रातो मत्स्येन्द्रनाथ कृषि सभ्यताका देउता हुन् र याकःमिसा मातृसत्तात्मक शक्तिकी विम्ब । जल, जमिन, जंगलसाग जोडिएको जीवित शक्तिसम्पदाका प्रतीकलाई बन्द कोठामा थुन्नु हुन्न ।
याकःमिसा मिथक
कीर्तिपुर बाघभैरव फल्चामा एक अजा मलाई हेरेर मुस्कुराउनुभयो । मैले टुटेफुटेको नेपालभाषा (नेवार भाषा) मा ‘जानय् धुन ला ?’ (खाना खानुभयो) भनेर सोधेँ । उहाँ मसँग सहज किसिमले बोल्नुभयो । कीर्तिपुरकी याकःमिसा (एक्ली केटी) र करुणामय रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति प्रतिस्थापनपछि समुदाय नेवाः समुदाय विभाजित छ । कतिपय भन्छन्, ‘प्रतिमूर्ति हटाउनैपर्छ ।’
मीठो बुढ्यौली मुस्कानसहित अजाले अलि भिन्न एउटा कथा सुनाउनुभयो, ‘बाघभैरवको पश्चिम, उमामहेश्वरको उत्तर डाँडा प्यंगः थांमा बुङ्मतीबाट रातो मत्स्येन्द्रनाथ घुम्दै आइपुग्नुभएछ । कीर्तिपुरकी एक्ली कन्यासँग उहाँको ‘मतिना जुल’ (प्रेम बसेछ) । ढुङ्गामा बसेर करुणामयले आफ्नो औंठी याकःमिसालाई दिनुभएछ । ललितपुरमा रथयात्रा तयारी भयो । महास्नानपछि शृङ्गारपटार गर्दै जाँदा करुणामयको औंलामा औंठी छैन । विलम्ब भइगयो, औंठीबिनै रथयात्रा अघि बढाइयो । कीर्तिपुरको याकःमिसा पूजाका लागि ललितपुर पुग्नुभयो । कन्याको औंलामा औंठी देखेर पाञ्जुहरूले ‘हाम्रो करुणामयको औंठी’ भन्दै लिनुभएछ । याकःमिसा रिसाएर कीर्तिपुर फर्किनुभयो । करुणामयको रथयात्रा अघि र रथ ठटी पुगेपछि पाञ्जुहरूसहित फुलप्रसाद लिई याकःमिसालाई खुसी पार्न कीर्तिपुर आउन थालेछ । ठटीमा रथ राखिराख्दा पहिले ढोका थुनेर साइत नभएसम्म पूजा बन्द गरिन्थ्यो । करुणामय कीर्तिपुरमा हुनुहुन्छ भनिन्थ्यो । यसरी यो परम्परा जारी भयो ।’
रातो मत्स्येन्द्रनाथ–याकःमिसासँग जोडिएका अनेकौं मिथक छन् । अलग धर्मावलम्बीको भिन्न व्याख्या छन् । अवलोकितेश्वरलाई अतिरञ्जित रोमान्टिक प्रेमी–प्रेमिकासँग जोड्न नमिल्ने तर्क छन् । यद्यपि रातो मत्स्येन्द्रनाथसँग जोडेर स्वच्छन्द मिथकहरू स्वदेशी–विदेशी अध्येताले उल्लेख गरेका छन् । कीर्तिपुर प्यंगः थांमा प्रतिमूर्ति प्रतिस्थापना विवादले रातो मत्स्येन्द्रनाथ–याकःमिसाको मिथकप्रति पनि धेरैको ध्यानाकर्षण भएको देखिन्छ ।
संस्कृतिमाथि राजनीति
ललितपुरबाट मत्स्येन्द्रनाथको भोटो जात्राको चार दिनअघि पाञ्जुहरू खाली खुट्टा पैदल याकःमिसालाई फूलप्रसाद चढाउन कीर्तिपुर आउने परम्परा १६७९ वर्षअघिदेखि जारी थियो भनिन्छ । स्थानीय सरकारको गठनपछि पाञ्जुहरूलाई कीर्तिपुरमा बाजागाजासहित स्वागत गर्न थालियो । कीर्तिपुरको प्रतिनिधिलाई भोटो जात्राका दिन पास प्रदान गरी पाटनमा देवता नजिकै राख्न पनि थालियो । सुखी गःछेँ समाज करुणामय–याकःमिसाको मिलन स्थलको ‘मार्कर स्टोन’ सँगै प्रतिमूर्ति स्थापनामा सक्रिय भयो । कीर्तिपुर नगरपालिकाले असोज ११ गते र पुरातत्त्व विभागले कात्तिक २ गते गर्भगृह अर्थात् परम्परादेखि पूजा गर्दै आएको शिलामा कुनै असर नपर्नेगरी सिफारिस दिए । कीर्तिपुर नगरपालिकाले काठमाडौं नगरपालिकालाई आर्थिक सहयोगका लागि पनि सिफारिस गर्यो । २०७९ मंसिर १५ गते दुलही भित्र्याएझैं ललितपुरबाट मत्स्येन्द्रनाथसहित याकःमिसाको धातुको प्रतिमूर्ति ल्याएर कीर्तिपुरमा प्रतिस्थापन गरियो ।
प्रतिमूर्ति हस्तान्तरणका प्रमुख अतिथि थिए, काठमाडौंका मेयर बालेन्द्र शाह । बजेट पनि काठमाडौं महानगरपालिकाले दिएको थियो । ललितपुरमा आयोजित प्रतिमूर्ति हस्तान्तरणमा ललितपुरका मेयर उपस्थित भएनन्, कीर्तिपुरका मेयर पनि अनुपस्थित थिए, उपमेयर र वडाअध्यक्षहरू मात्रै उपस्थित थिए । ज्योतिष कीर्तिकिरण जोशी, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ पाञ्जु कपिलमुनि बज्राचार्य, पाञ्जु संघका अध्यक्ष यज्ञरत्न शाक्यसँग प्रतिमूर्ति प्रतिस्थापनका लागि सहमति लिएको दाबी सुखी गःछेँ समाजको छ । सत्यमोहनले कीर्तिपुर एक ठाउँमा मात्रै उक्त प्रतिमूर्ति राख्न मिल्छ, अन्यत्र मिल्दैन भनेको दाबी पनि समाजको छ । पछि पाञ्जुहरूले मत्स्येन्द्रनाथ–याकःमिसाको प्रतिमूर्ति राख्नै मिल्दैन भन्न थाले ।
कीर्तिपुर नगरपालिकाको सिफारिसको आधारमा पुरातत्त्व विभागबाट सहमतिपत्र दिइएको देखिन्छ । प्रतिमूर्ति प्रतिस्थापनाको चार दिनपछि ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले समिति तथा कलाकार दुवैलाई असहमति जनाउँदा जनाउँदै पनि प्रतिमूर्ति प्रतिस्थापना गरेको आरोप लगायो । शक्तिस्वरूपा कन्या कुमारी याकःमिसाको वार्षिक प्रसाद ग्रहणको औचित्य नै समाप्त भएको भन्दै खेद प्रकट गर्यो । संघका अध्यक्षको हस्ताक्षरसहित पुनः पुस ३ गते अर्को विज्ञप्ति पनि जारी भयो । विज्ञप्तिमा लिखित सहमतिबेगर जबर्जस्ती प्रतिमूर्ति स्थापना गरी जीवित सम्पदामाथि प्रत्यक्ष प्रहार गरेको आरोप छ । युगौंयुगदेखिको ऐतिहासिक सांस्कृतिक परम्परालाई तोडमोड गरी शक्तिस्वरूपा कन्या याकःमिसालाई करुणामयको प्रेमिकाका रूपमा भ्रामक प्रचारप्रसार गरेको भन्दै घोर आपत्ति जनाइएको छ । उक्त स्थानमा प्रतिमूर्ति रहुन्जेल कीर्तिपुरमा प्रसाद ग्रहण कार्य बन्द गर्ने सर्वसम्मत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
२०७९ पुस २५ गते पुरातत्त्व विभागले काठमाडौं महानगरपालिकालाई पत्र पठायो । प्रतिमूर्ति स्थापनाका लागि दिइएको सहमतिले परम्परामा आँच आउनुका साथै सामाजिक सदभाव तथा एकतालाई समेत असर पार्ने देखिएकाले प्रतिस्थापित प्रतिमूर्ति हटाउन अनुरोध गर्यो । काठमाडौं महानगरपालिकाले प्रतिस्थापित भइसकेको प्रतिमूर्ति कुनै पनि हालतमा नहटाउने टोल भेलाबाट निर्णय भएको उल्लेख गर्दै प्रतिउत्तर पठायो । ललितपुर महानगरपालिकाले चैत १४ गते अनिवार्य उपस्थिति भन्दै बैठक बोलायो । पुरातत्त्व विभागको पत्राचारअनुसार नै प्रतिमूर्ति हटाउने निर्णय गरायो । भोलिपल्टै सुखी गःछेँ समाजले ललितपुरको मेयरको कदमलाई हास्यास्पद र एकपक्षीय निर्णय अमान्य भन्यो । पुरातत्त्वले मूर्ति हटाई सहयोग गरिदिन ताकेता गर्यो । ज्यापू समाज, यलले पनि पुरातत्त्व विभाग, ललितपुर महानगरपालिका र पाञ्जु संघको निर्णयमा ऐक्यबद्धता जनायो ।
कीर्तिपुर नगरपालिकाका मेयरले ललितपुर बैठकमा सरकारी निर्देशन मान्छु भन्दै हस्ताक्षर गरिसकेका थिए । नगरपालिकाले कीर्तिपुरका छलफलका लागि डाक्यो । प्रतिमूर्ति हटाई नगरपालिकाको जिम्मेवारीमा व्यवस्थापन गर्ने निर्णय गर्यो । सुखी गःछेँ समाजले विज्ञप्ति जारी गरी निर्णय अमान्य भन्यो । सहमतिका लागि संवाद गर्नुको साटो समुदाय नै विभाजित हुने अवस्था आएकाले अप्रिय घटना घटेमा सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने भन्दै एक सय ५ जनाको हस्ताक्षरसहित कीर्तिपुरका नागरिक समाजबाट विज्ञप्ति सार्वजनिक भयो ।
यसरी कीर्तिपुरमा यसबारे सार्वजनिक रूपमा बोल्नसमेत सहज देखिन्न । वर्तमान मेयर भन्छन्, ‘प्रतिमूर्ति फिर्ता नपठाई अनिष्ट भयो भने जिम्मेवारी कसले लिन्छ ?’ निवर्तमान मेयरलगायत कतिपयले भन्छन्, ‘प्रतिस्थापित प्रतिमूर्ति फिर्ता पठाउँदा अनिष्ट भयो भनेचाहिँ को जिम्मेवार ?’
अबको बाटो
प्रतिमूर्तिलाई प्रतिस्थापित मन्दिरभित्र ताला लगाएर राखिएको छ । प्यगः थां प्रवेशगेट र भित्री चोकमा ‘खबरदार’ लेखिएको ब्यानर टाँगिएका छन् । बुङ्मती घुमेर बुझ्दा ‘कीर्तिपुरेले गर्नै नहुने काम गर्यो’ भन्छन्, सर्वसाधारण पनि । पाञ्जुहरूले ‘बेठीक गरे’ भन्ने नै भए । ललितपुरमा पनि ‘बेठीक गर्यो’ भन्नेहरू बढी भेटिन्छन् । कीर्तिपुरमै थुप्रै नागरिक प्यगःथांबाट प्रतिमूर्ति हटाई परम्पराको निरन्तरता पक्षमा देखिन्छन् । ललितपुरकी छोरी कीर्तिपुरकी बुहारी बताउने एक स्थानीय भन्छिन्, ‘ब्यानरमा लेखिएको शब्दलाई सबैले चर्को स्वरमा पढ्छन्, खबरर्दार... करुणामयलाई लान दिन्नौं । कालो ब्यानरमा खबरर्दार शब्द निकै चर्को सुनिदो रहेछ । बल्ल पो बुझेँ, एउटा शब्द चयन र रङ्ग छनोटले कति धेरै फरक पार्दो रहेछ ।’
करुणामय रातो मत्स्येन्द्रनाथको प्रतिमूर्तिसँगै खबरदार ब्यानरबीच अनिष्ट हुन सक्ने सङ्कथनहरू भुनभुनाइरहेछन् । कोही भन्दै छन्, ‘देउता राख्दा पनि कहीँ अनिष्ट हुन्छ र ? देउताले बरु अनिष्टबाट बचाउँछ ।’ बनिसकेको भगवान्लाई ‘डिस्पोज’ गर्न मिल्दैन । ‘प्रतिस्थापित देउतालाई झिकेर अन्धकार कोठाभित्र थुनेर राख्नु पनि पाप हो’ भन्नेहरू भेटिन्छन् । जीवन्यास गरिनसकेकाले प्रतिमूर्ति देवता भइसकेको छैन । यसर्थ कीर्तिपुरस्थित नवनिर्मित म्युजियममा राख्न सुझाउने पनि छन् । रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति अन्यत्र पनि प्रशस्त प्रतिस्थापित छन् । काठमाडौंको संकटा मन्दिरमा पद्मपाणी लोकेश्वर रातो मत्स्येन्द्रनाथनाथको प्रस्तरको प्रतिमूर्ति छन्, ललितपुरमा पनि थुप्रै रहेछन् । उत्सवका साथ प्रतिस्थापित प्रतिमूर्तिलाई हटाई बन्दीझैं अन्धकार कोठामा थुनेर राख्नुस् भन्नु दूधपानी मिसिएपछि छुट्याउनुस् भन्नुझैं भयो ।
काठमाडौंको बजेटमा ललितपुरको सबैभन्दा प्रसिद्ध देवता कीर्तिपुरमा प्रतिमूर्ति प्रतिस्थापन गरियो । अब तीनै जना मेयर बसेर मुख्यमुख्य सरोकारवालासँग खुला संवादसँगै समस्या समाधान गर्न सकिन्छ, किन सकिन्न ? अनाज, वर्षा र सहकालका भगवान्प्रति यति बढी मायाममता रहेछ, सबैलाई । उपत्यकाको अन्नको आधारभूमि जल, जंगल र जमिन जोगाउने उपाय पनि निकाल्नुस् न मेयरसापहरू । सरोकारवालाहरू तपाईंहरूको साथमा हुन्छन्, हुनैपर्छ । काठमाडौं उपत्यका नै ‘खुला म्युजियम’ हो ।
रातो मत्स्येन्द्रनाथ कृषि सभ्यताका देवता हुन् । अनि याकःमिसा मातृसत्तात्मक शक्तिकी विम्ब । त्यसैले त ३२ पुरुष पाञ्जु फूलप्रसाद लिएर कीर्तिपुरकी एक्ली कन्याकहाँ आएका होलान् । प्रेमिका भेट्न प्रेमीहरू फूलप्रसाद लिएर पक्कै आउन्नन् । यस्तो जल, जमिन, जंगलसँग जोडिएको जीवित शक्तिसम्पदाका प्रतीकहरूलाई बन्द कोठामा थुन्नु हुन्न । कृषि सभ्यतालाई सजाउन शक्तिस्वरूपा कीर्तिपुरकी कन्या र करुणामयको जीवन्त जैविक इतिहास खोतलौं, अन्धविश्वास र सामन्ती संस्कारमा नअल्झीकन ।
https://ekantipur.com/koseli/2023/04/22/16821301882539323.html
No comments:
Post a Comment