Thursday, February 11, 2021

बांगेमुढा मक्किएको मुढो मात्र होइन


मल्ल के. सुन्दर

२०७७ पौष ४ शनिबार ०८:२१:०० 

काठमाडौं महानगरको असनबाट पश्चिमतिर सोझिँदा वा नयाँ सडक–इन्द्रचोकबाट भेडासिङ हुँदै उत्तरतिर लाग्दा पुगिने चौबाटो र मन्दिरैमन्दिर भएको एउटा खुल्ला बस्ती हो– बांगेमुढा ! हाल यो काठमाडौं महानगरपालिका–२५ अन्तर्गत पर्छ । चौबाटोबाट दक्षिण लाग्ने मूलबाटोको पूर्वतिर कुनामा पाटीसँगै टाँसिएको एउटा मक्किसकेको ठूलो मुढो छ, अलिक बाँगिएको– तसर्थ त्यसको नामकरण रहन पुग्यो– बांगेमुढा !

 

केही दिनयता त्यस मुढोसँग सम्बन्धित कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । मध्यराति एउटा अमुक चोर आउँछ, उसले बोकेर ल्याएका औजारहरू प्रयोग गरेर त्यहाँ तोडफोड गर्दै त्यो मुढो उठाएर लग्ने चेष्टा गर्छ, तर स्थानीयले चाल पाएपछि उनलाई कब्जामा लिएर नजिकैको प्रहरी चौकीलाई जिम्मा लगाइदिन्छन् ।

 

बुझ्न नसकिने कुरा प्रहरीले चोरलाई ससम्मान रिहाइ गरिदिन्छ । त्यही व्यक्ति अर्को दिन फेरि तयारीका साथ त्यही ठाउँ पुग्छ र बांगेमुढाको मुढोबाट एउटा अंश चोक्ट्याएर आफ्नो बाटो लाग्न खोज्छ, फेरि चोर समातिन्छ, प्रहरीलाई बुझाइन्छ, फेरि प्रहरीले चोरलाई विनाकुनै कारबाही मुक्त गरिदिन्छ । प्रहरीबाट उन्मुक्ति पाउँदै गरेको त्यो चोर तेस्रोपटक तयारीका साथ मध्यरात फेरि आउँदै गर्दा स्थानीयले लखेट्न भ्याउँछन् । नाटकीय पाराका यस घटनाका पछाडि प्रहरी र चोरबीचको लुकामारीको गुह्य रहस्य के होला, खोजबिनबाट थाहा हुने नै छ । तर, आममानिसको मनमा एउटा कुतूहल अवश्य जागेको हुनुपर्छ, आखिर त्यो मक्किएको काठको मुढो हात पार्न किन यतिबिघ्न मरिहत्ते गरिएको होला ? 

 

बांगेमुढा–वास्याःद्यः
एउटा बांगिएको र मक्किसकेको मुढो– सामान्यतया अन्यत्र देवस्थलमा देखिनेजस्तै त्यहाँ मूर्ति वा कलात्मक संरचना केही छैन । मन्दिर पनि होइन, एउटा पाटीको भित्तामा टाँसिएको सडकतिर फुंग अनि खुल्ला देखिने पुरानो काठको अवशेष, यही नै हो– बांगेमुढा ! स्थानीय जनबोलीमा त्यो वास्याःद्यः हो । वास्याःद्यः अर्थात् दाँत दुखाइ निको पार्ने द्यौता । दाँत दुख्दा यहाँ पूजा गर्ने र त्यसै क्रममा द्यौतास्वरूप मुढोमाथि फलामे किला ठोक्दा स्वतः निको हुने जनविश्वास छ । यद्यपि, यसमा कुनै वैज्ञानिक आधार भेटिन्न । फेरि पनि सयौँ वर्षदेखि यिनै लोकआस्थामा भक्तजनहरूले ठोकेका किलाले सिंगो मुढो ढाकेको छ । यसरी किलैकिला मात्र भएकाले उपत्यकाबाहिरबाट आउने कतिपयले यसलाई किलागढ पनि भन्ने गर्छन् । वास्तवमा किलागढ भन्ने भिन्नै टोल भेडासिङभन्दा उत्तरतिर पर्छ ।

 

कतिपय प्राचीन लिखतहरूमा यसलाई नाग देवताको प्रतिरूपमा पनि उल्लेख गरिएको पाइन्छ । तसर्थ आजसम्म पनि यहाँ पूजा गरिँदा नाग–नागिनीहरूको आराधनाका विधि र सामग्री प्रयोग गरिन्छ । पूजाका लागि प्रयोग गरिएका कुनै वस्तु, सामग्री घर फिर्ता लग्नुहुन्न भन्ने मान्यता छ । त्यसैले थालीमा नभई सालको पात वा टपरीमा पूजासामग्री तयार गरेर ल्याइने गरिन्छ । दैविक शक्तिको स्रोतको रूपमा विश्वास गरिएको त्यसै मुढोको मुनितिर आसनको रूपमा ढुंगाको एक जलद्रोणी–जधं पनि छ । पाटीभित्रबाट यसको जलाशयमा समय–समयमा पानी भरिन्थ्यो । जलद्रोणी–जधुं विशेषतः पूजाका लागि चोखो पानी थाप्नका लागि प्रयोगमा आउने कुरा अनुमान गर्न सकिन्छ । अज्ञानतामा स्थानीयहरूले मर्मत सम्भारको नाउँमा हाल त्यस जधुं–जलद्रोणीे बाहिरबाट इँटाको गारो उठाएर छोपिएको अवस्थामा छ । 

 

भरिया अड्डा – बांगेमुढा
त्यति वेला तराई जोडिने मोटरबाटो थिएन । रक्सोलदेखि अमलेखगन्जसम्म रेलमार्ग अनि त्यहाँबाट भैंसेको खोँच हुँदै भीमफेदीसम्म मात्र यातायात सुविधा थियो । उपत्यकामा सामान ल्याउनका लागि मानिसलाई भारी बोकाउनुबाहेक अर्को विकल्प थिएन । त्यस्ता सामान ढुवानीका लागि बोक्ने भरिया नियमित रूपमा आवश्यक पथ्र्यो । त्यसैको स्थायी व्यवस्था गर्न तत्कालीन सरकारद्वारा स्थानीय व्यक्तिहरू रत्नबहादुर गुरुवाचार्य र रामप्रसाद कसजूलाई जम्मा दिइयो । सोही क्रममा एउटा केन्द्र नै खडा गरियो, जुन कालान्तरमा भरिया अड्डाको रूपमा चिनियो । भारी बोक्न काम पाउने आशामा सहर पसेका भरियाहरू नाम्लो र डोको बोकेर बिहानैदेखि त्यस अड्डासामुन्ने ताँती कस्थे ।

 

संयोग, उक्त अड्डा खोलिएको थियो, वास्याःद्यःसँग जोडिएको एउटा पाटीमा । विशेषतः काँठतिरबाट रोजगारीका लागि त्यस अड्डासम्म पुग्न सहज होस् र सरोकारवालालाई उनीहरूले बुझ्ने भाषाबाट सम्झाउन सकियोस् भनेर बुझाउने गरिन्थ्यो – ‘वास्याःद्यःसँग जोडिएको पाटी अर्थात् बांगिएको मुढो भएको ठाउँ...।’ भरिया अड्डा भएको त्यस स्थान चिनाउन भन्ने गरिएकोे थेगो समय बित्दै जाँदा जनजिब्रोमा रह्यो । समय बित्दै जाँदा त्यो टोल नै बांगेमुढाका रूपमा चिनिन थाल्यो । अन्यथा त्यो टोलको प्राचीनकालदेखि स्थापित रैथाने पहिचान थाय्मदु टोल हो । 

 

स्थानमण्डपबाट थाय्मदु
बांगेमुढा र थाय्मदु समानार्थी शब्द होइनन् । शाब्दिक अर्थमा यी शब्दबीच कुनै सम्बन्धसम्म पाइन्न । फेरि पनि ऐतिहासिक प्रसंगहरूले यी शब्दबीचको गहिरो अन्तरसम्बन्ध उजागर गर्दछ । कुरा एउटा विशिष्ट खाले भौतिक संरचनाको हो, बांगेमुढा चोकबाट पूर्व लाग्दा दक्षिणतिर मन्दिरजस्तो देखिने जुन विशाल संरचना छ, त्यो यथार्थतः एउटा चपाः–सत्तल हो ।

 

नगरीय बस्ती विस्तारका क्रममा उपत्यकाभित्र यस खाले ठूला–साना चपाः –सत्तल यत्रतत्र निर्माण भएको पाइन्छ । सामाजिक जमघट, सांस्कृतिक गतिविधि तथा धार्मिक अनुष्ठानका लागि मात्र होइन, यात्रुहरूका विश्रामस्थलका रूपमा पनि चपाः –सत्तलहरूको धेरै महत्व हुन्थ्यो । बांगेमुढामा निर्मित त्यो चपाः–सत्तल स्थानमण्डपको रूपमा पुराना अभिलेखमा उल्लेख गरिएको भेटिन्छ । त्यसै स्थानमण्डप शाहकालको पूर्वार्धसम्म आइपुग्दा शब्द अप्रभंश हुँदै थासमंदु हुन पुग्यो । अनि पछिल्लो समयमा थासमंदुलाई नै बोलिचालीमा थाय्मदु भन्न थालियो । त्यसै चपाः–सत्तलकै कारण सिंगो बस्ती नै थाय्मदु टोलको रूपमा चिनियो ।


चारैतिरबाट खुल्ला रहेको वर्गाकारको यो संरचना केवल काठका खम्बाहरूका भरमा उभ्याइएको छ । खम्बाहरू अत्यन्त कलात्मक शैलीमा कुँदिएका छन् । माथिल्लो तलासम्म पुग्न उत्तर सडकतिरबाट विशेष प्रवेशद्वारको व्यवस्था छ । दुईतले संरचनाको माथिल्लो तलामा चारैतिर खुल्ला बरन्डा बनाइएको थियो । नब्बे सालको भूकम्पबाट बरन्डा र छाना खसे । अहिले बरन्डाको कुनै अवशेष भेटिन्न । झिँगटीको ठाउँमा जस्तापाताको छाना राखिएको छ । भुइँतलाको खुल्ला दलानमाथि निजी व्यापारीहरूले जबर्जस्ती कब्जा जमाएर गारो उठाउने तथा पसल कबलहरू बनाएर कुरूप पारेका छन् । पहिलेको मौलिक तथा कलात्मक स्वरूप अहिले चारैतिरबाट अतिक्रमित अवस्थामा छ ।

 

बांगेमुढा मूलतः एक विशाल रुखको रहलपहल अवशेष हो । त्यसको पछाडि पनि काष्ठमण्डप निर्माणमा जस्तै मिल्दोजुल्दो लोककथन छ । कुनै कालखण्डमा विशाल रूपमा रहेको सिंगो रुखलाई ढालेर त्यसैको काठ प्रयोग गरी स्थानमण्डप–थाय्मरु बनाइएको हो ।

 

वास्तुविद्हरू काठमाडौं गणेशस्थानस्थित काष्ठमण्डप र बांगेमुढाको स्थानमण्डपका स्वरूप, संरचना धेरै मिल्दोजुल्दो रहेको पाउँछन् । काष्ठमण्डपबाट अप्रभंश हुँदै कालान्तरमा मरु तथा स्थानमण्डपबाट रूप फेर्दै थाय्मरु हुन पुगेको स्मरणीय प्रसंग पनि छ । यसअतिरिक्त प्राचीन कान्तिपुरको नगरी सभ्यता विकाससँग पनि यिनको कुनै अन्तरनिहित सम्बन्ध रहेको हुनुपर्छ भन्ने अनुमान छ । 

 

लिच्छवि कालमा कान्तिपुर सहरलाई हनुमानढोकाबाट उत्तर ठमेलसम्म यम्बु प्रदेश र दक्षिणमा टेकुसम्मलाई यंगल प्रदेशको रूपमा प्रशासनिक विभाजन गरिएको थियो । विशालनगरबाट सञ्चालित शासनसत्ताको केन्द्र गुनपो अर्थात् हनुमान ढोकातिर स्थानान्तरण भएयता स्थानीयले यिनै यम्बुलाई थःने–माथिल्लो भेग तथा यंगललाई क्वःने तल्लो भेग भन्ने गरियो । हनुमानढोका दरबारपरिसर स्वकम्भु दथुत्वाः–माझको भाग कहलियो । कुमारी जात्रा, सेतो मच्छेन्द्रनाथको रथयात्र, गाईजात्रालगायत अन्य पर्व, जात्रा यसै थःने–क्वःने क्षेत्रगत सीमांकनलाई दृष्टिगत गरेर सम्पन्न गर्ने प्रचलन चल्यो । घतलाग्दो कुरा, यम्बु प्रदेश थःनेतिर जुन स्थान र बाटो भएर कुमारी जात्रा गरिन्छ, त्यहाँको बस्ती विकासमा स्थानमण्डप–थाय्मदु जस्तै अन्य मण्डप वा चपाःको पनि अस्तित्व समान रूपमा रहेको देखिन्छ । 

 

केन्द्रमा काष्ठमण्डप–मरु, श्वेतकाली (नरदेवी)–ङतमरु, रक्तकाली–कुलांमरु, बांगेमुढा–थाय्मरु, अन्नपूर्ण (असन)–असंमरु, केल भद्रकाली अजिमा–लुँचुमरु । यी सबै स्थानमा एउटा–एउटा मण्डप वा चपाः अद्यापि छन् । त्यसमध्ये असनको (अशोक मण्डप) यता चपाः र नरदेवी मन्दिरअगाडिको भजनघर आकारमा पनि निकै ठूला छन् । केलटोल अजिमाअगाडिको टोपी पसलहरू भएको पाटी त्यस्तै चपाः हो, अहिले निजी भइसकेको देखिन्छ । यी चपाः–मण्डपहरूको अस्तित्वमा रहेको अर्को समानता भनेको तिनको आसपासमा परम्परागत नाच प्रदर्शन गर्नका लागि डबली पनि हुनु हो । नरदेवीमा मन्दिरअगाडिको डबलीमा अहिले पनि श्वेतकालीको बाह्रवर्षे नाच नचाइन्छ । बांगेमुढाको स्थानमण्डप पश्चिमतिरका डबलीमा इन्द्रजात्राको अवसरमा पूर्णिमाका दिन देवीनाच देखाउँदै आइएको छ ।

 

असनयता चपाःको मुनि उत्तरतिरको डबलीमा केही वर्षअगाडिसम्म असनका तुलाधरहरूबाट कुम्वःप्याखं (कुमार नाच) देखाइन्थ्यो । केलटोलको दक्षिणमा रहेको डबलीमा भद्रकाली र पचली भैरवका बाह्रवर्षे नाच देखाइन्थ्यो । रक्तकालीको परम्परागत नाच लोप भएलगत्तै मन्दिरसँगै टेंगल टोल चौबाटोको उत्तरतिर रहेको डबली पनि हाल पुरिइसकेको छ । नगरको एउटै भेग यम्बु प्रदेश विशेषमा यसरी मण्डप–चपाःहरू केन्द्रित हुनु र त्यहाँका अन्य सांस्कृतिक गतिविधिमा समेत समानता देखिनु अध्येताहरूका लागि खोजको विषय हो । स्थानमण्डप÷थाय्मरु त्यसै ऐतिहासिक कालखण्डको एउटा जीवित स्मारक हो ।

 

रमाइलो कुरा, विगत कुनै समयसम्म स्थानीयमण्डप–थासमंदुलाई एउटा उन्मुक्ति क्षेत्रको रूपमा लिइन्थ्यो । कुनै ऋणी वा अभियुक्त सुरक्षित हुनुपरेमा त्यसै मण्डपभित्र आश्रय लिन्थे । उक्त मण्डपपरिसरलाई उन्मुक्तिको इलाकासरह मान्यता दिइएको थियो । त्यसैले त्यस्ता व्यक्तिलाई कसैले कब्जामा लिन पाइँदैनथ्यो । तसर्थ, यसलाई लाय्मरु (कब्जामा लिन नपाउने) सतः पनि भनिन्थ्यो ।

 

स्थानमण्डप र वास्याःद्यः–बांगेमुढा
वास्याःद्यः–बांगेमुढा मूलतः एक विशाल रुखको रहलपहल अवशेष हो । त्यसको पछाडि पनि काष्ठमण्डप निर्माणमा जस्तै मिल्दोजुल्दो लोककथन छ । कुनै कालखण्डमा विशाल रूपमा रहेको सिंगो रुखलाई ढालेर त्यसैको काठ प्रयोग गरी स्थानमण्डप–थाय्मरु बनाइएको हो । मण्डप बनाइसकेपछि बांगिएको, टेढोमेढो काठको मुढो त्यहाँ त्यसै रहन दिइयो । त्यसै मुढोमाथि स्थानीयहरूले दैविक रूप देखे, नाग ठानेर पुज्न थाले । आस्था र विश्वासले त्यो मुढो कालान्तरमा वास्याःद्यः–दाँतको दुखाइ निको पार्ने द्यौताको रूपमा स्थापित भयो । 

 

एउटा कुरा यथार्थ हो, स्थानमण्डप निर्माणका लागि प्रयोग गरिएको रुख र त्यसको मुढो अति विशाल थियो होला, त्यसको भौतिक अवशेष अहिले पनि भेटिन्छ । बांगेमुढाको मुढो अहिले जहाँ छ, त्यहाँबाट तेर्सिएर सँगैको पाटीमुनिबाट पूर्वतिर अगाडिको स्थानमण्डप–थाय्मरुको भित्ताहरू छिचोलेर गएको पाइन्छ । बस्ती विस्तारको क्रममा निजी घर निर्माण गरिँदा बाँकी छाडिएको त्यसै मुढोको टुक्रामाथि इँटाको गारो लगाइएको थियो भनेर बुझ्न सकिन्छ ।

 

सम्भवत धेरै परसम्म मुढोका अंश बाँकी रहेको हुँदो हो, कालक्रममा नगरको विस्तार हुँदै गएपछि जहाँ–जहाँ संरचनाहरू बनाइए, बीच–बीचमा मुढोलाई आवश्यकताअनुसार काट्ने गरियो । स्वयं पंक्तिकारले यस मुढोको बाँकी अंशमाथि बनाइएको पुरानो घर करिब चार दशकअगाडि बांगेमुढा रहेको स्थानभन्दा एक हजार मिटरपूर्व न्हैंकन्तला चारढुंगे, नरसिंहको मन्दिरपछाडिको घरको गारोमा देखेको हो । भनिन्छ, यसको एक टुप्पो भोटाहिटी साझा भण्डारअगाडिको अन्नपूर्णको पूजाघरसम्म फैलिएको थियो । 

 

अध्ययनबाट स्पष्ट हुन्छ, वास्याःद्यः–बांगेमुढा र स्थानमण्डप थाय्मरु इतिहासका अन्तरसम्बन्धित हुन् । काष्ठमण्डप निर्माणकाललाई सातौँ शताब्दी मान्दा सोही वास्तुशैलीको विस्तारको रूपमा बनेको स्थानमण्डप–थाय्मदु अन्दाजी एघार–बाह्र सय वर्षभन्दा पुराना सम्पदा हुन् भनेर दाबी गर्न सकिन्छ । वास्याःद्यः–बांगेमुढाको कालगणना त्योभन्दा पुरानो थियो होला नै ।

 

उदेकलाग्दो कुरा, यति गहन इतिहास प्राचीनता बोकेको स्थानमण्डप–थाय्मदु भूमाफियाहरूको चलखेलमा अहिले कुनै परिवारले आफ्नो निजी हो भनेर लालपुर्जा बोकेको छ, फेरि पनि सम्पदा संरक्षणको दायित्व पाएको राज्यको आधिकारिक अंग पुरातत्व विभाग बेखबर छ । तर, गल, हातहतियार, औजार बोकेर हिँड्ने चोर महाशय चनाखो छन् र उनलाई र उनलाई खटनपटन गर्नेहरूलाई जानकारी छ, बांगेमुढा मात्र मक्किएको मुढो होइन...।

थकूछेँ, पासिकोट,
बुढानीलकण्ठ, काठमाडौं ।

https://jhannaya.nayapatrikadaily.com/news-details/1210/2020-12-19

पाक्व–पुखुद्याको बुढो पीपलबोट


सुरेश किरण

२०७६ श्रावण १८ शनिबार ११:०४:०० 

न्युरोड

न्युरोडको पीपलबोट कहिलेदेखि यहाँ खडा छ, कसैलाई थाहा छैन । अब कहिले ढल्छ, त्यो पनि कसैलाई थाहा छैन । न्युरोडमा कुनै रोडै नभएको वेलादेखि ठिङ्ग उभिइरहेको यो बुढो पीपलबोट अहिले रोड बनेपछि त्यसको नामसमेत त्यही रोडबाट भइगएको इतिहास टुलटुलु हेरेर अहिलेसम्म उभिइरहेको छ । 

नेपालमा पीपलबोटहरू धेरै ठाउँमा छन् । तर, काठमाडौंको न्युरोडस्थित पीपलबोटको कहानी भने बेग्लै छ । न्युरोडलाई अहिलेको ‘न्युरोड’ बनाउन यो पीपलबोटको पनि धेरेथोर योगदान भएको कथा अहिले धेरैले बिर्सिसकेको हुनुपर्छ ।

न्युरोडमा यही पीपलबोटको ठीक सामुन्ने रहेको (रमा गृहअगाडि) घर हाम्रो पुख्र्यौली घर हो । त्यहाँ हाम्रा चारवटा लहरै थिए घर । मेरा बाले त आफ्नो भागको घर उहिल्यै बेचेर गए । उनले २०२३ सालतिर न्युरोडको घर ३४ हजारमा बेचेको सुनेको थिएँ । मेरा दुई काकाहरूको घर भने अझै त्यहीँ छ । अहिले जंक्व गर्ने उमेरमा पुगेका मेरा माहिला काका हरिप्रसाद मानन्धरलाई पनि थाहा छैन, त्यो ठाउँमा अझै उभिएको यो पीपलबोट कति पुरानो हो । त्यो उहाँका बाजे अर्थात् मेरा जिजुबाजेलाई पनि थाहा छैन । जिजुबाजे मोती मानन्धरले आफ्नो छोरा मोतीभाइ (अष्टनारायण मानन्धर)लाई पनि यो ठाउँमा धेरै अघिदेखि पीपलबोट थियो भनेर सुनाउँथे रे । 

जे होस्, यति निश्चित हो कि काठमाडौंमा न्युरोड बन्नुभन्दा धेरै अघि नै यो पीपलबोट अस्तित्वमा आइसकेको थियो । त्यतिवेलाको भौगोलिक अवस्थिति हेर्ने हो भने दायाँबायाँ विभिन्न पोखरी, बारी र सानो गोरेटोको छेउमा यो पीपलबोट उभिएको देखिन्छ । अहिले जुन ठाउँलाई न्युरोड भनिएको हो, त्यसको वास्तविक नाम पाको–पुखुलद्याङ हो । नेपालभाषामा त्यसलाई ‘पाक्व–पुखुद्या’ भनिन्छ । अर्थात् यो ठाउँको अगाडि भिरालो ठाउँ थियो जसलाई ‘पाः’ भनिन्छ । त्यही भिरालो अर्थात् ‘पाः’ को तल रहेको ठाउँ भएकाले यसलाई ‘पाको’ भनिएको हो । नेपालभाषामा तललाई ‘क्वय्’ भनिन्छ । 

यो क्षेत्रमा पोखरीहरू पनि थुप्रै थिए । पीपलबोटको अलि पर हाल नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको ठाउँ पनि कुनैवेला पोखरी नै थियो । पोखरीको डिलमा रहेको ठाउँ भएकाले यसलाई ‘पुखुद्यां’ भनिन्थ्यो । 

यो ठाउँको अगाडि रहेको जो पाखो भाग थियो त्यहाँ प्रशस्त फर्सी फल्ने गथ्र्यो त्यसैले त्यो ठाउँको नाउँ ‘फसीकेब’ अर्थात फर्सीबारी रहन गयो ।

यो ठाउँमा पहिले कति पोखरीहरू थिए ठ्याक्कै तथ्यांक छैन । पाकोभन्दा अलि तल अर्को पोखरी थियो ‘खिचापोखरी’ । बिहान स्थानीय मानिसहरू मुख धुन आउने अर्थात् खेचायेगु पोखरी भएकाले यसको नामै खेचापोखरी हुन पुग्यो जो पछि अपभ्रंश हुँदै खिचापोखरी बन्न गयो । खिचापोखरीको सँगै बनाइएको धरहरा छेउछाउ बागदरबार परिसरमा पनि केही पोखरीहरू थिए । त्यसभन्दा तल त्रिपुरेश्वरमा अर्को पोखरी थियो जसलाई मासेर अहिले दशरथ रंगशाला बनाइएको छ ।

यस्ता विभिन्न पोखरी र बारी जस्ता खुला ठाउँको बीचमा यो पीपलबोट विद्यमान थियो । यो पीपलबोटको छेउछाउमा विभिन्न चीभाः (बौद्ध स्तुप) र देवदेवीको मूर्ति पनि छन् । ती मूर्तिमध्ये एउटा दुर्गा भवानीको पनि मूर्ति छ जो आकारमा सानो देखिन्छ । तर, यसको महत्व के त भन्दा हरेक दसैँताका महानवमीका दिन यो सानो दुर्गा भवानीको मूर्तिमा बलिपूजा गरिसकेपछि मात्रै हनुमानढोकाको तलेजु मन्दिरभित्र राँगा मार हान्न सुरु हुन्छ । यी दुई दुर्गा भवानीबीचको कनेक्सन के हो, त्यो थाहा हुने मान्छे अहिले भेटिन छाडिसक्यो । तथापि यसले एउटा संकेत के दिन्छ भने यो पीपलबोटसँग स्थानीय जनताको धार्मिक–सांस्कृतिक सम्बन्ध पनि गाँसिएको छ ।

९० सालको भूकम्पपछि यो क्षेत्रको कायापलट भयो । भूकम्पपछि साना बाटोहरूलाई फराकिलो पार्ने काम सुरु भयो । यसै क्रममा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बीचमा आफ्नो सालिक राखी त्यसको चारैतिर चारवटा नयाँ बाटो बनाउन लगाए । तीमध्ये एउटा बाटो वसन्तपुरबाट यही पीपलबोट हुँदै टुँडिखेल पुग्थ्यो । बाटो बनेकाले त्यहाँ मानिसहरूको आवत–जावत पनि हुन थाल्यो । यही नयाँ बाटोलाई नयाँ सडक वा न्युरोड भन्न थालिएको हो । न्युरोड बन्नुअघि यो पोखरी र खुला ठाउँ थियो । पीपलबोटबाट वसन्तपुर जानलाई हाल गोरखापत्र संस्थान रहेको सार्वजनिक बाटो प्रयोग हुने गथ्र्यो । तर, फराकिलो बाटो बनिसक्दा पनि न्युरोड भने सुनसानै थियो । किनभने हिँड्ने मानिस कम थिए, यातायातका साधन त्यति चलिसकेका थिएनन् ।  

०००

एकताका न्युरोडको यो पीपलबोट देशका तमाम नेता, कार्यकर्ता, पत्रकार, प्रशासकहरू जमघट हुने प्रमुख केन्द्र बनेको थियो । यो सुनसान ठाउँ त्यस्तो भिडभाडपूर्ण जक्सनमा बदलिनुको पछाडि केही घटनाक्रमहरूको हात छ । 

२००५ सालमा जनसेवा हल खोलियो । हाल विशालबजार रहेको ठाउँमा त्यो हल थियो । हलमा दर्शकको घुइँचो भएको देखेर पीपलबोटसँगै हाल फोटो कन्सर्न रहेको घरमा बाजे अष्टनारायण मानन्धरले एउटा चिया पसल खोल्नुभयो । उक्त चिया पसलमा उहाँको पार्टनर हुनुहुन्थ्यो सानुकाजी स्थापित, जो काठमाडौंका पूर्वमेयर केशव स्थापितका ठूलोबा हुनुहुन्छ । त्यतिवेला बाहिर चिया खाने खासै चलन पनि आइसकेको थिएन । उक्त चिया पसलको घर–बहाल थियो वर्षको दुई सय । 

यो चिया पसल केही वर्ष चल्यो । पसल चलेपछि त्यहाँ अरू पनि केही पसल थपिए । पीपलबोटमा मानिसको जमघट बढ्न थालेपछि अलि पर एक दक्षिण भारतीय व्यापारीले नयाँ खालको कफी पसल खोले । उक्त पसलको नाम थियो ‘बैंग्लोर कफी हाउस ।’ यो कफी हाउसभित्र कांग्रेस नेता–कार्यकर्ताहरूको घन्टौँ गफ जम्ने गथ्र्यो । 

पीपलबोटमा घुइँचो बढ्नुमा नेपाली मिडियाको बजार व्यवस्थापनले पनि योगदान गरेको छ । गोरखापत्र संस्थान त्यहीँ छ । पत्रिका बेच्ने ठाउँ पीपलबोटको चौतारी । पछि अरू पत्रिकाहरू पनि त्यहीँ ल्याएर बेच्न थालिए । ०१७–१८ सालतिर भारतीय पत्रपत्रिकाहरूको एक मात्र थोक विक्रेता सन्देश गृहको एउटा पसल पनि त्यहीँ खोलियो, पीपलबोटको ठीक सामुन्ने रञ्जना हल जाने गल्ली छेवैमा (अहिले त रञ्जना हल पनि बन्द भइसक्यो) । भारतीय पत्रिका हरेक साँझ आउने गथ्र्यो । भारतीय पत्रिका लिन विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू त्यही पीपलबोट कुर्न आउँथे । कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, वासु रिसाललगायतका नेताहरू नियमित रूपमा त्यहाँ आइरहन्थे । नेताहरू आएपछि त्यहीँ पत्रकारहरू पनि झुम्मिने भइहाले । पञ्चायतकालमा पत्रकारका लागि सबैभन्दा धेरै समाचार खोज्ने स्रोत पनि त्यही पीपलबोट थियो । मलाई सम्झना छ, पत्रकारितामा मेरा गुरु अशोक श्रेष्ठ कहिलेकाहीँ समाचारको अभाव हुँदा पीपलबोटको त्यही भिडमा छिर्ने गर्थे । निस्कँदा उनको हातमा दुईदेखि तीनवटासम्म समाचार परिसक्थे । 

कतिपय यात्रुलाई मोटरसाइकलको पछाडि राखेर उसको गन्तव्यसम्म पुर्‍याइदिनुपथ्र्यो । यसलाई हाल लोकप्रिय भइरहेको ‘पठाओ’ सेवाकै पूर्वरूप भन्न सकिन्छ । उतिवेला काठमाडौंबाट जावलाखेलसम्म यात्रु पुर्‍याउने र फर्काउने गरेबापत तीन मोहर चार्ज लाग्थ्यो । बाले छोडेपछि काका एक्लैले २०३१ सालसम्म यो सेवा सञ्चालन गरे । 

००७ सालको प्रजातन्त्र स्थापनापछि काठमाडौंमा राजनीतिक जमघट हुने र राजनीतिक गतिविधि चलिरहने प्रमुख ठाउँ जमलको तीनधारा छेउछाउ थियो । त्यतिवेला त्रिचन्द्र कलेजको सरस्वती सदन खुला थियो । त्यसैले राजनीतिक भाषण, अनशन आदि कार्यहरू त्यहीँ हुने गर्थे । २०१० सालमा सरस्वती सदन बन्द भयो । त्यसपछि यो जमघट भूगोलपार्क सर्‍यो । यसले गर्दा पनि पीपलबोट ‘क्राउडी’ हुन थाल्यो । पञ्चायतकालमा व्यवस्थाविरोधी धेरै गतिविधिहरू भूगोलपार्क भित्रै सम्पन्न हुन्थे । 

त्यतिवेला उपत्यकाबाहिरबाट आउने गाडीको बिसौनी धरहरामुनि थियो । जिल्लाबाट बस चढेर आएका कसैलाई पनि काठमाडौंमा कोही भेट्नुछ भने उनीहरूको मिटिङ प्वाइन्ट पनि पीपलबोट नै हुने गथ्र्यो । राजनीतिक उद्देश्यका लागि कोही काठमाडौं आएको छ भने उनीहरूले आफ्नो सम्पर्क व्यक्ति फेला पार्ने ठाउँ पनि पीपलबोट नै हुन्थ्यो । पीपलबोट पुगेपछि उनीहरूलाई घरै पुगेजस्तो हुन्थ्यो । 

पीपलबोटको पछाडिपट्टि त्यतिवेला बुटपालिस लगाउने सार्कीहरू टन्नै बसेका हुन्थे । त्यहाँ बुटपालिस लगाउनेहरू अहिले पनि छन्, तर पहिलेभन्दा निकै कम भइसके । काठमाडौंमा एकैठाउँ यति धेरै बुटपालिस लगाउनेहरू भेटिने एउटै मात्र ठाउँ पीपलबोट नै हो । बुटपालिस लगाउनेहरूको क्षेत्र भएकाले कहिलेकाहीँ राजनीतिक नेताहरू पनि यही ठाउँमा टुक्रुक्क बसी बुटपालिस लगाएर राज्यसत्तामाथि व्यंग्य कस्ने गर्थे । राजनीतिक उद्देश्य बोकेका शिक्षित बेरोजगारहरू पढाइ सकेर पनि काम पाइएन भन्दै बुट पालिस गरेर व्यवस्थालाई बदनाम गर्न यहीँ आइपुग्थे । 

राजनीतिक नेता–कार्यकर्तासँग धेरै उठबस गरेकाले होला, त्यहाँ बुटपालिस गर्ने कतिपय सार्कीहरूसमेत राजनीतिक गफ हाँक्न सक्ने भइसकेका थिए । त्यही मेसोमा एकपटक त्यहीँ बुटपालिस गर्ने गोल्छे सार्कीले तत्कालीन काठमाडौं नगर पञ्चायतको चुनावमा उपप्रधानपञ्च पदमा उम्मेदवारीसमेत दिए । उनलाई पञ्चायतविरोधी राजनीतिक दलहरूको घोषित समर्थन नभए पनि कार्यकर्ताहरूले भने साथ दिएका थिए । उनको चुनाव चिह्न तरवार थियो । गोल्छे सार्की एवं उनका समर्थकहरू कहिले काठको त कहिले साँच्चैको तरबार बोकेर चुनाव प्रचारमा निक्लन्थे । 

स्मरणीय छ, बहुदलीय व्यवस्था पुनस्र्थापना भइसकेपछि गोल्छे सार्कीलाई तत्कालीन एमालेले माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य बनाएको थियो । त्यही राष्ट्रिय सभाको एउटा बैठकमा उनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गालामा चड्कन हानेका थिए । 

०००

पीपलबोटवरिपरि बुट पालिस गर्ने सार्कीहरूको बजार बस्नुको पछाडि पनि एउटा रोचक कथा छ । ०१७–१८ सालतिरको कुरा हुनुपर्छ । गाउँबाट आएका एउटा केटो मेरा बाजेको पसलमा काम गर्न बसे । उनी काम बाजेको पसलमा गर्ने भए पनि सुत्न भने बाहिरै सुत्थे । दिउँसो अरूले अह्राएका सानातिना कामहरू पनि गरिदिन्थे । उनको खास नाम त कसैलाई थाहा छैन, तर सबै उनलाई हुचे भनेर बोलाउँथे । उनी छेउछाउका पसलेहरूको तमाखु भर्ने काम पनि गरिदिन्थे । तर, उनको जात थाहा नभएकाले बाजे भने उनले भरेको तमाखु खाँदैनथे । 

तर, सधैँ काम अह्राइरहनुपर्ने मान्छे भएकाले यसलाई पहिले शुद्ध गराउनुपर्‍यो भनेर बाजेले उनलाई एकदिन तीन मोहर पैसा दिँदै भनेछन्– पशुपति गएर कपाल खौरिनु, त्यसपछि ब्राह्मणलाई गौदान गर्नु, अनि सुन्धारामा नुहाएर घर आउनु । 

उनी हस् भनेर गए । तर, राति फर्कंदा टिल्ल रक्सी खाएर आएछन् । हुचेले गौदान गर्ने पैसाले त रक्सी पो खाएका रहेछन् । झन् त्यही साल गठेमंगलका दिन उनी आजु जय हाऽऽ कराउँदै भ्यगतमा पैसा मागेर हिँडेको देखेपछि बाजेले उनलाई पसलमै भित्र्याउन छोड्नुभयो । तैपनि ‘यसलाई एउटा काम लगाइदिनुपर्‍यो’ भनेर उनलाई पीपलबोटको चीभाःसँगै बुट पालिस गर्ने काम दिएछन् । हुचेले त्यो काम भने राम्रै गरे । उनको बुट पालिस पसल चल्दै गरेको देखेपछि उनीसँगै अर्को एकजना मानिस पनि बुट पालिस गर्न आए । अर्को बुट पालिसवाला हेर्दा दुब्लो–पातलो भएकाले उनलाई सबैजना ‘चखुंचा’ भन्ने गर्थे । 

चखुंचा अलि चलाख पनि रहेछन् । उनले आफूकहाँ बुट पालिस गर्न आउनेहरूका लागि एउटा सानो बेन्चको पनि व्यवस्था गरिदिए । जुत्तामा पालिस लगाउन्जेल मान्छेहरू बस्न सक्ने भए । बसुन्जेल रमाइलो होस् भनेर गीत सुन्न एउटा सानो ट्रान्जिस्टर पनि बजाउन थालेछन् । यति सुविधा भएपछि चखुंचाको बुट पालिस झनै चम्किन थाल्यो । यता चखुंचाको व्यापार फस्टाउन थालेपछि उता हुचे बेपत्ता भए । उनको ठाउँमा अरू सार्कीहरू थपिँदै जान थाले । र, पछि यो ठाउँ बुट पालिसको केन्द्रै बन्न पुग्यो । अहिले त्यहाँ बुट पालिसको त्यति चाप नदेखिए पनि एक झुप्पा भने अझै कायम छ । 

०००

पीपलबोटवरिपरि बढ्दै गएको यो भिडभाडकै असर हुन सक्छ, न्युरोडका विभिन्न ठाउँमा केही नयाँखाले पसलहरू पनि खुल्दै जान थाले । जस्तो मुन्चा हाउस जहाँ घरलाई चाहिने सम्पूर्ण सामान एकैठाउँ किन्न सकिन्छ । त्यस्तै छाता भण्डार, मंगलघर आदि । मंगलघरमा युरोपबाट आयातीत सामान पनि बिक्री हुन्थ्यो । मेरा बा रामप्रसाद मानन्धरले त्यही मंगलघरबाट एउटा बेलायती मोटरसाइकल (त्यतिवेला सनसाइकल भनिन्थ्यो) किनेर नेपालमै पहिलोपटक मोटरसाइकल भाडामा दिने पसल खोलेका थिए । उनको मोटरसाइकल भाडामा दिने पसल पनि यही पीपलबोटछेउमा थियो । उक्त मोटरसाइकलको नम्बर थियो २६९ र त्यसको मूल्य थियो रु. १३०० । सुरुमा एकजना साथीसँग पार्टनर भई किनेको उक्त मोटरसाइकल पछि आफू एक्लैले किने र काका हरिप्रसादसँग मिलेर चलाउन थाले । त्यतिवेला काठमाडौंमा मोटरसाइकल चलाउन जान्नेहरू धेरै थिएनन् । त्यसैले कतिपयलाई आफैँले सिकाइदिनुपथ्र्यो । कतिपयलाई चाहिँ मोटरसाइकलको पछाडि राखेर उसको गन्तव्यसम्म पुर्‍याइदिनुपथ्र्यो । यसलाई हाल लोकप्रिय भइरहेको ‘पठाओ’ सेवाकै पूर्वरूप भन्न सकिन्छ । काका हरिप्रसादका अनुसार, त्यतिवेला काठमाडौंबाट जावलाखेलसम्म यात्रु पुर्‍याउने र फर्काउने गरेबापत तीन मोहर चार्ज लाग्थ्यो । बाले छोडेपछि काका एक्लैले २०३१ सालसम्म यो सेवा सञ्चालन गरे । 

पीपलबोटको चौतारी घेर्ने गरी हालै स्टिलको बार राखिएको छ । योभन्दा अघि त्यहाँ डन्डीको बार थियो । त्यसअघि त्यहाँ कुनै बार थिएन, खुला थियो । ०३० सालतिर त्यहाँ पहिलोपटक बार राख्न खोज्दा स्थानीय जनताले विरोध गरेका थिए । तत्कालीन नगर पञ्चायतले बार राख्न लाग्दा स्थानीय जनताले ‘अहिले बार राख्यौ, पछि भित्र जानलाई टिकट पनि काट्ने होला’ भन्दै काममा अवरोध गरेका थिए । त्यसमा काका पनि अगाडि थिए । स्थानीयको विरोध आएपछि नगर पञ्चायतले राति राति मेन्टोल बालेर भए पनि बार बनाएरै छोड्यो । तर, पींढमा टाइ बिम बनाएर बार राखेकाले झरी पर्दा चौतारीमा पानी जमेर पूरै पोखरी बन्न पुग्थ्यो । अब यसले चौतारीभित्रका चीभाःहरू जम्मै भत्किने भो भनी स्थानीयले झन्डै बार उखेल्न लागेका थिए । तर, नगर पञ्चायतले फेरि रातभरिमै टाइ बिमको बीच–बीचमा प्वाल बनाई पानी पास गराइदिए । 

नेपालमा सहरी पूर्वाधारका धेरै विकासहरू न्युरोडबाटै थालिएको इतिहास छ । जस्तो कि पहिलो वाणिज्य बैंक– नेपाल बैंक, पहिलो वारुणयन्त्र–जुद्ध वारुणयन्त्र, पहिलो पिच सडक–जुद्ध सडक, पहिलो सिनेमा हल– जनसेवा हल, पहिलो हरियाली पार्क– भूगोलपार्क, पहिलो फायर हाइड्रेन्ड आदि आदि । यी सबैको साक्षी हो– न्युरोडको पीपलबोट । यो कहिलेदेखि यहाँ खडा छ त्यो कसैलाई थाहा छैन, अब कहिले ढल्छ त्यो पनि कसैलाई थाहा छैन । न्युरोडमा कुनै रोडै नभएको वेलादेखि ठिङ्ग उभिइरहेको यो बूढो पीपलबोट अहिले रोड बनेपछि त्यसको नामसमेत त्यही रोडबाट भइगएको इतिहास टुलटुलु हेरेर अहिलेसम्म उभिरहेको छ ।

https://jhannaya.nayapatrikadaily.com/news-details/403/2019-08-03

त्यसबखतको नेपालमण्डल


मल्ल के. सुन्दर
२०७६ पौष १२ शनिबार ०८:३८:००

सभ्यता

नगरीय विकास मानवीय सभ्यताको उन्नत अवस्थाको मूर्तरूपमा बुझ्ने गरिन्छ । भूमध्यसागरको मेसोपोटोमिया, ल्याटिन अमेरिकाको माया, युरोपको बेवोलियन, चीनको यांगेत्से, भारतीय महाद्वीपको सिन्धुघाँटी आदि सभ्यतालाई अध्येताले त्यसरी नै व्याख्या गर्ने गरेका छन् । यी सबै सभ्यता इसापूर्व हजारौँ वर्षअगाडि नै विकसित भइसकेका थिए । हाम्रो सन्दर्भमा नगरीय सभ्यताको इतिहास त्यति धेरै लामो नभए पनि प्राचीन नेपालमण्डलभित्र विकसित नगरीय संरचना दुई हजार वर्षभन्दा पुराना र विशिष्ट वास्तुकलायुक्त भएको कुरा सबै एकमत छन् । 

त्यसो त राजनीतिक शक्ति केन्द्रका रूपमा पश्चिममा खसान, पूर्व–दक्षिणमा तिरुहुत, भित्री मधेसतिर चौदण्डी र केन्द्रमा काठमाडौं उपत्यकामा क्रियाशील अस्तित्व सदियौँ पहिलेदेखि कायम थियो । तर, नगरीय सभ्यता भने केवल काठमाडौं उपत्यकाभित्र मात्र विकसित भए । अन्यत्रका मानवीय सभ्यताले भने नगरीय स्वरूप लिइसकेका थिएनन् । 
प्राचीनताको खोजीमा हामी हिमवत् खण्डसम्म पुग्न सक्छौँ अनि त्यसको अध्याय ७२ मा ‘नेपाल इति यो ब्रूयाज्ज्ञानतोत्रानतोपि वा । नित्यं कृतैनसो मुक्तस्त्रतैव जायते पुनः ।।’ ज्ञानपूर्वक वा अज्ञानतापूर्वक नेपाल शब्दको दिनदिनै उच्चारण मात्र गरिँदा पनि पाप मोचन हुनेछ भनिएको वर्णन भेटाउँछौँ । त्यस्तै, बौद्धग्रन्थ स्वयम्भू पुराणले पनि नेपाल खाल्डोको सम्बन्धमा चर्चा गर्दै भनिएको छ ‘एवं पुण्यतामा भूमिरियं हिमालयाहवया । सुखावतिनिभारम्भया बोधिसत्व समाश्रय ।। नेपालमण्डल अत्यन्त पुण्यतम् भूमि जहाँ हिमाल अवस्थित छ, त्यहाँ सुखावती लोकधातु समतुल्य बोधिसत्वले वास गरेको छ । नेपाल महात्म्य, स्कन्द पुराण, स्वस्थानी व्रत कथा आदिमा पनि खास नेपालका सम्बन्धमा अनेकन चर्चा पाइन्छ । बनेपाका राजा रण मल्लले आफ्नो नाटक ‘पाण्डव विजय’ मा त ‘भूवधूतिलकप्रायो’ भूमण्डलको शिरमा लगाएको टीकाजत्तिकै सुन्दर भनी वर्णन गरिएका छन् । तर, ती सबै प्राचीन नेपालको भौगोलिक अवस्थाका वर्णन र त्यसप्रतिको आस्थागत अभिव्यक्ति मात्र थिए । तीनमा मानवीय सिर्जना, स्थानीय जीवनशैली, भौतिक संरचना अर्थात् नगरीय सभ्यताका प्रसंग केही पाइन्न ।
मानवशास्त्रीहरूले काठमाडौं उपत्यकामा गरेको वैज्ञानिक अध्ययन र नृतत्वशास्त्रका आधारमा गरिएका विश्लेषणमध्ये रुसी पुरातŒवविद् डा. एनातोली याकोबलेभ सेटेन्कोको खोज महŒवपूर्ण मानिन्छ । उपत्यकाको बूढानीलकण्ठ इलाकामा भेट्टाइएका प्रस्तरका सामग्रीहरूको वैज्ञानिक विश्लेषणका आधारमा उनले ती पाषाणयुगमा प्रयोग गरिने मानव हतियार भएको तथा करिब तीस हजार वर्षभन्दा पुरानो हुन सक्ने अनुमान गरेका थिए । मंगालियामा भेटिएका पाषाणयुगका यायावरहरूले प्रयोग गर्ने गरेका हतियारसँग तीनको समानता रहेकोसमेत उनले दाबी गरेका थिए ।

राणाहरू सत्ताबाट हटे, तर नगरीय वास्तुकलाप्रतिको उदासीन मनोवृत्ति हटेन 

 

उपत्यका कुनै वेला दहको रूपमा थियो र पानी निष्कासन भइसकेपछि त्यहाँ विस्तारै मानवबस्ती बस्न थाले भन्ने कुरामा एक मत छ । यहाँको भूबनोटको अध्ययनले पनि कुनै समय उपत्यका विशाल तलाउका रूपमा रहेको थियो भन्ने कुरा पुष्टि भइसकेको छ । वैज्ञानिक आधार खोज्नेहरूले प्रागैतिहासिक कालमा भएको कुनै प्राकृतिक उथलपुथलको क्रममा उपत्यकाको दक्षिणी भेगमा रहेको चोभारमा गल्छी बन्न गई पानी बगेको हुन सक्ने तर्क गर्दछन् । तर, अर्कोतिर आध्यात्मिक मिथकमा विश्वास गर्नेहरू महाचीनबाट महामञ्जुश्री आएर चन्द्रहास खड्गले चोभारको चट्टान काटे अनि जमेको पानी सुकेपछि मञ्जुपत्तन नामको मानवीय बस्ती बसालेका थिए भन्ने भनाइ छ । यो स्वयम्भू पुराणका विवरण हुन् । त्यस्तै, नेपाल महात्म्यअन्तर्गत पनि श्रीकृष्णले आफ्नो सुदर्शन चक्रद्वारा पर्वत काटेर नागदहको पानी निकास गरे अनि आफूसँगै आएका गोपालवंशीलाई सहरमा बसोवास गराए भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । नगरीय बस्ती विस्तारसँग सम्बन्धित यी त मिथक प्रसंग भए । ऐतिहासिक आधारमा भन्दा स्वयम्भू पुराण १६औँ र नेपालमहात्म्य १७औँँ शताब्दीतिर मात्र लेखिएका ग्रन्थ हुन् ।

अर्कोतिर, नेपालमा भेटिएका विभिन्न वंशावलीमा पनि उपत्यकाभित्रको मानवीय सभ्यता विकासक्रमका आफ्नै खाले चर्चा छन् । इतिहास शिरोमणि बाबुराम आचार्यका दाबीअनुसार इसापूर्व सात÷आठ सय वर्षअगाडि नै यहाँ सभ्यताको विकास भइसके । पुरातŒव विभागद्वारा इटालीका अनुसन्धान टोलीलाई धोबीखोलाछेउ विशेषतः हाँडीगाउँवरपर सन् १९८४ देखि १९८९ सम्म गराइएको उत्खननमा भेटिएका पूराताŒिवक अशेषका आधारमा प्राध्यापक बेरार्दी जियोभानीले आफ्नो ‘एक्जाभेसन अट हाडीगाँउ’ पुस्तकमा यस तथ्यलाई पुष्टि गरिसकेका छन् । केही वंशावलीमा पनि उपत्यकाभित्रको प्राचीनतम् नगरीबस्ती उत्तर बुूढानीलकण्ठदेखि विशालनगर भई दक्षिण कोटेश्वरसम्म फैलिएको कुरा लेखिएका छन् । बागमती सभ्यतामै केन्द्रित भएर अध्ययन–अनुसन्धान गर्नु भएका डा. साफल्य अमात्यको पनि नेपाल खाल्डोभित्रको नगरी सभ्यता विकासका सम्बन्धमा समान खाले धारणा छ । उनी भन्छन्, ‘उपत्यकाभित्र राजा सुपुष्पदेवको राज्यकालदेखि नै सभ्यताको विकास भएको देखिन्छ । ...सोही राजाद्वारा उपत्यकामा एउटा सुन्दर सहर बसाई त्यहाँ श्री पशुपतिनाथको मन्दिर स्थापना गरेका थिए । तसर्थ, बागमती सभ्यताका अभियन्ता श्री सुपुष्पदेव नै हुन् । उनले बसालेको सहर हाडीगाउँअन्तर्गत पर्दछ ।’ नेपालको प्रमाणित ऐतिहासिक सामग्री मानिएको ‘गोपालराज वंशावली’मा पनि यिनै राजा सुपुष्पदेवको कुरा उल्लेख गरिएका छन् । कालान्तरमा ठूलो अग्निकाण्डमा परेर विशालनगर ध्वष्ट भए, पछि त्यहाँको मानव बस्ती अन्यत्र सरेको हो भनिन्छ । 

व्यवस्थित नगर विस्तार हुनुअघि उपत्यकाका वरपर अग्लो भूभागरहेको टोखा, धर्मस्थली, धापासी, टुसाल, बुढानीलकण्ठ, लेले, चापागाउँ, फर्पिङ, बुङमती, सुनाकोठी, तिस्तुङ, चितालङ, पूर्वमा चाँगु, साँखु, गोकर्ण, थानकोट, किसिपिढी, बलम्बु, सतुंगल, इचंगु आदितिर मानवबस्तीको विकास भएको हुनुपर्छ भन्ने इतिहासकारको अनुमान छ । त्यस भेगतिर भेटिएका लिच्छविकालीन अभिलेखबाट पनि त्यही कुरा पुष्टि हुन्छ । 

एउटा तिक्त कुरा के हो भने, मानव सभ्यताको त्यति प्राचीनतम् कालक्रम रहे तापनि प्रामाणिक अभिलेख, दसीप्रमाण भने खासै उपलब्ध छैन । लिच्छिवि राजा मानदेवको चाँगुनारायणको संवत् ३८६ (अर्थात् ई.सं.४६४) अंकित अभिलेखबाट मात्र प्रामाणिक इतिहासका प्रसंग फेला पार्न सकिन्छ । त्यो भन्दा पुरानो तथ्य हामीसँग छैन । 

लेखक एडवार्ड अलकजेन्डर पावेलले भनेका छन्, ‘विश्वका झन्डै सबैजसो प्रख्यात सहर हेर्ने मौका पाएँ, मलाई लाग्छ भक्तपुरको दरबार स्क्वायरमा जे–जति कुरा संरक्षित छन् त्यसको अवलोकन गर्नु पृथ्वीको आधा भागको यात्रा गर्नुभन्दा बढी उपयुक्त छ ।’

 

राजा नरेन्द्रदेवको राज्यकालमा उपत्यका पुगेका चिनियाँ तीर्थयात्री वाङ हुयन त्से भद्रादिवास राजप्रसाद पुगेका थिए । उनले त्यहाँ देखेका कुराको वर्णन गर्दै लेखेका थिए ‘...भवन तीन खण्डमा विभक्त थिए, तीनवटै खण्ड भव्य थिए । भवनका विभिन्न कक्ष बहुमूल्य रत्नद्वारा जडित थिए । भवनको बीच भागमा तामाका झिँगटी भएको साततले एउटा बुर्जा रहेको थियो । भवनमा चारै कुनामा तामाका नली तथा तल जमिनमा सुनका सुन्दर गोही राखिएका थिए । बुर्जामाथिबाट नलीद्वारा घुमाउरो बाटो गरी झरेका पानीका फोहराले गर्दा गोहीका मुखबाट झरिरहेका पहाडी झरनाको अपूर्व सौन्दर्य देख्न पाइन्थ्यो ।’ त्यसो त यी वर्णनमा पनि नगरीय बस्तीका सम्बन्धमा खास उल्लेख गरिएको भेटिन्न, तर त्यस बखतको नेपालमण्डलभित्र विकसित भइसकेको उत्कृष्ट स्थापत्यकला र वास्तुकलाको राम्रो जानकारी भने यसले दिन्छ ।

विशेषतः यक्ष मल्लको मृत्यु अर्थात् ई.सं. १४८० पश्चात् जसरी एकीकृत नेपालमण्डललाई तीन छोरा रण मल्ल, राय मल्ल र रत्न मल्ललाई तीन राज्यमा शासन गर्ने व्यवस्था गरिए त्यसले ती राज्यबीच सांस्कृतिक स्मारक तथा भौतिक संरचनाको विकासमा एक खालको आपसी प्रतिस्पर्धाको भावना तीव्र तुल्याए । त्यसै कालखण्डबाट भक्तपुरमा तलेजु स्थापना गरिँदा त्यसैको अनुकरणमा ललितपुर र कान्तिपुरमा पनि तलेजुको मन्दिर निर्माण गर्ने प्रचलन बस्यो । नगरमाझ ठूलो आकारको घन्टा राखिँदा तीनै सहरमा राखिए । भीमसेन र कृष्णको मन्दिर प्रतिस्थापना गरिँदा तीनैवटा सहरमा त्यसै गरिए । राजप्रसादमा पनि एक–अर्काको प्रतिस्पर्धामा सुनको ढोका, सुनको झ्याल, सुनका गजुर, अनेक चोक, देगुतलेजु इष्ट देवता आदि आराध्यस्थल मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी सतह बनाइए । नगरका बीच–बीच आकर्षक पोखरी, ढुंगेधारा वर्गाकारका वहाः, वहिल र चोकहरू विशिष्ट सिर्जना थिए । एक अर्थमा नगरी वास्तुकला विकास र समृद्धिका लागि ती स्वर्णिमकाल थिए । खड्गाकारमा होस् वा यन्त्रशैलीमा होस् वा अष्टमातृकाबाट संरक्षितका रूपमा होस् उपत्यकाभित्र यसरी विकसित प्राचीन सहर अति व्यवस्थित नगरीय सभ्यताका राम्रा नमुना रहे । 

चर्चित युद्ध संवाददाता तथा रोमाञ्चक यात्रा वर्णनका लेखक एडवार्ड अलकजेन्डर पावेलले ‘द लास्ट होम अफ मिस्चरी ः एडभेन्चर इन नेपाल’ पुस्तकमा लेखेका शब्द उद्धरण गरिने हो भने, ‘...म जसले विश्वका झन्डै सबैजसो प्रख्यात सहर तथा आवास गृहहरू हेर्ने मौका पाएँ, मलाई लाग्छ भक्तपुरको दरबार स्क्वायरमा जे–जति कुरा संरक्षित छन् त्यसको अवलोकन गर्नु पृथ्वीको आधा भागको यात्रा गर्नुभन्दा बढी उपयुक्त छ...। वास्तुकला तथा कलाको दृष्टिकोणबाट एकप्रकारले भक्तपुर अल्लाद्दिनको रहस्यमय गुफाजस्तै हो ।’

यथार्थमा नगरको अर्थ न त मानवीय आवासको भिडभाड मात्र हो, न भौतिक संरचनाबाट जेलिएको संरचना नै हुन् । प्राचीन नेपालमण्डलका रैथानेका लागि समुदाय मिलेर एक थलोमा बस्ने नगरीय आवास सुरक्षित, सुविधायुक्त र सुन्दर हुनु पर्छ भन्ने त छँदै थियो । त्यस अतिरिक्त नगरको भित्ता–भित्ताले गल्ली र चोक अनि घर–घरका इँटाका पंक्तिले पनि समुदायको आस्था र जीवनदर्शनलाई प्रतिविम्बित गरेको हुनुपर्छ भन्ने मान्यता राख्दथे । त्यसले नगरअन्तर्गत मानिस बस्ने आवासीय भवन मात्र होइन, त्यहाँ कुन बिन्दुमा दोबाटो, चौबाटो अनि त्यसबीच सार्वजनिक तथा सांस्कृतिक क्रियाकलापका लागि लाछी, डबली, देवस्थल, स्तुप, चैत्य, मठ, आगमघर, मन्दिर, फलेचा, सत्तल बनाइने हो भन्ने निश्चित स्थान निर्धारण गरिएका हुन्थे । दार्शनिक मान्यताका आधारमा निश्चित संरचनाका लागि निश्चित स्थान र आकृति, वास्तु, स्थापत्य सिद्धान्त पालना गरिन्थ्यो । त्यस्तै, वातावरणीय सन्तुलनका लागि अनिवार्य रूपमा चरण क्षेत्र, खुला चौर, वनजंगल, जलाधार क्षेत्रको पक्षमा पनि त्यत्तिकै ध्यान दिइएको हुन्थ्यो । प्रत्येक बस्तीका लागि स्वस्थ मानिस बस्न लायक न्यूनतम रूपमा हावा, पानी, घामको उपयुक्त सुविधा हुने चोक, लाछी, बहाल, बहिल व्यवस्थित गरिएका हुन्थे । अनि सोहीअनुसार ढल तथा पानी निकासका व्यवस्थासहित सार्वजनिक प्रयोगका लागि इनार, धारा र पोखरी पनि नगरको अभिन्न अंगका रूपमा हुन्थे । 

घर केवल आवास वा बसोवासका लागि खडा गरिएको संरचना मात्र नभई मानवीय आस्थाका प्रतीकस्वरूप घरको दुवैतिर खडा गरिएका दुई खापालाई भैरव÷भैरवी अनि मूलद्वारलाई गृहलक्ष्मी मान्छन्, त्यसैले सुरक्षाको प्रतीकका रूपमा त्यसमा आँखा तथा खड्ग कुँदिएको हुन्छ । ढोका दायाँ–बायाँका खम्बामा कुँदिएका कलात्मक बुट्टा पूर्णकलश, केराका पात, अष्टमंगल आदि शुभ संकेत हुने गर्छन् । मूलढोकाको चौकोसको माथिल्लो भागमा कुँदिएका पाँचखण्ड बौद्धका लागि पञ्चबुद्ध र हिन्दूहरूका लागि ब्रह्मा, विष्णु, महेश्वर अनि गणेश र कुमारका प्रतीक हुन् । मूलढोका ठीक सामुन्ने भुइँमा एउटा वर्गाकार ढुंगामा मण्डप बनाएर घरका रक्षकका क्षेत्रपालको अर्थमा सजाइएको हुन्छ । त्यस्तै घरको मूलद्वार सामान्यतया होचो बनाइएको हुन्छ ताकि घर गृहलक्ष्मी भित्र पस्दा निस्किँदा शिर झुकाएर नमन गरोस् । घरको गारोका इँटामा देखिने बुट्टा नाग्वः – नाग÷नागिनी र कमलको पात आकारमा पनि आफ्नै प्रतीकात्मक अर्थ हुन्छ । सजाइएका काष्ठकलाका झ्याल, आँखीझ्याल, विमानझ्याल, मयुरझ्याल, सँझ्याल तीनमा जीवनदर्शनका गहन भाव लुकेका हुन्छन् । 

भक्तपुरको सम्पदा संरक्षणमा क्रियाशील आर्किटेक्चर नील गुट्सचाउले गरेको नगरीय सभ्यताको अध्ययनका क्रममा रैथाने वास्तुकलामा निहित थुपै्र दार्शनिक पक्ष भेट्टाए । उनका अनुसार देवस्थलको वास्तु र लौकिक प्रयोजनका लागि निर्माण गरिने आवासको वास्तुमा निकै अन्तर छन् । त्यस्तै, वहाल वहिल, आगमघर तथा सत्तल, पाटीका वास्तुशैली पनि दार्शनिक आधारमा फरक–फरक हुन्छन् । देवस्थलको संरचनामा सामान्यतया माथितिर गजुर अनि छानामुनि विभिन्न देवदेवी वा देवकन्याका मूर्ति कुँदिएका टुँडाल, ढोकाबाहिर सिंहका मूर्ति तथा माथि कलात्मक तोरण हुने गर्छन् जुन मानिस बस्ने घरमा त्यसो हुन्न । सहरमा हेर्दा सबै घर एकै लाइनमा मिलेर बनाइएको जस्तो देखिन्छ, तर सूक्ष्म रूपमा हेरिँदा यदि त्यहाँ कतै कुनै देवस्थलका संरचना रहेछन् भने ती अन्य मानिस बस्ने घरको लाइनभन्दा अलिक बाहिर निस्केको पाइन्छ । आस्थागत मान्यताअनुसार जुन टोल वा बस्ती छ त्यहाँको मूल आराध्यदेवको मन्दिर वा अन्य संरचना सबैभन्दा अग्लो हुनेछ, अरू लौकिक प्रयोजनका घर भने आराध्यदेवप्रतिको श्रद्धास्वरूप ती संरचनाभन्दा होचो पारिएको हुन्छ । 

यिनै सम्पन्नता र समृद्धिबाट लोभिएर समय–समयमा पश्चिम खस राज्यका राजा उपत्यका पस्थे र लुटपाट गरेर फर्कन्थे । त्यस्तै, तिरुहुततिरबाट पनि आक्रमण भइरहन्थे । यता शंकराचार्यले स्थानीय बौद्ध समुदायमा शैव मत थोपर्न आफ्नै खाले ध्वंश मच्चाएका थिए । बंगालका सुल्तान समसुद्दिनले ने.सं. ४७० तिर गरेको हमला सबभन्दा हिंस्रक र उत्पातपूर्ण रह्यो । हुन सक्छ, पटक–पटकका ती बाह्य आक्रमणमा नेपालमण्डलभित्रका नगरीय सभ्यताको अनेकन सम्पदा क्षति भए । सम्भवतः त्यसपश्चात् नै नेपालमण्डलका शासकले नगर तथा त्यहाँका नागरिकहरूको सुरक्षाका लागि नगरको चारैतिर अग्ला–अग्ला पर्खाल लगाउन लगाए । अनि रणनीतिक महŒवपूर्ण केन्द्रमा क्वाथ (किल्ला) खडा गरी त्यहाँ पहराका लागि क्वाथ नायक राख्ने व्यवस्था गरे । सुरक्षाका लागि सबैतिर प्रवेशद्वार बनाउन लगाए । निश्चित समयमा मात्र ती द्वार खोलिन्थ्यो । देवशमशेरले सुरु गरेको तोप पड्काउने प्रचलनअनुसार रातिको तोप नपड्किएसम्म नगरका ती ढोका बन्द रहने प्रचलन यथावत् थिए । राणाकालमा बेलायती आवासीय प्रतिनिधिका रूपमा रहेका ओल्डफिल्डले समेत त्यसखाले नगर प्रवेशद्वार देखेका थिए । महŒवपूर्ण कुरा तीमध्ये जात्रा पर्व तथा देवदेवीका रथयात्राका लागि छुट्टै प्रवेशद्वार हुन्थे भने विवाह आदि शुभ कार्यका प्रयोजनका लागि अलग्गै अनि शवयात्रा चलाउनका लागि मात्र अर्कै द्वार प्रयोग गरिन्थ्यो । 

यसै सन्दर्भमा जर्मनकै विद्वान्द्वय बर्नाड क्वयलभर तथा नील गुस्टचावले संयुक्त रूपमा गरेको अध्ययनबाट पनि उपत्यकाका नगरीय सभ्यताको विशेषता स्वरूप त्यहाँ धार्मिक÷दैविक संस्कार तथा मानिसका सामाजिक व्यवहारका लागि अलग स्थान छुट्याइएको र त्यहीअनुसार देउता र मानिस अनि जीवित तथा मृतका लागि मसानघाटदेखि अन्य बाटोसमेत बेग्ला–बेग्लै व्यवस्था निर्धारण गरिएको कुरा फेला पारेका थिए ।

सायद, त्यसैले भारतीय वास्तुकलाविद् विद्वान् पर्सी ब्राउनले नेपालमण्डलभित्रको नगरीय वास्तुकलाको प्रशंसा गर्दै भनेका छन्, ‘यहाँका मन्दिर तथा मानिसका आवासले सुन्दर र व्यावहारिक कलाको सम्पन्नता झल्काउँछन् । यसबाट प्रस्ट हुन्छ यहाँका वासिन्दामा सुरुका कालखण्डदेखि नै उच्च खाले सौन्दर्यचेत रहेछन् ।’
जतिखेर गोर्खाली शासक उपत्यका प्रवेश गरे अनि सन् १८१६ मा ब्र्रिटिस इन्डियासँग सुगौलीसन्धि भए तत्पश्चात् काठमाडौंमा बेलायती आवासीय प्रतिनिधि स्थायी रूपमा बस्ने व्यवस्था भयो । त्यसपछि नै बेलायतीसँगको उठबस बढ्दै गयो । अनि उनीहरूमा पाश्चात्य जीवनशैली, सोच र संस्कारप्रति लस्सिने÷नक्कल गर्ने प्रवृत्ति पनि प्रबल हुन थाले । शासकका लवाइ–खवाइदेखि आवास निर्माणका सन्दर्भमा पनि ती प्रभाव देखिए । बेलायती वास्तुकलाको अन्ध नक्कल हुन थाले । नेपालको आफ्नै मौलिक वास्तुकला, संस्कृति, सम्पदाप्रति शासकहरूमा रत्तिभर गौरवको भावना रहेन । काठमाडौं उपत्यकाका वास्तुकलाका पारखी डा. मेरी सेपहर्ड ससरका बुझाइअनुसार, ‘...जसरी नेपालमण्डलको राजनीतिमा इस्वी ३०० देखि १७६९ सम्मको निरन्तरतामा टुट्यो त्यसरी नै सांस्कृतिक र सम्पदा संरक्षणमा पनि १७६९ पछि त्यो क्रम रहेन । 

भीमसेन थापाले खडा गरेको बागदरबार त्यसको पहिलो दृष्टान्त थिए । त्यसपछि जंगबहादुरको थापाथली दरबार, रणोद्दीप शाहको नारायणहिटी दरबार, वीरशमशेरको फोहरदरबार, सेतोदरबार, लालदरबार अनि चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबार । जुद्धशमशेरको जावलाखेलदरबार, मानभवन, मीनभवन, शान्तभवन, बबरमहल, सिंहमहल, केशरमहल, बहादुरभवन आदि आदि । वास्तवमा त्यस कालखण्ड नेपाली मौलिक वास्तुकलाविरुद्ध पाश्चत्य शैलीको खुला अतिक्रमणको कालखण्ड बन्यो । शासकहरूले आफ्नोअनुकूल पाश्चात्य शैलीका महल मात्र निर्माण गरेनन्, नेपालको मौलिक अनि अन्तर्राष्ट्रिय जगत्ले अत्यन्त प्रशंसा गरिएको मौलिक सम्पदा, वास्तु, स्मारक, नगरीय सौन्दर्यको संरक्षण र व्यवस्थापनमा समेत कुनै चासो देखाएन । केही दशकभित्र नै उपत्यकाको नगरीय सौन्दर्य लथालिंग पारिए । नेपालको मौलिक पहिचानका रूपमा रहेको नगरीय सम्पदामाथि अतिक्रमण जारी रहे । त्यसै समयको सेरोफेरोमा उपत्यका पुगेका ओल्डफिल्डले देखेका थिए, ‘...उपत्यकामा कतै पनि ढल निकासको व्यवस्था थिएन, जताततै सडकको दुवैतिर फोहोरको डंगुर र घरमुनिबाट फोहोर बगेको देखिन्थ्यो ।’ त्यस्तै सन् १८८९ जनवरीदेखि मार्चसम्म उपत्यका बसाइको आफ्नो संस्मरणमा फ्रान्सेली इतिहासकार सिल्भां लेभीले पनि त्यतिखेरको वातावरणबारेमा भनेका छन् ‘काठमाडौंमा आँखा खोल्नासाथ नाक बन्द गर्नुपर्छ । नालैनाल भएको सहर, हरेक चोकमा नाल, ... । फोहोर–मैला बाटोमा बगिरहेको र त्यहाँ नै खरानीको थुप्रोमा गनाउने मल ।’

राणाहरू सत्ताबाट हटे, तर ती उत्कृष्ट नगरीय वास्तुकला जुन हाम्रो राष्ट्रिय पहिचान र गर्वका रूपमा थियो त्यसप्रति उदासीनताकोे मनोवृत्ति फेरिएन । विशेषतः राजा महेन्द्रको रैथानेलाई अल्पमतमा पार्ने रणनीतिस्वरूप उपत्यकामा आन्तरिक आप्रवासनलाई हौस्याएको मात्र नभई सम्पदा र संस्कृतिको यस केन्द्रलाई सिमेन्ट र कंक्रिटको कुरूप भौतिक संरचनामा रूपान्तरण गर्न पनि टेवा पु¥याए । अनि त्यसमा भ्रष्ट स्थानीय एकाइको अविवेकीपना र गतिछाडा चरित्रले थप मलजल हाले । 

आज प्रश्न छ, पुर्खाले सिर्जेका ती अनुपम सांस्कृतिक सम्पदा, कला–कौशल, नगरी सभ्यताप्रति गौरवान्वित भएर तीनको संरक्षणमा लाग्ने कि आधुनिकता, स्मार्ट सिटी, समृद्धि अनि भ्यू–टावर निर्माणको भुत्ते अभियानमा अलमलिँदै विगतकै गल्ती दोहो¥याउँदै जाने ?

https://jhannaya.nayapatrikadaily.com/news-details/721/2019-12-28

महेन्द्रपथीय राष्ट्रवाद र नेपाल संवत्


मल्ल के. सुन्दर
२०७७ कार्तिक २९ शनिबार ०९:२५:००

 

महेन्द्रपथीय राष्ट्रवाद र नेपाल संवत्

हाम्रा राष्ट्रवादीहरूले भारतीय देवीदेवताहरूको स्मृतिमा भन्दा नेपाली पुत्री सीता, गार्गी, यशोधरा, भृकुटीलाई पुज्दै मोक्ष प्राप्तिको बोध किन गर्न सकिरहेका छैनन् ?

 

नेपालको राष्ट्रियताको सवालमा भारत सम्बन्धित प्रसंग सदैव उठ्ने गर्छ । हामी यति साह्रो अभ्यस्त भइसकेका छौँ कि यसमा कुनै अस्वाभाविक लाग्दैन । राणा शासनविरुद्धको राजनीतिक आन्दोलन र त्यसपश्चात् भारतीय शासनसत्ताबाट हुने गरेका अनेकन् हस्तक्षेप तथा नेपालमाथि लादिएका विभिन्न असमान सन्धिका कारण भारतलाई हेर्ने र बुझ्ने नेपाली बौद्धिक जमातको दृष्टिकोण मूलतः आलोचनात्मक नै रह्यो । त्यसमा नेपालका वामपन्थीहरूले त भारतविरोधको अर्थ राष्ट्रभक्तिको आधारभूत चरित्रकै रूपमा ब्याख्या गर्थे । निर्दलीय राजनीतिको बिगबिगीबीच राजाद्वारा चिनियाँ कार्ड प्रयोग गर्दै भारतविरोधी कदमहरूलाई नेपाली राष्ट्रवादको रूपमा स्थापित गराउन भरथेग गरे । यद्यपि, महेन्द्रपथीय राष्ट्रवादको अर्को पाटोमा पहाडिया खस अहंकारको कुरा प्रबल रूपमा छँदै थियो । 

 

भारतविरोधको पृष्ठभूमिमा आफूलाई कट्टर राष्ट्रवादीको रूपमा दर्ज गराउने प्रवृत्ति हाल फेरि सत्तारुढ ‘वाम’देखि मुलुकभित्रका एक तप्कामाझ चुलिएको छ । यसका खास कारण पनि छन् । सुगौली सन्धिमार्फत नेपालको मानमर्दन गरिसकेपछि नयाँदिल्लीबाट भारतले जसरी सूक्ष्म व्यवस्थापनमा नेपालको शासनसत्ता सञ्चालनमा उपस्थिति जनाउँदै आयो, त्यो किमार्थ कुनै स्वाभिमानी नेपालीका लागि स्वीकार्य थिएन । पछिल्लो कालखण्डमा पनि बाह्रबुँदे सम्झौताको मस्यौदामा भारतीय पक्षको उपस्थिति, सीमा नाकाबन्दी, संविधान निर्माणमा किचलो, कालापानीदेखि सुस्ता र अन्य भूभागमाथिको अतिक्रमण, भारतीय गुप्तचर प्रमुखको आगमन आदि घटनाक्रम नेपाली जनमानसका लागि अपाच्य हुँदै आइरहेको छ । 

 

००७ सालको राजनीतिक परिवर्तन, त्यसपछि नेपालको सत्ता सञ्चालनमा अनेकन् किचलो, ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि दरबार हत्याकाण्डका पछाडि नयाँदिल्लीको चलखेल थियो भन्ने बुझाइ आमजनमानसको हो, यी यावत् दृष्टान्त खाँटी राष्ट्रवादी दाबी गर्नेहरूका लागि भारतविरोध एकखाले कुलीन आचरण जत्तिकै भइदिएको छ । 

 

तर, यतिबिघ्न राष्ट्रवादी चेत भएर पनि आखिर किन नेपालको राष्ट्रवाद वा राष्ट्रियता सबल बन्न सकिरहेको छैन त ? एक टड्कारो प्रश्न छ । राजनीतिज्ञहरू भन्छन्– अहिले जत्तिको कमजोर नेपाली राष्ट्रियता कहिल्यै पनि थिएन । समाजशास्त्रीहरूको पनि आकलन छ– अहिले नेपाली समाज नराम्रोसँग खण्डित छ । वर्गीय, लैंगिय, क्षेत्रीय, भाषिक, धार्मिक, सामाजिक अनि आर्थिक कोणबाट समाज नरामै्रसँग बिच्किएको छ । कुनै पनि समय भत्किन सक्छ । 

 

यिनको कारण एउटै मात्र रहेको छ– राष्ट्रियता र राष्ट्रवादलाई बुझ्ने सत्ता–शक्तिको सोच त्रुटिपूर्ण रह्यो । सत्ताले आजसम्म सही अर्थमा नेपाली राष्ट्रियतालाई मजबुत पार्ने भूमिका निर्वाह गर्न सकेन । एकातिर सत्तामा आफू टिकिरहन टेकोको रूपमा विशेषतः नयाँदिल्लीको दृष्टिगोचरलाई राष्ट्रवादसँग गाँसेर व्याख्या गर्ने गलत प्रवृत्ति र अर्कोतिर आन्तरिक रूपमा मुलुकभित्रका सबै तह, तप्का, वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी, धर्म, संस्कृतिका नेपालीजनलाई समानताका आधारमा एकतामा सूत्रबद्ध गर्ने नीतिको अभाव रह्यो । यो नै अहिलेको कमजोर राष्ट्रियताको कारण हो ।

 

चर्चा भइसकेको छ, भौगोलिक रूपमा भारतवेष्टित रहेजस्तै राजनीतिक तथा आर्थिक क्षेत्रमा पनि भारतले नेपाललाई अँठ्याउँदै आइरहेको छ । यस अर्थमा नेपालको राष्ट्रियता दरो बनोस् भनेर चाहना राख्ने जोकोही पनि भारतको विरोधमा पंक्तिबद्ध हुन कर लाग्छ । यसलाई सहज रूपमा नेपालमाथि हुँदै आइरहेको भारतीय प्रभुत्वबाट उन्मुक्तिको चाहनाका रूपमा बुझ्न सकिन्छ । अर्को कोणबाट यसलाई राष्ट्रवादको एउटा पाटो होइन भन्न सकिन्न । 

 

धरातलीय यथार्थमा अध्ययन गर्दै गर्दा नेपालमाथि भारतीय प्रभुत्व र औपनिवेशिक प्रभावका आयाम जति व्यापक अनि विविधताजन्य पाउँछौँ, त्यति नै कालखण्डका दृष्टिकोणले पनि यी अनन्त र अविरल रहँदै आएका छन् । तर, राष्ट्रवादी भएर भारततर्फ चोर औँला ठड्याउने महेन्द्रपन्थीदेखि हालका वामपन्थीसम्मले राजनीतिक वृत्तका अतिरिक्त अन्य पक्षमा विद्यमान भारतीय प्रभुत्वको कुनै चर्चा चासो गर्ने गर्दैनन्, किन ? 

 

‘असली हिन्दुस्थाना’ बनाउने अभीष्टद्वारा निर्दिष्ट पहाडिया खस राष्ट्रवादले आज पनि भारतीय भूमिभित्रको काशीवासलाई विशिष्ट महत्वका साथ आफ्नो संस्कार–संस्कृतिको एक अभिन्न अंश ठान्छ । भारतीय सार्वभौमसत्ताभित्रको बद्रीनाथ, द्वारिका, पुरी र रामेश्वरम चारधामको भूमि स्पर्श मात्र हुन सके पनि आफ्नो जीवनको उद्धार हुने आस्थामा ऊ मग्न छ । ब्रह्मनालमा लम्पसार परेको अवस्थामा भारतको गंगानदीको पानी आफ्नो मुखमा परोस् र मृत्युपश्चात् पनि भारतकै नदीनालामा अस्थि सेलाउनेदेखि गयामा पिण्ड तर्पण गरेर मुक्ति दिलाइयोस् भन्ने चाहनाबाट ऊ सन्तप्त छ ।

 

आफूलाई आर्य र अरूलाई अनार्य सम्झने समाजले रोजेको मर्यादा पुरुष हुन् भारतको अयोध्याका राजकुमार राम । भारतको बृजभूमि मथुराका कृष्ण हाम्रा पथप्रदर्शक । कुरा त्यति मात्र होइन, भारतीय पण्डाहरूले लेखिदिएका धर्मसंहिता नै लामो सदयदेखि नेपाली सामाजिक सञ्चालन र सम्बन्धको मूल आधार भइदिएको छ । आजपर्यन्त नेपालका कतिपय ऐन, कानुनका प्रावधान तिनै मूल्य–मान्यताबाट निःसृत छन् । नेपाली समाजमा विद्यमान भारतीय संस्कृतिको दबदबाका यी साना फेहरिस्त हुन् । फेरि पनि यिनका सम्बन्धमा कसैको कुनै चासो देखिन्न । 

 

सिनेमा घरभित्र छिर्दा भारतीय चलचित्रकर्मी अमिताभ बच्चन, शाहरूख खानदेखि प्रियंका चोपडा वा दीपिका पाडुकोण अनि उनीहरूले बोल्ने परदेशी भाषा, परदेशी भाव र संस्कारले हामीलाई कसरी थचारिरहेको छ, एक पल पनि हामी अनुभूत गर्दैनौँ । बरु घर पस्दा तिनै हिन्दी फिल्मी गीत सुसेल्दै सिँढीमा पाइला टेक्न रमाउँछौँ । फेरि पनि आफू नेपाली नै भएको गर्व गर्छाैं । कोठा आफ्नो, परिवार आफ्नो अनि कोठामा सजाएर राखेको टिभी पनि आफ्नै, तर परिवारका अभिभावकदेखि महिला बालबालिकासम्मको रोजाइ बन्छ, भारतीय सिरियल तथा कार्यक्रमहरू । विवाह, व्रतबन्ध वा अन्य भोजभतेरको जमघटमा मनोरञ्जनका लागि बजाइने पञ्जाबी भाँङडा शैलीका गीतसंगीत मात्र होइन, त्यसैमा तालबद्ध हुँदै नाचमा रमाउने हाम्रा आफन्तहरू, अनि भारतीय शैलीका लेहेंगा र शेरवानी कोट र कुर्ता–सुरुवालमा सजिनसमेत किञ्चित असमञ्जस्यताको अनुभव हुँदैन । जिउमा सजाइएका वस्तुदेखि घरेलु प्रयोजनका सामान, दैनिक उपभोग्य सामग्री, एक स्थानबाट अर्को स्थानसम्मका लागि प्रयोग गरिने सवारी साधन, त्यसमा प्रयोग गरिने इन्धन सबैमा प्रभुत्व जमाएको छ, भारतले । 

 

यद्यपि, कुनै समय विद्यालयको पाठ्यांशको रूपमा भारतीय विद्यालयमा पढाइने पुस्तकहरू नै नेपाली विद्यार्थीहरूले पढ्नुपर्थ्यो, अहिले त्यो बाध्यता छैन । नत्र भने पाठ्यक्रमअन्तर्गत अनिवार्य रूपमा भारतको इतिहास र भूगोल पढ्नुपर्ने अवस्था थियो । तर, त्योभन्दा पनि दयनीय कुरो हो, संस्कार, संस्कृति, परम्परा र आस्थाका रूपमा हामीमा गाँजिरहेका भारतीय ती अलिखित अंशहरू, जुन प्रभुत्वका रूपमा छन्, औपनिवेशिक चेतका रूपमा छन् । वास्तवमा ती हामीमा रहेका सांस्कृतिक दासताका अवशेष होइनन् र ? अनि यी सबैबाट मुक्त हुन नखोजेसम्म नेपालको राष्ट्रवाद कति सग्लो ठहरिन्छ, कति दर्विलो रहन्छ ?

 

संयुक्त राष्ट्र संघको सदस्यताका लागि नेपालले २२ जुलाई १९४७ मा आवेदन दिएको थियो, तर त्यो अस्वीकार गरियो । तत्कालीन सोभियत संघ जुन सुरक्षा परिषद्को सदस्य र भिटो अधिकार सम्पन्न राष्ट्र थियो, उनको बुझाइमा नेपाल कुनै सार्वभौम र स्वतन्त्र राष्ट्रको हैसियत राख्दैन, त्यसैले सदस्यता दिनुहुन्न भन्ने उनको अडान थियो । पर्व, उत्सव भारतकै झैँ मनाइने– दशहरा र दीपावली ! राज्यसँग गाँसिएको धर्म संस्कृति भारतकै सरह हिन्दू । अड्डा अदालतमा आधिकारिक स्तरमा प्रयोग गरिने लिपि हिन्दीकै अनुकरण, प्रचलनमा रहेको खस सरकारी भाषा हिन्दीसँग मिल्दोजुल्दो । अनि भारतकै विक्रम संवत् राजकीय व्यवहारमा रहँदै आएको पृष्ठभूमिमा नेपालले स्वतन्त्र र सार्वभौम राष्ट्र पुष्टि गर्न सक्दैन भन्ने अर्घेलो थियो, सोभियत संघको । नेपालमा विद्यमान यस्तै यथार्थकै आधारमा स्वयं विश्वेश्वरप्रसाद कोइरालाले समेत कुनै कालखण्डमा ...‘नेपाल भारतको एक प्रशासनिक एकाइभन्दा अरू ठहरिन्न’ भनेका थिए । 

 

भनिन्छ, पछि आफ्नो विशिष्ट मौलिकता झल्किने वास्तुकला, काष्ठकला, मूर्तिकला, धिमेजस्ता बाजा, रैथाने गरगहना, परिकारका अतिरिक्त पृथक् देखिने रञ्जना लिपि, नेपालकै नामबाट संवत्सर गरिएको नेपाल संवत् आदिको विवरणसहित आफ्नै फरक पहिचान भएको स्वतन्त्र, सार्वभौम राष्ट्र हो भन्ने दाबीका साथ अर्को निवेदन दिएपछि १४ डिसेम्बर १९५५ मा मात्र संयुक्त राष्ट्र संघ सदस्यता हासिल गर्न नेपाल सफल भयो । खोजी गरिएमा, जाँगर देखाइएमा आफ्नै साँधसीमाभित्र राष्ट्रियता बोध गराउने बिम्ब, विचार र व्यक्तित्वको अभाव रहेनछ भन्ने त्यो एक उदाहरण थियो ।

 

भारतीय भूमिका चारधामजत्तिकै पवित्र लुम्बिनी, मुक्तिनाथ, वराहक्षेत्र, गोसाइँकुण्ड हाम्रोमा नभएको होइन । काशीवास भई जीवनको अन्तिम श्वास कुर्नेहरूले नेपालकै त्रिवेणी देवीघाट वा पशुपति आर्यघाट रोजेर अपनत्वसहित गौरवान्वित हुन किन चाहेनन् ? भारत पुगेर पुरुषोत्तम राम वा कर्मयोगी कृष्णका अगाडि शरणागत हुनुभन्दा नेपाली माटोको सन्तति तथागत सिद्धार्थ गौतम, वैदेही जनकदेखि याज्ञवल्क्य, अष्टावक्रका जीवन दर्शनबाट किन उत्प्रेरित हुँदैनन् ? हाम्रा राष्ट्रवादीहरूले भारतीय देवीदेवताको स्मृतिमा भन्दा नेपाली पुत्री सीता, गार्गी, यशोधरा, भृकुटीलाई पुज्दै मोक्ष प्राप्तिको बोध किन गर्न सकिरहेका छैनन् ?

 

एकातिर नेपाली हौँ भनेर नेपाली राष्ट्रवादका लागि पाखुरा सुर्काउँछौँ, अर्कातिर दास सांस्कृतिक मानसिकताले पूर्वज भेट्टाउन लर्को लाग्दै गोत्र तथा वंशका नाउँमा वशिष्ठ, कौशिक, गौतम, कश्यप, अत्रि आदिसँग सम्बन्ध गाँसेर त्यही भारतीय भूमि नै पुग्छौँ । तर, नेपाली भूमिको सुवासयुक्त मुन्धुम वा यलम्बरलाई आफन्त ठान्न हिच्किचाउँछौँ । हजारौँ वर्षअघि चिनियाँहरूलाई दर्शनशास्त्रमा दीक्षित गर्ने नेपाली सन्तति बुद्धभद्रलाई राष्ट्रवादीहरू चिन्दैनन् । तिब्बत चीनसम्म नेपाली कलालाई विस्तारित गर्ने कलाकार अरनिको वा इन्डोनेसियाका बुद्धेबुरका कला सर्जक नेपाली गौरव गुणधर्म आदिले राष्ट्रवादको बसिबियाँलोमा प्रवेश पाउँदैनन् । सिञ्जा उपत्यकामा हजारौँ वर्षदेखि आदिवासी खसहरूले संरक्षित गर्दै आएको हाम्रो रैथाने मष्टो संस्कृतिलाई राष्ट्रियताको जलप लगाउन कन्जुस्याइँ गरिन्छ ।

 

मगरातमा विकसित आफ्नै आखा लिपि, पूर्वी नेपालमा प्रयोगमा रहेको सिरजंगा लिपि, त्यति मात्र होइन, भारत, तिब्बत, चीन, कोरिया, जापान, मंगोलियासम्म आजपर्यन्त श्रद्धापूर्वक स्थान दिँदै आइरहेको हाम्रो गौरवको प्रतीक रञ्जना लिपि छन् तर संस्कृत र हिन्दी भाषाका प्रयोजनमा ल्याइएको देवनागरीलाई संविधानमै किटेर राष्ट्रिय लिपि दर्ज गर्दा कथित नेपाली राष्ट्रवादलाई किन पोल्दैन ?

 

हामीमा रहेको राष्ट्रियतासम्बन्धी यस्तै दुर्बल मानसिकताको एउटा विद्रुप नै बनेको छ– नेपाल संवत् ! यस संवत्का प्रवर्तक शंखधर शाख्वाः सत्ताकै भाषामा नेपालका राष्ट्रिय विभूति हुन् । सरकार कबुल गर्छ, उनले प्रचलनमा ल्याएको नेपाल संवत् राष्ट्रिय संवत् हो ! नेपाल संवत् नयाँ वर्ष, भिन्तुनाको अवसर पारेर जनसमक्ष उभिन आउने सत्ता प्रमुखहरू यस संवत्का राष्ट्रिय गरिमा र मौलिकताका सम्बन्धमा विज्ञ छन् । तर, नेपालीपनमा गर्व गर्ने संस्काररहित स्वभाव तथा भारतीय भूमिको धुलो माथमा तिलकसरह दल्न पाए मोक्षको अनुभूत गर्ने सांस्कृतिक दासत्वका कारण विनाअर्थ भारतीय संवत् विक्रम संवत्बाट नेपाल संवत् विस्थापित गराउनमा रमिते बनिरहेका छन् । विसंगतिको एक पराकाष्ठा !

 

महेन्द्रीय राष्ट्रवाद पुनारवृत वर्तमान अवस्थाका यी तिक्ता हुन् । पुङमाङे चरित्रको यस्तो महेन्द्रपथीय राष्ट्रवादले न त नेपाली जनता–जनताबीचको एकतालाई मजबुत पार्दै राष्ट्रियतालाई दरो बनाउन सक्छ, न त जरो गाडेको भारतीय संस्कृतिको प्रभुत्वबाट मुक्ति दिलाउँछ । 

https://jhannaya.nayapatrikadaily.com/news-details/1176/2020-11-14

नेवाः प्रणय दिवस


रत्न प्रजापति
विचार

 २९ माघ २०७७ १०:३६:००

 

युवा पिँढीको एउटा महत्त्वपूर्ण पर्वका रूपमा रहिआएको छ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको प्रेम बलिदानसँग सम्बन्धित छ भनिँदै आएको छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्दै यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्धको कदम भन्थे। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो। त्यसैले उनले राजाज्ञालाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि युवालाई प्रेरित मात्र गरेनन्; युवायुवतीका जोडी तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गरे।

राजाज्ञाको अपमान गरेको आरोपमा सेन्ट भ्यालेन्टाइनलाई ईशापूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा आज पनि हरेक वर्ष फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा उत्सव मनाउने गरिएको छ।

संसार नै प्रेम र विश्वासमा अडेको सन्दर्भमा प्रेम गर्नु वा प्रेम चाहनु कुनै अनौठो होइन। पाप र अपराध पनि होइन प्रेम। जोसुकैको पनि सफल जीवनअगाडि अथवा पछाडि प्रेमको देन रहेको हुन्छ भन्नेमा अब कुनै सन्देह बाँकी छैन। हाम्रै समाजवरिपरि यस्ता उदाहरण हामीले धेरै देखेका छौं; भेटेका छौं र अझै देख्न अथवा भेट्न सक्छौं।

विश्व परिप्रेक्ष्यमा प्रेमको नाउँमा भ्यालेन्टाइन डे संस्कृतिको सुरुवात भएजस्तै नेपालमा विशेषगरी नेवार समुदायमा पनि भ्यालेन्टाइन डेलाई सम्झाउने ‘मतिना पारू’ को संस्कृति रहेको चर्चा हुने गरेको छ। मतिना पारू संस्कृतिको पुरानो र लिखित इतिहास नभेटिए पनि नेवार युवाले यःमरि पुन्हिको भोलिपल्टको थिँल्लागा – प्रतिपदालाई मतिना पारूको नामले प्रणय दिवसका रूपमा मनाएको हुनसक्ने अनुमान संस्कृतिविद्हरूको छ। यद्यपि यो संस्कृति अहिले विकिपिडिया र केही अनलाइनमा चर्चा हुनुबाहेक अस्तित्वमा रहेजस्तो लाग्दैन। पछिल्लो समय फेरि नेवार युवाले यो संस्कृतिलाई ब्युँताउने प्रयास गरिरहेका छन्। यो संस्कृति यसअघि नै अस्तित्वमा थियो भने यसलाई पुनः उजागर गर्नुपर्छ र यति राम्रो संस्कृतिप्रति हामीले गौरव गर्न सक्नुपर्छ। होइन भने संस्कृतिलाई ठट्टा वा लहडबाजीका रूपमा मात्रै लिनु हुँदैन।

नेवार भाषामा मतिना भनेको प्रेम हो भने पारू भनेको प्रतिपदा अर्थात् पूर्णिमाको भोलिपल्ट हो। मतिना पारूलाई प्रेम प्रतिपदा पनि भन्न सकिन्छ। नेपालमा प्राय मंसिर–पुस महिनामा पर्ने धान्य पूर्णिमाको दिनलाई नेवार समुदायले यःमरि पुन्हिका रूपमा मनाउँदै आएका छन्। यस अर्थमा यःमरि पुन्हिको भोलिपल्ट मतिना पारू पर्छ। नेपाल संवत्अनुसार हरेक वर्ष थिँल्लागा पारूको दिनलाई मतिना पारू अर्थात् प्रेम प्रतिपदा भनिएको पाइन्छ। प्रेम प्रतिपदालाई नै नेवार समुदायका युवाले प्रणय दिवसका रूपमा मनाउने गरेको अनुमान छ।

इतिहासविद् भुवनलाल प्रधानले आफ्नो पुस्तक ‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’ मा उल्लेख गरेअनुसार लिच्छवि राजा वृषभदेव (वि.सं. ४४७–४७२) का पालादेखि नै यःमरि पुन्हि मनाउन थालिएको अनुमान छ। यःमरि पुन्हिसँगसँगै मतिना पारूको संस्कृति सुरु भएको हो वा होइन भन्ने विषयमा कुनै ठोस प्रमाण भने छैन। पछिल्लो समय विकिपिडियादेखि केही अनलाइन र छापामाध्यममा पनि मतिना पारू अर्थात् नेवाः प्रणय दिवसका बारेमा उल्लेख गरिएको र नेवार समुदायका युवाहरूले चासोपूर्वक यसलाई पछ्याउन थालेको पाइए पनि यसको कुनै लिखित इतिहास अथवा हामीले प्रयोग गर्ने पात्रोहरूमा पनि यसबारेमा लेखिएको भने पाइँदैन।

एक वर्षअघि नै प्रणय दिवसकै सन्दर्भमा मतिना पारूका विषयमा केही बुझ्ने प्रयास गर्दा वरिष्ठ संस्कृतिविद् हरिराम जोशीले नेवाः संस्कृतिमा मतिना पारू अर्थात् प्रणय दिवसको चलन रहेको थाहा नभएको बताउँदै बीचको केही समय नेवार युवाले पश्चिमा संस्कृतिको प्रभावमा यःमरि पुन्हिको भोलिपल्ट अर्थात् थिँल्लागा –प्रतिपदालाई मतिना पारू अर्थात् नेवाः प्रणय दिवस भनेर आफ्नै संस्कृतिका रूपमा अपनाएको हुन सक्ने बताउनुभएको थियो। कृष्णाष्टमी र नेवार समुदायको सिनाज्याको समयलाई केही हदसम्म प्रणय स्वतन्त्रताका रूपमा लिइने गरेको उहाँले बताउनुभएको थियो।

वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पनि नेवाः संस्कृतिमा मतिना पारू अथवा नेवाः प्रणय दिवसको चलन रहेको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो। बीचका केही समय युवाले यो चलन सुरु गरेको हुन सक्ने बताउँदै अहिले त्यो चलन अस्तित्वमा नरहेको उहाँले बताउनुभएको थियो।

इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ भने आफूले पनि मतिना पारूका बारेमा सुनेको र कतै पढेको तर यसबारेमा विस्तृतमा जानकारी नभएको बताउनुभएको थियो। यद्यपि प्रणय दिवसकै सन्दर्भमा भन्नुपर्दा नेवार संस्कृतिमा यसलाई कही हदसम्म छुट वा सहुलियत दिएको पाइने उहाँले बताउनुभएको थियो।

विजयादशमीको मध्यरातमा भक्तपुरको तलेजुको पायः द्यः (खड्गदेव) जात्रामा पनि युवावयका केटा र केटी जोडी बाँधिएर घुम्न निस्कने र यसमा परिवारको समेत कुनै रोकटोक नहुने डा. श्रेष्ठको भनाइ छ। यसैगरी फागुपूर्णिमा अर्थात् होली पुन्हिको अवसरमा पनि भक्तपुरमा दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरमा फागुन शुक्ल अष्टमीदेखि होली पुर्णिमाका दिनसम्म भीमसेनको लिंग र द्रौपदीको योनिको प्रतीकलाई झुन्ड्याएर यौन समागम गराइने चलन छ। यसलाई प्रणयको चरम उत्कर्षका रूपमा लिइन्छ। यहाँ पनि तन्नेरी पुस्ताको भीड लाग्ने गर्छ। यसरी नेवारी संस्कृतिभित्रका विभिन्न पाटामा प्रणयलाई प्रधानता दिइएको पाइन्छ।

नेवारी संस्कृतिभित्रका विभिन्न पाटामा प्रणयलाई प्रधानता दिइएको छ। 

 इतिहास तथा संस्कृतिविद् विनोदराज शर्माले पनि मतिना पारूका बारेमा सुनेको तर यो तिथिमितिका बारेमा पात्रोमा अहिलेसम्म उल्लेख गरिएको थाहा नभएको बताउनुभएको छ। उहाँ भन्नुहुन्छ, ‘यद्यपि विनाआधार कसैले मतिना पारू अर्थात् नेवाः प्रणय दिवसका बारेमा विषयको उठान गरेको नहुनुपर्ने हो। कहींकतै यसको चलन भएकै आधारमा यो विषयलाई उठाइएको हुनुपर्छ।’ हरेक चाडपर्वमा छोराचेलीलगायत मनपरेका मान्छेलाई बोलाएर खुवाउने चलन पुरानै हो। यःमरि पुन्हिको भोलिपल्ट अर्थात् थिँल्लागा – प्रतिपदाका दिनमा यसैगरी बोलाउने चलन अद्यापि छ।

विकिपिडियामै लेखिइसकेपछि अब यसको आधार अथवा इतिहासको खोजीनीति स्वयं संस्कृतिविद्हरूले नै गर्नुपर्ने विचार शर्माको रहेको छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः, गणेशराम लाछीलगायतले भने नेवारी समाजमा मतिना पारूको अस्तित्व रहेको स्विकार्नुभएको छ। पछिल्लोपटक २०७७ साल पुस १८ गतेको गोरखापत्रमा यलु जोशीद्वारा प्रेषित ‘नेवारी समाजमा मनाइयो प्रेमदिवस’ शीर्षकको समाचार प्रकाशित भएको छ।

समाजीकरणका क्रममा नयाँनयाँ समाज र संस्कृतिसँगको घुलमिल र सांस्कृतिक परिवर्तन (कल्चरल चेन्ज) र सांस्कृतिक आत्मसात (कल्चरल एसिमिलेसन) ले गर्दा आधुनिक सभ्यता र संस्कृतिको प्रभाव नेपाली समाजमा पनि गहिरैसँग परेकाले हाम्रै समाजभित्रको नेवार समुदायका युवाले पनि मतिना पारूको सुरुवात गरेको अनुमान गर्न सकिन्छ। हामीले जुन कुराको चलन चलायौं त्यही नै कालान्तरमा संस्कृति बन्ने हुनाले मतिना पारू पनि कालान्तरमा नेवाः संस्कृतिका रूपमा विकसित हुने अनुमान गर्न सकिन्छ।

 धर्म, संस्कृति, अनुकूल समय, स्वास्थ्य र वातावरणको कुरा गर्दा निसन्देह माया–प्रेमका कुरा पनि जोडिएर आउँछ। संस्कृतिभित्र माया–प्रेमका समय र सन्दर्भ पनि जोडिएको र नजानिँदो गरी त्यस्तो माया–प्रेम हुर्किरहेको हुन्छ र हुर्काइरहेको हुन्छ। विविध सामाजिक बन्धन हुँदाहुँदै पनि संस्कृतिले नै माया–प्रेमलाई मलजल प्रदान गर्ने तथ्यलाई इन्कार गर्न सकिन्न। यःमरि पुन्हि पनि माया–प्रेमलाई मलजल गर्ने र हुर्काउने पर्वका रूपमा रहेको छ। तिहारमा देउसीभैलो खेलेजस्तै यःमरि पुन्हिका दिन पनि नेवार समुदायभित्र टोलटोलमा गएर भट्याउँदै यःमरि माग्ने चलन छ। यःमरि माग्न विशेषगरी युवायुवती र केटाकेटी जाने गर्छन्। अरूबेला भेट नहुने युवायुवतीको पनि यस दिन देखभेट हुन्छ। देखभेटकै क्रममा चिनापर्ची हुन्छ। मनको भावना साटासाट हुन्छ। मायाप्रीति बस्छ। तर यःमरि माग्ने बेला सबैसामु खुलेर कुरा गर्न नसकिने र मनको भावना व्यक्त गर्न नसकिने हुँदा भोलिपल्ट भेट्ने मेसो मिलाउने चलन चलेको हुनुपर्छ।

आफ्नै समाज र संस्कृतिभित्र प्रेमको चोखो भावनालाई अभिव्यक्त गर्ने यति राम्रो चलन नेवार संस्कृतिभित्र हुनुलाई गौरवका रूपमा लिनुपर्छ। आफ्नै संस्कृतिलाई उजागर गर्ने हो भने हाम्रो आफ्नो संस्कृतिले संरक्षण र संवद्र्धनको अवसर पनि पाउँछ। यति मात्रै होइन; यति राम्रो संस्कृतिले संसारभरि फैलिने अवसर पनि पाउँछ र हाम्रो पहिचान संसारभरि फैलिन्छ। त्यसैले अरूको संस्कृतिमा रमाउनुभन्दा आफ्नै संस्कृतिमा रमाउने कोसिस गर्नुलाई सराहनीय मान्न सकिन्छ।

http://annapurnapost.com/news/174863

ढुंगेधारा केवल पँधेरो होइन

नेपालमण्डल सभ्यतामाझ विकसित लोहँहिति–ढुंगेधारा खानेपानी उपलब्ध गराउने माध्यम मात्र नभई बहुआयाम बोध गराउने एउटा मूर्त भौतिक संरचना हो । ढुंगेधाराहरु केवल पानी थाप्ने पँधेरा होइनन्, यिनमा बहुविधाका अभिव्यक्ति प्रतिविम्बित छन् ।

मल्ल के. सुन्दर 

मानव जीवन, सभ्यता र समुन्नतिको आधार पानी नै हो । प्रागऐतिहासिक कालतिर नियाल्दा नाइल नदीको वरपर विकसित मिश्र सभ्यता, सिन्धु घाँटीको हरप्पा, मोहनजोदारो, ह्वांग हो नदी किनाराको चिनियाँ सामाजिक विकास, गंगा नदीको उर्वरभूमिका प्राचीन भारतीय सभ्यता यस्ता दृष्टान्तमध्ये हुन् । वाग्मतीको पानी सिञ्चनबाट व्यवस्थित भएको उपत्यकाभित्रको नेपालमण्डल सभ्यता पनि यस्तै प्रकारको एक हो ।



जल–व्यवस्थापनसम्बन्धी शिल्पको विकास र मानव सभ्यताको उन्नति अन्तरसम्बन्धित छन् । जुनजुन मानव समुदायले जल–व्यवस्थापनमा निपुणता देखाए, कालान्तरमा तिनीहरूले नै विविध विधामा प्रगति गरे । जल–व्यवस्थापन अर्थात् बाढी नियन्त्रण र सिँचाइ, जलाधार क्षेत्रको संरक्षण, जल शुद्धीकरण, जल परिवहनको विकासका अतिरिक्त जीवन निर्वाहका लागि पिउने पानीको व्यवस्था प्रमुख हुन् ।

नेपालमण्डल सभ्यतामाझ विकसित लोहँहिति–ढुंगेधारा खानेपानी उपलब्ध गराउने माध्यम मात्र नभई बहुआयाम बोध गराउने एउटा मूर्त भौतिक संरचना हो । ढुंगेधाराहरू केवल पानी थाप्ने पँधेरा होइनन्, यिनमा बहुविधाका अभिव्यक्ति प्रतिविम्बित छन् ।

इतिहास

गोपालराज वंशावलीअनुसार, सबैभन्दा जेठो ढुंगेधारा इसं ४६४ मा निर्मित नारायणहिटी हो । लिच्छवि राजा धर्मदेवले बनाउन लगाएको धारामा पानी नआउँदा तान्त्रिकहरूको सल्लाहमा राजा आफैँ बलिका लागि तयार भए । छोरा मानदेवकै हातबाट बलि चढाउने काम भएको थियो भन्ने प्रचलित कथन छ । यता इतिहासकार योगी नरहरिनाथले भने वंशावलीको उद्धरण गर्दै लेखेका छन्, ‘कलिगत संवत् १९११ मा राजा विक्रमसेनद्वारा त्यस ढुंगेधारा बनाउन लगाएकामा पानी नआएपछि नासत भूपकेशरीले आफ्नै पिता विक्रमकेशरीलाई बलिमा चढाए... ।’ राजा प्रताप मल्लले त्यसैको उत्तरतर्फ नारायण मन्दिर स्थापना गरेपछि त्यो ढुंगेधारा नारायणहिटीको रूपमा जनजिब्रोमा रहन गयो ।

लेलेमा भेटिएको वसन्तदेवको शिलालेखअनुसार, त्यसै कालखण्डमा ढुंगेधारा समाजको एक अभिन्न संरचनाका रूपमा विकसित भइसकेको र सामूहिक व्यवस्थापनका लागि गुठीले जिम्मेवारी वहन गरिसकेको थाहा हुन्छ । सामान्यतः काठमाडौं उपत्यकाभित्र एकल ढुंगेधाराको बाहुल्य छ । तर, तान्त्रिक–धार्मिक आस्थाका आधारमा र वास्तुकलाको दृष्टिकोणबाट बहुल ढुंगेधारा पनि धेरै अस्तित्वमा छन् । तीमध्ये फर्पिङ शेषनारायणको सहस्रधारा धार्मिक रूपमा निकै महत्त्वको मानिन्छ । सडक विस्तारका क्रममा अहिले सहस्रधाराहरू लुप्त भए ।

जयप्रकाश मल्लले बनाउन लगाएको बालाजुको एक्काइस धारा, जसको बीचमा रणबहादुर शाहले ठूलो एक धारा थपेर बाइस धारा बनाए । चैत्र पूर्णिमाका दिन ती धारामा नुहाएर मेला भर्ने प्रचलन अहिले पनि छ । बाह्र वर्षमा मेला लाग्ने ललितपुरको गोदावरी कुण्डको नौ धारा पनि धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ । लिच्छविकालीन सामन्त विभु बर्माद्वारा निर्मित सात धारा काठमाडौंको भोटाहिटीमा थियो । ती धाराहरूबाटै त्यस स्थानको भोटाहिटीका रूपमा पहिचान रह्यो । त्यसैको माथि हाल साझा पसल–बजार छ ।

हाँडीगाउँको पञ्चधारा वा न्याधाःहिति समकालीन समाजमा प्रख्यात धारामध्ये थिए । स्थानीय पूजा–पर्व प्रयोजनका लागि लिच्छवि शासक शिवदेवद्वारा निर्माण गरिएको मानिने त्यस धाराको पानीको स्रोत सँगैको धनडोल च्याद्वं थियो । तर, निजी घरहरू बन्न थालेपछि पानीका मूल सुके, धाराहरू पुरिए ।

काठमाडौं संस्कृत पाठशालाको उत्तरतिर हाल शेर्पामलको पछाडिको तीन धारा उपत्यकाभित्रका चर्चित धाराहरूमध्ये हुन् । अनधिकृत रूपमा जग्गा मिचेर, धारामा पानी आउने कुलोमाथि संरचना बनाउन थालेपछि तीन धारामा पानी आउन बन्द भयो । हाँडीगाउँ नारायण मन्दिरको उत्तरमा रहेको लिच्छविकालीन दुई धारामा भने अहिलेसम्म पानी आइरहेको छ ।

ऐतिहासिक रूपमा सबैभन्दा पछि बनाइएको ढुंगेधारा टुँडिखेलको सुन्धारा हो । भीमसेन थापाले ललित त्रिपुरासुन्दरीको सम्झनामा यो धारा बनाउन लगाएका हुन् । काठमाडौं मल बनाउँदा यसको मूल मासियो र अहिले धारा सुक्यो । सहरका सीमान्त इलाकामा बनाइएका धोबीधाराहरूबाहेक अन्य ढुंगेधारा मूलतः खानेपानीका अतिरिक्त पूजा पाठ, सांस्कृतिक गतिविधि, तन्त्र साधनादेखि औषधि उपचारसमेतको प्रयोजनमा रहेका देखिन्छन् ।

काठमाडौं उपत्यका खानेपानी वितरण बोर्डले पछिल्लोपटक उपत्यकाका दस नगरपालिकाभित्र गरेको एक सर्वेक्षणअनुसार, त्यहाँ तीन सय उनानब्बे ढुंगेधारा थिए । तीमध्ये उनहत्तर धारा सुकिसके, पैंतालीस धारा लोप भए ।

प्रविधिमा विशिष्टपना

ढुंगेधाराहरू प्रविधिका कारण पनि अत्यन्त मौलिक र विशिष्टताले भरिएका छन् । ती धारा निर्माणका लागि हजारौं वर्षअघि प्रयोग गरिएका प्रविधिको अध्ययनबाट पूर्वजहरूमा रहेको ज्ञान, शिल्प र क्षमताबारे हामी गौरव गर्न सक्छौं ।

विश्वमा अन्यत्र पनि पानी व्यवस्थापनका अनेकन प्रविधि प्रयोगमा छन् । पर्सिया, मेसोपोटामिया, अर्मेनिया, अफगानिस्तानमा इसापूर्व हजार वर्षअघिदेखि कन्नातको व्यवस्था गरिन्थ्यो । भूमि सतहमुनिबाट पानी–बहावको प्रबन्ध मिलाइएको त्यो प्रविधि मूलतः सिँचाइ सुविधाका लागि थियो । भनिन्छ, त्यसै ‘कन्नात’ शब्दबाट अंग्रेजी ‘क्यानल’ शब्दको उत्पत्ति भएको हो ।

यता मध्यएसियामा तिनासान हिमशृंखलादेखि हजारौं किलोमिटरपरको मानव बस्तीसम्म करजाई प्रणालीबाट पानी वितरण गरिन्थ्यो । जमिनको सतहभन्दा सयौं फिट तल भूमिगत रूपमा लामा–लामा नहरबाट पानी वितरण गरिनु त्यस प्रणालीको विशेषता हो । चीनको सिन्जयाङ प्रान्त, तुर्फानमा अद्यापि करजाई प्रणाली कायम छ ।

प्रविधिगत दृष्टिकोणबाट हाम्रा ढुंगेधारामा पनि स्रोतदेखि पानी ल्याउने भूमिगत शैलीे करजाई प्रणालीसँग मिल्दोजुल्दो देखिन्छ । फेरि पनि खानेपानी उपलब्ध गराउने हाम्रो विधि, संरचना र शैली उक्त प्रणालीभन्दा उन्नत, व्यवस्थित तथा सुसंस्कृत छ । नेपालमण्डलका बासिन्दाले खानेपानी सेवनका साधनका रूपमा ढुंगेधाराको परिकल्पना गरेर अन्यत्रको भन्दा आफ्नो चिन्तन र शिल्प अग्रगामी रहेको पुष्टि गरे ।

स्रोतबाट ढुंगेधारासम्म पानी झार्नुपूर्व नजिकै कतै जलासयमा पानी जम्मा गरी त्यहाँ पात–पतिंगर, फोहोर, कसिंगर आदि थिि्रगन दिइन्छ । अनि कंक्रिटका टुक्रा, गोल, बालुवा तथा चुना राखेर शुद्धीकरण भइसकेपछि मात्रै धाराबाट पानी झर्छ । ढुंगेधारा त्यस अर्थमा अद्वितीय र मौलिक छ । स्रोंतबाट सहज पानी बहावका लागि जमिनको सतह छनोट तथा निकासका लागि मंगाल र ढल निर्माणसम्बन्धी प्रविधि पनि बेग्लै छ ।

उसबेला आवधिक मर्मत, सरसफाइ, हेरचाहका लागि धःपाः हुने व्यक्ति चयन गरेर उसैलाई ढुंगेधाराको जिम्मा दिइन्थ्यो । गुठीको नेतृत्वमा पानी मुहान, ढल, कुवा, पोखरी तथा ढुंगेधाराको सरसफाइ गरिन्थ्यो ।

वास्तु विशिष्टता

निश्चय पनि ढुंगेधारा पिउने पानी प्रयोजनका लागि हो । तर, यसका लागि बनाइएका जुन भौतिक संरचना छन् ती नेपाली वास्तुविधा तथा रैथाने कलाका विशिष्ट सृजना हुन् । ढुंगेधाराका लागि व्यवस्थित गरिएका परिसर शास्त्रीय मान्यताअनुसार गोलाकार, वर्गाकार, मण्डलाकार, यन्त्राकारका छन् । सोहीअनुसार, परिसरको आकार कस्तो अनि ती कति तह सडकमुनि वा माथि भन्ने निर्धारण गरिन्छ ।

आस्थाअनुसार, धारामाथि एक वा एकभन्दा धेरै मूर्ति सजाइए पनि धाराको मुन्तिर दुवै हातमा शंखसहित उभिएको एक तपस्यारत

ऋषिको आकृति अनिवार्य रूपमा राखिन्छ । आर्यावर्तमा हिमालयबाट गंगाको पानी बगाउन भगीरथले कठोर तपस्या गरेको विवरण पाइन्छ । हरेक धारामुनि तिनकै सम्मानमा त्यस्ता मूर्ति स्थापना गरिन्छ । धारा वरपरका सिँढी, गाह्रो आदि नागबन्ध गरिएर प्रवेशद्वारा दायाँबायाँ नागको शीर्षभागले सजाइन्छ ।

अविरल पानी झर्ने धाराको भौतिक संरचना कतै पनि सपाट हुँदैन । त्यसमाथि कलात्मक मूर्ति कुँदिएका हुन्छन् । हात्तीको जस्तो मुख र सुँढ, अग्निज्वालाजस्तो आँखा, दायाँ–बायाँ तिखा दाँत, पछाडितिर फर्किएका सिङ, उड्ने पखेटा, चुस्से पुच्छरसहितको जलजीव हितिमंगः वा मकरको आकृति हो । ढुंगेधारामा वैदिक वर्णनका जलचर मकर मात्र होइन भ्यागुता, गाईको बाच्छा, माछा, सर्प आदि अंकित हुन्छन् ।

पाटन दरबार, सुन्दरीचोकभित्रको तुसाःहिति यस क्रममा एउटा अद्वितीय संरचना हो । तुसाः अर्थात् उखुजस्तै मिठो पानी झर्ने धारा, जहाँ प्रत्येक बिहान त्यसैको पानीमा स्नान गरेर राजा सिद्धिनरसिं मल्ल नित्यकर्म आरम्भ गर्थे । नारायण र गरुड माथिल्लो भागमा अनि सुनका मोलम्बा लगाइएका अनेकन जलप्राणीका आकृतिसहितको यो धारा मकर मुखाकृति हुने अन्य धाराभन्दा फरक तान्त्रिक मान्यतामा योनि आकारमा निर्मित छ ।

हनुमानढोका मोहनकाली चोकभित्रको सुन्धारा पनि यसैको अर्को प्रतिरूप हो । भक्तपुर दरबारभित्र पनि अति आकर्षक सुन्धारा यस्तै प्रतीकसहित निर्माण गरिएको छ ।

ढुंगेधारा पिउने पानीको साधन मात्र होइन सुसंस्कृत र विकसित सभ्यताको गौरव पनि हो । ढुंगेधाराले शास्त्र बोल्छ, सामाजिक आस्था प्रतिविम्ब गर्छ अनि वास्तुकला तथा मूर्तिकलाको शिल्पलाई जीवन्त राख्छ ।

प्रकाशित : माघ २४, २०७७ १०:४४https://ekantipur.com/koseli/2021/02/06/161258275383884299.html