Tuesday, November 28, 2023

पाटनका साहुको ल्हासा–कनेक्सन

 हिमेश

काठमाडौंका नेवारले सातौं शताब्दीदेखि नै तिब्बत पुगेर व्यापार थालेका थिए, सिंहसार्थ बाहु र सुरतवज्र त मिथ नै बनेका छन् । पाटनका नेवार ल्हासा–व्यापारीका कथा भने विरलै सुनिन्छ । तर, तिनका सन्ततिलाई सोधे थाहा पाइन्छ– उनीहरूको ल्हासा–कनेक्सन पनि उत्तिकै रोमाञ्चक थियो ।

सिंहसार्थ बाहु– यी हुन् नेपाली दन्त्यकथाका एक नायक । भनिन्छ, उनै थिए पहिलो नेवार व्यापारी, जसले तिब्बत गएर व्यापार सुरु गरे, धेरै–धेरै वर्षअघि । हजारौं वर्षअघि, जतिबेला उनी केही साथीहरूसँग तिब्बत छाडेर काठमाडौं फर्किरहेका थिए, बाटोमा कहीं कतै पुगेर एक हूल सुन्दर महिलाको समूहमा बरालिए । आफू व्यापारी भएको पनि बिर्से । मोजमस्तीमै रमाए । असलमा त्यो थियो दैत्यको समूह । तर, बोधिसत्वले एक दिन उनलाई सम्झाए, ‘तिमी त व्यापारका लागि आएका थियौ । त्यसैले भाग । नत्र मर्नेछौ ।’ अनि भनिएको थियो– ‘भाग्ने बेला पछाडि नफर्क, घोडामा भाग्ने क्रममा जो–जो पछाडि फर्के, तिनीहरू कहिल्यै घर फर्किन सकेनन् ।’ खालि एकै जना मात्रै बाँचे, ती थिए– उनै सिंहसार्थ बाहु । उनै थिए एक्लो, जसले पछाडि फर्केर हेरेनन् ।

अब अर्को कथा, असनको तक्षे बहाः का सुरतवज्रको । उनी पनि तन्त्रमन्त्रका ठूला साधक थिए, व्यापारकै क्रममा तिब्बत पुगेका । तर, घर फर्किन पाइरहेका थिएनन् । एक दिन उनले साधनाकै क्रममा के देखे भने काठमाडौंको उनको घरमा आगो लागेको रहेछ । ठीक त्यही बेला उनी तिब्बतको कसैको घरमा पाहुना बनेर चिया खाइरहेका थिए । तन्त्रसाधनाकै बलले उनले आफूले पिएको चिया फुके । उनको क्रियाकलाप हेरिरहेका सबैले अचम्म माने । तर, ठीक त्यही बेला काठमाडौंमा एकाएक अचम्मसँग घनघोर पानी पर्‍यो । उनको घरमा थप क्षति पुगेन, आगो निभ्यो । पछि सुरतवज्रले आफूले के गरेको हुँ भन्ने सबैलाई सुनाए । सबै फेरि एकपल्ट साह्रै अचम्ममा परे । यी त भए साँच्चै हजारौं वर्ष पुरानो कथा । यसलाई कथा भनौं कि काठमाडौंका नेवारमा अझै विद्यमान रहेको विश्वास ?

सातौं शताब्दीदेखि नै काठमाडौंका नेवारले तिब्बतमा गएर व्यापार सुरु गरेको मानिन्छ । नेपाली राजकुमारी भृकुटी तिब्बत गएयता यो क्रम सुरु भएको पनि विश्वास छ । यो त साँच्चै धेरै अघिदेखिको कुरा भयो । सिंहसार्थ बाहु र सुरतवज्रका जस्ता अरू पनि धेरै कथा छन् । हजारौं वर्षको अन्तरमा यस्ता कथा त बन्ने नै भए । विशेषतः काठमाडौं र ललितपुरका नेवार ल्हासा–व्यापारीका अहिलेका सन्तानलाई सोध्नुपर्छ, यस्ता अनेकन् चाखलाख्दा कथा धेरै सुन्न पाइन्छ ।

यी कथाहरू रोमाञ्चक छन्, विश्वासै गर्न नसकिने खालका छन् । कत्ति कथामा दुःख र वियोग पनि छन् । सन् साठीको दशकमा तिब्बतसँगको त्यो व्यापारको क्रम सधैंका लागि रोकिएको थियो, जतिबेला चीन र भारतबीच युद्ध भएको थियो । त्यो यस्तो मोड थियो, जहाँबाट ल्हासा गएर व्यापार गर्ने चलनको अन्त्य भयो ।

...

ल्हासा–व्यापारीकै एक सन्तान हुन्, महेन्द्र शाक्य । उनीसँग पनि अहिलेसम्म धेरै कमैले मात्रै सुनेको कथा छ । त्यो पनि सत्य–कथा । यसमा अलौकिक घटना कम छन् । छैनन् नै भन्दा हुन्छ, तर यो कथाले त्यस समयको सामाजिक स्थिति भने ठ्याक्कै बयान गर्छ । यो सामाजिक स्थितिभित्र उल्लेख गर्नैपर्ने आर्थिक पक्ष पनि छ । यी महेन्द्र शाक्य अहिले पनि व्यापारी हुन् । पाटन दरबार स्क्वायरछेउमै उनको होटल छ– हिरण्य लाय्कु ।

उनको ठूलो छोरालाई त धेरैले चिनेको हुनुपर्छ । उनी हुन्, नायक कर्म शाक्य । उनका भाइ कुन्दुन शाक्य पनि अचेल नाटक खेल्छन् । यी दाजु–भाइको नामको समानताले थेरैथोक भन्छ । कर्म अर्थात् बौद्ध धर्मको प्रमुख सिद्धान्तमध्ये एक । कुन्दुनचाहिँ तिब्बती दलाई लामाको एउटा नाम, यो नामको सार हो– धेरै बुझेको, जानेको । त्यसै पनि यो शाक्य परिवार पारम्परिक रूपमै बौद्धमार्गी हो । तर, उनीहरूको नाम कुनै न कुनै रूपमा तिब्बतसँग जोडिन्छ नै । काठमाडौं र ललितपुरतिर त्यस्ता नेवार परिवार धेरै छन्, जसमा धेरै तिब्बती प्रभाव अझै कायम छ । यो प्रभावलाई धेरैले अझै पनि गर्वका रूपमा लिन्छन् र त्यसलाई परम्पराकै रूपमा अगाडि बढाइरहेका छन् । अब पालो, यी महेन्द्र शाक्यले सुनाएको साँचो कथाको । उनका बुबाको नाम हो, तेजमान शाक्य । उनै तेजमान हुन्, लगभग अन्तिम पुस्ताका नेवार ल्हासा–व्यापारी ।


तेजमानपछि नै यो व्यापारको क्रममा पूर्णविराम लाग्यो भन्दा हुन्छ । इतिहासको एउटा क्रम उनीपछि टुट्छ । तेजमानको जन्म सन् १९१७ मा भएको थियो । पाटन हलको छेउमै पर्छ, न्याखा चोकको उनको जन्मथलो । उनको समयका शाक्यहरूको पुर्ख्यौली काम भनेको सुन र चाँदीको गहना बनाउनु नै थियो । केहीले मूर्ति पनि बनाउने गर्थे । धेरैको हातमा केही न केही सीप थियो । तर, तेजमानलाई यी सबैमा कुनै रुचि थिएन । न त उनीसँग कुनै सीप नै थियो । न्याखा चोककै केही धाख्वाहरू पनि ल्हासा व्यापारी थिए ।

यहाँनेर ठ्याक्कै एउटा तथ्य के बुझ्नु आवश्यक छ भने अधिकांश नेवार ल्हासा–व्यापारी काठमाडौंका हुन्, त्यो पनि उराय समाजका । त्यसपछि त्यो लाममा वज्राचार्य र शाक्यहरू पनि आउँछन् । यसबारे धेरै पढ्न–सुन्न पाइन्छ । तर, पाटनतिरका नेवार ल्हासा–व्यापारीबारे कम पढ्न पाइन्छ, कम सुन्न पाइन्छ । अनि कमै लेखिएको छ ती बारे । तेजमानका बुबा जोगमान शाक्य पनि व्यापारी नै थिए । उनको पनि कुतीमै पसल थियो । त्यो थियो खानेकुरा पाइने पसल । तर, जोगमान तिब्बत भने कहिल्यै पुगेनन् । त्यसैले उनी ठ्याक्कै ल्हासा–व्यापारी भएनन् । उनका छोरा तेजमानचाहिँ तिब्बत पुगे, त्यो पनि १३ वर्षकै उमेरमा । केही धाख्वा साहुले टोल–छिमेकमा उसै बरालिइरहेका एक किशोरलाई आफूसँगै तिब्बत पुर्‍याएका थिए । घरबाट कुनै रोकतोक भएन । उनको समयमा काठमाडौंबाट तिब्बत पुग्नै दुई महिनाभन्दा बढी समय लाग्थ्यो । यात्रा निकै कष्टकर र डरलाग्दो हुन्थ्यो । अझ त्यसलाई एक साहसिक यात्रा भने पनि हुन्छ ।

त्यो यात्रा सुरु हुन्थ्यो साँखुको पुरानो बाटो भएर । केहीले बनेपाको बाटो पनि समाउँथे । तेजमान पनि भयानक दुःख–कष्ट सहेर तिब्बत पुगे । सुरुमा तिनै धाख्वा साहुको पसलमा काम गरे । उनी सुन्दर, गोरा र अग्ला थिए । त्यसैले साहु उनको परिचय दिँदा उनैलाई मुख्य साहु भएको बताउँथे । यत्तिको रवाफ थियो उनको । तर, उनी त्यो पसलमा धेरै टिकेनन् । धेरैले उनलाई आफ्नै अलग व्यवसाय सुरु गर्न उक्साए । केहीले सहयोग पनि गरे । उनले ल्हासामा त्यस्तो पसल खोले, जहाँ विलासीका सामान पाइन्थ्यो । त्यो पसलमा महँगा–महँगा कपडा पाइन्थ्यो । अत्तर पनि किन्न पाइन्थ्यो । ती सामान आइपुग्थे– भारतको कोलकाताबाट । व्यापारकै लागि भनेर भारतको कालिङपोङमा तेजमानले सुरुमा एउटा घर बहालमा लिएका थिए । पछि घर पनि किने । अधिकांश नेवार ल्हासा–साहुको त्यस समय कोलकातामा आफ्नो अलग्गै कार्यालय त हुन्थ्यो नै, धेरैको कालिङपोङमा घर पनि हुन्थ्यो ।

वास्तवमा तेजमानको पसल सर्वसाधारणका लागि खुलेको पसल थिएन । पसलका सामान निकै महँगा हुन्थे । त्यसका ग्राहक पनि उच्च तिब्बती परिवारकै हुन्थे । तिब्बती माथिल्लो वर्गको खास गन्तव्य बनेको हुन्थ्यो, त्यो पसल । त्यसैले तेजमानको तिब्बती माथिल्लो वर्गका परिवारसँग चिनजान मात्रै बढेन, एउटा सम्बन्ध पनि जोडियो । फेरि दोहोर्‍याएर भनौं, उनी वास्तवमै सुन्दर थिए । उनको प्रेम एक यस्ती तिब्बती महिलासँग भयो, जसको सम्बन्ध वास्तवमै कुलीन परिवारसँग थियो ।

त्यो समय १३ औं दलाई लामाको चलिरहेको थियो, अहिलेका १४ औं हुन् । तिनै पुराना दलाई लामाका एक सहयोगी थिए, जो लगभग प्रधानमन्त्रीसरहकै थिए । तिनै सहयोगीकी सुन्दर छोरी तेजमानको मायामा परिन् । औपचारिक रूपमा त्यो बेला विवाह हुने चलन थिएन । तिनका एक छोरा र एक छोरी भए । महेन्द्रले पनि कहिल्यै ती महिलाको नाम थाहा पाउन सकेनन् । न त तिनलाई देखे नै । खालि ठूलीआमाको रूपमा मात्रै बुझे । जतिबेला तेजमानले तिब्बत छाड्नुपर्ने भयो, ती महिला काठमाडौं आउन मानिनन् र आफ्ना सन्तानलाई पनि नेपाल पठाउन चाहिनन् । उनलाई तिब्बतमै रहनु ठीक लाग्यो, किनभने उनी वास्तवमै कुलीन परिवारकी थिइन् । तेजमान भने घर (काठमाडौं) फर्के । यसरी एउटा प्रेम जोडीको विछोड भयो । नेपाल भाषाको साहित्य र अन्य विवरणमा यस्ता अनेक घटनाका उल्लेख छन्, जहाँ विछोडका थुप्रै कथा छन् ।

एक महिलाले आफू जन्मेको स्थान रोज्न श्रीमान् छाड्नुपरेको घटना पक्कै कारुणिक नै हुनुपर्छ । तेजमान मात्रै होइन, धेरैले सधैंका लागि तिब्बत छाडेर काठमाडौं आउने क्रममा आफ्नी श्रीमतीलाई उतै छाडे । अनि केहीले तिब्बती श्रीमती लिएरै काठमाडौं आए । तिनको काठमाडौंमा पनि अलग्गै श्रीमती हुन्थे । नेपाल भाषाका केही विवरणमा काठमाडौंका ती महिलाको स्थिति कस्तो हुन्थ्यो पनि भनिएको छ । त्यहाँ आफूले वर्षौंदेखि प्रतीक्षा गरिरहेका श्रीमान्ले तिब्बतबाट अर्को कोही श्रीमती ल्याउँदा कस्तो हुँदो हो भन्ने वर्णन पनि गरिएको छ । यी परिस्थिति साँच्चै कारुणिक हुँदो हो, यो सजिलै अनुमान गर्न सकिन्छ । श्रीमान्को सामना गर्न गाह्रो हुने केही श्रीमती भने लाजले सासूकै पछिपछि लुक्थे । जे होस्, तेजमानले तिब्बती श्रीमतीलाई काठमाडौं ल्याउन सकेनन् । बरु घर पुगेपछि फेरि अर्को बिहे गरे । उनको नाम थियो– सानुछोरी ।

बिहे हुँदा सानुछोरीको उमेर १८ वर्षको मात्रै थियो, तेजमान ३८ वर्षका । उनीहरूको नौ सन्तान भए, तिनैमध्येका एक चल्तापुर्जा छोरा हुन्– महेन्द्र, जसले माथिका यी सबै विवरण सुनाएका हुन् । सानुछोरीलाई तेजमानले बिहेका बेला एउटा तथ्य खुलाएकै थिएनन्, कि आफ्नी पहिली श्रीमती तिब्बतमै थिइन् । उनले पछि कालिङपोङमा पनि अर्को बिहे गरे । आर्थिक हैसियत बढेसँगै तेजमानले पनि त्यही कुरीति पछ्याए, जसमा धनीले एकभन्दा बढी बिहे गर्छन् भन्ने मानसिकता थियो ।

...

कारण जेजस्तो होस्, अधिकांश नेवार ल्हासा–साहुको तिब्बतमा पनि श्रीमती रहे, यता नेपालमा पनि । त्यतिबेला यो सामान्य विषय थियो । तेजमानले एउटा काम भने साँच्चै गरेका थिए– प्रशस्तै पैसा कमाउने । अहिलेको शाक्य परिवारलाई के अनुमान छ भने उनले ल्हासा व्यापारबाट त्यही बेला कम्तीमा दस लाख रुपैयाँ जति कमाइ गरेको हुनुपर्छ । त्यो त्यही समय थियो, जतिबेला सुन एक तोलाको सय रुपैयाँ जति पर्थ्यो । सजिलै अनुमान लगाउन सकिन्छ, उनले कति धेरै कमाएका थिए भन्ने ।

र, यसरी उनको परिवार धनी भयो, काठमाडौंमा मनग्य सम्पत्ति जोड्न पनि सफल रह्यो । तेजमानले लाजिम्पाटतिर मनग्य जग्गा–जमिन किने । कुरा यत्तिकैमा सकिन्न । नाटकीय घटना अझै बाँकी छ । यसपछाडि जोडिएको घटना पनि रोमाञ्चित पार्ने खालकै छ । सन् ८० को कुनै एक दिन तिब्बती श्रीमतीबाट जन्मिएका तेजमानका ठूलो छोरा कसरी हो एकाएक काठमाडौं आइपुगे र उनको घरसम्मै पुगे । उनको नाम पेमा थियो । पछि सबैले उनलाई सेँदाई भने । तिब्बतीलाई नेपाल भाषामा सेँ भनिन्छ । अनि तिब्बत आफैंलाई सेँदेय् । त्यसैले उनको नामै सेँदाई भयो । त्यतिबेला खासमा भएको के थियो भने तिब्बतलाई चीनले लिइसकेपछि त्यहाँका कुलीन वर्गको पतन सुरु भयो । धेरैको आर्थिकस्तर निकै कमजोर भयो । धनीहरू एकाएक गरिब भए । त्यसैले पेमाले पनि के सोचे– तिब्बत बस्नुभन्दा अब नेपाल जानु ठीक, जहाँ आफ्ना बुबा छन् । यसरी उनी नेपाल आइपुगे र तेजमानको घरमै पुगे । त्यो बेला उनको परिवारमा कस्तो स्थिति बन्यो होला ? त्यो पनि अनुमान मात्रै गर्न सकिन्छ ।

ती पेमाले आफ्ना बुबाको धन–सम्पत्तिमा अधिकार भने मागेनन् । सम्पत्ति लिन्न भनेर कागजै गरे । तिनका लागि काठमाडौंमै रहन पाउनु ठूलो थियो, यतैको नागरिकता लिए । उनका लागि यही सबथोक थियो । सुरुमा उनी शाक्य परिवारको लाजिम्पाटस्थित घरको छेउमै एक कुनामा बसे । लामो समय निकै साधारण जीवन बिताए । उनले आफ्नी श्रीमती पनि सँगै नेपाल ल्याएका थिए । अनि सँगै एक निकै बूढो मान्छे पनि । ती को थिए त ? शाक्य परिवारका लागि ती बूढा मानिस लामो समय रहस्य भइरहे । उनी प्रायः कहिल्यै बाहिर निस्कँदैनथे । उनले कसैलाई भेटेनन् पनि । पछि शाक्य परिवारले के थाहा पायो भने ती मानिस तेजमानकी पहिलो श्रीमतीका दोस्रो श्रीमान् रहेछन् । त्यतिबेला शाक्य परिवारलाई के कस्तो भयो ? त्यसबारे पनि अनुमान मात्रै गर्न सकिन्छ । पेमाले आफ्ना दोस्रो बुबालाई तिब्बतमा छाड्न ठीक मानेनन् । पछि उनी पेमा शाक्य भए, काठमाडौंकै रैथानेजस्तै ।

पेमाले काठमाडौं बस्दा नेपाल भाषा मात्रै सिकेनन्, नेपाली भाषा पनि मीठोसँग बोल्ने भए । अझ पेमाकी श्रीमतीले बोल्ने नेपाल भाषा यहाँका कोही नेवारको भन्दा शुद्ध र परिष्कृत थियो । त्यही कारण पछि उनी आफ्नी सासूकी प्यारी बुहारी पनि बनिन् । अझ पछि पेमाले पनि गज्जब आर्थिक उन्नति गरे । भएको के थियो भने उनले काठमाडौं आएयता बिस्तारै व्यापार सुरु गरे । त्यो दिन–रात झन्झन् फैलिन थाल्यो । खानेकुराको सानो पसलबाट सुरु भएको व्यापार पछि कार्पेटको व्यापारसम्म पुगेको थियो । उनले बौद्धतिर ठूलै कार्पेटको कारखाना चलाए । होटल पनि खोले । उनको कारखानाबाट निस्केको उच्चस्तरको कार्पेट सिधै युरोप पुग्थ्यो, विशेषतः जर्मनीतिर । उनलाई कार्पेटको युरोपेली माग पूरा गर्न पनि गाह्रो हुन्थ्यो । यसरी त्यस समय एक तिब्बती मूलका नेपालीले कार्पेट व्यापारबाट मनग्य कमाए ।


ल्हासाका नेपाली व्यापारीहरू : तेजमान शाक्य, मैत्रीरत्न तुलाधर, धर्म थाय्पा, बुद्धजीव तुलाधर, दानवीर सिंह तुलाधर, लक्ष्मीज्योति धाख्वा, भाइ काका, धर्मबहादुर धाख्वा र रत्नमान सिंह तुलाधर (पछिल्लो लहरमा) पुष्परत्न सागर, तेजरत्न तुलाधर, ज्ञानज्योति कंसाकार, केशरबहादुर केसी (वकिल), पूर्णकाजी ताम्राकार र पुष्प तुलाधर । (सन् १९४८)

यसरी कुनै समय व्यापार गर्न तिब्बत पुगेका नेवारका तिब्बती सन्तानले पछि काठमाडौं फर्केयता पनि व्यापार गरे । तिनले व्यापार मात्रै गरेनन्, धेरै कमाए र सफल पनि भए । अचेल पेमा र उनकी श्रीमती निकै धार्मिक भएका छन् । ध्यानमै बढी समय खर्चन्छन् । भारतको धर्मशालातिर पनि बरोबर गइरहन्छन् । अब त तेजमान पनि रहेनन् । उनी बितेको पनि दुई दशकभन्दा बढी भइसकेको छ । उनका छोरामध्ये पुरानो इतिहासबारे बुझ्ने इच्छा र रुचि महेन्द्रमै मात्र छ । महेन्द्र आफैं पनि अमेरिकाबाट फर्केर यहीं केही गर्नुपर्छ भन्नेमध्येका एक हुन् । अमेरिका बसाइले उनलाई एकथोक राम्रोसँग सिकाएको छ । त्यो हो– आफ्नो इतिहास, भाषा र संस्कृति बिर्सनु हुन्न । उनलाई एकथोकमा उत्तिकै दुःख पनि छ– आफूले बुबाबाट धेरै कथा सुन्न पाएनन् । त्यसैले धेरै विषय इतिहासमै बिलाएर गए । उनलाई यो कुरामा जहिल्यै पछुतो छ । आफ्नै बुबाकोबाट सबैथोक सुन्न पाएको भए, अझ खासखास कुरो निस्कने थियो भन्ने सोचिरहन्छन् ।

त्यसमाथि नेवार ल्हासा–व्यापारीमध्ये काठमाडौंतिरकै कथा धेरै लेखिएको छ । केही पुस्तक पनि छन् । तर, पाटनतिरका यस्तै नेवार ल्हासा साहुका कुरा कमै मात्र लेखिए । अझै बिग्रेको त केही छैन । महेन्द्रजस्तै पाटनमा नेवार ल्हासा साहुका सन्ततिहरू अझै छन् र तिनीहरूसँग तिनका आफ्नै मौलिक कथा पनि । ती कथा पक्कै फरक फरक त होला नै । महेन्द्रले एउटा योजना बनाएका छन्, चाँडै कुनै दिन त्यस्तै सन्ततिको भेला गर्ने र तिनका बाबुबाजेका कथा मस्तसँग सुन्ने ।

उनलाई लाग्छ, ती अहिलेको पुस्ताका सन्तानसँग अझै पनि केही त केही सामग्री त पक्कै होलान्, जसको सीधा सीधा सम्बन्ध नेपाल–तिब्बत व्यापारसँग छ । ती पुराना पुराना तस्बिर हुन सक्छन्, यस्तै पुराना चिठीपत्र पनि । सँगै व्यापारका कागजातका रूपमा केही न केही अभिलेख पनि । ती सामग्रीले धेरै इतिहास भन्न सक्नेछ, जुन अहिलेसम्म लेखिएकै छैन र लेख्न बाँकी छ । जे जतिले महेन्द्रलाई चिनेका छन्, तिनका लागि उनी महेन्द्र–दाइ हुन् ।

महेन्द्र–दाइले सोचेको काम पूरा होस्, हुनैपर्छ । अनि यससँगै खुल्नेछन्– सिंहसार्थ बाहु, सुरतवज्र र तेजमानको मात्रै होइन, अन्य धेरै कथाहरू पनि । प्रतीक्षाका लागि योग्य छन्, यी मौलिक कथाहरू । अनि फेरि, महेन्द्र–दाइको परिवारै कलाकारले भरिएको छ । कर्म र कुन्दुनले कुनै दिन यिनै विषय टेकेर नाटक र सिनेमा बनाउने हुन् कि ? अब त तिनलाई पनि इतिहासको यो कालखण्डबारे रुचि हुनुपर्छ । यस्तो भए, अझै गज्जब हुनेछ ।

https://ekantipur.com/koseli/2023/07/29/169059513261437990.html

No comments: