनाको तेस्रो दिन, जमराका गेडाहरू टुसाइरहेका बेला मेरी आमाले मलाई जन्माइन् । नजिकै थियो वीर अस्पताल, तर प्रसूतिसेवा थिएन । ब्लक नं. १०/४३९ को घरमा एउटा सानो कोठामा पराल

ओछ्याइएको थाङ्नोमाथि सुँडेनी अजीको सहायतामा म जन्मेको थिएँ । बुबा खरिदार लोकबहादुर श्री ३ जुद्धशमशेरको पजनीमा खोसुवा भइसकेका थिए, तर म ‘खरिदार साहेब’ कै छोरा भएर जन्में । र, त्यही औकात पछिसम्मै कायम रह्यो । काठमाडौं सहरको मध्यभागमा नेवार संस्कृति र संस्कारमा जागिरे घरानाको एक शिक्षित परिवारभित्र मेरो पालन–पोषण भयो । सबैभन्दा पहिले ‘ओहो काठमाडौं !’ भन्ने हेक्का २०१९ सालतिर मात्रै भयो । वनस्पति विभागको जडीबुटी व्यापार केन्द्र स्थापना गर्न हवाईजहाज चढेर नेपालगन्ज पुगेको थिएँ । फर्कंदा हवाईजहाजका पाइलट मेरा मित्र थिए– गोपाल श्रेष्ठ । उनले चालक कक्ष ‘ककपिट’ मा राखेर दृश्यावलोकन गराउँदै नेपालगन्जको खजुरा हवाई मैदानदेखि त्रिभुवन विमानस्थलसम्म उडाएर ल्याए । नेपाल दर्शनको एक विशेष अवसर त्यसबेला मलाई जुर्‍यो ।

फागुन–चैतको त्यो उराठ तराईलाई भावरको हरियो वनले संरक्षण दिएको थियो । चोसोमोसो परेका चुचुरासहितको चुरे पहाड र अग्लिँदो महाभारत पर्वतबीच दाङ र देउखुरीको भित्री मधेश विशाल लाग्यो । महाभारत पर्वतको शिरैशिर उडेर आउँदा पर्वतीय गाउँ बस्ती, कान्लाकान्लीले कोपेका पाखाहरू, पहाडी वनमा फुलेका गुराँसहरू, नागबेली नदीका साँघुरा उपत्यकाहरूमा जमेका औंले फाँट र फराकिला टारहरू आकाशबाट नजर भयो । जब हवाईजहाज भीमढुंगामाथितिरबाट काठमाडौं उपत्यका छिर्‍यो त्यहाँबाट देखिएको भूदृश्य नाटकीय रह्यो । हरियो–भरियो, विशाल उपत्यका ! चाक्लो परेको ‘नेपालमण्डल’ ! कान्तिपुर, ललितपुर र भक्तपुरको ‘तीन सहर नेपाल’ ! चार दिशाका ‘चार भञ्ज्याङ’— पाटी भञ्ज्याङ, साँगा भञ्ज्याङ, फर्पिङ भञ्ज्याङ र पाँचपानेभित्रको ‘काठमाडौं खाल्डो’ । कसैको काष्ठमण्डप, कसैको ‘काठमान्डू’, कसैको ‘कान्तिपुर’, कसैको ‘क्याटमान्डू’ र वर्तमानको काठमाडौं । चारैतिर हरियो पहाडले घेरेको, चारै दिशामा चुलिएका पर्वत शिखरहरू— शिवपुरी (२,६८९ मिटर), फुल्चोकी (२,७६५ मिटर), चन्द्रागिरि (२,५३५ मिटर र नागार्जुन (२,०८७ मिटर) बाट शोभायमान उपत्यकाको बीचोबीच बग्दै गरेका वागमती, विष्णुमती, मनोहरा तथा धोबीखोला, टुकुचा, यक्षखोला, हनुमन्ते र गोदावरी आदि नदीनालाले सिञ्चित उर्वरा उपत्यका वास्तवमै अलकापुरी, कान्तिपुरी नगरीको स्वरूपमा प्रस्तुत थियो ।

लगभग दुई सय वर्षपहिले नेपाल छिरेका एक विदेशी यात्रीले चन्द्रागिरिबाट नेपाल उपत्यका देखेर भनेका थिए– ‘मानौं एउटा विशाल कागजमा कोरिएको कन्टुर नक्साझैं फैलिएको समथर दृश्य नजर भयो ।’ हुन पनि अन्दाजी ६४० वर्गकिलोमिटरको क्षेत्रफललाई उब्जाउ खेत र बारीका कान्लाहरूले कोरेर समथर जमिन, अनि टार र डोलहरू तथा बिस्तारै उठेका पाखा र पहाडी भूमिले प्रदर्शन गर्ने दृश्य एक आधुनिक नक्साजस्तै थियो २०१९ सालमा पनि । मन्दिरको बाहुल्यता टड्कारो थियो । मन्दिरभन्दा अग्लो घर वा भवन बनाउने चलन थिएन । भनौं त्यस्तो परम्परा थिएन । धरहरा र घन्टाघर फेदीदेखि टुप्पोसम्मै स्पष्ट देखिन्थ्यो । कतैबाट छेलिएको अवस्था थिएन । गौचर विमानस्थल नजिकै बौद्धस्तूपको त्यो विशालतालाई चारैतिरको खुला कृषि भूमिले शोभायमान बनाउन मद्दत गरिरहेको थियो । पशुपति–गुह्येश्वरी र वागमतीको स्थान ठम्याउन नभ्याउँदै हवाईजहाज जमिनमा अवतरण भयो । तुवाँलोले गर्दा हिमालको दर्शन भएन, तर उपत्यकाका पहाडहरू फेदीदेखि टुप्पोसम्मै देख्न सकिने भयो ।

काठमाडौंको त्यही विमानस्थलमा ६० वर्षपछि अर्थात् गत फागुन २०७९ मा बुद्ध एयरको हवाईजहाज चढेर भैरहवाबाट उत्रिँदा मेरो त्यो काठमाडौं हराइसकेको थियो । जमिन वा हरियो फाँट कहीँ देखिएन । न डोलहरू भेटिन्छन्, न टारहरू चिनिन्छन् । तीनै सहर एकै डल्लो भइसकेछ । कंक्रिट र फलामबाट निर्माण भएका गगनचुम्बी भवनहरूले उपत्यकाको उचाइ १,३५० मिटरबाट माथि १०/१५ तला उठिसकेको छ ।

२०२५ सालतिर उपत्यकाको २५ प्रतिशतभन्दा पनि कम क्षेत्रफलमा फैलिएको सहरी क्षेत्रले २०४६ सालतिर ६७ प्रतिशत भूभागलाई ओगटिसकेको थियो । त्यसपछिका दिनहरूमा भवन निर्माणले उग्रगति लियो । उतिबेलाको उपत्यकामा लगभग ५ लाख जनसंख्या थियो । हालैको जनगणनाअनुसार, ३० लाखभन्दा बढी जनसंख्या बस्छ काठमाडौं उपत्यकामा ।

२०२०–३० सालतिर वैशाख–जेठको गर्मीमा लगभग ३०/३२ डिग्री सेल्सियसको अधिकतम तापमान नापिन्थ्यो, तर त्यो गर्मी दिनको ११ देखि २ बजेसम्म मात्रै टिक्थ्यो । साँझ–रात गर्मी घटिहाल्थ्यो । तापमानको रेखांकन कर्भले गर्दन लामो जिराफको आकार लिन्थ्यो । आजभोलिको तापक्रम एकपल्ट बढेपछि घट्ने नामै लिँदैन । रेखांकन गर्न थाल्यौं भने त्यसले हात्तीको आकार लिन्छ । उच्च विन्दुमा पुगेको तापमान झर्न मान्दै मान्दैन । फलस्वरूप यो उपत्यकाको तापमानलाई पनि क्यालोरीमा नाप्नुपर्ने अवस्था छ । उचाइ फरक नपरे पनि एउटा दुब्लो मान्छे मोटाउँदै गएपछि त्यसको नापो उचाइमा नभई तौलमा पनि नाप्नुपर्ने हुन्छ । ग्लोबल वार्मिङ (विश्व उष्णीकरण) भन्दा लोकल वार्मिङ (स्थानीय उष्णीकरण) हाम्रो चिन्ता र चासोको विषय बन्न थालेको छ ।

कहिल्यै आँप नपाक्ने र लिची नफल्ने बारीमा आँप पाक्न थालेको छ । लिची फल्न थालेको छ । उष्ण हावापानीका फलहरू एभोकाडो र ड्रागन फ्रुट्स पनि फल्न थालेका छन् । उष्ण प्रदेशीय जाकारान्डा र लालुपाते छ्यास्छ्यास्ती फैलन थालेको छ । वातावरणीय परिवर्तनका साथै हाम्रो जीवनशैलीमा पनि नाटकीय परिवर्तन भएको छ मेरो काठमाडौंमा ।

आठ दशकभन्दा लामो अवधि काठमाडौं खाल्डोमा बिताएपछि बाल्यावस्थातिर जीवनलाई फर्केर हेर्ने चेष्टा गर्छु । यस उपत्यकाको भौगोलिक स्वरूप, विकसित भौतिक संरचना, जनसंख्याको चाप र वातावरणीय प्रभाव, सामाजिक एवं आर्थिक परिवर्तन नियाल्दा मलाई विश्वास गर्न गाह्रो पर्छ– साँच्चै म यही जुनीको कुरा गर्दै छु वा पूर्वजुनीको ?

https://ekantipur.com/koseli/2023/07/08/16887809179879676.html

नेवारी स्वादको नशा

 शेखर खरेल

बेलायतको रियालिटी कुकरी सेरिज बीबीसी मस्टरसेफ प्रतियोगिताको सन् २०२० संस्करणको सेमिफाइनलमा नेपाली सेफ सन्तोष साहले यस्तो परिकार पस्किए, जसको जादुले उनलाई अन्तिम छ (फाइनलिस्ट) पुग्नबाट रोक्न सकेन । चकलेट, काजु र खोर्सानी भरेर तयार गरिएको योमरीले जसै सेलेब्रिटीले सेफ एर्न्ड्यु वोङको जिब्रो चुम्यो उनको ‘वाह’ र ‘यम्मी’ सँगै साहले ‘फाइनलिस्ट’ को सिट सुरक्षित गरे ।


संसारमा प्रचलित हरेक परिकार र स्वाद चाखेका निर्णायकमाथि अब के नयाँ स्वादको जादु चलाउने भन्नेबारे सोच्दासोच्दै सेफ साह मौलिक नेवारी परिकारको जुक्तिमा पुगेका थिए । लोकप्रिय नेवारी परिकार योमरीलाई उनले अलि ‘ट्वीस्ट’ दिँदै निर्णायकको मन जिते । काठमाडौं खाल्टोको लोकप्रिय योमरी सात समुद्र पार पनि उसैगरी ‘हिट्’ भयो ।

नेवारी परम्पराको महत्त्वपूर्ण अवयव हो पाककला अनि परिकार । संसारका ठूला सहरका भव्य बुकस्टोरमा ‘ग्यास्ट्रोनोमी’ (पाककला वा पाकशैली) निम्ति अलग्गै खण्ड हुन्छ, जहाँ संसारभरका प्रचलित पाक परम्पराका अनगिन्ती पुस्तक उपलब्ध हुन्छन् । तर, त्यहाँ नेपालका राष्ट्रिय वा जातिगत परिकारका पुस्तक सायदै भेटिन्छन् । यसै अभावलाई सम्बोधन गर्न हिजोआज नेपाली लेखकसमेत पाककलाका पुस्तक प्रकाशनमा अग्रसर देखिएका छन् । यसैको एउटा ज्वलन्त उदाहरण हो, नेवारी परिकारको पारम्परिक महत्त्व, यसको पकवान विधि (रेसिपी) र पौस्टिक महत्त्व समेटेर प्रकाशित पुस्तक ‘नेवा नशा’ । रमाइलो चाहिँ, यस सचित्र पुस्तकका लेखक कुनै सेलिब्रिटी सेफ वा ‘कुकरी सो’ का प्रस्तोता नभएर पेसाले चिकित्सक हुन्, स्त्रीरोग विशेषज्ञ डाक्टर सुमनराज ताम्राकार ।

‘नेवा नशा’ का पानाहरू पल्टाउँदै गर्दा ताम्राकारले पकवानबारेको ज्ञान विरासतमै प्राप्त गरेको अनुभूति हुन्छ । नेवारी परिकारलाई फगत खाद्यसामग्रीका रूपमा लिन सकिँदैन । किनकि, प्रत्येक परिकार संस्कारसँग जोडिएकाले यसको सांस्कृतिक विशिष्टता छ । नेवारी संस्कृतिको जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा पकवान अनिवार्य हुन्छ । खास–खास चाडपर्व, उत्सव र जात्राहरूमा खास–खास परिकार तयार गरिन्छन्, जसलाई उल्लासपूर्वक सामूहिक भोजन गरिन्छ ।

संस्कार र परिकार अन्योन्याश्रित रहेकै कारण ताम्राकार परिकारको ‘रेसिपी’ मा सीमित नरहेर त्यसको उत्पत्ति र सांस्कृतिक अर्थउपर विवेचना गर्छन् । उदाहरणका लागि, नेवारी लोकप्रिय परिकार ‘समेबजी’ जति सुस्वादु छ, यसको यसको सांस्कृतिक अर्थ उति नै सुरुचिपूर्ण छ । हिजोआजको ‘प्लाटर’ अर्थात् मिश्रित एवं बहुपरिकार समेबजी पञ्चतत्त्वको प्रतीक हो । ताम्राकार लेख्छन्, ‘स्याबजी आकाशतत्त्व, कालो भटमास वायुतत्त्व, अदुवा जलतत्त्व, छोयला पृथ्वीतत्त्व र रक्सी तेजतत्त्वको गुण मानिन्छ । समेबजीलाई समग्रमा भैरव र अष्ट मातृकाका रूपमा पुजिन्छ ।’

नेवारी खानाको अर्को विशेषता यसको सम्पूर्ण चक्र अर्थात्, ‘फुल कोर्स’ हो । पश्चिमा खानामा भनिने ‘एपेटाइजर’, ‘मेनकोर्स’ र ‘डेजर्ट’ नेवारी खानामा पनि लागू हुन्छ । सँगसँगै ‘अयला’ (रक्सी) र ‘थों’ (जाँड) ले खानालाई मादक अनि गरिष्ट गराउँछ । मानिसको पाचन प्रणाली र वातावरणसँग सम्बन्धित हुनु नेवारी परिकारको अर्को विशेषता हो । किनकि, परिकार मानिसको उपभोगमा सीमित नरहेर वातावरणीय सन्तुलनसँग समेत सम्बन्धित रहन्छ । जनैपूर्णिमाका दिन कृषकहरू धानबालीमा लाग्ने किराफट्यांग्रा खाइदिने भ्यागुतोलाई कृतज्ञतास्वरूप ‘ब्या जानकेगु’ (चामल अक्षता) ले पुज्छन् भने शिथिको दिन घरबस्तीका इनार, कुवा सरसफाइ गर्दै भोजभतेर गर्छन् ।

त्यसैगरी नेपालका चाडपर्वहरू नेपाल संवत्को चन्द्रमास पात्रो अनुसार मनाइँदै आएको तथ्यउपर जोड दिँदै लेखक पात्रो बमोजिमका चाडपर्व र तिनका विशेष व्यञ्जनको फेहरिस्त पस्किन्छन् । धान्य पूर्णिमाको प्रसिद्ध योमरी अनि भक्तपुरको प्रसिद्ध जुजु धौदेखि थोरैले मात्रै चाखेको वा सुनेको न्याखुना (राँगाको मासु र सिध्रा माछाको परिकार), फकंसना (कर्कलाको डाँठको अचार) को पकवान विधि (रेसिपी) पकवानमा रुचि हुनेका लागि अत्यन्तै पक्कै पनि उपयोगी देखिन्छ । यसैगरी लेखकले रक्सी उत्पादन विधि मात्र नभएर यसको मात्रा र असरबारे चर्चा गरेका छन् ।

ताम्राकारले नेवारी खाद्यवस्तुमा मौजुद पोषण तत्त्वहरूको ‘डायटेसियन’ ले झैं सूची नै तयार गरेका छन्, जुन गरिष्ट खानपिनका पारखी र ‘क्यालोरी कन्सियस’ दुवैका लागि निकै उपयोगी हुन सक्छ । अझ पोषणको फेहरिस्तले मात्र ताम्राकारलाई चित्त नबुझेको हुन सक्छ, उनले ‘यौनबर्धक छ नेवारी परिकार’ भन्दै कुन परिकारले यौन तथा प्रजननक्रियामा कस्तो असर पार्छ भनेर अलग्गै सूची तयार गरेका छन् । यी अतिरिक्त लेखकले परिकारका कच्चा पदार्थहरू मरमसला र तरकारीका रोग निवारण शक्तिबारे पनि प्रकाश पारेका छन् ।

आफूले विरासतमा पाएको सुस्वादु परिकारमार्फत तिनको पारम्परिक पृष्ठभूमि, सांस्कृतिक महत्ता र गुणकारी पोषणउपर आधिकारिक जानकारी पस्कँदै सुमनराज ताम्राकारले ‘नेवा नशा’ मार्फत साँच्चै स्वादको जादु चलाएका छन् ।

https://ekantipur.com/koseli/2023/06/24/168757260940424949.html

जब बुंगद्यः कलशमा थुनिए

 मल्ल के. सुन्दर

प्राचीन आख्यान हुँदै हजारौं वर्षको यात्रापछि समन्वय र सहअस्तित्वका जीवन्त सम्पदा बनेका हुन्– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ

ललितपुर जावलाखेलमा भोटो देखाइसकेपछि बुंगद्यः (रातो मच्छिन्द्रनाथको जात्रा) सम्पन्न हुन्छ । कहीँ न कतै वर्षैभरि सांस्कृतिक गतिविधि भइरहने नेपालमण्डलभित्रको खास विशेषता हो– जात्रा–उत्सव । बुंगद्यः पनि तीमध्ये एक हो । तर, जब जात्राभित्रको रीति, परम्परा, व्यवस्था र आस्थाका आयामहरूको अध्ययन गरिन्छ, तब बुंगद्यः केवल एक उत्सव वा लोकव्यवहारमा मात्रै सीमित रहँदैन ।


लोकाख्यान र जनश्रुति

कामारुकापाक्षसम्म नेपालमण्डलका राजा नरेन्द्रदेवको नेतृत्वमा गरिएको जात्रा, त्यो टोलीमा संलग्न तान्त्रिक बन्धुदत्त, कृषक ललित ज्यापु र कर्कोट नागसम्बन्धी लोककथन सर्वविदितै छ, त्यसको पुनरोक्ति आवश्यक छैन । आख्यानिक कथनहरूमा अलौकिक प्रसंगको बाहुल्यता हुनु सामान्य नै हो । रातो मच्छिन्द्रनाथको नेपालसम्मको यात्रा विवरण पनि यो प्रवृत्तिबाट मुक्त छैन ।

रैथानेहरूको जीवन प्रक्रियाअन्तर्गत लामो समयदेखि संस्कृतिका रूपमा निरन्तर चलिआएको बुंगद्यः जात्रा प्राचीन आख्यानको विन्दुबाट वर्तमान आस्थाको तहसम्म विस्तारित भइसकेको छ । तसर्थ यस जात्रालाई सोही कोणबाट बुझ्नु आवश्यक छ ।

ऐतिहासिकता

‘श्री नरेन्द्रदेव वर्ष ३५ तस्य आचार्य बन्दुदत्त द्वयेन, श्री बुग्मलोकेश्वर भट्टारकस्य जात्रा कृता भवति ।।’ ‘गोपालराज वंशावली’ मा उल्लेख गरिएका यी पंक्तिले बुंगद्यः जात्राको ऐतिहासिकता पुष्टि गर्छ । बज्रयानीहरूको पवित्रग्रन्थ ‘स्वंयम्भुपुराण’ मा गरिएको वर्णन ‘अतित कलिवर्षेषु शून्य द्वन्द्व र साग्निषु, नेपाले विजये श्रीमानर्यावलोकितेश्वर लोकेश्वर’ को अर्थ हुन्छ– बुंगद्यः कलिगत वर्ष ३६०० मा नेपाल ल्याइएको हो । हाल ५१२४ कलिगत संवत्को हिसाबले त्यो १५२४ वर्षअघिको घटनाक्रम हो । तर, नरेन्द्रदेवको राज्यकाल (इस्वी ६४३–६७९) गणना गर्दा त्यो लगभग १३८० वर्षभन्दा पर देखिँदैन । करिब दुई सय वर्षपछि उनकै छैटौं पुस्ताका सन्तति वरदेव सत्तामा रहँदा रथयात्राको परम्परा चलेको थाहा हुन्छ लिखतहरूबाट । कर्णालीका शासक जयतारी मल्ल नेसं ४१० मा उपत्यका प्रवेशक्रममा बुंगमलोकेश्वर दर्शन गरेर फर्केको ऐतिहासिक सन्दर्भले त त्यस कालखण्डसम्म आइपुग्दा बुंगद्यः निकै प्रतिष्ठित भइसकेको बोध हुन्छ ।

बहुलआस्थाका साझा प्रतीक

मच्छिन्द्रनाथ कौलतन्त्रका मूल गुरु हुन् । नवनाथ भनिने हठ योगी र शैव मतमा पनि मच्छिन्द्रनाथको स्थान उच्च छ । तर, नेपाल उपत्यकाभित्रका रैथानेले बुंगद्यःलाई करुणामय, लोकेश्वर, अवलोकितेश्वर, पद्मपाणि आदि नामबाट बोधिसत्त्वको स्थानमा राखेका छन् । तिब्बतीहरूले त यिनलाई लुइपा, मीनपाजस्ता महासिद्धका अविभावकै ठान्छन् ।

वृष्टिदेव अर्थात् सहकालका देउता भनेर विशेषतः रोपाइँको सफलता र राम्रो उब्जनीको श्रेय यिनैलाई दिइन्छ । वैष्णवहरूका लागि बुंगद्यः नारायणकै प्रतिरूप हुन् । यिनको मुखाकृति रक्तवर्णको हुने हुँदा कतिपय प्रसंगमा विरञ्चिनारायणको रूपमा पनि वर्णन गरिएको छ ।

कामारुकापाक्षबाट नेपालमण्डलसम्म ल्याइपुर्‍याइएको रातो मच्छिन्द्रलाई यहाँका रैथानेले विविध धर्म, संस्कृति, आस्था र परम्पराका एक साझा अराध्यदेवको रूपमा प्रतिस्थापित गरे । बहुल धार्मिक आस्था, रीति, संस्कारबीच समन्वय र सहअस्तित्वको जीवन्त सम्पदाका रूपमा पनि निरन्तरता दिए ।

विशिष्ट सौन्दर्यचेत र शिल्प

समुदाय र व्यक्तिको उत्साह, उमंग, अन्तर्मनको खुसी अभिव्यक्त गर्ने एउटा सार्वजनिक अवसर हो– जात्रा, पर्व, मेला । यसका अनेकन् स्वरूप हुन सक्छन् । त्यसैले नाचगान, बाजागाजा, सांस्कृतिक गतिविधि, मनोरञ्जन जात्राको अनिवार्य पाटो हो । व्यक्तिलाई अनुवन्धित गर्न कुनै अलौकिक आख्यान पनि जात्रासँग गाँसिएकै हुन्छ । तन्त्रसिद्धिको बलमा कलशभित्र कब्जा गरी ल्याइएको थियो बुंगद्यः । यो साकार रूपमा नेपाल प्रवेश भएको थिएन । ललितपुर यम्पि विहारका आचार्य सुनयश्री मिश्रद्वारा योगसिद्धिबाट बुंगद्यःको आकृतिको अनुभूत गरिएअनुसार रातो मुखाकृतिको बुंगद्यःको प्रतिमूर्ति तयार गरियो । अनि त्यही मूर्तिमाथि भक्तजनको सहज पँहुच होस् भनेर रथजात्रा सुरु गरियो । सामान्य बुझाइमा श्रम तथा सामग्रीहरूको व्यवस्थापन हो– रथ निर्माण । त्यसमा सीप, प्रविधि र ज्ञानको उत्तिकै खाँचो हुन्छ । किला, काँटाबिनाको त्यो विशाल बुंगद्यः रथको आकृतिबाटै प्रविधि, शिल्प र क्षमताको सहज बोध हुन्छ । तर, त्योभन्दा महत्त्वपूर्ण पाटो हो– स्थापित संस्कृतिजन्य र आस्थागत भावनालाई सौन्दर्यचेतसहितको भौतिक स्वरूपमा रूपान्तरण गर्ने कलाकारिता, शिल्प र क्षमता ।

उचाइ ३२ हात, चौडाइ ३२ हात, रथको भौतिक आकारको त्यो केवल गणितीय नाप होइन, सांस्कृतिक मान्यताअनुसार ३२ लक्षणले युक्त सिद्धान्तको प्रतीकात्मक बोधगम्य प्रयास पनि हो । रथको धरातलीय आधार ती भीमकाय काठे पांग्राका वृत्त पनि त्यसै मान्यतामा बत्तीसहाते नै छन् । बौद्ध महापण्डित हेमराज शाक्यअनुसार, बुंगद्यः रथको वास्तु संरचना मूलतः बज्रयानी षडाक्षरी बीजमन्त्र ‘ॐयँरँवँलँसुँ’ सिद्धान्तअनुरूप छ । प्रथम बीज अक्षर ॐ ब्रह्माडमण्डल हो, जहाँ रथ खडा गरिन्छ । यँकार वायु र त्यसैको भौतिक आकृति हो गोलाकार रथको चार पांग्रा । रँ बीज अक्षरले अग्निमण्डल बोध गराउँछ, जसको प्रतीकस्वरूप ज्वालायुक्त त्रिनेत्र हो, जुन पांग्रामा अंकित छ । वँकार बीज अक्षरले जलमण्डलको बोध गराउँछ, कर्कोटनाग जो जलाधिपति हुन तसर्थ उनलाई अग्रभागमा घःमाःको स्थान दिइएको छ । सोही जलमण्डलबाट उत्पत्ति भएको भूमण्डलको अर्थमा चार मोहदायुक्त रथ खडा गरिन्छ । अनि त्यसमाथि सुँकार बीज अर्थात् सुमेरुमण्डलको अर्थमा बत्तीसहाते रथ बनाइन्छ । शिखर शैलीमा उभ्याइएको रथ यथार्थमा महायानी बौद्ध आस्थाको त्रियोदशभुवन हो अनि त्यसको माथिल्लो स्थान तुषिता भुवन । त्यसैले रथको त्यस शीर्षभागमा सहस्त्र पत्रयुक्त कमल अर्थात् ग्वाराबाय्म्वःमा अमिताम बुद्ध राखिन्छ ।

आधारस्तम्भका रूपमा दुई/दुईवटा गरी बाँधिएका गथांमुग– चार खाँबो अर्थात् आठवटा बौद्ध दर्शनका मूल आधार आर्यअष्टाङ्गिक मार्गका प्रतीकका अर्थमा छन् । त्यसैगरी बुंगद्यः मूर्ति राखिने रथको मुख्यस्थानको चारतिर फर्किएका द्वार पनि स्मृतिज्ञान– चत्तुस्मृत्युपस्थान – काया, वेदना, चित्त र धर्मानुस्मृत्युस्थानलाई बोध गराउने कलात्मक प्रस्तुति हुन् । त्यस वरपर सजाइएका सात–सातवटा स्वर्ण हंस ब्रह्मा, गरुड विष्णु, वृष महेश्वर, वायुपंखी घोडा सूर्यलाई बोध गराउने कलात्मक अभिव्यक्ति हुन् । अनि चारतिरका आठवटा वायुपंखी सिंह स्वयं बुंगमलोकेश्वर हुन् । त्यस्तै रथयात्रालाई बिनाविघ्न सम्पन्न गराउने रक्षकका प्रतिरूप चारवटा पांग्राहरू क्रमशः हलसिद्धि, लुप्तहास, लुन्दी र कुन्दी भैरव मानिन्छ ।

माथिदेखि तलसम्म हरियो पानीफूलबाट ढाकिएको शिखर शैलीको रथ एक अर्थमा पर्वत माला हो भने त्यसको अग्रभागमा गजुरदेखि घःमाःसम्म सजाइएका पताः त्यसै पर्वत मालाबाट बग्दै गरेको पवित्र झरना । आस्था, विश्वास, परम्परा र संस्कारको भावनात्मक तथा अमूर्त पक्षलाई यसरी कलात्मक शैलीमा मूर्त अभिव्यक्ति दिन सक्ने गुण वास्तविक अर्थमा विशिष्ट सौन्दर्यचेत र शिल्प क्षमता हो, जुन बुंगद्यःको रथको वास्तुशैलीले पुष्टि गर्छ ।

समुदाय–सहभागिता र दायित्वबोध

जात्रा हो– हेर्ने, रमाउने र रमिते बन्नेको कमी हुँदैन । तर, बुंगद्यः जात्राजस्ता अमूर्त सांस्कृतिक सम्पदा जीवन्त राख्दा रैथानेहरूमा विद्यमान सांस्कृतिक दायित्वबोध र सामूहिक सहभागिताको परम्परा पनि उजागर हुन्छ । जात्रापूर्व रथ निर्माणार्थ बुंगमती ख्वय्चागांका ब्वसीँ थरका किसानहरूले जंगलबाट आवश्यक काठको चाँजोपाँजो गरिसक्छन् । दुई साताअगावै हाम्वः थरका मानिसहरू रथ बनाउने ठाउँको सीमांकन गर्न काठको किलो गाड्छन् । त्यसैलाई संकेत मानेर वाराही थरका किसानहरू त्यहाँ रथ बनाउन सुरु गर्छन् । भैरबको प्रतीक चार पांग्रामा त्रिनेत्र लेख्ने जिम्मेवारी पुं चित्रकारले निर्वाह गर्छन् । अन्तिम चरणमा माथिदेखि तलसम्म रथलाई जलफूलले सजाउने काम भने यँवाहरूको काँधमा पर्छ । यस अतिरिक्त यँवाहरूले नै रथमा वेतले कस्ने, रथ तान्न डोरी बटार्ने काम गर्नुपर्छ ।

बुंगद्यःको रथारोहण पूर्व सम्पन्न गरिने जलअभिषेक–महास्नान न्हवं पश्चात् मूर्तिको मुखाकृतिको मर्मत र रंगरोगन भने नेकू जातका मानिसहरूले भ्याइसकेका हुन्छन् । रथयात्रा हाँक्ने काम भने ललितपुरकै हिन्दु सम्प्रदायी ‘सेसे बाज्या’ भनेर चिनिने राजोपाध्यायहरूले गर्छन् । रथको गति नियन्त्रणको भूमिका घःकू थरका व्यक्तिहरूलाई दिइएको छ ।

पुजारीको जिम्मा भने बुंगमतीका शाक्यहरू र तान्त्रिक आचार्य बन्धुदत्तका सन्ततिका प्रतिनिधिका रूपमा काठमाडौंका बज्राचार्यहरू पानेजु पदमा हुन्छन् ।

अनौठो र फरक प्रचलन

मूर्ति एउटै, तर तिनको प्रतिस्थापना दुई स्थानका मन्दिरभित्र गरिनुपर्ने बुंगद्यःसम्बन्धी रीति आफैंमा अनौठो छ । सूर्य दक्षिणयाणि हुँदा ललितपुर, तःबहालस्थित मन्दिरमा र उत्तरयाणी हुँदा बुंगमतीको मन्दिरमा छ–छ महिना राखेर पूजाको व्यवस्था गरिनुपर्ने प्रचलन सम्भवत अन्यत्र छैन । वैशाख कृष्ण प्रतिपदा (चउलागाः १) का दिन लगनखेल दबुलीमा बुंगद्यःको न्हवं कलशाभिषेक–जलसिंचलन बौद्धतन्त्र विधिअनुसार भव्य रूपमा सम्पन्न गरिन्छ । तर, यस विधि परम्पराको अन्तर्य भने बुंगद्यः–रातो मच्छिन्द्रनाथको आयु संस्कार त्याग अर्थात् मृत्यु हुनु हो । तसर्थ अभिषेक कर्म सम्पन्नपछि स्थानीय परम्पराअनुसार बाजासहित बुंगद्यःको मूर्तिलाई छोपछाप गरेर शवयात्रा नै गरिन्छ ।

यद्यपि कलशाभिषेकपूर्व नै बुंगद्यःको मूर्तिबाट जीवन्यास विधिबाट हंस उतारिन्छ र त्यसलाई एउटा पवित्र ब्रह्म कलश (ब्रह्मक्वं) भित्र स्थानान्तरण गरिसकिएको हुन्छ । दुई सातासम्म गुह्यस्थानमा सुरक्षित राखिएको सोही ब्रह्मक्वंबाट चैत्र शुक्ल पूर्णिमा (चउलाथ्व १५) का दिन मध्यरातमा बौद्ध तन्त्र विधिअनुसार बुंगद्यःको हंस निकालिन्छ र मूर्तिमा जीवनन्यास गरेर पुनःर्जीवन दिइन्छ ।

बोधिसत्त्वहरू पारमिता गुणबाट निर्वाणको अवस्थामा पुगिसकेको भए पनि आयु संस्कार त्याग नगरी जगत् कल्याणका लागि फेरि लौकिक जीवनमै फर्केर आउँछन् भन्ने महायानी बौद्धहरूमा जुन दार्शनिक मत छ, त्यसैको लाक्षणिक अर्थमा प्रत्येक वर्ष बुंगद्यःको यसरी न्हवं अनि जीवनन्यास गरिन्छ । यथार्थमा बुंगद्यः पुरुष चरित्र हो । फेरि पनि न्हवंपछिको नवजीवन प्रवेशको बुझाइमा एक नवजातक छोरा र छोरीको रूपमा दुवैखाले दश कर्म पनि गरिन्छ ।

साह्रै अनौठो कुरा हो, भोटो जात्रापछि बुंगद्यःको मूर्ति साँझको समयमा बुंगमती फर्काउँदा बुंगमतीका जनसमुदायले छ्वाली र परालको राँको बालेर वातावरणलाई कोलाहल र आतंकपूर्ण बनाउँछन् । भनिन्छ, कामरूपबाट राक्षसगणहरू लुकीछिपी आउन सक्ने र मच्छिन्द्रनाथलाई लुटेर लैजा सक्ने आशंकामा सतर्कताका लागि यस्तो व्यवहार गरिएको हो । तर, त्योभन्दा पनि विचित्र नख्खु खोलापारि पुगेदेखि बुंगमती प्रवेश नहुँदासम्म सहभागी ‘कै भौ’ भनेर समवेत उच्चारण गर्छन् र पुरुषहरू अत्यन्तै अश्लील गाली बक्दै जान्छन् । बुंगमती पुग्दानपुग्दै त्यहाँका महिलाहरू बुंगद्यःलाई अवरोध गर्दछन् अनि लाञ्छना लगाउँछन्– ‘जात्राभरि कहाँकहाँ कताकता गएको होला, कोकोसंग संगत गरेको होला, बुंगमती नगरमा तिमीलाई प्रवेश छैन ।’ अनि प्रचलनअनुसार, बुंगद्यःको प्रतिनिधिस्वरूप पानेजुहरूले क्षमायाचना गरेपछि मात्र मन्दिरभित्र मूर्ति पस्न दिइन्छ ।

ललितपुर नगर परिसरमा मनाइने भए पनि यसलाई उपत्यकाभित्रका सबै समुदायको साझा पर्व हो भन्ने बोध गराउन पुल्चोकबाट गाःबहालसम्मको पहिलो दिनको जात्रालाई कान्तिपुरवासीहरूको जात्रा मानिन्छ । त्यसपछि नुगःसम्म तानिने रथ यात्रालाई भक्तपुरवासीका नाममा समर्पित गरिन्छ । तेस्रो दिन लगनखेलसम्मको यात्राको अंश मात्रै ललितपुरवासीका लागि हो । सबैभन्दा पछिल्लो जाउलाखेलसम्मको रथयात्रा कीर्तिपुर र त्यस वरपरका सात गाउँलेका लागि भनेर मानिन्छ । सबैको अपन्वत्व स्थापित गराउने यस जात्राको यी प्रचलन उल्लेख्य छ ।

...

हजार वर्षभन्दा लामो समयदेखि निरन्तरता पाइरहेको यो सम्पदा/संस्कृतिको अन्तर्य, आशय, मूल्य र मान्यता आजका लागि पनि अनुकरणीय तथा स्तुत्य छ । त्यो हो धार्मिक, आस्थागत बहुलतामा समन्वय, सहअस्तित्व र सहकार्यको सामाजिक भावना । अनि सार्वजनिक परम्परा, संस्कृति, रीति र सम्पदाको सवालमा समुदायगत दायित्वबोध र जिम्मेवारी निर्वाहमा प्रतिबद्धताको जीवन्तता ।

यस जात्राले स्थापित गरेको सबैभन्दा सुन्दर, प्रशंसनीय आदर्श हो– देसवासी र मुलुकलाई विपद् पर्दा बुंगद्यः ल्याउन कामारूपसम्मको अति कठोर यात्राको अगुवाइमा तत्कालीन शासक नरेन्द्रदेव आफैं अघि सरे, बन्धुदत्त आचार्यजस्ता बौद्धिक व्यक्तित्वको निर्णायक भूमिका रह्यो । अनि श्रमिक वर्गको रथंचक्र/ललित ज्यापूको सहभागिता र तत्कालीन सामाजिक मूलप्रवाहबाहिरको कर्कोटनागसमेतको समावेश आवश्यक ठानियो । त्यही सहकार्य र साझा प्रयासबाटै नेपाल राष्ट्रको संकटमोचन भयो । यो कार्यशैली, भावना र आदर्श आजको नेपालका लागि पनि उत्तिकै अनुकरणीय छ ।

https://ekantipur.com/koseli/2023/05/27/168515365190862073.html

रातो मत्स्येन्द्रनाथ : कालो ब्यानर

 तारालाल श्रेष्ठ

रातो मत्स्येन्द्रनाथ कृषि सभ्यताका देउता हुन् र याकःमिसा मातृसत्तात्मक शक्तिकी विम्ब । जल, जमिन, जंगलसाग जोडिएको जीवित शक्तिसम्पदाका प्रतीकलाई बन्द कोठामा थुन्नु हुन्न ।

याकःमिसा मिथक
कीर्तिपुर बाघभैरव फल्चामा एक अजा मलाई हेरेर मुस्कुराउनुभयो । मैले टुटेफुटेको नेपालभाषा (नेवार भाषा) मा ‘जानय् धुन ला ?’ (खाना खानुभयो) भनेर सोधेँ । उहाँ मसँग सहज किसिमले बोल्नुभयो । कीर्तिपुरकी याकःमिसा (एक्ली केटी) र करुणामय रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति प्रतिस्थापनपछि समुदाय नेवाः समुदाय विभाजित छ । कतिपय भन्छन्, ‘प्रतिमूर्ति हटाउनैपर्छ ।’



कोही ‘यसबारे कुरै नगर्नुस्’ भन्छन् । एक समूह रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति प्रतिस्थापित परिसरमा कालो व्यानर टाँगेर ‘खबरदार, करुणामय हटाउन दिनौं’ भन्दै छन् । अजासँग विभाजित विषयको कुरा गर्नु थिएन । फल्चामा बस्दै बिस्तारै सोधेँ, ‘रातो मत्स्येन्द्रनाथसँग याकः मिसाको कस्तो सम्बन्ध जोडिएको रहेछ ?’

मीठो बुढ्यौली मुस्कानसहित अजाले अलि भिन्न एउटा कथा सुनाउनुभयो, ‘बाघभैरवको पश्चिम, उमामहेश्वरको उत्तर डाँडा प्यंगः थांमा बुङ्मतीबाट रातो मत्स्येन्द्रनाथ घुम्दै आइपुग्नुभएछ । कीर्तिपुरकी एक्ली कन्यासँग उहाँको ‘मतिना जुल’ (प्रेम बसेछ) । ढुङ्गामा बसेर करुणामयले आफ्नो औंठी याकःमिसालाई दिनुभएछ । ललितपुरमा रथयात्रा तयारी भयो । महास्नानपछि शृङ्गारपटार गर्दै जाँदा करुणामयको औंलामा औंठी छैन । विलम्ब भइगयो, औंठीबिनै रथयात्रा अघि बढाइयो । कीर्तिपुरको याकःमिसा पूजाका लागि ललितपुर पुग्नुभयो । कन्याको औंलामा औंठी देखेर पाञ्जुहरूले ‘हाम्रो करुणामयको औंठी’ भन्दै लिनुभएछ । याकःमिसा रिसाएर कीर्तिपुर फर्किनुभयो । करुणामयको रथयात्रा अघि र रथ ठटी पुगेपछि पाञ्जुहरूसहित फुलप्रसाद लिई याकःमिसालाई खुसी पार्न कीर्तिपुर आउन थालेछ । ठटीमा रथ राखिराख्दा पहिले ढोका थुनेर साइत नभएसम्म पूजा बन्द गरिन्थ्यो । करुणामय कीर्तिपुरमा हुनुहुन्छ भनिन्थ्यो । यसरी यो परम्परा जारी भयो ।’

रातो मत्स्येन्द्रनाथ–याकःमिसासँग जोडिएका अनेकौं मिथक छन् । अलग धर्मावलम्बीको भिन्न व्याख्या छन् । अवलोकितेश्वरलाई अतिरञ्जित रोमान्टिक प्रेमी–प्रेमिकासँग जोड्न नमिल्ने तर्क छन् । यद्यपि रातो मत्स्येन्द्रनाथसँग जोडेर स्वच्छन्द मिथकहरू स्वदेशी–विदेशी अध्येताले उल्लेख गरेका छन् । कीर्तिपुर प्यंगः थांमा प्रतिमूर्ति प्रतिस्थापना विवादले रातो मत्स्येन्द्रनाथ–याकःमिसाको मिथकप्रति पनि धेरैको ध्यानाकर्षण भएको देखिन्छ ।

संस्कृतिमाथि राजनीति

ललितपुरबाट मत्स्येन्द्रनाथको भोटो जात्राको चार दिनअघि पाञ्जुहरू खाली खुट्टा पैदल याकःमिसालाई फूलप्रसाद चढाउन कीर्तिपुर आउने परम्परा १६७९ वर्षअघिदेखि जारी थियो भनिन्छ । स्थानीय सरकारको गठनपछि पाञ्जुहरूलाई कीर्तिपुरमा बाजागाजासहित स्वागत गर्न थालियो । कीर्तिपुरको प्रतिनिधिलाई भोटो जात्राका दिन पास प्रदान गरी पाटनमा देवता नजिकै राख्न पनि थालियो । सुखी गःछेँ समाज करुणामय–याकःमिसाको मिलन स्थलको ‘मार्कर स्टोन’ सँगै प्रतिमूर्ति स्थापनामा सक्रिय भयो । कीर्तिपुर नगरपालिकाले असोज ११ गते र पुरातत्त्व विभागले कात्तिक २ गते गर्भगृह अर्थात् परम्परादेखि पूजा गर्दै आएको शिलामा कुनै असर नपर्नेगरी सिफारिस दिए । कीर्तिपुर नगरपालिकाले काठमाडौं नगरपालिकालाई आर्थिक सहयोगका लागि पनि सिफारिस गर्‍यो । २०७९ मंसिर १५ गते दुलही भित्र्याएझैं ललितपुरबाट मत्स्येन्द्रनाथसहित याकःमिसाको धातुको प्रतिमूर्ति ल्याएर कीर्तिपुरमा प्रतिस्थापन गरियो ।

प्रतिमूर्ति हस्तान्तरणका प्रमुख अतिथि थिए, काठमाडौंका मेयर बालेन्द्र शाह । बजेट पनि काठमाडौं महानगरपालिकाले दिएको थियो । ललितपुरमा आयोजित प्रतिमूर्ति हस्तान्तरणमा ललितपुरका मेयर उपस्थित भएनन्, कीर्तिपुरका मेयर पनि अनुपस्थित थिए, उपमेयर र वडाअध्यक्षहरू मात्रै उपस्थित थिए । ज्योतिष कीर्तिकिरण जोशी, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ पाञ्जु कपिलमुनि बज्राचार्य, पाञ्जु संघका अध्यक्ष यज्ञरत्न शाक्यसँग प्रतिमूर्ति प्रतिस्थापनका लागि सहमति लिएको दाबी सुखी गःछेँ समाजको छ । सत्यमोहनले कीर्तिपुर एक ठाउँमा मात्रै उक्त प्रतिमूर्ति राख्न मिल्छ, अन्यत्र मिल्दैन भनेको दाबी पनि समाजको छ । पछि पाञ्जुहरूले मत्स्येन्द्रनाथ–याकःमिसाको प्रतिमूर्ति राख्नै मिल्दैन भन्न थाले ।

कीर्तिपुर नगरपालिकाको सिफारिसको आधारमा पुरातत्त्व विभागबाट सहमतिपत्र दिइएको देखिन्छ । प्रतिमूर्ति प्रतिस्थापनाको चार दिनपछि ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले समिति तथा कलाकार दुवैलाई असहमति जनाउँदा जनाउँदै पनि प्रतिमूर्ति प्रतिस्थापना गरेको आरोप लगायो । शक्तिस्वरूपा कन्या कुमारी याकःमिसाको वार्षिक प्रसाद ग्रहणको औचित्य नै समाप्त भएको भन्दै खेद प्रकट गर्‍यो । संघका अध्यक्षको हस्ताक्षरसहित पुनः पुस ३ गते अर्को विज्ञप्ति पनि जारी भयो । विज्ञप्तिमा लिखित सहमतिबेगर जबर्जस्ती प्रतिमूर्ति स्थापना गरी जीवित सम्पदामाथि प्रत्यक्ष प्रहार गरेको आरोप छ । युगौंयुगदेखिको ऐतिहासिक सांस्कृतिक परम्परालाई तोडमोड गरी शक्तिस्वरूपा कन्या याकःमिसालाई करुणामयको प्रेमिकाका रूपमा भ्रामक प्रचारप्रसार गरेको भन्दै घोर आपत्ति जनाइएको छ । उक्त स्थानमा प्रतिमूर्ति रहुन्जेल कीर्तिपुरमा प्रसाद ग्रहण कार्य बन्द गर्ने सर्वसम्मत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

२०७९ पुस २५ गते पुरातत्त्व विभागले काठमाडौं महानगरपालिकालाई पत्र पठायो । प्रतिमूर्ति स्थापनाका लागि दिइएको सहमतिले परम्परामा आँच आउनुका साथै सामाजिक सदभाव तथा एकतालाई समेत असर पार्ने देखिएकाले प्रतिस्थापित प्रतिमूर्ति हटाउन अनुरोध गर्‍यो । काठमाडौं महानगरपालिकाले प्रतिस्थापित भइसकेको प्रतिमूर्ति कुनै पनि हालतमा नहटाउने टोल भेलाबाट निर्णय भएको उल्लेख गर्दै प्रतिउत्तर पठायो । ललितपुर महानगरपालिकाले चैत १४ गते अनिवार्य उपस्थिति भन्दै बैठक बोलायो । पुरातत्त्व विभागको पत्राचारअनुसार नै प्रतिमूर्ति हटाउने निर्णय गरायो । भोलिपल्टै सुखी गःछेँ समाजले ललितपुरको मेयरको कदमलाई हास्यास्पद र एकपक्षीय निर्णय अमान्य भन्यो । पुरातत्त्वले मूर्ति हटाई सहयोग गरिदिन ताकेता गर्‍यो । ज्यापू समाज, यलले पनि पुरातत्त्व विभाग, ललितपुर महानगरपालिका र पाञ्जु संघको निर्णयमा ऐक्यबद्धता जनायो ।

कीर्तिपुर नगरपालिकाका मेयरले ललितपुर बैठकमा सरकारी निर्देशन मान्छु भन्दै हस्ताक्षर गरिसकेका थिए । नगरपालिकाले कीर्तिपुरका छलफलका लागि डाक्यो । प्रतिमूर्ति हटाई नगरपालिकाको जिम्मेवारीमा व्यवस्थापन गर्ने निर्णय गर्‍यो । सुखी गःछेँ समाजले विज्ञप्ति जारी गरी निर्णय अमान्य भन्यो । सहमतिका लागि संवाद गर्नुको साटो समुदाय नै विभाजित हुने अवस्था आएकाले अप्रिय घटना घटेमा सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने भन्दै एक सय ५ जनाको हस्ताक्षरसहित कीर्तिपुरका नागरिक समाजबाट विज्ञप्ति सार्वजनिक भयो ।

यसरी कीर्तिपुरमा यसबारे सार्वजनिक रूपमा बोल्नसमेत सहज देखिन्न । वर्तमान मेयर भन्छन्, ‘प्रतिमूर्ति फिर्ता नपठाई अनिष्ट भयो भने जिम्मेवारी कसले लिन्छ ?’ निवर्तमान मेयरलगायत कतिपयले भन्छन्, ‘प्रतिस्थापित प्रतिमूर्ति फिर्ता पठाउँदा अनिष्ट भयो भनेचाहिँ को जिम्मेवार ?’

अबको बाटो

प्रतिमूर्तिलाई प्रतिस्थापित मन्दिरभित्र ताला लगाएर राखिएको छ । प्यगः थां प्रवेशगेट र भित्री चोकमा ‘खबरदार’ लेखिएको ब्यानर टाँगिएका छन् । बुङ्मती घुमेर बुझ्दा ‘कीर्तिपुरेले गर्नै नहुने काम गर्‍यो’ भन्छन्, सर्वसाधारण पनि । पाञ्जुहरूले ‘बेठीक गरे’ भन्ने नै भए । ललितपुरमा पनि ‘बेठीक गर्‍यो’ भन्नेहरू बढी भेटिन्छन् । कीर्तिपुरमै थुप्रै नागरिक प्यगःथांबाट प्रतिमूर्ति हटाई परम्पराको निरन्तरता पक्षमा देखिन्छन् । ललितपुरकी छोरी कीर्तिपुरकी बुहारी बताउने एक स्थानीय भन्छिन्, ‘ब्यानरमा लेखिएको शब्दलाई सबैले चर्को स्वरमा पढ्छन्, खबरर्दार... करुणामयलाई लान दिन्नौं । कालो ब्यानरमा खबरर्दार शब्द निकै चर्को सुनिदो रहेछ । बल्ल पो बुझेँ, एउटा शब्द चयन र रङ्ग छनोटले कति धेरै फरक पार्दो रहेछ ।’

करुणामय रातो मत्स्येन्द्रनाथको प्रतिमूर्तिसँगै खबरदार ब्यानरबीच अनिष्ट हुन सक्ने सङ्कथनहरू भुनभुनाइरहेछन् । कोही भन्दै छन्, ‘देउता राख्दा पनि कहीँ अनिष्ट हुन्छ र ? देउताले बरु अनिष्टबाट बचाउँछ ।’ बनिसकेको भगवान्लाई ‘डिस्पोज’ गर्न मिल्दैन । ‘प्रतिस्थापित देउतालाई झिकेर अन्धकार कोठाभित्र थुनेर राख्नु पनि पाप हो’ भन्नेहरू भेटिन्छन् । जीवन्यास गरिनसकेकाले प्रतिमूर्ति देवता भइसकेको छैन । यसर्थ कीर्तिपुरस्थित नवनिर्मित म्युजियममा राख्न सुझाउने पनि छन् । रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति अन्यत्र पनि प्रशस्त प्रतिस्थापित छन् । काठमाडौंको संकटा मन्दिरमा पद्मपाणी लोकेश्वर रातो मत्स्येन्द्रनाथनाथको प्रस्तरको प्रतिमूर्ति छन्, ललितपुरमा पनि थुप्रै रहेछन् । उत्सवका साथ प्रतिस्थापित प्रतिमूर्तिलाई हटाई बन्दीझैं अन्धकार कोठामा थुनेर राख्नुस् भन्नु दूधपानी मिसिएपछि छुट्याउनुस् भन्नुझैं भयो ।

काठमाडौंको बजेटमा ललितपुरको सबैभन्दा प्रसिद्ध देवता कीर्तिपुरमा प्रतिमूर्ति प्रतिस्थापन गरियो । अब तीनै जना मेयर बसेर मुख्यमुख्य सरोकारवालासँग खुला संवादसँगै समस्या समाधान गर्न सकिन्छ, किन सकिन्न ? अनाज, वर्षा र सहकालका भगवान्प्रति यति बढी मायाममता रहेछ, सबैलाई । उपत्यकाको अन्नको आधारभूमि जल, जंगल र जमिन जोगाउने उपाय पनि निकाल्नुस् न मेयरसापहरू । सरोकारवालाहरू तपाईंहरूको साथमा हुन्छन्, हुनैपर्छ । काठमाडौं उपत्यका नै ‘खुला म्युजियम’ हो ।

रातो मत्स्येन्द्रनाथ कृषि सभ्यताका देवता हुन् । अनि याकःमिसा मातृसत्तात्मक शक्तिकी विम्ब । त्यसैले त ३२ पुरुष पाञ्जु फूलप्रसाद लिएर कीर्तिपुरकी एक्ली कन्याकहाँ आएका होलान् । प्रेमिका भेट्न प्रेमीहरू फूलप्रसाद लिएर पक्कै आउन्नन् । यस्तो जल, जमिन, जंगलसँग जोडिएको जीवित शक्तिसम्पदाका प्रतीकहरूलाई बन्द कोठामा थुन्नु हुन्न । कृषि सभ्यतालाई सजाउन शक्तिस्वरूपा कीर्तिपुरकी कन्या र करुणामयको जीवन्त जैविक इतिहास खोतलौं, अन्धविश्वास र सामन्ती संस्कारमा नअल्झीकन ।

https://ekantipur.com/koseli/2023/04/22/16821301882539323.html