Thursday, February 11, 2021

बांगेमुढा मक्किएको मुढो मात्र होइन


मल्ल के. सुन्दर

२०७७ पौष ४ शनिबार ०८:२१:०० 

काठमाडौं महानगरको असनबाट पश्चिमतिर सोझिँदा वा नयाँ सडक–इन्द्रचोकबाट भेडासिङ हुँदै उत्तरतिर लाग्दा पुगिने चौबाटो र मन्दिरैमन्दिर भएको एउटा खुल्ला बस्ती हो– बांगेमुढा ! हाल यो काठमाडौं महानगरपालिका–२५ अन्तर्गत पर्छ । चौबाटोबाट दक्षिण लाग्ने मूलबाटोको पूर्वतिर कुनामा पाटीसँगै टाँसिएको एउटा मक्किसकेको ठूलो मुढो छ, अलिक बाँगिएको– तसर्थ त्यसको नामकरण रहन पुग्यो– बांगेमुढा !

 

केही दिनयता त्यस मुढोसँग सम्बन्धित कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । मध्यराति एउटा अमुक चोर आउँछ, उसले बोकेर ल्याएका औजारहरू प्रयोग गरेर त्यहाँ तोडफोड गर्दै त्यो मुढो उठाएर लग्ने चेष्टा गर्छ, तर स्थानीयले चाल पाएपछि उनलाई कब्जामा लिएर नजिकैको प्रहरी चौकीलाई जिम्मा लगाइदिन्छन् ।

 

बुझ्न नसकिने कुरा प्रहरीले चोरलाई ससम्मान रिहाइ गरिदिन्छ । त्यही व्यक्ति अर्को दिन फेरि तयारीका साथ त्यही ठाउँ पुग्छ र बांगेमुढाको मुढोबाट एउटा अंश चोक्ट्याएर आफ्नो बाटो लाग्न खोज्छ, फेरि चोर समातिन्छ, प्रहरीलाई बुझाइन्छ, फेरि प्रहरीले चोरलाई विनाकुनै कारबाही मुक्त गरिदिन्छ । प्रहरीबाट उन्मुक्ति पाउँदै गरेको त्यो चोर तेस्रोपटक तयारीका साथ मध्यरात फेरि आउँदै गर्दा स्थानीयले लखेट्न भ्याउँछन् । नाटकीय पाराका यस घटनाका पछाडि प्रहरी र चोरबीचको लुकामारीको गुह्य रहस्य के होला, खोजबिनबाट थाहा हुने नै छ । तर, आममानिसको मनमा एउटा कुतूहल अवश्य जागेको हुनुपर्छ, आखिर त्यो मक्किएको काठको मुढो हात पार्न किन यतिबिघ्न मरिहत्ते गरिएको होला ? 

 

बांगेमुढा–वास्याःद्यः
एउटा बांगिएको र मक्किसकेको मुढो– सामान्यतया अन्यत्र देवस्थलमा देखिनेजस्तै त्यहाँ मूर्ति वा कलात्मक संरचना केही छैन । मन्दिर पनि होइन, एउटा पाटीको भित्तामा टाँसिएको सडकतिर फुंग अनि खुल्ला देखिने पुरानो काठको अवशेष, यही नै हो– बांगेमुढा ! स्थानीय जनबोलीमा त्यो वास्याःद्यः हो । वास्याःद्यः अर्थात् दाँत दुखाइ निको पार्ने द्यौता । दाँत दुख्दा यहाँ पूजा गर्ने र त्यसै क्रममा द्यौतास्वरूप मुढोमाथि फलामे किला ठोक्दा स्वतः निको हुने जनविश्वास छ । यद्यपि, यसमा कुनै वैज्ञानिक आधार भेटिन्न । फेरि पनि सयौँ वर्षदेखि यिनै लोकआस्थामा भक्तजनहरूले ठोकेका किलाले सिंगो मुढो ढाकेको छ । यसरी किलैकिला मात्र भएकाले उपत्यकाबाहिरबाट आउने कतिपयले यसलाई किलागढ पनि भन्ने गर्छन् । वास्तवमा किलागढ भन्ने भिन्नै टोल भेडासिङभन्दा उत्तरतिर पर्छ ।

 

कतिपय प्राचीन लिखतहरूमा यसलाई नाग देवताको प्रतिरूपमा पनि उल्लेख गरिएको पाइन्छ । तसर्थ आजसम्म पनि यहाँ पूजा गरिँदा नाग–नागिनीहरूको आराधनाका विधि र सामग्री प्रयोग गरिन्छ । पूजाका लागि प्रयोग गरिएका कुनै वस्तु, सामग्री घर फिर्ता लग्नुहुन्न भन्ने मान्यता छ । त्यसैले थालीमा नभई सालको पात वा टपरीमा पूजासामग्री तयार गरेर ल्याइने गरिन्छ । दैविक शक्तिको स्रोतको रूपमा विश्वास गरिएको त्यसै मुढोको मुनितिर आसनको रूपमा ढुंगाको एक जलद्रोणी–जधं पनि छ । पाटीभित्रबाट यसको जलाशयमा समय–समयमा पानी भरिन्थ्यो । जलद्रोणी–जधुं विशेषतः पूजाका लागि चोखो पानी थाप्नका लागि प्रयोगमा आउने कुरा अनुमान गर्न सकिन्छ । अज्ञानतामा स्थानीयहरूले मर्मत सम्भारको नाउँमा हाल त्यस जधुं–जलद्रोणीे बाहिरबाट इँटाको गारो उठाएर छोपिएको अवस्थामा छ । 

 

भरिया अड्डा – बांगेमुढा
त्यति वेला तराई जोडिने मोटरबाटो थिएन । रक्सोलदेखि अमलेखगन्जसम्म रेलमार्ग अनि त्यहाँबाट भैंसेको खोँच हुँदै भीमफेदीसम्म मात्र यातायात सुविधा थियो । उपत्यकामा सामान ल्याउनका लागि मानिसलाई भारी बोकाउनुबाहेक अर्को विकल्प थिएन । त्यस्ता सामान ढुवानीका लागि बोक्ने भरिया नियमित रूपमा आवश्यक पथ्र्यो । त्यसैको स्थायी व्यवस्था गर्न तत्कालीन सरकारद्वारा स्थानीय व्यक्तिहरू रत्नबहादुर गुरुवाचार्य र रामप्रसाद कसजूलाई जम्मा दिइयो । सोही क्रममा एउटा केन्द्र नै खडा गरियो, जुन कालान्तरमा भरिया अड्डाको रूपमा चिनियो । भारी बोक्न काम पाउने आशामा सहर पसेका भरियाहरू नाम्लो र डोको बोकेर बिहानैदेखि त्यस अड्डासामुन्ने ताँती कस्थे ।

 

संयोग, उक्त अड्डा खोलिएको थियो, वास्याःद्यःसँग जोडिएको एउटा पाटीमा । विशेषतः काँठतिरबाट रोजगारीका लागि त्यस अड्डासम्म पुग्न सहज होस् र सरोकारवालालाई उनीहरूले बुझ्ने भाषाबाट सम्झाउन सकियोस् भनेर बुझाउने गरिन्थ्यो – ‘वास्याःद्यःसँग जोडिएको पाटी अर्थात् बांगिएको मुढो भएको ठाउँ...।’ भरिया अड्डा भएको त्यस स्थान चिनाउन भन्ने गरिएकोे थेगो समय बित्दै जाँदा जनजिब्रोमा रह्यो । समय बित्दै जाँदा त्यो टोल नै बांगेमुढाका रूपमा चिनिन थाल्यो । अन्यथा त्यो टोलको प्राचीनकालदेखि स्थापित रैथाने पहिचान थाय्मदु टोल हो । 

 

स्थानमण्डपबाट थाय्मदु
बांगेमुढा र थाय्मदु समानार्थी शब्द होइनन् । शाब्दिक अर्थमा यी शब्दबीच कुनै सम्बन्धसम्म पाइन्न । फेरि पनि ऐतिहासिक प्रसंगहरूले यी शब्दबीचको गहिरो अन्तरसम्बन्ध उजागर गर्दछ । कुरा एउटा विशिष्ट खाले भौतिक संरचनाको हो, बांगेमुढा चोकबाट पूर्व लाग्दा दक्षिणतिर मन्दिरजस्तो देखिने जुन विशाल संरचना छ, त्यो यथार्थतः एउटा चपाः–सत्तल हो ।

 

नगरीय बस्ती विस्तारका क्रममा उपत्यकाभित्र यस खाले ठूला–साना चपाः –सत्तल यत्रतत्र निर्माण भएको पाइन्छ । सामाजिक जमघट, सांस्कृतिक गतिविधि तथा धार्मिक अनुष्ठानका लागि मात्र होइन, यात्रुहरूका विश्रामस्थलका रूपमा पनि चपाः –सत्तलहरूको धेरै महत्व हुन्थ्यो । बांगेमुढामा निर्मित त्यो चपाः–सत्तल स्थानमण्डपको रूपमा पुराना अभिलेखमा उल्लेख गरिएको भेटिन्छ । त्यसै स्थानमण्डप शाहकालको पूर्वार्धसम्म आइपुग्दा शब्द अप्रभंश हुँदै थासमंदु हुन पुग्यो । अनि पछिल्लो समयमा थासमंदुलाई नै बोलिचालीमा थाय्मदु भन्न थालियो । त्यसै चपाः–सत्तलकै कारण सिंगो बस्ती नै थाय्मदु टोलको रूपमा चिनियो ।


चारैतिरबाट खुल्ला रहेको वर्गाकारको यो संरचना केवल काठका खम्बाहरूका भरमा उभ्याइएको छ । खम्बाहरू अत्यन्त कलात्मक शैलीमा कुँदिएका छन् । माथिल्लो तलासम्म पुग्न उत्तर सडकतिरबाट विशेष प्रवेशद्वारको व्यवस्था छ । दुईतले संरचनाको माथिल्लो तलामा चारैतिर खुल्ला बरन्डा बनाइएको थियो । नब्बे सालको भूकम्पबाट बरन्डा र छाना खसे । अहिले बरन्डाको कुनै अवशेष भेटिन्न । झिँगटीको ठाउँमा जस्तापाताको छाना राखिएको छ । भुइँतलाको खुल्ला दलानमाथि निजी व्यापारीहरूले जबर्जस्ती कब्जा जमाएर गारो उठाउने तथा पसल कबलहरू बनाएर कुरूप पारेका छन् । पहिलेको मौलिक तथा कलात्मक स्वरूप अहिले चारैतिरबाट अतिक्रमित अवस्थामा छ ।

 

बांगेमुढा मूलतः एक विशाल रुखको रहलपहल अवशेष हो । त्यसको पछाडि पनि काष्ठमण्डप निर्माणमा जस्तै मिल्दोजुल्दो लोककथन छ । कुनै कालखण्डमा विशाल रूपमा रहेको सिंगो रुखलाई ढालेर त्यसैको काठ प्रयोग गरी स्थानमण्डप–थाय्मरु बनाइएको हो ।

 

वास्तुविद्हरू काठमाडौं गणेशस्थानस्थित काष्ठमण्डप र बांगेमुढाको स्थानमण्डपका स्वरूप, संरचना धेरै मिल्दोजुल्दो रहेको पाउँछन् । काष्ठमण्डपबाट अप्रभंश हुँदै कालान्तरमा मरु तथा स्थानमण्डपबाट रूप फेर्दै थाय्मरु हुन पुगेको स्मरणीय प्रसंग पनि छ । यसअतिरिक्त प्राचीन कान्तिपुरको नगरी सभ्यता विकाससँग पनि यिनको कुनै अन्तरनिहित सम्बन्ध रहेको हुनुपर्छ भन्ने अनुमान छ । 

 

लिच्छवि कालमा कान्तिपुर सहरलाई हनुमानढोकाबाट उत्तर ठमेलसम्म यम्बु प्रदेश र दक्षिणमा टेकुसम्मलाई यंगल प्रदेशको रूपमा प्रशासनिक विभाजन गरिएको थियो । विशालनगरबाट सञ्चालित शासनसत्ताको केन्द्र गुनपो अर्थात् हनुमान ढोकातिर स्थानान्तरण भएयता स्थानीयले यिनै यम्बुलाई थःने–माथिल्लो भेग तथा यंगललाई क्वःने तल्लो भेग भन्ने गरियो । हनुमानढोका दरबारपरिसर स्वकम्भु दथुत्वाः–माझको भाग कहलियो । कुमारी जात्रा, सेतो मच्छेन्द्रनाथको रथयात्र, गाईजात्रालगायत अन्य पर्व, जात्रा यसै थःने–क्वःने क्षेत्रगत सीमांकनलाई दृष्टिगत गरेर सम्पन्न गर्ने प्रचलन चल्यो । घतलाग्दो कुरा, यम्बु प्रदेश थःनेतिर जुन स्थान र बाटो भएर कुमारी जात्रा गरिन्छ, त्यहाँको बस्ती विकासमा स्थानमण्डप–थाय्मदु जस्तै अन्य मण्डप वा चपाःको पनि अस्तित्व समान रूपमा रहेको देखिन्छ । 

 

केन्द्रमा काष्ठमण्डप–मरु, श्वेतकाली (नरदेवी)–ङतमरु, रक्तकाली–कुलांमरु, बांगेमुढा–थाय्मरु, अन्नपूर्ण (असन)–असंमरु, केल भद्रकाली अजिमा–लुँचुमरु । यी सबै स्थानमा एउटा–एउटा मण्डप वा चपाः अद्यापि छन् । त्यसमध्ये असनको (अशोक मण्डप) यता चपाः र नरदेवी मन्दिरअगाडिको भजनघर आकारमा पनि निकै ठूला छन् । केलटोल अजिमाअगाडिको टोपी पसलहरू भएको पाटी त्यस्तै चपाः हो, अहिले निजी भइसकेको देखिन्छ । यी चपाः–मण्डपहरूको अस्तित्वमा रहेको अर्को समानता भनेको तिनको आसपासमा परम्परागत नाच प्रदर्शन गर्नका लागि डबली पनि हुनु हो । नरदेवीमा मन्दिरअगाडिको डबलीमा अहिले पनि श्वेतकालीको बाह्रवर्षे नाच नचाइन्छ । बांगेमुढाको स्थानमण्डप पश्चिमतिरका डबलीमा इन्द्रजात्राको अवसरमा पूर्णिमाका दिन देवीनाच देखाउँदै आइएको छ ।

 

असनयता चपाःको मुनि उत्तरतिरको डबलीमा केही वर्षअगाडिसम्म असनका तुलाधरहरूबाट कुम्वःप्याखं (कुमार नाच) देखाइन्थ्यो । केलटोलको दक्षिणमा रहेको डबलीमा भद्रकाली र पचली भैरवका बाह्रवर्षे नाच देखाइन्थ्यो । रक्तकालीको परम्परागत नाच लोप भएलगत्तै मन्दिरसँगै टेंगल टोल चौबाटोको उत्तरतिर रहेको डबली पनि हाल पुरिइसकेको छ । नगरको एउटै भेग यम्बु प्रदेश विशेषमा यसरी मण्डप–चपाःहरू केन्द्रित हुनु र त्यहाँका अन्य सांस्कृतिक गतिविधिमा समेत समानता देखिनु अध्येताहरूका लागि खोजको विषय हो । स्थानमण्डप÷थाय्मरु त्यसै ऐतिहासिक कालखण्डको एउटा जीवित स्मारक हो ।

 

रमाइलो कुरा, विगत कुनै समयसम्म स्थानीयमण्डप–थासमंदुलाई एउटा उन्मुक्ति क्षेत्रको रूपमा लिइन्थ्यो । कुनै ऋणी वा अभियुक्त सुरक्षित हुनुपरेमा त्यसै मण्डपभित्र आश्रय लिन्थे । उक्त मण्डपपरिसरलाई उन्मुक्तिको इलाकासरह मान्यता दिइएको थियो । त्यसैले त्यस्ता व्यक्तिलाई कसैले कब्जामा लिन पाइँदैनथ्यो । तसर्थ, यसलाई लाय्मरु (कब्जामा लिन नपाउने) सतः पनि भनिन्थ्यो ।

 

स्थानमण्डप र वास्याःद्यः–बांगेमुढा
वास्याःद्यः–बांगेमुढा मूलतः एक विशाल रुखको रहलपहल अवशेष हो । त्यसको पछाडि पनि काष्ठमण्डप निर्माणमा जस्तै मिल्दोजुल्दो लोककथन छ । कुनै कालखण्डमा विशाल रूपमा रहेको सिंगो रुखलाई ढालेर त्यसैको काठ प्रयोग गरी स्थानमण्डप–थाय्मरु बनाइएको हो । मण्डप बनाइसकेपछि बांगिएको, टेढोमेढो काठको मुढो त्यहाँ त्यसै रहन दिइयो । त्यसै मुढोमाथि स्थानीयहरूले दैविक रूप देखे, नाग ठानेर पुज्न थाले । आस्था र विश्वासले त्यो मुढो कालान्तरमा वास्याःद्यः–दाँतको दुखाइ निको पार्ने द्यौताको रूपमा स्थापित भयो । 

 

एउटा कुरा यथार्थ हो, स्थानमण्डप निर्माणका लागि प्रयोग गरिएको रुख र त्यसको मुढो अति विशाल थियो होला, त्यसको भौतिक अवशेष अहिले पनि भेटिन्छ । बांगेमुढाको मुढो अहिले जहाँ छ, त्यहाँबाट तेर्सिएर सँगैको पाटीमुनिबाट पूर्वतिर अगाडिको स्थानमण्डप–थाय्मरुको भित्ताहरू छिचोलेर गएको पाइन्छ । बस्ती विस्तारको क्रममा निजी घर निर्माण गरिँदा बाँकी छाडिएको त्यसै मुढोको टुक्रामाथि इँटाको गारो लगाइएको थियो भनेर बुझ्न सकिन्छ ।

 

सम्भवत धेरै परसम्म मुढोका अंश बाँकी रहेको हुँदो हो, कालक्रममा नगरको विस्तार हुँदै गएपछि जहाँ–जहाँ संरचनाहरू बनाइए, बीच–बीचमा मुढोलाई आवश्यकताअनुसार काट्ने गरियो । स्वयं पंक्तिकारले यस मुढोको बाँकी अंशमाथि बनाइएको पुरानो घर करिब चार दशकअगाडि बांगेमुढा रहेको स्थानभन्दा एक हजार मिटरपूर्व न्हैंकन्तला चारढुंगे, नरसिंहको मन्दिरपछाडिको घरको गारोमा देखेको हो । भनिन्छ, यसको एक टुप्पो भोटाहिटी साझा भण्डारअगाडिको अन्नपूर्णको पूजाघरसम्म फैलिएको थियो । 

 

अध्ययनबाट स्पष्ट हुन्छ, वास्याःद्यः–बांगेमुढा र स्थानमण्डप थाय्मरु इतिहासका अन्तरसम्बन्धित हुन् । काष्ठमण्डप निर्माणकाललाई सातौँ शताब्दी मान्दा सोही वास्तुशैलीको विस्तारको रूपमा बनेको स्थानमण्डप–थाय्मदु अन्दाजी एघार–बाह्र सय वर्षभन्दा पुराना सम्पदा हुन् भनेर दाबी गर्न सकिन्छ । वास्याःद्यः–बांगेमुढाको कालगणना त्योभन्दा पुरानो थियो होला नै ।

 

उदेकलाग्दो कुरा, यति गहन इतिहास प्राचीनता बोकेको स्थानमण्डप–थाय्मदु भूमाफियाहरूको चलखेलमा अहिले कुनै परिवारले आफ्नो निजी हो भनेर लालपुर्जा बोकेको छ, फेरि पनि सम्पदा संरक्षणको दायित्व पाएको राज्यको आधिकारिक अंग पुरातत्व विभाग बेखबर छ । तर, गल, हातहतियार, औजार बोकेर हिँड्ने चोर महाशय चनाखो छन् र उनलाई र उनलाई खटनपटन गर्नेहरूलाई जानकारी छ, बांगेमुढा मात्र मक्किएको मुढो होइन...।

थकूछेँ, पासिकोट,
बुढानीलकण्ठ, काठमाडौं ।

https://jhannaya.nayapatrikadaily.com/news-details/1210/2020-12-19

No comments: